18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अति सम्मानित नगरवधू

कथा विश्वराज अधिकारी February 7, 2024, 5:44 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

पुतली सडकबाट हिंडेर जाँदा गन्तव्य पुग्न आधा घण्टा लाग्ने भएकोले समय बिताउन मैले प्रदिप्तलाई प्रश्न गरे, “तिमीले आम्रपालीको नाम सुनेका छौ?”
“छैन.”
प्रदिप्तले प्रति प्रश्न पनि गरे, “किन।”
मैले भने, “अहिलेको भारतको विहार राज्यमा कुनै समयमा वैशाली नामको एक नगर थियो जुन लिच्छवी वंशीय राजाहरूको राजधानी थियो। त्यस शहरमा एउउटा अनौठो चलन थियो। चलन के थियो भने त्यस नगरका अति सुन्दर युवतीहरूले विवाह गर्न नपाउने र ‘नगरवधु’ भएर बस्नु पर्ने हुन्थ्यो। आफ्नो सुन्दरताको आनन्द विवाह गरेर कुनै एक युवकलाई मात्र दिनुको सट्टा सहस्रलाई दिनु पर्ने हुन्थ्यो।”
मैले थपें, “एक दिन वैशालीका राजा मनुदेवले आफ्नो नगरकी एक ज्यादै सुन्दरी युवतीलाई कतै नृत्य गरि रहेको अवस्थामा देखे। ती युवतीको उत्कृष्ट सुन्दरता देखेर उनमा काम भावना नियन्त्रण गर्न नसकिने गरी तत्काल जागृत भएर आयो। मनुदेवले मन थाम्न सकेनन र कामातुर भए। आफ्नो उक्त इच्छा पूरा गर्ने उनले ती युवतीलाई त्यस राज्यको परम्परा अनुसार “वैशालीकी नगरवधू” घोषणा गरि दिए। त्यस्तो घोषणा गर्ने अधिकार राजासँग मात्र हुन्थ्यो। त्यो घोषणाले गर्दा मनुदेवलाई ती अति सुन्दर युवतीको शरीर प्रयोग गर्न सजिलो भयो। ती युवतीको शरीर सजिलै र नियमित किसिमले प्रयोग गर्न मनुदेवले अर्को जुक्ति पनि निकाले। उनले ती युवतीलाई “वैशाली जनपद कल्याणी” पद दिएर सम्मानित पनि गरे। वैशालीको नगरवधू र वैशाली जनपद कल्यानी हुने मौका स्वेच्छा वा बाध्यताले पाउने व्यक्ति थिइन ‘अम्रपाली’। वैशाली जनपद कल्याणी सम्मान त्यस राज्यको अति सुन्दर एवं मेधावी युवतीलाई दिने गरिन्थ्यो। वैशाली जनपद कल्याणीको पदावधि सात वर्षको हुन्थ्यो। जनपद कल्याणी हुने बितिक्कै त्यो युवतीको लागि विवाहको ढोका सदाको लागि बन्द हुन्थ्यो तर इच्छा गरेको जुन सुकै पुरुषसँग सहबास गर्न भने पूर्ण स्वतन्त्रता हुन्थ्यो। कल्याणीको पद मन्त्री सरहको हुन्थ्यो। कल्याणीहरूको प्रशासनिक कार्यमा संलग्नता हुन्थेन। तर राजाको नजिक भएको हुनाले वैशाली जनपद कल्याणीहरू अति शक्तिसाली हुन्थे। अम्रपालीलाई राजाले अति प्रेम गरेर ‘राज नर्तिकी’ पनि बनाएका थिए। बत्तिस लक्षणले युक्त अम्रपालीको सुन्दरताको चर्चा अनेक राष्ट्रहरूमा समेत पुगेको थियो। हरेक पुरुष