18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अल्झिएको एउटा सम्बन्ध

कविता मिरमा March 3, 2024, 11:25 pm
मिरमा
मिरमा

म आफैंभित्र
अल्झिरहेको एउटा मान्छे
मसँग अल्झिन तिमी आयौं
खाटो घाउ कोट्याएर
दुखिरहेथे म आफैंमा
हेर्दा हेर्दै तिमी अर्को घाउ बन्न आट्यौं

चित्त दुःखाउँछौं होला तिमी
अरुले लडाए भनेर
सराप्छौं अरुलाई,
रिसाउछौं पनि ?

बारम्बार म त आफैंसँग
अल्झिएर लडिरहन्छु
आफैंसँग चित्त दुःखाउँछु,
अलि अलि बाँचिरहन्छु
अलि अलि मरिरहन्छु

हाम्रो सम्बन्धमा हच्किएर
मैले केही पर्खाल बनाए
तिमीले केही भत्कायौं
रिसाएर वा जिस्काएर
तिमीले अरु केही पर्खाल उठायौं
मैले फेरि केही भत्काए
एवंरितले पर्खाल बनाउने र भत्काउने
होडमा पुल बनाउनै
चुक्यौं हामी
अब तिमी र मबीच
कहिले नमेटिने असहजताको खाडल छ
कहिले नभरिने उकुसमुकुसको
विशाल जंघार छ
नाघेर कहिले नसकिने
अप्ठ्यारोपन छ

यसैगरी अल्झिरहेको छ
तिम्रो र मेरो सम्बन्ध
अनामको सम्बन्ध
बेनाम एउटा सम्बन्ध
आफैंसङ्ग अल्झिए जस्तैगरि
म अल्झिएको छुँ तिमीसँग
तिमी जेलिएको छौ
लट्टा बनेर मसङ्ग
गुजुल्टिएर
एउटा डल्लो भएका छौं हामी
सुर्किन नभएको
कसिलो गाठो भएका छौँ
लाखौं कोशिसले पनि नफुक्ने गाँठो

यो फुक्न निकै समय लाग्नेछ
उल्झन सुल्झाउन
कि म कटिनु पर्नेछ
कि तिमी चुडिनु पर्नेछ
टुक्रा टुक्रामा काटिएर, चुँडिएर
बाँच्ने हिम्मत जुट्दासम्म
तिमी मेरो अम्मल बनी सक्नेछौ
डर लाग्दो लत भैसक्नेछौ
म फस्नेछु
तिम्रो दुर्व्यसनमा

सम्बन्धसङ्गै आफू चुडिने
टुक्रिएर बाँच्नु पर्ने भयमै छौं सायद तिमी
त्यसैले त बेला बेलामा
स्मृति अनि सपनाको बाटो भएर
आइरहन्छौं मलाई भेट्न
अदृश्य शक्ति बनेर
मलाई झक्झकाइरहन्छौं
अल्झिएको एउटा सम्बन्धको
अस्तित्व जोगाउन भनिरहन्छौं

लट्टाईमा बेरिएको धागो
धागोमा अल्झिएको चङ्गा
लट्टाइ र चङ्गालाई जोड्ने त्यो धागो
म धागो हुँ कि चंगा हुँ ?
चंगासँग छुट्टेपछि
गन्तव्यहिन बन्ने भयमा बसेको
त्यो डोरी हुँ वा
लट्टाइसङ्ग छुट्टिएर
अनियन्त्रित डुलिरहन चाहने
यात्री हुँ
को हुँ म ?

तिमी पनि
म जस्तै सधैंभरि
अल्झिरहन चाहन्छौ
यस्तै अल्झिएको अर्को सम्बन्धमा ?
ओ हो !
भ्रममा पो हो कि म ?
कि अल्झिएको छैनौं तिमी ?
भ्रममै तिमीलाई धागो मानेर
आफैंलाई चंगा ठानेर
कहिले आफू धागो तिमीलाई चंगा मानेर
भ्रममा अल्झेको जिन्दगी जस्तै गरि
मै पो अल्झिरहेको हुँ कि ?
काल्पनिक अल्झिएको एउटा सम्बन्धमा.....

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।