मामु मलाइ त्यो टमस ट्रेन किन्दिनु न, हुन्छ ?
किन्दिन्छु तर मसंगै बस् ल! पहिलोदिन प्रीस्कूल गएको मेरो छोरोलाई के भनेकी मात्र थिएं , “अनि थुरो मान्छे हुनु पर्दैन त स्कूल गएर ?” भन्दै उत्तिखेरै नाजवाफ बनाएको थियो मलाइ। सायद सबै आमाले भन्ने एउटै कुरा “पढेपछि मात्र ठूलो मान्छे भइन्छ, एकछिन पढन आउ ल!” मैलेपनि उसलाइ भनेकि थिएं होला पढन बसाउने क्रममा । त्यो दिन चाहिं स्कूल कत्तिको मन परायो भनेर उसलाई जांचेकी मात्र थिएं ।
प्रसंग त्यही थुरो हुने मान्छेको । उपनि हाइस्कूल सकेर कलेजका लागि घरबाट हिंडेपछि कहां शुन्य भएन होला र ! न भान्साकोठा, न सुत्नेकोठा, न खेल्ने ठाउं न त हिडने बाटो नै। हिजोसम्म कति कराएका ! एकछिन त शान्तले बस न ! भन्ने घर एकाएक खालीखाली लाग्यो । सांच्चै छोराछोरीको नभएको घरको शुन्यताको मापन गर्ने डिग्री कस्तो होला हं ?
दुइवर्ष अघि छोरी जांदा कतिदिनसम्म खाना घांटीमै अडिकिरहयो, हांसो मुखैमा अडिकिरहयो, बास्तबमा मेरा दैनिकी नै अडिकिरहे धेरैदिनसम्म। भाइ उभन्दा २ वर्षमात्र कान्छो भएकाले दुइ वर्षपछि फेरी यो दिन आउंछ भन्ने थाहा थियो तर आएको दिन फेरी उस्तै घरपनि खाली,मनपनि खाली भयो । मेरो काख खाली भयो । समग्रमा मेरो मनको सानो संसार नै खाली भयो ।
काखको बच्चा कतै छोडेको छ, लिन जानुपर्छ भनौ भने १८ वर्ष पुगेको छोरालाई उसको कलेजमा पुर्याएर फर्केको धेरै भएको छैन, होइन भनौ भने मनमा चैनपनि छैन । घर रित्तो भनौ भने छोरो बाहेक अरु सबै छन घरमा तर आंखा जुधाएर कसैसंग बोल्न सकेकीपनि छैन । अघिपछि ख्यालठट्टा गर्ने हामी आमाछोरीपनि एकाएक रोकियौ। मेरो चिन्ता केही कम हुन्छ कि भनेर होला सायद उसले “आज हामी संगैं सुतौ अनि भोली उठेर संगै पार्क जाने है मामु” ? भनी । उठन सक्छौ र? आजकै दिन त हो लामोसम्म सुत्न पाउने ! भोली त तिमी नि जानुपर्छ । पर्दैन तिमी सुत, म छिटै गएर आउंछु भने मैले, तर उसले मानिन । भोली बिहान संगै पार्क जाने सर्तमा आमाछोरी सुत्यौं । संगै सुत्यौं मात्र, गफ गरेनौं। छोरी गफ गर्न मलाइ कोट्याइरहेकी थिइ तर म बोल्न सकिरहेकी थिइन। नबोल्दा नबोल्दै संझनामा आएका उनिहरुका बालसुलभ दिनहरु ममा सिनेमाको रिलजस्तै घुम्न थाले । मसंग बोल्न खोज्दाखोज्दै विचरा उ भुसुक्कै भइछे । ममा भने उनिहरुका अबोधपनाहरु एकएक गरेर आंखा अगाडि नाच्न थाले । वितेका दिनहरु संझदासंझदै खै कतिखेर म निदाएं, थाहै पाइन ।
