मैले जिन्दगीमा सबैभन्दा बढी ओहोरदोहोर गरेको बाटो सिद्धार्थ राजमार्ग हो । २०२२ सालमा पोखराबाट भैरहवा जाँदा यो बाटो बनेकै थिएन । त्यसैले जिन्दगीमा मैले हवाई जहाज चढेको थिएँ । २०२४ सालमा भैरहवातिरबाट पोखरा फर्किँदा चाहिँ बाटोको ट्रयाक खोलिएको थियो । माथि हवाई जहाजबाट देखिन्थ्यो । पछि २०२९ सालतिर होला साथीहरू सहित बनारस जाँदा भने बस चढेर पोखराबाट भैरहवा पुगेको थिएँ । करिब १८१ किलोमिटर पहाडी बाटो त्यति बेला डोजर र स्क्याभेटर आदि उपकरण नभएको अवस्थामा पनि चारपाँच वर्षमै बनिसकेछ । अचेल कठै ! मरम्मत पनि हुँदैन, यति समयावधिमा यति बाटो ।
अहिले यही सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जाको फापरथुम जानु छ । मित्र त्रिलोचन ढकालबाट फापरथुममा माघ २६ र २७ मा हुने साहित्य महोत्सवमा आउन एक महिना अघिदेखि नै तारन्तार निम्तो र ताकिता आएको छ । २६ गते बिहानदेखि कार्यक्रम भएकाले कि त २५ गते बिहान कि भने २५ गते राति हिँड्नुपर्ने भयो । २५ गते राति हिँड्न आयोजक र सहभागीको मतो मिल्यो । हामी फापरथुम २६ गते बिहानै पुग्ने गरी भैरहवाबाट हिँड्यौँ । बसको तारतम्य तिलक लामिछानेले र अन्य तारतम्य मैले मिलाएको थिएँ । तिलकजी र म २५ गते दिउँसो गएर बस हेरीवरी बैनाबट्टा गरेर आएका थियौँ । बस बुद्धचोकमा ७ः३० मा हाजिर भयो । म पुगिसकेको थिएँ । साहित्यकार रुद्र ज्ञवाली, रामबहादुर श्रेष्ठ, तिलक लामिछाने, सिर्जना खनाल, राधा भट्टराई, कृष्ण भट्टराई, तेजप्रसाद पन्थ, सुवास रिजाल यात्री र कर्ण दयाल पनि बसमा आसन ग्रहण गरिसक्नुभयो । कर्ण दयाल सोराडी बैतडीदेखि बिहानै भैरहवा आइपुग्नुभएको हो । ८ बज्नु जरुरी देखिएन । ८ नबज्दै बस बुद्धचोकबाट प्रस्थान गरिहाल्यो । अलिक माथि विद्युत्नेरबाट सीता काफ्ले, नवीना अधिकारी र सरु ज्ञवाली पनि बसमा दाखिल हुनुभयो । मणिग्रामबाट खगेन्द्रप्रसाद बस्याल, रुकु पाण्डे र शिव खनाल तथा बुटवलबाट यज्ञलाल सुवेदी र इन्दिरा देवकोटा (कपिलवस्तु) चढ्नुभयो । रूपन्देही जिल्लाको बुटवल नगरी छाडेर सिद्धबाबा धाम हुँदै हाम्रो गाडी अगाडि बढ्यो । भैरहवादेखि बुटवलसम्मको बाटो र बत्तीको झिलिमिलीले कुनै विकसित सहरको झल्को दिन्थ्यो । सिद्धबाबाबाट उकालो लागेपछि डम्मै अँध्यारो पो भयो ।
राति सायद ११ बजे पाल्पाको बर्तुङ पुग्यौँ । बर्तुङबाट रामप्रसाद अर्याल, धातानन्द शर्मा गैरे, राधाकृष्ण शर्मा, डा. टङ्कप्रसाद पन्थ तथा पोखराथोकबाट हरि भट्टराई बसमा चढेपछि गाडी स्याङ्जातिर हानियो ।
पाल्पाका गोम विक्रम र गणेश नेपाली अर्को दिन बिहानै बाइकबाट आउने खबर थियो । गणेश नेपालीलाई बस लाग्छ रे नि त ।
