17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पुनहिलसम्मको यात्रा

नियात्रा प्रमाण अधिकारी April 14, 2024, 2:37 pm
प्रमाण अधिकारी
प्रमाण अधिकारी

म कास्कीको पोखरेली भए पनि पोखरा हुँदै तय गरिने धेरै पदयात्रा र पुगिने पर्यटकीय स्थल पुगेको छैन । पृथ्वी राजमार्गमा सयौंपटक ओहोरदोहोर गर्ने गरेको भए पनि डुम्रे झरेर मनाङतिर गएको छैन । कासकीकै घलेगाउँ पुगेको छैन । बन्दीपुर पनि नपुगेको कुरो थाहा पाएर धेरै साथीहरूले गिल्ल्याएपछि २०७८ कात्तिक १७ मा दमौलीमा रहनुहुने मेरी ठूलियाँका छोरा सुजन वाग्लेसँग काठमाडौंबाट पोखरा फर्कंदा डुम्रे झरेर बन्दीपुर पुगेको थिएँ । पछि त्यहाँको जानकार भइटोपलेर बाआमालाई लिएर पुनः २०७९ कात्तिक ६ मा पनि गएँ । पोखरा हुँदै पुगिने अर्को चर्चित गन्तव्य मुस्ताङ जाने मेसो पनि २०६८ चैत १० गते मिलेको थियो । मेरा बा (रविलाल अधिकारी) डुल्न, घुम्न त्यति रहर नगर्ने हुनुहुन्थ्यो । घरका सबै मान्छे हिँडेपछि घरको रेखदेख पनि नहुने पीर उहाँको रहन्थ्यो । पोखरा बसाइँ सर्नुभन्दा अगाडि कास्कीको गोर्जेमा घर छँदै हजुरआमा (राधिकादेवी अधिकारी) लाई मुक्तिनाथ दर्शन गराउने उद्देश्यले बा मुक्तिनाथ पुग्नुभएको रहेछ । म नजन्मँदै पैदलै उहाँहरू आमाछोरा मुक्तिनाथ पुग्नुभएको थियो । यही अनुभवका कारण बाले मुक्तिनाथसम्म पुग्न रहर नगरेपछि आमा (सम्झनादेवी अधिकारी), फुपूदिदी (बुद्धिमाया रेग्मी) सँग मेरा दाइ (प्रमोद अधिकारी) र मलाई उहाँहरूसँग मुक्तिनाथसम्म जाने मेसो मिलेको थियो । समयक्रमसँगै जागिरे जीवन थालनी भएर विवाह बन्धनमा बाँधिएपछि र अझ सन्तानप्राप्ति भएपछि अविवाहित रहँदाको अवस्थाजस्तो नहुने रहेछ । कतै निस्कन पनि धेरै व्यवस्थापनका काम सक्काउनु पर्ने रहेछ । बिहे नहुँदै २०७० साल पुस ११ मा पोखरा नजिकैको धम्पुसमा विद्यालय पढ्दाताकका साथीहरूसँग जाने मेसो मिलेको थियो ।
पोखरेली भएर घान्द्रुक नपुगेको, मर्दी हिमालको फेदमा नपुगेको, अन्नपूर्ण आधार शिविरसम्म नपुगेको भनेर विशेषगरी काठमाडौंका साथीहरूले भन्ने गरेपछि नजिकैको ठाउँ बाँकी नराखौं भनेर विद्यालय पढ्ताताककै साथीहरूसँग कास्कीकै मादी गाउँपालिका वडा नं. १ मा पर्ने सिक्लेस पनि २०७६ पुस १८ मा पुग्ने संयोग जु¥यो । यसरी कास्की वरपरकै केही ठाउँ त पुगिंदै थियो तर जबजब गायक तिलकबम मल्लको ‘मुटु छुने लुम्लेको हावाले... पुनहिलैमा...’ भन्ने गीत सुन्थें मलाई पुनहिल पुग्न मन लागिरहन्थ्यो । २०८० फागुन १६ गतेका दिन मेरा बाको मृत्यु भएको एक वर्ष पूरा भयो । सोही सन्दर्भमा पारिवारिक भेटघाट र बाको ७९ औं जन्मजयन्तीका बेला ‘रविलाल अधिकारी स्मृतिग्रन्थ’ निकाल्न गर्नुपर्ने तयारीका सन्दर्भमा पोखरामा उपलब्ध केही अग्रज साहित्यकारहरूसँग सरसल्लाह लिने उद्देश्यले म पोखरा पुगेको थिएँ ।
