धादिङ जिल्लाको नलाङ, आवृछापमा जन्मेर धादिङ, धरान, बनारस र वृन्दावनका विभिन्न शिक्षालयहरुका साथै विभिन्न व्यक्तित्वहरुसँग र अध्ययन गरी नेपाल फर्किआएका डिल्लीरमण शर्मा अर्यालले शिक्षाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । शैक्षिक क्षेत्रका साथै साहित्यिक फाँटमा पनि काव्य, गीत, व्याकरण तथा संस्मरण विधामा कलम चलाएर उनले २५ वटा कृति सिर्जना गरेका छन् । शिक्षा, समाज र साहित्यका क्षेत्रमा संलग्न सबैले चिन्ने व्यक्तित्व अर्याल अनवरत शिक्षासेवा र साहित्य–साधनाका कारण नेपाली साहित्याकाशको पनि एक नक्षत्रका रूपमा रहेका छन् । विक्रम संवत् १९८८ चैत्र ७ गते जन्मेका अर्यालको २०७२ श्रावण ४ गते निधन भएको थियो । २०५८ सालमा लेखक अर्यालकी बुहारी राधिका अर्यालले प्रकाशन गरेको अर्यालको संस्मरण–सँगालो ‘जीवनका कथा–व्यथाहरू’ २०६७ सालमा मलाई लेखककै हातबाट उपहारस्वरूप प्राप्त गर्ने अवसर मिलेको थियो । मैले जनसंख्या अध्ययन विषयको स्नातकोत्तर तह सक्काएपछि धादिङ जिल्लामा जनस्वास्थ्यका क्षेत्रमा सम्बद्ध प्राविधिक व्यक्तित्वहरूलाई जनसंख्यासँग सम्बन्धित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा स्रोत व्यक्तिका रूपमा सहभागी हुने अवसर पाएको थिएँ । यसै सन्दर्भमा करिब एक हप्ता जति धादिङबेंसी बस्ता मेरा बा (प्रा.डा. रविलाल अधिकारी, २००२–२०७९) लाई त्यहाँ पुगेको खबर गरेको थिएँ । उक्त कुरा उहाँलाई अवगत भएपछि “मिल्यो भने त्यहाँ डिल्लीरमण शर्मा अर्याल गुरुकहाँ जानू” भन्नुभएको थियो । म समय मिलाएर, शोधखोज गर्दै नीलकण्ठ नगरपालिकास्थित लेखक अर्यालको निवासमा पुगेको थिएँ । मायालु स्वभावका अर्याल गुरुसँग चिनापर्ची गरेर केही समय बिताउन पाउनु र मजस्तो साहित्यको पाठकका लागि सुखद क्षण रह्यो ।
डिल्लीरमण शर्मा अर्याल गुरुले दिएको उक्त पुस्तक त्यस समयमा मैले सर्सर्ती हेरेको थिएँ । अहिले मेरो सङ्कलनमा रहेका पुस्तकहरु हेर्दै र पढ्दै जाँदा यो पुस्तक पनि भेटेँ । पढ्न मन लाग्यो । त्यस समयमा सर्सर्ती हेरेको पुस्तकलाई अहिले चाहिँ गहिरिएरै पढेँ । संयोग नै भन्नुपर्ला, यस पुस्तकमा रहेको भूमिका रविलाल अधिकारीद्वारा लेखिएको रहेछ जुन ‘रविलाल अधिकारी स्मृतिग्रन्थ– २०८१’ प्रकाशनका सन्दर्भमा पनि एउटा खोजको विषय रहेको छ । अर्थात् रविलाल अधिकारीले आफ्नो जीवनकालमा के–कति स्रष्टाहरुको पुस्तकमा भूमिका लेख्नुभएको छ, त्यो खोज्ने क्रममा पनि म लागिपरेको छु ।
