नेपाली गीत लेखनको क्षेत्रमा भारतबाट नारी गीतकारहरूको उपस्थिति पातलो छ।तीमध्ये पनि प्रायले सङ्गीत र गायनकै निम्ति गीत लेखेका छन्।गीत साहित्यको निम्ति कृति प्रकाशनतर्फ उस्तो उत्साह चलेको पाइँदैन।हुन पनि सङ्गीताश्रित विधा भएर होला गीत भन्नेबित्तिकै जोकोहीले लयबद्ध एउटा श्रव्यसाध्य सम्झिने गर्दछन्।गीत, साहित्य पनि हो भन्ने अवधारणा उस्तो बलियो गरी बनिएकै छैन।त्यसैले गीत लेख्नेहरूले मेरो गीत छापियोस्,गीत सङ्ग्रह प्रकाशित होस् भन्नभन्दा पनि मेरो गीत सङ्गीत,सुर र स्वरबद्ध होस्,गाइयोस् र गुञ्जियोस् भन्ने उद्देश्य राखेरै गीत लेख्ने गरेको पाइन्छ। त्यसमा पनि नारी गीतकारहरूको गणित कमजोरै पाइन्छन्।भारतीय नेपाली गीत लेखनमा नारी गीतकारहरूको चर्चा गर्दा पवित्रादेवी,गंगावती,कला राई,मेलवादेवी,चन्द्रकला देवी,भक्तिकुमारी राणा, अनुसूया,कादम्बिनी,लावण्यमति हुँदै राधिका राया,गीता चाहर,डोरोथी सितलिङ, माया ठटाल उल्लेखनीय छन्।गीत लेखनमा यी नारीहरूका पाइला पहिल्याउँदै अघि बढ्ने अन्य नारी गीतकारहरूमा वाणिरा गिरी,कुसुम गजमेर,गोमा शर्मा,मुन्नी सापकोटा,मैना थापा’आशा’,शान्ति थापा,चन्द्रकला नेवार,लक्खीदेवी सुन्दास,सन्ध्या प्रधान, चन्द्रमित लक्सम, पुष्प राई,आरती राई,तारा दास,रीजू देवी,गौरी सुब्बा,मीनादेवी शंकर, भक्ति शर्मा,सबिता थापा ‘सङ्कल्प ’,अमला छेत्री,मेनुका प्रधान, योगिता राई,आरती नेवार,लीला तिमसिना, सुनिता शर्मा,उमा पोखरेल, अर्पणा शर्मा आदिलाई लिन सकिन्छ।
हालसम्म भारतबाट नारी गीतकारहरूका प्रकाशित गीत सङ्ग्रहका सन्दर्भमा चर्चा गर्ने हो भने गोमा शर्माको तिम्रो प्रेरणा (१९८६),चन्द्रकला नेवारको चन्द्रकला नेवारका गीतहरू (१९८८) र तृष्णाको लहरी (२००५),डा.शान्ति थापाको माया (२००४),भक्ति शर्माका अनुभूतिहरू (२००५),पाइलाहरू(२०१४),निर्बाध मन(२०१९),सबिता सङ्कल्पको सङ्गीताञ्जली (२००६),तारा दासको यो सुन्दर जीवन (२०१३),रूपा लामाको गीति यात्रा (२०२०),रीजू देवीको गीत मञ्जरी (२०२०),लुइस बिष्टको मनोभिराम (२०२२)आदि उल्लेखनीय छन्।यीनै नारी गीतकारहरूका समूहबाट अभिभावक गीतकार पुष्प राई गीतसम्बन्धी लेख र गीतहरू लिएर गीति विचार अनि गीति निनाद केही (२०२३)आइपुगेको छन्।मूलत:आख्यानकारका रूपमा सुपरिचित पुष्प राई धेरैले थाहा नपाएका एक अब्बल गीतकार हुन्।भोलिको प्रतीक्षामा (१९९०),मध्यान्तर (२००७)जस्ता उत्कृष्ट उपन्यासहरू नेपाली साहित्य भण्डारलाई दिइसकेकी स्रष्टा पुष्प राई आफ्ना गीतसम्बन्धी लेख र गीतहरू लिएर पाठकसमक्ष आइपुगेकी छन्।
