विषय प्रवेश
खनाल रेवतीरमण नेपाली साहित्यका पाठकबीच सुपरिचित साहित्यकार हुन् । कविता, गजल र गीत लेख्ने खनालले आफूलाई उपन्यासकारको पङ्क्तिमा पनि उभ्याउन सफल भएका छन् । उनले उपन्यास विधामा पृथक विचार र प्रवृति लिएर प्रस्तुत भएका छन् । उनले जम्बुुद्विपमा प्रचलित पौराणिक ग्रन्थ रामायणमा खलनायकको भूमिका र राक्षसको संज्ञा दिइएका रावणलाई ‘रावणायन’ नामक उपन्यासमा आदर्श पात्रको रूपमा प्रस्तुत गरेर प्रचलित मूल्य र मान्यताका विरुद्ध जेहाद छेडेका छन् ।
गोरखाको सानाबेंसी मिरकोट भन्ने ठाउँमा जन्मिएका रेवतीरमण खनालको साहित्यिक नाम हो खनाल रेवतीरमण । उनका ‘ल्याउ साम्यवाद’, ‘कथोपकथन’, ‘जुनको रोटी’ र ‘बागी अक्षरहरू’ नामक चार वटा कविता सङ्ग्रह, ‘गजलपथका यात्रीहरू (सह–लेखन)’ गजल सङग्रह, ‘अर्जुनवाण’, मुक्तक सङ्ग्रह, ‘मान्छेभित्रको मान्छेको खोजी’, हाइकुु सङ्ग्रह र ‘जीवन र मृत्युु’, नामक सुत्रकाव्य प्रकाशित भइसकेका छन् । आख्यान विधामा लेखिएको ‘रावणायन’ उपन्यास उनको नवौंं कृति हो । खनालको यो कृति अध्ययन गरिसकेपछि मेरो मनमा लागेका केही कुराहरू प्रस्तुत गर्ने जमर्को गर्दैछु ।
संरचना
‘रावणायन’ उपन्यास परम्परागत संरचना भन्दा भिन्न स्वरूपमा प्रस्तुत गरिएको छ । यसमा अध्याय र परिच्छेद छैनन् । कुनै अनुसन्धानात्मक कृतिमाजस्तै अग्रभाग, आख्यान खण्ड र परिशिष्ट खण्ड गरी तीन भाग छन् । अग्रभागमा डा. धनेश्वर भट्टराईको सारगर्भित भूमिका दिइएको छ । ‘रुढ क्यानन्स भत्काउन चाहनेहरूलाई’ समर्पण गरिएको यस उपन्यासमा आख्यान खण्ड र परिशिष्टमा रहेका उपशीर्षकहरूको विषय सूची पनि दिइएको छ । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित कूल ३०० पृष्ठको यो उपन्यासमा आख्यान खण्ड २१६ पृष्ठको छ । यसमा राक्षसराज सुमालीको वनविहारदेखि अरिमर्दनको सत्तारोहणसम्मका घटना विभिन्न ४४ वटा उपशीर्षकमा समेटिएको छ । मूलपाठमा भन्न नसकिएका र रावणको बारेमा रहेका भ्रम चिर्ने उद्देश्यले परिशिष्ट खण्ड राखिएको छ । यसमा रावणको चरित्रचित्रण, रावणका मन्दिरहरू, केही चिरफारसहित रामायणको नालीबेली, विवादास्पद रामजन्मभूमि र पश्चकथन दिइएको छ । आवरणको अग्रभागमा रावणको काल्पनिक चित्र छ भने पश्चभागमा प्रा. डा. जगदीशचन्द्र भण्डारीको महत्वपूर्ण भनाई राखिएको छ ।
विषयवस्तु
‘रावणायन’ नामक यस उपन्यासमा रावणको जन्मदेखि मृत्युसम्मका घटनालाई मूख्य विषयवस्तु बनाइएको छ । रावणका पराक्रमको भरपुर बयान गरिएको छ । साथै लङ्का राज्यउपर भएको देव र दानवबीचको जय पराजयको वर्णन पनि यस उपन्यासमा पाइन्छ । त्यति मात्र होइन यस उपन्यासमा राम र रावणबीचको दुष्मनी सीता हरणका कारण मात्र भएको होइन लङ्काउपर कसको आधिपत्य रहने भन्ने कुरा मूख्य विवाद हो भन्न खोजिएको छ । यी सबै कुरा आख्यानका माध्यमबाट मात्र भन्न संभव नभएर होला ६६ पृष्ठ लामो परिशिष्ट दिइएको छ ।
