17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बुट्टाबारीतिर दुईदिन

नियात्रा अर्जुन यावा April 17, 2024, 2:32 pm
अर्जुन यावा
अर्जुन यावा

धेरैवटा साहित्यिक कार्यक्रममा ठूला साहित्यकारहरूले भनेको हामी सुन्छौँ, “साहित्यले समाजलाई जोड्ने काम गर्छ”। समाजलाई जोड्नुको अर्थ सायद व्यक्ति व्यक्तिमाझ भाइचारा बढ़ाउनु पनि होला। मेरो निम्ति त्यस्तै भइरहेको छ। म एउटा ठाउँको, एउटा राज्यको वा समाजको एकजना व्यक्तिलाई अर्को ठाउँ वा समाजका व्यक्तिहरूसित परिचय साट्ने, मित्रचा बढ़ाउने अवसरहरू दिइरहेको हुन्छ। साहित्यकै माध्यमभएर यसपालि भने पत्रकारिति पेशामा रहेको मैले यस्तै अनुभव लिन सकेँ।
छिमेकी राष्ट्र नेपालको सीमाक्षेत्र झापा जिल्लाको धुलाबारीमा अवस्थित छ त्रिफला राष्ट्रिय पुस्तकालय। 2010 पछि दोस्रो पटक पुगेको थिएँ यसपटक।
त्रिफला (धुलाबारी)-देखि केही पर बुट्टाबारी झापामा रहेछ ‘जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान’। यो प्रतिष्ठानले प्रत्येक वर्ष देश तथा विदेशका साहित्यकार तथा पत्रकार कोही एकजनालाई पुरस्कृति गर्ने गरेको रहेछ। त्रिफला पुस्तकालयबाट प्रस्तावित मेरो नामलाई समितिले चयन गरेको हुनाले 1 मार्च 2024-को दिन गजलकार दिदी जीविका अश्रु र म पुगेका थियौँ।
त्रिफलाका लागि सिक्किमका संयोजक दाजु टीका ढुङ्गेलको माध्यमबाट जाकारीसँगै निम्तो पाएपछि हामी 1 मार्चको बिहान निस्किएका थियौं। मेरो नयाँ पुस्तक ‘अनुभूति’ यात्रा संस्मरण प्रकाशित भइरहेको कुरा पनि टीका दाजुले आयोजक समितिलाई जानकारी गराउनु भएको रहेछ। “उसो भए त कार्यक्रममा सम्मानित भइरहँदा उनको पुस्तक लोकार्पण पनि गर्न पाए अझ असल हुनेथियो” भन्ने खबर टीका दाजुले सुनाउनुभएको थियो। मेरो निम्ति त ‘के खोज्छस् कानो, आँखो’ नै भइदियो। त्यसैले पनि पहिले सिलगढ़ी पुग्नुपर्ने भयो।
बिहान 6ः10 नयाँ एसटीएनएम पोटक पुग्दा जीविका दिदी निस्किसक्नुभएको थियो। अनि लाग्यौं रम्फूतिर। गान्तोकमा पार्किङ समस्या, ट्राफिक जाम, बिहानै भन्नेबित्तिकै गाड़ी नपाइएला भन्ने भय अनि पर्किँदा प्रेसबाट नवप्रकाशित पुस्तक सबै ल्याएर आउँदा सजिलो हुने.., यी सबै कुरालाई ध्यानमा राखेर हामी गयौं रम्फू। चानाटारमा विजय (साइँला भाइ)-लाई गाड़ी जिम्मा लाएपछि हामी एसएनटी बसमा चढ्यौँ। धेरैवर्षपछि बसमा चड्नु पनि रमाइलो भएको थियो।
सिलगढ़ी कञ्चनजङ्गा स्टेडियमविपरीत पपुलर प्रेस पुग्दा पहाड़बाट समतल झरेको हामीलाई निक्कै गर्मी भइरहेको थियो। त्यसमाथि आइतवार परेको हुनाले प्रेस बन्द रहेछ। फोन गरेर बोलायौं बबुदालाई। किताब हेर्‍यौं। भावी योजनाका लागि थप जानकारीहरूहरू लियौं। त्यसपछि हामी लाग्यौँ आफ्नो गन्तव्यतिर।
त्रफला राष्ट्रिय पुस्तकालयका उपाध्यक्ष रामप्रसाद दाहालले हामीलाई पर्खिरहनुभएको थियो। काकरभिट्टादेखि कार्यक्रमस्थलसम्म हामीलाई बाटो देखाउने जिम्मेवारी उहाँकै थिएछ। सिलगढ़ीबाट बस चढ़िसक्दादेखि घरिघरि सम्पर्क गरिरहनुभएको थियो। सिलगढ़ी छोड़ेदेखि एसियन हाइवेमा सललल गुड़िरहेको भए पनि लोकल बस थियो। ठाउँठाउँमा नरोकी नहुने। नक्लसबाढ़ी पस्नै पर्ने। त्यसैले हाइवे छोड़ेर दाहिने मोड़िएको बस जाममा परिसकेपछि कसको के लाग्छ छ। दाहाल सरले तीनपटक सम्पर्क गर्नुहुँदा पनि हामी जहिँको तहीँ। त्यही नक्सलबाड़ीमा। हामीलाई नभेटी नजाने मनोशायमा बस्नुभएको उहाँको दमकमा जरुरी काम भएको हुनाले “हामी आउँछौँ, तपाईँ ढुक्क भएर जाँदा हुन्छ” भनेपछि हाम्रो भेट 2 मार्चको दिन मात्रै भएको हो।
टीका दाजुले गान्तोकबाट घरिघरि सम्पर्क गरिरहनुभएको थियो।
“कहाँ पुग्नुभयो?”
