मोहन सुवेदी असमका एकजना विशिष्ट नेपाली कवि हुन। 25 जनवरी 1965 सनमा रङ्गमहल, लंका, असममा जन्मिएका मोहन सुवेदीले नेपाली भाषा साहित्यमा चारवटा कविता संग्रह, दुईवटा कथा संग्रह, दुईवटा निबंध र समीक्षा तथा एउटा गीत संग्रह प्रकाशित गरी आफ्नो एक दर्भिलो उपस्थिति दर्ज गराएका छन। उन्ले अनुवाद गरेका प्रसिद्ध लेखक मुल्कराज आनन्दको पुस्तक नेशनल बुक ट्रष्टले 2002 सनमा प्रकाशित गरेको छ भने 2012 सनमा असमीया कवि नीलमणि फुकनका कविताहरू साहित्य अकादेमीले प्रकाशित गरेको छ। उन्ले प्रहर (सामयिक पत्रिका), लङ्काज्योति (स्मृतिग्रंथ), हस्ताक्षर (कविता सङ्कलन), प्रणिपात (असमिया स्मृतिग्रंथ), समकालीन नेपाली साहित्य (पत्रिका), सम्भार (पत्रिका) र दुर्गाज्योति (स्मृतिग्रंथ) हरूको सम्पादन पनि गरेका छन। उन्को साहित्यिक योगदानका निम्ति टङ्कनाथ उपाध्याय स्मृतिकथा पुरस्कार (असम,2005), स्पन्दन कविता पुरस्कार (कुवैत, 2010), विद्यावाचस्पति सारस्वत सम्मान (भागलपुर,2013), स्रष्टा पुरस्कार (कथा विधामा, सिक्किम,2018) र कवि पुष्पलाल उपाध्याय स्मृति कविता पुरस्कार, असम नेपाली साहित्य सभा, 2021 ले सम्मानित गरिएको छ। हाल भारतीय जीवन बीमा निगम, तेजपुरमा वरिष्ठ प्रशासनिक अधिकारीका रूपमा कार्यनिर्वाह गरीरहेका छन। उनी सँग लेखन विषयमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ-
तपाईको लेख्ने क्रम कहिलेबाट र कसरी सुरु गर्नुभयो ?
उत्तर : सन् १९७९-८० तिर देखिनै मैले लेख्न शुरु गरेको हुँ। सन् १९८० मा लङ्का हाइस्कुलको वार्षिक मुखपत्र 'रेङनी' मा मेरो पहिलो असमीया कविता 'नतुन सूर्य' प्रकाशित भएको थियो । त्यस पत्रिकाका सल्लाहकार आदरणीय काननमोहन दत्त सरले मेरो काँचो कवितालाई सच्याएर त्यो पत्रिकामा समावेश गरिदिनु भएको थियो । त्यस अघि नै भानुजयन्ती समारोहमा हुने कविगोष्ठीहरूमा छोटा कविता रचना गरेर आवृत्ति गर्दथ्यें र ती अनुष्ठानहरूले मलाई केही लेख्ने प्रोत्साहन गरेका थिए र मैले एउटा मञ्च पाउन सकेको थिएँ। म पहिले असमीया भाषामा लेख्ने गर्दथें । तर पछि नेपालीभाषामा नै लेख्ने प्रयास गर्दै आफ्नो भाषा पढ्ने र सिक्ने यस काममा व्रती भएको हुँ। सन् १९८१ मा आदरणीय के. बी. नेपाली ज्यूको सम्पादनामा लामडिङ्ग, असमबाट निस्किने बहुचर्चित साहित्यिक पत्रिका 'बिन्दु' मा मेरो पहिलो नेपाली कविता 'नव सूर्यको जन्म' प्रकाशित भएको थियो । यसरी विगत चालिससाल भन्दा अधिक समयदेखि म साहित्यचर्चा विशेषगरि कविता र कथा लेखन कार्यसित जडित भएको छु । नेपाली बाहेक असमीया भाषामा पनि मैले प्रशस्त कविता रचना गरेको छु । तर ती सबै अप्रकाशित अवस्थामा छन् ।
कुनै रोचक घटना वा अनुप्रेरणा थियो कि?
