17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बुटवल–पोखरा

नियात्रा भेषराज रिजाल February 21, 2024, 2:57 am
भेषराज रिजाल
भेषराज रिजाल

तेर्सिएका अनौठा पत्थरसँग ठोक्कियो नजर र खस्यो नदीमा । नदी पनि छटपटाएको छ पत्थरहरूसँग लछारिएर, पछारिएर !
सिद्धार्थ लोकमार्गको फेर समातेर बुटवलबाट पोखरातिर सोझिँदा जम्काभेट भएथ्यो भयानक भीर ।
ढुङ्गो न पलाउँछ, न पग्लन्छ, केबल झर्छ मनमाथि र रुवाउँछ धर्धरी । त्यस्तै भयो झरिरहेको सिद्धबाबाको भीर र रोइरहेको तिनाउ नदी देख्दा ।
मानव इतिहाससँग जोडिएको रामापिथेकसको अवशेष भेटिएको ठाउँ आइपुग्यो । रामापिथेकसको मूर्ति सजाइएको रहेछ पार्क बनाएर । केहीबेरमै आइपुग्यो भुत्खोला र झुम्रेगैरा, नाम जस्तै छ तिनीहरूको अनुहार ।
झर्दै पलाउँदै गरेका सालका हरिया–पहेँला पातबाट आभास भयो ऋतु फेरिन लागेको । गृष्मको बाहुपासबाट फुत्केर वर्षाको शीतल हात समात्दै नाँच्न चाहन्छ प्रकृति । रिमझिम वर्षात्मा प्रकृतिसँगै निथ्रुक्क भिज्न चाहन्थेँ म पनि । द्रवित मेघमालाको ओत पाएका हरिया पहाड चुम्न खोजिरहेछ गगन । त्यो प्रेम देखेर सूर्यले पनि अलिकति मोहनी रङ खन्याइदिएको छ पहाडमाथि । पहाडी पाखामा पोखिएको घाम, छायाँ र बादलभन्दा सुन्दर कला के होला दुनियाँमा ?
दुवैतिर अग्ला पहाडहरू छन् पाल्पाली ढाकाटोपीझैँ ठडिएका ।
अघिपछि दगुरिरहेछन् टिप्परहरू । तिनीहरूले कहाँ के ओसारिरहेछन् वास्ता छैन कसैलाई । केबल तिनीहरूको उपस्थिति भइरहेछ भयकारी ।
पञ्जाबी चालकले चलाएको मोटर चढेर पहिलोचोटी म मामाघर आएको बाटो यही हो । उ बेलाको दृश्य सुन्दर, स्वाद मीठो । त्योभन्दा मीठो सम्झनाका तरेलीहरू । बाल्यकालको रहरभन्दा रमाइलो के होला दुनियाँमा !
मलाई औधि माया गर्नुहुन्थ्यो मावली हजुरबा । हजुरबा बितेपछि टेकेको छैन प्यारो मामाघर । केबल यस्तै सम्झनाको गोरेटो भएको छ जिन्दगी ।
वर्षौं पुराना यादहरूसँग धमिलिँदै र सङ्लिँदै बगिरहेछु म । सोच्छु, अनन्त यात्रामा निस्किएको अविश्रान्त यात्री हुँ म । यात्राले नै खोलिदिएको छ जीवन–जगतका अनेक रहस्य र मन भरिदिएको छ खुसीले । यात्रा छ र म छु, म छु र यात्रा छ ।
भैरहवा पुगी बुटवल आएर बसिएथ्यो हिजो । प्रिय मित्र तारा अधिकारीसँग भएथ्यो वर्षौँपछि आत्मीय भेटघाट । रमेश ढकालले बसपार्क ल्याएर गाडी चढाइदिनु भएथ्यो आज सबेरै । सोच्छु, हृदयमा सजिने माया र सम्झनाका पलहरू नै अजस्र स्रोत हुन् आनन्दका ।
रसिला कन्दरा छोडिँदा पछुतो लागिरहेछ । बाल्यकालका वनेली यादले बोकी ल्याएका छन् रम्य खेल र स्वादिला भतेर । घाँसे चुल्ठी लत्रेका घँसिला भित्ताहरू छामिएका छन् छातीमा पनि ।
