डाक्टर जगत छेत्री द्वारा लिखित " नेपाली साहित्य सम्मेलन लाई सु - ध - पा को योगदान " पुस्तक सर्वप्रथम सन् १९९३ मा पहिलो पटक प्रकाशित भएको थियो र यसका प्रकाशक श्याम प्रकाशन दार्जीलिङ रहेको थियो, यस पुस्तकको मुद्रण चाहिँ दीपक प्रेस बनारस बाट भएको थियो। जम्मा ५० पृष्ठ मात्रै भएको उक्त पुस्तक वृहद आकारको नभए पनि यस पुस्तकमा नेपाली भाषा र साहित्य सम्बन्धी धेरै जानकारी रहेको छ विशेष गरी नेपाली साहित्यमा सु - ध - पा को कस्तो योगदान रहेको छ ती कुराहरू बारे यस पुस्तकमा धेरै राम्रो जानकारीहरु रहेको छ।
सु - ध - पा शब्द भारतीय नेपाली साहित्यमा मात्रै नभएर सम्पूर्ण विश्व नेपाली साहित्य समाज मा एउटा परिचित नाम हो। सु - ध - पा को पूर्ण नाम हुन्छ सु बाट सूर्यविक्रम ज्ञवाली, ध बाट धरणीधर शर्मा कोइराला र पा बाट पारसमणि प्रधान यी तीन जाना साहित्यिक दिग्गजहरुको नामको पहिलो अक्षरहरू लिएर सु - ध - पा बनिएको हो अझ अर्को सु - ध - पा शब्द जन्मिने घटना के रहेको छ भन्दा एकदिन सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा कोइराला र पारसमणि प्रधान कहीं घुम्न गएछन् , यसरी उनीहरू घुम्दै जाँदा उनीहरू तीन जानाले फोटो खिचेछन् , यसरी फोटो खिच्न बस्दा देब्रेदेखि सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा कोइराला र पारसमणि प्रधान क्रमैले बसेछन् यसरी उनीहरू फोटो खिच्न बस्दा देखि नै सु - ध - पा शब्द जन्मिएको हो भन्ने मान्यता रहेको छ।
नेपाली साहित्य विशेष गरी भारतीय नेपाली साहित्यको अध्ययन गर्दा नेपाली साहित्य सम्मेलन बारे हामीले अध्ययन गरेनौ भने हाम्रो नेपाली साहित्यको अध्ययन अधुरो नै हुन्छ र नेपाली साहित्य सम्मेलन लाई स्थापना गर्नको निम्ति यी तीन साहित्यिक दिग्गज सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा कोइराला र पारसमणि प्रधान को ठूलो योगदान रहेको छ।
यस पुस्तक "नेपाली साहित्य सम्मेलन लाई सु - ध - पा को योगदान " लाई हेर्दा यो पुस्तक ३ भागमा विभाजीत रहेको छ पहिलो भागमा सूर्यविक्रम ज्ञवालीले नेपाली साहित्य सम्मेलन र नेपाली साहित्यमा योगदान पुर्याएको कुराहरू बारेमा लेखिएको छ यस पहिलो भागमा नेपाली साहित्य सम्मेलनमा सूर्यविक्रम ज्ञवाली को कस्तो भूमिका रहेको थियो र यसलाई स्थापना गर्नको निम्ति उनको के कस्तो भूमिका रहेको थियो भन्ने कुरामाथि लेखिएको छ। नेपाली साहित्य सम्मेलन संग सँगैमा सूर्यविक्रम ज्ञवालीको योगदान दार्जीलिङ स्थित चौरस्तामा भानुभक्तको सालीग निर्माण गर्नमा ठूलो भूमिका रहेको छ, भनिन्छ नेपाली साहित्यमा भानुभक्त चिनाउनमा दार्जीलिङको ठूलो भूमिका रहेको छ, विश्वमा पहिलो भानुभक्तको सालीग दार्जिलिङमा नै स्थापित भएको थियो यसै गरी भानुभक्तको जन्मजयन्ती अर्थात् भानुजयन्ती पनि सर्वप्रथम दार्जिलिङमा नै मनाइएको थियो भन्ने मान्यता रहेको छ र यसरी दार्जिलिङमा भानुभक्तको सालिग स्थापना गराउनमा र