17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हाम्रो लोकसाहित्य र संस्कृतिको अध्ययनमा एम पथिक

कृति/समीक्षा नवीन पौड्याल January 17, 2024, 1:59 pm
नवीन पौड्याल
नवीन पौड्याल

१. विषय प्रवेश –
नेपाली साहित्यमा एम पथिक एक सुपरिचित नाम हो। भाक्सूका मगन पथिकको नामसित मिल्ने बिजनवारीका एम पथिकको आफ्नो आफ्नो योगदान रहेको छ। एमबहादुर छेत्री पूरा नाम भएका एम पथिकका कथा कविता, नियात्रा समीक्षा आदि क्षेत्रमा नाम र काम देखिन्छ। एम पथिकको जन्म ६ मार्च, १९४४, चामोङ चियाबारी, दार्जिलिङमा भएको हो। उनका बाबुआमाको नाम पदमबहादुर र विष्णुमाया छेत्री हो। एमबहादुर छेत्रीले एम पथिकका नाममा साहित्य लेख्ने गरेका छन्। उनी पूलबजार उच्च विद्यालयका प्रधानाध्यपक रही सेवानिवृत्त भएका छन्। हालसम्म उनका जम्मा १९ वटा पुस्ततककार कृतिहरू प्रकाशित छन्। उनका प्रकाशित कृतिहरू हुन्- ‘तरङ्ग’ (कवितासङ्ग्रह, १९६६), ‘पन्ना पन्ना र अक्षरहरू’ (कवितासङ्ग्रह, १९९८), ‘प्रलोकन’ (समीक्षासङ्कलन, २०००), ‘अतीतसित वर्तमानसित’ (निबन्ध, २०१०), ‘अञ्जुलीभर’ (कथासङ्ग्रह, २०१०), ‘पथिकका पाइलाहरू (यात्रा सङ्कलन, २०१२), ‘इन्द्रबहादुर राई अन्तरङ्ग संवादहरू’ (२०१७), ‘आर पी लामा’ (मोनोग्राफ), ‘पहाडमा मौरी पालन र महको औषधीय गुण’।
एम पथिक नेपाली साहित्य सम्मेलन, देवकोटा सङ्घ आदिका आजीवन सदस्य हुन्। पूलबजारमा साहित्यको प्रचार प्रसार प्रेरणा आदि दिने पथिक तन मन धन र वचनले साहित्यलाई योगदान दिइरहेका छन्। उनी मूलत एक समालोचक, एक यात्रा साहित्यकार, एक कवि, एक कथाकार र अब एक लोकसाहित्य अध्येताका रूपमा परिचय दिएका छन्।

२. समीक्षकका रूपमा एम पथिक
एक पथिक एक कुशल समीक्षक हुन्। हालसम्म उनको ‘प्रलोकन’ (२०००) प्रकाशित भएका पाइन्छन्। उनको ‘प्रलोकन’ मा रहेका लेखहरू हुन्- ‘कवि मोतीराम भट्टको पीकदूत’, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनसँग आत्मसात गर्दा’, ‘महाकवि देवकोटाको कुञ्जिनी गीतिकाव्य एक विवेचना’, ‘महाकवि देवकोटाको गीतिकाव्य लुनी’, ‘कवि देवकोटाको म्हेन्दू गीतिकाव्यभित्र केही डुबुल्की केही तलास’, ‘युगकवि सिद्धिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमाथि दृष्टिकोण’, ‘सन्दर्भ कवि हरिभक्त कटुवाल विश्लेषण सुधा खण्डकाव्य’, ‘कवि अगमसिंह गिरीको युद्ध र योद्धामा वीभत्सता चिहाउन पुग्दा’, ‘गिरीको आँसुमा अल्झेको मन केही क्षण’, ‘कवि गिरीको खण्काव्य याद केलाउने जमर्को’, ‘चरी खण्डकाव्यमाथि दृष्टिकोण’, ‘कवि माधव घिमिरेको खण्डकाव्य राजेश्वरीले हृदय पगाल्दा’, ‘कवि माधव घिमिरेको गौरी शोककाव्य एक विवेचना’, ‘शरद छेत्रीको महानिशा’।
यसमा महाकवि लेक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्य विषयमा चारवटा, अगमसिंह गिरीका खण्डकाव्यबारे तीनवटा, माधवप्रसाद घिमिरेका खण्डकाव्यबारे दुईवटा, मोतीराम भट्ट, हरिभक्त कटुवाल र सिद्धिचरण श्रेण्ठका खण्डकाव्यबारे एकेकवटा समीक्षात्मक लेखहरू समावेश छन्। यसलाई खण्डकाव्य विश्लेषण पुस्तक मान्न सकिन्छ। उनी कृतिभित्रका भाव र शिल्प पक्षलाई लिएर समीक्षा गर्छन्।

३. लोकसाहित्यबारे सामान्य चर्चा