धादिङबेंसीकै नीलकण्ठ अफसेट प्रेसमा छापिएको यो पुस्तक एक बसाइमा पढिसकिन्छ । पुस्तकको आकार सानो छ । जम्मा ४८ पृष्ठको यस पुस्तकमा लेखकले आफ्नो भूमिकामा भनेजस्तै उनको जीवनका सङ्घर्षमय अध्ययन, कहालीलाग्दा क्षण र जीवनका तीता–मीठा अनुभवले यो संस्मरण–सँगालो तयार भएको छ । लेखक अर्यालले २००६ सालदेखि २०५७ सालसम्मका अर्थात् आफ्नो जीवनको आधा शताब्दीका सङ्घर्ष, भोगाइ तथा अनुभवलाई यस सङ्ग्रहमार्फत पाठकसामु पस्केका छन् । पुस्तकमार्फत लेखकले आफ्नो जीवनसङ्घर्ष र सिकाइको अध्ययनपश्चात् नयाँ पुस्तालाई अध्ययनशील हुन, लगनशील बन्न र साहित्यिक तथा सामाजिक व्यक्तित्वको निर्माण गर्न सहयोग पुग्छ भन्ने आशा राखेका छन् ।
यस पुस्तकमा लेखकका सातवटा संस्मरणात्मक लेखहरू सँगालिएको छ । पुस्तकको आकारमा आउनुपूर्व, २०५२-५३ सालदेखि २०५७ सालसम्म विभिन्न साहित्यिक पत्रिकामा यी संस्मरणहरू प्रकाशित भइसकेका रहेछन् । लेखकलाई भावनात्मक रूपमा यिनै छरिएर रहेका संस्मरणहरूले एक भएर रहन चाहेको आग्रह गरेअनुरूप यो सङ्ग्रह प्रकाशित गरेको कुरा लेखकले पुस्तकको लेखकीय भनाइ (आत्मनिवेदन) मा उल्लेख गरेका छन् । पुस्तकको भूमिका (शुभेच्छा) मा रविलाल अधिकारीले लेखकका प्रत्येक संस्मरणहरूमा आएका महत्त्वपूर्ण सन्देशहरूलाई व्याख्या गरेका छन् । लेखक अर्यालको शिक्षित हुने चाहना र त्यसको परिपूर्तिका निमित्त उनले गरेका प्रयासहरूको अध्ययनले शिक्षा आर्जन गर्न र जीवनलाई ऊध्र्वमुखी बनाउन चाहने प्रत्येक व्यक्तिका लागि यो पुस्तक एउटा प्रेरणादायी सामग्री हुने अधिकारीले उल्लेख गरेका छन् । अर्यालको आधा शताब्दीको लामो अनुभव पुस्तकमा आएको र युगीन परिवेशका कारण सिकाइ र शिक्षा आर्जनका परिस्थितिहरूमा भिन्नता रहे पनि सार रूपमा शिक्षा आर्जनसम्बन्धी चाहना सबै युगका शिशुहरूमा एकै किसिमको रहने पनि अधिकारीको भनाइ छ ।
पहिलो संस्मरण ‘पढ्न जाँदा’ मा अर्यालको सानैदेखि पढाइप्रतिको चाख र शिक्षाप्रतिको भोक कस्तो थियो भन्ने कुरा अभिव्यक्त छ । यो संस्मरण प्रथमपटक मैदान (वार्षिक मुखपत्र) को वर्ष १, अङ्क १, २०५२÷५३ मा प्रकाशित भएको रहेछ । उनका पिता वेदनिधि शर्मा ज्योतिष रहेछन् र अर्यालले सानैदेखि ज्योतिष शास्त्रको अध्ययन घरमै गर्ने अवसर पाएका रहेछन् । संस्कृत व्याकरण नपढी ज्योतिष शास्त्र पनि राम्ररी नबुझिने अनुभव गरी कहाँ गई पढ्न सकिएला भन्ने कुरा बुझ्दै जाँदा बनारस अथवा तत्कालीन अवस्थामा चलनचल्तीको शब्द ‘काशी’ यसका लागि उपयुक्त रहेको जानकारी पाएको लेखकले बताएका छन् । घरबाट बाहिर पढ्न जान वर्जित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्याल आफैंले ३० रूपैयाँ ऋण खोजी गाउँकै एक जना कलकत्ते (कलकत्तामा काम गर्ने गाउँकै एक व्यक्ति) सँग काशी जाने बाटाका सम्बन्धमा जानकारी लिएका र त्यहाँसम्म पुर्याइदिन आग्रह गरेका रहेछन् । कलकत्ता र काशी जाने बाटो फरक भएकाले अर्याललाई काशी जाने रेलमा चढाइदिने कुराकानीका आधारमा २००६ साल कात्तिकमा घरबाट भागी धादिङ, गजुरी पारिपट्टि इर्जुटारमा रहेको उनकै फुपू दिदीको घरमा पुगेको सन्दर्भ उल्लेख छ । घरबार र खेती किसानीमा जेठा, साहिँला र कान्छा दाजुभाइको कुनै सहयोग नरहने गरेको यथार्थ र अर्यालको पढाइप्रतिको हुटहुटीको द्वन्द्वका बीच भएको यस घटनाले सफलता भने हासिल गर्न नसकेको दुःखद क्षणका बारे लेखकले उल्लेख गरेका छन् । घरका मान्छेलाई लेखक अर्याल काशी जान भनी भागेको कुरा थाहा हुन गएको र उनलाई फिर्ता ल्याउन उनका जेठा दाइ सखारै इर्जुटार पुगी खर्चबर्च आफैले लिई घरतिर हिँडिदिएपछि किंकर्तव्यविमूढ भएर लेखक अर्याल घरतिर नै लागेको सन्दर्भ यस संस्मरणमा उल्लेख छ । यस घटना लगत्तै लेखकले धादिङ नेवारपानी मामाघर पुगेर गुरु टीकादत्त भट्टसँग लघुसिद्धान्त कौमुदी पढ्न थालेको जानकारी हुन्छ ।
२००६ सालमा असफल भएको शिक्षा आर्जनका लागि काशी जाने लक्ष्य प्राप्तिको यात्रा लेखकले २०१२ सालमा पुनः सुरु गरेको सन्दर्भ पुस्तकको दोस्रो संस्मरण ‘नाचिरहेकी राँड नै नाच्न जान्दछे .....’ मा उल्लेख छ । ('राँड' शब्द सार्वजनिक प्रयोगमा ल्याउनु असंवेदनशील ठहरिए तापनि उखानको एक शब्द र संस्मरणको शीर्षकमै प्रयोग भएकाले शीर्षकलाई संकेत गर्ने सन्दर्भमा यहाँ पनि लेख्नैपर्ने बाध्यता भयो ।) नेवारपानीका गुरु आफ्नै घर मैदी उखुबारी फर्किएपछि लेखक अर्याल पनि नेवारपानीबाट आवृछाप फर्किए । त्यसपछि पढ्नका लागि घरबाट गुरुको घर जान र आउन गरेर दिनमा चार घण्टा हिँडेरै भए पनि अर्यालले आफ्नो अध्ययनलाई निरन्तरता दिएको देखिन्छ जुन अहिलेका शहरबजारका दैलैमा स्कूल भएका र पाँच, दश मिनेट पनि हिँड्न अल्छी गरेर गाडी चढ्नेका लागि आश्चर्यको विषय बन्न सक्ला । त्यसै गरी अझै पनि कतिपय ग्रामीण परिवेशमा यो अवस्था विद्यमान पनि छ । लघुसिद्धान्त कौमुदी पढेपछि दाङमा मध्यसिद्धान्त कौमुदी पढेर आएका दाजु पर्ने शिवहरि अर्यालसँग लेखकले पढ्न थालेको जानकारी हुन्छ । लेखक अर्यालका अनुसार त्यस समयमा पठनपाठनको परम्परा चाहिँ घोक्ने र घोकाउने मात्र थियो जुन अहिलेका अवस्थामा पनि थोरबहुत कायम नै छ । लघुसिद्धान्त कौमुदी, रघुवंश महाकाव्य, शिशुपालवध महाकाव्य, अमरकोश आदि पढेका व्यक्ति स्वयं लेखक अर्याल गाउँमा भए पनि गाउँघरमा कतै कथापुराण भन्न परे उनका जेठा दाइ, साहिँला भाइलाई नै रोजिने तर तुलनात्मक हिसाबले उनीहरूभन्दा निकै राम्रो अध्ययन गरेका र ज्ञान बटुलेका अर्यालको महत्त्व कसैले नबुझेको सन्दर्भले यस दोस्रो संस्मरणको सार र शीर्षकलाई जोडेको छ । २००६ सालदेखि २००९ सालसम्म तीन वर्ष लगाएर पढे पनि घरगाउँ हुँदा खेती किसानीमै डुब्न बाध्य हुनुपरेको अवस्थाले अर्याललाई ज्यादै खिन्न बनाएको देखिन्छ । पर्यावरण संरक्षणको चेत पनि भएका अर्यालले आफ्ना घरमाथिका पखेरामा घाँसका रूपमा प्रयोग गरेर हुर्कन नपाएका सालका बोटहरूको संरक्षण गरी त्यस समयमै वातावरण र वनजङ्गलको संरक्षणमा पनि उदाहरणीय काम गरेको देखिन्छ । लेखकका भनाइमा धादिङ जिल्लामै प्रथमपटक वन हुर्काउने र जोगाउने प्रेरणा उनीबाटै सुरु भएको पनि उल्लेख छ ।
