अहँ, अचेल केही लेख्नै मन लाग्दैन ।
आँखाका दृश्य हृदयमा टिप्न खोज्छु, छातीमा सजाउन खोँज्छु । छुटेका पाइलाका डोब उधिन्न दिनु त परको कुरा मेरो जाँगर खोसेर मन भाग्छ कता हो कता ? मनले यहि प्रश्न गरिरहन्छ मसँग बारम्बार– नपढ्नेहरूले सबै तहस नहस पारिरहँदा लेखेर के हुन्छ र ? हुन पनि असल सन्देश र तिनमा प्रयुक्त अक्षरका ढाड भाँच्नेहरूको जमात बढ्दै छ दिनदिनै !
रारा किनारको सिमसिमे पानीमा नभिजेको भए शायद यस पटक पनि मनले कलम समात्न दिने थिएन होला । मसिना लहरमा तरङ्गिएको रारा झैँ मन वेगियो भावनाका छालहरूसँग । होटल डाँफेसम्म आइपुुग्दा जसरी निथ्रुक्क भिजेको थिएँ, उमङ्गले, उत्साहले चुर्लुम्म थियो मन पनि । अनि अनिच्छाका आँखा छलेर केही टिपोट गर्न थालेँ मैले । २०८० सालको बैशाखको तेस्रो साताको कुुुरा हो यो ।
मेरा सहयात्रीहरू रारा किनारमा पुुग्न हतारिए पनि सल्लेरीमै रात बिताएर भोलिपल्ट बिहान मात्र रारातिर लम्कन चाहन्थेँ म । र त, सल्लेरीको एउटा होटलमा छिरेर कोठा पनि हेरिसकेको थिएँ । त्यतिबेलै पानी रोकियो, आकास उज्यालियो । दिनभर दर्केको आकाससँग अब त झरी बाँकी छैन होला भन्दै मैले पनि मन बदलेँ । अनि सबैलाई लिएर मिलिचौरतिर कुदिहालेँ । घोडा चढ्नुहुन्छ कि भन्दै हाम्रो अघिपछि लर्को लागेको थियो सयसहरूको । उनीहरूमध्ये अधिकांश तुम, झ्यारी र मुर्मा गाउँका रहेछन् । केही केटा र केही केटीहरू पनि थिए । तीमध्ये कति त नाबालिक पनि थिए । बाटो चिप्लो होला भन्दै पैदलै हिँडेर उनीहरूलाई निरास पारेका थियौँ हामीले । हुन पनि झरीले भिजेका ढुङ्गेनी खड्केरी र घोडाका टापले बनाएका खोबिल्टा छल्दै हिँड्न कम्ति गाह्रो छैन । कतै नाङ्गा चौर त कतै सल्लाका बाक्ला रुख छन् मिलिचौरमा । साह्रै मिलेको चौर मिलिचौर । देवदार र धुपीको घना जङ्गल भने निथ्रुक्क भिजेको थियो मनै चिसो हुनेगरी ।
“सारा थकान एकछिनमा मेटाइदिन्छ राराले ।” रारा पुगेर फर्कँदै गरेका विराटनगरका मान्छेहरूले हाम्रो उत्साहलाई दुगुना बनाइदिएथे ।
चिप्लो बाटोमा धानिँदै सम्हालिँदै अघि बढ्छौँ । सिमसारे खोल्सामा एउटा काठे पुल तर्छाैँ हामी । सानो कुलो कुलकुलाउँछ रारातिरै । सल्लाको हावा, चरीको चिरबिर र पानीको कलकलले अद्भुत आनन्द दिइरहेछन् । माटोको मायामा आसक्त धुपीका पोथ्राहरूले हिमाली उचाइमा स्वागतको तुल बिच्छ्याएका छन् । राराको स्नेह पाएको सल्लेरी वनको समथर पाखो ओर्लिएपछि विशाल चौरमा टेक्न नपाउँदै राराको निलिमा आइपुग्छ हामीलाई छुन । मन जस्तै विशाल हुन्छ रे मनकारीहरूको छाती पनि । हरियो चौरको त्यस्तै विशाल आलिङ्गन फैलाएर राराले पनि स्नेहले सुम्सुम्याउन खोज्दै थियो हामीलाई । उफ्रँदै कराउँदै दर्गुछन् सबै । तेस्रोपटक रारा किनार टेकेको म पनि मदहोश थिएँ उसैगरी ।
मन धुन पखाल्न सक्ने सङ्लो जल त छँदै थियो रारासँग । मोहनी हेराइ थियो राराको । शीतल स्पर्श थियो राराको । कर्णालीको विकटता बिर्साउन सक्ने विशालता थियो रारासँग । मान्छेका मनमा छोइन नजिकै आइपुगे पनि सगरको शीरभन्दा उच्चा स्वाभिमान थियो रारासँग ।
सागरको जत्रो चौडा छाती फिजाएर राराले उत्तिकै स्नेहपूर्वक सोधिरहेथ्यो– “कालिकोटका डरलाग्दा भीरपहरा छिचोलेर मलाई भेट्न आउँदा कुनै कठिनाइ त भएन बाटोमा ?!”