काठमाडौंबाट पोखरासम्मको २०० किलोमिटरको यात्रा केही महिना पहिले ११ घण्टाबाट अहिले १० घण्टामा झरेको छ । काठमाडौंदेखि मुग्लिनसम्मको बाटो कतिपय ठाउँमा बिस्तारका लागि मर्मत र मुग्लिनदेखि पोखरासम्मको बाटो चारपथको बनाउन काम हुँदै छ । लाग्छ, यो बाटामा यात्रा गर्ने कसै न कसैले यात्राको कष्ट समेटेर दैनिक जसो एउटा न एउटा यात्रा संस्मरण लेख्छन् । कुनै समय माइक्रो बसमा पाँच घण्टा र ठूला बसमा ६ घण्टा जतिमा पोखरादेखि काठमाडौं यात्रा गरियो । तर मैले यसपालि काठमाडौंदेखि पोखरा पुग्दासम्मको अनुभव समेटी एउटा संस्मरण लेख्ने अठोट गरें । केही महिनापछि बाटो कालोपत्रे भएर चिल्लो भएपछि त्यो दुखःकष्ट मानिसले बिर्सन सक्छन् । त्यसैले त्यसको अभिलेखीकरणका लागि पनि वर्तमान अवस्थाको पृथ्वी राजमार्गको यथार्थ चित्रण गर्न एउटा संस्मरण लेख्नैपर्ने आवश्यकता म देख्छु ।
२०८० फागनु १५ गतेका दिन काठमाडौंको गोंगबु बसपार्कबाट बिहान ९ बजे माइक्रोबसमा पोखराका लागि हिंडेको थिएँ । आँबुखैरेनी पुग्दा बिहान ७ बजे काठमाडौं जोरपाटीबाट पोखराका लागि छुट्ने शुभ अधिकारीको बस भेटियो । यसबाट पनि कल्पना गर्न सकिन्छ बाटाको अवस्था र सवारी चापको सम्बन्ध । दमौली कटेपछि त बाटाको दुरावस्था ह्वात्तै बढ्दोरहेछ । ९ घण्टाको यात्रापश्चात् साँझ ६ बजे पोखरा पुगें । म पोखरा आउँदै गरेको खबर थाहा पाएपछि विद्यालय पढ्ने बेलाका साथीभाइ भेटौं भन्ने योजना बन्यो । धेरै व्यक्तिका अनुभव सुन्दा विद्यालय पढ्दाका साथीका तुलनामा पछि उच्च शिक्षा लिँदाका र पेशागत तथा व्यावसायिक वृत्तका साथीसँगको सम्बन्ध अनौपचारिक कम औपचारिक ज्यादा हुने गरेको मेरो पनि अनुभव छ । अन्य सम्बन्ध पनि घनिष्ट नभएका होइनन् तर बच्चाबेलाका साथीसँग आफ्नो बाल्यकालको स्मृति जोडिएको हुन्छ जुन कुरा मान्छेले बिरलै बिर्सन्छ ।
पोखरा पुगेपछि घर नजिकैको उत्तमचोकतिर बच्चैदेखिका साथीहरू चिया खान भेला भयौं । साथीहरू मिलेर कतै घुम्न जानुपर्छ कि भन्ने कुरा त्यहाँ साथीहरूले प्रस्ताव गरे । मबाहेक बच्चाबेलाका कोही साथी काठमाडौंमा छैनन् । या त पोखरामा छन् या त रोजगारी र बसोबासको सिलसिलामा नेपालबाहिर । पोखरामै भएका साथीहरूलाई एक आपसमा भेट्न पनि म पोखरा नै आएको बेला हुनुपर्ने अवस्था रहेको साथीहरूले बताए । फेरि पोखरामा सबै साथी भेला भएका बखत कुराकानी पनि उनीहरूबीच नै धेरै हुन्छ तर सबै भेट हुने कामको संयोजन गर्दैनन् र मलाई नै पर्खन्छन् । फागुन १६ गते बाको स्मृति ग्रन्थ प्रकाशनका सन्दर्भमा पोखरेली अग्रज स्रष्टा-द्रष्टाहरूसँग भेटघाट र बाको कार्यथलो पृथ्वीनारायण क्याम्पससम्म पुग्नुपर्ने मेरो काम भएकाले फागुन १७ गते सबै साथीहरूले एक दिनमा पुगेर भोलिपल्ट पोखरा फर्कन सकिने गन्तव्यको खोजी गर्न थाल्यौं । पोखरा आसपासका रामकोट, ठूलाखेत, अस्ताम, पाल्पा रानीमहल आदि गन्तव्यकाबारे छलफल भयो । मैले घान्द्रुक कि त पुनहिल जान सकिएला कि भनेर प्रश्न गरें । दुई दिनमा पुगेर फर्कन सकिन्न अनि हिँड्न धेरै पर्छ भनेर यस प्रस्तावमा साथीहरू सकारात्मक देखिएनन् । मैले सिक्लेस पनि पुगेको अनुभव रहेको र जीप भाडामा पाइने अवस्थामा गाडी जाने बाटासम्म गएर त्यसपछि पैदल गए भ्याइएला कि भनेर थप कुरा बुझ्न आग्रह गरें ।
