18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ग्रहण

कविता मिरमा February 1, 2024, 4:04 pm
मिरमा
मिरमा

हिमाललाई हिउँले
ढपक्कै ढाके झैं
ढाकिरहन्छु म प्रायः
प्रेम, मायाले
चुर्लुम्म डुबेको हुन्छु
स्नेह, ममता, वात्सल्यमा

चन्द्रले सूर्यलाई
सूर्यले चन्द्रमालाई
ग्रहण लगाए जस्तैगरी
आएर बेला बेलामा
झ्याप्पै छोपिदिन्छन्
मलाई डर–भय
अनि अहंकारले
ग्रहण लगाउन आइपुग्छन्
घृणाले, रिस
खग्रास र खण्डग्रास बन्न आइपुग्छन्
निराशा र अवसाद

जराले आसपासको
माटोलाई जकडेजस्तै गरी
जकड्छ मेरो अहंकारले म आफैंलाई
अन्धो बनाउँछ घृणाले
पागल बनाउँछ रिसले
घाम निदाएपछि
तपतप तपतप चुहिएर चुक
हावामा फैंलिँदै फैंलिँदै
रात गहिरिए जस्तै
गरी समात्छ अन्जान डरले
नचिनेको व्यक्तिको
अप्रिय हातले छोइदिए जस्तै
भयवित बनाउँछ भयले

पानी पाएपछि सिमेन्टले
गिट्टी र बालुवालाई पकडेजस्तै गरी
अठ्याउँछ मलाई
निराशाले,
अवसादले
भित्रभित्रै कतै
मनभित्र मस्तिष्कभित्र
नमिठो ऐँठन गराउँछ
कहिलेकाँही संवेदनाहिन हुन्छु म
अनि पूरिन्छु कहिले
संवेदनाको थुप्रोले
निस्सासिने गरी, अत्तालिने गरी

एकनास सुसेल्दै सुसाउँदै
खोला बहिदिए जस्तै
बिरानीमा न्याउली रोइदिए जस्तै
भित्रभित्र रुन्छु म
प्रायश्चित जस्तो केही सोच्दै
आफ्नै आँसुले धुन्छु आफैंलाई
पगाल्छु चित्तलाई

रातलाई चिरेर
सुनौलो बिहानी आइसक्छ
खोलाको सुसेली पनि घट्दै जान्छ
तर म भित्रको
घृणा, रिस, डर–भय
अहंकार अनि निराशा र अवसाद
नामै लिँदैनन् मलाई छाड्ने

घाटमा अन्तिम सास गनिरहेको
मान्छेलाई झैं
मलाई न्याक्ने मौका छोप्न
कुरिरहन्छ मलाई
चिहाएर हेरिरहन्छन्
ग्रहण लगाउने मौका छोप्न
मेरै वरिपरि हावामा
घुलिरहन्छन् पानीमा नून चिनी घुलेझैं

पानीमा तैरिएको तेल जस्तै
तैरिरहन्छन्
नजरकै सामुन्ने
हर दम
चन्द्र र सूर्य
एक अर्कालाई ग्रहण लगाउने दाउमा
अनन्तदेखि घुमिरहेजस्तै
घुमिरहन्छन् मेरो वरिपरि

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।