लोकबाट रचिएको साहित्यलाई लोकसाहित्य भनिन्छ। यो लोक जीवनको सरल, सहज र स्वाभाविक अभिव्यक्ति हो। लोकभाषा र लोकसाहित्य कुनै पनि भाषा-साहित्यको मूल आधार हो। जब मानिस सभ्य भएको थिएन, त्यति बेला उसले आफ्ना मनका सुख-दुःख, जीवन-मरणका भाव, आफूले देखे-भोगेका घटना तथा आवेग- संवेग अरूलाई सुनाउँथ्यो। त्यसै बेलादेखि लोकसाहित्यको प्रादुर्भाव भएको हुनुपर्छ। यसलाई मानिसको आदिम अवस्थाको अवशेष पनि मान्न सकिन्छ। मान्छे आदिम र असभ्य अवस्थादेखि सभ्यताका अनेक सिँढीहरू उक्लिसकेको छ तर पनि उसमा आदिम प्रकृतिका कतिपय अवशेष विद्यमान छँदैछन्। परम्परागत रूपमा मान्छेले भाषालाई ग्रहण गर्दैआएको छ र त्यसका माध्यमबाट आफ्ना कुरा अभिव्यक्त पनि गर्दछ। यसरी भाषाका माध्यमबाट व्यक्ति-व्यक्तिमा सर्दै र फिजिँदै जाने क्रममा समाजको साझा सम्पत्तिका रूपमा लोकसाहित्यिक सामग्री विकसित भएका हुन्छन्। अतः आदिम मानस, लोकमानस, मौखिक अभिव्यक्ति, श्रुतिपरम्परा, भाषिक माध्यम, साझा सामाजिक सम्पति आदिसँग लोकसाहित्य सम्बद्ध हुन्छ।
लोकसाहित्यका विशेषतालाई निम्न बुँदामा बाँड्न सकिन्छ- (क) सामुहिकता (ख) पारम्परिक (ग) मौखिकता (घ) गतिशालता, (ङ) रचनाकार अज्ञात र गौण, (च) रचनाकाल अज्ञात (छ) स्थानिकता, (ज) हार्दिकता, (झ) अनौपचारिकता, (ञ) अशास्त्रीयता (ट) अभिधामूलक अभिव्यक्ति इत्यादि। सामान्य साहित्यमा झैँ लोकसाहित्यका पनि विभिन्न विधा-उपविधा हुन्छन्। अतः यसलाई लोककथा, लोककविता, लोकगीत,लोकगाथा, लोकनाट्य, उखान-टुक्का, वाग्धारा, गाउँखाने कथा, प्रहेलिका आदि विधाहरूमा विभाजन भएको पाइन्छ।
४. भारतमा नेपाली लोकसाहित्य अध्ययनको सर्वेक्षण
नेपाली लोकसाहित्यको अध्ययन परम्परामा भारतबाट पनि धेरै काम भएका छन्। पारसमणि प्रधानले पनि नेपाली लोकसाहित्यमाथि केही अध्ययन गरेका छन्। लोकगीत, लोककथा, लोकनाटक, लोकसंस्कृति, लोकपरम्परा, लोकधर्म, उखान आदि क्षेत्रमा केही अध्येता गम्भीर रूपमा अध्ययन गरेका छन्। यद्यपि भारतमा नेपाली लोकसाहित्यको अध्ययन शुरु भएको धेर भएको छैन। यस दिशातर्फ कदम चाल्ने पहिलो अध्येता पारसमणि प्रधान हुन् भन्ने नेपाली लोकसाहित्यविद् चूडामणि बन्धुको आशय छ।
उनका अनुसार पारसमणि प्रधानद्वारा सम्पादित लोकगीतमा देवेन्द्र सत्यार्थीको सङ्गीतमय नेपाल (देवेन्द्र सत्यार्थीको अङ्ग्रेजी लेखको नेपाली अनुवाद) हर्कमान राईको जनसाहित्य, कवीन्द्रमान सिंहको लोकगीत तथा एम एम गुरूङको नेपाली जनसाहित्य सङ्कलित छन्। पारसमणि प्रधानको सम्पादकीयसहितको यो कृति यस प्रकारको पहिलो सङ्कलन हो जसमा लोकगीत र लोकसाहित्यबारे लेखिएका लेखहरू प्रकाशित छन्।
उनकै टिपन–टापन ग्रन्थमा सङ्ग्रहित नेपाली साहित्यमा उखानको स्थान भन्ने लेखमा साहित्य र समाजसित उखानको सन्दर्भ केलाउने काम गरेका छन्। विसं २०२० तदनुसार सन् १९६३ मा रोयल नेपाल एकाडेमीद्वारा प्रकाशित काजीमान कन्दङबाको नेपाली जन साहित्य नेपाली लोकगीत अध्ययन क्षेत्रमा एउटा उल्लेखनीय उपलब्धि हो। यसका लेखक दार्जीलिङकै थिए र उक्त अध्ययन पनि यहीँबाटै गरेका हुन्। यस पुस्तकमा नेपाली लोकगीतका विभिन्न भाकाहरूको व्याख्यासहित नमूनाहरू प्रस्तुत गरिएको।
