आज बिहान मन्दिरतिर हुँदै बाहिरतिर घुम्न जाने पारिवारिक योजनानुसार उषारमणलाई स्थगन गरेर घरमैं बसें । हुन त हिजो बेलुकी हिथउड पार्कतिर जाँदा तीनजना नेपालीहरु बास्केटबल खेलिरहेको देखें । पराई देशमा नेपाली अनुहार, त्यो पनि समवयका देख्दा आफ्नै सहपाठी देखे झैं लाग्ने रहेछ । ती मध्ये दुईजना आंशिक परिचित र एकजना कम कमै अपरिचित थिए । प्रेम रानाभाट र बलबहादुर गुरुँग र तीसबहादुर गुँरुग मित्रहरु चितवनका थिए । एकाध पटक भेट र कुराकानी भएको थियो । मैले सकेसम्म परिचितजस्तो मुस्कान दिने प्रयत्न गरें र जवाफमा उनीहरुले पनि मन्द मुस्कानसहित खेल्न आउँने इशारा गरे । उनीहरुको निम्तोलाई स्वीकार्दै मज्जाले खेलेर केहीबेर पहिला खाएको एक गिलाँस उखुको रस पचाएको ठानें ।
नेपालीलाई जहाँ गए पनि, जहाँ भए पनि आफ्नो धर्म, संस्कृति र विश्वासको दीयो बाल्न कन्जुस्याँइ पटक्कै गर्दैनन् । बिदेशमा भए पनि कतै मन्दिर छ भनें पुगिहाल्छन् । मन्दिर वरिपरी अलि फरक किसिमको सकारात्मक प्रकम्पनको अनुभूति हुन्छ नै । त्यसैले अमेरिका गए पनि या अष्ट्रेलिया आए पनि विशेष अवसरमा मन्दिर गइन्छ । पहिला पनि ब्रिजबन आउँदा मन्दिर गएकै हो । यसपटक हामी कुर्पुरुमा नभै पल्लारामा छौं । यो ब्रिजबन शहरबाट आधाघण्टा पर छ । हुन त यो ठाउँ पनि ब्रिजबन शहरकै एउटा वडा रहेछ । यहाँ छोरीज्वाइँकोमा गृहपूजनपछि मैयाको अडान “ नजिकैको कुनै मन्दिरमा जानु” रहेको थियो । त्यसो त महाशिवरात्री पनि संगसंगै आएको थियो । आज शनिवार पनि भएकोले मन्दिर पसेर अष्ट्रेलिया कै आकर्षक पर्यटकीय गन्तव्य गोल्डक्वेस्टसम्म पुग्ने योजना बन्यो । हुन त यसभन्दा पहिला दुईतीन पटक पुगिसकेका थियौं । तर एउटा विस्तृत समुद्री किनारमा बसेको पर्यटकीय शहर “गोल्डक्वेस्ट” सम्पूर्ण रुपमा मन अघाउन्जेल गरी अवलोकन गर्न पनि पटक पटक जानैपर्छ ।
घुम्न जाने भनेपछि मैयाको शरीरको फुर्ती नै अचम्मले बढ्छ । बिहानै उठेर भान्सामा खत्र्याक खुत्रुक गरेपछि दुईटा झोला भरिएछन् । यसोउसो गर्दा साढे दश भैगएछ । म जिन्सको पाइन्ट (जो मलाई सँधै मनपर्छ) र टिशर्ट लगाएर निस्केपछि “ह्या के पाइन्ट लगा’को घुम्न जाँदा पनि ?” भनेर मैयाले टिप्पणी गरेपछि मैले मन नलागि नलागि भित्र गै हाफ पाइन्ट लगाएँ । सम्झें, हामी नेपालमा घरमा बस्दा कट्टुसट्टु लगाए पनि बाहिर निस्कँदा पाइन्ट वा सुरुवाल लगाईवरी जुत्ता मोजा लगाएर निस्कन्छौं । यहाँभनें बाहिर निस्कँदा लगाइराखेको ट्राउजर फुकालेर हाफ पाइन्ट लगाउँनुपर्ने ! जस्तो देश, उस्तै भेष । आफ्ना सुइँखुट्टे खुट्टाहरुलाई कट्टु हैन, पाइन्ट नै सुहाउँछ । यस्तै गनगन गर्दै हाफ पाइन्ट (कट्टु) लगाई निस्कें । बन्दोबस्तीका सामान मोटरमा लादेर दक्षिण हानियौं ।
