18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उत्साह र निराशाका बिम्बः रारा र महाकाली

नियात्रा प्रमाण अधिकारी January 22, 2024, 4:23 pm
प्रमाण अधिकारी
प्रमाण अधिकारी

जिन्दगीमा पुग्नुपर्ने ठाउँ त धेरै हुन सक्लान् तर केही ठाउँ त्यस्ता हुन्छन् जहाँ पुग्न हाम्रो अन्तस्करणले बेलाबेला आवाज दिइरहन्छ । जतिसुकै व्यस्त भए पनि, जुनसुकै काम बित्ने भए पनि, झट्ट हिँडेर ती ठाउँमा पुग्न घच्घच्याइरहन्छ । मैले बाल्यकालमा श्यामश्वेतदेखि रङ्गीन टेलिभिजन हेर्दासम्मको अनुभवमा धेरैपटक स्वर्गको टुक्रा भनेर टेलिभिजनका पर्दामा आइरहने ठाउँहरूमध्येको एक थियो– रारा ताल क्षेत्र । टेलिभिजन हेर्दा रारा तालमा नीलो पानी, वरपर हिउँ र कोणधारी जङ्गल देखिन्थे । उत्तरपट्टि सेताम्ये हिमाल र ताल छेउछाउका हरिया मैदानमा केही घोडा तथा खच्चडहरू चरेको देखिन्थ्यो । टेलिभिजनको पर्दामा यस्तै खालका चित्ताकर्षक दृश्यहरु देख्दा मलाई बाल्यकालमा रारा मन परेको थियो । पछि वयस्क हुन थालेपछि त्यहाँ पुग्ने धोको विकसित पनि भयो । पुग्ने रहर गरेर मात्र पनि इच्छाइएका ठाउँहरू पुग्न सहज त हुँदैनन् नै । समय, स्रोत र अनुकूल परिस्थितिको संयोजन पनि मिलेका बखत ती योजना अघि बढ्ने रहेछन् । तर सबै कुरा मिल्ला र हिँडौंला भनेर जोखना हेरेर बस्न थाले सफलता हात नलाग्न सक्ने अर्को यथार्थ हाम्रासामु छँदै छ । जीवनको आठ–नौ दशक जिउँदै गरेका र कतिपय शतक वर्ष काटेका ज्येष्ठ नागरिक बुबाआमाहरूका अनुभव सामाजिक सञ्जालमा हेर्दा र सुन्दा पनि “आफ्ना रुचिका कुरा गर्न पर्खेर नहुने र’छ, गरिहाल्नुपर्ने र’छ” भन्ने उपदेशहरू आइरहन्छन् । यिनै पाका अनुभवहरूले पनि मलाई रारातर्फको यात्रा तय गर्न थप ऊर्जा दिए । फलस्वरूप, दाङ घर भएका मेरा साथी अनुप चौधरी र मैले जीवनमा पुगेरै छाड्ने भनेको ठाउँहरूमध्येको एक मुगु जिल्लाको रारा ताल जाने निधो ग¥यौं ।
रारा पुग्ने यस निर्णयमा अर्को कारण युवामा व्याप्त निराशा र आउन लागेको सङ्घ तथा प्रदेशको चुनाव पनि सहयोगी बन्यो । २०७९ सालको चुनाव मङ्सिर ४ मा हुन गइरहेको थियो । मतदानमा मेरा निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोरिने क्रम निरन्तर चलिरहेको अवस्था थियो र अझै पनि छ । राजनीतिक पार्टीहरूले स्थानीय तहको चुनावमा समेत समुदायमा परिचित र समुदायमा भिजेको व्यक्तिभन्दा पनि केन्द्रले भनेका अलोकप्रिय मान्छे निर्वाचनमा खडा गरिरहने परम्परा रोकिएको छैन । यस किसिमको प्रवृत्ति नरोकिएका कारण निर्वाचनको