परिशिष्टमा दिइएको रावणको चरित्रचित्रण भन्ने उपशीर्षकमा रावणका असल कामको खोजिनीति गरिएको छ । राम र रावणकाबीचको समानता र भिन्नताको तुलना गरिएको छ । भोगवादी संस्कृति र रक्ष संस्कृतिको वर्णन गरिएको छ । शोषक र शोषितबीचको अन्तर्यको खुलासा गरिएको छ । श्रमजिवी र कामचोरबीचको अन्तर पहिचान गरिएको छ । खुराफाती र इमान्दारबीचको भिन्नता स्पष्ट पारिएको छ । यस उपन्यासमा रावणका मन्दिर कहाँ कहाँ छन् भन्ने खोज गरिएको छ । यस ग्रन्थमा श्रीलङ्काको कोनसवरम, भारतको राजधानी दिल्लीनजिकको नोयडा बिसरख, मध्यप्रदेशका रावणग्राम र रुण्डी, राजस्थानको जोधपुर, कानपुरको शिवालाक्षेत्र, हिमाञ्चल प्रदेशको वैद्यनाथ, आन्ध्र प्रदेशको काकीनाडा, कर्नाटकको मालवल्ली र महाराष्ट्रको अमरावतीमा रावणका मन्दिर भएको जानकारी दिइएको छ । विश्वका विभिन्न मुलुकमा विभिन्न शैलीका अनेकौं किसिमका रामायण लेखिएको भएपनि वास्तविक तथ्य फेला नपरेको हुनाले रामायण मिथक हो भन्ने पुष्टि गर्ने प्रयास गरिएको छ । साथै सीताको जन्मसम्बन्धी खोज र राम जन्मभूमिबारे भएका विवादको पनि विवेचना गरिएको छ । आखिरमा पश्च कथन भनेर उपन्यासकारको आफ्नो भनाइ राखिएको छ ।
कथा र पात्रहरू
रावणको जन्म पुलस्त्य ऋषिका पुत्र विश्रवा र राक्षस राजा सुमालीकी पुत्री कैकसीको संयोगबाट भएको हुन्छ । देव र असुरकाबीच संग्राम हुँदा सुमालीले स्वर्णपुरी भनेर चिनिने वैभवशाली लङ्का राज्य गुमाएर वनवन चाहर्नु परेको थियो । त्यही चिन्ताले ग्रस्त उसले सो राज्य पुनः प्राप्तिको लागि अनेकौं उपाय सोचेको थियो । त्यसमध्ये एक उपाय कैकसीको विवाह विश्रवासँग गराउने र परिवारमा विग्रह उत्पन्न गराइ लङ्काधिपति कुवेरबाट सो राज्य त्याग्न लगाउने थियो । त्यतिखेर विश्रवा पत्नी वियोगबाट पीडित हुनाले ऊ कैकसीको मायाजालमा सजिलै फस्यो । त्यसको परिणाम स्वरूप कैकसीको गर्भबाट रावण, कुम्भकर्ण, विभिषण र शुर्पणखाको जन्म भयो । रावणले आफ्नै पिताको गुरुकुलमा अनेकौं शास्त्रको अध्ययन ग¥यो । रावणमा भएको अनौठो स्वभावका कारण बालखकालदेखि नै ऊ अरूभन्दा पृथक देखा पर्दथ्यो । ब्राह्मण कुलमा जन्मिएको भएपनि युवावस्थामा पुग्दा उसमा भोगवादी संस्कृतिप्रति वितृष्णा जागेको थियो । उसले रक्ष संस्कृतिको संरक्षण र संवद्र्धनका लागि वनमा गएर ब्रह्म र शिवको आराधना गरी दण्ड धारण गर्न पाउने अधिकार प्राप्त गरेको थियो । आफूले प्राप्त गरेको त्यही शस्त्र बलको आडमा उसले आफ्नै दाजू कुवेरलाई धम्काएर लङ्का राज्य छाड्न बाध्य बनायो र आफू त्यस देशको राजा बन्यो । त्यसपछि मय दानव र हेमा नामकी अप्सराकी