पृष्ठभूमि
नेपाली साहित्यमा विविध विधाका विविध रूप देख्छौँ। एउटा विधा पनि विभिन्न उपविधाका रूपमा चर्चित भएका पाउँछौँ। पहिले निबन्ध, प्रबन्ध भनिन्थ्यो। संस्मरणमात्र पनि भनिएको सुनिन्थ्यो भने कालान्तरमा निबन्धका विविध रूपहरू देखा परेका छन्। यात्रा वृत्तान्तयुक्त जानकारीमूलक र पाठकलाई पनि यात्रा दृश्यावली आदि अनुभूत गराउन सक्ने निबन्ध कै यात्रा सम्बन्धी संस्मरणात्मक रूप ‘नियात्रा’ पाएका छौँ। संस्मरण कै पनि अर्को रूप निसंस्मरण पाएका छौँ। वार्तामा पनि ‘नि’ उपसर्ग जोड़िएर निवार्ता बनेको ज्ञात हुन्छ।समालोचनालाई पनि छुट्ट्याएर निसमालोचना पनि भनी विश्लेषित गरेका देख्छौँ। यसरी एउटै विधालाई पनि विविध रूप र दृष्टिकोणमा चर्चा,विश्लेषण र समीक्षा गरिएका पाउछौँ। अत: निबन्ध एउटा सिङ्गो विधा भए पनि यसको रूप,प्रस्तुति र विश्लेषण गराइ फरक फरक पाउँछौँ। निबन्ध,प्रबन्ध,संस्मरण हुँदै यात्रानिबन्ध, यात्रावृत्तान्त,भ्रमणसाहित्य,यात्रासंस्मरण,यात्रावृत्त,नियात्रा बनिसकेका देखिन्छ। यात्रासंस्मरणलाई नियात्राका रूपमा लिने नलिने मत-मतान्तर पनि त्यस विधाको संरचनागत विशेषतालाई केलाएर मात्र प्रस्फुटित हुन्छन्। नियात्रालाई नौलो विधा नै मानिएको मान्यता अग्रसारित भएको देखिन्छ । नियात्रा विधा जन्मिएको धेरै वर्षपछि ‘सयात्रा’ देखा परेको छ। ‘यात्रा’ शब्द अघि ‘स’ उपसर्ग थपिएर ‘सयात्रा’ नयाँ विधा घोषित भएको खबर छापामा आएको छ। अमेरिकाको बोस्टनमा बसोबासो गरिरहेका साहित्यकार हरी थापाकृत उनको तेस्रो सयात्राकृति “तल्लो पाटोमा तैरिँदा”-को विमोचन सन् २०२३मा विमोचन भइसकेको छ। समालोचकहरूले ‘सयात्रा’-लाई ‘नियात्रा’ नै माने तापनि सयात्राकार हरी थापा यात्रामा सँगसँगै भएका थोकहरूलाई अँटाएर लेखिनुपर्छ भन्ने मान्यता प्रतिपादित गरेको हुँ भन्छन्।१
सबै यात्राकारले आफ्ना यात्राकृतिलाई नियात्रा भनेका छैनन्। पोख्त निबन्धकार नगेन्द्र शर्माले आफ्ना कृति “उत्तर-दख्खिन पूर्व-पश्चिम”-लाई यात्रा निबन्ध मानेका छन्।२ धेरैले यात्रा संस्मरण नै भन्न रुचाएका छन् । यात्रा संस्मरणमा देखिएका थोकहरूको प्रबन्धात्मक विवरणमात्र रह्यो भने त्यो नियात्रा बन्न सक्दैन। त्यसो भए नियात्रा के हो त ? यस प्रश्नको उत्तरमा मलाई श्री पुष्परज भट्टले डा. तारानाथ शर्मासित लिएका अन्तर्वार्ता,जुन मधुपर्क,वर्ष-४९,अङ्क-७,पूर्णाङ्क ५७०मा प्रकाशित भएको छ,मा डा. तारानाथ शर्माले दिएका उत्तर उल्लेख गर्न मन लाग्यो। डा. शर्माले भनेका छन्-“नियात्रा भन्नाले यात्रा वर्णनमा व्यक्तिगत कुरा लेख्दा पाठकले आफ्नो जीवनको अनुभूति भेट्टायो भने नियात्रा हुन्छ। ...यसमा यात्रा वर्णन त हुने नै भयो,त्यसका साथै मानिसका आफ्ना संस्मरण पनि घोलिएको हुनुपर्छ। लेखकको निजात्मक अनुभूति यसरी व्यक्त हुनुपर्दछ कि पाठकले आफै यात्रा गर्दै यात्राको आनन्द लिइरहेको ठानोस्। मानिसको मन-मस्तिष्कलाई भिजाउन सक्ने शक्ति र सामर्थ्य भएमा यस्तो लेखनले सार्थकता पाउँछ। ”३
नियात्रा शब्दका प्रथम प्रयोक्ता बालकृष्ण पोखरेलले यात्रा साहित्यलाई यात्रा विवरण र नियात्रा गरी दुई भेद देखाएका छन्। उनले तानासर्माकृत ‘बेलाइततिर बरालिँदा’-को भूमिकामा लेखेका छन्- “हुन त यात्रासाहित्य विवरण साहित्यको एक शाखा मात्र हो तापनि अचेल यसले आफ्नो लागि छुट्टै इलाका तुल्याइसकेको छ। तर छुट्टै इलाकामा रहेर पनि यसले विवरणसाहित्यबाट पाएको आनुवंसिक विशेषता के हो भने यो पनि सत्यको निस्तो वर्णन हुन सक्तछ अथवा सत्यको टिम्मुर मात्र बनेर पाठकलाई रमरमको आनन्द दिन सक्तछ।सत्यको निस्तो वर्णन छ भने यो यात्रालेख(travel account) र रमरम आनन्दबाट मुछिएको छ भने चाहिँ नियात्रा कहलाउँछ।”४
उपर्युक्त कथनहरूबाट नियात्रा के हो र कस्तो हुन्छ भन्ने कुरो स्पष्ट हुन्छ।यसैले यात्राविवरण जति सबै नियात्रा हुँदैनन्।
नेपाली यात्रासाहित्यको इतिहास अध्ययन गर्दा करबीर रावलकृत “राजा गगनीराजको यात्रा”(वि॰सं १५५० अथवा ई॰सन् १४९३)मा यात्रासाहित्यको प्रारम्भिक रूप पाइए पनि साहित्यिक दृष्टिकोबाट भने "जङ्गबहादुरको बेलाइत यात्रा”(सं १९१० अथवा १८५३ ) बाट नै नेपाली यात्रासाहित्यको थालनी भएको मानिएको देखिन्छ ।