प्रक्रियाप्रति नै वितृष्णा लागेको अवस्था पनि व्याप्त छ । अन्य देशको जस्तो उम्मेद्वारलाई भोट दिन्न भन्ने आवाज प्रस्तुत गर्ने ‘नो भोट’ को व्यवस्था हाम्रा मतपत्रमा छैन । तसर्थ यसपालिको चुनावमा मतदान नै नगर्ने र बिदाका समयको सदुपयोग घरबाहिर गएर गर्ने निर्णय पनि यो यात्रा जुर्नुको पृष्ठभूमि बन्न गयो । यी कुरामा म र मेरा साथीको मतैक्य भएपछि कात्तिक २८ गते यात्रा प्रारम्भ गर्ने निर्णय गरियो । रारा जाने निर्णय गरे पनि यात्राका लागि सवारी साधनको खोजी गर्न गाह्रो प¥यो । यसका मुख्य दुई कारणहरू रहे । एउटा चुनाव, गृहजिल्लातर्फ मतदाताको यात्रा, उमेद्वारको घरदैलो, कार्यकर्ताको परिचालन । अर्को कारण चाहिँ मङ्सिरमा बिहेका लागि गरिने तयारी र भाडाका गाडीको अभाव । अन्ततः दैलेख बजारका साहुजीको एउटा गाडी भाडामा उपलब्ध हुने भएपछि हामीलाई नेपालगञ्ज विमानस्थलमा लिन आउने गरी कात्तिक २८ गते बिहान काठमाडौंबाट नेपालगञ्जतर्फको पहिलो उडानबाट यात्राको शुरुवात भयो । नेपालगञ्जमा पुगेपछि बर्दियाका साथी अभिषेक चौधरीले पनि हाम्रो यात्रामा साथ दिने निधो भयो । सोही अनुरूप विमानस्थलबाहिर भेटेर अघि बढियो ।
नेपालगञ्जबाट कोहलपुर पुगेपछि मेरी ठूलीआमाको घर त्यहीँ भएकाले बोलाउने मेसो मिल्यो । त्यसैले त्यहाँ एकछिनका लागि पसियो । ठूलीआमाका छोरा केही महिनाअघि रारा ताल पुगेर आउनुभएको थियो । त्यसैले यस भेटको अर्को उद्देश्य रारा ताल पुग्ने बाटाका सम्बन्धमा जानकारी लिने पनि थियो । उक्त भेटमा यात्राका लागि आवश्यक इन्धन भर्ने र बास बस्ने उपयुक्त ठाउँ तथा बाटाका बारे जानकारी लिइयो । त्यसपछि बाटाछेउको एउटा होटलमा चना, तरकारी र चिया खाइयो । कोहलपुरमा भएको एउटा भेट भने मलाई हर्षित तुल्याउने रहन गयो । २०७५ साल जेठ २३ गते पहिलोपटक कोहलपुर पुग्दा मैले कमला नामकी एक बहिनीलाई भेटेको थिएँ । उनी आफ्नो परिवारको आर्थिक समस्याका कारण पढाइको खर्च जुटाउन बिहानै सब्जीमण्डी (त्यहाँ कृषि भनिँदो रहेछ) बाट तरकारीहरू किनेर कोहलपुरको होटल लाइनमा बिक्री गर्थिन् । उनीसँगको त्यसबेलाको भेटले शिक्षाप्राप्तिका लागि मानिसले गर्ने संघर्षहरूमध्येको एक उदाहरणसँग साक्षात्कार गर्ने मौका पाएको थिएँ । चारवर्षपछि त्यहीं पुग्दा संयोगवश उनै बहिनीसँग भेट भयो । उनी अहिले उच्च शिक्षाको पढाइलाई निरन्तरता दिँदै रहिछन् । पहिलेको भेटले उनीप्रति जगाएको सम्मान अहिलेको भेटमा अझ बढ्यो र उनलाई सफलताको शुभकामना दिँदै कोहलपुरबाट करिब ९० किलोमिटर टाढा