प्रत्युत्तरमा केबल मुस्काएका थियौँ हामी । राराको आत्मिय सोधनीमा वशिभूत भएर बाटो र विकटताका सारा वेदना बिर्सिसकेछौँ हामीले । हर्षाश्रुले भिजेको हाम्रो अनुहारभरि स्नेहिलो शीतल स्पर्शले सुम्सुम्याएको थियो राराले । सुर्खेतबाट हिँडेदेखि नै बाटोको दुरावस्थाले नसताएको होइन हामीलाई । साँघुरो बाटो, बाटो भन्दा ठूला घुम्ती र पाखै उजाड बनाएर खसेका पहिराले यात्रामा एकछिन पनि निर्धक्क रमाउन दिएनन् । खसभाषा र सभ्यताको उद्गमस्थल सिञ्जाको उर्बर फाँट र त्यसलाई जतनसाथ फन्को मारिरहेको हिमा नदीलाई हेरेर मात्र मन सम्हालिएको हो ।
घिर्सिघिर्सी दुख्खको राजमार्गका डर त्रासका डरलाग्दा खाडल पार गर्न कति कठिन हुन्छ, केन्द्रका आरामदायी कुर्सीमा बसेर आदेश गर्नेलाई के थाहा ! गरिबी र विकटतासँग एकैपटक सामना गर्न कति कठिन हुन्छ, दुर्गमका जनतालाई मात्र थाहा हुन्छ । जनताका नाममा विनियोजित स्रोतसाधनले केन्द्रतिरै दरबार बनाउनेहरूलाई दुर्गमको के माया ! यो त बरू दुर्गमलाई सुगम बनाउन युगौँ देखि तपस्यारत रारालाई पो थाहा होला !
हामीलाई मनमुटु अर्पेर स्वागत गरेपछि सल्लाका छायाँ र मसिना छालतिर लहरिँदै आफ्नै लेकाली दैनिकीतिर फर्कन्छ रारा । यस्तो लाग्छ, आकासको गहिराइ र बादलको बयलीसँग पनि उत्तिकै दिलचस्पी छ राराको । जसरी हुन्छ हिमाली जनजीवनमा सौन्दर्य सिर्जना गर्न तल्लिन छ ऊ । राराको ध्यान नखल्बलाई उसको काखमा धेरैबेरसम्म खेलिरह्यौँ हामी पनि ।
राराको काखमा अझै कतिबेरसम्म लुटपुटिन्थ्यौँ होला हामी । कति फोटाहरूमा साँच्थ्यौँ रारालाई । राराको प्रेमिल स्पर्शले कति लठ्ठिन्थ्यौँ होला । सिमसिम पानी पो पर्न थाल्यो । रात नपर्दै बासस्थानसम्म पुग्नुथियो । अनि सन्ध्याकालीन रारा दर्शन गर्दै होटलतर्फ लम्कन थाल्यौँ । आजको बास बस्ने गन्तव्य रारा किनारमै रहेको जानकारीले खुसी नै देखिन्थे सबै सहयात्री । ताल किनारमा उभिएर त्यसको सौन्दर्य अघाउञ्जी हेर्न जो बाँकी नै थियो ।
साँझ पर्न एकघण्टा छँदा आकास अँध्यारिएको थियो । पानीका बाक्लै थोपाहरू अनुहारमा छोइन थालेका थिए । एकजोडी जलहाँस राराको जललहरीमा पौडिँदै सुस्तरी किनारतिर आउँदै थिए । राराको नीलो जलमा टल्किएका थिए तिनका सेता पेट र काला पखेँटा । हामीलाई पाइला रोकेको देखेर जताबाट आइरहेथे उतै फर्किए ती ।
“हेर्नुस् त माछा पनि पाइँदो रहेछ रारामा ।” प्रज्ञाको खुसी छचल्किन्छ त्यतिबेलै ।
“हो, माछा खोज्दै आइरहेका होलान् ती जलहाँस पनि शायद । स्नो ट्राउट नामक असला जातको माछा पाइन्छ रारामा ।” रारा किनारमा सहयात्रीसँग खुसी मिसाउने उस्तै हुटहुटी छ मभित्र पनि । गह्रुङ्गो काम बोकेर आउँदा कयौँपटक छेउमा आएर पनि रारासँग नरमाई फर्केको थिएँ म ।
