नेपालको साहित्यिक धरातललाई उर्वर तुल्याउने लगनशील साहित्य सर्जकहरूको नाउँ उल्लेख गरिंदा स्वत:स्फूर्त हुनजान्छ एक परिचित नाउँ - राम आचार्य ‘पुष्पप्रमी’। कविको रूपमा पुष्पप्रेमीलाई उभ्याउनु पर्दा उनको दोस्रो कृति कविता संग्रह ‘पीड़ाभित्रका अनुभूतिहरू’-भित्रका सशक्त कविताहरूले नै उनको कवित्व प्रतिभाको परिचय दिँदछ। उनका प्राय:जसो कविताहरू गहन, समय सान्दर्भिक, क्लिष्ट अनि अर्थपूर्ण छन्। शब्द संयोजन, भाव सम्प्रेषण, शिल्पकारितामा पारङ्गत पुष्पप्रेमीका कविताहरूमा निगूढ, चेतनामूलक सन्देशहरू प्रशस्तै रहेका हुन्छन्। जातिको उत्थानको विषयमा उनी गम्भीर छन्। जीवनका सारा प्राप्ति-अप्राप्तिहरू, जय-पराजयहरू, संघर्ष र विरामहरू, जीवनका सारा खेल चलखेलहरू ज्ञानको होमअग्निमा आहूति दिनलाई चरू भनेर ‘पीड़ाभित्रका अनुभूतिहरू’ पाठकवर्गलाई दर्शाएका हुन् भन्ने लाग्दछ।
श्री राम आचार्य ‘पुष्पप्रेमी’-का अभिव्यक्तिहरूमा मनका व्यथाहरूको आधिक्य यत्रतत्र फेला पर्दछन्। विश्वास टुटेका, मन फाटेका, घाउ लागेका लहरहरू लगातार लाम लागेर बसेका भेटिन्छन्।
कवि पुष्पप्रेमीले देशको समसामयिक स्थिति परिस्थितिलाई विषय वस्तु बनाएर, वैदेशिक रोजगारका कारण शून्य र खोक्रो भएको आफ्नो देशको वातावरणलाई कवि मनका भावनाहरू आफ्ना कविताहरूमा तिखार्ने काम भएको देखिन्छ। हाम्रा मौलिक धर्म, संस्कृति, संस्कार, परम्परा नासिँदै मासिँदै गएको उल्लेख गर्दै यसप्रति चिन्ता प्रकट गर्ने काम उनका कविताहरूमा प्रशस्त पाइन्छ। देशप्रेमको चिन्ता, विदेशिएका युवाहरूलाई स्वदेश फर्किन आह्वान, माता-पिताप्रतिको भक्तिभाव, लाचार सरकार, बिग्रँदो पर्यावरण मासिन्दा प्रकृति, राष्ट्रिय भावना, विकृत राजनीति, व्याप्त भ्रष्टाचार इत्यादि यस कविता संग्रह ‘पीड़ाभित्रका अनुभूतिहरू’-मा कविताहरूले समेटेका विषय वस्तु हुन्।
खल्लो भयो नि कान्छा
भुकम्पले गाउँ नै पुरेपछि
बन्द हड़तालले सड़क नै थुनेपछि
अभावै अभावको भूमरी चलेको छ
दशैं त खल्लो भो नि कान्छा?
भूकम्पले धेरैको क्षति गरेको दृश्यहरू कलमकारले पनि भोगेका अनि देखेका छन्। प्रकृतिको चलखेलले जीवनलाई घोचिरहने काँड़ाहरूकै रगरगी भेटिन्छ, तिनै काँड़ाका खिलहरूको बिगबिगी उनका काव्यिक पृष्ठहरूमा देखिन्छ।
गरिबी र अशान्तिको पीड़ा खप्न नसकी
खाडीको बालुवाको रापमा जल्दैछ नेपाली,
यता रातारात कुबेर बन्ने सपना बोकेर
उर्वर खेतहरूमा बालुवा छँदैछ नेपाली।
जीवन जिउने रहर होइन बाध्यता ठान्दै
सन्तानकै पेट भर्न बालुवा बेच्दैछ नेपाली
विवशताभित्रको मुल्य नै नबुझी
बालुवाको तस्करीमा व्यस्त छन् नेपाली।
नेपाली हुनुको नियति व्यहोर्नकै लागि
खुल्ला आकाशको बालुवामा जन्मन्दैछ नेपाली।
बाँच्ने अधिकारको लड़ाई लड़्दा लड़्दै
बालुवाभित्र पुरिन बाध्य छ नेपाली॥
वर्तमान समयमा हाम्रा सन्तानहरूले यस ठाउँमा भोग्न परेका तिक्तताका यथार्थहरू यस काव्यकृतिका प्रखर स्वर भएका छन्। रोजगारको अभावले पिल्सिएर पलायन हुँदै हाम्रा युवावर्गहरू विरानो मुलुकतिर पुगिरहेका दु:खले नछोड़ेका, पीरहरूले पोलेका यथार्थवादी पोलहरू पृष्ठ-पृष्ठमा देखा पर्दछन्। उनका काव्यिक भावभूमिमा समसामयिक सारा सन्दर्भहरू टम्म लश्कर लागेर उभिएका छन् भनौं नै भने ‘पीड़ाभित्रका अनुभूतिहरू’ - ले हाम्रा अस्तित्ववादी यथार्थता नै प्रतिनिधित्व गरेका छन्।