सुर्खेतमा भात खाने योजना बनाएर अगाडि बढ्यौं । सहयात्री अनुप चौधरीका मामामाइजुको घर सुर्खेतमै रहेकाले सबै जनाले त्यहीं गएर खाना खायौं । त्यहाँ एकछिन बसेपछि कालिकोट पुगेर बास बस्ने योजनासहित अगाडि बढ्यौं । सुर्खेतबाट करिब १७५ किलोमिटरको दूरीमा रहेको कालिकोटको सदरमुकाम मान्म पुग्ने लक्ष्य थियो । यात्राका क्रममा गाडीमा दुईपटक समस्या आयो । सुर्खेतमै एकपटक गाडी बनाएर अघि बढेका थियौं । पछि पुनः गाडी बनाउने उद्देश्यले दैलेखको तल्लो ढुङ्गेश्वरमा एकछिन रोकियौं र चिया पनि खायौं । त्यहाँ रहेको लोहोरे खोलाको दृश्यावलोकन ग¥यौं । यो खोला तल्लो ढुङ्गेश्वरको बायाँपट्टि बग्दै गरेको कर्णाली नदीमा समाहित हुने कुराको जानकारी लियौं । त्यहाँबाट लोहोरे खोला पार गरेर सुर्खेतदेखि करिब १४० किलोमिटरको दूरीमा रहेको दैलेख आठबीस नगरपालिकाको राकम कर्णालीमा बास बस्ने निधो गर्दै यात्रालाई निरन्तर दियौं । दैलेखको साइँगाउँमा पर्ने पेट्रोल पम्प कर्णाली राजमार्गको अन्तिम पम्प रहेछ । त्यहाँभन्दा अगाडि सवारी इन्धन ड्रममा राखेर बिक्री वितरण हुँदो रहेछ । साइँगाउँमा रहेको सोही पम्पमा पेट्रोल हालेर इन्धनको जोहो गरियो । नेपालगञ्जबाट बिहान साढे दशमा शुरु भएको पहिलो दिनको यात्रा राकम कर्णालीमा रहेको ‘होटल ओएसिस इन’ मा पुगेर राती ८ बजेतिर टुङ्गियो । कालिकोटको सदरमुकाम मान्मभन्दा करिब ३५ किलोमिटर वरै बास बसिएकाले रारा पुग्न ढिला हुने हो कि भन्दै भोलिपल्ट बिहानै साढे पाँच बजेतिर मान्मका लागि प्रस्थान गरियो । अँध्यारामा बाटाबाट अगाडि हेर्दा नजिक भएजस्तै देखिने मान्म बजार बत्तीले झिलिमिली देखिएको थियो । खाँडाचक्र नगरपालिकामा पर्ने मान्म बजार राकमबाट करिब ७५ मिनेटमा पुगेपछि त्यहाँको जिरो पोइन्ट भन्ने ठाउँमा बिहानको चिया र खाजा खायौं । कालिकोटकै पिली भन्ने ठाउँ नेपालमा जनयुद्ध हुँदाताक सुनिएको नाम पनि थियो र यो ठाउँ माओवादी सशस्त्र संघर्षका बेला फौजी आक्रमण भएको अन्तिम थलो भएको पनि थाहा हुन आयो । सडकको अवस्थाका सन्दर्भमा कुरा गर्ने हो भने बाटा केही साँघुरा र नियमित रूपमा मर्मतसंभार नभएका पाइए । राकम कर्णालीदेखि मान्म पुग्ने सडक खण्डको अवस्था पनि राम्रो रहेनछ । साँघुरो बाटो, बेलाबेलामा जाने पहिरो र त्यसको नियमित नियमन र संभार नहुने गरेका कारण सडकको कालोपत्रे फुट्ने गरेको पाइयो । सडकको अवस्था राम्रो भएका बेला मानिसहरू सुर्खेतदेखि बिहानै यात्रा शुरु गरेर सोही दिन साँझ रारा पुगेर बास बस्ने गरेको पनि थाहा हुन आयो । हामीले यात्रा गरेका बेला मान्म हुँदै पिली र त्यसपछिको ओरालो बाटाको अवस्था भने राम्रो नै थियो ।
