18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एस.एम. बस्नेत ‘निष्पक्ष’को ‘यो मधुर मन कहाँ छैन र नपुगेको’ पढेपछि

कृति/समीक्षा विमला जोशी प्रधान January 13, 2024, 1:23 pm
विमला जोशी प्रधान
विमला जोशी प्रधान

कविद्वारा सिर्जित रचना नै कविता हो। कविता देववाणी हो। वेद पहिलो कविता हो। ब्रह्म पहिलो कवि हुन्। कवि सर्वज्ञ हुन्छ। कवि वर्णन कलामा निपुण हुन्छ। कविता समाज कल्याणको भावले भरिएको हुन्छ। यो सत्य हुन्छ, सुन्दर, मनोहारी हुन्छ। आदर्श, नैतिकवान्, सौन्दर्यका पूजारी कविद्वारा सिर्जित रचना नै कविता हो, जुन कल्याणकारी र आनन्ददायक हुन्छ। वास्तवमा कविता जीवन भोगाइ अनुभूतिका तरङ्गहरूका स्वत:स्फूर्त भाव लहरी हो, जसमा सहृदयीहरूमा रसोनुभूतिको अनुभव गराई आनन्द प्रदान गर्छ।
विद्यार्थी उमेरदेखि नै साहित्यप्रति चासो राख्ने उद्यमी साहित्यिक स्रष्टा श्रद्धेय शिक्षक श्री एस. एम. बस्नेत ‘निष्पक्ष’ एक कुशल एवम् आदर्श शिक्षक, समर्पित समाजसेवक मात्र नभएर सिक्किमेली साहित्यिक जगतका एक परिचित व्यक्तित्व हुनुहुन्छ। दक्षिण सिक्किमको मध्य सदाममा पिता जीतबहादुर बस्नेत र माता श्रीमती हर्कमाया बस्नेतको कोखबाट जन्म लिएर सदाम स्कूलबाट आठौं श्रेणीको शिक्षा उत्तीर्ण गरी नाम्ची स्कूलमा भर्ना हुनुभयो। त्यसै स्कूलबाट पछि एघारौं श्रेणी उत्तीर्ण गर्नुभयो। आफ्नै कठोर परिश्रम र लगनशीलताले गर्दा निजी रूपमा उहाँले उत्तर बंगाल विश्वविद्यालयबाट स्नातक परिक्षा पास गरी सन् 1981 देखि स्नातक तहको शिक्षक भई 1986 देखि आजपर्यन्त सदाम माध्यमिक पाठशाला दक्षिण सिक्किममा स्नातक शिक्षककै पेशामा कार्यरत रहेर अवकाश प्राप्त गर्नुभएको छ। पेशाले शिक्षक भए तापनि आफ्नो उब्रेका समयलाई सदुपयोग गर्नसक्ने क्षमता उहाँमा रहेको पाइन्छ। समाज सेवा, साहित्य लेखन उहाँका मन पर्ने क्षेत्रकै कारण अहिलेसम्म उहाँका 400 भन्दा बेसी रचनाहरू विभिन्न साहित्यिक पत्रिका र समाचार पत्रिकाहरूमा प्रकाशित भइसकेका छन्।
नेपाली साहित्यका विभिन्न विधाहरूमा उहाँका रचनाहरू ‘सुनचरी’, ‘हाम्रो प्रजाशक्ति’, ‘आजभोलि’, ‘हिमालय दर्पण’, नाम्ची सामयिक र प्रवाह समाचार पत्रिकाहरूमा प्रकाशित भइरहेछन्। जति नेपाली भाषामा उहाँको पकड़ छ, त्यति नै अंग्रेजी भाषामा पनि निपुण हुनुहुन्छ। यसै धेरै लेख, चिट्ठी र निबन्धहरू पनि अंग्रेजी समाचार पत्रिकाहरू जस्तै सिक्किम हेरल्ड, वीक्याण्ड, नाउ र गुरूकूल टाइम्समा प्रकाशित भई नै रहेका छन्। यसरी उनका अनगन्ती कविताहरू शान्त स्वभावका छन्, आत्मपरक छन्। आफ्नै मनलाई अत्यन्त समीपबाट हेरेर त्यहाँ फेला परेका द़ृश्यहरू पंक्तिहरूमा प्रदर्शित छन्। नेपाली भाषा-साहित्यलाई अत्यन्त माया गर्ने, श्रद्धा गर्ने, बस्नेतज्यूले धेरै अघिदेखि भारतीय नेपाली साहित्यमा कलम चलाउँदै आए तापनि आफ्नो कृति भने पाठकसमक्ष सार्वजनिक गर्ने अवसर प्राप्त गर्न असमर्थ रहे। यसरी सबैलाई प्रेरणा र प्रोत्साहन प्रदान गरिरहने साहित्यकार बस्नेतज्यूले यसपल्ट भने आफ्नो प्रथम कृति ‘मधुर मन कहाँ छैन र नपुगेको’ कविता सङ्ग्रह वर्ष 2023 पाठकसमक्ष पस्किन सक्षम बन्नुभएको छ।
उक्त कृति ‘मधुर मन कहाँ छैन नपुगेको’ कविता संग्रहमा जम्मा 109 वटा कविताहरू संग्रहित छन्। कविताहरू विविध विषयहरूमा लेखिए पनि धेरजसो पठनीय र सन्देशमूलक छन्। कवि मान्छन्, घामले त हामीलाई जलाउँछ, डढ़ाउँछ नै तर जूनले समेत पोलेर डाम छोड़ेर जान्छ। जीवन भनेको एउटा युद्ध नै हो, निरन्तर लड़िरहनु पर्ने, त्यसैले आफू पनि यस युद्धमा युद्धरत हुँदै कहिले लड़्दै र फेरि उठ्दै हिँड़्ने कुराहरू कविता मार्फत पस्किएका छन्। बाटाका अँध्याराहरूलाई चिर्नलाई आफै जल्नु परेको मर्मभेदी कविताले गरिमालाई उचालेर माथि पुऱ्याएको छ भने भत्केका बाटामा भाग्य खोज्दै हिँड़्नु पर्दा लड़ेर रक्ताम्मे हुनुपरेको महिमालाई उभ्याएका स्पष्ट देख्न सकिन्छ। कविताका केही पदहरूलाई पाठक समक्ष राख्दछु।
एउटा शुन्य, अस्पष्ट निस्तब्ध
उज्यालो/स्वर्णिम दिनले जन्माएको
विभत्स रात
धरतीमा टहटह प्रकाश छर्दै
नीलो आकाशलाई रंगीन परिवर्त्तन गर्दै
विशाल समुन्द्रिक जहाज सरह
परोपकार गरिरहेको प्रकाशमय
गोलकार जून:
पारि... पारि क्षितिजसम्म
जूनेली रंगले टम्म सिंगारिएका
विशाल रात।

