विश्वमा नवउदारवादी अर्थव्यवस्थाले जनताप्रति निर्वाह गर्नुपर्ने उत्तरदायित्वबाट राज्यलाई विमुख बनाउँदै लगेको देखिन्छ । बजारले नै मानिसको समग्र जीवनलाई नियन्त्रण गर्न थालेको छ । हाम्रो समाजमा विद्यमान सामाजिक असमानताका बीच आर्थिक असमानताको खाडल अझ गहिरिँदै गइरहेको अवस्था छ । पूँजी विस्तारका नाममा प्रकृतिको दोहन र पर्यावरणको विनाश गर्न स्वयं विभिन्न मुलुकहरूले पूँजीपतिका पक्षमा काम गर्दै आएका छन् । सर्वसाधारणलाई जीविका धान्न गाह्रो भएको अवस्था छ । राज्यबाट पाउने छुट, सेवा र सुविधा पनि तिनै उपरी तहका वर्गले भोग गरिरहेका छन् । यसै सन्दर्भमा संसारभरिकै किसान, महिला, मजदु, युवालगायतको आन्दोलनले नवउदारवादका दुष्प्रभाव रोक्न राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समानता र न्यायका लागि निरन्तर खबरदारीको काम गरिरहेको देखिन्छ । यसै सन्दर्भमा २०७५ साल असोज महिनामा इण्डोनेशिया देशको शहर बालीमा यिनै नीतिहरूका प्रबद्र्धकका रूपमा चिनिने विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको नियमित वार्षिक बैठक इण्डोनेशिया सरकारले आयोजना गरेको थियो । सोही सन्दर्भमा विश्वमा सक्रिय नागरिक आन्दोलन समूहहरूले पनि बाली शहरमै विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । नेपालबाट ती कार्यक्रमहरूमा सहभागी हुन केही व्यक्तिहरू गएका थिए । मलाई पनि आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै एक हप्ताका लागि बाली शहर जाने अवसर मिलेको थियो । असोज २१ गते काठमाडौंबाट मलेसियाको क्वालालम्पुर शहरमा विमान परिवर्तन गरेर बाली शहर पुगेको थिएँ । त्यहाँ पुगेपछि इण्डिया, थाइल्याण्ड, श्रीलङ्का, बङ्गलादेश, फिलिपिन्स, पाकिस्तान, दक्षिण अफ्रिका आदि र इण्डोनेशियाकै साथीहरूसँग भेट भएको थियो । पाँच दिन विभिन्न ठाउँका कार्यक्रमहरूमा सहभागी हुने र कतै वक्ताका रूपमा बोल्ने अवसर पनि जुरेको थियो ।
असोज २७ गतेका दिन इण्डियाका तीन जना साथी र मैले बाली शहरका केही महत्त्वपूर्ण ठाउँहरु भ्रमण गर्ने योजना बनाएका थियौं । बालीको बसाइका क्रममा बम्बई इण्डियाका मेकान्जी डाब्रे मेरा साथी बने । उनी इण्डियाको ठूलो राष्ट्रिय सञ्जाल भएको सडकमा व्यापार गर्नेहरूको संगठनका संगठक हुन् । अन्य दुई साथीमा बम्बईकै ‘पानी हक समिति’ का सीताराम सेलर र दिल्लीमा वित्त सुशासन समितिमा कार्यरत गौरव थिए । हामी चार जनाले एउटा गाडी ५ घण्टा जति समयका लागि भाडामा लिएका थियौं । विश्वमा सबैभन्दा धेरै मुसलमान बसोबास गर्ने मुलुक इण्डोनेशिया हो । बाली शहर चाहिँ हिन्दुबहुल समुदायको बसोबास भएको शहर रहेछ । यात्राका क्रममा त्यहाँ पनि वर्णव्यवस्था अनुसारका संस्कार र व्यवहार चलनचल्तीमा रहेको कुरा थाहा भयो । त्यहाँका चोकहरूमा ऋषि व्यासले महाभारतमा व्याख्या गरेका पात्रहरूका सालिक देखिन्छन् । कतै अर्जुन, कतै कृष्ण र अर्जुनका कुरुक्षेत्रमा संवाद गरेका बेलाको दृश्य दर्शाउने सालिकहरू पनि छन् ।
