17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भिन्नता हेर्ने कि समानता ?

कविता प्रा. डा. मोहन प्रसाद जोशी February 7, 2024, 5:30 pm
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

भन्छन् कोशीलाई पूर्वको
कर्णालीलाई पश्चिमको
उत्तरतिर खोज्दै जाँदा
पानी त दुवैको हिमालको !

पात रङ्गीन लालुपातेको
फूल लालीगुराँसको
नियालेर हेर्दा दुवैले
लाली त लालै लिएको !

स्वादमा अमिलो सिन्की हो
रस मीठो चानाको
यी दुइटै खान्कीको
मूल त आखिर मूलै हो !

लाहुरेको फूल धेरै रङको
सेतो र पहेँलो सुनगाभाको
माटोमुनि त दुवैको
गानोमै जिन्दगी बनेको !

औँलाको शोभा औँठीले
घाँटी सुहाएको सिक्रीले
आखिर दुवै गहनाले
सौन्दर्य पाएको सुनैले !

मनमोहक मूर्ति बनेको
घरको जग भई बसेको
जुन ढङ्गमा ढले नि ढुङ्गा
आखिर चोइटा चट्टानको !

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।