18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘मलाई नक्साभित्रको देश चाहिन्छ’मा प्रतिबिम्बित व्यङ्ग्यचेत

कृति/समीक्षा रमेश प्रभात January 27, 2024, 11:38 pm
रमेश प्रभात
रमेश प्रभात

निबन्ध विधामा आफूलाई स्थापित गराइसकेका पाका स्रष्टा सिर्जन लम्साल (२००३) को कविता लेखन तर्फको रहरको प्रतिफल बनेर आएको कृति हो– ‘मलाई नक्साभित्रको देश चाहिन्छ’ (२०६९) । यसभित्र कविता, गजल, ताङ्का र हाइकुलाई खिचडीका रुपमा सङ्गृहीत गरिएको छ । यसमा ३६ वटा फुटकर कविता, शीर्षक सहितका दुई वटा गजल, शीर्षक नभएका आठ वटा ताङ्का र ७२ वटा हाइकुहरु सङ्गृहीत छन् । तीमध्ये ताङ्का र हाइकुलाई छुट्टाछुट्टै शीर्षकमा मिलाएर राखिएका छन् भने गजललाई कवितामा मिसाएर राखिएको पाइन्छ ।

तपाईं कविता किन पढ्नुहुन्छ ?
म पनि तपाईंजस्तै एउटा आम पाठक हुँ । तपाईं कविता किन पढ्नु हुन्छ ? म यसै हो भनेर ठ्याक्कै भन्न सक्तिनँ । मेरो हकमा कविता ध्यान हो । कविता पढ्नु भनेको ध्यानमा बस्नु हो । राम्रा कविताले मलाई निकै सुख र शान्ति दिन्छ । यसर्थ राम्रा कविता खोजी खोजी पढ्छु म । कविता कला हो कि जीवन ? यो प्रश्नले बारम्बार हल्लाउँछ मलाई । मेरो विचारमा कविता कला र जीवनको समागम हो । कला मात्र भएर जीवन भएन भने त्यो कविता स्वीकार्य छैन मलाई । जीवन छ भन्दैमा खरो नारा, कोरा वर्णन र स्वप्निल भावुकता मात्र पनि कविता होइन भन्ने ठहर छ मेरो ।

नेपाली साहित्यमा यति धेरै कविता किन लेखिएको होला ?
यतिबेला नेपाली साहित्य जुर्मराएको अवस्था छ । यतिबेला आख्यानले बजार लिइरहेको छ । नाटक, निबन्ध र कविता पनि लेखिएकै छन् । एउटा कुरा चाहिँ पक्का हो, आख्यानले सजिलै प्रकाशक पाउँछ भने कविताले त्यसका लागि निकै श्रम गर्नुपरेको छ । त्यसो हुँदाहुँदै पनि सालिन्दा कविताका प्रशस्तै कृतिहरु छापिइरहेका छन् । मनमा आएका भावनालाई कवितामा अभिव्यक्त गर्न कवि लेखकलाई सजिलो हुन्छ कि क्या हो ? त्यसो भएरै त होला कविता बढी लेखिएको ! यसरी छापिएका कतिपय कविताकृति विक्रीमा हुन्छन् त कतिपय उपहार दिएर सकिएका उहाहरण पनि छन् । स्वान्त सुखायका लागि लेख्नेहरुको जमात छउञ्जेल यो स्थितिबाट मुक्ति मिल्छ भन्ने ठान्दिनँ म । आफूले लेखेका हरेक चिज पाठकसम्म पु¥याउन चाहने लेखकको हुटहुटीले नै नेपाली साहित्यमा यति धेरै कविताका कृति प्रकाशित भएका हुन् भन्ने धारणा छ मेरो । यी मेरा नितान्त निजी विचार हुन् । मेरो विचारसँग तपाईं पनि सहमत हुनैपर्छ भन्ने बाध्यता छ र ?


सृजन लम्साल कवि हुन् कि निबन्धकार ?
निःसन्देह लेखकका रुपमा सिर्जन लम्सालको पहिचान भनेको निबन्धकार नै हो । उनका ‘नैतिकता हराएको सूचना’ (२०५५), ‘प्रजातन्त्र, गणित र डिप्रेसन’ (२०६०), ‘आँगनदेखि सागरसम्म’ (२०६२), ‘विस्थापित मुड’ (२०६८), ‘भित्र बाहिरका पाइला’ (२०७३), ‘मृत्युअधिकार’ (२०७८) जस्ता निबन्ध र नियात्रा यसका प्रमाण हुन् । यसबाहेक उनका ‘विपतरामको मानचित्र’ (२०६९) नामक कथासङ्ग्रह, ‘मान्छेदेखि सावधान’ (२०७७) नामक लघुकथासङ्ग्रह र ‘मलाई नक्साभित्रको देश चाहिन्छ’ (२०६९) नामक कविताको कृति पनि प्रकाशित भएको छ । यी विभिन्न कृतिलाई हेर्दा सृजन लम्साल मूलतः निबन्धकार हुन् । तर यो लेखमा उनको कवि व्यक्तित्वका बारेमा चर्चा गर्न खोजिएको छ । कविका रुपमा उनको ‘मलाई नक्साभित्रको देश चाहिन्छ’ (२०६९) नामक कृतिलाई हेर्दा उनमा दार्शनिक चेत, राष्ट्रवादी भावना, व्यङ्ग्यचेत, समकालीन चेत, प्रकृतिचित्रण, तत्कालीन समाजले भोगेको द्वन्द्वको चेतना बढी मात्रामा देख्न सकिन्छ ।