पढ्ने उत्कट चाहना र शिक्षार्जनका बाबजुद खेती किसानीमै दुःखकष्टपूर्ण समय बिताएका लेखक अर्यालले २०१२ सालमा नेवारपानी पढ्दाखेरिका साथी भानुभक्त अधिकारीलाई भेटेपछि काशी पढ्न जाने अर्को योजना बनाएको देखिन्छ । ऋण, सापटी र आफ्नो बचत गरी जम्मा ३३ रूपैयाँ लिएर मैदीमा भागवत् पढ्न जाने भनी बासँग अनुमति लिएर अर्यालले यात्रा शुरु गरेको सन्दर्भ यहाँ उल्लेख छ । काठमाडौंदेखि उत्तरपट्टि पर्ने पाँचमाने भञ्ज्याङ हुँदै काठमाडौं, थानकोटबाट चन्द्रागिरि भञ्ज्याङ पुगेपछि अर्याललाई अब काशी जान कसैले रोक्न नसक्ने अनुभूति भएको उल्लेख छ । भानुभक्त अधिकारी र लेखक अर्यालको जोडी चित्लाङ, भीमफेदी, मकवानपुर, अमलेखगञ्ज, वीरगञ्ज हुँदै रक्सौलसम्म पुग्छ । रक्सौल पुगेपछि भानुभक्तले काशी जानुको सट्टा विराटनगर र धरानमा आफन्त रहेको र परेका बेला सहयोग हुने कुरा राखेपछि अर्यालले उक्त प्रस्ताव उचित मानी विराटनगरतिर लागेको प्रसङ्ग यहाँ उल्लेख गरेका छन् । काशी जसरी पनि जाने र त्यहाँ शिक्षार्जन गर्ने उत्कट अभिलाषा लिएका अर्यालले धरानको पिण्डेश्वर संस्कृत मा.वि. जाने प्रस्ताव, जुन उनको ज्ञानमा पहिले भएको उल्लेख छैन, लाई सहजै स्वीकारेको घटनाले यस यात्रालाई अलि गम्भीरतापूर्वक नलिइएको आशङ्का हुन्छ । आफ्नै देशमा शिक्षार्जन गर्न पाउनु त धेरै दृष्टिकोणले सकारात्मक कुरा हो तर सबै पक्षको मूल्याङ्कन नगरी यस किसिमका हठात् गरिने निर्णय सही नहुन पनि सक्छन् भन्ने कुरा यहाँ स्मरणीय छ । धरानमा रहँदा भानुभक्त अधिकारी र लेखक स्वयं औलोले थलिएको दुःखद अवस्था र निको भएपछि पुनः काशी जाने निर्णय तेस्रो संस्मरणमा उल्लेख छ । दोस्रो संस्मरण ‘मधुपर्क’ मासिकको वर्ष ३०, अङ्क ८, पूर्णाङ्क ३४३, पुस २०५४ मा प्रथमपटक प्रकाशित भएको रहेछ ।
‘काशीबासमा झण्डै लङ्गडो हुनुपरेको’ संस्मरण यस कृतिको तेस्रो संस्मरण हो । यस खण्डमा लेखकले काशी पुगेपछि बेखर्ची हुनुपरेको, साथी भानुभक्तलाई मात्र उनका भान्दाइले आफूसँग राखेको, एक्लै बास खोज्दै भौँतारिनुपरेको र संयोगवश आफ्नै जिल्लाबासी नेपाली भेटिएको र त्यसपछि काशीमा गरेका अध्ययन र सङ्घर्षका सन्दर्भहरू सम्झेका छन् । काशी पुगेको हप्ता दिनमै लेखकले भनेअनुसार सुखमा हुर्किएका साथी भानुभक्त, हार खाएर घर फर्किने प्रस्ताव लिएर आए पनि लेखक अर्यालले आफू नफर्कने निर्णय गरेको उल्लेख गरेका छन् । काशीमा दुग्ध विनायकमा रहेको श्री रामानुज संस्कृत महाविद्यालयमा मध्यमा विषयको अध्ययन सुरु गरेका अर्यालले निकै सुन्दर कविता शास्त्रीय छन्दहरूमा लेखेर विद्यालयबाट पुरस्कार पाउने, संस्कृतमा प्रभावकारी निवेदन लेखेर