यसपछि अर्को उपलब्धि एम एम गुरूङको बिर्सिएको संस्कृति हो जो सन् १८८० मा प्रकाशित भई सन् १९८४ मा साहित्य एकाडमी पुरस्कार हासिल गरेको छ। यसमा लेखकले दार्जीलिङका विभिन्न गाँउ कमान-बस्ती घुमी त्यहाँका जनजीवनका विभिन्न अभिव्यक्ति बटुलेर पुस्तकाकार रूपमा संकलन, सम्पादन र विवेचना गरेका छन्। यस पुस्तकमा विशेषगरी लोकगीतबारे अध्ययन प्रस्तुत गरिएको छ। आर पी लामाको पुस्तक इन्द्रधनुष (१९९०) मा पनि नेपाली लोकगीत र लोकपरम्परामाथि अध्ययन प्रस्तुत गरिएको छ। यसका साथै यसमा लोककथा, लोकनृत्यादि सम्बन्धमा चिन्तनपरक अध्ययन गरिएको छ। सन् १९७४ मा प्रकाशित काजी सिंह र नरेन्द्र गजमेरको संयुक्त लेखनमा रहेको मादल भन्ने पुस्तकमा मादलको उत्पत्ति र विभिन्न मादले गीतहरूको सङ्कलन र समीक्षण गरिएको छ।
नेपाली लोकसाहित्य अध्ययन क्षेत्रमा २००६ मा प्रकाशित गुप्त प्रधानको धूमिल पृष्ठहरू अत्यन्त उल्लेखनीय छ। यस ग्रन्थमा लेखकले दार्जिलिङ, आसाम सिक्किमको ऐतिहासिक, सामाजिक, आर्थिक पृष्ठभूमि केलाएर नेपाली लोकसाहित्यको ऐतिहासिक अध्ययनअन्तर्गत सङ्कलन, सम्पादन र विवरण प्रस्तुत गरेका छन्। यसमा उदयलहरी, लक्ष्मी धर्म संवाद, डाकमान राईको दार्जिलिङको पैह्राको सवाई, हाजिरमान राईको मीठा मीठा नेपाली गीत र नारी उपदेशार सवाई जस्ता लोकसाहित्यिक कृतिहरूको सङ्कलन, सम्पादन पनि गरिएको छ। यसको दोस्रो संस्करण सन् २००८ मा अझै थप सामग्री लिएर प्रकाशित छ।
खरसाङका लोकगीत कलाकार एस एम वाइबाद्वारा सङ्कलित रचित र विवेचित ग्रन्थ हो परम्परागत नेपाली लोकगीत लोकसंस्कृति हो। यो २००८ मा सिक्किमको निर्माण प्रकाशनबाट प्रकाशित छ। यसमा नेपाली लोकगीतको ऐतिहासिक, सामाजिक इत्यादि पृष्ठभूमि केलाउँदै विभिन्न लेपाली लोकलय, लोक भाकाहरूको विवरणसहित प्रस्तुत गरिएको छ।
यसका साथै यसमा मादलको उत्पत्तिको लोककथादेखि लिएर विभिन्न चाड-पर्वका गीत-सङ्गीतको चर्चा गर्दै अनेक गीतहरू पनि राखिएको छ। यसै गरी डि बी सिंहको लौ खेलौं जवारी (२०११), लोकलवज (२०११), त्रिवेणी (उखान टुक्का वाग्धाराको अध्ययन-सङ्कलन), गङ्गाप्रसाद भट्टराईको लोकायन (२०१७) र लोकवार्ता : तुलनीय केही पक्षहरू (२०१७), डा. दिलकुमार प्रधानको लोकविश्वास (२०२२), सूचन प्रधानको नेपाली चाडपर्वहरूको सांस्कृतिक अध्ययन (२०१६), प्रकाश भट्टराईका नेपाली सभ्यताको परिचय (२००८), नेपाली लोक परम्परा (२०२०) र नेपाली पारम्परिक संस्कृति र सभ्यताको ढुकुटी (अघिल्ला दुई पुस्तकका संशोधित र थप प्रस्तुति, २०२३), छत्रमान सुब्बाको लोकसंस्कृतिका आधारहरू (२०१७), के एन शर्माको खस जातिको परिचय र लोकसंस्कृति (२०१७), नरेन्द्र गुरूङका लोक दर्पणभित्र भञ्ज्याङका भाकाहरू (२०१७), लोकायनमा बाँचेका नेपाली लोकगीत-सङ्गीत (२०२१), भीमकान्त उपाध्यायको नेपाली लहरीकाव्य (२०१९), राधा शर्माको नेपाली उखानको सामाजिक पक्ष, खेमराज नेपालको नेपाली लोकसाहित्यको रूपरेखा (२००३), शान्तिराज शर्माको खस किरात संस्कृति आदि मुख्य हुन्।
उपर्युक्त पुस्तकहरू बाहेक नेपाली लोकसाहित्यबारे यता भारतबाट अध्ययन गरिएका लोकसाहित्य-संस्कृतिप्रधान पत्रिकाहरू प्रकाशित देखिन्छन्। तीमध्ये बंगाल सरकारको सूचना तथा संस्कृति विभागअन्तर्गत दार्जिलिङ लोकमनोरञ्जन शाखाले आफ्नो छैटौँ वार्षिक उत्सवको उपलक्ष्यमा सन् १९६७ मा स्मारक पत्र नामक एउटा पुस्तिका प्रकाशित गरेको छ जसमा नेपाली लोकगीत, तिब्बती, लेप्चा लोकसंस्कृतिमाथि सङ्क्षिप्त रूपमा प्रकाश पारिएको पत्रात्मक लेखहरू सङ्कलित छन्।