साहित्यमा व्यङ्ग्यचेत भनेको के हो ?
साहित्य के हो ? यो किन लेखिन्छ ? भन्ने बारेमा थुप्रै बहसहरु हुने गरेका छन् । त्यसो त हाम्रो समाजमा निकै पहिलेदेखि नै साहित्यलाई समाजको दर्पण मान्दै आएको पाइन्छ । समाज जस्तो छ, त्यसलाई उदाङ्गो पारेर देखाउने काम साहित्यले गर्दै आएको हुनाले पनि यसो भनिएको होला । समाजमा राम्रा कुराहरु मात्र छैनन् । समाजमा विद्यमान खराबी, कुरीति, कुसंस्कार, रुढि आदिका विरुद्ध कलात्मक शैलीमा विचार राख्नु व्यङ्ग्यचेत हो । सिधै गाली गर्नु व्यङ्ग्यचेत होइन । यसर्थ त्यस्तो व्यङ्ग्यचेत कविता र निबन्धमा बढी मात्रामा पाइन्छ । नेपाली साहित्यका कविता र निबन्ध दुबैमा कलम चलाउने स्रष्टा सिर्जन लम्सालको लेखनको मूल प्रवृत्ति नै यही व्यङ्ग्यचेत हो ।

‘मलाई नक्साभित्रको देश चाहिन्छ’ले कुन मुद्दा उठाउन खोजेको छ ?
सिर्जन लम्सालको ‘मलाई नक्साभित्रको देश चाहिन्छ’ (२०६९) नामक कृति एउटा खिचडी सङ्ग्रह हो । यसभित्र ३६ वटा फुटकर कविता, शीर्षक सहितका दुई वटा गजल, शीर्षक नभएका आठ वटा ताङ्का र ७२ वटा हाइकुहरु समेटिएका छन् । तीमध्ये ताङ्का र हाइकुलाई छुट्टाछुट्टै ठाउँमा राखिएका छन् भने गजललाई कवितामा मिसाएर राखिएको छ । यी समग्र रचनामा समकालीन समाजका विविध विषयवस्तुको उठान गरिएको छ । दार्शनिक चेतना, राष्ट्रवादी भावना, व्यङ्ग्यचेत, समकालीन चेतना, प्रकृतिचित्रण, तत्कालीन समाजले भोगेको द्वन्द्व आदिका अतिरिक्त शृङ्गारिकता र अग्रजहरुका स्मृतिबिम्बलाई यी रचनाले अभिव्यक्त गर्न खोजेका छन् । तुलनात्मक रुपमा यसभित्र सङ्गृहीत गजलहरु कमजोर छन् भने कतिपय कविताले पनि निखार खोजेका छन् । यसमा समेटिएका ताङ्काहरु राम्रा छन् । अझ त्यो भन्दा पनि हाइकुहरु निकै दमदार छन् । हेरौँ एउटा हाइकुको नमुना ः
आसन कस्छ
माछापुच्छ«े फेवामा
जल समाधि । (केही हाइकुहरु, पृ. ९१)
यस प्रकार आफ्नो कविता, गजल, ताङ्का, हाइकुजस्ता विविध खालका रचना समेटेर तयार पारिएको कृति ‘मलाई नक्साभित्रको देश चाहिन्छ’ मा कवि सिर्जन लम्सालको कविता लेखनका विविध भावको मिश्रित रुप देख्न पाइन्छ । त्यसमा पनि यो कृति मूलतः व्यङ्ग्यचेत भरपुर रुपमा आएको कृति बनेको छ । उनले यसमा समाज, मान्छे, ईश्वर सबैलाई व्यङ्ग्य कसेका छन् । यसर्थ यो कृति व्यङ्ग्यचेतको सफल कृति बनेको देखिन्छ ।