तीन खण्डमा विभाजित उक्त पुस्तकको पहिलो खण्डमा नेपाली गीत लेखन,गायनका क्षेत्रमा सिद्धहस्त तर दिवंगत स्रष्टाहरूलाई चढाइएको चोखो प्रेम र श्रद्धाञ्जली छ जसअन्तर्गत नेपाली साहित्यका शिखर पुरुष इन्द्रबहादुर राईसमेतलाई पाती चढाउन बिर्सेकी छैनन्।दोस्रो खण्डमा लोक गीतमाथिका अध्ययन र अनुभव अनि मीठा संस्मरणहरूसहितका लेखहरू छन् अनि तेस्रो खण्डमा गीतहरू रहेका छन् र गीतसितै तिनका रचनागर्भका पृष्ठभूमिहरू छन्,जसले गीतसितको कथा पनि पाठकलाई भन्दै जान्छ।
पहिलो खण्डमा जम्मा ६ वटा अध्याय छन् जसमा छोटा लामा अत्यन्तै रोचक लेखहरू छन्। पढ्दै जाँदा कतै कथाजस्तो लाग्ने,कतै एउटा गहकिलो विचारले मन्थन गराउने त फेरि कतै एउटा रूमानी चलचित्र हेरे झैँ रोमाञ्चित र भावुक बनाउने लेखहरूले उनका आख्यान लेखनका सफलतालाई स्पष्ट झल्काएको पाइन्छ। नेपाली गीत प्रकाशनका परम्पराको थालनी गर्ने हाजीरमान राईलाई समर्पण गरिएको उक्त पुस्तकमा श्रद्धाञ्जली शीर्षकबाट थालनी गरिएको छ।जहाँ उनी लेख्छिन्;
श्रद्धाञ्जली-वास्तवमा व्यक्तिको गुण,महानतामा श्रद्धा व्यक्त गर्ने शब्द हो।लोकले यसलाई तर दिवङ्गतका लागि श्रद्धा अर्पणको विशेष अर्थमा प्रयोग गर्दै ल्यायो।जसले गर्दा आज श्रद्धाञ्जली मृतात्माकन श्रद्धा अर्पण गर्ने शब्दको रूपमा स्वीकारिएको छ।यसै रूढ अर्थमा सम्बद्ध पाठको पूर्वकथन सविनय प्रस्तुत गर्न अघि सरिरहेछु।………….मान्छे मर्छ तर उ कर्ममा बाँच्छ र यादमा फक्रन्छ श्रद्धार्पणसितै हार्दिक श्रद्धाञ्जली दिवङ्गतको यसै बँचाइ विशेषको प्रथम विवरणी हो,दस्तावेज हो,मौखिक शब्दहरू-वक्तव्यमा, अक्षरहरू-लेख लेखनमा,शोककाव्य अनि शोकगीतमा।
साँच्चै कर्ममा बाँचेका मान्छेलाई मृत्योप्रान्त पनि सोही कर्मले अमरत्व प्रदान गर्दछ।बाँचिञ्जेल गरेका सुकृतिले समाजलाई जुनी जुनी फल खुवाइरहन्छ। यस्तै कर्ममय जीवन बाँचेर देहलीला समाप्त गर्नेहरूमध्ये हाजीरमान राई,इन्द्रबहादुर राई र गगन गुरूङप्रतिको निश्छल अविरल श्रद्धागीत उनका लेखमा पाइन्छन्।हाजीरमान राईप्रति आफ्ना उदगारमा पुष्प राई लेख्छिन्;
घडेरीबिना देवालय कहाँ?