भोलिपल्ट बिहानै आंखा खुले । छोरी निदाइरहेकी थिइ । म सरक्क उठें । केही वर्ष अगाडि नै घरका सबैजना दिनभरी बाहिर हुनाले को कहां छ भनेर हेर्न आ-आफनो फोनमा ३६० एप्लिकेसन डाउनलोड गरेका थियौं । फोन टिपेर त्यही एप्लिकेसन हेरें। छोरो जहां छोडेर आएकी थिएं हिजो त्यहि बिल्डिङमा रहेछ । ओछयान सजिले भएछ क्यारे, सुतेछ मेरो बच्चा….. मनले भन्यो । एक्लै मुसुक्क हांसें र चित्त बुझाएं । मन ढुक्क भएपछि पार्क जानलाई ठीकाठाक परें । आफू तयार भएपछि छोरीलाई उठाएं। हामी तुरुन्तै निस्कियौं । बाटाभरी गफ नआएकाले छोरी बेलाबेलै बोल्नलाई कर लाइरहन्थी । म हुन्छ भन्थें तर के बोल्ने शुरु गर्नै आएन, मात्र शुनसान म हिंडिरहें। म नबोलेकाले अर्को हप्ता त भाइ आइहाल्छ नि मामु ! किन यस्तो पीर गरेको ? उसले हाइस्कूल नै नसकि म घरै बस्छु, पढदिन भन्या भए के गर्नु हुन्थ्यो ? भन्दै मेरी बालख छोरीले मलाई संझाइ । मेरो सानो बच्चाले संझाउनु परेकोमा मलाइ कताकता असजिलोपनि लाग्यो तर छोराछोरीका अगाडि सधै उस्तै बलियो कहां हुंदीरहिछ र आमा !
पार्कबाट फर्केपछि छोरीलाईपनि कलेजमा पुरयाउनु थियो । चांढै खाना बनाएं । साथीहरुसंग मिलेर अपार्टमेण्टमा बस्ने, आफै पकाएर खाने भनेकीले खाना बनाउंदै उसको भान्सालाई चाहिने कुरा ठीक पारिदिदै गएं । खानेकुरा पाकिसकेपछि खाना पस्किएं, मुखमा हालेंपनि तर घांटीबाट तल जान पटक्कै मानेन । हिजो छोरालाई आफू बसेको राज्यको पश्चिमतिर छोडेर आएकीले मेरा आंखापनि पश्चिमतिरै उचालिएछन । नराम्रोसंग बर्सिए आंखा। सम्झनाको भेल बाढी मनका गह्रागह्रामा पस्यो, केहीबेरसम्म रोक्नै सकिन आफूलाई । एकछिनपछि तैंले गर्दा सबैको भोक चौपट पारिस। पढन गएको हो तेरो छोरो आइहाल्छ नि भोली! अब यसो नगर ! भनेर मेरो भित्रि मनले सम्झायो र थोरै निलें । चांढै धन्दा सकेर छोरीलाई पुर्याउन निस्कें । बाटाभरी गफ गरिएन मात्र आफैले हांकेको गाडीको आवाज सुन्दै बाटो काटिरहें । हामी चांडै नै अपार्टमेण्टमा पुग्यौं । लगेका सामान सबै उसका भान्सामा राखिदिएर फर्किएं।
छोरीलाइपनि छोडेर आएपछि त काहि नभएको शून्यता छायो । घर आउनै मन लागेन तर कहां जाने र ? मलिन अनुहार लिएर घरभित्र छिरें। बुढाबुढीको दोहोरो गफपनि भएन। भोलीपल्ट अफिस जानु छ, आंखा पटक्कै जोडिएनन, तैपनि निदाउन कोशिस गरें।
खानेबेलामा धेरै दिन आंखा र मन उतै छोराछोरी भएतिरै पुगिरहे । अफिसमा हुंदापनि हरेक कामपछिका ब्रेकमा मन घरी छोरी भएतिर उडयो, घरी छोरो भएतिर । यस्तै मन उडने क्रममा फेरी एकपल्ट मेरो पहिलोपल्ट कलेज जानेबेलामा उडेर पुग्यो । म काठमाडौमा दिदीसंग बसेर आइ. ए. पहिलो वर्ष पढन जानकालागि ठिकठाक पर्दै गर्दा आमाले “नजान नानी, यतै धरान, विराटनगरमा पढ, तंपनि गए अब घरमा कोहीपनि हुदैन’ भनेको कुरा सम्झिएं । आमाको मन कस्तो भएको थियो होला त्यतिबेला, अहिले बल्ल थाहा पाउंदैछु । नपरी कहां चेतिने रहेछ र ! त्यो बेला म पनि त १६ वर्षे अल्लारे उमेरकी मान्छे, आमाको चिन्ता बुझने नै कहां भइसकेकी थिएं होला र! छोराछोरीको उमेर संझदा म आफनै अतितमा हराएंछु एकछिन ।