‘मलाई नक्साभित्रको देश चाहिन्छ’मा व्यङ्ग्यचेत कसरी आएको छ ?
‘मलाई नक्साभित्रको देश चाहिन्छ’ नामक कविता कृतिमा समेटिएका कविताका विविध रुपहरुमा विभिन्न खालका भावको समायोजन गरिएको पाइन्छ । दार्शनिकताको लेप लागेका यी कवितामा सिर्जन लम्सालका निबन्धमा जस्तै व्यङ्ग्यचेत जताजतै पोखिएको पाइन्छ । नेपाली समाज, यहाँको जनजीवन, यहाँका मान्छे, हराउँदै गएको मानवता, मानवीय द्वैध चरित्र, ईश्वर, धर्म, संस्कृति, प्रेम, सशस्त्र द्वन्द्व, राष्ट्रियता र सामाजिक विकृतिका विरुद्ध यिनका कवितामा व्यङ्ग्यास्त्र प्रहार गरिएको पाइन्छ । यसका साक्ष्यका रुपमा तलका उदाहरणहरुलाई लिन सकिन्छ ः
कविले लम्सालले आफ्नो कवितामा ईश्वर र मान्छेको तुलना गर्दै तिनीहरुका क्रियाकलापप्रति यसरी व्यङ्ग्य गरेको पाइन्छ ः
ईश्वरले चाहेमा हवाबाटै मान्छे बन्छ
मान्छेले चाहेमा ढुङ्गा पनि ईश्वर बन्छ
कस्तो यिनको मिलेमतो ?
मलाई त आश्चर्य लाग्छ । (ईश्वर र मान्छे, पृ. २५)
कविका दृष्टिमा मूर्तिपूजा केवल ढोंग हो । यसरी मूर्तिपूजामा रमाउने कथित धार्मिकहरुप्रति कविद्वारा यसरी व्यङ्ग्य गरिएको छ ः
पत्थरका मूर्तिहरु सामु
मस्तक बजारेर गिडगिडाउँछौ
र भन्छौ– “हे ईश्वर मलाई बचाऊ !” (तिम्रो जात के हो ?, पृ. ३४)
हिजोआज मान्छेभित्र मानवता हराउँदै जान थालेकोमा कविलाई निकै चिन्ता लागेको देखिन्छ । यसरी समाजमा मानवता हराउँदै गएको कुरालाई कविले यसरी व्यङ्ग्य गरेका छन् ः
मान्छेभित्र मान्छे
भेटिइ हाल्यो भने पनि
इतिहासका पानामा
छिटपुट भेटिँदो रहेछ । (मान्छेभित्रको मान्छे, पृ. ५०)
देशको भूगोल खिइँदै गएकोप्रति कवि निकै चिन्ता व्यक्त गर्छन् । उनी देशको भूगोल खिइँदै गएमा चराको पछि लागेर भेट्न नसकिने कुरालाई लिएर कवितामा यसरी व्यङ्ग्य कस्छन् ः
थाहै नपाई देश खिइँदै जाला
झन्झन् हराउँदै जाला
क¥याङकुरुङको पछि लागेर
देश भेट्टाउन सकिँदैन । (मलाई नक्साभित्रको देश चाहिन्छ, पृ. ३७)
कविले देशमा वि.सं. २०५२ देखि २०६२ सम्म सञ्चालित सशस्त्र द्वन्द्वका नाममा हजारौँको सङ्ख्यामा गरिएको नेपाली जनताको नरसंहारप्रति कवितामार्फत् यसरी व्यङ्ग्य गरेका छन् ः
संवेदनाहीन भएर समय
बारुदसँग खेल्दै छ
शान्ति गीत गाउँदै अशान्ति मच्चाउँदै छ । (समय, पृ. ३२)
‘मलाई नक्साभित्रको देश चाहिन्छ’ नामक कृतिमा समेटिएका शीर्षकसहितका गजलको ढाँचामा लेखिएको रचनामा प्रेम प्रणयका नाममा हुने घात प्रतिघातप्रति कविले यसरी व्यङ्ग्य गरेका छन् ः
भेटमा मीठामीठा कुरा अचम्म,
पेटमा तीखातीखा छुरा अचम्म । (भेटमा मीठा कुरा, पृ. ८७)
समाजमा लेखक कलाकारले जस्तोसुकै स्थितिमा पनि व्यङ्ग्य गर्न छोड्दैनन्, चाहे त्यसका सट्टामा ज्यानै दिनु परोस् भन्ने भावलाई कविले ताङ्कामार्फत् यसरी व्यङ्ग्य गरेका छन् ः
कमजोरीमा
प्रहार गर्ने बानी
नाङ्गो नियत
मेरो घाँटी सुक्या छ
कालापानी दुःख्या छ । (केही ताङ्काहरु, पृ. ८९)
‘मलाई नक्साभित्रको देश चाहिन्छ’ नामक कृतिमा हाइकुहरु पनि समेटिएकाले तिनमा पनि व्यङ्ग्यचेत पाइन्छ । कसैका लागि प्रेमको प्रतीक मानिएको ताजमहलले गरिबहरुप्रति उडाएको खिल्लीप्रति कविले हाइकुमार्फत् यसरी व्यङ्ग्य ेकसेका छन् ः
ताजमहल
जनताको पसिना
राजाको प्याला । (केही हाइकुहरु, पृ. ९०)
कविका विचारमा शान्ति अनिवार्य कुरा हो, तर उनले देशमा शान्तिका नाममा मुर्दाशान्ति आएकोमा हाइकुमार्फत् यसरी व्यङ्ग्य गरेका छन् ः
कोही बोल्दैन
शान्ति छायो देशमा
मशान घाट । (केही हाइकुहरु, पृ. ९१)
हाम्रो समाजमा आफैँ बोक्सी आफैँ धामी हुनेहरुको सङ्ख्या बढ्दो छ । यस्ताले काम बनाउनेभन्दा पनि सुरुमा बिगार्ने र सपार्न खोजेजस्तो गर्ने कुरालाई हाइकुका माध्यमबाट यसरी व्यङ्ग्य गरिएको छ ः
झाँक्री रुपमा
बोक्सी नै लागेपछि
निदान कस्तो ? (केही हाइकुहरु, पृ. ९२)
यो समाजका मान्छेको सक्कली रुप कसैले चिन्न सक्दैन । बाघको खोल ओढेका स्यालहरुको बिगबिगी बढ्दो छ । यस्ताहरुका विरुद्ध गरिएको व्यङ्ग्यको नमुना हेरौँ ः
बाघको खोल
स्याल मामा हुइयाँ
कति अनौठो ! (केही हाइकुहरु, ९४)
कवि सिर्जन लम्सालले जीवनको लामो कालखण्ड नेपालगञ्ज सहरमा गुजारे । आजीविका सिलसिलामा नेपालगञ्ज बस्दा उनले यो सहरलाई राम्ररी नियाल्ने काम गरे । यसर्थ उनी नेपालगञ्जको जीवनशैलीप्रति हाइकुमार्फत् यस्तो खालको व्यङ्ग्य प्रहार गर्छन् ः
नेपालगन्ज
विस्थापित जीवन
बाँच्न विवश । (केही हाइकुहरु, पृ. ९५)
यसरी कवि सिर्जन लम्सालको मिश्रित कृति ‘मलाई नक्साभित्रको देश चाहिन्छ’ भित्रका कविता, गजल, ताङ्का, हाइकुजस्ता विविध खालका रचनामा व्यङ्ग्यचेत भरपुर रुपमा देख्न पाइन्छ । उनी व्यङ्ग्य प्रहार गर्न समाज, मान्छे, ईश्वर कसैलाई पनि छोड्दैनन् । यसर्थ यो कृति लेखकको मूल प्रवृत्ति व्यङ्ग्यचेतका दृष्टिले सफल कृति बनेको छ ।

