भारतीय नेपाली साहित्य सन्दर्भमा मुख्यतः खरसाङ भेकमा साहित्यिक सर्जकहरू आख्यान विधाले नै परिचयमा आउँछन्। आख्यानकार शिवकुमार राई, दलबहादुर लामा, प्रेम थापा, मसीह प्रकाश, सुरेश राई, देवनाम देवसा, हरिश बमजन, काजी प्रधान, असीत राई, नन्द हाङखीम, गोपाल गुरूङ, हर्क योञ्जन ‘विरही’, हरेन नेचाली, आई. के. सिंह, विन्ध्या सुब्बा आदिका आख्यान विधाद्वारा उपन्यास, कथा लेखनले खरसाङलाई धनी तुल्याएका छन् भन्ने कुरामा दुइमत नहोला।
ती बाहेक पनि अरू नाम लिन पर्दा लक्ष्मण छेत्री, दिलु छेत्री, मंगलसिंह गुरूङ, गोविन्द सिंह घतानी, सहदेव प्रधान, ग्याल्पो लामा, श्रीमती सरयू सुब्बा, श्रीमती छिमी अङमु लामा, निरङकर थापा अनि कुबीर प्रधानका आख्यान सिर्जनाले खरसाङलाई परिचय मात्रै होइन साहित्यको गढ़ पनि मानिन्छ।
खरसाङ पहाड़को शीतल वातावरणको अलौकिक सुन्दरतामा रूमलिएर महानदीको सिमटारमा फुलेका फूलहरूमाझ चियाका बोटहरूबाट निस्किएका एकपात दुइ सुइरोको कलिला मुनाहरूमा लुकीचोरी खेल्दै लटरम्म फुलेको पहेंलपुर सुन्तलाको सुवास लिँदै हुर्केका सरल स्वाभावका कथाकार सर्जक हाम्रा सर श्री कुबीर प्रधान हुन्। पिता श्री जगत नारायण प्रधान अनि माता श्रीमती श्याम कुमारीको कोखबाट सन् 1957 मा जन्म ग्रहण गरेका हुन्। आफ्नो शिक्षा प्राप्तपछि शिक्षण पेशा लिएर आफ्नो जीवन यापन गर्दै, साहित्यका पनि खेती गर्दै आउनुभएको छ। उहाँले पाँच दशक अघिदेखि आफ्ना रचनाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित गर्दै आउनुभएको छ। शुरू-शुरूमा कविता विधामा कलम चलाए पनि श्री प्रधानलाई कुशल कथाकारको रूपमा चिनिन्छ। उहाँले 2014 सालमा ‘‘ऊ फेरि फर्केन’’ कथा संग्रह प्रकाशित गरी नेपाली साहित्यको फूलबारीमा थप फूल चढ़ाइसक्नुभएको छ।
श्री प्रधान एक पौरखी कृषक पनि हुनुहुन्छ। सिभियर चियाबारीमा उनको बृहत् सुन्तलाबारी अनि निजि चियाबारी पनि छन्। श्री प्रधान निरन्तर खटिरहने, कहिल्यै नथाक्ने र आफ्नो बारी खेतीमा नै रमाउन सक्ने एक कुशल पौरखी कृषक पनि हुन्। श्री प्रधानज्यू एकजना लगनशील, इमान्दार र समाज सचेत कथाकार हुनुहुन्छ। आजसम्म साहित्यका विविध विधाहरूमा निरन्तर रूपमा लेखिरहने समसामयिक पत्र-पत्रिका र दैनिक पत्रिकाहरूमा सानो ठूलो रचनाहरू प्रदान गरी साहित्यमा थप टेवा पुऱ्याइरहेका छन्। कथाकार भन्नुहुन्छ -‘‘खरसाङको साहित्यिक संस्था शिवकुमार राई प्रतिष्ठानद्वारा मासिक रूपमा आयोजना गरिने कार्यक्रम ‘साहित्य संगम’-बाट प्रेरणा र उकेरा पाएर नै ‘‘ऊ फेरि फर्केन’’ कथा संग्रह प्रकाशित गर्न सक्षम भएँ।’’ भनी स्वीकार गर्छन्।