मानव विकासका प्रायशः सूचकाङ्कहरूमा पछाडि रहेको कर्णाली प्रदेशको यात्राका क्रममा असमान विकासको ज्वलन्त नमूना देखेको अनुभव भयो । कर्णाली राजमार्गमा यात्रा गर्दा सुर्खेतबाट दैलेख अनि कालिकोट हुँदै जतिजति अगाडि बढिन्छ त्यस किसिमको अनुभूति झन् घनीभूत हुँदै जाँदो रहेछ । दैलेखका भूभाग हरिया, कृषिका हिसाबले पनि राम्रै हुने देखिन्थ्यो । त्यसपछि कालिकोटमा यात्रा गर्दा वरपर अलिक सुख्खा र विकट भूगोलको दर्शन भयो । सिन्जा उपत्यका र जुम्लाका केही भूभाग कृषिका हिसाबले राम्रै देखिए पनि कालिकोटको जस्तै भौगोलिक अनुभवले निरन्तरता पायो । मुगुले अझ विकट अवस्थाको सन्देश दिइरह्यो । अहिलेको युगमा सूचना प्रविधिले संसार एउटा सानो गाउँजस्तो भइसकेको तर्क गरिन्छ । सबैका हातमा फोन पुगेको र सूचना सजिलै प्राप्त हुने भनेर सकारात्मक कुरा गरिन्छ । यात्राका क्रममा ती तर्क गर्ने जिम्मेवार निकाय र व्यक्तिहरूले सामाजिक–आर्थिक विकासका लागि न्यूनतम पूर्वाधारको पनि विकास नगरेको महसुस भयो । बाटाघाटा, शिक्षा, स्वास्थ्य, यातायात, रोजगारीजस्ता अत्यावश्यक क्षेत्र पछाडि परेको र समाधानका लागि नगण्य काम मात्र भएको अनुभूति भयो । सत्तामा रहेका र राज्यकोष चलाउनेहरूले केही वर्ष कर्णालीको विकासमा पर्याप्त स्रोत छुट्याउँदा के हुन्छ ? के यो राज्यले उत्तरदायित्व निभाउनुपर्ने भूभाग होइन ? काम गर्न सकिने ठाउँमा नै त हाम्रो राज्य भएको महसुस हुँदैन भने सत्ताले प्रचार गरिरहने लिपुलेक र लिम्पियाधुराका कुरा एउटा राष्ट्रवादको गुलियोमा जनतालाई भुलाउने दाउबाहेक बढी केही होइन जस्तो महसुस भयो । यस्तै कुरा मनमा खेलाउँदै हाम्रो यात्रा तिला कर्णालीको किनारैकिनार जारी रह्यो । कालिकोटको नाग्म बजार पुगेपछि जुम्ला सदरमुकाम खलङ्गा र मुगुको सदरमुकाम गमगढी जाने बाटो छुट्टिने रहेछ । यहाँ खलङ्गातिरबाट आएको तिला कर्णाली र जुम्लाको सिन्जा उपत्यकातिरबाट आएको हिमा कर्णाली मिसिने रहेछन् । नाग्म गमगढी सडकखण्ड ९३ किलोमिटरको रहेछ भने त्यहाँबाट खलङ्गा ३१ किलोमिटरमात्र टाढा पर्दोरहेछ । त्यसपछि तिला कर्णालीलाई दाहिनेतिर छाड्दै तिलागुफा नगरपालिकामा रहेको नाग्मबजारबाट गमगढी जाने बाटो समात्दै हिमा गाउँपालिकातर्फ अगाडि बढियो । हिमा कर्णाली नदीलाई दाँया पार्दै यात्रा अगाडि बढ्दै गएपछि खस भाषाको उद्गम स्थल र देख्ने साह्रै धोको रहेको सिन्जा