यहाँ प्रयुक्त तीनवटा साधारण लाग्ने शब्दले बोकेको असाधारण अर्थ जुन छ त्यसैले पुजेकी छन् हाजीरमान राईको गीतिकारितालाई। देवालयभन्दा ठूलो र बलियो त देवालय अड्याउने र ठड्याउने आधार हो।नेपाली गीत लेखनको क्षेत्रमा हाजीरमान राईलाई घडेरीको संज्ञा दिँदै गीत साहित्यले बनाउँदै ल्याएको मन्दिरको भुइँ मानेकी छन्।वास्तवमा भुइँभन्दा अग्लो न केही छ न कोही छ।मन्दिरमा चढाइने चोखो नैवेद्यभन्दा कम छैन यो उदगार। अनि साँचो अर्थमा, यी तीन शब्दले गीत लेखन र प्रकाशनको सगर थामेको पाइन्छ।
उनको अर्को लेख स्वर्गीय इबराप्रति श्रद्धाञ्जली -मा नेपाली साहित्य जगतका शिखर पुरुष इन्द्रबहादुर राईका विशिष्ट योगदानलाई सम्झना गर्दै उनी लेख्छिन् –
जाति/साहित्य सम्बद्ध साङ्गोपाङ्ग सरोकारजन्य स्व.इबराका भरि चिन्तन यी बलशाली आधार छन् लहना छन् हामीलाई, लक्ष्य प्राप्तिलाई, अघि बढ्नलाई, उन्नति गर्नलाई।
इन्द्रबहादुर राईलाई ओत-को संज्ञा दिदै यति छोटो वाक्यमा उनलाई सारगर्भित व्याख्या गर्ने यो शैलीगत क्षमता पुष्प राईबाहेक अरूले विरलै सक्लान्।
गगन गुरूङ नेपाली सङ्गीत जगतमा समग्र नेपाली जातिका परिचय पत्र हुन्।गीत लेखन,सङ्गीत, गायनमा आफ्नो बलियो उपस्थिति दिएर काम गर्ने गगन गुरूङले आफू मात्र काम गरेनन् तर प्रतिभाशाली स्रष्टाहरूलाई केही गरिरहन आग्रह गरिरहे।पुष्प राईले गगन गुरूङसितको सामिप्य र सान्निध्य पाएर केही गीतहरू रचना गरेकी कुरालाई रचनागर्भका प्रसङ्गसहित उल्लेख गरेकी छन्।गगन गुरूङको उदारचित्त, प्रेरणादायी कुराकानी, रसिक प्रवृत्ति, जाँगरिलो आँट र अरूप्रतिको बलियो भरोसालाई चस्स चस्स छुँदै उनीसितको आत्मीय सम्बन्धलाई यसरी लेख्छिन्;
जिन्दगीमा कहिलेकाहीँ केवल भाग्यले केही किमती सम्बन्ध जुराउँछ, कुनै न कुनै मानेमा जीवनको सार्थकतालाई,आनन्दलाई, को जाने?आगत-अनागत सत्कर्मलाई।निजी जीवनका एक अनेक कठिन-सुगम पटाक्षेपलाई धेरै धेरै वर्षको अन्तरालमा सन् १९९० यता दाजु गगन गुरूङसित पुन:परिपक्व सम्पर्क जुरयो उहाँकै पहलमा दार्जीलिङ एम.पी.रोडको निजी दोकान हिमालयन रेडियो सर्भिसमा। पहल थियो उहाँको,मेरो लोसे गीत लेखन सन्दर्भमा।गीत लेख्ने उनी,गाउने उनी,सङ्गीत भर्ने उनी,सर्वमान्य स्रष्टा-सङ्गीतकार फेरि उनी,अनुज पिडीका प्रेरक पथप्रदर्शक, साङ्गीतिक अभिभावक पनि उनी।आफू भने जाबो एक अदना कलमी।बजार आउनुहुँदा बेलाबखत दोकान निस्कनुहुन्थ्यो। कहिले त कुनै नयाँ गीत सिर्जनाको केवल बोलपद तर सम्पूर्ण तयार धुन सुनाउनुहुन्थ्यो।मैलेचाहिँ सो मुखडाको आग्नेयभावलाई कतै नखजमजाई अजस्र शब्दरचनामा टुङ्गोमा पुरयाउनुपर्ने।….