भानुभक्तको जन्मजयन्ती अर्थात् भानुजयन्ती मनाउन विश्वलाई सिकाउनको निम्ति सूर्यविक्रम ज्ञवाली को ठूलो योगदान छ, यसरी नै सन् १९४० मा भानुभक्त आचार्य माथी लेखिएको प्रथम खोजपूर्ण ग्रन्थ - भानुभक्त स्मारक ग्रन्थ सूर्यविक्रम ज्ञवाली को नै सम्पादनमा प्रथम चोटी प्रकाशित भएको थियो। भानुभक्त माथी लेखिएको विभिन्न मौलिक लेख, कविता तथा समालोचनाको यो प्रथम संग्रह भएकोले गर्दा उक्त ग्रन्थ धेरै महत्वपूर्ण भएको हो।यसरी नै नेपाली साहित्य सम्मेलन बाट अन्य धेरै उपन्यास र कथासंग्रहहरु सूर्यविक्रम ज्ञवाली को सम्पादन बाट प्रकाशित भएको थियो यी कुराहरू सबै उक्त पुस्तकमा रहेको छ।
यस पुस्तकको दोस्रो भागमा नेपाली साहित्य सम्मेलन र नेपाली साहित्यलाई धरणीधर शर्मा कोइराला को के कस्तो योगदान रहेको छ ती कुराहरू बारे लेखिएको छ, धरणीधर शर्मा कोइराला को दार्जिलिङमा नेपाली साहित्य सम्मेलन स्थापना गर्नमा मात्रै योगदान रहेको छैन तर उनको योगदान भने दार्जिलिङमा रहेको प्रसिद्ध मन्दिर धीरधाम मन्दिरको स्थापना गर्नमा पनि रहेको छ, नेपाल मा प्रशिद्ध रहेको पशुपतिनाथ मन्दिर जुन मन्दिर महादेवको मन्दिर रहेको छ र महादेवलाई नेपाली भाषी समुदाय को आराध्य देव भनेर पनि चिनिन्छ र नेपाली भाषी समुदायको निम्ति पशुपतिनाथ मन्दिरको एकचोटी भएपनि दर्शन गर्ने धोको रहेको हुन्छ तर सबैको मा पशुपतिनाथ मन्दिरमा गएर दर्शन गर्नसक्ने क्षमता हुने गर्दैन त्यसैले जस् जसले पशुपतिनाथ मन्दिरमा गएर दर्शन गर्न सक्दैनन् उनीहरुको निम्ति दार्जिलिङमा नै पशुपतिनाथ मन्दिरको ढाँचामा धीरधखम मन्दिर बनाइएको हो र यो मन्दिर निर्माण गराउनको निम्ति पण्डित धरणीधर शर्मा कोइराला को ठूलो योगदान रहेको थियो। सन् १९२४ मा नेपाली साहित्य सम्मेलन को स्थापना पश्च्यात धरणीधर शर्मा कोइराला ले नैवेद्य कविताहरुको संकलन प्रकाशित गरे। नैवेद्य प्रकाशित गर्नको निम्ती धरणीधर शर्मा कोइराला को नै भाषामा भन्नु हो भने "कविन्द्र रवीन्द्रले गीताञ्जली लेखेको र ती कविताहरु सार्है राम्रो लागेकोले म पनि नेपाली साहित्यलाई अरु के चढाउनु सकथिए, त्यतिन्जेल लेखेका कविताहरु जोडेर त्यही धूपबत्ती र नैवेद्य चढाउने काम गरेको थिए । नैवेद्य भनेको मेरो आत्म निवेदन हो।" यस नैवेद्य ले त्यस समयको दार्जीलिङगे नेपालीहरुलाई जगाउनको निम्ति ठूलो भूमिका खेलेको छ। यसै गरी २० अप्रेल १९३२ मा धरणीधर शर्मा कोइराला , सूर्यविक्रम ज्ञवाली र हरिप्रसाद प्रधान मिलेर कोलकाता विश्वविद्यालयका उपकुलपतिलाई " नेपाली पार्वत्य भाषा को नाम लाई नाम परिवर्तन गरी नेपाली मात्रै लेखियोस् भनेर स्मारक पत्र पनि चढाए। यसै गरी धरणीधर शर्मा कोइरालाले मनोविनोद पुस्तकालय, गोर्खा सम्मेलनको पनि स्थापना गरेको कुराहरुको उल्लेख उक्त पुस्तकमा रहेको छ यसरी नै यस पुस्तकमा धरणीधर शर्मा कोइराला ले नेपाली भाषा र साहित्यलाई के कस्ता योगदान पुर्याएका थिए भन्ने कुराहरुको उल्लेख पनि उक्त पुस्तकमा रहेको छ। धरणीधर शर्माको साहित्यिक योगदानको कुरा मात्रै उक्त पुस्तकमा गरिएको छैन तर उनले पुर्याएको सामाजिक र आध्यात्मीक योगदान बारे पनि उक्त पुस्तकमा उल्लेख गरिएको छ।