उपत्यका प्रवेश गरियो । कनकासुन्दरी गाउँपालिकामा रहेको गोठीज्यूला भन्ने ठाउँमा दिउँसो खाना खाइयो । स्थानीय मार्सी चामलको भात जीवनमा पहिलोपटक खाँदा देशका ठूला भनिने नेताहरूले खाने चामलको भात खाइयो भनेर चर्चा पनि गरियो । त्यहाँ स्याउ र स्याउका सुकुटी पनि उपलब्ध थिए । फर्कने बेला किन्ने विचार गरेर बाटामा खानका लागि मात्र स्याउका सुकुटी किनेर अगाडि बढ्यौं । त्यसबेला चुनावको चहलपहल व्यापक हुने नै भयो । यसपालि जुम्लाबाट ज्ञानेन्द्र शाहीले राम्रै मत ल्याएर जित्छन् भन्ने कुरा स्थानीयहरूबाट सुनिएको थियो । पछि चुनावको परिणाम पनि त्यही आएको सर्वविदितै छ । जुम्लाबाट मुगुका लागि अगाडि बढ्दै गर्दा मैले मेरा जुम्लाका साथी जनक कार्कीलाई सम्झिएँ । हामी दुवैले स्नातकोत्तर सँगै पढेका थियौं । जुम्लादेखि विभिन्न व्यवधान छिचोल्दै र संघर्ष गर्दै उच्च शिक्षा अध्ययन गर्न केन्द्रीय क्याम्पस, कीर्तिपुर पुगेका साथी जनकलाई सम्झिँदा जुम्लाप्रति थप सम्मानको भाव जाग्यो । उनी अहिले जुम्लाकै एक विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन् । शिक्षाको उज्यालो बाँड्ने काम सँगसँगै सिन्जा उपत्यका र जुम्लाका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा उनको योगदान महत्त्वपूर्ण छ । रारा जाने क्रममा उनलाई भेट्ने संयोग मिलेन । फर्कने बेला पनि फोनमा सम्पर्क हुन नसक्दा भेट्ने मौका मिलेन ।
जुम्लाबाट मुगु जिल्ला प्रवेश गरियो । रारा राष्ट्रिय निकुञ्जको सेनाको चेक पोष्टमा सूचना दर्ता गरेपछि दाहिनेपट्टि हरियो फाँट थियो । घोडा र खच्चडहरू चर्दै थिए । झोलाझाम्टा फालेर लमतन्न परेर आकाशतिर हेर्दै पल्टौं झै लाग्ने घाँसेमैदानका दृश्य आँखाले समेट्दै हाम्रो यात्रा अगाडि बढ्यो । रारा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि एक जनाको एक सय रुपैंयाँको दस्तुर बुझाएर सल्लेरी पुगियो । कोणधारी जङ्गल र त्यसका बीचमा रहेको घाँसेमैदानको बाटो हुँदै करिब चालीस मिनेट हिँडेपछि रारा ताल नजिक पुगियो । यस संस्मरणका शुरुमा व्याख्या गरिएजस्तै हरिया कोणधारी जङ्गल, चौरमा चर्दै गरेका खच्चड, चिसो हावा र तनक्क तन्किएको पानीको रेखाजस्तो देखिने रारा ताल क्षेत्रमा पुगियो । तालको पारिपट्टि रहेको होटलमा बास बस्न तालछेउको बाटो पछ्याउँदै अगाडि बढियो । छोरी पढ्ने विद्यालयको कक्षाका विभिन्न समूहहरूमध्ये उसको समूहको नाम पनि ‘रारा’ भएकाले भिडियो कल गरेर राराको दृश्य देखाउँदा ऊ निकै खुशी भई । रारा ताल पारिपट्टि रहेका दुई होटलहरूमध्ये एउटा होटल केही समयअगाडि आगलागीका कारण बन्द भएको रहेछ । त्यसैले दुःखसुख गरेर एउटा कोठामा तीनजना बास बस्यौं ।