यहाँ गगन गुरूङको बलियो भरोसा पुष्प राईको काँधमा कति विस्तारित छ।यसरी गगन गुरूङले पुष्प राईभित्र सुषुप्त अवस्थामा रहेको गीति प्रतिभालाई उत्खनन,आविष्कार गरी आजको सफल गीतकार बनाउन यसरी कसरत गरेको पाइन्छ। कोहीबेला स्थायी मात्र लिएर आउने,कहिले एउटा लहर मात्र लिएर आउने त कहिले धुनमात्र लिएर आउने अनि गीतकार पुष्प राईलाई अरू जिम्मा छोडेर जाने।प्रतिभाले सुसम्पन्न व्यक्ति पुष्प राईले यसरी थुप्रै गीतहरू लेख्नुपरेको सोदाहरण प्रस्तुतिले पाठकलाई एउटा अलग कल्पना प्रदेशमा पुरयाउँछ। यसरी पुष्प राईको मौलिक गीत लेखन चेतनाले मलजल पाएको इमानदार स्वीकारोक्तिका साथ लेखिएको उक्त श्रद्धाञ्जली लेखले गगन गुरूङको व्यक्ति र कृतिलाई कोमल स्पर्श गरेको पाइन्छ ।
दोस्रो खण्डको पहिलो लेख लोक गीत शीर्षकमा छ।लोक हाम्रो आधुनिकताको, सभ्यताको आधार हो।हाम्रो विविधतामा हुर्केको गीतको आधारभूइँ हो।लोक गीतको महत्ता र उद्देश्यप्रति उनी आफ्नो विचार यसरी राख्छिन्-गीत मूलत: दुखसुखको सुस्केरा भएकाले जन जीवनसित गीतको नङमासु जत्तिकै घनिष्ट सम्बन्ध छ।मनमा लागेका कुराहरू भन्नु ‘अभिव्यक्ति’ मान्छे जातको प्रवृत्ति हो।यही स्वभावले गर्दा आदिम युगदेखि लोकजीवनको सुखदुख,सङ्कट,बिघ्नबाधा,हर्ष, उन्मादादि पोख्ने साधनको रूपमा लोकको गीत अस्तित्वमा आयो।लोक गीतको उद्देश्य लोक मनोरञ्जन र लोक कल्याण हो।लोक गीतमाथि लेखिएको उक्त लेखले हाम्रो ग्रामीण समाजमा बाँचेको गीतको परम्परालाई केही मात्रामा सम्बोधन गरेको छ।उनको अर्को लेख गीति विचार, गीति संस्मरण केही शीर्षक लेख निकै खोजपरक बनेको छ।गीत लेखनको प्रारम्भिक चरणबाट केलाउँदै निफन्दै अहिलेसम्मका गीत यात्रालाई समयका प्रतिनिधि गीतकारहरूका गीतांशसहित उल्लेख गरिएको उक्त लेखले गीत साहित्यका पाठक विद्यार्थीलाई थुप्रै जानकारीसहित बौद्धिक खुराक पनि दिएको छ।भारतीय नेपाली गीत इतिहासमा पहिलो रेकर्ड निकाल्ने गायक सेतुराम श्रेष्ठ र मेलवादेवीसमेतको प्रसङ्ग उल्लेखले उक्त लेख अत्यन्तै पठनप्रिय छ।आफ्ना संस्मरणमा रहेका घटना र इतिहासकथाको सत्यतथ्यलाई अघि सार्दै चित्ताकर्षक शैलीमा प्रस्तुत गर्ने उनको वैशिष्ट्यले पाठकको हृदय र मष्तिष्कलाई छुएर जान्छ। दार्जीलिङका ख्यातनामा गायक-गायिका,सङ्गीतकारहरूसँगको उठबस र सम्पर्कलाई ताजा बनाउँदै सबैका नाम र कामको सम्झना गर्नु यो लेखको अभीष्ट रहेको पाइन्छ।दोस्रो खण्डमा गीति विचार अन्तर्गत खण्डभित्र समाविष्ट लेखहरूका पूर्व अभिव्यक्ति अनि आभार ज्ञापन पनि समेटिएको छ।पुस्तक प्रकाशनका निम्ति आफूले पाएको सहयोग र हौसलाका निम्ति गीतिमय ढङ्गले आफ्ना अनुगृहिति जनाउने उनको सभ्य र सौम्य संस्कार उच्च कोटिको लाग्दछ।आफ्ना लेखनका प्रारम्भिक यादहरू र तिनीहरूसित आवद्ध व्यक्तिहरूलाई रिट्ठा नबिराई क्रमैले सम्झिनु र कृतज्ञता प्रकट गर्नु उनको सात्विक विचारको अवधारणा मानिलिन सकिन्छ।
