18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पाठकको इजलासमा ‘नदीको राजमार्ग’

कृति/समीक्षा लक्ष्मण थापा February 15, 2024, 11:48 pm
लक्ष्मण थापा
लक्ष्मण थापा

सौन्दर्य बिशालतामा छ कि शुक्ष्मतामा छ भन्नेकुरामा विवाद हुनसक्छ। किनभने सौन्दर्य निरपेक्ष कुरा हैन । हजारौं निहारिका आँफ्नो खोकिलामा समेटेको बिशाल आकाशमण्डलमा सौन्दर्य छैन भनेर कस्ले भन्न सक्छ ! त्यसैगरी शुक्ष्म एक कोषीय जीव या जीवकोषमा सौन्दर्य छैन भनेर भन्ने हिम्मत पनि कसैको छैन होला ।

यहाँ सन्दर्भ आख्यानको रहेको छ । बिशाल आकारको हुँदैमा आख्यान झोल पल्टिदैन भन्नेकुराको सुन्दर उदाहरण “युद्ध र शान्ति” हो । महाभारतको कुरा यतिबेला छाडेरै हेरौं । संसारको सबैभन्दा छोटो लघुकथा अर्नेष्ट हेमिंग्वेको कथा हो । जो केवल छ शब्दको छ ।

आख्यानको यो रुपलाई अपर्याप्त छ भनेर भन्न पनि सकिंदैन । यस्ले दिनुपर्ने सन्देश त दिएको छ छ । कथानक उत्तिकै संक्षिप्त र मारक पनि छ । आख्यानको यसै लघुत्तम स्वरुपलाई लघुकथा भनिएको छ । हुन त लघुकथा हुनलाई यति उति शब्द भन्ने नियम पनि लघुकथा सम्बन्धि विद्वान पण्डितहरुले तोकेको सुनिन्छ । तर आँफुले लगाएको पर्खालभित्रको आयामलाई मात्र लघुकथा मान्नु कति उचित हो ? त्यो त समयले बताउला । अथवा त्यो पर्खालभित्रको आयाम नभरिले शब्द भए के मान्ने भन्नेकुरा पनि त होला ।यस्ता नियम प्रतिनियमका कुराहरु हुँदै जालान् । “वादे वादे जायते तत्त्वबोध” भन्छन् । पहिला नियम बनाएर लेखिने हैन, लेखेपछि नियम बन्ने हो । त्यसैले स्रष्ठाहरुले लेख्दै जाउन् !

हाल नेपालमा लघुकथा लेखन पनि जुर्मुराएको अवस्थामा छ । लघुकथाका आदि प्रवर्तक को हुन् भन्ने ठोकुवा त ज्ञानी ध्यानीहरुले लगाउलान्, तर पन्चतन्त्र, हितोपदेश, लोककथा, जातककथा हुँदै लघुकथा आधुनिक राजमार्गमा आइपुगेको हुनुपर्छ । नेपाली भाषाको लघुकथा संग्रह पहिलोपल्ट निकाल्ने स्रष्ठा पूर्णप्रसाद ब्राह्मणको झिल्का रहेको तथ्य पाइन्छ । त्यो मार्गका पछिल्ला यात्री दीपक समीपको “नदीको राजमार्ग” पनि मिसिन आइपुगेको छ ।

दीपक समीप तीन दशकदेखि साधनारत स्रष्ठा हुन् । निरन्तर साधनामा लिप्त भए पनि प्रकाशनमा हतार नगर्ने उनको धैर्यशील बानीले उनलाई फाइदा या घाटा के भयो होला भन्ने हिसाब गर्ने जिम्मा साहित्यका गणितज्ञको काँधमा सुम्पिदिउँ । तर नेपाली साहित्यको फाँटले भनें परिपाक पुगेका कृतिहरु पाएको छ । चाहे “भूगोलमा नकोरिएको देश” होस् वा “अक्षर अक्षरमा देश” उनका पूर्वप्रकाशित कृतिले पाठकको मनमा गहिरो छाप छोड्न सफल भएका थिए । प्रस्तुत कृतिले पनि उनको लेखनको राजमार्गलाई अझै फराकिलो र चिल्लो बनाउँने छ भन्ने मेरो ठम्याई छ ।