सन् १९९५-९६ सालतिर सिञ्जी समालबोङ बस्ती कालिम्पोङबाट गंगाप्रसाद भट्टराईको सम्पादकत्वमा लोकसाहित्यप्रधान पत्रिका रेलिवारि-रेलिपारि प्रकाशित भएको देखिन्छ। उक्त पत्रिका तीन अङ्कदेखि हराए तापनि यसले नेपाली लोकसाहित्य अध्ययन क्षेत्रमा ठुलो ढोका खोलिदिएको थियो। यसरी नै गोर्खा सांस्कृतिक संस्थान, खरसाङद्वारा प्रकाशित लोकसंस्कृति-लोकसाहित्यप्रधान पत्रिका हाम्रो संस्कृति (सन् १९९७ देखि) देखा पर्छ। यसमा नेपाली लोकसाहित्य र संस्कृति विषयमा निकै गहकिलो लेखहरू प्रकाशित छन्। यसले नेपाली लोकसाहित्य अध्ययनका धेरै बढी सम्भावनालाई आँक्न सकेको थियो तर अहिले यो बन्द छ। यसै गरी २०१५ मा असमको गरिमिमा आयोजित अन्तर्राष्ट्रिय नेपाली संस्कृति सम्मेलन सम्पन्न बएको थियो। त्यसमा पठित नेपाली लोक संस्कृतिका लेखहरूको संकलन नेपाली संस्कृति सुधा (2015) प्रकाशित भएको छ। यीबाहेक हाम्रा जातगोष्ठीका लोकसाहित्य र लोकसांस्कृतिक अध्ययनका पुस्तकहरू पनि प्रशस्त मात्रामा प्रकाशित छ, यद्यपि तिनको यहाँ उल्लेख गरिएन।
नेपाली लोकसाहित्यसम्बन्धी पुस्तकाकार रूपमा अध्ययन गर्ने अध्येताहरू बाहेक विभिन्न पत्र-पत्रिकातिर फुटकर रूपमा लोकसाहित्य सम्बन्धी लेखादि लेख्नेहरूको सङ्ख्या पनि ठुलै छ। त्यस्ता केही लेखकहरूमा टीकाप्रसाद राई, कुमार घिसिङ, महानन्द पौड्याल, डा गोकूल सिन्हा, मनबहादुर गुरूङ, काजी सिंह, मोतीप्रसाद शर्मा, काजी प्रधान, डी. बी. घिसिङ, विरही काइँला, मदन ओझा, डा. घनश्याम नेपाल, प्रा. शान्तिराज शर्मा, प्रा. कृष्णराज घतानी, प्रा. अनिल विश्वकर्म, डा.जस योञ्जन, शिवकुमार राई, काजीमान गोले, ललित न्यासुर, इन्द्रबहादुर राई, किताबसिंह राई, मगन पथिक, जितेन्द्र बरदेवा, बलु बराइली, हीरा वाइबा, मननारायण प्रधान, जगत छेत्री, शङ्कर सुब्बा फागो, गीता शर्मा, बेञ्जामिन राई, बी. बी सुब्बा, देवकुमार दुमी, नवीन पौड्याल इत्यादि हुन्। यसै अध्ययन लोकसाहित्य परम्परामा पूलबजार निवासी एम पथिकको नाम पनि जोडिन आएको छ।

५. लोकसाहित्य अध्येताका रूपमा एम पथिक
एम पथिक लोकसाहित्यका एक गम्भीर अध्येता हुन्। उनी लोकजीवन र लोकसांस्कृतिक परिवेशसित जोडिएका व्यक्ति हुन्। उनकै गाउँ-घरमा खस र किराती सांस्कृतिक परिवेश नजिकमा रहेका, आफैँ सहभागी भएका व्यक्ति हुन्। आफ्नो घरमा नै हाम्रा पुराना परम्परा, संस्कृति संस्कार भएको पाइन्छ। उनले आफूले जानेका, बुझेका कुरालाई लेखेर विभिन्न पत्रपत्रिकामा प्रकाशित गरेका छन्। उनले दियालो वाङ्मय अङ्क, निर्माण-संस्कृति अङ्क आदि पत्रिका र धेरै जसो लेखहरू सङ्कलन लेखन गरी तयार पारेका छन्। पथिकको लोकसाहित्य अध्ययनलाई वर्णनात्मक अध्ययन मान्न सकिन्छ।

६. लोकसाहित्य र संस्कृतिका झलकहरू पुस्तकको समीक्षा-