रारा उचालिरहेका हत्केले पहाडका शिखरमा अलेली हिउँ टल्किरहेको छ । धन्य यी पहाड– हिमालको हिउँ सापट लिएर रारालाई दीर्घ जीवन दिइरहेछन् । पहाडहरूले कुहिरोको पातलो पर्दाको फरिया पहिरिएका छन् । जङ्गलले आफ्नो स्वत्व र पहिचान बिर्सला भनी राराले जलदर्पण देखाइदिएकै छ । राराको त्यही दर्पणमा सल्बलाएको छ कञ्चन पहाडी छायाँ र मोहनी हिमाली माया ।
पानी फेरि दर्कियो । दियारको फेद मुनिको ओभानोमा एकछिन ओतिन मन थियो । ढिला भए हिलाम्मे बाटो अँध्यारोमा काट्न गाह्रो हुने पक्का थियो । एकातिर राराको सौन्दर्यले तानिरहेछ, अर्कोतिर समयले खेदिरहेछ । यात्रा पनि समयको उबड खाबल गोरेटोमा घिस्रिन बाध्य मान्छेको जिन्दगी जस्तै त हुँदो रहेछ नि ।
कालिजका जोडी बाटोमा आइपुुगे । हामीलाई देखे पनि चारा टिप्दै बाटोमा हिँडिरही पोथी । भाले भने बाटोमाथिको जङ्गलभित्र कुदिहाल्यो । एकछिनपछि पोथी पनि भालेको पछिपछि भागी । केहीबेरपछि फेरि देखिए ती । तिनको लुकामारी हेरेर अँध्यारिँदै गइरहेको जङ्गली एकलास पनि बिर्सेका छौँ हामीले ।
सल्लाका छायाँ र मसिना छालहरू आफैभित्र घोलिरहेछ रारा । एउटा छाल किनारमा आइपुुग्दा अर्को छाल उठिसक्छ तालमा । मसिना छाललाई धकेल्दै आइपुुग्छ अलि ठूलो छाल । छालहरूको बयली देखेर सल्लेरी बेस्सरी सुसाउँछ । राराका लहर लहर छाल र मुटु छुने सुसेलीले कहिल्यै नअघाउने भएँ म । आकास र बादल तैरिरहेछ राराको गहिराइमा । सङ्लो भएपछि गहिराइ पनि थाहा हुँदो रहेनछ । त्यही रहस्य घोलेर आइरहने छालतिर उचालिन्छ मन बारम्बार ।
“भदौ असोजमा धेरै राम्रो देखिन्छ रारा । आकास सफा हुँदा झन् राम्रो देखिन्छ ।” घोडा डो¥याएर हिँडिरहेका तुमेलीले बताएर गए ।
त्यही बोली सम्झिसम्झी चिप्लोमा जोगिँदै रारा किनारतिर आँखा तानिरहेछु मैले । मान्छेहरू कोही मुर्मा होमस्टेतिर त कोही रारा किनारका होटलतिर जाँदै छन् । कोही घोडामा छन् त कोही पैदल ।
राराका छालहरूको मधुर सङ्गीत गुञ्जिरहेछ किनारमा । सल्ला र देवदारका रुखहरू स्थिर भएर एकटकले हेरिरहेछन् रारालाई । घरिघरि गाउँछन् राराका छालसँगै । केही धुपीका रुखहरू तालमै हामफालेर पखालिरहेछन् आफ्नो अस्थिपञ्जर । आहा ! कति भाग्यमानी ती । बाँचे पनि रारासँग र मरे पनि रारासँगै ।
राराको पानी निकास भएर बगेको खोलालाई निजारखोला भनिँदो रहेछ । यस्तै खोला खोल्सा मिसिँदै बनेको खत्याड खोला अन्ततः कर्णालीमा मिसिन्छ । मनमा आउजाउ गरिरहेछन् भिजेको रारा र चिसै बगिरहेको खोला । लेकाली चिसो सहन नसकेर बाटो पनि पखाला लागेको बिरामी झैँ लडिरहेछ । कतै कतै असरल्ल छ घोडाको लिदी ।