यसपछि तेस्रो खण्ड अर्थात गीतगाउँमा पुगिन्छ।जसभित्र विविध भाव र विषयमा लेखिएका जम्मा एकचालीसवटा गीतहरू पाइन्छन्।प्रत्येक गीतहरूका पूर्वपिठिकाहरूसहित रचना मिति पनि छन्।
मिरमिरे बिहान सूर्यको दर्शन
टाइगर हिलैमा
दार्जीलिङ शहर के राम्रो हेर न
प्रभाती किरणमा…..(पृ.८७)
सङ्गीतकार बसन्त छेत्रीको सङ्गीत र पवन गोले अनि रिमला मोक्तानको सुमधुर स्वरमा सजिएको यो गीतले एकसमय पहाड पिटेकै हो।हुन त राजनैतिक अराजकताले ल्याङफ्याङ पारेको दार्जीलिङ, प्रशासनिक उदासिनताले तहसनहस पारेको दार्जीलिङलाई कलाकारहरू प्रतिष्ठा र मान सम्मानको रङ रोगन भरिरहन्छन् र प्राणभन्दा प्यारो दार्जीलिङको मर्यादा र महिमागान गुञ्जाइरहन्छन्।दार्जीलिङको सौन्दर्य कविको कवितामा,गीतकारको गीतमा,कथाकारको कथामा, चित्रकारको चित्रमा चिटिक्क बिम्ब बनेर बसेको हुन्छ।यहाँको सौन्दर्यको वैशिष्ट्य यहाँका हरेक प्राकृतिक ठाउँ दृश्यहरूले बढो हिफाजतका साथ बोकेका छन्।
पोल्टोमा यसको ती चियाबारी
चुल्ठोमा चाँप गुराँस
सुनको यसको शिरबन्दी उस्तै
सुन्तला खेतीको……।(पृ.८८)
आफ्नोपनको महक बोकेको यो गीतको पोल्टो र चुल्ठोले हाम्री बुलाकी लाउने हजुरआमा र लावण्य चढ्दै गरेकी तरुणी आँखामा झल्झली आउँछन्।
गीतकार पुष्प राईले पनि दार्जीलिङप्रतिको आफ्नो मोह यसरी गीतमा अक्षुण्ण राखेकी छन्।प्रस्तुत गीतभित्र दार्जीलिङे माटोको सुगन्ध,यहाँको खोला-नाला,डाँडा-पाखा,घुम्ती आदिको सुन्दर बयानले गर्दा गीतले हामीलाई सिङ्गो दार्जीलिङ विचरण गराउँछ।
गीतले जीवनसित अन्तरङ्ग साइनो राख्छ।जीवन भनेकै उकाला अप्ठ्याराहरू पनि हुन् काँडा र धारहरू पनि हुन्,ठोकर र घातहरू हुन्,अमर्ष र बोझिल यादहरू पनि हुन्।जीवनमा प्रेम भन्नु नै पीडा हो।जुन दिनदेखि मान्छेले प्रेम गर्नुथाल्छ त्यही दिनदेखि उ पीडामा पर्छ।दिनको भोक त्यसै टर्छ रातको निद्रा सिरानीमा कोल्टे फेर्छ।यस्तै यादमा अल्झिएर घात बल्झिएर एउटा दुख्दो प्रेमिल गीत लेख्छिन् गीतकार ;
निस्सासिएछ यो रात मसितै
धुँवा बनी तिम्रा यादहरू
बतिसिएछ प्रात:सुखसितै
दिन बनी केवल घातहरू
कस्तो अभाग ती रातहरू
कस्तो बेस्वाद यी अन्तर्दाहहरू
मलाई नै पिरोल्ने
मलाई नै खिज्याउने
रह्यो नै अब के अवशेष
मात्र तिम्रो सम्झना बाँकी छ
त्यो पनि अचिनारू भई
मैदेखि तर्की जाँदैछ। (पृ.९२-९३)