२०१८मा उनको ‘लोकसाहित्य र संस्कृतिका झलक’ नामक लोकसाहित्य अध्ययनको पुस्तक प्रकाशित भएको छ। यसका प्रकाशक श्रीमती राधा छेत्री रहेकी छन् भने यसमा तेह्रवटा लेख र १४४ पृष्ठ रहेका छन्। यसमा हरेन आलेले संक्षिप्त रूपमा मूल्याङ्कनपरक भूमिका लेखेका छन्। यसमा केही सांस्कृतिक परिचयात्मक निबन्धका अतिरिक्त ‘नेपाली लोकसंस्कृति : सूक्ष्म अवलोकन’, ‘भारतीय संस्कृति र आध्यात्मिकता’, ‘हाम्रो लोकगीतको परम्परामा युद्ध र सैनिक जीवनसम्बन्धी केही गीतहरू’, ‘नेपाली लोकसाहित्यमा प्रेमका उद्गार’, ‘भैलो र देवसी’, ‘कथा गाँसिएका केही बाललोकखेल’, ‘लोककथा’, ‘मादले गीत र नृत्य’ आदि गरी जम्मा तेह्रवटा लेखहरू रहेका छन्। लोक साहित्यको अध्ययन, सांस्कृतिक अध्ययन, कृतिको विश्लेषण र प्रभाववादिता उनको समालोचकीय प्रवृत्ति हुन्। उनका केही समीक्षात्मक लेखहरू पाठ्यपुस्तककीय चर्चाजस्ता पनि रहेका छन्। पुस्तकको भूमिकामा समीक्षक हेरन आलेले पनि लोक साहित्य र लोकसंस्कृतिको आधार र उपयोगिताबारे चर्चा गर्दै यस पुस्तकको महत्त्व प्रकट गरेका छन्।
यस पुस्तकभित्र लेखहरूलाई निम्न विषयहरूमा वर्गीकरण गर्न सकिन्छ-

१. लोकसंस्कृतिको अध्ययन, २. लोकगीतको अध्ययन, ३. चाड-बाडको अध्ययन, ४. केही लोककथा सङ्कलन, ५. कुल पूजाको परम्परा। यसमा लोकसंस्कृतिको अध्ययन गर्ने क्रममा ‘नेपाली संस्कृति- सूक्ष्म अवलोकन’, ‘भारतीय संस्कृति र आध्यात्मिकता’, ‘नेपाली खानापीनमा संस्कृतिका केही झलकहरू’, ‘संस्कृतिगत हाम्रा केही चिन्हारीहरू’, ‘नेपाली संस्कृतिमा माङ्गलिक कार्यका निम्ति नौमती बाजा’, ‘सांस्कृतिक चाड तिहार र यसका पृष्ठभूमिहरू’, २. लोकगीतको अध्ययनअन्तर्गत ‘हाम्रो लोकगीतको परम्परामा युद्ध र सैनिक जीवनसम्बन्धी केही गीतहरू’, ‘लोकसाहित्यमा प्रेमका उद्गारहरू’, ‘मादले र नृत्य’, ३. चाड-बाडको अध्ययनअन्तर्गत ‘सांस्कृतिक चाड तिहार र यसका पृष्ठभूमिहरू’, ‘भैलो र देउसी’, ४. लोककथाअन्तर्गत कथा गाँसिएका ‘केही बाल लोकगीत’, ‘लोककथा’, ५. कूल परम्परा अध्ययनअन्तर्गत ‘मस्टो र धामी परम्परा’ रहेका छन्।
यसमा लेखकले लोकसाहित्य, नेपाली र भारतीय लोकसंस्कृतिको अध्ययन प्रस्तुत गरेका छन्। यसमा नेपाली संस्कृतिको पृष्ठभूमि संरचना स्वरूप र गठन प्रक्रियाबारे प्रकाश पारेका छन्। यसका निम्ति ऐतिहासिक सामाजिक राजनैतिक तथ्यहरू प्रस्तुत गरेका छन्। पुस्तकभित्र नेपाली खानापीना, नौमती बाजा, युद्धबाट उबजका गीतको विश्लेषण, प्रेमसम्बन्धी स्वतःस्फुर्त उब्जेका गीतहरू, तिहार, देउसी भैलीको चलनको ऐतिहासिक पृष्ठभूमि बालगीतको विशेषता, बालगीतभित्र कथाको प्रवाह बगेको प्रसङ्ग, खसहरूको मस्टोको महत्व मौलिकता र परम्परा, मादले गीत आदिका बारेमा अध्ययन र विश्लेषण गरिएको छ।
पुस्तकको पहिलो लेख नेपाली संस्कृति सूक्ष्म अवलोकनमा नेपाली संस्कृतिको चर्चा गर्दै यसको उत्सभूमि र मौलिकतामाथि छलफल गरेका छन्। उनका विचारमा संस्कृति भनेको खानेकुरा, लुगाफाटा, बाजा-गाजा मात्र होइन, सिङ्गो जातिको इतिहास, कला, धर्म, रहनसहनको शैली, सभ्यता, सोचाइ आदि जम्मैका समग्र नै संस्कृति हो। हाम्रो संस्कृतिमा भौगोलिक परिवेशअनुकूल भेषभूषा, खानपीन र वस्तुप्रयोग आदि रहेको छ। यसका साथै हाम्रो संस्कृतिमा सत्यम शिवम् र सुन्दरम्‌को भावना पाइन्छ। हाम्रा धर्मशास्त्र, कला, भोजन, वास्तुकला, चाडपर्व, बिहे आदिबारे वैज्ञानिक कारण आदिको चर्चा गरेका छन्। यद्यपि हाम्रो संस्कृतिका नाममा केही विकृति पनि पसेका छन्, तिनलाई त्याग्नुपरेको छ।
