घर पस्दा पस्दै मैले हाम्रो अतिरिक्त अर्को जोडी चप्पल देखेँ। मलाई शङ्का लाग्यो, सायद अशोकजी फेरि घर आए।
श्रीमतीज्यू दैलोमा नै थिइन्। "तिम्रो पोइ आइसक्यो।” प्वाक्क भनेर गइन्। अशोकजी आए, फेरि आए।
को हुन् अशोकजी? उनलाई सोधे उनी भन्छन् उनी कवि हुन्। आऊ सुनौँ उनको कविता:
पत्ता झर्दैछ
धूलो उड्दैछ
बस चल्दैछ
मान्छे चड्दैछ
चड्दा चड्दै लड्यो
फ्यात्त लड्यो।
कविता पढेर मैले सोधेको थिएँ, "हजुर क-कसको कविता पढ्नु हुन्छ?"
उनले सजिलै भनेका थिए, "कसैको पनि पढ्दिन। जो कोही पढेँ भने मेरो पवित्रता पतित हुन्छ।"
अशोकजी केही न केही बहाना बनाएर प्राय बेलुका घर आइपुगी हाल्थे। एकछिन पछि एउटा भूमिका लेख्नुहोस् भन्न थालि हाल्थे। कुरा टार्दा-टार्दा दिक्क भइसकेको थिएँ।
आज अशोकजी मेरो बैठकमा बसेर रेलगाडी जस्तो धुवाँ उडाइरहेका थिए।
"घरमा चुरोट नखानुस् न!"
"आर्टिस्टको घरमा पनि चुरोट चल्दैन?"
मलाई किन आर्टिस्ट देख्छन् उनी मलाई थाहा छैन। "म आर्टिस्ट होइन", मैले भनेँ।
उनले उनको फोक्सोबाट एक मुठ्ठी धुवाँ फ्वा गरेर फुकिदिए र चुरोटको ठुटो निभाइदिए।
"लेखिदिनु भयो त भूमिका?" उनले सोधे।
अशोकजीले कवितासंग्रह निकाल्न आंटेका थिए। भूमिका लेखक मलाई छानेका थिए। किन? दैव जानुन्। सायद उनी मलाई आफ्नो घनिष्ठ मित्र ठान्थे (म ठान्दिन थिएँ)।
"कोही ठूलो लेखकलाई लेखाइ माग्नुस् न। म जाबोले के लेख्छु र," मैले भनेँ।
"होइन हजुर मात्र मेरो लेख बुझ्नु हुन्छ।"
हुन त म पनि बुझ्दिनँ उनको लेखलाई। पढौँ उनको अर्को कविता:
म त्यो रूख हो
टाढाको पनि होइन
छेउको पनि होइन,
बीचको पनि होइन
सानो पनि नाइ
ठूलो पनि नाइ
म त्यो रूख हो
तर, मलाई काटिदिए।
मैले कविता नबुझेको उनलाई भनेको थिएँ।
उनले "यो आबस्ट्राक्त हो" भनेका थिए।
आज पनि भूमिका कैले लेख्नु हुन्छ भन्न थालिहाले।
"अशोकजी टाइम नै छैन, लेख्थेँ नत्र", भनेँ।
"अहिले लेख्दिनुहोस् न," प्रत्युत्तर आयो।
एकछिन चुप बसेँ। सोचें, लेखी पो दिउ कि। आज नलेखे त भोली वा पर्सी आइ हाल्छन्। फेरि बिन्तीभाउ गर्न थालि हाल्छन्। लेखे भने छुटकारा नै पाउने हो कि। केही पल अझ मौन बसेँ।
मौनता तोड्दै "ल प्रयास गर्छु" भनेँ। लेख्न केही थिएन। टेबलमा न्याप्किन रहेछ। एउटा टिपे अनि न्याप्किनमा लेख्न थालेँ:
एउटा कवितासंग्रह। सोचौँ के कामको? केही न कामको।
यस किताबको कुनै आर्थिक प्रलोभन छ? छैन। लेखेपछि आत्मतृप्ति पाइन्छ? पाइँदैन। यो लेखेर पेट भरिन्छ? भरिदैन।
म त भन्छु कवितासंग्रह किन्नु भन्दा पानीपुरी किन्नु बेस।
वास्तवमा भन्नु पर्दा कविता संग्रह लेख्नु बेकामे, त्यसको भूमिका लेख्नु बेकामे, त्यसैले कवि पनि बेकामे। बाँकी पाठकको सोच।
अशोकजीले पढे र "वाह! क्या आबस्ट्राक्त" भनेर दङ्ग परे। भूमिकालाई जतनसँग आफ्नो गोजीमा राखे अनि बिदा भए।
***
अशोकजीले कविता संग्रह निकाले। कति प्रति छापिए, कति बिके मलाई चाल छैन। मैले एउटा निःशुल्क प्रति पाएँ। म भूमिका लेखक बाहेक सम्पादक पनि रहेछु। मलाई थाहा थिएन।
अशोकजीलाई बधाई सोचेर किताब टेबलमा फुत्त फ्याँक्दा आँखा किताबको पछाडीको कभरमा पर्यो। "प्रकाशोन्मुख: गीतसंग्रह" देखेँ।
सोचेँ, फेरि भूमिका लेखाउने पो हुन् की? फेरि घर आएको आयौ गर्ने हुन् की? एकाएक कुरा मनमा आउन थाल्यो।
मलाई वाक्क लाग्यो।