नेपालबाट सन् १९३४ देखि शारदा पत्रिकाको प्रकाशन शुरू भएपछि यात्रासंस्मरणहरू धेरै प्रकाशित भएका देखिए पनि सन् १९५० देखि यतामात्र यात्रासाहित्य धेरै हुर्किएर गएको मानिन्छ ।डा॰ दयाराम श्रेष्ठ एवं प्रा॰ मोहनराज शर्माकृत ‘नेपाली साहित्यको सङ्क्षिप्त इतिहास’अनुसार तारानाथ शर्मा,लैनसिंह बाङ्देल,धर्म राज थापा,केदारमान आ॰दी॰,रमेश विकल,हर्क गुरुङ लेकाली,देविचन्द्र श्रेष्ठ,मञ्जुल, जनकलाल शर्मा,देवेन्द्रराज उपाध्याय,यादव खरेल,सुवसेन,घनश्याम राजकर्णिकार र जङ्गप्रसाद उप्रेतीजस्ता प्रखर प्रतिभाहरूका कृतिले नेपाली साहित्यमा यात्रा-साहित्यको एउटा सबल परम्परा बसाएका छन् ।५ डा.तारानाथ शर्माकृत “बेलाइततिर बरालिँदा”-ले त “नियात्रा” नयाँ विधा नै जन्मायो। यस पुस्तकको भूमिकामा बालकृष्ण पोखरेलले सर्वप्रथम ‘नियात्रा’ शब्दको प्रयोग गर्दै डा. तारानाथ शर्मालाई ‘नेपाली भाषामा नियात्रा साहित्यका जन्मदाता’६ मानेका छन्। ‘नियात्रा’ शब्दले त्यसपछि नेपाली बृहत शब्दकोशमा पनि प्रविष्टि पाएको देखिन्छ। सोह्रवटा यात्रासाहित्यका पुस्तक लेखेर प्रकाशित गर्ने साहित्यकार केदारमान आदिलाई नेपाली यात्रासाहित्यका शिरोमणि मानिएको पाइन्छ ।नेपालमा खप्पिस यात्रा साहित्यकारहरू धेरै छन्।
डाउहिल,खरसाङमा जन्मेर कर्मथलो काठमाण्डू बनाउने सुप्रतिष्ठित विद्वान् साहित्यकार नगेन्द्र शर्माकृत अनि सन् २०१६मा प्रकाशित यात्रा निबन्ध सङ्ग्रह “उत्तर-दख्खिन पूर्व-पश्चिम”-को सम्पादकीयमा प्रा० नवीन पौड्यालले ‘नियात्रा साहित्यलाई पनि (क)वर्णनात्मक,(ख)आख्यानात्मक(ग)पत्रात्मक(घ)दैनिकी लेखन(ङ)संस्मरणात्मक (छ)निबन्धात्मक गरी छवटा उपभेद गर्न सकिने ठाउँ छ’ भनी उल्लेख गरेका छन्।७ यस अर्थमा पत्रात्मक र दैनिकी शैलीमा लिखित आत्मपरक,चित्रात्मक,कलात्मक प्रस्तुति रहेका यात्रा संस्मरणलाई नियात्रा भन्न सकिने रहेछ ।
कोहिमाका हरिप्रसाद गोर्खा राईले बर्मायात्रालाई लिएर ‘मेरो डायरीका कयौँ पृष्ठ’ लेखेका र शारदा(वि॰सं २००४) मा प्रकाशित भएका कुरा डा॰ दयाराम श्रेष्ठ एवं प्रा॰ मोहनराज शर्माद्वारा लेखिएका ‘नेपाली साहित्यको सङ्क्षिप्त इतिहास’-को ‘नेपाली यात्रासाहित्य’ अध्याय अन्तर्गत उल्लिखित पाइन्छ।८
उपर्युक्त कथनबाट भारतीय नेपाली साहित्यकार हरिप्रसाद गोर्खा राईकृत उक्त लेख वि॰ सं २००४ अथवा सन् १९४७ को शारदा पत्रिकामा प्रकाशित भएको बुझिन्छ । सम्भवत: भारतबाट लेखिएर प्रकाशित भएको पहिलो यात्रा संस्मरणात्मक सिर्जना यही नै हो कि ?
‘भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास’-मा डा॰ गोमा देवी शर्माले ‘नव लेखन काल’अन्तर्गत नियात्रा र नियात्राकारहरूका विवरण दिँदा शेरसिंह राणालाई समालोचक नवीन पौड्यालले भने अनुसार भारतीय परिप्रेक्ष्यमा पहिलो यात्रा साहित्यकार मानेकी छन्।९ शेरसिंह राणाको सन् १९९३ मा प्रकाशित ‘मेरो लण्डन राजतिलक यात्रा’-लाई नेपाली नियात्रा साहित्यको कोसे ढुङ्गो साबित भएको ठानेकी छन्। उनले लैनसिंह बाङ्देलका ‘यूरोपको चिट्ठी’(1956), ‘स्पेनको सम्झना’(1962) र प्यारिसको एउटा फूल रोमको काँड़ा(1999) लगायत तीनवटा नियात्रा पुस्तकहरू प्रकाशित भएका छन् भनी उल्लेख गरेकी छन् । उनको उक्त विवरणबाट माथि उल्लिखित कृतिहरू यात्रासाहित्यका कृतिहरू हुन् अनि सन् १९९३ मा प्रकाशित यात्रासाहित्य कै कृति ‘मेरो लण्डन राजतिलक यात्रा’-को आधारमा नै शेरसिंह राणालाई पहिलो यात्रा साहित्यकार मानेकी छन् अनि त्यसपछि नेपाली नियात्रा साहित्यमा लैनसिंहको योगदान अविस्मरणीय छ भनी नियात्राकार लैनसिंह बाङ्देलका यात्रासाहित्य कृतिहरूबारे सङ्क्षित चर्चा गरेकी छन्।
‘भारतीय नेपाली साहित्यको इतिहास’-मा साहित्यकार असीत राईले लेखेका छन्- “ दार्जीलिङको तकभर चियाकमानमा जन्मेर दार्जीलिङ सरकारी उच्च विद्यालयबाट प्रवेशिका परीक्षा पास गरी छ वर्षसम्म कलकत्तामा चित्रकलाका अध्ययन गर्ने र पेरिसमा छ वर्ष र लण्डनमा चार वर्षसम्म कलाको उच्चतर अध्ययन समाप्त गरी नेपालको प्रज्ञा प्रतिष्ठानको कुलपतिका सर्वोच्च पदमा आसीन हुन पुग्ने लैनसिंह बांगदेल नेपाली जगतका एक विभूति हुन्।....सन् १९५० तिर कलकत्ताबाट ‘प्रभात’ जस्तो पत्रिकाको सम्पादन गर्ने बांगदेलले नेपाली भाषा र साहित्यको निम्ति अविस्मरणीय योगदान दिएका छन्। मुलुकबाहिर,लंगड़ाको साथी, माइतघर ,रेम्ब्राण्ट जस्ता उपन्यासका लेखक बांगदेलले ‘स्याउको रूख,विश्वकथा संग्रह आदिको पनि अनुवाद गरिसकेका छन्। यस बाहेक यिनका निबन्धकारिताको शिल्प र कला रूपमा ‘यूरोपको चिट्ठी’ र ‘स्पेनको सम्झना’ नामक भ्रमण-विवरण पुस्तक प्रकाशित भएका छन् । .... ‘दियालो’मा प्रकाशित ‘रोमको एउटा फूल:प्यारिसको एउटा काँड़ा’मा यिनलाई नेपाली साहित्य सम्मेलन, दार्जीलिङले दियालो स्वर्ण पदक पुरस्कार प्रदान गरेको थियो। ” १०