पुनहिल पुगेका साथीका साथीहरूसँग बुझ्दा नयाँपुलबाट जीप भाडामा लिएर उल्लेरी अथवा वनठाँटीसम्म जाने र त्यहाँबाट तीन घण्टा हिँडेपछि घोडेपानी पुगेर बास बस्न सकिने सुझाव पाइयो । भोलिपल्ट बिहानै एक घण्टा जति हिँडेपछि घोडेपानीबाट पुनहिल पुगिने र त्यहाँ सूर्योदय र हिमाल हेरेर पुनः घोडेपानी फर्कन सकिने रहेछ । बिहान एघार बजेतिर खाना खाएर फर्किंदा पनि साँझ ५, ६ बजेसम्म पोखरा फर्कन सकिने कुरा बुझेपछि हामीले पुनहिल नै पुग्ने योजना बनायौं । पोखरास्थित बाग्लुङ बसपार्कबाट बिहान साढे ८ बजे घोडेपानीका लागि बस छुट्ने व्यवस्थाबारे पनि जानकारी भयो । त्यसैगरी साढे ९ बजे उल्लेरीसम्म पनि त्यही बसपार्कबाट बस छुट्ने रहेछ । घोडेपानी पुग्ने भाडा एघार सयजति लाग्छ भन्ने जानकारी पनि पाइयो । फागुन १७ गते घरबाट निस्कन सबै साथीलाई नमिलेका कारण उक्त दिन यात्रा सुरु गर्न सकिएन । उत्तमचोकका साथी शत्रुघ्न कार्की, नयाँ गाउँका सुनिल राना र विक्रम गुरुङ अनि काजिपोखरीका साथी दीलिप भण्डारीसहितको हाम्रो पाँच जनाको टोली शुक्रबार फागुन १८ गतेका दिन घोडेपानीतर्फको यात्रा गर्ने निधो गरी छुट्टियो ।
समूहमा यात्रा गर्दा एक्लै वा दुक्लै यात्रा गर्दा लाग्ने खर्चभन्दा कम लाग्ने कुरा स्वाभाविक नै हो । विशेष गरी बस्ने बास र यातायातका सन्दर्भमा समूहका सबैले मिलेर खर्च गर्दा धेरै व्यय हुँदैन । शुक्रबार बिहान खाना खाएर सबै साथी बुद्धचोकमा भेला भयौं । साथी दीलिपका निजी सवारीमा नयाँपुल हुँदै वीरेठाँटीसम्म पुगियो । वीरेठाँटी पुगेपछि निजी गाडी एउटा होटलको पार्किडमा एकदिनको ३०० रुपैयाँ तिरेर राख्न पाइने व्यवस्था रहेछ । गाडी त्यहीं राख्यौं । त्यहाँबाट अघिल्ला दिन वीरेठाँटीबाट वनठाँटीसम्म चार हजार रुपैयाँमा पु¥याइदिने सहमतिमा रिजर्भ गरिएको जीप चढ्यौं । दिउँसो १२ बजेतिर हिँडेको जीपले तिखेढुङ््गासम्म पुग्न गाडी नपाएका एक जर्मन नागरिक र एक महिला पथप्रदर्शकलाई झार्न रोक्यो । उनीहरूले त्यहाँबाट हिँड्दै उल्लेरीमा पुगेर बास बस्ने र भोलिपल्ट घोडेपानी जाने योजना सुनाए । हामी भोलिपल्ट फर्कंदा बाटामा फेरि भेटिन्छ होला भन्दै बिदा भयौं ।
साढे एक बजे २३०० मिटरको उचाइमा रहेको वनठाँटी पुगियो । यति उचाइमा पुगेपछि पोखराभन्दा चिसो हुने नै भयो । त्यहाँ पुगेर एउटा होटलमा चिया र थुक्पा खायौं । एकछिन आराम गरेपछि झोला बोकेर हिँड्न पैदल सुरु गरियो । घोडेपानी पुग्न कास्कीको पोखरा महानगरपालिका हुँदै कास्कीकै अन्नपूर्ण गाउँपालिका प्रवेश गरेर उक्त पालिकाको वडा नं. ९ को सीमानासँगै जोडिएको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६ सम्मको यात्रा तय गर्नुपर्ने रहेछ । वनठाँटीबाट मौजा खोला र भुरुङ्दी खोलाको छेवैछेउ हिँडेपछि कास्कीकै नयाँठाँटी पौने एक घण्टामा पुगिँदो रहेछ । बाटामा विभिन्न प्रजातिका फूल देख्न पाइयो । केही बोटमा लालीगुराँस फुलिसकेका र अधिकांश रुखमा कोपिला लागेर केही ठूला हुन थालेका जस्ता देखिन्थे । धेरै ठाउँमा रातो गुराँस र एक ठाउँमा सेतो गुराँस फूलेको पनि देख्न पाइयो । नयाँठाँटीभन्दा पाँच–छ मिनेट वर नै एउटा झरना रहेछ र त्यो कञ्चन पानी बिस्तारै बग्दै गरेको देख्दा एकछिन भए पनि सबै कुरा बिर्सिएर प्रकृतिको नजिक भएको महसुस हुने रहेछ । सुन्दर प्राकृतिक दृश्य, कञ्चन पानीको पोखरी र खोला देखेर नर्वेदेखि घुम्न आएका तीन दाजुबहिनीको समूहका एक जना भाइ कपडा खोलीवरी पानीमा डुब्न थाले ।
हामी अगाडि बढ्यौं । नयाँठाँटीमा खाजा, चियापानका लागि केही रेष्टुरेन्ट, होटल रहेछन् । नयाँठाँटीबाट बीस मिनेट जतिमा नाङ्गेठाँटी भन्ने अर्को विश्रामस्थल पुगिने रहेछ । यहाँ पनि चियापानी, खाजा–खानाको व्यवस्था रहेछ । वनठाँटीबाट हिँडेको दुई घण्टामा कास्की र म्याग्दीको सीमाना दाङसिङ, खाल्टे पुगिँदो रहेछ । वनठाँटीबाट ठ्याक्कै दुई घण्टा पैंतीस मिनेटमा तल्लो घोडेपानी पुगिँदो रहेछ । त्यहाँ पुगेपछि घोडेपानीमा होम स्टे एउटा मात्र रहेको जानकारी भयो । संयोगवस हामीले बुकिङ गरेको बासस्थल त्यही होम स्टे रहेछ । अन्य होटलभन्दा प्रतिव्यक्ति चारसय रुपैंया सस्तोमा त्यही सुविधा पाइने हुँदा हामीले छानेको बासस्थानको विकल्प राम्रो ठहरियो । घोडेपानीको स्वागतद्वार नजिकै रहेको आयुषा होम स्टेमा पुगेर चिया–खाजा खाइयो अनि साँझ तातो घ्यू खन्याएर दालभात, तरकारी खाइयो र उक्त दिनको यात्रा त्यहीँ बिसाइयो । होम स्टेका सञ्चालकले राति अँध्यारामै पैँचालिस मिनेटमा पुनहिल पुगिने भन्दै भोलि बिहान पाँच बजे हिँड्नका लागि सुझाव दिएर जाने बाटोबारे पनि बताइदिए ।
मोबाइलमा हेर्दा घोडेपानी क्षेत्रको मौसम सफा नरहने र सवा छ बजे सूर्योदय हुने देखाएको थियो । पुनहिल जानुअगाडि युट्युवमा पुनहिल पुगेका ब्लग र भिडियोहरु हेरेर निकै उत्साहित भएका थियौं ती दृश्य आफ्नै आँखामा कैद गर्न । शनिबार बिहानै सवा ५ बजेतिर घोडेपानीबाट पुनहिलका लागि साथीहरू निस्कियौं । २३७४ मिटरमा रहेको घोडेपानीबाट ३२१० मिटर उचाइमा रहेको पुनहिल पैंचालीस मिनेटदेखि एक घण्टामा पुग्ने भन्ने भएपछि बाटो ठाडो उकालो त हुने नै भयो । पैंचालीस मिनेट जतिमा पुनहिल जानेका लागि शुल्क लिने ठाउँ आएपछि कति छिटै आयो त पुनहिल भनेर सबै उत्साहित भइयो । तर बल्ल स्वागतद्वार आइपुगेको थाहा पाएपछि साथीहरु अझै ठाडो उकालो हिँड्नु पर्ने कुराले निरास भए । ठाडो उकालो चढ्न साथीहरू शत्रुघ्न, विक्रम र सुनिललाई गाह्रो भइरहेको थियो । स्याँस्याँ र फ्याँफ्याँ बढिरहेकै थियो । सूर्योदय सवा छ बजेतिर