बाटोमा खसिरहेका ढुङ्गा र पानी भने गरिबको भागमा खस्ने असिना र आँसुझैँ लाग्छन् । सोच्छु– सिख्¥याइलो रुखले कहाँ दिनु छायाँ ? दुखेको मुटुले कहाँ दिनु माया ? मर्माहत् छु म मुटु दुखेको पल, मायाबिनाको पल ।
केराबारी आइपुग्यो । पारिपट्टि भत्केको भित्तो छोडियो । घुमेर अर्को डाँडातिर फर्कँदा मन तानिएको छ नयाँ क्षितिजतिर । दृश्य दुनियाँ जत्तिकै मोहक छ मनभित्रको फाँट पनि । खुसी बुर्कुसिने त्यही फाँटमा कुद्दा वेवास्ता गरिरहेछु अनपेक्षित घुम्ती र घुमाइहरू ।
डुम्रेको काँक्रा बेच्ने भित्तो र चिया बेच्ने डिल छोडियो । व्याड तयार पारेको हरियो खेत छोडियो । सङ्लो पानी बगेको सानो कुलो छोडियो । सुन्दर चिज छोडिँदा मनमा छोइन्थ्यो केही चसक्क र जान्थ्यो आँखामा सल्बलाउँदै ।
कम्ति रमाइलो छ र पहाडी जीवन ? भारी बोकेका, खनजोत गरेका, घाँसदाउरा र मेलापात गरेका यादहरू आउँछन् नजिकै । हात पसार्न खोज्छु, कहाँ भेट्टाउनु बितेर गइसकेका पलहरूलाई । जागिरे कर्मले कमजोर बनेको ढाड र मन मात्र चस्कन्छ केबल ।
नयाँपाटी– वन मुन्तिर रहेछ सानो बस्ती । मकैबारीमा छिप्पिन लागेको छ धानचमर । सालका पोथ्राको छेलबाट देखिएको छ डाँडापल्तिरको नीलो आकास । आकासको प्रेमिल स्पर्शसँगै धर्तीले पाएको छ उर्वर कामना र हाँसेको छ रसिलो बर्खे मुस्कान छर्दै ।
हाइवे वा लोकमार्ग जे भने पनि कुखुरा ओथारो बसेझैँ बस्तीका झुप्रासँग गुटुमुटिएर पल्लोपट्टि निस्कन्छ बाटो उदास–उदास । न गति छ उत्साहित, न सुरक्षाको सुनिश्चितता । प्रभास छोडिँदा आभास भएथ्यो मलाई ।
बर्तुङको आँप–छहारीबाट तानसेन बजारको अनुहार देखिए पनि त्यसको शीर श्रीनगर देखिएको छैन राम्ररी । अलि अघि पुगेपछि माडीफाँट देखियो मज्जाले । थुम्कैथुम्काको लहर हेर्दै घुमीघुमी उक्लिरहेछ बाटो ।
घुम्तीहरूमा घुम्दै टाढा पुगेको बाटो फर्केर आफैछेउ आएको देख्दा रोमाञ्चित हुन्छु म । सधैँ बाटो मलाई पच्छ्याइरहन्छ हृदयको धड्कनझैँ । र त, आफ्नै कोही जस्तो लाग्छ बाटो मलाई ।
अलेली पानी तालिएको माडी हरियो पछ्यौरी ओढेर लजाएको छ । कतै रोपेको धान त कतै हरियो धानको बीउसँग मदमस्त छ माडी । माडीको मोहनी मुस्कानले तानिरह्यो धेरैबेरसम्म ।
डाँडाले धारण गरेको छ अलिकति आकासको रङ र अलिकति क्षितिजको उज्यालो । र त, हिउँचुली तैरिरहेको गहिरो आकास जस्ता नयन पनि डुब्न चाहिरहेछन् क्षितिजसम्म फैलिएको दृश्य तलाउमा । बर्खाले सिङ्गारेकी पहाडी रानी घुम्टोमा लजाएकी दुलहीजस्ती देखिएकी छ ।
असारे उत्सवमा जुट्न काँधमा कुटो–कोदालो र अनुहारमा खुसी बोकेर निस्किरहेछन् मान्छेहरू । मकैबारीभित्रका रसिला घरबारी र हरिया खरबारीले जति मोहित छु, उत्तिकै मान्छेका हँसिला मुहारले । लाग्छ, पहाडी जीवनका अनमोल आधारहरू– स्वच्छता र सादगीपना ।