दिँदा विद्यालयले छोड्नै नहुने छात्रका रूपमा अवसर दिन खोजेका प्रसङ्ग सम्झिएका छन् । अध्ययन सुरु गरेको केही समयमै दाहिने तिघ्रा अत्यन्त दुख्ने समस्याले त्यहाँका बिडला अस्पताल हुँदै कौडिया अस्पताल पुगेका अर्यालले १६ रूपैया नहुँदा खुट्टाको एक्स–रे गर्न नपाएको दुःखद क्षण सम्झिएका छन् । ४७ दिनको अस्पताल बसाइपछि सञ्चो भएर विद्यालय फर्केका अर्यालले लगत्तै पूर्वमध्यमाको परीक्षा दिएर सफल पनि भएको प्रसङ्गले उनको स्मरण क्षमता तीक्ष्ण र पढाइ राम्रो रहेको अनुमान गर्न सकिन्छ । यो संस्मरण ‘मधुपर्क’ मासिकको वर्ष ३१, अङ्क १२, पूर्णाङ्क ३५८, वैशाख २०५६ मा प्रथमपटक प्रकाशित भएको रहेछ ।
‘जीवनको बिहानीमै परेको बज्रपात’ मा अर्यालले घर छोडेको करिब पाँच वर्षपछि २०१६ सालमा घर फर्किएको प्रसङ्ग, बनारस रहँदा शेषराज रेग्मी र सोमनाथ सिग्द्याललाई भेटेका कुरा, इण्डियाको प्रयागराजमा लागेको कुम्भमेला र त्यहाँ पुगेको प्रसङ्ग, २०१७ सालमा राजा महेन्द्रद्वारा मन्त्री परिषद् विघटन गरेको समाचार र मथुरा–वृन्दावन गएर श्रीरङ्गलक्ष्मी आदर्श संस्कृत महाविद्यालयमा पढाई शुरु गरेको घटनाक्रमलाई समावेश गरेका छन् । लेखक अर्यालले बनारस जान घर छोड्दा दुई महिनामात्रको दुधेबालक छोरालाई करिब पाँच वर्षपछि भेटेको तर छोरा बिरामी भएर निको नभएका कारण केही महिनामै गुमाउनुपरेको शोकाकुल अवस्थाका बारे वर्णन गरेका छन् । २०१६ साल भदौमा लेखक अर्याल मध्यमाको पढाइलाई पूरा गर्न पुनः बनारस गएपछि उक्त तह प्रथम श्रेणीमा उत्तीर्ण गर्दै मथुरा वृन्दावन पढ्न गएको कुरा उल्लेख छ । यो चौथो संस्मरण ‘बिसौनी’ (मुखपत्र) को वर्ष २, अङ्क २, २०५६ वैशाखमा प्रथम पटक प्रकाशित भएको उल्लेख छ ।
पाँचौँ संस्मरण ‘वृन्दावनमा धान्यपूर्णिमाको महत्त्व’ मा वृन्दावनमा मंसिर महिनामा मनाइने धान्यपूर्णिमाको भव्यतालाई व्याख्या गरिएको छ । छोटो समयमै राम्रा कविता लेख्न सक्ने लेखक अर्यालले उनी पढेकै महाविद्यालयमा प्रधान निरीक्षक आउँदाका समयमा एउटा स्वागत कविता उनका प्राचार्यहरू कसैले समयमा लेख्न नसक्दा उनले दुई घण्टामै सुन्दर स्वागत कविता लेखेकाले पुरस्कृत भएको प्रसङ्ग यस संस्मरणमा उल्लेख गरेका छन् । लेखक अर्यालले संस्कृत भाषामा लेखेको कृति ‘श्रीरङ्गस्तुति’ वृन्दावनमा रहँदा २०२० सालमा निस्केको कुरा यस संस्मरणबाट थाहा हुन्छ । २०१८ सालमा चीन र भारतको लडाईं हुँदा भारतीय पक्षलाई उत्साहित बनाउने र हौसला बढाउने कविता पनि अर्यालले लेखेको कुरा यो संस्मरण पढ्दा जानकारीमा आउँछ । भारतको स्वतन्त्रता दिवसको मौका पारेर वृन्दावनबाट नयाँ दिल्ली घुम्न गएको प्रसङ्ग पनि यहाँ उल्लेख गरिएको छ । २०१८ सालमा पुनः घर फर्की शास्त्रीको अन्तिम वर्षको पढाइ सक्काउने उद्देश्यले अर्याल वृन्दावन फर्किएको र २०२० सालमा पढाइ पूरा गरी फर्किएको प्रसङ्ग उल्लेख छ । यो संस्मरण ‘बिसौनी’ (मुखपत्र) को वर्ष ३, अङ्क २, २०५६ मा प्रथमपटक प्रकाशित भएको उल्लेख छ ।