हामीले बाली शहर वरपर र ४० किलोमिटर जतिमात्र टाढासम्म जाने योजना बनायौं । बालीको ‘कुता’ समुन्द्री किनार र बाटामा पर्ने तीनवटा जति मन्दिर यात्राका क्रममा घुमियो । त्यहाँ मन्दिर क्षेत्र प्रवेश गर्दा शरीरका भाग अनिवार्य रूपमा छोप्नुपर्ने रहेछ । हामी पुगेका मन्दिरहरूमा त्यहाँ उपलब्ध लुङ्गी लगाएर मन्दिर परिसर भ्रमण गर्यौं । त्यहाँका मन्दिरहरू प्यागोडा शैलीकै भए पनि हाम्रो नेपालका मन्दिरहरूमा भन्दा धेरै तला भएका र अग्ला पनि देखियो । नेपालमा भक्तपुरको तौमढी टोलमा रहेको न्यातपोल मन्दिर अग्लो मन्दिरमध्येको एक हो । बालीमा धान खेतका गह्रालाई पनि पर्यटकीय गन्तव्य बनाएको देखियो । पर्यटकहरू खेतका आलीमा हिँड्ने, माथि उक्लने र तल झर्ने गर्न पाउँदा रमाइरहेका देखिन्थे । धान खेतका माथिल्ला गह्रामा राखेका ठूला पिङ खेल्नकै लागि पनि मानिस झुम्मिएको देख्दा पहाडी जिल्लामा जन्मेहुर्केको मलाई भने उदेक लाग्यो । बालीको बजार क्षेत्रबाट ४० किलोमिटर जति यात्रा गर्दा पर्यटकीय गन्तव्यका रूपमा विकसित गरिएका ठाउँहरु अवलोकन गर्दै जान मिल्दो रहेछ । बाटोको राम्रो अवस्था, सवारी साधनको उपलब्धता र असमय सवारी रोकिने जोखिम कम भएका कारण बालीमा आएका पर्यटकलाई समयको सदुपयोग गर्न र घुम्न धेरै सोचविचार गरिरहनु नपर्ने महसुस भयो । धान खेतका गह्रालाई नियालेपछि बाली टापु शहरको उत्तरपश्चिममा रहेको बतुर ज्वालामुखी पहाडको दृश्यावलोक गरियो । यो सक्रिय ज्वालामुखी पहाडमा अन्तिमपटक सन् २००० मा ज्वालामुखी आएको जानकारी प्राप्त भयो । यसै पहाडको केही तल रहेको बतुर ताल पुगेर त्यहाँको पनि अवलोकन गरियो । यसपछि बाली शहर फर्कने योजना मुताबिक बस्ने होटलतिरको यात्रा शुरु भयो ।
यात्राका क्रममा हाम्रो देश नेपालका जुनसुकै भूभाग पर्यटकीय गन्तव्यका हिसाबले उपयुक्त हुँदाहुँदै पनि त्यस किसिमले विकास गर्न नसकिएको महसुस भयो । बाली शहरबाट करीब ४० किलोमिटर यात्रा गर्दा ती घुम्नैपर्ने भनिएका ठाउँहरु पहुँचका हिसाबले सजिलो बनाएको पाइयो । कतै सवारी रोकिएला, जाममा परिएला र भ्रमण तालिका बिग्रिएला भन्ने कुराको चिन्ता लिनुपर्ने अवस्था देखिएन । स्थानीय उत्पादनको व्यावसायीकरण र सहज उपलब्धतालाई प्रबद्र्धन गर्न हाम्रो देशको तुलनामा त्यहाँ राम्रै प्रयत्न भएको महसुस भयो ।
