19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चुकुल

कथा पी. राई March 5, 2024, 8:09 am

बिहे भएको दुई बर्ष नबित्दै केटीले आफ्नो मनको दैलो लगाइसकेकी थिइ। केटाले ढोका नघचघचाएको पनि सायद त्यति नै समय बितिसकेको छ। अठार मा होइन, अट्ठाईसमा मिलन हुनुपर्थ्यो उनिहरूको। अढाई-तीन पटक जस्तो प्रेममा धोका खाएपछि मात्र, एक अर्का संग बसन्तपुर तिर आँखा जुध्न पर्नेथियो उनिहरूको। तर त्यस्तो भएन। त्यसैले धेरै साल उनीहरूको जीवन निरन्तर जुद्धिरह्यो। धेरै जसो प्रेमका लाली समय संगै विस्तारै फिक्का हुँदै जान्छन, कतिखेर माया घट्न थाल्यो पत्तै हुँदैन धेरै जसो लाइ। तर केटीलाई भने केटा प्रतिको प्रेम समाप्त भएको दिन छर्लङ्ग याद छ। त्यो बिहान भान्छा पस्दा केटा उसिनेको अण्डा निल्दै थिए। मुख भरि पहेंलो रानी चपाउँदै गरेको केटा, उसका ठुला-ठुला निलाइ, अनि टेबुलमा यत्र तत्र छरिएका अण्डाका खोस्टाहरु - माया त्यहि सकियो।

कति विवाहहरू अन्तिम सासमा अल्झिरहँदा, एक्कासी श्रीमती गर्भवती भइदिन्छे। अनि बच्चा संगै विवाह को आयु पनि क्रमश थपिँदै जान्छ। केटा र केटीको जीवनमा पनि यस्तै भयो, मंसिरको एक साँझ क्याटालिस्ट भएर जन्मियो उनीहरूको छोरा। तीन शिशिर यामहरू त्यतिकै बिते। दुवैले आफु भित्र अटेका सम्पूर्ण प्रेम त्यस बालक माथि सुम्पिए। एकै परस्परमा मिश्रित हुँदा बेला बखत अन्जानमा उछिटिएका केटाका माया केटीले हत्तरिएर पुछिहाल्थी। वितृष्णामा परिणत भइसकेको प्रेम विस्तारै अभिन्नता तिर ढल्कँदै गयो। अपुरो जीवनको अपर्याप्ति केटाले सम्हाल्न जान्यो तर केटीले सकेन।

भदौको एक बिहानी, साढे चार तिर केटी भर्‍याङ तल झर्दा एउटा सेतो मारुती ट्याक्सीले उनको प्रतिक्षा गरिरहेको हुन्छ। ट्याक्सीको पछिल्तिर गलफन्दीले आधा मुख ढाकेका राजु सर प्रतिक्ष्यारत हुन्छन्। निन्द्रा र ग्लानिले छोपेका रात आँखाद्वय बोकेकी केटी र राजु सर कलंकी तिर बत्तिन्छन। ड्राइभरलाई सयको नोट थम्याएर, हेटौडा जाने बसमा कोचिन्छन्। त्यहाँ केटीकी बाल्यकालकी साथी सुमन बस्छे, उसैको डेरामा केही दिन बास बस्ने सल्लाह मिलेको छ। त्यसपछि त्यही नजिकै टोल तिर डेरा खोज्नेछन् उनिहरू। बसको पछिल्तिर दुईटा खाली सिटमा पुग्न साथ केटीले राजु सरको हात बेस्सरी अठ्याउँछिन्। बस कलंकीबाट नौविसे तिर उक्लिँदै गर्दा, उता मंगलबाजारमा केटीको खोजी हुन थाल्छ। टोलमा हल्ला फैलन्छ, ओछ्यानमा संगै सुतेकी श्रीमती बिहान गायब छिन्। सानो बाबु मम्मी खै मम्मी खै भनेर सारो सारो रुन्छ। उता बानेश्वरमा नयाँ लोग्नेकी भूतपूर्व श्रीमती भुईमा छटपटीन थाल्छे। केहि घण्टा पछि स्कूलमा सरु मिस आज आउनु हुदैन भनेर विद्यार्थीहरुलाई उद्घोषण हुन्छ। अनि राजु सर पनि। अर्को हप्ता सम्ममा त सारा काठमाडौंले हल्ला सुनिसकेको हुनेछ।

केटी हिडेको पर्सी पल्ट बिहान केटाको लास फेला पर्छ, बैठकको पँखामा झुन्डिएर आत्महत्या गरेछन्। पल्लो घरको मल्ल दाईले छोराको चिच्याहट सुनेर दैलो फोर्छन्। झुन्डिएको बाउको लास तान्दै गरेको अवस्थामा भेटिन्छ सानो छोरा।

उता हेटौडामा सिन्दूर रँगाएर नयाँ विवाहित जोडी नौलो जीवनको सुरुवात गर्छन्। हेटौडा सरेको छब्बीसौं रात, केटीले सपनामा केटा र बाबु आँगनमा कुदिरहेको देख्छे। बिउझदा राजु सर ओछ्यानमा फिँजिएर घुरिरहेका हुन्छन्। घडी हेर्दा सुईले फेरि एक पटक साढे चार नै देखाइरहेको हुन्छ। केटी पलंग बाट जुरुक्क उठेर भुईमा छरिएको कालो नाइटी बटुल्छे, अनि चुकुल खोलेर मंगलबजार तिर कुद्छे।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।