17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

निभेको आगो

लघुकथा नवराज न्यौपाने 'मौन' January 13, 2024, 1:19 pm
नवराज न्यौपाने 'मौन'
नवराज न्यौपाने 'मौन'

शुक्रबारको दिन तीन बज्न लाग्दा हाकिम मिलन मरहट्टाको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । रङ्ग नम्बर हुन सक्छ भनेर उसले फोन उठाएन । फेरि एकछिन पछि त्यही नम्बरबाट फोन आयो । गाडीमा चढ्न तरखर गर्दै उसले फोन उठायो ।

'हेलो ! म मिलन मरहट्टा । तपाईंले कसलाई खोज्नुभएको नि?' उसले विस्तारै भन्यो ।
'नमस्कार सर ! मैले तपाईंंलाई नै खोजेकी हुँँ । म त्यही हराएकी तिर्सना शर्मा हुँँ । अभिनेता सुनील शेट्टीले पछिल्लो पटक मुम्बईबाट उद्धार गरेर नेपाल फर्काएका छब्बीस जना नेपाली चेली मध्येकी म पनि एक हुँँ । मसँग परिचयपत्र ,नागरिकता केही पनि नभएकोले सिंहदरबार्भित्र छिर्न पाइन । म दुई घण्टादेखि तपाईंलाई कुरेर बसिरहेकी छु । कृपया मलाई भेटेर मात्र जानुहोला । ' उताबाट महिलाको रुन्चे स्वर सुनियो ।
'हुन्छ , गेटको बाँया साइडमा बस । म बाइकमा आउँदै छु ।' त्यसपछि गाडी छोडेर ऊ बाइकमा हुँँइकियो । अनि, गेटबाट उसलाई लिफ्ट दिएर अनामनगरको रोटी पसलमा पुग्यो । अनि सुख्खा रोटी तरकारी अर्डर गरेर भित्रको कोठामा पुगेर भलाकुसारी शुरु भयो ।

'सर ,मा तपाईंँलाई मेरो अन्तरकथा र समस्या सुनाएर मन हल्का पार्न चाहन्छु । ' आँसु पुछ्दै उसले भनी ।
'ल भन ,मैले सकेको सहयोग गर्नेछु ।' मिलनअले भावुक हुँदैं भन्यो ।
अनि तिर्सनाले धाराप्रवाहमा आफ्नो जीवनकथा सुनाई । उदाश मुद्रामा मिलनले सुनिरह्यो ।

' मलाई भारत घुमाउन लगेर मेरै लोग्नेले मुम्बईमा बेचेर आएको हो । मेरो मोबाइल उसैले लिएर आएको हो । अनि यहाँ आएर मोबाइल घरमै छोडेर घरबाट बेपत्ता भएकी भनेर प्रहरीमा निवेदन दिने काम र विभिन्न सञ्चार माध्यममा महिला हराएको सूचना प्रचारप्रसार गराएछ । '
यति भन्दा दुवैका गला अवरुद्ध भए ।
एकछिन रोकिएर उसले पुन: बोल्न शुरु गरी - ' सर ,म त काठमाडौं फर्केपछि सोझै माइत गएकी थिएँ । तर माइतीमा सबै कुरा थाहा पाइसकेका रहेछन् । सबैले छि:छि: र दुर दुर गरे । कसको घरभित्र पनि पस्न दिएनन् । मैले छोएको चिजबिज कसैले खान मानेनन् । बाबाआमाले पनि वास्ता गरेनन् । लाचार भएर म फेरि काठमाडौं फर्किएँ । ' उसले उदाश हुँदै भनी ।

'अब कानुनी उपचार खोज्नुपर्छ । ' मिलनले सुस्केरा हाल्दै बोल्यो ।
'कसरी उपचार खोज्नु र सर! म त निभेको आगो हुँँ । मेरा सबै सरसामन ,लुगाफाटो ,गरगहना ,शैक्षिक प्रमाणपत्र ,नागरिकता सबै लोग्नेले राखेको छ । अरु साथीका त सबैथोक माइतमा थिए र नयाँ जीवन शुरु गरिसके । मेरो भने जीवन अन्धकार हुने भयो ।' अनि मुख छोपेर रुन थाली ।
'तिम्रो लोग्नेलाई मैले चिनेको छु , फोन गरुँ त ?'मौनता भङ्ग गर्दै मिलन बोल्यो ।
'भो भो सर !'मैले साथीको फोनबाट कुरा गरेको थिएँ । शुरुमा झस्किएको थियो । पछि म अंशवापत दश लाख र तिम्रा सबै सामान कागजात फिर्ता दिन्छु । तर तिमीले लोग्नेले बेचेको हो भन्ने कुरा कसैलाई नभन्नु ल ! भनेर फकाएको थियो । अचेल पनि फोनमा म नै हुँँ भन्ने सोचेर दिउसो दिउसो जे जे भन्छ्यौ सबथोक दिन्छु भनेर फकाउने र राती राती तँलाई पनि जलाइदिन्छु र तेरा सामान पनि जलाइदिन्छु भनेर थर्काउने र धम्क्याउने गरिरहन्छ रे ।'

'हजुरले दुदुईपटक मलाई माग्न जानुभएको थियो । बाबाले त्यस्तो लाटोसोझो मान्छेलाई छोरी दिनुभन्दा त बोरामा बाँधेर त्रिशुलीमा बागाउन बेस् भनेर भन्नु भएछ । हजुरबाले पनि बाठो मान्छेलाई दियो भने रुखको टुप्पोमा लगेर पनि पाल्छ भ्यन्नुभएछ । तर अहिले मेरो यस्तो हालत देख्दा तेरो भाग्य यस्तै रहेछ भनेर भन्नुहुन्छ । ' यो सुनेर मिलन पनि रोयो ।

'सुन्नुस् त सर ! मलाई यो ओखती नखाई निद्रा नै नपर्ने भएको छ । 'झोलाबाट दुइथरी औषधीको निकालेर देखाई ।
त्यो देखेपछि मिलनले रुदै भन्यो -'तिर्सना बहिनी ,सत्ताइस वर्षसम्म पुरुष हिंसा सहेर बस्दा मलाई पनि त्यही औषधी खाएर निदाउने गरेको छु। किनकि म पनि निभेको आगो नै हुँँ । '

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।