जम्मा छैसठ्ठीवटा लघुकथाहरु समेटिएको कृतिमा परेका लघुकथाहरुले संरचनामा कुनै खोट लगाइहाल्नुपर्ने कुरा पाइदैन । लघुकथामा हुनुपर्ने अंगहरु जस्तै घटना, पात्र, परिवेश, सम्वाद, चरित्र र द्वन्द्वका साथै कथाको नाटकीय अन्तको आवश्यकता अनुसार कौशलतापूर्वक गाँसिएको छ ।

डा. रत्नाकर शर्माले “ लघुकथा जीवनको कुनै अँश वा खण्डको पूर्ण अभिव्यक्ति हो” भनेका छन् । यस अर्थमा समीपका हरेक लघुकथाहरु आँफैमा पूर्ण छन् । मान्छे होचो पुट्के हुँदैमा अँगहरु पुरा हुँदैनन् भन्ने हुँदैन । होचो मान्छे पनि पूर्ण मान्छे हो, भनें झैं छोटो कथा पनि पूर्ण कथा हो । हुन त अहिले सुत्रकथा भनेर अझै छोटा कथाहरु पनि लेखिएको देखिन्छ । त्यस विषयमा अहिले कुरा नगरौं ।

दीपक समीपको संग्रहले लघुकथाको समसामयिक धारालाई प्रतिनिधित्व गर्दछ । व्याँग्य लघुकथाको मुटु हो । संक्षिप्तता, सूक्ष्मता , सम्वेदना, अप्रत्याशितता, सम्पूर्णता, प्रभावकारीता र जीवनका विविध अनुभवको क्षणवादी प्रस्तुति अँगप्रत्याँगहरु हुन् ।

अनुभूतिलाई सूक्ष्म तरिकाले अभिव्यक्त गर्ने क्षमताकै आधारमा लघुकथाको प्रभावकारिता मापन हुन्छ ।

हुन त उनका अधिकांश लघुकथाहरुको अन्त्य व्याँग्यको तिखो धारमा रेटिएर हुन्छ । जस्को उदाहरण “विकास” शिर्षकको कथा पनि छ ।

‘गाउँको खोलामा पक्की पुलको माग भयो । यो माग पहिलो पटक उठेको भनें थिएन । पटक पटक गरिएको मागको निरन्तरता थियो । यसपालि कसो कसो संघीय सरकारले सुन्यो र बजेट पास गरिदियो ।

पास भएको बजेटबाट संघीय सरकारले केही रकम झिकेर प्रदेश सरकारमा पठायो । प्रदेश सरकारले केही रकम झिकेर गाउँपालिका पठायो । सो रकममध्येबाट केही आफैंसंग राखेर गाउँपालिकाले बाँकी रकम वडामा निकासा ग-यो । वडाले केही रकम आफैंसंग राखेर बाँकी उपभोक्ता समितिलाई हस्तान्तरण ग-यो । सो रकमबाट उपभोक्ता समितिले खोलामाथि काठको फड्के हाल्यो ।’

प्रस्तुत कथाले नेपाली राजनैतिक र आर्थिक विसंगति, विकृति, विडम्बना र कुव्यवस्थालाई व्याँग्यको पुट दिएर प्रहार गर्छ । यस कथाले स्रष्ठामा कति व्याँग्यचेत छ भन्नेकुरा पनि छर्लंग पार्छ ।

प्रायः सबै लघुकथाहरुका संक्षिप्तता पाइन्छ । एकप्रकारले भन्ने हो भनें कुनै पनि कथाबाट केही वाक्य वा शब्दहरु घटाउँने सम्भावना न्यून छ । यस्को मतलब हो लघुकथाहरु एकदमै खँदिला छन् । एकप्रकारले भन्ने हो भनें हरेक लघुकथाहरु सुन्दर बोन्साई झैं छाँटकाँट गरेर सजाइएका छन् ।