श्री प्रधानले शुरू-शुरूमा कविता, गीतहरू लेख्थे तर पछिबाट आफूलाई अप्रत्यक्ष रूपमा राखेर आफूले देखेका, सुनेका, भोगेका आफ्नै गाउँ वरिपरिलाई समेटेर सत्य र यथार्थलाई नै आफ्ना कथाहरूमा समावेश गरेका छन्। चियाबारीको कथा, गाउँको कथाले हाम्रो हृदय चट्ट छुन्छ, गाउँको कथा भन्नासाथ हामीलाई चट्ट जिब्रोमा कमल चामलिङ, रिता ठकुरी, माधव बुढ़ाथोकी, चन्द्र बानुछा, कमला राई,‘आँशु’, शमशेर अली त्यसरी नै चियाबारीको कविता भन्दा चट्ट नगेन्द्र गोर्खा, भूपाल सुब्बा, सुकराज दियाली, संजय वान्तवा, मदन ओझा आदिलाई झट्ट आँखामा झल्झली भइहाल्छ। गाउँका कथा, चियाबारीका कविताहरूले नै उनीहरू प्रतिष्ठित लोकप्रिय बने।
श्री कुबीर प्रधानका प्राय: कथाहरूमा जनजिब्रोमा आइरहने बिलाउँदै गएका ठेट नेपाली शब्दहरू प्रयोग भएका छन्। पाठकहरूले संग्रहभित्रका कथाहरूमा यी शब्दहरू पाउनेछन्। डा. इन्द्रबहादुर राईले भन्नुभएको एउटा कुरालाई कथाकार श्री प्रधानले सँधै स्मरण गरेर लेख्न बसे एकजना सफल कवि, गीतकार अनि कथाकार बन्न सक्नेछन् - ‘‘लेख्नुको अघि ठूलो-ठूलो कुरा विचार गर्नुपर्दैन। ठूलो-ठूलो कुरा लेखेर मात्रै साहित्य हुँदैन। सानु कुराले नै कुरा थाल्नुपर्छ त्यही सानो कुराले नै ठूलो परिवर्त्तन ल्याउँछ। सानु कारणले पनि ठूलो क्रान्ति ल्याउन सक्छ।’’ (वार्त्ताहरूमा इन्द्रबहादुर राई, सम्पादक, चन्द्र शर्मा, पृष्ठ 118)
कथाकार श्री प्रधानको भाषा शैलीमा कुनै कृत्रिमता छैन, बरू सकेसम्म सरलता र यथार्थ बोलचालको सहजतालाई नै उहाँले अँगालेको पाइन्छ। समाजमा सत्य घटना प्राकृतिक अनि वास्तविक शब्द र बोलीहरू नै टपक्क टिपेर कथाको सटीक ठाउँमा प्रयोग गर्ने क्षमताले पाठकहरूको हृदय चसक्क रसिन्छ उनका कथाहरूले।
हाम्रो जीवनको बँचाइलाई टुक्रा-टुक्रा छुट्टाएर लेखे कथा बनिन्छ, जीवनको सम्पूर्ण भोगाइको अनुभूतिलाई कलमको सहारा दिएर अभिव्यक्ति दिए एउटा उपन्यास बनिन्छ अनि त सम्पूर्ण जीवन जीवन्त भएर ठिंग उभिन्छ। जीवनमा हामीले बाँच्दा बाल्यावस्था, किशोर-अवस्था, प्रौढ़ावस्थाको विभिन्न उपस्थिति भोग्दै अनेक रूप रंग, स्थिति, सपना, कल्पना, भावना, रहर, इच्छाकांक्षा, उद्देश्य-लक्ष्य आदिका हाँगा-बिँगा, पात, फल-फूल पलाउँछन्, झर्छन्। परिवर्तनको जिजीविषामा तरङ्गित हुँदै अभिव्यक्त गरेका कथा, कविता, गीतहरूमा थप फूल बुट्टा भरेर काम गरेका हुन्छन्। श्री प्रधानले पनि आफ्ना कथाहरूमा आफ्नै वरिपरि घटेका घटनाहरू आफैले भोगेका अभिव्यक्तिहरूलाई फूलबुट्टा भरेर कथाहरू रोचक बनाएका छन्।