मुगुको हुटु र ताल्चा विमानस्थल वरपर यात्राका क्रममा विभिन्न स्थानीय व्यक्तिहरूसँग कुराकानी भयो । उनीहरूका कुरा सुन्दा राज्यले उनीहरुलाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरेको गुनासो आयो । उनीहरू पनि राज्यको नागरिक भएको, मुगु पनि नेपालमै पर्ने तर सबै नागरिकलाई जस्तो समान व्यवहार र विकासका अवसर मुगुका जनताले नपाएको कुरा उनीहरूले गरे । अर्कातर्फ राजनीतिक दलहरूले पनि आश्वासनको राजनीति गरेको, भागबण्डामा स्रोतको बाँडफाँड गरेको तर स्थानीय विकासका लागि केही नगरेको गुनासो आयो । यी प्रतिनिधि आवाजले परिवर्तनको सङ्केत त दिएका रहेछन् मुगुमा । विगतका चुनावमा जितिरहने पार्टीका नेताले मङ्सिर ४ को चुनाव हारे अनि अर्को पार्टीका नेताले जिते, तर जनताका समस्या ज्यूँका त्यूँ रहेको समाचारबाट अवगत भइरहेकै छ ।
बिहान नौबजेतिर मुगुको ताल्चा विमानस्थल गएर सिधै नेपालगञ्ज जाने योजनाबारे छलफल भयो । सूर्यास्त अघिको ताल र वरपरका दृश्य त्यहाँ पुगेका बेला देखिएको थियो । बिहान सूर्योदय हेरेपछि फर्कन मिल्ने ठानेर सो योजनाअनुसार अघि बढ्ने निधो भयो । बिहान सूर्योदयअघि देखि नै ताल वरपर भ्रमण ग¥यौं । सूर्योदयको दृश्य मस्तिष्क र मोबाइलमा कैद ग¥यौं । कठ्याङ्ग्रिँदो चिसोमा पनि तालमा पौडिँदै गरेका हाँसहरू हे¥यौं । त्यसपछि विमानस्थल जाने तयारी शुरु गरियो । फोनमा “हुन्छ, हुन्छ” भनेर बोलाएका व्यक्तिले विमानस्थल पुगेपछि चिन्न पनि चाहेनन् । नियम भन्ने नेपालमा कहाँ नै भेटिन्छ र ? मीठो सुरुवा खान गएका साथीका साथीलाई सुरुवाको पनि सुरुवा खुवाएको कथाजस्तै विमान कम्पनीका कर्मचारीको पनि कर्मचारी जस्तो मान्छेका भरमा पर्दा दुःख पाइयो । विमानको क्षमताभन्दा करिब १० जना बढी हुने यात्रु अघिल्ला दिनदेखि नै पालो कुर्दै गरेका भेटिए । सो दिन विमान आउने न्यून सम्भावना र भोलि विमान आउने तालिका नभएको कुरा बुझेपछि विमानबाट फर्कने योजनालाई तत्काल त्यागेर गाडीमै कोहलपुर फर्कने भयौं । जुम्लाको गोठीज्यूलामा खाना खाएर कालिकोट बास बस्ने गरी अगाडि बढ्यौं । मान्मको ‘होटल रोनी’ मा यात्राको तेस्रो दिनको थकाइ मारियो । कर्णाली प्रदेशका धेरै जिल्लाहरूबाट रोजगारीको पहिलो गन्तव्य इण्डिया रहेको त्यहाँका स्थानीयले बताए । त्यसपछि अदक्ष कामदारका रूपमा मध्यपूर्व जाने प्रवृत्ति रहेको