मेरो ज्याकेटबाट एकथोपा पानी छिरेको छैन शरीरमा । टाउकोमा क्यापले पनि ओतिरहेछ । राधा र प्रज्ञाको ज्याकेट र सलले पनि सिधै भिज्न दिएको छैन । तर श्रेयाको ज्याकेट भने पानी सोस्ने भुवादार रहेछ । ऊ कामिरहेकी छ । त्यसैले पनि छिटो गन्तब्यमा पुुग्न हतारिएका छौँ हामी । चिप्लिँदै, लर्र्किँदै लामा–लामा पाइला लम्किन खोजिरहेका छौँ हामी । प्रकाश थापा हाम्रो हिफाजत गर्दै पछिपछि कुदिरहेछन् ।
बाटो लामु रारा, गङ्गा लामो कर्णाली
बेन्देलीका तारा झुलुक्क झुल्किजा पन !
हिउँद जुम्ली साँफ्या, बर्खा जुम्ली यारी नाका
हिउँचुलीका डाँफ्या, जाँ तँ जान्छ्यै उईँ मु लैजा !
वासन्ती शीतलता माथि बर्सिएको चिसो बर्षात्को पर्वाह नगरी वेगिएको डेउडा ठोक्किएको छ मेरो कानमा । रात पर्न लाग्दा यस्तो झरीमा कसले गाइरहेको होला ? वनमा घाँसदाउरा गरेर घर फर्किँदै छन् कि त कोही ? वा मेरो मनको तारमा मनले नै बजाइरहेछ मृदङ्ग । म अलमलमा पर्छु र चारैतिर हेर्छु । हामी पाँच प्राणी बाहेक अघिपछि छैन कोही कतै । मन जहाँ हिँड्छ, उन्मादी धुन त्यहीँ बज्छ भनेको साँच्चै रहेछ । खुसीमा बुर्कुसी मारिरहेको मनले नै गाएको रहेछ, मनै नाचेको रहेछ ।
फराकिलो चौरको टावरछेउ पुग्दा झन् दर्कियो पानी । रुझेपछि ओत नलाग्नु भन्ने थाहा भए पनि एकछिन ओतिन्छौँ टावरको छतमुनि । बढी भिजेका लुगा निचोर्छौँ । हिमाली झरी झन् खनिएला भन्दै कुद्छौँ फेरि ।
मैले प्रज्ञालाई डोर्याएको छु । म लर्कँदा राधा र प्रज्ञाले मलाई सहारा दिन खोज्दैछन् । एउटा हातेमालोमा बाँधिएका छौँ हामी । यिनैको सहाराले बाँचेको छु म । यी बिना मेरो साँझ ढल्दैन र बिहान हुँदैन । अहिले पनि भिजेर मलाई चिसो लाग्छ कि भनी चिन्तित छन् यिनीहरू । दुई वर्ष सुर्खेत बस्दा पनि रारा देख्न पाइएन भन्ने यिनीहरूसँगै डोरिएर काम, विदा र फुर्सद मिलाएर म पनि आइपुगेको हुँ रारा । यस्तो लाग्छ, रारा जति पटक आए पनि धीत मर्दैन, मन अघाउँदैन, रारा हेर्ने उत्साह हराउँदैन ।
कर्णाली हिँड्न कस्सिएका गोडा लडखडाउँछन् बनाउँदै अलपत्र पारिएको साइकल लेनमा । अधिकांश दुर्गमतिरको विकास निर्माण यस्तै हुन्छ । बनाउँछु भन्दै बिगारेर हिँड्नेहरूलाई अझै चिन्न सकेको छैन समय । बुझ्न सकेको छैन– ‘चोरलाई साँचो’ चोरहरूकै मतियारले बनाएको नियम हो ! डोजरले खनेको एक किलोमिटर बाटोमा बढीमा दश लाख खर्च हुँदा मान्छेले खनेको भनेर एक करोडको बिल उठाइन्छ । गाउँलेले जनश्रमदानमा बनाएको भेडीगोठको नापी किताब बनाएर भुक्तानी लिइन्छ । बन्दै नबनेको झोलुङ्गे पुल, तटबन्ध, स्वास्थ्यचौकीको