साहित्यकार असीत राईका उक्त कथनबाट पनि भारतीय नेपाली साहित्यमा लैनसिंह बाङ्देलको महत्त्वपूर्ण योगदान रहेको छर्लङ् हुन्छ । त्यसैले भारतीय नेपाली साहित्यमा उनका कृतिहरूको उल्लेख गरिएको पाइन्छ । भारतीय नेपाली यात्रासाहित्यमा उनका ‘यूरोपको चिट्ठी’(1956), ‘स्पेनको सम्झना’(1962) र प्यारिसको एउटा फूल रोमको काँड़ा(1999) उल्लेखित पाइन्छन् । तर किन र कसरी हो उनका ‘यूरोपको चिट्ठी’(1956),र ‘स्पेनको सम्झना’(1962) जस्ता यात्रा सहित्यका कृतिहरूलाई भारतीय परिप्रेक्ष्यमा यात्रासाहित्यको थालनी नमानेर उनका यी कृतिहरूभन्दापछि सन् १९९३ मा प्रकाशित कृति ‘मेरो लण्डन राजतिलक यात्रा’-को आधारमा नै शेरसिंह राणालाई पहिलो यात्रा साहित्यकार मानिएको मान्यता अघि बढेको छ? भन्ने प्रश्न पनि स्वत: उठ्दछ। झन हरिप्रसाद गोर्खा राईकृत ‘मेरो डायरीका कयौँ पृष्ठ’ त
सन् १९४७ को शारदा पत्रिकामा प्रकाशित भइसकेको ज्ञात हुन्छ।
यात्रा साहित्यलाई विकासपथमा दोहोर्याउन कालेबुङबाट प्रकाशित हुने भारती पत्रिकाको पनि ठूलो भूमिका रहेको छ । भारतीमा कान्ता ठाकुरको ‘काठमाडौँ भ्रमण’(२००८ अथवा सन्1951), लैनसिंह बाङ्डेलको 'डायरीको एक पृष्ठ(२००९ अथवा सन्1952),मनकुमारी थापाको 'मेरो स्कटल्याण्ड यात्रा'(२०१०अथवा सन्1953) र 'प्यारीसको एक झलक;(२०११ अथवा सन्1954),राधिका रायाको 'मेरो पहिलो समुद्र यात्रा'(२०११ अथवा सन्1954 ),मधुमालती प्रधानको 'मेरो बनारस यात्रा'(२०१२ अथवा सन्1955)छापिएका कुरा उल्लिखित पाइन्छ डा॰ दयाराम श्रेष्ठ अनि प्रा॰ मोहनराज शर्मा लिखित ‘नेपाली साहित्यको संक्षिप्त इतिहास’मा।११ यसरी कालेबुङबाट प्रकाशित भारती पत्रिकामा कान्ता ठाकुर,मनकुमारी थापा ,राधिका राया,मधुमालती प्रधानजस्ता नारी स्रष्टाका यात्रा संस्मरणहरू देखा परे। कान्ता ठाकुरले लेखेका ‘काठमाडौँ भ्रमण’(वि॰सं २००८ अथवा सन् १९५१)-लाई नेपाली यात्रासाहित्यमा नारी सर्जकबाट लिखित पहिलो यात्रासंस्मरण मानिएको पाइन्छ । सुश्री कान्ता ठाकुर भारतीय हुन् कि होइनन् त्यसबारे मलाई थाहा भएन। यदि उनी भारतीय हुन् भने त भारतीय नेपाली साहित्यमा पनि यात्रा संस्मरण लेख्ने पहिलो नारी स्रष्टा उनी नै साबित हुन्छिन्।
समालोचक लीला लुइटेलकृत ‘भारतीय नेपाली महिला साहित्यकार’ पुस्तकमा नेपाली यात्रासाहित्यमा महिला लेखनको शुरुआत वि॰सं २००८ को भारती पत्रिकामा प्रकाशित सुश्री कान्ता ठाकुरको ‘काठमाडौँ भ्रमण’ शीर्षक लेखबाट भएको उल्लिखित पाइन्छ। उक्त पुस्तकअनुसार भारतीय नेपाली साहित्यमा यात्रा संस्मरण लेख्ने नारी सर्जकहरू शान्ति छेत्री,गीता उपाध्याय,कविता सुब्बा,विन्द्या सुब्बा,लावण्य देवी,मुन्नु गौतम, कलावती सुब्बा, नीता श्रोफ,लक्ष्मी गुरुङका नामहरू र उनीहरूका कृतिहरू उल्लिखित भएका पाउँछौँ। १२
भारतीय नेपाली यात्रासाहित्यमा कलम चलाउनेहरूमा शेरसिंह राणा,लैनसिंह बाङदेल लगायत दिलबहादुर नेवार(दक्षिण भारत भ्रमण,यात्रा संकलन,यात्रा संस्मरण), सलोन कार्थक(विदेशतिर रिङ्दै जाँदा,पदयात्रा गाउँको फन्को विदेशको,विश्व एउटा पल्लो गाउँ),सानु लामा(आँगन परतिर) ,जयनारायण लुइँटेल(दुबई हुँदै अमेरिकासम्म,छाँगादेखि गुफासम्म),चन्द्रकुमार राई(भ्रमण,जीवन यात्रा),के॰पी मल्ल(गाउँ घर-देश परदेश,यात्रा-(घर-आँगनदेखि समुद्र पारिसम्म),एम पथिक(पथिकका पाइलाहरू), मनबहादुर प्रधान(मनका लहर र रहरहरू),शान्ति छेत्री(यूरोप भ्रमण केही संस्मरण,नियात्रा आस्थाको,अरब सागरको सूर्यास्त), गीता उपाध्याय(मन्दाकिनी, अलकनन्दाको तीरैतिर केदार बद्रीसम्म),कविता सुब्बा(अध्ययन भ्रमण एवं संस्मरण र ४२ दिन),विन्द्या सुब्बा(अरब सागरको किनारमा ,भाव समाधि),लावण्य देवी(ब्रिटेनमा केही दिन,स्वदेश परदेश),मुन्नु गौतम(मुक्त संवाद), कलावती सुब्बा(अथक परिश्रम र सम्झौताहरूको संगालो), नीता श्रोफ(यूरोप भ्रमण),लक्ष्मी गुरुङ(समय र जीवनका प्रतिच्छायाहरू), मटिल्डा राई(१)जीवनका केही रेखा केही रंग -प्रथम भाग(२००१) र (२) जीवनका केही रेखा केही रंग -दोस्रो भाग(२०१८),रविदास राई (केही निबन्ध:केही संस्मरण-२०१२),
मुक्तिप्रसाद उपाध्याय(स्वच्छ डोनाउको किनारतिर र पर्थ हुँदै सिडनी-२०२१’) आदि उल्लेख्य छन्।
भारतीय परिप्रेक्ष्यमा यात्रासाहित्य विषयक एउटा उल्लेख्य कुरो छ । सो के हो भने नेपाली भाषामा भारतबाट प्रकाशित दुईवटा यात्रा संस्मरण/नियात्रा कृतिहरूले साहित्य अकादेमी पुरस्कार जितेका छन्। ती हुन्-(१)मनबहादुर प्रधानकृत “मनका लहर र रहरहरू अनि (२)सलोन कार्थककृत “विश्व एउटा पल्लो गाउँ”। यी दुई पुस्तकले सन् २०१३ र २०१९मा उक्त पुरस्कार पाएका हुन्। विदेशतिर रिङ्दै जाँदा,पदयात्रा गाउँको फन्को विदेशको सलोन कार्थकका अन्य नियात्रा कृतिहरू हुन्।
विभिन्न पत्र-पत्रिका,समाचार पत्रहरूमा यात्रा संस्मरणहरू प्रकाशित गराउने भारतीय नेपाली साहित्यकारहरू धेरै छन्। भारत र नेपालका विविध पत्र-पत्रिका तथा समाचारपत्रहरूमा भारतीय नेपाली साहित्यकारहरूका धेरै यात्रा संस्मरणहरू छापिएका छन्। तीबारे साङ्गोपाङ्ग विवेचना हुनु बाँकी छ। यस लेखको विषय पनि ती सबैबारे चर्चा–विवेचना गर्नुपर्ने नहुनाले यहाँ सबै यात्राकारहरूका नामहरू उल्लेख गर्न सम्भव भएन।पत्र-पत्रिकातिर लेखेर छपाउने यात्राकारहरूबारे सहजै लेख्नु पनि सकिन्न। यो अति नै साह्रो गवेषणाको विषय हो। कठिन शोधको विषय पनि हो। यस लेखमा सङ्क्षिप्त रूपमा पृष्ठभूमि केलाउने कोशिशमात्र गरको छु।