सन्तानले घर छोडेपछि आफूमा भएको जांगरपनि उनिहरुसंगै जानेरहेछ कि क्या हो केही गर्न मन लाग्दैन त । बिशेष गरेर आमालाई यो खान्छु र त्यो खान्छु भन्ने सानोमान्छे घरमा नहुंदा केही बनाउन जांगर नचल्ने, बनाएपनि खान मन नलाग्ने अथवा केटाकेटी छैनन भनेर मन त्यसै मार्ने काम धेरै भए मेरा। अझै भइरहेका छन । आफनो खाना खाने बेलामा के खाए, मिठो भयो कि भएन भन्ने लागिरहन्छ । अरु आमाका त छोराछोरी नै बाहिर नगएजस्तो लाग्छ। गनगन गरिरहन मन लाग्छ, हैन के भाको?
कहिलेसम्म मैले यस्तो गर्ने, म अब परिवर्तन हुनुपर्छ भन्छ एउटा मनले तर अर्को मनले दिदैन। उनिहरु गएको २ महिनापछिदेखि चाहिं छोरोछोरीलाई आफनो वेगमा उडन नदिए भोली उनिहरु कसरी बलिया होलान र ! मैले यो के गरिरहेछु, आफूलाई परिवर्तन गर्नुपर्छ अब भनेर बिस्तारै अलिक फरक हुन थालें । उनिहरुलाई धर्तीमा ल्याउनु अघिको मेरो जीवन र समयलाई सम्झिन थालें । खाइराखेको जागिर राजिनामा दिएर केही वर्षदेखि हाम्रो एक्लाएक्लै बांचेको समयको मिलन गराउन मैले घर छोडेको सम्झिएं । मायांको एउटा प्यासीले घर छोडेपछि अरु धेरै मायांहरु छोडेको सम्झिएं, जुन आफन्तको मायां, गाउंघरको मायां, समाजको मायां, समग्रमा सिंगो देशको मायां भएर बेलाबेलै दुख्न थालेको संझिएं । त्यो दुखाइलाई कम गर्न मैले आफैले केही गर्नुपर्छ भनेर आफू घोटिएको कुरा संझिएं र चित्त बुझाउन थालें ।
विगत सम्झने क्रममा म आमा भएको संझिएं । कहिल्यै नसम्हालेका जिम्मेबारी आएका थिए ममाथि, जुन गर्दिन भनेर पन्छिन मिल्दैनथे। अघिसम्म देखेका सपनाहरुका विपना अर्कै अर्कै भएर आए । मेरो ब्यस्तताको घडी भित्ते घडी अनुसार चल्न छोडयो । ओ..हो.. सपना देख्नु र विपना भोग्नुमा कति धेरै अन्तर हुनेरहेछ हगी ! ति दिनका ब्यस्तताहरुले रमाउन सिकाए मलाइ । मेरो जीवनको अर्को पाटोको सिकाइले सिसु कक्षाबाट विश्वविद्यालयसम्मै पुर्यायो मलाइ ।