स्याङ्जा सीता काफ्लेको माइत । माइतीको माटोमा साहित्यिक यात्रा । अनि के चाहियो ? उहाँको मनमा उत्साहको सीमा थिएन । डा. टङ्क पन्थ यात्रालाई रमाइलो पार्न खप्पिस । कविता र गीतको लहर चल्यो । माघको चिसो भए पनि साहित्यले ततायोे । आँधीखोला उर्लेर आयो आउने थिनँ मायाले बोलायो । .... स्याङ्जा झरेसी कल्ले के गर्च बसमा चरेसी ... । बेला बेलामा भाका फेरिए । राधा भट्टराईले भजन थाल्नुभयो । भजनले पनि बाटो कटायो । टङ्क सरले कविता अन्त्याक्षरी गर्न दिएको हाँक भने कसैले स्वीकार गर्न चाहेन कि सकेन । चलेन ।
रम्भा गाउँपालिका–३, अँगाहाखोला, लसुने पुगेपछि बस एम.पी. रियान रिसोर्टको आँगनमा रोकियो । यहाँ हामीले आगो ताप्दै चिया खायौँ । रामप्रसाद अर्यालले साथमा एक कार्टुन सेलरोटी ल्याउनुभएको थियो । सल्लाहबमोजिम नै । चियासँग सेल खाऊँ भन्दै कार्टुन निकाल्नुभयो । चियासँग सेलरोटी पनि खायौँ । चिया खाईवरी हामी गन्तव्यतिर लाग्यौँ । होटेलवाला भाइ अलिक बेर यहीँ बसौँ भनी माया जताउँदै थिए । एक ठाउँमा बसेर कहाँ पुग्छ र हामीलाई ।
केही बेर फेरि दोहोरी चल्यो । दोहोरी चल्दाचल्दै राम्दी पुग्यौँ । राम्दी धार्मिक तीर्थस्थल । ठुली एकादशीमा ठुलो मेला लाग्ने गर्छ । अघिपछि पनि सानातिना मेला लाग्ने गर्छन् । माया ठकुरीको ‘मृगतृष्णा’ कथा यहीँबाट सुरु भएको छ । राम्दी पुल तरेपछि भने सबैलाई निद्राले सतायो । आआफ्नो सिटमै निदाउने कोसिस ग¥यौँ, तर कहाँ लाग्छ र निद्रा । निदाउन पनि सजिलो थिएन हामीलाई ।
अल्याङमल्याङ गर्दै हामी गल्याङ कट्यौँ । सीताजीले त्रियासी त्रियासी भन्दा भन्दै हामी राङखोला पुगिसकेका थियौँ । कतिखेर गल्याङ आयो कतिखेर वालिङ रातको अँध्यारोले गर्दा उहाँले केही भेउ नै पाउनुभएनछ । ज्या माइती गाउँ गइहालेछ । उहाँ आँखा मिच्दै थई थई गर्न थाल्नुभयो ।
राति ३ बजेतिर स्याङ्जाको पुतलीबजारभन्दा केही पर सानो चिया पसलअगाडि बस रोकियो, घचक्क । चालक भाइ चालक सिटको पछाडि लुगा ओढेर सुते । साथीहरू ओर्लेको चाल पाएर म पनि अन्तिम सिटमा गएर पल्टेँ । भुसुक्क निदाएछु ।
म जाग्दा ५ बजेको हुँदो हो । केही साथी चिया पसलअगाडि आगो ताप्दै हुनुहुन्थ्यो । कतिले वनतरुल पोलेर खानुभएछ । चिया खानुभएछ । बाथरुम छिरेर नित्य क्रिया सकेपछि म पनि त्यहीँ हाजिर भएँ । तातो पानी र चिया सुक्र्याएँ । जाडोको ओखती भनेकै यही हो, हाम्रा लागि ।
बिहान ७ बज्दा चालक जागे । बस स्टार्ट गरे । साथीहरू बसमा चढ्नुभयो । बस अघि बढ्यो । नागडाँडा पुगेपछि रामचन्द्र ढकाल चढ्नुभयो । बस बायाँतर्फ मोडियो र लाग्यो फापरथुमतर्फ । हामीले भालु पहाडलाई यतैबाट नियाल्यौँ । खोलो तरेर केही घुम्तीहरू पार गर्दै साढे सात बजे बस हाम्रो गन्तव्य फापरथुम पुगेर रोकियो । त्यहाँ लेखिएको थियो– आनन्द आश्रम प्रतीक्षालय । हामी आआफ्ना झोला बोकेर बसबाट ओर्लियौँँ आनन्दपूर्वक ।