विषय प्रवेश
यात्रासाहित्य लेखनमा खरसाङ महकुमाबाट पनि कलम नचलेको होइन।विविध पत्र-पत्रिका,
समाचारपत्रहरूमा खरसाङका साहित्यकारका यात्रा संस्मरणात्मक रचनाहरू छापिएका छन्। तर पुस्तकाकारमा नै भने यात्रासाहित्यका कृतिहरू कमै छापिएका देखिन्छन्।
साहित्यकार माधव बुढ़ाथोकीकृत “कालापानीतिर” पुस्तक सन् २०१६ मा प्रकाशित भएको छ । १०२ पृष्ठयुक्त यस संस्मरण सङ्ग्रहभित्र मिरिक उच्च विद्यालयमा,४१वर्षको यात्राको समापन,मेरो रिटायरमेण्टको कुरा,कालापानीतिर, झोलुङमा बिताएका ती दिनहरू र आमा शीर्षकहरूमा लिखित छवटा संस्मरणहरूमध्ये ‘कालापानीतिर’चाहिँ यात्रा संस्मरण हो । तस्वीरहरूले ओगटेका पाँचवटा पृष्ठ लगायत जम्मा एकसट्ठी(६१) पृष्ठको ‘कालापानीतिर’ शीर्षकयुक्त यात्रा संस्मरणले नियात्राको बान्की अङ्गीकार गरेको स्पष्ट देखिन्छ।यसै शीर्षकलाई पुस्तकको शीर्षक राखिएको छ ।
साहित्यकार विजय बान्तवा ‘कैलाशी’-को “कैलास यात्राबारे” सन् २०१८मा प्रकाशित भएको ज्ञात हुन्छ।
डाउहिल,खरसाङमा जन्मिएका नगेन्द्र शर्माको यात्रा निबन्ध सङ्ग्रह “उत्तर-दख्खिन पूर्व-पश्चिम” सन् २०१८ मा प्रकाशित भएको छ। समालोचक नवीन पौड्यालले सम्पादकीयमा यस सङ्ग्रहलाई नियात्रा सङ्ग्रह मानेका छन्। २९ वटा यात्रा निबन्धहरू सङ्कलित यस पुस्तकले सुप्रतिष्ठित निबन्धकार नगेन्द्र शर्मालाई नियात्रा साहित्यको एउटा विशिष्ट स्थानमा अधिष्ठित गराएको छ। समालोचक नवीन पौड्याल कै शब्दमा भन्नुपर्दा “यस्तो विचारमूलक,सिद्धान्तात्मक नियात्रा नेपाली भाषामा सायद यो नै पहिलो होला।”१३
‘टोटोलाको फूल’ र माइ ड्याडी’ जस्ता उत्कृष्ट कथा सङ्ग्रहहरूका पोख्त कथाकार श्रीमती मटिल्डा राईका दुईवटा संस्मरणात्मक कृतिहरू (१)जीवनका केही रेखा केही रंग -प्रथम भाग(२००१) र (२) जीवनका केही रेखा केही रंग -दोस्रो भाग(२०१८) प्रकाशित भएका छन्। यी दुई पुस्तकभित्र यात्रा संस्मरणात्मक लेखहरू पनि समावेश भएका पाउँछौँ।
साहित्यकार ग्याल्पो लामाकृत “स्मरणमा बितेका अमेट पलहरू” सन् २०२२ मा प्रकाशित भएको छ।पाँचवटा यात्रा वृत्तान्तयुक्त ‘स्मरणमा बितेका अमेट(अमिट?)पलहरू’-लाई श्री लामाले नियात्रा सङ्कलन भनी छपाएका छन्।
जून २०२३ मा दिलाराम निवासी श्रीमती विष्णु ठकुरीकृत “अनुस्मृति” संस्मरण सङ्ग्रह प्रकाशित भएको छ,जुन सङ्ग्रहभित्र ‘हिमाचल प्रदेशको कारसोग घाटीसम्म’,एटलान्टामा बाइस दिन,अमेरिका भ्रमणको संस्मरण’,शीर्षकयुक्त यात्रा संस्मरणात्मक लेखहरू पनि समाविष्ट भएका छन्। उनको ‘हिमाचल प्रदेशको कारसोग घाटीसम्म’लेख अघिबाटै २२ जुलाई २०१० को हिमालय दर्पणमा छापिएको हो।
खरसाङ निवासी साहित्यकार ऊषाकिरण ‘सत्यदर्शी’ सिद्धार्थ तथागत कला साहित्य संस्थानद्वारा १३ नोभेम्बर २०१६ को दिन इटावा,सिद्धार्थनगर, उत्तर प्रदेशमा सम्पन्न भव्य अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान कार्यक्रममा सम्मान ग्रहणार्थ उत्तर प्रदेश पुगेकी थिई। उनले लेखेकी त्यस भव्य सम्मान कार्यक्रम साथै राम जन्मभूमि अयोध्या विषयक भ्रमण विवरणयुक्त एउटा यात्रा संस्मरणात्मक लेख “जब नदी सहज बहन्छ” पनि हिमालय दर्पणमा छापिएको उनले बताएकी छन्।
खरसाङ भेकबाट यात्रासाहित्य लेख्ने साहित्यकारहरू अरू पनि धेरै होलान् अनि उनीहरूका यात्रासाहित्य विषयक कृतिहरूका नामहरू यस लेखमा छुट्न गएका होलान्। उनीहरू तथा यस विषयका ज्ञाताहरूबाट यस लेखकलाई जानकारी प्राप्त भएमा उपकृत हुनेछु। अहिलेलाई यस लेखको मूल विषयतर्फ उन्मुख हुँदछु।
सन् २०२३ मा खरसाङबाट एउटा राम्रो यात्रासंस्मरण सङ्ग्रह छापियो। त्यस सङ्ग्रहको नाम हो “चिसो मरुभूमितिर’। ‘रहर अक्षर’(२०१९), ‘गाड़धन’(२०२०) जस्ता कृतिका सर्जक श्रीमती आशा मुखिया लामाले आफ्नो तेस्रो कृतिका रूपमा ‘चिसो मरुभूमितिर’ पाठकअघि पस्किदिएकी छन्। यस लेखको मूल विषय पनि १२ मार्च १९५६मा जन्मिएर एम.ए.(नेपाली),र एल.एल.बी. शिक्षार्जन गरेकी सर्जक श्रीमती आशा मुखिया लामाकृत ‘चिसो मरुभूमितिर’ नै हो अनि यहाँ मैले यसै पुस्तकबारे सङ्क्षिप्त रूपमा चर्चा र विश्लेषण गर्ने धृष्टता गरेको छु।