हामी उत्तरी गोलार्द्धका वासिन्दा दक्षिणी गोलार्द्धमा आइपुग्दा धेरैकुरा उल्टोपाल्टो हुन जान्छ । हामी नेपालमा छँदा मुटु नै कठ्याँग्रिने जाडो थियो । यहाँ आइपुग्दा त प्रचण्ड गर्मी छ । उता नेपालमा प्रचण्डको रापताप बढिरहेकोले पक्षविपक्ष सबैको मुटु तातिरहेको होला । प्रचण्डले काँध फेरेपछि सूर्यबहादुरले पनि तताउँने मेसो परेको छ । राजनैतिक हिसाबले देशमा वामपन्थको रजगज भए पनि भूगोलको हिसाबले नेपालमा सूर्य दक्षिणायण थियो भनें यहाँ उत्तरायण छ । त्यसले गर्दा सुरुमा त पूर्व पश्चिमजस्तो र पश्चिम पूर्वजस्तो मात्र नलागि उत्तर दक्षिणजस्तो र दक्षिण उत्तरजस्तो पो लाग्दोरहेछ । मलाई शंका लागेर पटक पटक मोबाइलको कम्पासबाट चेकजाँच पनि गर्न वाध्य भएको थिएँ ।
“ ओहो ! बाटो वरिपरी कति राम्रो जंगल !” भनेर मैयाले बाहिर देखाएपछि हाम्रो नजर बाटो वरिपरी गयो । हो त, अष्ट्रेलियाको अधिकांश भूभाग मरुभूमिले ढाकेको भए पनि बाँकी भूभाग मात्र नभै शहरबजार र वस्तीहरुमा हरियालीको अत्यन्तै सचेततापूर्वक राम्रो व्यवस्थापन गरेक प्रकृतिको विराट, अनन्त र सुकुमार रुपको अत्यन्तै सतर्कतापूर्वक संरक्षणमा ध्यान दिइएको छ ।
हामी नेपालमा परम कृपालु प्रकृतिले उदारतापूर्वक प्रदान गरेको विपुल सम्पदाप्रति मुढता प्रदर्शन गर्दै सम्पूर्ण प्राकृतिक वस्तुहरुप्रति चरम द्वैष राखी विनाश गर्न रुचाउँछौं । यो हाम्रो बठ्याइँ हो या मूर्खता ? बाँदर लागे भनेर जँगल सफाचट बनाउँन बडो रुचि राख्छौं । शहरबजारमा अलिकती बाँकी रहेका चौतारीमा बाटो साँघुरो भयो भनि डोजर हान्छौं । बरपिपलको रुख ढलेर मरौंला भन्ने डरले बन्चरो लिई ढाल्न पुगिहाल्छौं । हाम्रा मेयर र वडाध्यक्षहरु पनि बोटविरुवा र चौताराप्रति बडो निर्मम देखिन्छन् । मानौं, उनीहरु चुनिएकै बोटविरुवा, नदीनाला, तालतलैया र सार्वजनिक ठाउँ मास्नलाई हो कि झैं गरेर । तर बिदेशतिर शहर पनि हरियालीपूर्ण छन् । बाटोमा परेका रुख पनि संरक्षण गरेको देखिन्छ । एकदिन हिथउड पार्कतिर जाँदै गर्दा म निहुँरिदा निहुँरिंदै सल्लाका पातले मेरो चश्माभित्र पुगी आँखा छोयो । बाटो हिंडदा यसरी निहुरेर तर्कनुपर्ने बोटविरुवा ठाउँ ठाउँमा छन् । तर नगरले काँटछाँट गर्दैन । जबकी बाटो वरपरको घाँस भनें हप्तैपिच्छे मेसिन ल्याइ निर्ममतापूर्वक काटेर हरिया गलैंचा ओच्छ्याई जनताहरुप्रति पूर्ण जिम्मेवारी बन्नमा गर्व गर्छन्। हावा लाग्दा वा पानी पर्दा रुखका हाँगा भाँच्चिएर खसेर चोटपटक लाग्नसक्छ । तर बटुवा आँफै चनाखो हुनुपर्छ । त्यही बहानामा रुखमा बन्चरो बजार्ने चलन यहाँ रहेनछ । बाटो परिपरीको बिस्तृत भूभागमा फैलिएको जंगल र ठाउँ ठाउँमा जंगलभित्र घर । ब्राउन्सप्लेस पुग्दा बजार आयो ।हामी माउण्ट लिन्से हाइवे लाग्यौं । लोगन पनि हरियालीले समृद्ध दृष्टिगोचर हुन्छ ।
यहाँको मन्दिर दक्षिण भारतीय शैलीमा निर्माण गरिएको छ । पुजारी लगायत उपस्थित भक्तजनहरु पनि भारतीय नै देखिन्छन् । नेपाली अनुहार पनि नदेखिने भनें हैन । नेपालीहरु पनि बाक्लै देखिन्छन् ।