दबदबे, सजीवन, सिमली, वर, पीपल, आँप र चिलाउने छन् बाटोको डिल–डिलमा । रहर फलाउने हिलो छ गह्रा–गह्रामा । बर्खे हिलोसँग जति प्यास छ, आकाससँग उत्तिकै पानी । हिलो सुके वा झरी नबर्से पर्छ पीर । मान्छेको मेहनत मुछिएका बर्खे फाँटहरूमा म पनि छरिदिन्छु अलिकति आस्थाका बीउहरू ।
आर्यभञ्ज्याङको घुम्तीमा घुम्यो बाटो । सम्झनाको कुइनेटामा यादहरूको धुइरो छ उस्तै ।
“मायाले खोस्रेर मेरो मनमा पनि छरिदेऊ अलिकति बीउ, तिम्रो बाटोभरि फुलिरहुँला म छपक्कै !” केही मायालु यादहरूलाई भनेथेँ मैले ।
ठूलो थुम्काले सानो थुम्कालाई काखमा राखेर स्नेहले सुम्सुम्यायो सुस्तरी । कतै थुम्काहरूको लहर छ, कतै पहरेदारी । मान्छेको उन्नति हेर्न पर्खिबसेका छन् चिटिक्कका थुम्काहरू । थुम्काहरूको मायालु आलोक मनमा साँचेर सुन्दर बिहानीको प्रतीक्षामा छु म पनि ।
भिरालो गह्राको खेतीपाती देखेर कोक्यायो मन । मल र माटो बाढीले बगाएपछि कहाँ सप्रेला र खेती ? भरिलो बालीमा खुसी बयली खेल्दा पो फुल्छ छाती र हाँस्छ हृदय । गरिबको बालीमा असिना बर्सँदा त मन पोल्छ र रसाउँछ आँखा ।
बाटो किनारको चिटिक्कको मन्दिर देखेर पनि रमाउन पाइएन, तल खोल्सो रहेछ भयभन्दा गहिरो । मान्छे हिँड्न छोडेको गोरेटो र उकालोको सुनसान चौतारोले पनि विरक्ति छरिदिए मनभरि । बरु भीर, घुम्ती, खोला–खोल्सा र एकलास बस्तीको मन सिलाउन सक्ने मसिनो धागो तानिएको देखियो– नागबेली सडक ।
खहरेछेउ भित्तातिर मुख फर्काएर बसेको रहेछ अगाहाखोला बस्ती । जङ्गली पहाडका अनकन्टार पहराहरूले देखाएका छन् डरलाग्दा दाह्रा । पीपलडाँडे बेँसीको मकैबारी देख्दा भने मन भयो बेलीको फूलझैँ ।
राम्दी पुल तर्दा कालीगण्डकी स्पर्शित भयो छातीमा । कालीगण्डकीको जलले पखालियो हृदय । कालीगण्डकी कोरिडोेरले लुम्बिनी र मुक्तिनाथ जोड्दैछ भनेर रमाएँ उत्तिकै ।
घुम्तीबाट देखिए अग्ला डाँडा र विस्तारित क्षितिज । यी पहाडी उचाइमा अग्लिरहेछन् अनगिन्ती कोट र गढीहरू । नेपाली स्वाभिमानको इतिहासले उँचो छ तिनको शीर । कोटको मौलो जस्तो अजम्बरी सम्झना सल्बलायो छातीमा । आखिर नजर सजाउन त चाहिँदो रहेछ डाँडाको शीर, मन बसाउन त चाहिँदो रहेछ फराकिलो क्षितिजको आँगन ।
डाँडा थुम्काको फूल सिउरेकी प्रकृति हेर्नमै मस्त थिएँ, बाँदर देखाउनुभयो तारा खड्का ।
मान्छेहरू सहरतिर सर्दा गाउँ कुरेर बसेको जन्तुले सिकाएझैँ लाग्यो– स्वदेश प्रेम । तर के गर्नु– पाएजति खाने र देखेजति भत्काउनेहरूको स्वदेश प्रेम ! मातृस्नेहको अमृत पिएर वैरत्वको विष ओकल्नेहरूसँग के अपेक्षा राख्नु खै ?