श्रीमती आशा मुखिया लामाकृत ‘चिसो मरुभूमितिर’ पुस्तक यात्राकारका जीवनसाथी श्रीमान् पारस लामाद्वारा सन् २०२३मा प्रकाशित गरिएको छ। अक्षर संयोजन र आवरण सज्जा प्रतिष्ठित कथाकार-कवि श्री सञ्जीव छेत्री,ज्ञानकुञ्ज बुक्स,खरसाङको रहेको उक्त पुस्तकको मूल्य भारू २००/- राखिएको छ। विश्वका सम्पूर्ण पर्यटक,यात्रीहरूप्रति समर्पित यस पुस्तकको भूमिका पुल बजार निवासी वरिष्ठ साहित्यकार एम. पथिकले लेखेका छन् भने पुस्तकको निरुपणात्मक लेखन समालोचक डा. योगेश खातीबाट भएको छ। एउटा यात्रा योजना र त्यसअनुसार गरिएका विविध स्थानका भ्रमणहरू र ती भ्रमणका विवरणहरूयुक्त संस्मरणहरू पाठकलाई धेरै जानकारी दिन र आनन्दित तुल्याउन सक्षम भएका छन् भन्नुपर्छ।
“लेखिकाले यस पुस्तक लेख्दा जानकारीहरू लिएर त्यसका तिथिमिति केलाएर,सठीक वर्णन गर्ने कोशिश गर्नुभएको छ यी सब हेर्दा यो पुस्तक यात्रा साहित्य मात्र नभएर एउटा सर्वेक्षण तथा खोजजस्तो पनि हुन्छ। यो इतिहास भित्रको भूगोल-विज्ञान अवस्थान र यद्धक्षेत्र इलाकाहरूको चित्रणजस्तो पनि लाग्दछ। यसैले यो आफैमा श्रेष्ठ यात्रा संस्मरण पुस्तक बनेको छ”१४ भन्ने भूमिकाकार एम. पथिकका कथनबाट पनि पुस्तक पठनीय रहेको साबित हुन्छ।
“यहाँबाट लेखिएको पहिलो भ्रमण संमरणात्मक लेख वा पुस्तकबारे अझै पूर्ण जानकारी पाइएको छैन। खोजका क्रममा यहाँका केही थोरै एकल लेखहरू भने पाइएका छन्”१५ भन्दै डा. योगेश खातीले मेरो यात्रा संस्मरणात्मक लेख “सम्झनाभित्र गुवाहाटी-शिलाङ यात्रा” सन् २०१३ मा प्रकाशित देखिएको कुरो उल्लेख गरेका छन्। मेरो यस लेखबारे केही थप कुरा योग गर्दै स्पष्ट पार्न मन लाग्यो। २२ र २३ जुलाई २००३ मा साहित्य अकादेमीद्वारा गुवाहाटीमा आयोजित आसामी,उड़िया,नेपाली,बङ्गला,मणिपुरी र मैथिली,छवटा भाषाका नाटककारहरूको Eastern Regional Playwrights’ Meetमा सहभागिता दर्साउन नेपाली नाटककारका रूपमा आमन्त्रित भएर म र प्रा० रामलाल अधिकारी गएका थियौँ । मेरो उक्त लेख त्यही Eastern Regional Playwrights’ Meet र गुवाहाटी- शिलाङ भ्रमण विषयक छ र त्यो लेख मैले २००३ मा नै लेखेको हुँ। सन् २००३ कै नोभेम्बर महिनाको ‘हिमालय दर्पण’ दैनिक समाचारपत्रका चारवटा अङ्कहरूमा क्रमागत रूपमा उक्त यात्रा संस्मरण छापिएको हो। अत: उक्त यात्रा संस्मरण सन् २००३ मा नै प्रकाशित भएको हो। सन् २०१३ मा चाहिँ मेरो निबन्ध-संस्मरण सङ्ग्रह “चिन्तन-विचिन्तन”मा समाविष्ट भएर दोस्रो पल्ट प्रकाशित भएको हो।
माधव बुढ़ाथोकीकृत “कालापानीतिर” पुस्तक सन् २०१६ मा प्रकाशित भएको छ भनी माथि लेखियो । यस पुस्तकमा “काला पानीतिर” शीर्षकयुक्त लेखबाहेक अन्य लेखहरू यात्रा संस्मरणात्मक छैनन्। ग्याल्पो लामाकृत “स्मरणमा बितेका अमेट पलहरू(२०२२)” विविध समयमा विभिन्न स्थानहरूको भ्रमणविषयक लेखिएका पाँचवटा संस्मरणात्मक लेखहरू समाविष्ट भएको पुस्तक हो । तर यात्रा योजना बनाएर घरदेखि निस्किएदेखि विभिन्न स्थानहरूको भ्रमण गरेर घर फर्किएसम्मको यात्रा वृत्तान्तयुक्त तथा यात्राका केही तस्वीरहरू पनि समावेश गरिएको सिङ्गो यात्रा संस्मरणात्मक कृति हो “चिसो मरुभूमितिर” । सायद यस कित्ताको पुस्तक प्रकाशित गराउने सर्जक आशा मुखिया लामा खरसाङकी मात्र नभएर भारतीय नेपाली साहित्यमा नै पहिलो कृतिकार हुनुपर्छ।
‘यात्रा आकाङ्क्षा’ शीर्षकयुक्त छोटो यात्रा विषयक परिचयात्मक चार पन्ने लेखमा “हामी सबै, छ भाइ जम्मा खरसाङबाट श्री नगर, जम्मू-काश्मीरदेखि लेह, लद्दाख,कुल्लू मनालीसम्मको यात्रा तय गर्ने अभिप्राय लिएर भ्रमणको निम्ति घरबाट निस्केका पर्यटक यात्रीहरू” भनी यात्रा विवरणको शङ्खघोष गरिएको यस लेखबाट “चिसो मरुभूमितिर” पुस्तकलेखन प्रारम्भ भएपछि अन्य लेखहरूमा यात्रा संस्मरण हुर्किएको पाइन्छ।तर ‘छ भाइ जम्मा’ भन्नाले भाइहरूमात्र छैनन्। अपितु चार स्त्री दुई पुरुष मिली छजनाको समूह बनेको छ ।भ्रमण गरिसकेपछि घर फर्किएको विवरण ‘भ्रमणान्त’ छोटो लेखमा प्रस्तुत गरिएको पाइन्छ। ‘यात्रा आकाङ्क्षा’ शीर्षक भएको प्रारम्भिक लेखमा यात्रा योजना रहेको र ‘भ्रमणान्त’मा यात्रा समाप्तिएको विवरण रहेको पाइन्छ। मूलत: ‘रेलमा भुसुक्कै निदाएछौँ ’ लेखबाट यात्रा शुरु भएको विवरण पाइन्छ।तर यस लेखमा यात्रा शुरु गरेको मिति र समय उल्लिखित पाइन्न।‘यात्रा आकाङ्क्षा’-मा लिखित १२/९/२०२२ लाई नै यात्रा शुरु गरिएको दिन मान्नुपर्ने हुन्छ। ‘१० बजेर १० मिनट’-मा दिल्ली प्रस्थान र ‘साँड़े(साढ़े?)बाह्रतिर’ दिल्ली आगमन भएको लिखित पाइए तापनि मिति उल्लिखित पाइन्न। अन्य शीर्षकयुक्त लेखहरूमा झैँ यात्रा प्रारम्भ भएको लेखमा त दिनाङ्क हुनैपर्ने हो। अत: यस लेखको प्रारम्भिक वाक्यअघि १२ सेप्टेम्बर २०२२ को दिन लेखिएको भए झनै स्पष्ट हुनेथ्यो भन्ने मनसाय हो मेरो।
यस पुस्तकमा यात्राको आरम्भ र अन्त भएका दुई लेखहरूसहित जम्मा अठारवटा भ्रमण विवरणयुक्त यात्रा संस्मरणहरू समावेशित भएका छन्। तर पुस्तकमा संस्मरणहरूको शीर्षक राखिएको पाइए तापनि विषय सूची अथवा रचना क्रम अथवा संस्मरण क्रम राखिएको पाइन्न । अपितु पुस्तकका २३ र २४ पृष्ठ रित्ता छन्। दुई पृष्ठ त्यसै खेर गएका छन्। त्यहाँ विषय सूचीका रूपमा शीर्षकयुक्त संस्मरण क्रम राखिएको भए राम्रो हुनेथ्यो।