मन्दिर व्यवस्थापनको नियमानुसारको विधिबाट गणेश भगवान र अन्य देवीदेवताको दर्शन गरेर “आँफुले ल्याएको खानेकुरा यतै खाउँ” भन्ने गृहिणीको रायको उच्च सम्मान गर्दै मन्दिर परिसरकै भोजनालयतिर लाग्यौं । हाम्रो योजना के थियो भनें भोजनालयबाट दक्षिण भारतीय लोकप्रिय खाना डोसा लिने र हाम्रो खाना पनि मिसमास गरेर खाने थियो । तर काउण्टरमा ग्राहकको लर्को र भरिभराउ मेच टेबल देखेपछि बाटोमा पर्ने कुनै पार्कमा बसेर खाउँला भनेर हिड्यौं ।
हामी गोल्डक्वेस्टका लागि पूर्व हानियौ । फेरी उत्तरको बाटो लाग्यौं । यो ठाउँको नाम लोगन रहेछ । ठाउँ ठाउँमा पातला तर रमणीय वस्ती र हरियालीपूर्ण वातावरण भएको लोगन गाउँ कटेपछि बिशाल भवन देख्यौं । अलि पर गएपछि थाहा भयो यो त इम्पायर इण्ड्रष्ट्रियल ईस्टेट रहेछ । अनेक उद्योगहरुले परिपुष्ट इस्टेट पनि वातावरणीय दृष्टिले कुनै खोट लगाउँने ठाउँ देखिएन । इस्टेट कटेपछि हामी प्यासिफिक मोटर वे (m1) पुगेपछि स्पिड घटाउँन वाध्य भयौं । प्रतिघण्टा १०० किलोमीटरको स्पीडमा कुद्नुपर्ने गाडी ४०/५० मा झ-यो । बीस मिनेटको बाटो कट्न एकघण्टा लाग्नेभयो । चार चार लेनको बाटो जाम हुनुको कारण आज शनिवार बिदाको दिन परेकोले हो ।
बाटोको जाम छिचोल्दै हामी समुद्रको किनारमा पुग्दा सँधै झैं पार्किंगको समस्या फैलिइरहेको थियो ।
बर्लिगबिचमा कसो कसो एउटा ठाउँ मिल्यो । गाडी पार्क गरेर एकनजर मुगाको सागरतिर (coral sea) दियौं । दिनको दुईबजेतिर सागर आफ्ना बाहुहरु मच्चाउँदै किनारतिर दौडिरहेको थियो । प्रकृतिको बिराट, अनन्त र सुकुमार रुपको प्रदर्शनलाई विमुग्ध र विस्मृत भै समुद्रको विलक्षणतासित आत्मीयता गाँस्न पुग्यौं । हामीसंगै सयौं पर्यटकहरु ती उन्मत्त छालहरुसंग पौठेजोरी खेलीरहेका थिए । अलिपर सर्फस् प्रतियोगिता भैरहेको थियो र माइकबाट “कमेण्ट्री “ आइरहेको थियो ।
किनारमा विस्तृतरुपमा फैलिएको काँटछाँट गरेर सुकाइएको हरियो गलैचाजस्तो पार्कमा नजिकै टेबुल देखियो । तर त्यसमाथि बियरका ८/१० बोतल राखिएका थिए । वरिपरी अनेकानेक जातका बोटहरु आकाशको छाती छेडौंला झैं गरेर गर्वानुभूति गरिरहेका थिए । पैदलमार्गमा फिरन्तेहरु ओहोरदोहोर गरिरहेका थिए । दौडने र साइकलमा कुद्ने पनि बाक्लै थिए । स्वच्छन्द वेशभूषाको प्रदर्शनीले रंगिन भावको अभिव्यंजनासहित शृंगारिक काव्योत्सवको आयोजनामा मग्न थिए ।
“ यहाँ त कसैले ठाउँ ओगटिसकेका रहेछन् ! उऽऽ पल्तिर अर्को टेबुल खाली रहेछ ।” भन्दै मैयाले नातिनीको हात समाउँदै समुद्रलाई छुट्याउँने मझौला रुखहरुले छपक्कै छोपेको काठेबारको नजिकैको टेबुलतिर लागेपछि हामी पनि बन्दोबस्तीका सामान बोकेर पछि लाग्यौं ।
मुँगे सागर(Coral sea) बाघे गर्जन गरिरहेको थियो । हरियो चौरका बीचमा पदमार्ग, जहाँ मानिसहरु हिंडिरहेका र कोही दौडिने पनि बाक्लै थिए । बिभिन्न जातका ठूल्ठूला रुखहरुका सामुन्ने बहुतले भवनहरुका शृंखला र चराचुरुँगी धक नमानी फ-याक फुरुक गरिरहेका थिए । मानौं उनीहरुको स्वअस्तित्वलाई कसैले बाधा अवरोध पुग्ने काम गरिरहेका छैनन् ।
हामीले लगभग तीनघण्टा संसारैलाई भूलेर पार्क, किनारको बालुवा र समुद्रमा आँफुलाई मिसाइदियौं ।