उनका विचारमा रक्सी खाएर स्वास्नी पिट्नु, घर अशान्ति पार्नु, धनको व्यय गर्नु संस्कृति होइन। शरीरको नाङ्गो प्रदर्शन गर्नु र अश्लीलताको ख्याल नराख्नु संस्कृति होइन। संस्कृतिले आत्मसम्मान बचाइराख्छ…। यसैगरी भारतीय संस्कृति र आध्यात्मिकता भन्ने लेखमा भारतको सांस्कृतिक विविधतालाई एकसूत्रलाई बाँध्ने वस्तु आध्यात्मकता रहेको छ। विश्वमा भारतीय संस्कृतिको स्थान अलग्गै रहेको छ। भारतको इतिहास अध्ययन गर्दा पनि भारतीय संस्कृतिमा आध्यात्मिकता गाँसिएको छ भन्ने तथ्य पाइन।
भारतका वेद, उपनिषद्, रामायण, महाभारत आदि नै भारतीय संस्क़तका आदिस्रोत हुन्। अर्को लेख नेपाली खानापिनामा संस्कृतिको केही झलक नाम लेखमा नेपाली खानपिनबारे अध्ययन गरिएको छ। हाम्रो खानामा गुन्द्रुक सिन्की र किनामा आदिको उत्पत्ति र महत्त्व केलाइएको छ। फिलुङ्गेको अचार, सिलामको अचार, धनियाँको अचार, खल्पी, सेलरोटी, मोही, चिउरा, ठोट्ने र भाँडेको साग, कोइरालाको फूल, दुङदुङका साग जरिङ्गोको साग, सिमरायो, चौंसूरको साग, काब्राको अचार, चिमफिङ र सिलटिम्बुर, खनक्पाको अचार आदिको उल्लेख गरेका छन्। यस्ता खाना र अचार आदि युद्धक्षेत्रमा, तीर्थ यात्रामा, गाउँ सबैतिर उपयुक्त हुन्छ। हाम्रा खानपिनमा औषधीय गुण, सांस्कृतिक गुण आदि रहेको तथ्य प्रस्तुत गरेका छन्। अहिले हाम्रो खानामाम विदेशी र अन्यका खाना पनि मिसिन पुगेको छ भन्ने विचार व्यक्त गरेका छन्।
‘संस्कृतिगत हाम्रा केही चिन्हारीहरू’ भन्ने लेखमा पनि हाम्रो संस्कृतिको मौलिकता र चिन्हारीहरूले आफ्नो अध्ययन प्रस्तुत गरेका छन्। हाम्रा दैनिक प्रयोज्यका वस्तुहरू, गरगहना, भेषभूषा, भान्सा घरभित्रका वस्तुहरू, बाँसद्वारा निर्मित वस्तुहरू, टपराका विभिन्न भेद आदिबारे चर्चा गर्दै तिनका प्रयोग र उत्पतिको वैज्ञानिक कारण, पृष्ठभूमि पनि खोजी गरिएको छ।
अर्को लेख ‘नेपाली संस्कृतिमा माङ्गलिक कार्यका निम्ति नौमती बाजा’मा नौमती बाजाको आकार प्रकार, नौमतीको उत्पत्ति र यसको उपयोगिता महत्त्वबारे छलफल गरेका छन्। नौमती बाजाहरूको उत्पत्ति प्रकृति र भौगोलिक अवस्थाका आधारमा सिर्जित भएका हुन्। कर्णाली र गण्डकी नदीको जलप्रवाहबाट कर्णाल र बिगुल वा तुरहीको सिर्जना भएको हो। नौमती बाजा र दमाई जातिको उत्पत्तिको लोकविश्वासको चर्चा गरिएको छ। अर्को लेख ‘हाम्रो लोकगीतको परम्परमा युद्ध तथा सैनिक जीवनसम्बन्धी केही गीतहरू’ मा युद्धसम्बन्धित गीतहरूको उत्स र ऐतिहासिक पृष्ठभूमिको खोज गर्दै यसको परम्परा र केही रचयिताहरूको उल्लेख गरेका छन्। यसमा मित्रसेन थापा, गणेश राईको राईको नालबाट जीवन नियाल्दा पुस्तकभित्र केही युद्धसम्बन्धी केही गीत प्रस्तुत पनि गरेका छन्। यसमा विश्वयुद्धमा गोर्खाली सेनाको बहादुरीसित गीतहरूको सम्बन्ध रहेको उल्लेख गरेका छन्। अर्को लेख ‘लोक साहित्यमा प्रेमका उद्गारहरू’ मा हाम्रा लोकगीतभित्र रहेका प्रेमका विभिन्न उद्गार, भाव र अवस्थासित जोडिएका केही लोकगीतहरूको उल्लेख गरिएको छ।
अर्को लेख ‘सांस्कृतिक चाड तिहार र यसका पृष्ठभूमिहरू’ मा तिहारको ऐतिहासिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमि केलाइएको छ। यम पञ्चकका पाँचै दिनको उत्स, पृष्ठभूमि, विशेषता र मनाउने पद्धतिहरूको उल्लेख गरेका छन्। यसका साथै हाम्रो तिहारसित सम्बन्धित नेवारी पर्व म्हपूजाको चर्चा गर्दै लक्ष्मीपूजा भाइटिका आदिसित सम्बन्धित तथ्यहरूको खोजी गरेका छन्। तिहार मनाउनुका सत्यतथ्यको खोजी गरेका छन्।