औपन्यासिक लेखनमा झैँ अध्यायहरूलाई विभिन्न शीर्षक अन्तर्गत राखेर लेखिएको “चिसो मरुभूमितिर”–मा एउटा यात्रा प्याकेजसम्बन्धी अघिबाटै योजनाबद्ध निर्दिष्ट स्थानहरूको क्रमागत रूपमा गरिएका यात्राहरूलाई संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको पाइन्छ। उक्त कृति यात्रा आकाङ्क्षा,रेलमा भूसुक्कै निदाएछौँ,अनभिज्ञ यात्रीहरू,चिड़को जङ्गल:पहाड़ी पिपल,अविस्मृत पुलवामा र छेउछाउ,काश्मीरको मुकुटमणि,कारगील,चन्द्रभूमि लामायरू,आकर्षक लेह:वीरगाथाहरू,१८,३८० फिटमा लुङ्ता,चिसो मरुभूमि र जोड़ा जूरे ऊँट,प्याङगोङ छो-नुनिलो सरोवर,रेजाङ-ला स्मारक,ताङसेमा अतिथि सत्कार,फेरि लेहतिर,पानीको कथा,मनालीमा हामी,भ्रमणान्त गरी जम्मा अठारवटा शीर्षक अन्तर्गत लिखित पाइन्छ। १२ सेप्टेबर २०२२ देखि आरम्भ भएर २६ सेप्टेम्बर २०२३ मा समाप्त भएको पन्ध्र दिवसीय यात्राविषयक यस यात्रा संस्मरण कृतिमा लेह,लद्दाख,काश्मीर,मनाली आदिका यात्रा वर्णनहरूमात्र छैनन्। अपितु यसभित्र ती स्थानका प्राकृतिक, भौगोलिक,ऐतिहासिक र सांस्कृतिक महत्त्वका कुरालाई पनि राम्ररी विश्लेषित गरिएका देखिन्छ। ती कतिपय स्थानहरूमा उपलब्ध र सङ्गृहीत थोकहरूबाट गोर्खा सैनिकहरूले गरेका समर्पण र दिएका बलिदान सापेक्षित अलिखित र विस्मृत जातीय गौरव गाथाको सुनौलो इतिहासलाई तथ्यपरक रूपमा प्रस्तुत गरिएकोले उक्त यात्रा संस्मरण कृतिको गरिमा बढ़ेर गएको छ भन्नुपर्छ।
नेपाली साहित्यमा एकल यात्रा गरेर लेखिएका यात्रा संस्मरणहरू कै बाहुल्य देखिन्छ। तर
“चिसो मरुभूमितिर” एकल यात्रा गरिएपछि लेखिएको यात्रा साहित्य कृति नभएर छ जना ‘स्वीट सिक्सटी प्लस’ यात्रीहरूको सामूहिक यात्राहरूको मिठो यात्रा संस्मरण कृति हो। साठी पुगिसकेका छजना यात्रीहरू क्रमश: पारस लामा एवं आशा मुखिया लामा (पति-पत्नी), देव किरण मोक्तन एवं मिना मोक्तान (पति-पत्नी),उषा किरण तामाङ अनि प्रमिला प्रधानमध्ये आशा मुखिया लामा र मिना मोक्तानका बेजोड़ सक्रियता उल्लिखित पाइन्छ।स्त्रीभन्दा पुरुष निर्भीक,शक्तिशाली र सक्रिय हुन्छन् भन्ने धारणा यस संस्मरण कृतिको पठनबाट यात्राको सन्दर्भमा सत्ताच्यूत भएको महसुस हुन्छ। यस यात्रा संस्मरण कृतिबाट १८,३८० फिटको उचाइमा लुङता बाँध्ने आँट,पहाड़को उचाइमा अवस्थित नुब्रा भ्यालीको चिसो मरुभूमिमा पुगेर दिसकीतको स्यान्ड ड्यून्समा बालुवामा कुद्ने बाइक चलाउने साहस,यात्रा व्यवस्था मिलाउने सक्रियता र अगुवाइ आदि नारी यात्रीहरूले गरेका अनि नरद्वय यात्री भने चुपचाप सहभागी बनेका विवरणबाट नर होइन नारी सत्तात्मक शासन प्रणाली धेरै साहसिलो,रमाइलो र व्यवस्थित हुँदो रहेछ भन्ने दृष्टान्त पनि “चिसो मरुभूमितिर”ले दर्साइदिएको प्रतीत हुन्छ। नारीवादी धारणा अनुयायी समालोचकहरूले यसलाई कसरी हेर्छन् त्यो भविष्यमा पढ्न पाइएला। अहिले यति चाहिँ भन्न मिल्ला कि साहसिक यात्रा गर्ने विदेशी महिला यात्रीहरूभन्दा कम चैँ देखिएका छैनन् “चिसो मरुभूमितिर”-का नारी यात्रीहरू पनि । साठी वर्ष पुगिसकेका यात्रीहरू सबैले पहाड़को उचाइमा अवस्थित ठिहिर्याउने मरुभूमिमा द्रुतगतिमा बाइक चलाएर मजा गर्ने आँट पालेर त्यसलाई वास्तविकतामा परिणत गर्न सक्दैनन्। तर आशा मुखिया लामा र मिना मोक्तानले त्यो आँट गरेकी छन्। पाठकलाई मजा दिँदै चकित पारेकी छन् यात्राकारले । तर छ जना भ्रमणकारीहरूको यात्रा साह्रै कष्टकर चाहिँ प्रतीत हुँदैन। उनीहरूको यात्रा सफल र रुचिकर हुनुमा गोर्खा जातिको गौरव गोर्खा सपूत ब्रिगेडियर मुनेश चन्द्र तामाङको ठूलो सहयोग रहेको देखिन्छ। ब्रिगेडियर साहेबले तयार पारिदिएका यात्रासम्बन्धी रूपरेखाअनुसार नै यात्रा गर्न निस्किएर गोर्खा सांस्कृतिक संस्थान्,खरसाङका छ सदस्यीय भ्रमणटोलीले सामूहिक भ्रमण गरे तापनि भ्रमणवृत्तान्त र भ्रमणबाट अनुभूत गरिएका थोकहरूलाई पुस्तकाकार दिने महत्त्वपूर्ण काम भने सर्जक आशा मुखिया लामाले गरेकी छन्।
“चिसो मरुभूमितिर”-भित्र परेका अठारवटा शीर्षकयुक्त लेखहरू सबै नै सलल्ल बगेका छन् ;जुन पढ्दा मजा लाग्दछ । कारगील,प्याङगोङ छो-नुनिलो सरोवर,ताङसेमा अतिथि सत्कार,फेरि लेहतिरै -जस्ता संस्मरणहरू सबै रोचक र सूचनाप्रद भएका छन्। यद्यपि (१)काश्मीरको मुकुटमणि (२)आकर्षक लेह :वीर गाथाहरू (३) १८,३८० फिटमा लुङता शीर्षकयुक्त तीनवटा यात्रा संस्मरण मलाई विशेष महत्त्वपूर्ण लागेर उल्लेख गर्न मन लाग्यो ।