एउटा नयाँ जीवनको आभासमा सबैथोक नयाँ अनुभूत भइरहेका कविता संग्रह ‘यो मधुर मन कहाँ छैन र नपुगेको’ कविताहरूको सँगालो हामीलाई पस्किनुभएको छ। जीवनका आरोह-अवरोहको बयान गर्दै आफ्नो मधुर, कोमल, मन सबैको हृदयमा विचरण गर्न सफल हुनुभएको छ कवि।
यस कविता संग्रहका सबै कविताहरूलाई नियाल्दा कवि बस्नेतज्यूको जीवन संघर्षका आत्मकथा जस्तो घाम-छाया हो कि राम-छाया हो कि जस्तो जीवनको राग छेल परेर बसेको भेट्छौं।
ए थुम्के रूख!
खोइ आज? छैनौ त....!
कसले तिमीलाई छलेर लग्यो/ अपहरण गऱ्यो
तिम्रो उपस्थितिमा त्यस पहराको
रौनकता/ सौन्दर्यता/ सजकता थियो।
तिमी निपुण कारीगरले निर्माण गरे झैं
पहाड़का शीराभूषण भएर बाँचेका थियौ
अनि-तिमीले तारेभीरको
मान/मर्यादा/शान बताएका थियौ
तर-
खोइ ती सब आज?
किन तिमी सारा विश्वको
पीर मर्का/आर्तनाद/लान्छना/दमन/
हत्यालाई सहन गर्न नसकेर-
अल्पायुमा नै आत्महत्या गर्न बाध्य भयौ?
यसैले मानव संसारलाई तिमीले विचलित/ विक्षुब्ध बनायौ।