उनी सँग एकरात बिताउन अति लालायित हुन्थे। अम्रपालीको लागि ज्यान नै फाल्न तयार हुन्थ्ये। पुरुषहरू जम्मा हुनासाथ अम्रपालीको चर्चा हुन्थ्यो नै। अम्रपालीसँग एक रात बिताएको पचास कर्षापानस (त्यसबेलाको मुद्रा) भुक्तान गर्नु पर्थ्यो। पचास कर्षापानस त्यसबेलाको ज्यादै ठूलो रकम मानिन्थ्यो। अम्रपालीसम्म पुग्न ठूलो धनराशी खर्च गर्नु पर्ने भएकोले गरिब पुरुषहरू अम्रपालीसम्म पुग्नु एक सपनाको कुरा मात्र हुन्थ्यो। देश विदेशबाट अति धनाड्याहरू अम्रपालीसँग एक रात मात्र बिताउन पाए हुन्थ्यो भन्ने लालासले लामो यात्रा पार गरेर आउँथे। कठिन बोटोको जोखिम पनि उठाउँथे। ‘नगरवधू’ वृति बाट अम्रपालीले पैसा र ख्याति दुबै ठूलो मात्रामा आर्जन गरेकी थिन। अम्रपालीको सम्पत्ति उनका समकालीन केही राजाहरू भन्दा निकै बढी थियो।”
मेरो यो असान्दर्भिक विषयले प्रदिप्तलाई मेरो कुरा प्रति आकर्षित गर्न सकेन। त्यस्तो मैलै अनुमान गरे। मैले उनलाई कुनै प्रश्न राख्नु पूर्व नै, उनले नै प्रश्न गरे, “नारद ठूलो बा, आर्थिक सहयोग माग्न हामी इन्द्रचौक स्थित ‘प्रेमा ट्रष्ट’ जान थालेको होइन र?”
मैले, “हो”, भने।
अँ साँच्चै मलै एउटा कुरा पहिले नै भन्नु पर्ने थियो। त्यो के भने हाम्रो टोलका एक अति निर्धन मजदूर प्रभु क्यान्सरले थलियोकोले उनको उचारको लागि चन्दा संकलन गर्न हामी, म र प्रदिप्त हिंडेका थियौ। प्रेमा ट्रष्टमा पुगरे राम्रो रकम चन्दाको रूपमा हामीले पाउने हाम्रो विश्वास थियो। क्यान्सर पीडितहरूलाई सहयोग गर्न नै प्रेमा ट्रष्टको स्थापना भएको थियो। काठमाडौ मात्र होइन, नेपालभरिका गरिब क्यान्सर पीडितहरू लाई सहयोग गर्नमा प्रेमा ट्रष्टले राम्रो ख्याति आर्जन गरेको थियो। प्रेमा ट्रष्टकी अध्यक्ष प्रेमा राणा थिन। प्रेमा ट्रस्टको कार्यालय इन्द्रचोकमा थियो। यसरी इन्द्रचोक हाम्रो गन्तव्य हुन पुगेको थियो।
अव पुन: हाम्रो वार्तामा फर्कौ।
प्रदिप्तले भने, “हामी प्रेमा ट्रस्ट जान थालेको हो। त्यस सम्बन्धमा कुरा गर्नुको साटो यौन सम्बनी मात्र कुरा गर्नु भएकोले मलाई आश्चर्य लागि रहेको छ।”
भरखरका नवयुवक प्रदिप्त म भन्दा चालिस पैतालिस वर्षले कान्छो रहेको र उनलाई यौन वारेमा मसँग कुरा गर्न अपठ्यारो लागेको मैले सहजै अनुमान गरे। मैले प्रशंग परिवर्तन गरे, विषय भने परिवर्तन गर्न चाहिन। मैले भने, “प्रदिप्त, तिमीले राधाको नाम सुनेका छौ?”
“छैन सुनेको, ठूलो बा।”
मेल आश्चर्य मान्दै प्रश्न गरे, “राधाको नाम सुनेको छैनौ, राधाSSSSSS?”
