अक्षरलाई बोक्ने शब्दहरू
शब्दमा बग्ने अक्षरहरू
म पोखिन चाहन्छु
यिनै शब्द अनि
अक्षरहरूमा
छुन सक्दैनौं तिमी
मलाई तिम्रा हातहरूले
तर मैले लेखेका
हरेक अक्षरहरुमा
स्पर्श गर्न सक्छौं मलाई
सुम्सुम्याउन सक्छौं
मेरा पीडाहरूलाई
पढ्न सक्छौं
मेरो आँसु, रोदन
हाँस्न सक्छौं
मेरो खुसीमा अनि
आभाष पाउनेछौं
मेरो निस्फिक्री हाँसोको
यिनै बेमेल अक्षरहरुमा
कहिँ कतै
स्पर्श गर्न सक्छौं
मैले कसैलाई भन्न नसकेका
अत्यास, निराशा, कुन्ठा
एवम् रितले
यिनै शब्द अनि अक्षरमा
सम्पूर्ण मलाई
तिमी सक्छौं भेट्न
त्यसैले बिन्ती मलाई पोखिन देउ
शब्द अनि अक्षरहरूमा
पोखिएर म
रित्तिन चाहन्छु
यिनै शब्द अनि अक्षरभरि
रित्तिएर देखिन चाहन्छु
तिम्रा आँखाभरि
देखिएर भरिन चाहन्छु
तिम्रो मनभरी अनि
मस्तिष्क भरि ।