त्रिलोचन ढकाल र परिवारजनको स्वागतले मन आनन्दित भयो । हामीलाई आफ्नै घरमा पुगे झैँ भयो । प्रतीक्षालयका अगाडि दायाँतर्फ पद्मासनमा बसेका आनन्दमणिको प्रतिमा छ भने बायाँतर्फ आनन्द आश्रमको मूल द्वार, स्वागत द्वार । यही हो आनन्द द्वार । यहीँ छ आनन्द आश्रम । यहीँ छ आनन्द । यहीँबाट आनन्द आश्रमको भव्यता झल्किन्छ । आनन्द आश्रममा पुग्दा आमा र छोरी कुन्तीदेवी ढकाल र डा. सुस्मिता ढकालले हामीलाई पुनः न्यानो स्वागत गर्नुभयो । डा. सुस्मितासित मेरो भेट २०८० वैशाखमै भएको थियो, काठमाडौँमा । अहिले पनि उस्तै देखेँ । कुन्तीदेवी ढकालसँग पनि पहिले असारतिर भेट भएको थियो मेरो । अरुका लागि नौलो भए पनि मेरा लागि नौलो होइन, यो आश्रम यो परिवार । झोलाहरू पुस्तकालयमा राख्यौँ । पहिले आउँदा अस्थिकङ्काल मात्र रहेको पुस्तकालय भवन अहिले त मांसपेशीले भरिभराउ भएछ । यसको सिँगारपटार पनि भएछ । चिटिक्क परेछ पुस्तकालय भवन । हामीले लगेका पुस्तक उपहार पुस्तकालयमा बुझायौँ । आनन्द लाग्यो ।
तातो पानी, चिया र खाजा तयार थियो । हामीले भरपेट खायौँ । पोखरा र काठमाडौँदेखि स्रष्टाहरू आउने क्रम जारी थियो । भैरहवा, बुटवल, कपिलवस्तु, पाल्पा, बैतडी, तनहुँ आदि ठाउँबाट हामी आइपुगेकै थियौँ । कार्यक्रम सुरु हुन केही समय बाँकी थियो ।
हामीले पण्डित आनन्दमणिले गुरुकुल सञ्चालन गरेका संरचनाहरू हे¥यौँ । आनन्दमणि ढकाल, जसको स्मृतिमा यो संस्था खडा भएको छ । जसले त्यति बेला पिँडीमै गुरुकुल चलाएर मानिसका आँखा खोलिदिएका थिए । ज्ञानको पहिलो ज्योति बालेका थिए । कर्मठ मान्छे कहिल्यै मर्दाे रहेनछ । उहाँले अहिले पनि त्यही पिँडीमा बसेर हामीलाई ज्ञान बाँडे झैँ लाग्यो । पहिले शिष्यहरूका कुटीहरू भएको ठाउँमा अहिले केरा रोपिएछ । ज्ञान फस्टाएको बारीमा केराका बोट भने टाक्सिएछन् । स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति । कवि लेखनाथ बोले झैँ लाग्यो मलाई । आश्रमदेखि माथि वन रहेछ । आनन्द आश्रम स्याङ्जाको मणि रहेछ । ज्ञानको उद्गम स्थल पो रहेछ । यसको विगत सुन्दा र वर्तमान देख्दा मनमा आनन्द लाग्यो हामीलाई ।
आफ्नो समयमा शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पु¥याएका आफ्ना मातापिताको सम्मानमा एउटा परिवारले गरेको सराहनीय कार्य हो । पितापुर्खाको पदचिह्न पछ्याउँदै गरिएको यस कार्यप्रति हृदयदेखि नै सम्मान जाग्यो । आनन्द लाग्यो हामीलाई ।
स्याङ्जा आउने अनि साहित्यस्रष्टा घनश्याम ढकाललाई नसम्झने कुरै हुँदैन । ढकालको गाउँभित्र (२०४७) उपन्यास आँधीखोलाको यही सेरोफेरोमा घुमेको छ । आनन्द आश्रमबाट ढकालको जन्मस्थल डोडालीथर भएको डाँडो देखिन्छ । घर भने डाँडाले छेकिएको छ । ढकालको सम्झनालाई केहीले पनि छेकेको छैन, ताजा छ मनमा ।