कविले आफ्नो आमा कविता यसरी पस्केका छन् -
अनि असफलताका खाल्डाहरू पुरिदिन्छ
तिम्रो निन्द्रामा सिरानी बन्छ
जीवनको सहारा ठान्छ,
पीड़ामा मल्हम बन्छ,
विपतमा कारक थाप्छ,
अनि तिमीलाई मुटु दिन्छ।
हो! तिनै हुन् तिम्रो आमा,
हो! अँ हुन् हाम्री आमा॥
आमाको महत्व कति छ, कसले वर्णन गर्न सक्छ, भगवानको रूपमा हेर्न सकिन्छ आमालाई, आफ्नो सन्तानको निम्ति कति कष्ट उठाएकी छन् यसैले पहिलो गुरु नै आमा हुन्।
श्री राम आचार्य ‘पुष्पप्रेमी’-को जन्म नागी - गा. वि. स. वार्ड नं0 5 (खाल्डो गाउँ) पाँचथर नामक स्थानमा पिता स्व. भानुभक्त आचार्य अनि माता जानुकादेवी आचार्यको कोखबाट 2020 साल आश्विन 08 गतेमा जन्म ग्रहण गरेका हुन्।
श्री आचार्यका प्रकाशित कृतिहरू -
क) मैले बुझेको सहकारी -2071
ख) स्थानीय पत्र-पत्रिकामा प्रकाशित केहि कविताहरू
ग) पीड़ाभित्रका अनुभूतिहरू (कविता सग्रंह) - 2073
घ) ‘अतित र वर्तमान’ संस्मरणात्मक लेख संग्रह 2077
शारीरिक रूपमा पक्षपात भएतापनि फरक तथा बौद्धिक क्षमताका धनी आचार्यका पैतालाहरूमा ज्यान अड्याउने बर्गत नभएपनि साहित्य समाजमा एउटा छुट्टै काम, इतिहास रच्ने परिस्थितिमा पुग्न सफल भएका छन्। कविले जीवनमा खप्नु परेका पीर, वेदना, औडाहा, ठक्करहरू यहाँ कविता बनेर पोखिएका छन्। जीवनलाई विभिन्न अवस्था, मोड़ र परिस्थितिमा संघर्षपूर्ण रूपमा वहंन गर्दै बाँचेर अब परिपक्व भएर फलामबाट इस्पात भएका सशक्त व्यक्तित्व हुन् पुष्पप्रेमी।
उनका अर्को कविताका लहरहरू पढ़ौं -
म एउटा पुस्तक पढ़िरहेको छु,
जीवनको कथा भोगिरहेको छु।
यहाँ! हरेक बिहानीले एउटा कथा लिएर आउँछ
अनि हरेक साँझ नपर्दै इतिहास बन्छ,
हो! म त्यही पुस्तक पढ़िरहेको छु।
जीवनका अन्धकारका ती हरेक कुनाहरूमा,
टुकी, मैनबत्ती र दियालो बाल्दैछु,
हरेक आँधी, तूफानलाई पन्साउँदै,
तेल र सलेदो फेर्न नै व्यस्त छु।
त्यही धिपधिप उज्यालोभित्र
म एउटा.... ।
मान्छेले पाएको यो चोला अमर जुनी यति त हो, अनि एक दिन अन्त्य हुनुपर्ने अन्तिम परिणति। सम्झँदा जीवन कठिन यात्रा हो। आँधी-हुरीका कथा हो। समस्याको पहाड़ हो, दु:खको भवसागर हो-एउटा ठूलो निःश्वास हो। तर महान, अद्भुत, अगम, अपूर्व, जीवनभित्रैबाट हामी सुख-शान्ति, सन्तुष्टि, आनन्द-हर्ष आदि उपार्जन, उत्पादन गरेर बाँच्नुको अपरिमेय सुखमा आफूलाई भुल्दैछौं!
आज उमेरको यस कुइनेटोमा आइपुग्दा अनि पछिल्तिर फर्केर हेर्दा सम्झनामा आएका अतीतका समयहरू बिर्सन नसकेका जीवनका अनमोल निशानीहरूलाई कविताका हरफहरूमा राख्न सक्षम बनेका छन् कवि पुष्पप्रेमी।
अन्तमा कवि श्री राम आचार्य ‘पुष्पप्रेमी’-ज्यूलाई उत्तरोत्तर प्रगति र सुस्वास्थको कामना राख्दै भविष्यमा यस्तै उच्चस्तरीय कविताहरूको रसास्वादन गर्न पाऊँ भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
नागरी फार्म, दार्जीलिङ