हुने तर पुनहिल उपयुक्त समयमा पुगिने छाँटकाँट नदेखिएपछि साथीहरुलाई पछाडि छाडेर म हिँड्न कस्सिए । कुहिरो लागिरहेकै थियो । तथापि माथि टाकुरामा कुहिरो छैन कि भन्ने झिनो आशाका साथ साढे छ बजेतिर म पुनहिल पुगें । धेरै आशाका साथ आएका अन्य दुई अढाई सय आन्तरिक, बाह्य पर्यटक पनि त्यहाँ पुगिसकेका थिए । चारैतिर बादल लागेका कारण कता हिमाल देखिने हो, कताबाट घाम लाग्ने हो र कता खोला देखिने हो केही अत्तोपत्तो भएन । दशपन्ध्र मिनेटपछि साथी दीलिप पुनहिल आइपुगे । केही नदेखिए पनि प्रकृतिलाई सम्मान गर्दै कुनै गुनासो मनमा नराखी चिया खानतिर लाग्यौं । बाँकी साथीहरू पनि आइपुगे । उनीहरूलाई केही अघिसम्म हिमाल छर्लड्गै देखिएको कुरा गरियो । सवा सात, साढे साततिर अधिकांश घुमन्ते ओरालो लागे । केही मिनेट बादल फाटेका बेला अन्नपूर्ण हिमाल देखियो तर थोरै मात्र ।
सबै काममा सफलता मात्र हात लाग्छ भन्ने हुँदैन । हार र जित दुवैलाई हामीले स्वीकार गर्नैपर्ने हुन्छ । प्रकृतिसँग त हाम्रो केही जोर चल्दैन । मौसम भन्ने कुरा ठ्याक्कै यही हुन्छ भन्ने पनि हँुदैन । यी सबै कुरा बुझेका साथीभाइ भएकाले अब फेरि पुनहिल आउने कुरा गर्दै केही तस्वीर लिएर हामी पनि ओरालो लाग्यौं । हल्का वर्षा पनि सुरु हुन थालेको थियो । उपल्लो घोडेपानी र तल्लो घोडेपानी पनि त्यहीँ बाटाबाट देखिने रहेछ । होम स्टेका सञ्चालक म्याग्दीकै बासिन्दा भएकाले अधिकांश ठाउँमा घोरेपानी भन्ने र लेखिने गरेको कुराको यथार्थबारे जानकारी माग्दा उनले घोडेपानी नै उक्त ठाउँको सही अर्थसहितको शब्द र उच्चारण रहेको जानकारी दिए । त्यसैले मैले पनि घोडेपानी नै लेखें । घोडेपानीबाट नौ घण्टाको पदयात्रा पछि घान्दु्रक पुगिने रहेछ । मोटर बाटाको सहजताले हिँड्ने बानीमा कम िआएको कुरा पनि त्यहाँ रहँदा सुनियो ।
पहिले पहिले मानिसहरु वीरेठाँटीदेखि हिँडेरै धेरै गन्तव्यसम्म जान्थे । अहिले पनि धेरै विदेशी पदयात्री त्यसरी नै जान रुचाउँछन् । तथापि आन्तरिक तथा बाह्य पर्यटकको आगमनले हाम्रो स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको कुरा बिर्सन सकिंदैन । हामी पाँच जनाले प्रतिव्यक्ति ४५०० रुपैंया खर्च गरेर यातायात, बासस्थान, खाना, खाजा र चियापानीको व्यवस्थापन भयो । होटलमा बसेका भए यति खर्चमा यो व्यवस्थापन अवश्य नै कठिन थियो भन्ने महसुस गरियो । वनठाँटी फर्कने क्रममा अघिल्ला दिन भेटिएका जर्मन नागरिक र नेपाली पथप्रदर्शक युवती पनि भेटिए । छोटो योजनामै दुई दिन एक रातको अवधिमा जीवनमा पुग्नैपर्ने ठाउँ भनेर मस्तिष्कमा रहेको पुनहिल पुग्न पाउँदा सन्तुष्टिको अनुभूति गर्दै पुनहिलबाट घोडेपानी, खाल्टे, नाङ्गेठाँटी, नयाँठाँटी, वनठाँटी, उल्लेरी, तिखेढुङ््गा, वीरेठाँटी, नयाँपुल हुँदै पोखरा झरेर यो छोटो यात्राको बिट मारियो ।

रामघाट, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।