बिल मिलाइन्छ । दान अनुदान खर्चेर बनेका निर्माण कार्य बिल अनुसार सहिसाबुत हुँदैनन् । धराप छन् विद्युतीय संरचनाहरू । सार्वजनिक भवन, खानेपानी, सिञ्चाइ सर्वत्र छ बद्नियतको हालीमुहाली । जनतालाई सास्ती दिएर मोज गरिरहेको छ अव्यवस्था, कुशासन र भ्रष्टाचार । महाभ्रष्टाचारसँग मिलेमतो गरेर आफ्नो साम्राज्यको संरक्षण र विस्तार गर्न चाहन्छ त्यो ! गरिबी, बेरोजगारी, र अभावले थलिएर हिँड्न बोल्न नसक्नेलाई पछाडिबाट छुरा हान्नेलाई पनि रक्ताम्मे हात उठाएर सलाम गरिदिन्छौँ हामी । जनउपेक्षाको, घृणाको अर्थ समेत नबुझी बहादुरी गरेँ भन्दै अट्टहास गरिरहेछ ऊ । मरी जाने जिन्दगीमा निरीहलाई मारेँ, दुखीलाई दुख्ख दिएँ भन्ने ग्लानीबोध सम्म गर्न नसक्नेप्रति बरू हाम्रै दीलमा माया पलाउँछ । धिक्कार छ हाम्रो दील जहाँ काँडा फाल्दा पनि फूल उम्रन्छ, ढुङ्गा हान्दा पनि श्रद्धा छचल्किन्छ ।
चारैतिर फैलँदै गएको अन्धकारमा मेरो मनले पनि मिसाएछ अलिकति घोर अन्धकार !
चारैतिर अँध्यारो पोखिए पनि उज्यालै छ रारा । दुर्गमका पीडा बिर्सी खुलेर हाँसेको छ रारा । हिमाली सभ्यता र सुन्दरता साँचेर बसेको छ रारा । रारासँग छ– मान्छेको मायामा तरङ्गित भावना, लेकाली सभ्यता जोगाउने चाहना र प्रकृतिप्रतिको मिहिन चासो । अलौकिक रूप रङ त छँदैछ रारासँग । राराको अन्तर्यबाट निरन्तर निस्किरहेछ अनन्त सौन्दर्य ।
बास पर्यो होटलको रारातिर फर्केको कोठामा । अनि त के चाहियो र– राती मुन्टो उठाएर समेत रारा हेरेको थिएँ मैले । सोचेथेँ, रारा मेरो मनको तलाउ जस्तै रहेछ । जतिबेला हेर्दा पनि स्वच्छ, शान्त र सुन्दर हुँदो रहेछ त्यो ।
उज्यालो हुनासाथ रारा किनारमा पुग्यौँ हामी । अनि राराको सौन्दर्यमा मोहित भएर राराताल सम्बन्धी हाजिरी जवाफ नै चलायौँ हामीले ।
राराताल समुद्री सतहबाट कति उचाइमा रहेको छ ? यसको लम्बाइ, चौडाइ, क्षेत्रफल र गहिराइ कति छ ? यस क्षेत्रमा कुनकुन जीवजन्तु पाइन्छन् ? बर्खायाममा केके फूल फुल्छन् ? हाम्रो मनमा पनि तैरिरहेथे यस्तै यस्तै अनेक जिज्ञासाहरू ।
समुद्री सतहबाट २९९० मिटर उचाइमा रहेको राराताल ५ कि.मी. लामो र ३ कि.मी. चौडा रहेको छ । यसको अधिकतम गहिराइ १६७ मिटर छ । राराताल रामसार सूचीमा समेत सूचीकृत भएको छ । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र कालो भालु, रतुवा, कस्तुरी, बँदेल, डाँफे, मोनाल आदि जीवजन्तु पाइन्छन् । बर्खायाममा बुकी, कटुकी आदि फूलले ढाकिन्छ ताल । बादल, आकास र चारैतिर तैनाथ पहाडहरूको प्रतिबिम्बका कारण राराले समय र मौसम अनुसार रङ बदलिरहन्छ ।
“हामी यतापट्टि आएर राम्रो गरेछौँ नि !”