साँझ ७ बजेतिर हामी सबै बालीमा बसेको होटल नजिक आइपुग्यौं । गाडी भाडा तिरेर चालकलाई बिदा गर्यौं । भोलिपल्ट हामी सबै आफ्नो देश फर्कने तालिका थियो । त्यसैले सबै जनाले बेलुका खाना सँगै खाने सल्लाहा भयो । स्थानीय मुद्रा साट्नका लागि मुद्रा सटही काउण्टरमा गएर बेलुका खानका लागि चाहिने र भोलिपल्ट विमानस्थलसम्म पुग्न चाहिने गाडीभाडा साटियो । पानी हक समितिका सीतारामले ए.टि.एम.बाट पैसा निकाल्न बैंकको ए.टि.एम. कोठामा गए । हामी बाहिर प्रतीक्षा गरेर बस्यौं । मेरो बानी गोजीमा आवश्यकता अनुसार चाहिने खर्च मात्र बोकेर हिँड्ने रहेको छ । त्यो बेला चाहिँ बिर्सिएर सबै पैसा राख्ने पर्स गोजीमै बोकेको रहेछु । बाली शहर आउँदा विमान यात्राको टिकट म आफैंले किनेर आएको थिएँ । हामी घुम्न हिँडेकै दिन बिहान त्यस टिकटबापतको रकम कार्यक्रम आयोजकहरूबाट मैले फिर्ता पाएको थिएँ । उक्त रकम ९०० अमेरिकी डलर थियो । उक्त समय नेपाली विनिमय दर एक अमेरिकी डलर बराबर १२० नेपाली रुपैयाँ जति थियो । मेरो व्यक्तिगत खर्चका लागि लिएर आएको २०० जति अमेरिकी डलर, २–३ हजार नेपाली रुपैयाँ र केही त्यहीँकै मुद्रा मसँग थिए । लगभग डेढ लाख नेपाली रुपैयाँ मेरो पर्समा थियो ।
हामीहरू बाटाछेउ उभिएर गफिँदै थियौं । तीनजना मध्यपूर्वी देशतिरका जस्ता देखिने एक वयस्क पुरुष, एक महिला र एक १३–१४ वर्षका जस्ता देखिने केटा हामीहरू भएको ठाउँमा आए । उनीहरूले “वरपर कतै इण्डियन रेष्टुरेन्ट छ ?” भनेर प्रश्न गरे । हामीले अझै केही तल करीब दश मिनेटको दुरीमा रहेको जानकारी दियौं । “हिँडेर जाने कि ट्याक्सी लिनुपर्छ ?” भनेर उनीहरूले प्रतिप्रश्न पनि गरे । हामीले हिँडेरै जान सकिने कुरा बतायौं । मेरा साथी मेकान्जी डाब्रेले उनीहरूसँग कुरा गर्दै थिए । उनीहरूले साथी मेकान्जीलाई “इण्डियन हौं ?” भनी कुराकानीको शुरुवात गरे । उनी कुन शहरको, उनको शहर कसरी जाने आदि प्रश्न गर्न थाले । त्यसपछि “इण्डियाको पैसा कस्तो हुन्छ” भनेर हेर्ने इच्छा देखाए । मलाई चाहिँ मेकान्जीले पैसा नझिके हुने अथवा देखाउनतिर नलागे हुने भन्ने लागेको थियो । तर उनले गोजीबाट १० भारु झिकेर देखाए । उनीहरूले “हामीलाई यो पैसा सङ्ग्रह गर्न दिन्छौ ?” भनेर सोधे । मेकान्जीले हुन्छ भने । यही कुराकानीका क्रममा वयस्क केटो मतर्फ आएर मेरो देश र राजधानीका बारे सोध्न थाल्यो । काठमाडौं पुग्ने हवाइमार्गबारे सोध्यो । मलाई पनि उसले नेपाली पैसा हेर्न चाहेको बतायो । मैले गल्ती गर्दै छु, पैसा देखाउन हुँदैन भन्ने अन्तर्मनले भन्दाभन्दै पाँच रुपैयाँको नोट देखाउँदा के होला र ? लगे पनि दिउँला भन्ने सोच हाबी भएर गोजीबाट पर्स झिकें । पाँच रुपैयाँको नोट दिएँ । “योभन्दा ठूलो नोट कुन हो ?” भनेर उसले सोध्न थाल्यो । अब कुरो गडबड होला जस्तो छ भन्ने लागेर मैले पर्स गोजीमै राख्न खोजें । त्यो केटोले पर्समा भएको सबै पैसा स्वाट्ट निकालेर सबै पैसा हेरेजस्तो गर्यो र तासका पत्ती चलाएजसरी चलायो । अनि मलाई पैसा फिर्ता दियो । मैले पैसा पर्समा राखें । त्यतिञ्जेलमा मेरो छेउ तिनै तीनजना मध्येको १३–१४ वर्षको केटो आइसकेको थियो र पछाडिपट्टि ती महिला । त्यो वयस्क केटाले पैसा चलाएका बेला घरि छेउबाट सानो केटो बोल्ने र घरि पछाडि उभिएकी महिलाले केही सोधेजस्तो गर्ने गरेका थिए । पैसा फिर्ता दिएपछि हामीले ठूलो सङ्कटबाट छुट्कारा पाएको महसुस गर्यौं ।