पहाडको टाकुरोलाई थुम्को र थुम भनिन्छ । कुनै बेला खोरिया फाँडेर डाँडाको थुम्कोमा फापर खेती लगाएकाले यस ठाउँको नाउँ फापरथुम रहन गयो र चल्तीमा आयो । पछिसम्म पनि यहाँ फापर खेती हुन्थ्यो । यो भनाइ त्रिलोचन ढकालको हो । २०७३ फागुन २७ गतेभन्दा अघिसम्म यो एउटा गाउँ विकास समिति थियो । सो मितिदेखि यो आँधीखोला गाउँपालिकाको एउटा वडा कायम भएको छ । फापरथुम, चिलाउनेबास, विचारीचौतारा, वाङसिङ देउराली, सेतीदाभान र पञ्चमूल (३ र ७ नं वडा बाहेकका वडा) मिलेर मिलाएर आँधीखोला गाउँपालिका बनेको छ । यो गाउँपालिका सिद्धार्थ राजमार्गको नागडाँडादेखि साडे सात किलोमिटरको दुरीमा रहेको छ । यो आँधीखोला सभ्यताको एक मुख्य क्षेत्र हो । तर हामीले न फापर खायौँ न कतै फापर खेती नै देख्यौँ ।
फापरथुममा त्रिलोचन ढकालका मातापिताको नाममा आनन्दमणि नन्दकला–टुल्की स्मृति प्रतिष्ठान गठन गरिएको र अहिलेको कार्यक्रमको आयोजक संस्था यही प्रतिष्ठान रहेको छ । यहीँ अर्को संस्था आनन्द आश्रम ज्ञानकेन्द्र रहेको छ । त्यसले कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गरेको छ । ब्यानर पनि यही भन्दै थियो ।
काठमाडौँ र पोखराको टोली आइपुग्यो, खुसीको अर्को घाम लिएर । आनन्द लाग्यो । श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. यमबहादुर पौडेल क्षेत्री, पोषराज पौडेल, भवानी खतिवडा, डा. मुकुन्द शर्मा, प्रेम लुइँटेल, दीपक लोहनी, शोभा शर्मा, डा. छायाँदत्त न्यौपाने बगर, डा. शेखरकुमार श्रेष्ठ, शेखर अर्याल, शान्ता तिमसिना, सत्या अधिकारी, रमेश सुवेदी, दिव्य गिरी, मन्दिरा मधुश्री, मधुसूदन घिमिरे, रामकुमार पण्डित क्षेत्री, नारायण मरासिनी, शेषमणि आचार्य, परशुराम कोइराला, परशुराम पराशर, मित्रलाल पंगेनी, मिलन समीर, शान्ति सापकोटा, चिन्तु गिरी, खोलाघरे साहिँलो, शीतल गिरी आदि पूर्वपरिचित अनुहार तथा कल्याण पन्त, रचना शर्मा, कात्यायन (धन्वन्तरी मिश्र), तुलसी पण्डित, ध्रुवराज थापा, एन्जेल निलु, भावकेशर बराल, सुशीला पौडेल, विष्णुप्रसाद पौडेल अपरिचित, लोकनाथ पुडासैनी, शारदा पराजुली, डा. सीता सुवेदी पन्थी, नारायण नेपाल, प्रार्थना खनाल जोशी, रामराजा केसी आदि पूर्वपरिचित तर मेरा लागि पहिलोपटक साक्षात्कार भएका अनुहार । आँधीखोलामा पूर्व पश्चिमका धेरै अनुहारको बाढी आयो, गाडी चढेर । ताप्लेजुङदेखि बैतडीसम्मका करिब दुई सय जति स्रष्टाहरू एकै ठाउँमा भेला । एउटा कुम्भ मेला पो लाग्यो त यहाँ आनन्द आश्रममा । मनमा आनन्दको बाढी उर्लेर आयो ।