‘मलाई नक्साभित्रको देश चाहिन्छ’ कृति कति सफल कति असफल ?
एउटै कृतिमा कविता, गजल, ताङ्का, हाइकु समेटेर तयार पारिएको कवि सिर्जन लम्सालको ‘मलाई नक्साभित्रको देश चाहिन्छ’ नामक कृतिलाई कुन विधाको कृति मान्ने ? निश्चित जवाफ कुनै समालोचकसँग छ जस्तो लाग्दैन मलाई । यसलाई सिधै मूल्याङ्कनका कसीमा राख्न निकै कठिन छ । तर पनि यसरी खिचडी बनाइएका कृतिलाई कविता विधाका उपविधा मान्दै कविता कृति मान्ने प्रचलन हाम्रोतिर बढी पाइने भएकाले यसलाई कविताको कृति मान्न भने सकिन्छ । यस्तो खालको मिश्रित कृति तयार पार्ने काम प्राय सिकारु लेखकले गर्दछन् । भाव राम्रा भए पनि संरचनका हिसाबले यो कृति दोषपूर्ण छ । यसरी सिकारुको जमातमा मिसिन पुगेका पाका स्रष्टा सिर्जन लम्सालको आगामी कविताको कृति यस्तो नहोस् भन्ने सुझाउ छ मेरो । उनका योभन्दा उम्दा व्यङ्ग्यचेत भएका कविता कृति छिट्टै पढ्न पाइयोस् भन्दै गतिशील कलमलाई यहीँ विश्राम दिन्छु । शुभमस्तु ।

अध्यक्ष, अक्षर समूह चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।