यस पुस्तकको अन्तिम भागमा नेपाली साहित्य सम्मेलन स्थापना गर्नको निम्ति पारसमणि प्रधानको के कस्तो भूमिका रहेको थियो भन्ने कुराहरुको उल्लेख रहेको छ। नेपाली साहित्य सम्मेलनको स्थापना संग संगै नेपाली भाषालाई भारतको नेपाली भाषी बहुल क्षेत्रहरू विशेष गरी दार्जीलिङ पहाडी अञ्चलका विद्यालयहरूमा नेपाली भाषामा पठन - पाठन सुरु गर्न लगाउनमा पनि उनको धेरै योगदान रहेको छ, नेपाली भाषा र साहित्यमा उच्च शिक्षाको आरम्भ गराउनमा पनि उनको धेरै योगदान रहेको छ, यसै गरी नेपाली पाठ्य पुस्तकहरूको अभावमा उनले स्कुले विद्यार्थीहरूको निम्ति धेरै नेपाली पुस्तकहरू र व्याकरण लेखे, उनले नेपाली शब्दकोश पनि प्रकाशित गरे, नेपाली भाषाको शुद्धिकरणमा पनि उनले जोड दिए पारसमणि प्रधानको यी सब कुराहरूको योगदान बारेमा यस पुस्तकमा उल्लेख गरिएको छ र उनका अन्य धेरै उपलब्धिहरू बारे पनि यस पुस्तकमा लेखिएको छ।
सु - ध - पा नेपाली साहित्य सम्मेलन को संस्थापकहरु हुन। सु - ध - पा को योगदान नेपाली भाषा र साहित्यमा मा मात्रै सीमित रहेको छैन तर उनीहरूको योगदान सामाजिक, शैक्षिक, आध्यात्मिक क्षेत्रहरूमा पनि रहेको छ। सु - ध - पा नेपाली साहित्य सम्मेलनमा मात्रै सँगै थिएनन् तर उनीहरू दार्जीलिङको त्यस समयमा प्रशिद्ध मानिने दार्जीलिङ सरकारी विद्यालयमा पनि सँगै थिए, उनीहरू त्यस विद्यालयका शिक्षकहरू पनि थिए, उनीहरू त्यस विद्यालयका शिक्षक हुँदा उक्त विद्यालयको गरिमा पनि बेग्लै थियो।
अन्त्यमा यही भन्न सकिन्छ कि नेपाली साहित्य सम्मेलन दार्जीलिङको मात्रै धरोहर होइन तर उक्त सम्मेलन त सम्पूर्ण नेपाली भाषी समुदाय र नेपाली भाषालाई माया गर्ने समुदायहरुको निम्ति तीर्थ स्थल नै भनेपनि हुन्छ, एक समय बालकृष्ण सम दार्जीलिङ आएर " दार्जीलिङ ले जे आज सोच्छ त्यो नेपालले छ महिना पछि मात्रै सोच्ने गर्छ " भनेर भनेका थिए र बालकृष्ण सम ले दार्जीलिङ बारे यस्तो किन भने भन्दा त्यस समय दार्जीलिङ ले नेपाली साहित्य लाई हाँकेका थियो, ठूला ठूला साहित्यिक दिग्गज हरु, महारथीहरु त्यस समय दार्जिलिङमा थिए र त्यस समय दार्जीलिङ लाई साहित्यको खानी बनाउन नेपाली साहित्य सम्मेलनको ठूलो योगदान थियो ।
यसैले पनि नेपाली साहित्य सम्मेलन नेपाली साहित्यको निम्ति महत्वपूर्ण छ। नेपाली साहित्य सम्मेलनलाई विषय बनाएर यसै पुस्तकका लेखक डाक्टर जगत छेत्री ले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गरे र संस्थागत रूपमा नेपाली भाषा र साहित्यमा उक्त विद्यावारिधि प्रथम विद्यावारिधि हो।यसैले हामी सम्पूर्ण नेपाली भाषी समुदायहरूले नेपाली साहित्य सम्मेलनको संरक्षण गर्ने र यसलाई अघि लिएर जाने हामी सबैको उत्तरदायित्व हो।।
दार्जीलिङ