आफनै मेहनतले भाग्य कोर्दै आएकी मलाइ अब आफूभन्दा सानाको हातमा भाग्य कोर्न सिकाउनु लर्तरो कुरा कहां थियो र! तर जानेर या नजानेर अलिअलि कोर्न सिकाएं । सानाहरुले प्राइमेरी स्कूलका प्रविधिका कुरा गर्दा, प्रोजेक्टका कुरा गर्दा शुरुशुरुमा त झस्किन्थें, जुन कुरा मैले विश्वविद्यालयमा पुगेपछिमात्र थाहा पाएकी थिएं । समस्याको जरासम्म पुगेर बुझनकालागि म पनि उनिहरुले गरेका प्रोजेक्टहरु हेर्थें । उनिहरुलाई सिकाउने र आफूले उनिहरुबाट सिक्ने क्रममा मैले १७ वर्षसम्म पढेर पाएको प्रमाणपत्रहरु नहेरी बस्नपनि कहां सक्थें र ! ढुसी परेकी भनेर फुर्सदमा तिनलाई खोलेर हेर्थें र उसैगरी पट्याएर राख्थें । अर्कै ठाउं, रहनसहन र बुझाइको आपट्टेको जंगल मैले पढेर आर्जन गरेको ज्ञानभन्दा फरक थियो तर हार मानिन । छोराछोरीसंगै मपनि पढदै गएं, बढदै गएं । उनिहरुपनि कक्षा चढदै गए । साथिभाइका छोराछोरीले विद्यालयको पढाइ सकेर बिश्व विद्यालयका लागि घर छोडे रे भन्दा यिनिहरुले पनि मेरो गुड एकदिन छोडछन भन्ने त थाहा थियो तर थाहा हुनु र सांच्चै छोडेको दिनको सामना गर्नु बिल्कुलै फरक कुरा रहेछन।
घर शून्य हुंदाका शुरुशुरुका दिनहरु धेरै कठिन भए मलाइ । श्रीमानजी संगै हुंदापनि कसका लागि छिटो घर आउनेहोला र! घरमा को छ र मीठो पकाउनु होला! जस्तो लाग्न थाल्यो। अफिसका सहकर्मीहरुसंग कुरा हुदां छोराछोरीको अनुपस्थिति नै मेरो कुराको विषय हुन्थ्यो। कुरा गर्दा गर्दै मेरो अनुहारको रंग बदलिन्थ्यो, बोल्ने ढंग बदलिन्थ्यो । म बद्लिएको देखेर होला एकदिन तीनओटा नातीनातिनाकी धनी मेरीले “अब पहिला गर्न नपाएका कामहरु गर् न ! के चिन्ता लिएर बसेकी, हाम्रापनि छन नि घर छोडेर गएका छोराछोरी” ! भनी । “मायां कम हुदैन, झन पर गयो झन धेरै लाग्ने रहेछ । फोनमा कुरा हुंदा के के भएको छ सबै कुरा सुनाउछन मेरा छोराछोरीले मलाइ”, ७ वटा छोराछोरीकी आमा एप्रिलले भनी। उनिहरुका कुरा सुनिसकेपछि यिनिहरुले भनेको ठीक हो त ? के अब मपनि यसै गर्न सक्छु त ? प्रश्नहरुले घेरा हाले मलाइ। बिस्तारै आफूले आफैलाई सम्झाउदै गए ।
छोराछोरी हाइ स्कूल जान थालेदेखि सबेरै उठन परेकोले उनिहरु घरबाट हिंडेपछि अफिसको काम बाहेक कि त लेखपढ गर्थे कि त पार्कतिर जान्थें, त्योपनि मुड चलेमा । हिडनलाई सधै जांगरपनि नआउने । कहिलेकाहि त छिमेकी बैनीहरुलाई उचालेर लिएर हिडथें तर उनिहरुका साना नानीहरु भएकाले सधै हिडनपनि सम्भब नहुने । बुढालाई भलिबल खेल्दै एक्सरसाइज पुगिसक्छ, घरमा आएपछि के जाउं भन्नु र ! कहिलेकाहि त मलाइमात्र किन हिडन पर्यो भन्याजस्तो लाग्थ्यो र निच मारेर बस्थें । केही दिनपछि हिडने क्रम छुटथ्यो । छुटेपछि फेरी आफै गनगन गर्यो थाल्यो यता दुख्यो र उता दुख्यो भनेर । हरेक नर्या वर्षमा रुटिन बनायो केही समय त्यसमै लागि पर्यो अनि छोडयो, यस्ता काम धेरै भए मेरा । हो, यही निरन्तरता दिन नसकेको काम अब गर्छु भनेर कस्सिएं ।