अर्को लेख भैलो र देउसीमा पनि तिहारमा खेलिने भैलो र देउसीसम्बन्धित केही कुराहरूको उल्लेख गरेर देउसी र भैलो खेल्ने पद्धति र केही नमुना प्रस्तुत गरिएको छ। अर्को लेख ‘कथा गाँसिएका केही बाल लोकगीत’ मा सत्यमोहन जोशीले वर्गीकरण गरेका आठ प्रकारका लोकगीतको उल्लेख गर्दै ‘कुखुरी काँ’, ‘छुकुमुकी छुकुमुकु’, ‘बाघ पाइला थूः थूः’ ‘टप टप टोपी’, ‘नौ बीस घोडा’, ‘सुर्ती नखानु’, ‘हाम्री दिदी नक्कले’, ‘चीं मुसी चीं’, ‘निगुर मुसी’, ‘घामपानी घामपानी’ जस्ता लोकगीतमा पाइने लोककथाको खोजी गरेका छन्। यद्यपि यसमा काजीमान कन्दङ्बा र विपिनदेव ढुङ्गेल, प्रदीप रिमालको कर्णाली लोक संस्कृति खण्ड–५ आदि पुस्तकबाट साभार गरी प्रस्तुत गरिएको छ। यद्यपि यस लेख पाठकका निम्ति रोचक रहेको छ।
यस पुस्तकभित्र रहेको ‘लोककथा’ भन्ने लेखमा लोककथाको महत्त्व र विशेषता, केही लोककथा अनुसन्धाताहरूको नामोल्लेख गर्दै लोककथाभित्रका केही तर्कपूर्ण तथ्य प्रस्तुत गरिएको छ। यसमा जम्मा सत्रवटा लोककथा संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ। अर्को लेख ‘मस्टा र धामी परम्परा’मा खसहरूको मस्टो परम्परा, यसको उत्पत्ति खस संस्कृति, मस्टाको पूजा विधि, मस्टाको मागल गीत, लोकविश्वासका केही तथ्य प्रस्तुत गरिएको छ। पुस्तकको अन्तिम लेख ‘मादले गीत र नृत्य’ मा मादलसम्बन्धित केही तथ्य र केही मादले गीतको उल्लेख गरेका छन्। मादले गीतसित जोडिएको सोरठीको उत्पत्तिको जयसिङ्गे राजासम्बन्धित लोककथा प्रस्तुत गरिएको छ। यसका साथै त्यस लोककथाभित्र जोडिएका छोटाछोटा गरी बाह्रवटा लोकगीतहरूको पनि उल्लेख गरिएको छ।
यस पुस्तक अध्ययन गर्दा लेखकले हाम्रो लोकसंस्कृतिको उत्पत्ति, पृष्ठभूमि, परम्परा, पद्धति र मौलिकताको खोजी गर्दै तिनका मौलिकताको खोजी गरेका छन्। यसमा रहेका लेखहरूमा अनुसन्धानात्मकता, लोककथा सङ्कलन, लोकगीत सङ्कलन, तथ्यहरूको सङ्कलन, इतिहास चेतना, सांस्कृतिक चेतना जस्ता प्रवृत्ति पाइन्छन्।

६.१. अनुसन्धानात्मकता –
यहाँ लेखक एकजना लोकसाहित्य र संस्कृतिका अनुसन्धाताका रूपमा पनि देखिन्छन्। उनले नेपाली संस्कृतिको गहिराइमा पुगेर त्यसबारे अध्ययन प्रस्तुत गरेका छन्। नेपाली संस्कृति निर्माणको पृष्ठभूमि, कारण र महत्त्वबारे प्रकाश पारेका छन्। उनले लोकगीतमा प्रेमको अभिव्यक्ति, लोकगीतमा युद्ध र सैनिक जीवनसम्बन्धी, नौमती बाजाको थालनीको खोजी, सांस्कृतिक चिन्हारीका तत्त्व, तिहार मनाउनुको पृष्ठभूमि र इतिहासको खोजी, अन्य चाडपर्वका पृष्ठभूमि र परम्परा, बालगीतभत्रको बाल लोक कथाको अन्वेषण गरेका छन्। यी सांस्कृतिक पक्षहरूको अध्ययन अन्वेषण गरेर तथ्यादि सङ्कलन गरेका छन्। लेखकले हाम्रा सांस्कृतिक परम्पराको जरासम्म पुगी त्यसबारे पाठकलाई जानकारी दिने काम गरेका छन्।

६.२. लोककथा सङ्कलन –