“तपाईंहरूलाई राम सरले पर्खिरहनु भएको छ”
“त्रिफलामा आजै पुगेर फलाहारी बाबालाई भेट्नुहोला”
“धुलाबारी पुगेर अको-रिक्सालाई भन्नुभयो भने पुर्‍याइहाल्छ”
यसरी घरिघरि समन्वय गरिरहनुभएको थियो टीका दाजु।
धुलाबारी पुगेर टीका दाजुले भन्नुभएजस्तै टोटो/सिटी सफारी लियौँ। त्रिफली पुग्न लगभग सय कदम थियो। एकप्रकार नमिठो लाग्ने टोटोको आवाजले दिक्दारी लाग्न थाल्यो। वास्तवमा हावा गएर चक्का बसेको रहेछ। हामी ओर्लिएर पैदलै गयौँ।
पुस्तकालय पुग्दा प्रेमप्रकाश फलाहारी बाबा हामीलाई कुरेर एक्लै बसिरहनुभएको रहेछ। शारीरिक रूपमा केही अस्वस्थ। तरैपनि जाँगरिला। सन् 2010-मा पुस्तकालयद्वारा शुरु गरिएको ‘प्रथम मोताराम भट्ट स्मृति पुरस्कार’ समारोहमा जाँदा जस्तो देखेको आज पनि उस्तै देखिन्थे। बसेर केहीक्षण भलाकुसरी गर्‍यौँ। पुस्तकहरू आदान-प्रदान गर्‍यौँ। भोलिको कार्यक्रम आयोजक समितिका अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’-लाई हामी पुगेको खबर गर्नुभएछ। त्रिफलामै आएर उहाँले कार्यक्रम आयोजक संस्थाको पक्षबाट स्वागत जनाउनुभयो। जीविका दिदीसँग सम्पर्कमा हुनुहुन्थ्यो भृकुटी निवासी गजलकार दिदी लक्ष्मी अच्युत ढुङ्गाना। उहाँ पनि आइपुग्नुभएयो। पुस्तकालयका दुई कर्मचारी पनि आइपुगेका थिए। सबैको उपस्थितिमा सामुहिक फोटो खिचेपछि बाबुराम श्रेष्ठ लाग्नुभयो भोलिको तयारीका कामहरू सम्हाल्न। मलाई भने पुस्तकालयबारे फलाहारी बाबासँग धेरै कुरा बुझ्नु थियो। ती कुराहरूलाई भिडियो रेकर्ड गर्ने लालच थियो। मलाई क्यामरामा त्रिफलाकी कर्मचारी बहिनी जुनु श्रेष्ठले साथ दिनेभएपछि फलाहारी बाबा र म त्रिफला राष्ट्रिय पुस्तकालयको मेन गेटदेखि प्रवेश गरेर सम्पूर्ण पुस्तकालय अवलोकन गर्‍यौँ। पुस्तकालयबाहिर रहेको मोतीराम भट्ट र समाजसेवी/कवि छत्रबहादुर बस्नेतको प्रतिमा र छेउमा रहेको दाताहरूको शिलाङ्कित नामहरू, पुस्तकालयमा रहेका प्राचीनतम पुस्तकहरूदेखि अहिलेका समय लेखिएका पुस्तकहरूको सङ्कलन, तीनतले भवनमा रहेको पुस्तकालयको सभाकक्ष, कार्यक्रम हल, योगा तथा व्यायाम कक्ष अनि सिरानतलामा रहेको नेपालतिरका लागि काठमाडौं र चितवन अनि भारततिरका लागि सिक्किम र असमका साहित्यकारहरूका लागि भनेर बनाइएको अतिथि कक्षलगायतका कुराहरूको जानकारी गराउनु भएको छ। यसबाहेक फलाहारी बाबाले वि.सं. 2042 देखि नून नखानुको कारण, अन्न सेवन नगर्नुको कारण, 38 वर्षअघिदेखि केवल फलफूल मात्रै सेवन गर्दै आइरनुको कारण, घर बस्दादेखि कहीँ यात्रा गर्दासम्म खुट्टामा जुत्ता-चप्पल नलगाई खाली खुट्टै रहनुका कारणहरू पनि विस्तृतमा जानकारी गराउनु भएको छ, जुन भीडियो ‘कला र प्रतिभा’ यूटुब च्यालमा पनि हेर्न सकिन्छ।