उत्तर: लेखकीय जीवनको सुरुमा कुनै घटनाक्रमले म लेखक भएको होइन । स्कुले जीवनमा पाठ्य पुस्तक बाहेक अन्य पुस्तक पढ्ने बानी बसेको थियो । मेरा पिताजी स्व. यज्ञप्रसाद सुवेदी एकजना विद्वान व्यक्ति हुनुहुन्थ्यो । उहाँ संस्कृत,नेपाली र हिन्दी भाषाका पुस्तकहरू पढिरहने अनि घरमा लेखपढको संस्कार भएकाले मैले स्कुलका दिनहरूमा नै असमीया, बङ्गला, संस्कृत, हिन्दी, नेपाली र अंग्रेजीभाषाका पुस्तकसित संस्पर्शमा आउने अवसर पाएको थिएँ। विद्यार्थी कालदेखि नै फुटकर कविता र गीतहरू रचना गर्न थालेको हुँ। देश विदेशका विभिन्न भाषाका कथा र कविताहरू पढ्दै जाँदा लेखक बन्ने रहर मनभित्र पलाउँदै गयो । म लेख्दै गएँ, रचनाहरू छापिदै गए र त्यसरी नै अनुप्राणित भएको हुँ। घरको परिवेश, पिताजी , दाज्यु भाइहरू तथा आत्मीय - स्वजनहरूको प्रेरणाले नै मलाई लेखनतर्फ डोऱ्याएको हो ।
तपाई किन लेख्नु हुन्छ ?
उत्तर : यो एउटा अनौठो प्रश्न हो किनकी कुनै लेखकले यसको सही र भरपर्दो उत्तर भन्न सक्दैनन् । सुरु सुरु त रहरले गर्दा केही लेखिन्थ्यो होला । तर पछि त्यत्ति मात्रले पुगेन । आफ्नो मातृभाषामा साहित्यचर्चा गरेर केही कुराहरूको योगदान गर्ने मनोभाव बढ्दै गयो । निज अभिज्ञता र अनुभवलाई अरुसित बाँड्ने सदिच्छा साथै समस्याहरूद्वारा पीडित साधारण मानिसको वेदनालाई पाठक समक्ष उपस्थापन गर्ने दायित्वले पनि लेखनतर्फ अघिबढ्नु पर्थ्यो । म धेरजसो कविता नै लेख्छु। यो विशाल मानव सभ्यताले बनाएको पृथिवीको अपार शक्ति र सम्भावनामाथि मेरो विश्वासको दृढताले विभिन्न उत्साही व्यक्तिसित शब्दहरूको विनिमय गर्ने सदिच्छा जीवनको अन्तिम क्षणसम्म सक्रिय भइरहनेछ ।
लेखकहरूको निश्चित दिनचर्या र चरित्र हुनुपर्छ। यसबारेमा तपाईंको दृष्टिभङ्गी के छ?
उत्तर: लेखकहरूको मात्रै निश्चित दिन-चर्या र चरित्र हुनुपर्छ भन्ने केही छैन, यो सबैजनाको क्षेत्रमा लागु हुन्छ । अनुशासित र निमयित जीवन-यापन प्रक्रियाले लेखकको चिन्ता-शक्ति र मननशीलतामा श्रीवृद्धि गराउँछ । पूर्णकालीन लेखकहरू यस दिशामा अधिक सचेत हुन्छन् । चरित्र अर्थात जीवन चरित अथवा चालचलनको श्रेष्ठताले सबै मानिसलाई नै प्रभावित पार्दछ । लेखेरै आजीविका चलाउनेहरूका लागि निश्चित दिनचर्या निकै आवश्यक छ । एकजना लेखकको दिनचर्या र जीवन-चरितले समाजलाई निश्चितरुपले प्रभाव विस्तार गर्दछ किनकी साहित्यसित सधैं समाज जोडिएको हुन्छ ।
सामग्रिकरुपमा तपाईको लेखाईको मूलभूत सन्देश के छ ?
उत्तर: एकजना साधारण कविको हैसियतले समकालीन कविता प्रति मेरो आस्था सुदृढ छ । साहित्यको मूल विषयवस्तु हो मानिस । मानिसको स्वभावगत चरित्रको वास्तविक प्रतिफलनको स्पष्ट छवि हो साहित्य । समग्र जीवन र जगतबारेमा अभिव्यक्त गरिएका विभिन्न पक्षको यथार्थ चित्रण नै साहित्य हुनाले यसको सुदुर फलाफल प्रति म आस्थावान छु। साधारण मानिसका भोगाइहरूलाई कलात्मक तरिकाले कविता र कथाको सिर्जनाद्वारा पाठकसमक्ष स्पष्ट पार्ने प्रयासमा रहन्छु । मानवीय प्रमूल्यबोध, ऐतिहासिक चेतनाबोध, समकालीन सभ्यता-संस्कृति, आर्थ- सामाजिक परिवेशको मूल्याङ्कन इत्यादि धेरै कुराको चर्चा गर्दै वस्तुजगत, जनजीवन र सामाजिक व्यवस्थामा श्रृंखलाबद्धता ल्याउनु नै मेरा रचनाहरूको मूल लक्ष्य हो ।
असमको नेपाली साहित्यको वर्त्तमान स्थिति कस्तो छ ?
