17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आहारिस

लघुकथा रमेशचन्द्र घिमिरे April 11, 2024, 4:33 pm
रमेशचन्द्र घिमिरे
रमेशचन्द्र घिमिरे

सँगै थालमा भात खाएका बाल्यकालीन साथीहरू थिए । पढाइ, खेलकुद, हरेक गतिविधि सबैमा बराबरी थिए ।
`यसले मलाई जित्दै जित्दैन ।´ ऊ घमण्ड गर्थ्यो ।
पहिलो घमण्डमा भुल्दै गर्दा बिस्तार बिस्तार अर्कोले प्रगति गर्ने लक्षण देखायो, ऊचाहिँ आहारिसले भुतुक्क भयो ।
`जित्न दिनुहुन्न, पछार्छु ।´ सुरुमा यसो भन्यो ।
उसले ईर्ष्या मात्रै गरिरह्यो, अरू केही गर्न सकेन ।
`जित्यो, उछिन्छु ।´ भाषा फेर्न थाल्यो ।
ऊ डाहामा छट्पटिँदै थियो, साथीले प्रगतिको खुट्किलो चढ्दै गयो ।
`धेरै अगाडि पुगिसक्य‍ो, भेट्टाउँछु ।´ उसको रिसको पारो चढ्यो ।
आफ्नो साधना र निरन्तर लगनशीलताले साथी धेरै माथि पुग्यो ।
`टाढैबाट भएपनि हिर्काएर लडाउँछु ।´ उसले पाप बोल्नसमेत भ्यायो ।
कसैको मतलब नराखी साथी सत्कर्मले उचाइमा पुग्यो ।
केही सीप नचलेपछि आहारिसे उठ्नै नसक्ने गरेर आफै पछारियो ।

भोर्लेटार, लमजुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।