खाना खान रेष्टुरेन्टको खोजीमा आएका ती तीन जना व्यक्तिले मेरो साथी मेकान्जीलाई १० भारु दिएकामा धन्यवाद भन्दै १ अमेरिकी डलर दिएर बिदा भए । मलाई मेरो सोझोपन र मुख्र्याईंको आभास तब भयो जब उनीहरू हामीले रेष्टुरेन्ट देखाएको दिशातिर नगई बाटापारि रोकिराखेको सेतो ट्याक्सी चढेर विपरीत दिशातिर लागे । तत्कालै मैले साथीहरूलाई म ठगिएको बताएँ र गोजीबाट पर्स निकालें । मसँग भएका सबै पैसामध्ये ९०० अमेरिकी डलर पर्समा थिएन । त्यो वयस्क केटाले कालो जादू गर्यो वा हामीहरूको ध्यान अन्त मोडेर त्यो पैसा निकाल्न सफल भयो । वर्षौंको ज्यालाले एक लाख पनि बचत नहुने अवस्थाको व्यक्तिलाई नेपाल फर्केलगत्तै आउने दशैं चाड र बिखर्ची हुने कुराले एकछिन पिरल्यो । साथी सीताराम र गौरवलाई छाडेर हामी दुई, मेकान्जी र म, ती चोरहरू गएकै दिशातर्फ अघि बढ्यौं । रातीको समय थियो । हाम्रो पोखराको लेकसाइडजस्तै बाटाछेउछाउ लहरै रेष्टुरेण्ट थिए । गाडीको नम्बर पनि हामीलाई याद भएन । करीब आधा घण्टा तिनीहरूलाई खोज्दै अघि बढ्यौं । केही रेष्टुरेन्टहरू भित्र छिरेर पनि उनीहरूलाई खोज्यौं तर केही पत्ता लगाउन सकिएन । आप्mनो देशको जस्तो मेसो पाउने कुरा पनि भएन । अब ती चोरहरूलाई खोज्नतिर लाग्नभन्दा नजिकको प्रहरी चौकी गएर सहायता माग्ने हामीले निर्णय गर्यौं । ट्याक्सीले नजिकैको प्रहरी चौकी पुर्याइदियो । चौकीमा अङ्ग्रेजी बुझ्ने अधिकृत आइञ्जेल प्रतीक्षा गर्यौं । इण्डोनेशिया सरकारले नै आयोजना गरेको कार्यक्रममा आएको प्रमाण देखाएपछि उनीहरूले तदारुकता देखाएको महसुस भयो ।
मैले प्रहरीसमक्ष घटनाको विस्तृत विवरण बताएँ । त्यसपछि घटनास्थलमै गएर घटनाक्रम बुझ्न प्रहरीले हामीलाई लिएर गयो । मैले सबै कुरा बताएँ । प्रहरीले त्यहाँ वरपर रहेका पसल र सिसिटिभीले रेकर्ड गरेको चलचित्र (फुटेज) उपलब्ध हुनसक्ने ठाउँ हेरेपछि पुनः चौकीमै लिएर गयो । लाखौं व्यक्ति पर्यटकका रूपमा आउने बाली शहरमा यो कुनै नयाँ घटना थिएन । प्रहरीले स्पष्ट रूपमा मेरो कुनै सामान चोरी भएको भए खोज्न सजिलो हुने तर पैसा भेट्न गाह्रो हुने कुरा बतायो । मैले दर्ता गराएको उजुरीका सम्बन्धमा सिसिटिभीबाट केही पत्ता लागे उक्त व्यक्तिलाई समाउन सकिने र थप प्रक्रियाका लागि म पनि चौकी आउनुपर्ने कुरा प्रहरीले बताए । मैले नेपालबाट यत्ति प्रयोजनका लागि आउन नसक्ने र भोलि नै आफ्नो देश फर्कन लागेको बताएँ । त्यसपछि इण्डोनेशियाकै कसैको विवरण दिएमा उक्त व्यक्तिलाई खबर गर्ने प्रहरीले बताए । मैले बालीकै स्थानीय एक साथीको सम्पर्क विवरण उपलब्ध गराएर एक लाख रुपैयाँ इण्डोनेशियाको अर्थतन्त्रमा योगदान गरें भन्ने सोच बनाएर चित्त बुझाएँ । बिखर्ची भएको मलाई सहयोगी मित्र मेकान्जीले भावनात्मक रूपमा बलियो हुन अनुरोध गरे । मैले चित्त बुझाइसकेको थिएँ । मैले सिकेको पाठ निकै महँगो भयो मेरा लागि । त्यो बेला नेपाल पुग्न पाए हुन्थ्यो भन्ने सोचमात्र आइरह्यो । राती १० बजेतिर चौकीबाट पैदलै होटलमा बास बस्न हिँड्दै आयौं । हिँड्ने क्रममा बाटाछेउको होटलमा खाना खाइयो ।
२०७५ असोज २८ गतेका दिन बिहान बालीको होटलमा पेटभरी खाजा खाएर विमानस्थल जानका लागि म र साथी मेकान्जी गाडी चढ्यौं । जिन्दगीमा कसैले मेरो पाकेट मार्न सफल भएको पनि थिएन र मेरा गल्तीले एक रुपैयाँ हराएको पनि थिइन । तर यति ठूलो रकम एक झिमिकमा गुमाउनुपर्दा फुङ्ग उडेको मेरो अनुहार देखेर पनि होला साथी मेकान्जीले मलाई १०० अमेरिकी डलर दिएर दशैं मनाउन सहयोग गर्न खोजे । मैले सहर्ष अस्वीकार गरें । हामी दुवै विमानस्थल पुग्यौं ।
बालीबाट म गएकै कार्यक्रममा पुगेका सबैलाई हिजो रातीको घटनाबारे चासो थियो । सबैले सोधखोज गरे । मैले पैसा चोरी भएको र चोर फेला नपरेको जानकारी गराएँ । बालीको ङुँरा राइ अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन पार गरेपछि हामी मलेसियाको क्वालालम्पुर हुँदै फर्कने तालिका थियो । म र साथीको विमान चढ्न जाने द्वार नजिक नजिक भएकाले साथी मेकान्जी र म सँगसँगै नै थियौं । हजारौं मानिस विमान चढ्ने द्वारहरू वरपर छरिएका थिए । हामी दुईजना विमान ढिला उड्ने भएपछि विस्तारै टहलिंदै हिँड्दै थियौं । मेकान्जी अघिअघि हिँड्दै थिए र म पछिपछि । त्यही क्रममा हाम्रो बीचमा एउटा वयस्क केटो घुस्य्रो । बाली शहरमा लुट्ने बेला भद्र पहिरन सर्ट र पाइन्टमा आएको त्यो केटो विमानस्थलमा कालो चस्मा ढल्काउँदै छालाको ज्याकेट र आधुनिक पहिरनमा देखियो । मैले अङ्ग्रेजी भाषा बोलेमा उक्त केटाले बुझ्ने भएकाले साथी मेकान्जीलाई हिन्दीमा पर्खन भनें । उनलाई उक्त चोर केटो देखाएँ । उनले ठम्याउन सकेनन् र म झुक्किएको कुरा गरे । उक्त केटो यात्रुहरूलाई विश्रामका लागि राखिएको कुर्सीको लहरमा गएर बस्यो । केहीबेरको अवलोकनपछि साथी मेकान्जीले पनि त्यही केटो भएको स्वीकारे । म उनलाई त्यो केटाको निगरानी गर्न लगाएर प्रहरीको खोजीमा हिँडेँ ।