कार्यक्रम आयोजक पक्षले हामीलाई बस्ने व्यवस्था गरिदिएको जानकारी पाएका भए पनि हामी जाने भयौं लक्ष्मी दिदीकै घर, भृकुटी। फलाहारी बाबासँग पुस्तकालय र बाबासँगका विविध जानकारीहरू लिने क्रममा ट्राइपडबिना हातमा मोबाइल लिएर भीडियो खिच्न सहयोग पुर्‍याइरहेकी जुनु बहिनीलाई कति गाह्रो भइरहेको थियो, त्यो उनैलाई थाह छ। हामी भने 45 मिनटसम्म गफिएछौं। अँ, यूटुबमा भने 30ः29 मिनटको मात्र भीडियो उपलब्ध छ। समय ढल्किसकेको पत्तै भएन। लक्ष्मी दिदी भने हतारिरहनुभएको थियो।
पुस्तकालयबाट निस्केर धुलाबारीदेखि अटो चढ़ेर इटाभट्टा पुग्यौँ। त्यहाँदेखि गाड़ी पाउन गाह्रो हुन्छ बन्ने डर थियो। भाग्यले पायौँ। तर भृकुटी चोकमै उतारिदिएपछि थोरै हिँड्नुपर्ने।
2 मार्चको दिन बिहान 11 बजीदेखि थियो कार्यक्रम। अघिल्लै दिन अध्यक्षले ‘केही ढिलो पनि हुनसक्छ’ भन्ने जानकारी गराउनु भएको थियो। तर, हामी समय पुगेका थियो। भृकुटीदेखि इटाभट्ट, इटाभट्टदेखि बुट्टाबारी। बुट्टाबारीको स्टाफ चोकमा उत्रिएपछि चालकले भारा पनि लिएनन्। यतिबेला लक्ष्मी दिदीले के भन्नुहुँदै थियो कुन्नि, जीविका दिदीले यतिबेला नै होला “भरै इटाभट्टादेखि भृकुटीसम्म फ्रीमा चढ़ाएर देखाउनुस न, अनि पत्त्याउँला” भन्नुभएको थियो।
केही विलम्ब गरी कार्यक्रम शुरु भयो। ब्यानरमा ‘जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान’-को वार्षिकसभा पनि रहेछ भन्ने स्पष्ट बुझिन्थ्यो। कार्यक्रम सकिँदा थाह भयो, सभा नै चाहिँ राखिएको होइन रहेछ।
‘जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान’ त्यहाँको जातीय संस्था रहेछ। त्यसैले पनि साहित्यकारहरू धेरैलाई उत्ति अवगत थिएन। संस्थाले जामाजिक विकाससँगै श्रेष्ठहरूको जातीय विकासमा काम गर्दै आइरहेको भए पनि केहीवर्षदेखि साहित्यकारहरूसँगै पत्रकारहरूलाई सम्मान जनाउँदै आइरहेको कुरा अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’बाट थाह पाउन सकियो। अध्यक्ष वर्षा आफै पेशाले पुलिस विभागबाट अवकाश प्राप्त व्यक्तित्व। साहित्यमा पनि उत्तिकै रुची राख्नुहुने। एकदर्जनभन्दा धेरै त पुस्तकहरू प्रकाशित गरिसक्नुभएको रहेछ। विशेषगरि ‘यात्रा संस्मरण’-मा कलम चलाइरहनु भएको रहेछ। केही महिनाअघि मात्रै ‘अनुभूति’ प्रकाशनमा ल्याउने सोच बनाइरहेको समय पढ्ने अवसर पाएको थिएँ उनको ‘धार्मिक तथा सांस्कृतिक यात्रा’।