लगभग सात पृष्ठमा लिखित ‘काश्मीरको मुकुटमणि’-ले ऐतिहासिक तथ्यहरू पनि मिठो शैलीमा पस्किदिएको छ। काश्मीरका अन्तिम शासक महाराजा हरिसिंहको दरबार विषयक पनि छ यो संस्मरण। उन्नाइसौँ शताब्दीतिर निर्मित यस दरबारको नाम ‘अमर महल’ रहेको र यसलाई धरोहरका रूपमा १ फरवरी २०१७ मा तत्कालीन जम्मू-काश्मीरका मुख्यमन्त्री श्रीमती महबूबा मुफ्तीको बाहुलीबाट जीर्णोद्धार गरेर भव्य सङ्ग्राहालयमा परिणत गरिएका तथ्यहरूसहित राजकीय वंशज र सेनाहरूले प्रयोग गरेका सर-सामान,हात- हतियार,अङ्ग-वस्त्र आदिसित चौधवटा खुकुरी पनि प्रदर्शनमा राखिएका कुरा संस्मरण सर्जकले उल्लेख गर्दै तत्कालीन समयका सेनामा गोर्खाहरू पनि सम्मिलित भएका तथ्य शोधको विषय रहेको असल अवधारणा व्यक्त गरेकी छन् । उक्त संस्मरणमा यात्रा वृत्तान्त त छँदै छ तर केही ऐतिहासिक तथ्यको वर्णन पनि प्रस्तुत भएको छ । संस्मरण सूचनाप्रद र रोचक बनेको छ।
लगभग पन्ध्र पृष्ठमा लिखित ‘आकर्षक लेह :वीर गाथाहरू’-मा लद्दाखमा पानी पर्दैन तर हिउँमात्र पर्छ भन्ने विवरण मिठो आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको पाइन्छ । ११,८०० फिटको उचाइमा अवस्थित मध्य लद्दाखको थिक्से गुम्पा,विख्यात वैज्ञानिक सोनाम वाञ्चुक र उनको निजी शैक्षिक संस्थान,स्टोक प्यालेस र सङ्ग्राहालय,लेहमा भएको भारतीय सैनिक छावनी परिसरमा ‘हल अफ फेम’ भारतीय सेनाको अत्यन्त गौरवशाली इतिहासका स्मरणीय क्षणहरूलाई दस्तावेजीकरण गरिएर राखिएको सङ्ग्राहालय तथा गोर्खा सैनिक मेजर राजेश सिंह अधिकारी, नायक प्रेम बहादुर गुरुङ,लान्स हवल्दार नर बहादुर आले,लेफ्टिनेन्ट कर्नेल शेर जंग थापा,नायक रविलाल थापा,लान्स हवल्दार राम प्रसाद गुरुङ आदिका वीरता,उत्सर्ग विषयक तथ्यपरक विवरण आदि उक्त लेखमा राम्ररी प्रस्तुत गरिएको पाइन्छ। संस्मरणकारले लेखेकी छन् –“हामी भारतीय गोर्खा जातिलाई देशले सही मूल्याङ्कन गर्न नसकेर पटक पटक विदेशीको लाञ्छाना लाउने गरिबस्छ तर हाम्रा गाथाहरू स्वत: प्रस्फुरण भइरहेका छन्।”
‘१८,३८० फिटमा लुङता’ शीर्षकयुक्त यात्रा संस्मरणात्मक लेखमा नुब्रा उपत्यकाको विवरण रोचक र तथ्यपरक भएको छ।आख्यानात्मक शैली अङ्गीकृत यस लेखमा हिउँले ढाकिएको अति चिसो र उच्च स्थानमा लुङता बाँधेको,बालुवाको ढिस्को(sand dunes) भएको चिसो मरुभूमिमा संस्मरणकार आशा मुखिया लामा र सहयात्री मिना मोक्तानले बाइक कुदाएका ,दिसकीत गुम्पा विषयक आदि विवरण पाइन्छ। विवरण रोचक भएर पाठकलाई आनन्दित तुल्याउँदछ।
उपर्युक्त तीनवटा यात्रा संस्मरणात्मक लेखहरूले “चिसो मरुभूमितिर”-को गरिमालाई त बढ़ाएकै छ साथै भारत देशको सुरक्षाका निम्ति गोर्खा सपूतहरूले गरेका उत्सर्गबारे सङ्क्षेपमा भए पनि ऐतिहासिक तथ्यहरू पनि पस्किदिएको छ। यी तथ्यहरूबारे विशद रूपमा शोध गरेर एउटा ग्रन्थ नै प्रकाशित गर्न सकियो भने गोर्खा सपूतहरूका वीरता र उत्सर्गका विस्मृत र अलिखित बनेको इतिहासको लेखन भएर एउटा महत्त्वपूर्ण दस्तावेज़ नै बन्ने छ भन्नु अत्युक्ति हुँदैन। “चिसो मरुभूमितिर”-ले त्यो विस्मृत र अलिखित इतिहासका बूँदाहरू पस्किदिएर एउटा स्तुत्य सत्कार्य गरेको छ भन्नुपर्छ।
राजा हरिसिंहको दरबार-सङ्ग्राहालयमा राखिएका खुकुरीहरू ,कारगीलको छेउछाउ र युद्ध स्मारक,लेहतर्फ जाँदा भेटिएका पर्वत शृङ्खला,लामायरु गुम्पा र चन्द्रभूस्थल,छोरतेन,शान्ति स्तूपा,वैज्ञानिक सोनाम वाञ्चुकको शैक्षिक संस्थान परिसरअघि,खारदुङ-–लाको १८,३८० फिटको उचाइमा लुङता,लेहको दिस्कीत गुम्पा,नुब्रा भ्याल्लीको छेउछाउ,जोड़ा जुरे ऊँट,प्याङगोङ छो सरोवर र तट,चुसुलको मार्गमा पर्ने रमणीय पर्वत शृङ्खला,रेजाङ-ला युद्ध स्मारक, लेहबाट मनालीतर्फ जाने मार्गमा देखिएका दृश्य आदिका तथा ब्रिगेडियर मुनेश तामाङ र परिवारसित खिचेका रङ्गीन तस्वीरहरू पनि “चिसो मरुभूमितिर”-मा समाविष्ट भएका पाउँछौँ अनि ती तस्वीरहरूले यात्रा संस्मरण लेखिकाद्वारा वर्णित स्थानहरूका दृश्यहरूलाई अझ जीवन्त पारेका महसुस हुन्छ।
नबुझिने साहित्य पाठकमुखी हुन सक्दैन । तर “चिसो मरुभूमितिर”-को भाषाशैली सरस र सरल छ। लेखनशैलीले औपन्यासिक तत्त्वलाई अङ्गीकृत गरेको भेटिन्छ। लेखिका जिज्ञासु प्रवृत्तिको हुनाले उनको जिज्ञासाबाट जानकारीहरू बिस्तारै उज्जर हुँदै सम्प्रेषित भएकोले पाठक पठनमा रमाउन सक्छ। असझिलो र कठिन शब्द प्रयोगरहित हुनाले पनि पुस्तक सबै स्तरका पाठकका निम्ति पठनीय बनेको छ। यद्यपि कतिपय लेखमा अनावश्यक शब्दप्रयोग पनि देखा परेको छ । उदाहरणार्थ- ‘काश्मीरको मुकुटमणि’ लेखमा एक ठाउँ लेखिएको छ-“बिहान निकै चिसो ठिही छ।” तर ‘ठिही’-को शब्दकोशिक अर्थ हुन्छ – कडा चिसो वा ठन्डी,