आनन्दमणि आश्रमका अध्यक्ष डा. महेश्वर शर्मा अकस्मात् अस्वस्थ भएर आउन सक्नुभएन । त्यसैले उपाध्यक्ष प्रेम लुइँटेलको अध्यक्षता र गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भयो । संस्थाकी सचिव डा. सुस्मिता ढकालले कार्यक्रम सञ्चालन गर्नुभयो । सुरुमा राष्ट्रिय गान भयो । प्रमुख अतिथिले ब्यानर पढेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । ज्ञानकेन्द्रका अध्यक्ष इ. ओम शर्माले अतिथिहरूलाई स्वागत गर्नुभयो । संस्थाका अध्यक्ष दीप्तिनारायण शर्माले संस्थाको परिचय प्रस्तुत गर्नुभयो । आनन्दमणि आश्रम र ज्ञानकेन्द्रका संस्थापक, संरक्षक त्रिलोचन ढकालले पिता पण्डित आनन्दमणिले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
इ. ओम शर्मालाई देखेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा उहाँले गर्नुभएका महनीय कार्यको स्मरण भइरह्यो । उहाँको आमन्त्रण र सौजन्यबाट केही वर्षअघि मित्र डा. शङ्कर नेपाल र मैले सपरिवार निर्माणाधीन विमानस्थलको अन्तरकुन्तर अवलोकन गर्ने र बुझ्ने अवसर पाएका थियौँ । सम्झना ताजा भयो, अहिले ।
उद्घाटन कार्यक्रममा त्रिलोचन ढकालको लघुकथासङ्ग्रह पेच तथा आनन्द आश्रम ज्ञानकेन्द्रको जानकारी दिने दुई पुस्तकको प्रमुख आतिथि गुरुङले लोकार्पण गर्नुभयो । फड्के किनाराका सदर । साक्षी बस्यौँ हामी पनि । गन्तव्य सम्बन्धी मन्तव्य र शुभकामना भए । खगेन्द्र बस्यालका सन्देशमूलक हाइकु सभाकक्षमा प्लेकार्डमा प्रदर्शन भए । हाइकु बुझाउने नौलो तरिका देखेर धेरै स्रष्टा जिल्ल परे । क्या आनन्द !
उद्घाटन कार्यक्रमपछि भोजन र भोजनपछि काव्य गोष्ठी सुरु भयो । भ्याई नभ्याई छ, आयोजकलाई र हामीलाई पनि । काव्य गोष्ठीको अध्यक्षता शुभ शर्मा र प्रमुख आतिथ्य काव्यकार मुकुन्द शर्मा चालिसेले गर्नुभयो । काव्य गोष्ठीमा छन्दोबद्ध, मुक्तछन्द, मुक्तक, हाइकु, साइनो आदि ७० जति कविता वाचन भए । कवि डा. रमेश शुभेच्छुले कविताका बान्की र सिर्जन प्रक्रिया बारे कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसपछि रमाइला भजन, कीर्तन प्रस्तुतिले मनमा आनन्दको हिउँदे वर्षा भयो ।
बेलुका अबेला आनन्द आश्रमको गास टिपेर बासका लागि हामी किसानका घरतिर लाग्यौँ । स्वयंसेवकहरूले बाटो देखाउनुभयो । म, रुद्र ज्ञवाली र कृष्ण भट्टराई केही पर टीकाराम ढकालजीको घरमा लगियौँ । मिठो निद्रा र न्यानो आतिथ्य पायौँ । उठ्दा २७ गते भइसकेको थियो । बिहानै हातमुख नगर्दै तातो पानी र कालो चिया कोठैमा आइपुग्यो । नित्यक्रिया सकेर बिदाबादी हुन लाग्दा भैँसी दुहेर बाल्टीभरि दुध तयार । तताउँछु, खाएर मात्र जानुहोला रे ! टीकाराम ढकाल, उहाँकी धर्मपत्नी कौशल्या र बुहारी दुर्गा ढकालको सामूहिक अनुरोध । हामीले दुध चियामा सहमति ग¥यौँ । त्यो पनि चिनी नहाली । आँगनमा उभिएर सम्झाउनी बिर्साउनी तस्बिर लियौँ । एउटा मन्त्रीको मुस्कान यतै छरियो । भकारोमा भैँसी । खोरमा बाख्रा । केराका बडाबडा घारी र घरी । साग, मुला, केराउ र काउली बारीभरि । कति खाउली । किसानको घरमा बास भनेको हो रहेछ । झन् आनन्दित भयो मन ।