मालुङ्गा र बरनडाँडा छोडियो । अनि गल्याङमा खाइयो बिहानको खाना । मीठै थियो दालभात, तरकारी र दही । यात्रा अघि बढ्दा गल्याङ प्रहरी चौकीमा नाम दर्ता गर्नुभो गुरुजी राजकुमार जोशी ।
मनमा आँधीबेहरी मच्चाउँदै राताम्मे बगिरहेछ आँधीखोला । मानौँ, पहाड चरचरी चिरिँदा पीडा बगिरहेछ त्यहाँ । श्रवण कुमारका आमाबाबुका आँसु सकिए होलान् आँधीखोलामा । अल्पविकासको चोट मात्र बगिरहेछ शायद अहिले ।
करादीखोले गाउँमा चर्को घामले ओइलाएका छन् फर्सी, करेला र काँक्रोका पातहरू । मेरो मन पनि भएको छ दन्केको अगेनाझैँ । आकासमा गुँड लाएर बसेका बादललाई कसले गरिदेला लाठी चार्ज र बर्साइदेला घनघोर ?
चिउरी छोडिए पनि त्यसको पुछारमा केही नपुगेझैँ लाग्यो– बोट, कोट, डाँडा वा खर्क । बायाटारीको दायाँपट्टि पहाड ठडियो र बाटो मुन्तिर छोडियो बायाटारी ।
बौद्ध झण्डा अघि लाएर शव यात्रामा निस्केको छ मलामीको लस्कर । जीवन बिसर्जनको क्षण देख्दा अन्धकारको भयले आफैसँग टाँस्सिन आएको छायाँ जस्तो भयो मन । तैपनि, टण्टलापुर घाममा बहन छोडेको छैन पवन । रङ्गीन आभादेखि विमुख भएको छैन नयन । चित्त नबुझाई सुखै छैन, संसारको अकाट्य नियम हो– जीवन र मृत्यु ।
मलामीले छोडिगएको नदी किनारमा एक्लै छटपटिइरह्यो मन धेरैबेरसम्म ।
रुख पालेका डाँडा, चउर र बस्तीको चित्र बनाउन खोज्छु म । बर्खाले धोएको पहाड र आकास पखालेर बगेको खोला मात्र बस्न खोज्छन् मनमा । बर्खाको रङै राम्रो । त्यसमाथि जीवनसँग घोलिएको प्रकृतिको भाषा र भाव ।
घुम्ती घटाउन पहाड काट्दै गरेका घुम्तीहरू पार भएपछि आइपुगे भकुण्डे र वालिङ बजार । जमानाले डाँडा छेडेर पनि गर्ला नि विकास कुनै दिन । निर्वाहमुखी पूर्वाधारले पुगेन, सुविधा सम्पन्न पूर्वाधार चाहियो मुलुक बनाउन । सोच्छु– चन्द्र–सूर्यको अनन्त उज्यालो मागिरहेछ यो धर्ती । वीरहरूको अपराजेय पाइलामा उभिन चाहन्छ यो धर्ती । र त, स्वदेशी मनहरूको सहस्र स्नेहले सिञ्चित छ यो धर्ती । केबल खाँचो छ जनस्नेहलाई योजनाको माला ।
लठ्ठ बनायो– हरिया पात र सेता पत्रबीचको सुन जस्तो धोबिनी फूलले । हावामा हल्लिरहेको अम्रिसो देख्दा सम्झन्छु– बढारकुढार पारेका सिनित्त सुकिला घरआँगन । सोच्छु– हावाहुरीले झर्न परे पनि फूलले कहाँ भुल्छ र डालीको माया ?