“हो त नि, पारिपट्टिबाट भन्दा यताबाट निकै राम्रो देखियो रारा ! राराले हामीतिरै छाती पल्टाइदिएको छ, उज्यालो अनुहारमा मुस्कान थपेको छ !”
“अझ मुर्माटप पुगेर रारा हेर्न पाएको भए !”
मनमा अनेक रहर, जिज्ञासा भए पनि राराको सौन्दर्यमा मुग्ध, छक्क र उत्फुल्लित छौँ हामी ।
फर्कने बेलामा घोडा चढ्ने रहर गरिन् छोरीले । घोडा चढ्नेहरू हात हल्लाउँदै क्षणभरमा ओझेल भए । मेरो मन भने रारासँग छुट्टिन मानिरहेको छैन । अनि घरि राराको जल चलाउँदै त घरि रारातिर नजर लगाउँदै पैदल हिँड्छु म ।
“रारातालमा मिसिने मूल पानीको मुख्यस्रोत कुन हो त नि ?” यत्रो विशाल तालमा मिसिन आएको खोलोखोल्सो केही नदेख्दा आश्चर्यचकित छु म पनि ।
“मिलिचौर, चुचेमारा, घुच्चीको लेक, सिक्कीचौर आदि उँचा चौर र लेकको छेउछाउबाट बगेर आइपुग्ने खोल्साखोल्सीबाट राराको जलसागरमा मिसिन्छन् अनगिन्ती पानीका मूलहरू ।”
“रारा वरिपरिका भाग्यमानी बस्तीहरूले दिनहुँ रारामा नुहाएर हिमाल दर्शन गर्दा हुन् !?”
“झ्यारी, मुर्मा, तुम, ताल्चा, सल्लेरी गाउँहरू छन् रारा वरपर । अझ रारागाउँ र छाप्रुगाउँ त रारातालको संरक्षणका लागि झण्डै पाँच दशक पहिल्यै बाँके र बर्दियातिर सारिएको थियो !”
जिज्ञासा मेरो थियो, जवाफ पुजाआजा गर्न जाँदै गरेका सोरुकोटका बासिन्दाहरूको ।
रारागाउँ र छाप्रुगाउँ कहाँनेर थिए होलान् ? ती गाउँका बासिन्दाहरू अहिले कहाँ के गर्दै होलान् ? विस्थापित बस्तीहरूको सम्झना गरेँ मैले । बसाइँ सराई र विस्थापनको भोगाइ चस्स चस्स चस्किन खोज्छ छातीमा ।
झरीले पखालेको आकासले दशदिशा उज्यालो छरिरहेछ । राराका छालले मनमा फैलिइरहेछन् उमङ्गका लहर । यस्तो लाग्छ, राराको रेखदेखमा तल्लिन छ रारा राष्ट्रिय निकुञ्ज । दूर दराजबाट आइपुगेका पहाडहरू पनि टक्क रोकिएर रारालाई नै नियालिरहेछन् । राराको पश्चिमोत्तर उभिएको छ मुर्माटप । दक्षिणतर्फ जङ्गलको सिउर झैँ देखिएको छ चुच्चेमारा शिखर । उत्तरतिर पहरा दिइरहेछन् रुमकाँध र मालिकाकाँध । यी शिखरमा टल्किरहेछ हिजोको वर्षात्ले लगाएको सेतो जलप । सन्तानको खुसीमा मनमनै मुस्कुराउने बाबुझैँ अलिपल्तिर क्षितिजमा उभिएका छन् छायाँनाथ हिमाल र काञ्जिरोबा हिमाल ।
रारातालले नै त यी हरिया पहाड, सेता हिमाल र नीलो आकासलाई झन् सुन्दर बनाएको रहेछ । रारामा घोलिएको रहेछ– हिमालको पानी र प्रकृतिको इन्द्रेणी । र त, मान्छेहरूका आँखाको नानीमा बसेको रहेछ रारा । रारातालले मेरो मनका हरेका कुनाकाप्चामा पनि लगाइदियो खुसीको चमकदार जलप र जगाइदियो जुगजानी मोहनी ।
जीवनको रङ घोल्न बिछट्टै सिपालु रहेछ रारा । आँखाबाट ओझेल भए पनि मेरो मनमै तालिएर बसेको छ रारा ।