पनि जानकारी भयो । रैथाने खाद्यबालीको उत्पादन र उपभोगमा कमी आएको र यस किसिमको प्रवृत्ति बढ्नुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासे संघसंस्थाहरूले बाँड्ने खाद्यान्न कार्यक्रमहरू पनि जिम्मेवार रहेको केही स्थानीयको भनाइ थियो । मानिस अल्छी भएका, आफ्ना पुरानो ठाँटबाँठअनुसार वर्तमानको जीवनशैलीलाई निरन्तरता दिन ढोङ गदेखाउने प्रवृत्तिमा कमी नआएको पनि केही आवाज सुनिए । यस्तै अन्तरक्रियाका अनुभवहरू सँगाल्दै दैलेखतर्फ अघि बढ्यौं । राकम कर्णालीमा पुगेर चियाखाजा खाई त्यहाँका सुन्तला बाटामा खाने प्रयोजनका लागि किन्यौं । मध्यपहाडी लोकमार्गको काम अगाडि बढ्दै गरेको र जाजरकोट जाने बाटो पनि बन्दै गरेको देख्न पाउँदा खुशी लाग्यो । राज्यले जनताको सेवा गर्न उठाएको करको सदुपयोग अत्यावश्यक पूर्वाधार बनाउन खर्च गरे सामाजिक, आर्थिक विकासका बाटाहरू क्रमैसँग बन्दै जाने थिए । सडक, शिक्षा, स्वास्थ्य, यातायात, रोजगार मात्रैमा पनि समाजवादउन्मुुख हाम्रो देश नेपालको सरकारले ध्यान केन्द्रित गर्ने हो भने जनताको जीवनस्तर माथि उठाउन सकिन्थ्यो भन्ने लाग्यो । दैलेख नारायण नगरपालिकामा पर्ने दैलेख बजार घुमेर दैलेखकै गुराँसे पुगेर खाना खायौं । सुर्खेतको कपासे हुँदै वीरेन्द्रनगरको दृश्यावलोकन गर्दै साँझ कोहलपुर आइपुुग्यौं ।
महाकाली नदी देख्ने रहरलाई पूरा गर्न कोहलपुरबाट चौथो दिन बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर बास बसियो । ठूलीआमाका छोरा सागर वाग्लेले कोहलपुरदेखि यो यात्रामा साथ दिनुभयो । बर्दियामा बाघ देख्ने रहर भने अधुरै रह्यो । त्यहाँबाट महेन्द्रनगर पुगेर पाँचौ दिनको यात्रा पूरा गरियो । सूर्योदय अगाडि नै महाकाली पुग्ने उद्देश्यअनुरूप दोधारा झोलुङ्गे पुल पुगेर त्यहाँको दृश्यावलोकन गरियो । उक्त ठाउँ वरपर अवलोकन गर्दा नेपाली जनताका बीच आलोच्य रहेको महाकाली सन्धिका सन्दर्भमा लेखक कृष्ण महराका निम्न कुरा याद आए– “...वर्षायाममा डुबेर मर्नुपर्ने, हिउँदमा त्यही नदीको एक थोपा पानी पनि नपाइने । आफ्नै महाकाली नदी दोधारा चाँदनीका जनताका लागि होइन रहेछ । ... ... लाग्यो, म बाँचेको देशको कुनै राष्ट्रियता रहेनछ । मेरो राष्ट्रियता झोलुङ्गे पुलमुनि पानीबिनाको सुख्खा बगरमा खसेछ ... ... ।”
यही निराशालाई सँगाल्दै र रारा तालका अविस्मरणीय क्षण सम्झँदै मङ्सिर ३ गते यात्राको छैठौं दिन यात्रालाई बिट मारियो ।

रामघाट, पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।