ओढारे छ्याङछ्याङ्दीमा रोकियो गाडी । अघिल्लो टायरको ब्रेक आयल चुहिएछ ।
मैले ठट्टा गरेथेँ– “उहिले सतीदेवीको शेष अङ्ग पतन भएको छायाँक्षेत्र आसपास हाम्रो गाडीको मुख्य अङ्ग पो पतन भएछ ।”
एकछिन हाँसो चले पनि आफन्तको विवाहमा हिँडेका परिवारजन भएथे भ्याकुरोझैँ फिटीफिटी ।
आखिर गुरुजीले फोनबाटै बोलाउनुभयो मिस्त्री मजदूर र बनाउनुभयो गाडी । दुईघण्टा ढिलो भए पनि गन्तब्यतिर सोझिएको यात्रामा फेरि रमायो मन ।
बयरघारीमा बयरको हैन घरहरूको छ लदाबदी । बयर खोज्न हतासिएको मन सिमेन्टका भित्तामा ठोक्किँदा भएथ्यो रगताम्मे ।
बाटो मुन्तिर देखिए– झपक्क हरिया व्याड, हिल्याएका गह्रा, मेहनती हली, बाउसे र रोपाहारहरू । बर्खाको वास्ना आइरहेथ्यो हरर । सोच्छु, माटोको वास्ना नआउने मुटु र ढुङ्गामा के फरक ? मन राँकिन खोज्दा तर्कनाका तलाउमा पसेर निथ्रुक्क हुन्छ घरिघरि ।
म चाहन्छु, समय खेतका आलीकान्लाबाट सह भएर हिँडोस् । समय मान्छेका निधारमा पसिनाका रह भएर हिँडोस् । तर, समय भट्टी र जुवाघरतिर बह भएर भुल्न थालेको छ । समयलाई खबरदारी गर्न समयदूत चाहिएको छ ।
डालेघाँसका छहारी मुन्तिर देखिन्छन् बाख्रापाठा र गाईभैँसी । नेपाली गाउँघरको चहक फैलिन्छ आँखामा, महक फैलिन्छ मनमा ।
मायाटारीका मायालुहरू चिटिक्क परेर कतै जाँदै थिए । शायद भोजभतेर वा नाँचगानमा चुल्हेनिम्तो छ । तैपनि, मुरी फलाउने दिनमा मानाको भोजले रमाएझैँ देखिँदैन तिनको मन ।
करेनडाँडा पार भइयो । जैसी डाँडा छोडियो । विशाल आँधीखोला किनारमा बसे पनि स–साना खोलाखोल्सा र डाँडाकै नाममा रमाएझैँ लाग्छ स्याङ्जा । मनको अर्कोछेउ बोलेथ्यो– कोट, टारी, भञ्ज्याङ, चौतारी, चौर, थुम र देउरालीहरू पनि त छन् नि स्याङ्जामा । हो त, लोकतान्त्रिक मुलुकको नागरिक म । फरक मतको आवाज पनि सुन्छु र गर्छु सौहार्द समर्थन ।
राङखोलाले गाइदियो जमानासँगै र नाँचिदियो मेरो मन पनि– “काँचो कटहर म जान्छु राङखोला रोक मोटर ।”
पुतली बजार र बाडखोला छोडिए । नागडाँडा आइपुग्यो ।
म अचम्मित छु– त्यत्रो शान–शौकत कहाँ गएहोला नागडाँडाको । इतिहास सम्झेर ¥याल चुहाएझैँ देखिन्थ्यो भालुपहाड । त्यसले देखाइरहेका अजङ्गका दाह्रा हेर्दै भनेथेँ मनमनै– यसको नाम किन भएन होला बाघपहाड ?
बग्दै आएको कुलोले सुन्दर देखियो फेदीखोला गाउँ । रोपाइँ भइरहेको खेत हेरेर सम्झियो बल्ल– आज त असारे पन्ध्र हो २०७६ सालको ।
बस्ती, खोला, खेत र कुलो आइरहे निरन्तर । घरछेउ लर्केको घाँस र तरेली खेतले भनिरहेथे– कृषि प्रधान देशका गाउँ हामी । गाउँको माया गरे पो बन्छ मुलुक । गाउँतिर फर्के पो देखिन्छ आफ्नी आमाको मायालु मुहार । भेटिन्छ बाबुले जिन्दगीभर बगाएको पसिनाले जोगाएको घरको आँगन ।
पहाडको टुप्पोमा कुहिरो छ । शीतल छायाँ खसेको छ धर्तीमा । बाटोछेउको पानीको छहरा र छहराछेउ खेलिरहेका चुलबुले केटाकेटीहरू देख्दा आफ्नै बाल्यकाल फर्केझैँ लागेथ्यो मलाई ।
मूल फुटेको सङ्लो पानी बग्दा सर्केटारीमा पनि छ असारे माचो । आफूभन्दा ठूल्ठूला घाँसको भारी ओसारिरहेछन् मान्छेहरू ।
कुभिण्डे गाउँ छोडिएपछि लाग्यो कास्की जिल्ला । तिलाहारको पारिपट्टि देखियो रसिलो वन र पुम्दीभुम्दी गाउँ । त्यो वनमा पाइँदो हो निउरो ! सम्झनाको डोरीले तानेर आफ्नै गाउँ फर्कायो मलाई । स्याङ्जाली बोलीचालीको गाउँले लवजले मोहित हुँदा छोरेपाटन टेकिसकेका थियौँ हामी ।
अनि बुटवलदेखि साँची ल्याएका खुसीका बीउहरू छरिएथे पोखरेली धरामा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।