क्रमशः, सम्बन्ध,लालसा, उपहार, सन्ताप जस्ता लघुकथामा प्रेम र यौनजस्ता फ्रायडवादी दर्शन बढी मुखरित भएको पाइन्छ ।

अवस्था, फूल, संघर्ष, अहम, पूजाकोठा,परिचय, अशुभ, अरुचि शिर्षकका लघुकथाहरुले मानिसहरुले देखाउँने आडम्बर र मानवीय मूल्यह्रासलाई प्रकटीकरण गरेका छन् ।

ऋण, विडम्बना, अन्तरक्रिया, बढुवा, विकास शिर्षकका लघुकथाहरुले देशमा व्याप्त भ्रष्टाचारको प्रवृत्तिको शल्यक्रिया गरेका छन् ।

पसिना, सुरक्षा र चेत जीवनका भोगाई हुन् ।

ईर्ष्या, इन्कार, आर्थिकस्तर, अर्थ अनर्थ, छिमेकी, समाज र फसादले सामाजिक परिवेश र सांसारिक प्रवृत्तिलाई देखाएको छन् ।

अवसर र स्वाभिमानले अकर्मण्यता र पलायन प्रवृत्ति मुखरित छन् ।

बन्द विचार, अतृप्त, परिधि, आस्था, सम्पत्ति, र उपदेशले सामाजिक एवं मानवीय विसंगति देखाएका छन् ।

हैसियत, गुदी, मोचन, ओखती, नियत, कविको स्वाभिमान, मन र अपेक्षा बिम्बात्मक हुनुका साथै यिनले पनि मानवीय प्रवृत्तिलाई नै मुखरित गरेका छन् ।

भविष्य लघुकथाले धोका र पारिवारिक विघटन देखाउँछ ।

मोटरबाटो, सम्वाद, विनाश, सत्ता, अन्धकार, इकोसिस्टम, देउताको मूल्य, आन्दोलन, खण्डहर, र सालिकले एकातिर पर्यावरण चिन्ता जाहेर गर्दछन् भनें अर्कातिर देशको राजनैतिक बेथिति पनि देखाउन खोजिएको छ ।

हस्पिटल, प्रसिद्धि, क्रान्ति र युद्ध परिणामले शोषण र मानवीय त्रासदी देखाउन सक्षम छन् ।

नदीको राजमार्गले संकुचित मानवीय प्रवृत्तिमाथि प्रकृतिको न्याय देखाइएको छ र अमेल र झैझगडाको अर्थहीनता प्रस्ट्याउँन खोजिएको छ ।

अर्पणले अहँकार, प्रतिभाको मृत्युले विडम्बना, देशले देशप्रेमको झल्को दिएका छन् ।

दीपक समीपको सिर्जनात्मक विशेषता यो छ कि उनले मानिसभित्रका कुत्सित भावहरुलाई सुन्दर बिम्बहरुको प्रयोगद्वारा कुशलतापूर्वक देखाउँन सक्छन् ।

समीपका लघुकथाहरुमा ‘ऊ’ पात्रको बाहुल्यता छ भनें कम ठाउँमा ‘म’पात्र पनि उपस्थित छ । सम्वादको न्युन प्रयोग गरिएको छ । प्रतिकात्मकताको प्राचुर्यता छ । गति प्रभावकारी छ भनें जीवनका विविध अनुभूति र अनुभवहरुलाई सूक्ष्म तरिकाले प्रभावकारी प्रस्तुति दिन सफल छन् । उनका लघुकथाहरुले पाठकको कौतुहलतालाई नमारी अप्रत्याशित र नाटकीय अवतरण गरेका छन् र अन्त्यमा पाठकलाई विवेकको कसरत गर्ने मौक़ा पनि दिएका छन् ।

लघुकथाका विशेषताहरु संक्षिप्तता, शूक्ष्मता, संवेदना, व्याँग्यचेत, अप्रत्याशितता, सम्पूर्णता, शिल्पगत प्रतिकात्मकता, प्रभावकारिताका हिसाबले प्रस्तुत संग्रह अब्बल हुन सफल छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।