ठिहि-याइ,ठिहिरो। ठिही भनेकै कडा चिसो भएपछि ठिहीअघि निकै चिसो थपिनु उचित हुँदैन जस्तो लाग्छ। धेरै ठाउँ प्रुफ रिडिङ सही नभएर अर्थको अनर्थ हुने शब्द प्रयोग भएको पनि भेटिन्छ। जस्तै- पुस्तकको पृष्ठ १२५ मा ‘केन्द्रबिन्दु प्रदेश’ भएको छ तर हुनुपर्ने हो ‘केन्द्र शासित प्रदेश’। पुस्तकको पृष्ठ ३३ मा साँड़े तीन बजी ठ्याक्क हामी जम्मू-तावी पुगेछौँ’ लेखिएको छ। धेरै ठाउँ समय उल्लेख गर्दा ‘साँड़े’ शब्द प्रयुक्त भएको देखिन्छ।
‘साँड़े’ होइन तर चन्द्रबिन्दुरहित “साढ़े” लेखिनुपर्ने हो। टाढ़ा र टाड़ा दुवै प्रयोग भएको पनि भेटिन्छ।
आगन्तुक शब्दहरूको प्रयोगले अस्पर्शित छैन “चिसो मरुभूमितिर”। भारतजस्तो बहुजातीय बहुभाषिक देशमा दैनिक रूपमा विभिन्न भाषीहरूसित कुराकानी,अन्तरक्रिया गर्नु पर्ने हुन्छ। त्यसैले पनि बोली र लेखनमा विविध प्रान्तीय भाषाका शब्दहरू स्वत: मिसिने गर्दछन्। अत: हिन्दी,फारसी, बङ्गला,आसामी आदि भाषाका शब्दहरू प्रयुक्त भएका पाउँछौँ नेपाली लेखनमा । विभिन्न प्रान्तमा एउटै नेपाली भाषाको बोलाइ र लेखाइमा पनि फरक पाइन्छ। तर आफ्नो भाषामा विकल्प हुँदाहुँदै लेखनमा धेरै आगन्तुक शब्दहरूको प्रयोग अथवा अधिक कोड मिश्रण हुनु स्वागतयोग्य हुँदैन । जनजिब्रोमा टाँसिएका आफ्ना शब्दहरूको उचित प्रयोग भएमा यात्रा संस्मरणको भाषाशैलीमा नेपालीयता धेरै तिक्खर हुनसक्छ कि जस्तो लाग्छ ।
“चिसो मरुभूमितिर”-मा दृश्यहरूको विवरण घत पर्दो भएको देखिन्छ । तर पृष्ठ ६२ मा “शब्दमा वर्णन गर्न म असमर्थ भएकोले ती भूदृश्यका तस्वीरहरू यसै पुस्तकको अन्तमा साझा गरेकी छु’ लेखिएको पाइन्छ। पृष्ठ १३६ मा पनि व्यास नदी देखेर ‘डर लाग्यो,जसको वर्णन म यहाँ गर्न सक्दिनँ’ लेखिएको पाइन्छ । यी कथनहरूबाट पाठकलाई ती दृश्यहरू वर्णनातीत रहेछन् भन्ने लाग्छ । तर एउटा कुरो भने उल्लेख गर्न मन लाग्यो। दृश्यावलीको वर्णनमा भाषा चित्रात्मक हुनु राम्रो । शब्दहरूद्वारा पाठकलाई दृश्यहरू अवलोकन गराउनुसक्नु राम्रो । अर्थात् शब्दले दृश्यको तस्वीर बनाउनु राम्रो । तर तस्वीरको सहायताले बखान्नु हुन्न कि? तस्वीर नभएको खण्डमा पाठकले त्यो भूदृश्य कसरी बुझ्ने? कतिपय दृश्यहरू ठीकसँग वर्णन गर्न शब्दनै नपाउने खालका पनि हुन सक्छन्। तर शब्दमा चित्रित गर्न सक्नुमा सफल नियात्राकारको खुबी साबित हुन्छ।
यद्यपि समग्रमा भन्नु पर्दा ऐतिहासिक घटनाहरूको तथ्यपरक प्रस्तुति,भौगोलिक अवस्थान र प्राकृतिक सौन्दर्यको सुन्दर वर्णनमा औपन्यासिक सरल र सरस भाषाको प्रयुक्ति,विविध स्थान सापेक्ष तथ्यपरक लेखन र चिन्तन प्रभृति समाहित भएको हुनाले “चिसो मरुभूमितिर” पठनीय बनेको छ ।पुस्तकको आवरण र शीर्षक पनि आकर्षक लाग्दछ।
उपसंहार
“चिसो मरुभूमितिर”-ले स्थान विशेषको भ्रमण विवरण त प्रस्तुत गरेकै छ तर त्यस स्थान सम्बन्धित तथ्यपरक जानकारी पनि सुन्दर ढङ्गमा पस्किदिएको छ। यस कृतिको विशेषता पनि यात्राकारले यात्रा गरेर यात्रा विवरण दिन मात्र होइन तर भ्रमण गरिएका ठाउँहरूको ऐतिहासिक महत्त्वबारे तथ्यपरक जानकारी पाठकलाई गराउनुमा पनि रहेको छ भन्नुपर्छ। भारतीय नेपाली साहित्यमा यात्रा संस्मरण अथवा नियात्राको प्रसङ्ग उठ्दा “चिसो मरुभूमितिर”-लाई सम्झना गरेर उल्लेख गर्नैपर्ने हुन्छ। कृति पठनीय मात्र नभएर सङ्ग्राह्य साबित भएको छ।कृतिका सर्जक आशा मुखिया लामालाई उनका अघिल्ला कृतिहरू ‘रहर अक्षर’ र गाड़धन’-को तुलनामा “चिसो मरुभूमितिर”-ले धेरै माथि उठाएको सत्यता कृति पढ़ेपछि स्पष्ट हुँदछ ।कृतिकारद्वारा यात्रा संस्मरण भनिए तापनि नियात्राका विशेषताहरू सन्निविष्ट भएकाले यस पुस्तकलाई नियात्राकृति सजिलै भन्न सकिन्छ। अत: भारतीय नेपाली नियात्रासाहित्यको तालिकामा “चिसो मरुभूमितिर” पनि एउटा दरिलो-भरिलो नियात्राकृतिका रूपमा अन्तर्भुक्त भएको छ भन्नु अतिरञ्जना हुँदैन।अस्तु ।
सहायक सन्दर्भ सूची :-
१. साहित्यपोस्ट डट कम ।
२. नगेन्द्र शर्मा, “उत्तर-दख्खिन पूर्व-पश्चिम”।
३. मधुपर्क,वर्ष-४९,अङ्क-७,पूर्णाङ्क ५७०।
४. बालकृष्ण पोखरेल,यी नियात्राबारे(भूमिका),ताना शर्माकृत “बेलायततिर बरालिँदा”।
५. डा॰ दयाराम श्रेष्ठ एवं प्रा॰ मोहनराज शर्मा, ‘नेपाली साहित्यको सङ्क्षिप्त इतिहास’।
६. बालकृष्ण पोखरेल,ऐजन।
७. प्रा० नवीन पौड्याल,आफ्नो किसिमको नियात्रा कृति ,सम्पादकीय, नगेन्द्र शर्माकृत “उत्तर-दख्खिन पूर्व-पश्चिम”।
८. डा॰ दयाराम श्रेष्ठ एवं प्रा॰ मोहनराज शर्मा,ऐजन।
९. डा॰ गोमा देवी शर्मा,‘भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास’।
१०. असीत राई, ‘भारतीय नेपाली साहित्यको इतिहास’।
११. डा॰ दयाराम श्रेष्ठ एवं प्रा॰ मोहनराज शर्मा,ऐजन।
१२. लीला लुइटेल, ‘भारतीय नेपाली महिला साहित्यकार’
१३. प्रा० नवीन पौड्याल,ऐजन।
१४. एम. पथिक, भूमिका, आशा मुखिया लामाकृत ‘चिसो मरुभूमितिर’
१५. योगेश खाती, खरसाङबाट अर्को यात्रा संस्मरण आशा मुखिया लामाकृत ‘चिसो मरुभूमितिर’