प्रेमले दिएको विरह पनि बिझाइरहने काँडासरह हो।जति नै बाँधेर राख्न खोजेपनि बाइपङ्खी घोडा चढेर हाम फाल्दै, छलाङ लगाउँदै मन आफ्नो खुशी ठाउँमा पुग्छ।
नहेरूँ भन्छु नसम्झूँ भन्छु
पिरतीका ती आँखा
समसाँझै पुग्छ मन मेरो किन
ऊ बस्ने त्यो डाँडा….(पृ.१०१)
प्रेम आशक्ति होइन बरु आग्रह हो।यो सविनय अनुरोध कति शिष्ट सुहाउँदो छ गीतकार पुष्प राईको;
सुदूर बनको एकलासे कुनामा
पागल झरीले रँगाएको ठाउँमा
आऊ!जाऊँ उहीँ खिल्न, उहीँ फुल्न
गगनको झुलामा तारासँगै झुलौँ
मेघको वाहनमा सारा आकाश घुमौँ
तीता भइदिएछ यहाँ त विपना
उहीँ गई बटुलौँ बान्किला सपना…। (पृ.१२२)
अवसादको अवधारणामा लेखिएको यो गीतलाई पुरुषोत्तम सुब्बाले सङ्गीत भरेका छन् भने सुनिता प्रधानको श्रुतिमधुर स्वरले सजिएको छ।
यस्ता पीडाका गीतहरू लेख्न गीतकार यति सफल छन्;
उदास हुनुको मिठास
खुशी हुनुको मिठास
तिमीलाई के थाहा?
तिम्रो हरेक यादमा
छ सुवासै सुवास
जिउने मीठो आभास
यो ऋतुभरि किन हो
फूलहरू फुलेनन्
यो बर्खा मासभरि
मन यो कतै रूझेन
याद केवल यादमा
उठे पोखे खुशीका छालहरू….. ।(पृ. ११३)
जीवनमा कता कता बल्झिरहने मीठो याद छ जो गीत लेखनमा ऊर्जा र शक्ति बनेर छाइरहन्छ। उबेला रोइएका क्षणहरू होलान्, अहिलेलाई सम्झेर मुस्कुराउने मीठो याद छ गीतकारसित।
दार्जीलिङका पुराना लेखकहरूले आफ्ना कथा उपन्यासहरूमा उल्लेख गरिरहने ठाउँ हो लालहिटी। पछि जनजिब्रोले त्यसलाई लालढिकी बनायो।लालढिकी बनिएपछि गीतकार पुष्प राईले उक्त नाम बिम्ब गीतमा टिपिन्;
पानी पर्यो रिमिझिमी असार सावनमा
बाँकी महिना टिनको थाक लालढिकी धारैमा..(पृ.११२)
असार सावनमा त हात्तीसुँडे पानी पर्छ,कथाकार इबरा-को ‘रातभरि हुरी चल्यो’ कथामाजस्तै।तर यहाँ रिमझिम वर्षाले असार सावनको झरीलाई बोक्न नसकेको भान हुन्छ। लालढिकी धारामा तिर्खालु भुल्डुङहरूको थुप्रोले दार्जीलिङको गाडे घाउ र राजनेताको चुनावी भाउ पानीको समस्यालाई व्यङ्ग्यात्मक शैलीमा उदाङ्गो पारिदिएको छ।गीतकारको उक्त गीत पढ्दा लाग्छ गीतले जीवनको सुगमता मात्र रोज्दैन तर जीवनले भोगेका तमाम दुख र समस्याहरू पनि खोज्दछ। गीतले कुनैबेला सहज कुरालाई गम्भीर पाराले अभिव्यक्त गर्छ त कहिले गम्भीर कुरालाई सहज तरिकाले।गम्भीर कुराहरू जीवन दर्शनका छेउनजिक हुन्छन्।जीवनका अनुभव-अनुभूति,भोगाइ-बुझाइले पाक्दै गएपछि,संसारलाई बुझ्दै छिचोल्दै गएपछि मान्छेमा शायद यस्तो परिपक्वता आउँदो हो।गीतकार पुष्प राईलाई हामी गीतहरूमा यस्तो दार्शनिक अवतारमा पनि देख्न पाउँछौँ।
म जिन्दगीलाई डोरयाउँछु
जिन्दगी मलाई
भौँतारिएर फर्केको छाल झैँ
म सदा सदा किनार छु।