सतौँकोट अवलोकनका लागि बिहान ८ बजे तीनवटा स्थानीय बसहरू हामीलाई बोकेर त्यसतर्फ चलान भए । तिलक लामिछाने, रामप्रसाद अर्याल, धातानन्द शर्मा गैरे आदि केही जाँगरिला स्रष्टाहरू पैदलै हिँडिसक्नुभएछ । एक छिनपछि हाम्रा बसहरू निर्माणाधीन सडक हुँदै उकालो लागे । वन, जङ्गल र भिर पहराको घमाउरो बाटो । कतिपय ठाउँमा बसलाई मोड नपुग्ने । पछि सार्दै अघि बढ्दै गर्नुपर्ने रहेछ । धेरै माथि पुगेपछि बल्ल गाउँबस्ती भेटिए । रजस्थल मावि देखियो । त्यहीँ एउटा रङ्गशाला पनि रहेछ । ढुङ्गाले छापेका आँगन, पिँडी तथा ढुङ्गाकै छानो भएका घरहरू देखिए । तगारोका खाँबाहरू पनि ढुङ्गाकै रहेछन् । यता कतै ढुङ्गाखानी रहेको अनुमान भयो ।
सतौँकोट प्रवेशद्वार नजिकै एक छिन विश्राम ग¥यौँ । त्यहाँ नजिकको बस्तीमा अघिदेखि नेवार, घर्ती, मगर, ठकुरी गरी सोह्र थरीका सोह्र घर रहेछन् । दह्रौँकोट जाने बाटो त्यतै रहेछ । प्रवेशद्वारबाट दस मिनेट जति हिँडेपछि माथि सतौँकोट पुगियो । ढुङ्गाले चिटिक्क चिनेर बनाएको बाटोको दुवैतर्फ पर्खाल, ढुङ्गाकै सिँढी हुँदै कोटसम्म पुग्ने बाटो र माथि थाप्लोमा समथर ठाउँ रहेछ । चारैतिर ढुङ्गाको बान्नो थियो । सतौँकोट एउटा ऐतिहासिक कोट रहेछ । रमणीय स्थल रहेछ । प्युठानको भित्रीकोटभन्दा पनि रमाइलो ।
स्थानीय गुरुप्रसाद ढकाल बताउँदै हुनुहुन्थ्यो । सहभागीहरू रानोलाई मौरीले घेरे झैँ घेरेर ज्ञानमह बटुल्दै थिए । सतौँराज्य त्यस बेलाको शक्तिशाली राज्य रहेछ । सतौँराज्यको स्थापना नुवाकोटे राजा मिचा खनाका माहिला छोरा सिरिबुम्ब खानले विसं १५१० मा गरेको भनाइ रहेछ । सिरिबुम्ब खानपछि ऐतबम खान, महिपाल खान, लेदु खान, चमु शाही, तुल शाही, बहादुर शाही, क्षेत्र शाही, पृथ्वीपति शाही, दावानल शाही, चामु शाही, दीर्घराज शाही र टेकबहादुर शाही गरी १३ पुस्ताले ३३२ वर्ष शासन गरेछन् । १८३१ मा केहरसिंह बस्नेतको कप्तानीमा हमला गर्न आएको गार्खाली फौजलाई धुलो चटाएर फर्काएछन् यही कोटबाट । तर १८४२ मा भने बहादुर शाहका पालामा सतौँराज्य गोर्खामा विलय भएको रहेछ । युद्ध जितेपछि सतौँचण्डी शक्तिपीठको स्थापना भएको रहेछ । मगर पुजारीबाट पूजाआजा हुँदो रहेछ । अलि पर सतौँ राज्यका तत्कालीन राजाको दरबारको भग्नावशेष पनि रहेछ । त्यहाँबाट पूर्वतर्फ सुन्दर बस्ती, माछापुच्छ्रे«, अन्नपूर्ण हिमशृङ्खला लस्करै देखिए । सतौँकोटको पारिपट्टि भेडाबारी, चिलाउनेखर्क, छरीखोला, दह्रौँडाँडा, थाप्लेडाँडा आदि देखिए । थाप्लेडाँडामा रहेको ठुलो बुद्धको सुनौलो मूर्ति यहीँबाटै पनि प्रस्ट देख्यौँ । यहाँबाट देखिने दह्रौँडाँडाको पल्लोपट्टि पर्यटकीय गाउँ सिरुबारी पर्छ रे ।
