नदी किनारमा
एउटी बूढी आमै
जीवनभरिको दुःखलाई
लुकाएर अनुहारको चाउरीमा
नदिएर बग्न आँखाबाट
उचाल्दै थाकेका हातहरू
खुल्ला आकाशमुनि
टुक्र्याउँदै छिन् ढुङ्गा
मानौँ, सराप्दै भाग्यलाई
टुक्र्याउँदै छिन् दुःख।
उत्सवको हावा चलिरहेको बेला
किनारमा तिनलाई छैन फुर्सद
छुट्याउनलाई श्वास
उत्सवको हो वा दुःखको ।
व्यस्त छिन् उनी
निरन्तर उठाउन हथौडा
र बिसाउन जीवन ।
हथौडाको वजन र थाकेको हात
निरन्तर ओरालो लागेको सेयर बजार
बनेर थेग्न नसक्ने अर्थतन्त्र
थर्थराउँदै, डगमगाउँदै
हल्लिने गरी जमिन
फुटाउन खोज्दैछ कडा चट्टान ।
फुटाएका एकएक ढुङ्गाको
राखेर हिसाब साँझमा
टार्छिन् आमै प्रति पेटको भोक
त्यही ढुङ्गा गनेर देश
राख्दछ हिसाब
आय प्रति व्यक्तिको ।
ठेला उठेका बुढी आमाको हस्तरेखामा
देश बनाउने जिम्मेदार
खोज्दैछ देशको भविष्य
र, अनुहारका रेखा पढेर
आँकलन गर्दैछ अर्थतन्त्रको ग्राफ ।
कठै ! मेरो देश
कसैले सरापेको भाग्यमा
खोज्दैछ आफ्नो भविष्य ।