कार्यक्रम शुरु भइसक्दा प्रतिष्ठानको भवन खचाखच थियो। भरिभराउ थियो। मेरो निम्ति सबैभन्दा चाखलाग्दो विषय भनेको मुख्य अतिथि थिए। 103 वर्षीय मुक्तिनाथ तिमल्सिना मुख्य अतिथि बनेर कार्यक्रममा लगभग डेड़-दुई घण्टासम्म बस्नु, सम्मानित व्यत्तित्वहरूलाई आफ्नै हातले सम्मान-पत्र प्रदान गर्नु खेलाइँची कुरो पक्कै थिएन। भन्नै हो भने 103 वर्ष पुगेका व्यक्ति कार्यक्रमस्थिलसम्म आउनसक्नु मात्रै पनि कतिसम्म सम्भव होला, त्यो नै सोच्नुपर्ने हुन्छ। निश्‍चित रूपमा उहाँले कार्यक्रमलाई सम्बोधन गर्ने सक्नुहुने थिएन, गर्नुभएन। यद्यपि, विशेष मलाई प्राप्त ‘हरिनारायण-विष्णुमाया श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार’ उनैको बाहुलीबाट थाप्ने सौभाग्य पाएको थिएँ। त्योभन्दा ठूलो खुशीको कुरा मेरो निम्ति अरू के नै हुनसक्ला र।
कार्यक्रममा प्रतिष्ठानद्वारा पुरस्कार प्रदान गरिरहँदा सिक्किमबाट हामी सँगै रहनुभएकी दिदी जीविकाले मेरो परिचय विस्तृत दिइरहनु भएको थियो। बाबुराम श्रेष्ठ ‘वर्षा’-ले अध्यक्षता गरिरहनु भएको समारोहमा त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारीका अध्यक्ष प्रेम प्रकाश फलाहारी विशिष्ट अतिथि हुनुहुन्थ्यो, जसमा वि.सं. 2080 को 12औँ श्रेणीको परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण गरेकी अर्जुनधारा, झापा निवासी सलिशा श्रेष्ठलाई ‘विद्यार्थी सम्मान’ प्रदान गरिएको थियो। यसरी नै साहित्य तथा समाज सेवाका लागि पाँचथर (हाल धुलाबारी झापा) निवासी गङ्गाप्रसाद ओडारीलाई सम्मान जनाइएको थियो। यसबाहेक बिर्तामोड़, झापा निवासी तथा कार्यक्रममा मुख्य अतिथि 103 वर्षीय मुक्तिनाथ तिमल्सिना, झापाकै गुरासटोल निवासी खड़गबहादुर राई र विराटनगर, मोरङका हरि बराललाई ‘ज्येष्ठ नागरिक सम्मान’ प्रदान गरिएको थियो।
कार्यक्रममा साहित्यिकाहरू धेरैलाई सम्मान जनाइए पनि साहित्यिक प्रस्तुति भने कम थिए। साहित्यकार दिदी लक्ष्मी अच्युत ढुङ्गानाको मुक्तक वाचन मात्रै रहेको थियो। यसरी नै आयोजक पक्षबाट बाल तथा प्रौढ़ समूहद्वएारा प्रस्तुत सांस्कृतिक एवं धार्मिक प्रस्तुतिले निक्कै रमाइलो वातावरण सिर्जना गरेको थियो।
मेरो लागि यो कार्यक्रम अझ धेरै महत्वपूर्ण थियो किनभने सिक्किमभन्दा पर पुगेर अहिलेसम्म कुनै कृति लोकार्पण गर्ने अवसर जुरेको थिएन। मेरो पाँचौं कृति ‘अनुभूति’ सभाध्यक्ष र विशिष्ठ अतिथिको साथमा 103 वर्षी मुख्य अतिथिको संयुक्तु बाहुलीद्वारा लोकार्पण गर्ने अवसर पाएको थिएँ। कार्यक्रमभरि नै मनमा खट्कीरहेको विषय थियो युवा जमातको न्यूनता। आफ्नो सम्बोधनमा यस्तै कुराहरू पनि राखेको थिएँ। भन्नै हो भने केवल बुट्टाबारी अथवा जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको मात्र समस्या थिएन त्यो। समग्र नेपाल राष्ट्र कै समस्या थियो। वैदेशिक रोजगारीले युवावर्ग पलायन हुन परिरहेको वास्तविकता अथवा बाध्यता।
बुट्टाबारीदेखि थोरै पर रहेछ बिर्तामोड़। त्यसको थोरै पर रहेछ सुरुङ्गा जहाँ अहिले निक्कै चर्चामा रहेको ‘हेप्पी ल्याण्ड’ शेल्फी डाँड़ा छ। रमाइलो पर्यटकीय स्थल।