उत्तर : वर्तमान असमेली नेपाली साहित्यको अवस्था नराम्रो छैन । विगत पाँच वर्षदेखि यता विभिन्न विधामा प्रशस्त मात्रामा नयाँ कृतिहरू प्रकाशित भइरहेका छन् । विशेषगरि, कविता र निबन्ध विधामा नयाँ उत्साही लेखकहरूको आगमनले यस भेगको साहित्यको भूमि उर्वरशील भएको पाइन्छ । नयाँ सोच, विचार र ध्यान धारणाहरू हाम्रो साहित्यमा समाहित भएको छ। तर मलाई लाग्छ कि सामग्रिकरूपले अझ गहन लेखनको आवश्यकता छ । गुणात्मक स्तरमा अझ धेरै कृति असमेली नेपाली साहित्यमा थपिनु पर्दछ ।
तपाईले आदर्श मानेका लेखकहरू को को हुन् ?
उत्तर : यो अलिक अप्ठ्यारो प्रश्न हो मेरा लागि । किनकी मैले कसैलाई आदर्श लेखकको रुपमा मानेर कलम चलाएको होइन । मेरो अध्ययन कालमा पढेका देश-विदेशका विभिन्न महान स्रष्टालाई सश्रद्ध सम्झन्छु । उनीहरूको रचनाले मेरो लेखकीय जीवनलाई निश्चित रूपले प्रभावित पारेको छ। तर पनि केही लेखक- कविहरूभित्र धेरै मन पर्नेहरूमा ओ' हेनरी, एडगार एलेन पो, पाब्लो नेरुदा, गार्थिया लोर्का, देवकोटा, विशेश्वर प्रसाद कोइराला, हरिभक्त कटुवाल,नीलमणि फुकन, हरेकृष्ण डेका, हीरेन भट्टचार्य आदि मुख्य हुन् । देश-विदेशका अरु पनि लेखकका सृष्टिहरूले मेरो मनलाई आन्दोलित गरिरहन्छ ।
तपाईको दिनचर्या भन्नुपर्दा समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
उत्तर : म धेरै पढ्ने र थोरै लेख्ने गर्दछु । त्यसैले चालिस सालको लेखकीय जीवनमा मेरा दसओटा कृति मात्र प्रकाशित भएका छन् । केन्द्रिय सरकारको एउटा वित्तीय संस्थानमा कार्यरत हुनाले म समयको अभाव अधिक मात्रामा अनुभव गर्दछु । मेरो अध्ययन र लेखनको समय राती नै हो- बेलुकी सात बजेदेखि राती बारह बजेसम्म । योजनाबद्ध तरिकाले म केही लेख्दिनँ। गीत, कथा, कविता, समीक्षाहरू लेख्दै जान्छु अनि त्यसरी थपिदै जान्छन् ।
तपाईलाई लेखनमा घर परिवारको सहयोग कस्तो रहेको छ ?
उत्तर : मेरो लेखन कार्यका लागि घर-परिवारबाट मैले सकारात्मक सहयोग नै पाएको छु । श्रीमती एकजना कुशल गृहिणी हुनाले यस दिशामा म आफुलाई सौभाग्यशाली ठान्दछु । मेरा धेरै सृष्टिको नेपथ्यमा परिवारको ठुलो प्रेरणा रहेको छ। उनी मेरा धेरै ओटा कृतिका प्रकाशिका पनि हुन्।
आफ्ना रचनाहरूमा श्रेष्ठ कुनलाई र किन मान्नुहुन्छ ?