“तिमी युवकहरूको माझ पनि राधाको पटक्कै चर्चा हुँदैन?” मैले अर्को प्रश्न पनि राखे।
“हुँदैन।”
“किन।” प्रदिप्तले प्रश्न पनि राखे।
मैले भने “अम्रपाली झै राधा पनि यस कान्तिपुर नगरकी नगर वधू हुन्।”
“उनीसँग एक रात बिताउन पुरुषहरू एक लाख सम्म तिर्न तयार हुन्छन। राधा प्राय: कारमा हिंड् छिन। तर पनि उनी कारबाट निस्केर यता उता घुमफिर गर्दा उनलाई हेर्न पुरुषहरू पथ्थर झै स्थिर हुन पुग्छन। एक पटक एकटकले हेर्न पाएकोमा आफूलाई भाग्यशाली ठान्छन। गरिब पुरुषहरूले उनलाई हेरेर नै काम-तृप्त भएको अनुभव गर्छन भने धनीहरूले लाखौ भुक्तान गरेर त्यो …..तुप्ति पाउँछन्।”
“प्रधान मन्त्री, मन्त्री, ठूला ठूला नेता, प्रहरीका उच्च अधिकृत छद्म भेषमा राधालाई भेट्न जाने गरेको सुनेको छु। राधासम्म पुग्न त प्रत्येक पुरुषको इच्छा हुन्छ तर उनीहरूको बजेटले भ्याउँदैन पो। धनी व्यापारीहरू पनि उत्तिकै ठूलो संख्यामा पुग्छन। धनी धनी व्पापारीहरूलाई उनीसम्म पुग्न कुनै अप्ठ्यारो हुँदैन। राधाको राजनीतिमा पनि उत्तिकै भारि पहुँच छ। ठूला ठूला नेताहरू सँगको अन्तरंग सम्पर्कले राधालाई राजनीतिक रुपमा पनि शक्तिसाली तुल्याइ दिएको छ।” मैलै भन्ने क्रम जारि नै राखे।
प्रदिप्तले लाज मान्दै प्रश्न गरे, “राधाले विवाह गरेकी छैनन, ठूलो बा?”
मैले भने, “छैन।”
मैले थपे, “अनेक पुरुषको सम्पर्कमा छिन, किन गर्नु पर्यो विवाह।” यो वाक्य मेरो मुखबाट नियोजित होइन अनयास निस्केको थियो।
मेरो यो पछिल्लो कुरा सुनेर प्रदिप्तले लज्यावोध गरेको मलाई लाग्यो पनि। मेरो अनुमान सही प्रमाणित भयो।
प्रदिप्तले प्रशंग परिवर्तन गर्ने आभिप्रायले प्रश्न गरे, “प्रेमा ट्रष्टमा, प्रेमा माड्मसँग भेट होला, ठूलो बा?”
मैले भने, “अवश्य पनि हुन्छ। मलै प्रेमा माड्मलाई फोन गरेर उनीसँग भेटने समय लिएको हो। नभेट्ने र र उनीले आर्थिक सहयोग नगर्ने त कुरै आउँदैन।”
“तर प्रेमा माड्म प्रेमा ट्रष्टमा विरलै देखा पर्छिन रे भन्ने मैले सुनेको छु। त्यहाँ काम गर्ने कर्मचारीहरूले अहिलेसम्म उनलाई देखेका छैनन रे। माड्म त्यहाँका कर्मचारीहरूसँग केवल फोनमा कुरा गर्नु हुन्छ रे।”
“त्यस्तो बेफुर्सती र हाइप्रोफाइल व्यक्तिसँग यति सजिलै गरि भेट होला?” प्रदिप्तले थपे पनि।
चिन्ता नगर, अवश्य पनि भेट हुन्छ। मेरो उनीसँग राम्रो सम्पर्क छ। कलेजमा मैल उनलाई पढाएको पनि हो। हामी बीच अन्तरंग सम्बन्ध छ। आज शनिवार हो। प्रेमा ट्रष्टमा न त कर्मचारीहरू हुने छन, न त चन्दा माग्न आउनेहरू नै। न त अरू कामले आउनेहरू नै हुने छन। प्रेमाको काठमाडौको राम्रो ठाउँमा अनेका घरहरू छन। निकै सम्पत्तिबाल हुन उनी। अति नै धनाड्य।“