कार्यक्रम सकिनेसाथ हामी घरतिर लाग्नुपर्ने। तर, यहाँसम्म त आइपुगेका छौं, जाउँ केहीबेर घुमेर फर्कौं भनेर लाग्यौँ हेप्पी ल्याण्ड। मेनलाइनको गाड़ीबाट ओर्लिएर हेप्पी ल्याण्डको प्रवेशद्वारदेखि निक्कै अघि पुगेर चढ्यौँ अटो रिक्सा। “यतिबेला गएर त दुईसय तिरेको असुल नै हुन्न। अबेर भयो।” भनिरहेका थिए चालकले।
साँच्चै प्रतिव्यक्ति दुईसय तिरेर आधा-एक घण्टा घुम्ने, रमाइलो गर्ने ठाउँ होइन रहेछ। दिनभरिको समय लिएर जानेहरूका लागि रहेछ। चारबजीतिर पुगेका थियौंँ हामी। सायद त्योभन्दा अघि नै पुगेका थियौँ। फर्कने समय सात बजेको हुँदो हो, तर हाम्रो घुमाइ सकिएको थिएन। सुन्दर लाग्ने सामान्य तौरमा फूलहरू त छँदैछन्। खेल्नका लागि अनेकन कुराहरू छन्। जिपलाइन छ। सानो भए पनि पोखरी छ। पोखरीमा खेल्न चाहनेहरूका लागि बोटिङ छ। कतै पहाड़ बनाइएका, पहाड़बाट झरना झरर झरिरहेको। हेर्नका लागि पेरिसको आइफिल टावर छ, भारतको ताजमहल छ। काठमाडौंको धरहरा छन्। सानोसानो चिड़ियाखाना छ। चिड़ियाखानामा बाँदर र मजुर र विभिन्न पंक्षीहरू छन्। यहाँ सबै उल्लेख गरेर अहिले सकिन्न।
फर्केर इटाभट्टा पुग्दा दिनलाई रातले जितिसकेको थियो। हिजै हराउनु भएको थियो लक्ष्मी दिदीले केही रुपियाँसँगै चश्मा। रुपियाँभन्दा आँखामा धेरै असुविधा थियो चश्मा नहुँदा दिदीलाई। भेट्नु भएपछि निक्कै खुशी देखिनुभएको थियो।
अब समस्या थियो भृकुटी पुग्ने गाड़ीको। पहिलोपटक यदि तपाईं पनि जानुहुँदैछ भने इटाभट्टादेखि भृकुटी जानलाई ठूलो साँझ परिसकेपछि सवारी साधन नपाइँन सक्छ भन्ने मनमा राख्नुहोला। तर भनिन्छ नि, बोल्नेको पीठो बिक्छ। हाइवेतिरबाट पसेर घ्याच्च रोकिएको एउटा कारतिर ‘हामीलाई पनि लैजानु न’ भन्दै लक्ष्मी दिदीले परैबाट लिफ्ट माग्नुभयो। बिहेको गाड़ी रहेछ। “पछाड़ि बिहेको जन्ती लिएर बसै आउँदैछ, त्यसमा ठाउँ होला” भनेपछि साँच्चै केहीबेरमा आयो बस। लिफ्ट पनि पाइयो। अघिल्लो दिन पैसा तिरेर चोकमा झारिदिएजस्तो थिएन। घरकै अगाड़ि पुगियो। सायद जीविका दिदीले बिहान भनेझैँ पत्याउनु भयो होला।
भोलिपल्ट हामी दिदीभाइ काकरभिट्टा पुग्यौँ। दाहाल सरको पसल पुग्यौँ। भाउजु मात्रै भेटट्यौँ। बजार घुमी आउने भएर हामी निस्केको आमनागीसम्म पुग्यौँ। आम्नागीको राइसिङ पुलदेखि देब्रे मोड़िएर लुइँटेल चोक हुँदै डम्बर किशन पुग्यौँ मनमाया कोकुको घर। 27 वर्षपछि पुगेको थिएँ म। पछि थाह भयो भृकुटीदेखि सोझै आएको भए दशमिनट लाग्ने थिएछ। केहीबेर गफिएपछि फर्कियौँ। काकरभिट्टामा यसपटक भने भेट भयो रामप्रसाद दाहाल सरसँग। त्यसपछि भने तर्‍यौँ मेची।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।