श्री प्रधानका कथा संग्रह ‘‘ऊ फेरि फर्केन’’-मा जम्मा सातवटा कथाहरू समावेश गरेका छन्।
1) माइली फेरि एकलै भइछ,
2) सपनामा अल्झिएको बिपना,
3) ऊ फेरि फर्केन,
4) उसको बिछोड़पछिको अवशेष जिन्दगीहरू,
5) अधुरो सपना,
6) सहाराले जन्माएको वर्तमान,
7) सांस्कृतिक कार्यक्रममा मादले गीत।
कथाकार श्री प्रधानको कथा लेखाइ अरू अन्य कथाकारको भन्दा बेग्लै प्रकारका देखिन्छ। कथाका बीच-बीचमा कथालाई सुहाउँदो गीतहरू हालेर कथाको विशेषतालाई थप जीवन्त बनाएका छन्। त्यसै प्रसंगमा एउटा उदाहरण यहाँ पस्केको छु। शीर्षक ‘‘उसको बिछोड़पछिको अवशेष जिन्दगीहरू’’-बाट, सरू र सतिसको विवाहपछि, जब सतिस विदेश जान्छ, महिना वर्ष बितेर जाँदा पनि सतिस फर्केर नआउँदा, पछिबाट थाहा लाग्छ उसको प्लेन क्रयास भएर मृत्यु भएको खबर पछि कथाकारले यहाँ सरूको जीवनसित मिल्ने गीत हालेका छन्-
‘‘पोहोर साल खुशी फाट्दा
जतन गरी मनले टालें
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टालें
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो.....।
यसरी कथाकारले कथाका बिच-बिचमा कथासित मिल्दो जुल्दो गीतहरू समावेश गरेर कथालाई थप मार्मिक बनाएका छन्
‘‘सांस्कृतिक कार्यक्रममा मादले गीत’’
आ..... हा..... हा....
मुखैमा ... माड़ छैन....
शरीर पनि... निर्वस्त्रै भो..
जमाना पनि कस्तो आयो....
बुझ्न नि... नसक्ने भो...
हेरि देउ हो माइती राजै
चेलीको त ...बेहालै भो...
बाजा गाजा हाम्रो होइन
वेशभूषा ...अर्को भो..
पश्चिमे त होइनौं हामी
बुझि देउ हे....चेली माइती हो
आ...हा...हा.....!
यसरी गीतका हरफहरू दिएर कथाकार श्री प्रधानले वर्तमान समयमा हाम्रो संस्कृति, परम्परा, बाजागाजा, साजबाज, वेशभूषा विलीन हुँदै गएको साथै हाम्रो नवपीढ़ीलाई पतनको दिशामा धकेलिरहेका संकेत दिएर कथा प्रस्तुत गरेका छन्। आजको अत्याधुनिक, उत्तर आधुनिक परिपाटीमा भित्रिन्दै गएको विकृतिलाई सही दिशा मार्गको बोध गराउने चेष्टा गरेका छन्।
यसरी कथाकार श्री कुबीर प्रधानका संग्रहीत कथाहरूमा कतिपय चरित्रले भोगेका कतिपय दु:खहरू हाम्रा समाजका साझा दु:खहरू हुन्। कथाका दृश्य-पटलमा हाम्रा आफ्नै मुहार, हाम्रै चित्र, हाम्रै आँगन, कुलेसोहरूमा घटित घटनाहरू छन्। प्रधानका सबैजसो कथाहरू उज्याला, खाइलाग्दा र रमाइला प्रवृत्तिका छन्।
नागरी फार्म, दार्जीलिङ