निर्धारित समयामा नै हामी प्रेमा ट्रष्ट पुगौ। प्रेमा हाम्रो स्वागतमा कार्यालयको अगाडि उभिएर हाम्रो प्रतीक्षारत भएको देख्दा हामी औधी खुसी भयौ।
प्रेमा र हामी वीच करिब आधा घण्टा कुराकानी भयो।
हामी निस्किने बेलामा प्रेमाले नोटको एक ठेली मेरो हातमा राख्दै भनिन, ‘अहिलेलई एक लाख पचास हजार रुपैंया छ। पछि चाहिए भने सके जति दिउँला। तर त्यो युवकको क्यान्सरको उपचार हुनमा कुनै कसर बाँकि चाहिं हुनु हुदैन, है सर।”
मैले भने, “ढुक्क हुनु होस। त्यो युवकको इलाज हुन्छ। म स्वयं पनि तपाइँ जस्तै एक समाजसेवी हो। म पनि उत्तिकै चिन्तित छु। त्यो युवकको स्वास्थ्यप्रतिको चिन्ताले नै मलाई तपाइँसमक्ष पुर्याएको हो।”
कुराकानी सकिएर हामी घरतिर फर्किन लाग्यौ।
बाटोमा मलाई प्रदिप्तले प्रश्न गरे, “ठूलो बा, प्रेमा माड्म त निकै राम्री रहिछन्। अति नै! होइन?”
मैलै भने, “हो।”
“उनको उमेर कति होला?”
मैले भने, “पैंतिस चालिस वर्षको हुनु पर्छ, प्रेमाको उमेर।’
“अहिले पनि बिस पच्चिस वर्षको जस्तो देखिन्छिन त, प्रेमा माड्म”, प्रदिप्तले भने।
मैले हाँस्दै भने, “प्रदिप्त, तिमी पनि प्रेमाको रूपमा मोहित भयौ, अम्रपालीलाई देखेर मनुदेव मोहित भएझै।”
मेरो कुरा सुनेर प्रतिप्तको मुख रातो भयो। एक छिनसम्म उनले मसँग आँखा जुधाएनन। वातारण एक छिन शान्त रह्यो।
केही क्षण पहिलेदेखि कायम रहेको मौनतालाई भंग गर्दै मलै भने, “प्रदिप्त, एउटा गोप्य कुरा कसैलाई पनि न भन्नु है।”
प्रदिप्तले भने, “कसैलाई पनि भन्दिन। तर गोप्य कुरा केहो, ठूलो बा?”
मैले भने, “कान्तिपुर की नगरवधू राधा र समाजसेवी प्रेमा माड्म एकै व्यक्ति हुन। अलग अलग होइनन।”
प्रदिप्तले प्रश्नले भरिएको आँखाले मलाई हेरे।
मलै भने, “रावणको दस ओटा टाउको थियो।”
मैले प्रश्न पनि गरे, “जीव विज्ञानको हिसाबले कुनै पनि मानिसको दस ओटा टाउको हुनु सम्भव छ?”
मैले थपे, “त्यसबेला कुनै व्यक्तिको व्यक्तित्व वर्णनन गर्न अक्षरको विकास नभएकोले ढुंगामा चित्र कोरेर व्यक्तिको व्यक्तित्व वर्णनन गरिन्थ्यो। रावणमा पनि दसौं किसिमका व्यक्तित्व थिए, होलान।”
मैले भन्ने क्रम जारि नै राखे, “राधाका पनि रावणझै अनेक टाउको हुन सक्छ।”
मेरो कुरा सुनेर प्रदिप्त आश्चर्य चकित भएझै लाग्यो। मेरो पनि रावणको झै दस ओटा टाउको छ कि गरी प्रदिप्तले मलाई हरेको जस्तो लाग्यो।7

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।