कवि बस्नेतज्यूले सदामको/तारेभीरको धूप्पीघारी उत्तिस कटूस र क्यामुनाधारी सँगसँगै टाँस्सिएर बसेको पर्यावरणको प्रसंग यस कविताभित्र भेट्छौं। कंक्रिटको जंगल बढ़्दै गएपछि कुन कालखण्डमा कुनै दिन सदामका गहना यति राम्रा हरियाली प्रकृति पनि इतिहास होइजाला भनेर कविले आज नै आजकै पुस्ताले एउटा हरियो विश्वास उमार्नु पर्ने आग्रह गरेको बुझिन्छ। कवि श्री बस्नेतले सदाम, तुरूक, मल्ली गुम्बा, मंगलबारे, मतनी पायोङ, मल्ली केराबारी, सुन्ताले, गुप्ती, शुक्रबारे, लेकसेप, वर्षे, नाम्ची साथै सिक्किमका अनगन्ती ठाउँहरूमा आफू स्वयं भ्रमण गरी यी स्थानहरूको उत्पत्ति, नामकरण, सांस्कृतिक धरोहर साथै ऐतिहासिक तथ्य महत्वबारे धेरै लेख र यात्रा संस्मरणहरू एक दशकदेखि प्रकाशित गर्दै आउनुभएको छ। यहाँबाट थाहा लाग्छ कि श्री बस्नेतले आफ्नो मातृभूमि सिक्किमलाई कति गहिराइबाट माया गर्नुहुन्छ भनेर। श्री बस्नेतले दुनियाँको अघि सिक्किममा पर्दापछि रहेका मनोहर स्थलहरूलाई आफ्नो लेखद्वारा परिचय गराइदिनुभएको छ। सेवा कर्म र कृतिलाई महत्व दिने उहाँको भावना छ। सदाममाथि धेरै लेखहरू लेख्नुभएको छ। यथेष्ट खूनपसिना बगाएर सदामको विकास र खुशियाली पस्किनुभएको छ।

श्री बस्नेत प्रकृतिप्रेमी हुनुहुन्छ। उहाँका प्रत्येक लेखमा प्रकृतिको वर्णन प्रशस्त रूपमा पाइन्छन्। दक्षिण सिक्किमको प्रमुख पर्यटन केन्द्रबारे शीर्षक सदामको तारेभीरको पर्यटकीय सौन्दर्य र महत्वबारे पनि श्री बस्नेतले प्रशस्त मात्रामा लेखहरू लेख्नुभएको छ। सिक्किम सरकारले तारेभीरको पर्यटकीय स्थललाई विकसित गर्नलाई जे जति गरे, ती सबै श्रेय श्री बस्नेतकै देन हो भन्नमा अत्युक्ति नहोला। कवि श्री बस्नेतले आफ्नो शब्द भण्डारबाट छानी-छानी, चुनी-चुनी अत्यन्त कर्णप्रिय शब्दहरू सजाईकन आफ्नो काव्य कृतिलाई महिमाशाली निश्चय बनाएका छन्। सत्य हो श्री बस्नेतबाट पाइएको उनको पहिलो कविता कृति ‘यो मधुर मन कहाँ छैन र नपुगेको’ बड़ो स्निग्ध छ, पाठकहरूको निम्ति मिठासको पर्याय छ, सौम्य प्रकृतिको मिठास रहेका छ अनि गरिमाशाली पनि।

अन्तमा कवि श्री एस. एम. बस्नेत ‘निष्पक्ष’-ज्यूलाई उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको कामना राख्दै भविष्यमा यस्तै उच्च स्तरीय कविताहरूका रसास्वादन गर्न पाइरहुँ।

नागरी फार्म चियाबारी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।