त्यसपछि मैले आफूलाई आफै कडा गर्दै गर्दै गएं । समय पाएसम्म दिनको एकघण्टा हिडने क्रमलाइ निरन्तरता दिन थालें। जुन निरन्तरताले मेरा अचानक हुने क्य्राम्पहरु (खुट्टा फर्किने) कम गर्दै लग्यो । एक डेढ घण्टा आफूलाई समय दिएपछि शरिर हल्का महसुस हुन थाल्यो । हप्ताको ४ दिन मैले गर्नैपर्छ भन्ने रुटिन बनाएं । अहिले मलाइ त्यो काम नगरे पो के गरिन,के छुटाएं जस्तो हुन्छ । अचेल जे कुरा गर्छु ध्यान दिएर गर्छु । काम शुरु गरेपछि सकेर मात्र छोडनु पर्छजस्तो लाग्छ। आजको काम सकेसम्म भोलीलाई राख्न नदिने बिचार गरेकी छु । यसको मतलब नयां नयां काम गरिरहने म चमत्कारी मान्छे होइन तर बासी काममै मात्र अल्झेर नबसुं भन्ने मेरो चाहना हो ।
फुर्सद त त्यस्तो कहां हुन्छ र तैपनि समय निकालेर केही लेख्छु, पढछु । पढने भन्दा धेरै मन परेका किताबका अडियो सुन्छु । हरेक बेलुका मेसिन्जरमा छोराछोरीसंग कुरा गर्छु । दिनभरीका काम हामी एक अर्कालाई सुनाउंछौं । आजकल कति सजिलो बनाएको छ प्रबिधिले मान्छेलाई हगी!
मलाइ घरमा खानेकुरा बनाउन मन पर्छ । म मिठो बनाउन जान्ने मान्छे त पटक्कै होइन तर पनि पकाउंन मन लाग्छ । पकाउंदा समय खेर गयोजस्तो लाग्दैन । बरु बनाएको खाना खाइदिने मान्छे टुप्लुक्क घरमा आइदिए हुने नि ! जस्तो लाग्छ तर आधुनिक समयमा नबोलाइ अर्थात आउंछु नभनी को आउंछ र घरमा ! मैले आश गर्नु बेकार छ भनेर बरु केही नयां कुरा बनाएको छु, भने ल्याइदिउं अथवा खान्छौं भनेर नसोधी लगिदिन्छु खानाको स्वाद मिल्नेहरुलाई।
छोराछोरी कलेजतिर गएको हप्ता प्रायजसो शनिवार, आइतबार आफूलाई ब्यस्त राख्ने कुनै कार्यक्रम छैन भने घरकै सरसफाइतिर लाग्छु । हामी बसेको ठाउंमा महिनामा एकचोटी कविगोष्ठी हुन्छ, त्यसकालागि सकेसम्म एउटा नयां सृजना नै लैजाउंजस्तो लाग्छ, लेख्छुपनि। साथिभाइहरुलाई भेटेर फर्केपछि थप उत्साह मिल्छ आफूलाई । नर्थ क्यारोलाइनामा आधावर्ष त चिसो नै हुन्छ तर आधावर्ष भने सिजनमा तरकारी रोप्न, फूल रोप्न असाध्य मन पर्छ मलाइ, फुर्सदमा केही समय त्यो कामपनि गर्छु। जति फलोस, फुलोस आफूले गरेको मेहनत त्यहां देख्दा आनन्द लाग्छ । छोराछोरीको शुन्यता मेटाउन उनिहरुका कोठामा छिर्छु, नमिलेका कुरा मिलाइदिन्छु।
छोराछोरी घर आउने हप्ता मेरा दिनहरु छिटोछिटो गएजस्तो लाग्छन । चरी आमाले आफना छोराछोरीका लागि खानेकुरा खोजेर ल्याएजस्तै मपनि उनिहरुलाई मनपर्ने खानेकुराको जोहो गर्छु। उनिहरु फर्केपछि फेरी आफना दैनिकीहरुमा लाग्छु । आफूलाइ ब्यस्त नै राखेर उनिहरु आउने बाटामा आंखा ओछ्याएर बस्छु फेरी अर्को दुइहप्तापछिका रमाइला दिनका लागि ।
नर्थ क्यारोलाइना, अमेरिका