मैले खुट्टा उचाली उचाली हेरेँ, मेरो घर पोखरा देखिन्छ कि, माझठाना देखिन्छ कि, अग्लो देउमाडी डाँडो देखिन्छ कि । अहँ, देखिनँ । माछापुच्छ«े देखेपछि त्यहीँ तल छ मेरो घर भनी चित्त बुझाएँ ।
दृश्यले सबैलाई लोभ्याए । स्रष्टाहरूलाई वरिपरिका आकर्षक दृश्यहरूले फोटो खिच्न व्यस्त बनाए । कहिले एकल त कहिले समूहमा । सेल्फी पनि त्यत्तिकै मात्रामा । यस्तो त भइहाल्छ यात्रामा ।
यहाँ पहिले खान वंशले राज्य स्थापना गरेको, पछि त्यही वंश खाँण, शाही हुँदै शाह बन्न पुगेको ऐतिहासिक तथ्यको जानकारी भयो । सतौँकोट भएको थुम्कोको दक्षिणतर्फको फेदीबाट दक्षिण पश्चिममा तल टिकाजा फाँट, टिकाजा उपत्यका र त्यस वरिपरिका अग्ला पहाड र बस्तीहरूको सुन्दर दृश्य मनमोहक थियो । कोटको दक्षिणतर्फ केही तल पशुपति मन्दिर र अझै तल प्रसिद्ध सतौँचण्डी मन्दिर रहेछ ।
हामी कोटबाट तल प्रवेशद्वारनेर झ¥यौँ । यहाँबाट बस चढेर फापरथुमतर्फ लाग्यौँ । आज लघुकथा गोष्ठी हुनु छ । समापन पनि हुनु छ । राति फर्किनु पनि छ ।
फापरथुममा पुगेर खाना खाएपछि लघुकथा गोष्ठी सुरु भयो । डा. शेखरकुमार श्रेष्ठले माइक समातेर कार्यक्रम सञ्चालन गर्न थाल्नुभयो । साहित्यकार रचना शर्माको अध्यक्षता । लघुकथा गोष्ठीका प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन । सकल कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गणेशमान गुरुङ । सुरुमा लघुकथा गान । लघुकथा सम्बन्धी कार्यपत्र मेरो । टिप्पणीकार डा. पुष्करराज भट्ट, कल्याण पन्त र शेखर अर्याल । चालिसभन्दा बढी स्रष्टाहरूले लघुकथा वाचन गर्नुभयो । मैले लघुकथामा पात्र र चरित्र बारे कार्यपत्र प्रस्तुत गरेँ । केही नयाँ अवधारणा पनि अघि सारेँ । लामो समयदेखि लघुकथा लेखिरहनुभएका स्रष्टाको टाउको हल्लाइले मैले धेरै कुरा बुझेँ । टिप्पणीकार तथा फ्लोरबाट सहभागीहरूका केही जिज्ञासाहरू आए । त्यस्ता जिज्ञासाको जवाफ पनि भयो । वास्तवमा यो भयो गोष्ठी । प्रमुख अतिथिको आसनबाट श्रीओम श्रेष्ठले मन्तव्य राखेपछि सभाध्यक्ष रचना शर्माले सबैलाई धन्यवाद दिएर लघुकथा गोष्ठीको समापन गर्नुभयो । वास्तवमा यो पो हो लघुकथा गोष्ठी । आनन्दित भयौँ हामी ।
अबको कार्यक्रम साहित्यिक सांस्कृतिक बहसको थियो । कार्यक्रम प्रा.