इण्डोनेशियामा प्रहरीलाई पोलिसी भनिँदो रहेछ । मैले अलि ठूलो स्वरमा “पोलिसी कहाँ छ ?” भन्दै विमानस्थलका कर्मचारीहरूलाई सोध्दै हिँड्न थालें । सुरक्षा घेराहरू पार गरेर यात्रुहरू भित्र आएका हुनाले पनि प्रहरीको कम उपस्थिति भएको जस्तो लाग्यो । एकजना विमानस्थलकी कर्मचारीले प्रहरी बस्ने ठाउँ देखाइदिइन् । म छिटो छिटो पाइला चाल्दै प्रहरी भएको ठाउँतर्फ लागें । अकस्मात एकजना अर्को मध्यपूर्वी देशतिरको जस्तो देखिने मान्छेले मेरो हात च्याप्प समायो र हिन्दी भाषामा “तपाईं कता जान लाग्नुभएको ?” भनेर रोक्यो । मैले “म जता गए पनि तिमीलाई के सरोकार ?” भनेर उत्तर फर्काएँ । “तँ जे गर्न गइरहेको छस् त्यो ठीक गर्दै छैनस् । प्रहरीलाई गएर भनिस् भने न तँ तेरो देश जान पाउँछस् न त्यो केटो” भनेर उक्त व्यक्तिले मलाई धम्क्यायो । मैले म रोकिनुपर्ने कुनै कारण नभएको र त्यो केटालाई सिसिटिभी फुटेजका आधारमा प्रहरी समाउन आउन लागेको गफ दिएँ । हिजो मात्र मेरो पैसा चोरेको र मैले उजुरी गरेका आधारमा प्रहरीले त्यो केटालाई समाउने बताएँ । हिजो राती तिनै तीन जनामध्येकै एक १३–१४ वर्षको बालक लट्ठिएको चालमा शौचालयबाट निस्किरहेको देखें ।
केही सेकेण्डको अन्तरमा एकजना बुढा मान्छे म नजिक आएर उक्त चोर केटो उनको छोरा भएको जानकारी दिए । उनले छोराले नचाहिँदो काम गर्दै हिँड्ने गरेको र नटेर्ने गरेको बताए । म कसैको कुरा सुन्ने र पत्याउने पक्षमा थिइन । मैले आफ्नो कमजोरीलाई दोहोर्याउन पनि भएन । मलाई प्रहरीकहाँ जानबाट रोक्न नसक्ने देखेपछि चोरी गर्ने केटोका बा भनिएका मान्छेले “कति पैसा चोरेको हो ?” भनेर सोधे । विमान चढ्न ढिला हुने सम्भावनालाई पनि मध्यनजर गर्दै मैले उक्त केटाले ९०० अमेरिकी डलर चोरेको बताएँ । ती व्यक्तिले त्यहीँ नै मलाई ९०० अमेरिकी डलर खनखन गनेर दिए अनि शान्त हुन आग्रह गरे । बुझ्दै जाँदा मेरो पैसा चोर्ने केटो उक्त विमानस्थलमा छरिएका २०–२५ जनाको गिरोहको सदस्य रहेछ । विमानस्थलमा उनीहरूको समूहले सोझा यात्रुलाई पनि ठग्न शुरु गरिसकेका थिए ।
मैले मेरो चोरी भएको पैसा फिर्ता लिँदालिँदै १० मिटर जति पर एकजना बङ्गलादेशी यात्रुले आफ्नो साथबाट १०० अमेरिकी डलर चोरी भएको भनेर हल्ला गर्न थाले । तिनलाई पनि त्यही समूहमध्येको एकले पैसा फिर्ता दियो । मैले ९०० डलर हातले च्यापेर गोजीमा राखिनै रहें । नक्कली पैसा पो दिए कि भन्ने तर्कना पनि मनमा थियो तर जाँच गर्न जाने आँट आएन । मलेसियाको क्वालालम्पुर विमानस्थलमा पुगेपछि तिनै चोरी गर्ने गिरोहका मान्छे सोझासाझा यात्रुलाई भेट्दै पैसा हेर्ने उपक्रममा लागेका थिए । म र साथी मेकान्जीलाई देखेपछि उनीहरू लाखापाखा लाग्थे । यसरी काठमाडौं आउने जहाजमा सँगै बस्ने यात्रु पनि त्यस्तै चोर हो कि भन्ने डर पाल्दै काठमाडौंसम्मको यात्रा तय गरियो । गोजीभित्र हरदम हात राखेर पैसा सुरक्षित रूपमा काठमाडौंसम्म ल्याउन सफल भएँ । मुद्रा पनि सक्कली नै परेकाले नेपाली मुद्रामा सटही गरें । लाखौं पर्यटक पुग्ने शहरमा भएको उक्त घटनाको अन्त्य सुखद् रहन गएकाले मेरो यो बाली भ्रमण अविष्मरणीय रहन गयो । यिनै अनुभूतिसँगै मेरो यात्रा काठमाडौंबाट पोखरातर्फ जारी रह्यो ।
रामघाट, पोखरा