क्षितिजलाई कुरिरहने
मेरा उमङ्गहरू
निष्ठुर क्षणहरूमा
खाक बनेका मेरा अङ्गहरू
मौन मौन उच्छवासमा
जीवनको हरेक हरफमा
प्रतिरोध देख्दा
लाग्छ मलाई
म जिन्दगीलाई डोरयाउँछु
जिन्दगी मलाई……।पृ.९५)
गीतकारलाई झरी महिना साह्रै मनप्रिय छ।उनले धेरै ठाउँमा झरीको बयान गरेकी छन्।झरीले निथ्रुक्क भिजेको एउटा कोमल गीत;
धुकचुक धुकचुक मन भयो
असार महिनामा
उडूँ कि नाचूँ मन मेरो रमझम
सावने झरीमा……।(पृ.११४)
उक्त गीत सङ्गीतकार ब्राइन मोक्तानको सङ्गीत र गायिका ल्हमु छिरिङको स्वरमा निकै चर्चित र लोकप्रिय बनेको गीत हो।
गीतकारले एकल र युगल दुवै किसिमका गीतहरू लेखेका छन्।यस कृतिभित्र उनका चारवटा युगल गीतहरू समावेश छन्।ती गीतहरूका केन्द्रभूमि प्रणय छ।जीवन बाँच्नलाई आशा चाहिन्छ। प्रेम आशाको उत्स हो।प्रेम प्रकृतिका जुनैपनि थोकसँग हुनसक्छ।गीतकार प्रकृति र जीवन जगतका तमाम कुराहरूसित प्रेम गर्छिन्,तिनीहरूलाई आफ्नो ठान्छिन् र तिनीहरूकै सेरोफेरोमा आफ्नो भाव अभिव्यक्त गर्छिन्।दलसिंह गहतराजको शब्द सङ्गीतमा रहेको नेप्टी चेप्टी दार्जीलिङ कस्तो छ भन्ने गीतलाई उनले पुनर्लेखन पनि गरेकी छन्।गायनमा अचेल यो फेसन चलेको छ जसलाई रिमेक,कभर आदि भनिन्छ।लेखनमा पनि गीतकारले यो अभ्यास गरेकी छन् तर रचना उनको मौलिक छ।रोजगारको लागि विदेशिनु परेको युवाहरूको बाध्यतालाई गीतले खूबै मार्मिक ढङ्गले सम्बोधन गरेको छ।गीतकारको विचारमा गीत मूलत:जीवन प्रवाहमा प्राप्त संवेग विशेष-विशेष संवेदनशील अनुभूतिको रागात्मक अभिव्यक्ति हो।समयको विविध रङ,बोधको अन्तर्गुञ्जन। ओ,प्रतिध्वनि हो।उनका यीनै विचारका सेरोफेरोमा रहेर गीतहरू हेर्दा यी कुराहरू सत्य साबित भएका पाइन्छन्।प्राय:गीतहरू सङ्गीत र स्वरबद्ध भइसकेका छन्।वरेण्य सङ्गीत साधक नारीचुली शान्ति ठटालको ओजस्वी भूमिकाले कृतिको गरिमालाई अझ उचालेको छ।शान्ति ठटालको यो अध्ययनशील र गहन लेखले उनको सङ्गीतसँगसँगै साहित्यप्रतिको अध्ययन प्रमाण गर्दछ।समग्रमा,भूमिकाले कृतिलाई ससम्मान न्याय गरेको छ।मनप्रसाद सुब्बा र कमल रेग्मीको छोटा छरिता लेखले गीतकारको सफल गीतिकारिताको खुलेर चर्चा गरेको पाइन्छ। सन् २०२३ मा प्रकाशित उनको यो पुस्तक गीति विचार अनि गीति निनाद केही सँगै रचना कतिपय पनि प्रकाशित पाइन्छ।प्रचार प्रसारको होहल्ला,विज्ञापनको बजारदेखि अलग एकान्त रूचाउने उनका साहित्यिक योगदानको सम्यक मूल्याङ्कन गर्न साहित्यिक समाज चुकिरहेको भान हुन्छ तथापि यी सबैदेखि माथि उठेर साहित्य साधनामा आफूलाई व्यस्त राख्ने स्रष्टा पुष्प राई नेपाली साहित्य जगतका एक मोती हुन्।
दार्जीलिङ