एक पथिको लोक साहित्य र लोकसंस्कृतिका झलकहरू पुस्तकमा लोककथाको महत्व विशेषता र सिर्जनाको उत्पत्ति स्रोत आदिबारे चर्चा गरिएको छ। यसमा केही लोककथा सङ्कलनहरूबाट ‘सोक्पाको कथा’, ‘सोक्पाको विनासको कथा’, ‘गोलसिमलको कथा’, ‘फचेंगको दबाईको कथा’, ‘सिरुपाते’, ‘चरीको कथा’, ‘जोगीले बजाउने फेरीको कथा’, ‘स्वर्ग जाने सिँढीको कथा’, ‘न्याउली चरीको कथा’, ‘जम्बू मन्त्रीको कथा’, ‘बोक्सीको कथा’, ‘गुराँस र उत्तीसको कथा’, ‘भालु र दुई दिदीबहिनीको कथा’, ‘काकाकुलिक (चील)को कथा’, ‘गोठालो र बाघको कथा’, ‘नबोल्ने लोग्ने र स्वास्नीको कथा’, ‘छेपारोको कथा’ गरी जम्मा सत्रवटा लोककथा साभार सङ्कलन प्रस्तुत गरिएको छ।

६.३. लोकगीत सङ्कलन –
यस पुस्तक लोकगीत अध्येताका निम्ति पनि उपयोगी रहेको छ। यसमा युद्ध र योद्धासम्बन्धी लोकगीत, प्रेम सम्वत् लोकगीत, भैलो, देउसी, बालगीत, मस्टो गीत, सोरठी गीत आदि गरी जम्मा सठाइसवटा जति लामाछोटा लोकगीतहरू नमुनाका रूपमा सङ्कलित छन्। यीबाहेक अझै केही दुई दुई पङ्क्तिका लोकगीतहरू पनि समावेश छन्।

६.४. तथ्यहरूको सङ्कलन –
प्रस्तुत पुस्तकमा नेपाली लोकसाहित्यका साथै लोकसंस्कृतिका विभिन्न पक्ष, तथ्यहरूको तर्कसम्मत प्रस्तुत गरेका छन्। यसमा तिहार, सांस्कृतिक चाड, हाम्रो सिन्की गुन्द्रुक किनामा र अन्य पेवा खानेकुराका महत्त्व, नौमती बाजाहरूको महत्त्व, युद्धहरूको पृष्ठभूमि, मस्टोको पृष्ठभूमि र त्यसको विधि आदि विभिन्न तथ्यहरूको सङ्कलन पनि गरिएको पाइन्छ।

६.५. इतिहास चेतना –
एम पथिकमा हाम्रा जातीय इतिहासको चेतना पनि प्रवाह भएको पाइन्छ। यसमा तिहारका प्रचलनको इतिहास, गोर्खाली वीरता, नेपाली जातिको उत्स र विकासको परम्परा, मस्टोसम्बन्धी, पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेको जस्ता विभिन्न विषयमा इतिहास अघि सारेका छन्। यो दार्जिलिङ पहाडका भूमिकाको इतिहाससित हाम्रो पनि सामाजिक, सांस्कृतिक इतिहास छ भन्ने चेतना उनका लेखहरूमा पाइन्छ। हाम्रो संस्कृतिका समयक्रमका विकास परम्परालाई पनि लेखकले समात्ने खोजी गरेका छन्।

६.६. सांस्कृतिक चेतना –
प्रस्तुत पुस्तकलाई सांस्कृतिक चेतनामूलक पुस्तक मान्न सकिन्छ। यद्यपि यो सांस्कृतिक अध्ययन अन्तर्गतको नयाँ सिद्धान्त मान्नका निम्ति हिच्किचाउनु पर्छ। लेखकले संस्कृति नै मानव जातिको मुख्य जीवन आधार हो भन्ने कुरालाई जोड दिएका छन्। यसमा हाम्रा दैनिक जीवन, खानपिन, हाम्रा हतियार, हाम्रो बाजा गाजा, चाडपर्व, कुल परम्परा, भेषभूषा, अलङ्कार, संस्कृति र अध्यात्मबीच सम्बन्ध आदिका बारेमा अध्ययन प्रस्तुत गरेका छन्।

७. उपसंहार –
एक पथिक एक कथाकार, नियात्राकार, कवि, निबन्धकार, समीक्षकका साथै एक संस्कृतिविदका रूपमा पनि देखिन्छन्। उनले मौरी पालन जस्तो विषयमा पनि एक आधिकारिक ग्रन्थ तयार पारेका छन्। प्रस्तुत पुस्तक ‘लोक साहित्य र लोकसंस्कृतिका झलकहरू’ भन्ने पुस्तकमा लोकसाहित्यको विभिन्न कोण प्रतिकोणबाट अध्ययन प्रस्तुत गरेका छन्। यस पुस्तकभित्रका लेखहरूलाई निम्न विषयहरूमा वर्गीकरण गरिएको छ- लोकसंस्कृतिको अध्ययन, लोकगीतको अध्ययन, चाड-बाडको अध्ययन, केही लोककथा सङ्कलन, कुल पूजाको परम्परा। यी लेखहरूमा जातीय चेतना, इतिहास चेतना, सांस्कृतिक चेतना, तथ्यहरूको सङ्कलन, लोककथा र लोकगीत सङ्कलन जस्ता कुराहरू पनि समावेश छन्। प्रस्तुत पुस्तक लोकसाहित्यका विद्यार्थी र आमा पाठकका निम्ति सङ्ग्रहनीय र पठनीय रहेको छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।