उत्तर: आजसम्म मैले सम्झिनु पर्ने वा श्रेष्ठ भन्ने खालको कुनै कृति लेखिएकै छैन । यस्तो कृति शायद मद्वारा कहिल्यै पनि नलेखिएला । अझ भन्नुपर्दा, एउटा रचना अथवा कृति लेखेपछि अर्कोमा प्रवेश गर्दा सधैं आफुलाई सिकारु नै लाग्दछ । विगत चालिस सालदेखि म एउटा दुईटा गर्दै शब्दहरू जोड्ने कोशिश गर्दैछु । तर पाठकले मन पराउने समसामयिक अनुभवका रचनाहरूले भने मलाई निक्कै सन्तुष्टि दिनेगर्दछ। आजसम्म प्रकाशित कृतिहरूमा मेरो २०१६ सन्मा प्रकाशित 'नीलो चरो र अन्य कविता' (कविता सङ्कलन) लाई प्रिय तथा आग्रही पाठकहरूले धेरै मन पराइदिनु भएको छ ।
लेखकहरूमा अध्ययन, चिन्तन र मननको खडेरी अवस्थाको विषयमा के भन्नु हुन्छ ?
उत्तर : लेखकहरूको मूल आधार नै हो अध्ययन । त्यसपछि विषयप्रतिको चिन्तन र मननले सिर्जनालाई अन्तिम रुप दिने गरिन्छ । अध्ययन बिनाको लेखाई नुन नहालेको तिहुन जस्तै खल्लो हुन्छ । साहित्य- लेखनको नेपथ्यमा वैचारिक चिन्ताधारा, जीवन र जगत प्रतिको दृष्टिकोण, समकालीन सामाजिक परिवेश, स्रष्टाहरूको निजस्व अनुभव इत्यादि धेरै कुरा लुकेको हुन्छ । फेरि यो सबै कुराको केन्द्रिय विषयवस्तु हो अध्ययनको व्यापकता । यतातिर यी कुराहरूको अलिक अभाव भएको देखिन्छ । अब हामीले त्यसै फुर्केर हुँदैन । हाम्रो साहित्यमा कत्तिको खडेरी लागेको छ, यो कुरो अन्य भाषाका साहित्य अध्ययन गर्दा चाल पाइन्छ । क्षणिक आनन्द अथवा जनप्रियताका लागि लेखिएको साहित्य दीर्घम्यादी हुँदैन । प्रचुर अध्ययन, परिश्रम, निरन्तरता तथा निजस्व शैली निर्माण प्रति अधिक सचेत हुन सके मात्रै स्तरीय कृतिको सिर्जना हुने सम्भावना रहन्छ ।
साहित्यका पाठकहरू बढाउनमा के गर्नुपर्छ भन्ने तपाईको विचार छ?
उत्तर: वर्त्तमान प्रायः सबै भारतीय भाषाका साहित्यका पाठकहरूको संख्या अति भयावहरूपले ह्रास भइरहेको छ । अझ हाम्रो भाषा-साहित्यका पाठकहरूको संख्या त अति सङ्कटजनक अवस्थामा छ । सामाजिक सञ्जालको अत्यधिक व्यवहारले गर्दा यस्तो अवस्था भए तापनि अन्य केही कारण पनि यसभित्र निश्चय नै छन्। लेखक, पाठक र प्रकाशक यी तीनै ओटाको संमिश्रणले मात्र साहित्यले भने जस्तो विकसित रूप लिनसक्छ। हामी बिच रहनुपर्ने प्रकाशकको वर्तमान शून्य स्थिति र पुस्तक वितरणको कमीले गर्दा पाठकहरूको हातमा राम्रा कृतिहरू पुग्न सकेका छैनन् । सबैभन्दा पहिले त हामीले पुस्तक पढ्ने अभ्यास गर्नुपर्दछ । हाम्रा साहित्यिक सङ्गठनहरूले पनि गतिशील भएर गर्नुपर्ने काम थुप्रै छन्। व्यवसायिक रुपमा प्रकाशकहरू अघि बढेर आउन सके र विक्रि व्यवस्थामा सुधार ल्याउन सकेको खण्डमा हाम्रा पाठकहरूको संख्यामा निश्चय नै वृद्धि हुनेछ । यस क्षेत्रमा लेखकहरूले अधिक स्तरीय पुस्तकहरू लेख्नु पर्दछ, नियमित पत्र-पत्रिकाहरू छापिनु पर्दछ, लेखक अझ खट्न सक्नु पर्दछ, विक्रि व्यवस्थालाई विकसित गर्नुपर्दछ अनि मात्रै पाठकको संख्यामा बढोत्तरी हुनेछ ।