डा. लालुप्रसाद पौडेलको अध्यक्षता तथा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलको प्रमुख आतिथ्यमा सुरु भयो । बहस कार्यक्रममा आठ वक्ताले आफ्ना विचार राख्नुभयो । प्रत्येक वक्तालाई आठ मिनेटमा तोकिएको विषयमा आफ्नो विचार राख्नुपर्ने थियो । सोअनुसार मित्रलाल पंगेनीले अबको साहित्य, डा. सीता सुवेदी पन्थीले नारीलाई पुरुषलाई भन्दा सिर्जना गर्नमा हुने समस्या, कुमार रानाले साहित्यको विकासमा सञ्चार प्रविधिको प्रयोग, रुद्र ज्ञवालीले साहित्यमा केन्द्र र मोफसल, मिलन समीरले स्याङ्जाको लघुकथाको अवस्था, विश्वप्रेम अधिकारीले स्याङ्जाको लोकसाहित्यको अवस्था र डा. टङ्कप्रसाद पन्थले साहित्यमा स्थानीय सरकारको भूमिका बारे विचार राख्नुभयो । वक्ताहरूले राख्नुभएका सटीक, तथ्यपरक, रोचक र ज्ञानवर्धक विचारले श्रोतालाई विचारमग्न बनायो । यस कार्यक्रमले धेरै तथ्यहरू उजागर ग¥यो । सहभागीको मन आनन्दित भयो ।
नेपालको एक मात्र अनलाइन साहित्यिक पत्रिका ‘साहित्यपोस्ट’का सम्पादक अश्विनीकुमार कोइरालाले साहित्यपोस्टमा अनलाइनमार्फत पुराना किताब पढ्न पाइने, कसैलाई थोरै मात्र किताब छाप्नुपर्ने अवस्था भएमा कम्तीमा दुईप्रति पनि छापेर दिन सकिने जस्ता जानकारी दिनुभयो । उहाँले आफ्ना रचना साहित्यपोस्टमा प्रकाशनार्थ पठाउन पनि स्रष्टासमक्ष अनुरोध गर्नुभयो । कति स्रष्टालाई त के खोज्छस् काना आँखो भइगयो नि ।
भोजनपछि समापन कार्यक्रमको सञ्चालन डा. सुस्मिता ढकालले गर्नुभयो । रातिको दस बजेको हुँदो हो । सम्मान, पुरस्कार र बिदाइ हुनु थियो अब । प्रा.डा. लालुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गुरुङ र संरक्षक ढकालले प्रा.डा. जगदीशचन्द्र भण्डारीलाई नगद रु. २५ हजारसहित ताम्रपत्र र दोसल्ला, डा. महेश्वर शर्मा र डा. पुष्करराज भट्टलाई सम्मानपत्र र दोसल्ला, प्रतियोगिताका उत्कृष्ट विद्यार्थी शिखा सुनार र संयोग डुम्रेलाई पपाँच हजार नगद सहित सम्मान गर्नुभयो । हामीले ताली ठोक्यौँ । हामी सबैले पनि आयोजकका तर्फबाट आभारपत्र प्राप्त ग¥यौँ । कोही छुटेन सम्मानबाट ।
हामी सबैका तर्फबाट स्रष्टा लोकबहादुर थापाले कार्यक्रमको आयोजना र व्यवस्थापनप्रति धन्यवाद र सम्मानित, पुरस्कृतहरूलाई बधाई दिनुभयो । सुशीला सापकोटा, छवि सुवेदी र रामप्रसाद अर्यालले व्यवस्थापन कौशलको प्रशंसा गर्दै यस्तो गाउँबस्तीमा यस्तो भव्य कार्यक्रमको आयोजना हुनु सुखद रहेको विचार राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि गुरुङले दुई दिने कार्यक्रमका बारेमा आफ्ना गहन विचार राख्दै त्यहीँ सिकेर त्यहीँ लेखेको आफ्नो पहिलो लघुकथा सुनाउनुभयो । समापन कार्यक्रमका अध्यक्ष पौडेलले सबैलाई धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण कार्यक्रमको समापन गर्नुभयो ।
हाम्रो गच्छगच्छ हुँदा रातिको पौने बाह्र बजिसकेको थियो । बस बस केही तल प्रतीक्षारत थिए । केही बेर पैदल हिँडेर आआफ्ना बसमा चढ्यौँ । बस बडो आनन्दले गुड्यो । फापरथुमको साहित्यिक यात्रा त सकियो, तर आनन्द आश्रम र आनन्दको अनुभूति अद्यापि ताजा रहेको छ, मन मनमा ।
भैरहवा