२०२० सालमा घर फर्किएपछि नेवारपानीमा धादिङ जिल्लाकै पहिलो संस्कृत माध्यमिक पाठशालाको स्थापना, सहायक प्रधानअध्यापकका रूपमा जागिरे जीवनको सुरुवात र २०२१ देखि प्रधानअध्यापककै जिम्मेवारी लिई शिक्षाको ज्योति छर्न लेखककै शब्दमा भन्नुपर्दा भगीरथ प्रयत्नका सन्दर्भहरू ‘प्रयत्न मैले गरें मूल्याङ्कन अरूले गरुन्’ शीर्षकको छैठौं संस्मरणमा छन् । संस्कृत माध्यमिक पाठशालामा अध्यापन गर्दा धेरै रत्नहरू उत्पादन गर्न सकेको तर नयाँ शिक्षा योजना लागू भएपछि त्यस किसिमको नतिजा निकाल्न नसकेको र आफू बढी जागिरेजस्तो भएको महसुस हुन थालेको लेखकको भनाइ छ । नयाँ शिक्षा योजनामा संस्कृत पाठशालाको व्यवस्था नै नभएको र बेलाबखत सरुवा भइरहनुपर्ने कारणले पनि लेखक अर्याललाई यस किसिमको अनुभूति भएको हुन सक्छ । यो संस्मरण ‘मनोरमा अप्सरा’ मासिक पत्रिकाको पुस, २०५७ को अङ्कमा प्रथमपटक प्रकाशित छ ।
सधैँको व्यस्त दैनिकीबाट छुटकारा लिन २०५७ सालमा नेपालको पूर्वी भेगतिर गरिएको यात्रा संस्मरण ‘धरान दर्शन’ यस पुस्तकको अन्तिम अर्थात् सातौं संस्मरण हो । यात्राका क्रममा वन र पर्यावरणको खस्कँदो अवस्थाले दुःखी बनाएको र २०१२ सालमा अर्यालले पढ्न जाँदा देख्ने गरेको दन्तकालीको ठूलो मूर्ति नदेखेको प्रसङ्ग उहाँ उल्लेख गरिएको छ । धरानमा वन संरक्षण गर्नुपर्ने अन्यथा भविष्यका सन्ततिले उराठलाग्दो जमिनमात्र पाउने भन्दै लेखक अर्यालले वन र पर्यावरण संरक्षणमा पनि जोड दिएका छन् । यो संस्मरण पनि ‘मनोरमा अप्सरा’ मासिक पत्रिकाको असोज÷कार्तिक, २०५७ को अङ्कमा प्रथमपटक प्रकाशित छ ।
२००६ सालदेखि २०५६ सालसम्म लेखक अर्यालको जीवन यात्रा शिक्षासँग प्रत्यक्ष जोडिएको देखिन्छ । शिक्षाप्राप्तिको भोकले उनलाई नेपालभित्र र नेपालबाहिरका विभिन्न ठाउँमा डो¥याउँदै लग्यो । आफू विद्यार्थी हुँदा अरूलाई सहयोग गर्ने र पढ्न हौसला दिने लेखक अर्याल २०२१ देखि शिक्षाको ज्योति फैलाउने लोकहितको काममा दत्तचित्त भएर लागिरहे । नेपाली शिक्षाका क्षेत्रमा उनले गरेको यस अनवरत सेवा अवश्य पनि उनका लागि उनकै शब्दमा आत्मगौरवको विषय हो । यसको मूल्याङ्कन समयले पनि गरेको छ जसको फलस्वरूप उनी शिक्षासेवीका रूपमा नेपालीसामु परिचित छन् । आजभन्दा सात दशकअघिको समाजमा नेपालीको सामाजिक, आर्थिक अवस्था, शिक्षार्जनका लागि गर्नुपर्ने दुःख र मोल्नुपर्ने जोखिम एवम् सङ्घर्षका यथार्थ घटनाहरूको दस्तावेजमध्येको एक यो पुस्तक पनि हो । यसको अध्ययनले अवश्य पनि हाम्रो ज्ञानको धरातललाई विस्तार गर्छ र जीवनप्रतिको दृष्टिकोणलाई सकारात्मक पाटोबाट हेर्न सिकाउँछ ।
रामघाट, पोखरा