पुत्री मन्दोदरीलाई आफ्नी रानी बनाउने अभिप्रायले इन्द्रद्युम्नको राज्य उरपुर कब्जा ग¥यो । आफ्ना पिता विश्रवाको गुरुकुलमा लिइएको शिक्षाद्वारा प्राप्त महापण्डितको पदवी तथा ब्रह्म र शिवको आराधनाबाट प्राप्त शस्त्रहरूको घमण्डले रावणमा अहंभाव बढ्दै गयो । उसले दिग्विजयी हुने लालसाले अमरापुरी, इन्द्रपुरीकासाथै देव, यक्ष आदि विभिन्न समुदायका राज्य हडप्ने र आफ्नो अधिनमा पार्ने काम गर्न थाल्यो । रावणको यस कृत्यबाट देव, यक्ष तथा ऋषिमुनि एवं सन्तमहन्त सबै रिसाउन थाले । यसैबीच मन्दोदरीको गर्भबाट एक बालिकाको जन्म भयो । ती बालिकाको मुख हेरेमा बाबुलाई पिर्छ भन्ने हल्ला चल्यो । त्यसकारण रावण र मन्दोदरीको सल्लाहमा एक गरिब दम्पत्तिलाई धनदौलत दिएर ती बालिकालाई पाल्न लगाइयो । केही समयपछि त्यो दम्पत्तिले बालिकालाई टोकरीमा राखेर राजा जनकको दरबार नजिकको रुखको फेदमा लगेर राखिदियो जसलाई जनकले उठाएर दरबारमा लगी पालनपोषण गरे । सीता नामकी ती कन्याको उमेर पुगेपछि अयोध्याका युवराज रामसँग विवाह भयो ।
रावण र उनका अनुयायीहरूको शक्ति बढ्दै जाँदा उनीहरूले ईन्द्रलाई पराजित गरी बन्दी बनाएपछि देवता र ऋषिहरूको मनमा त्रास फैलियो । उनीहरूले राक्षसको शक्ति कसरी क्षिण गराउन सकिन्छ भन्ने विषयमा छलफल गर्न थाले । त्यतिखेर अयोध्याका युवराज राम उसको भाइ लक्ष्मण र पत्नी सीता वनबासका लागि पञ्चवटीमा आएर बसेका हुन्छन् । मामा प्रहस्तको उक्साहटमा रावणकी बहिनी शुर्पणखाले लक्ष्मणसँग विवाहको लागि प्रस्ताव गर्छिन् । तर लक्ष्मणबाट सो प्रस्ताव इन्कार गर्ने मात्र होइन नाक काट्ने दुष्कार्यसमेत भएपछि उनलाई आफू अपमानित भएको महसुस हुन्छ । त्यसको बदला लिन उनकी आमा कैकसी र उनले रावणलाई रामकी पत्नी सीताको अपहरण गर्न बाध्य पार्छन् ।
सीता हराएपछि राम र लक्ष्मण उनको खोजी गर्दै वनवन चाहार्न थाल्छन् । जटायुद्वारा रावणले सीताको अपहरण गरेको कुरा थाहा हुन्छ । सीतालाई रावणबाट खोसेर ल्याउन शक्ति आर्जन गर्नुपर्ने महसुस भएपछि राम र लक्ष्मण सुग्रीवको राज्य किष्किन्धा जान्छन् । आफ्नो शत्रु बालीसँगको युद्धमा रामले सहयोग गरेपछि सुग्रीवले सीताको खोजी गर्न आफ्ना सेनालाई खटाउँछ । हनुमानले लङ्का गएर रावणका भाइ विभिषणलाई आफ्नो पक्षमा ल्याउन सफल हुन्छ । विभिषणबाट रावणका अनेकौं गोप्य योजना र युद्ध कौशलको जानकारी लिएपछि रामले शक्ति आर्जनका लागि समुद्र तटमा शिवलिङ्ग स्थापनार्थ यज्ञ गर्ने योजना बनाउँछ । त्यस यज्ञको पुरोहित रावणलाई बनाइएको हुन्छ ।
त्यसपछि रामको पक्षबाट वानर सेना र रावणको पक्षबाट राक्षस सेनाबीच घमासान लडाइँ हुन्छ । राक्षस सेनापति प्रहस्त वानर सेनापति नीलद्वारा मारिएपछि रावणलाई युद्धमा परास्त भइन्छ कि भन्ने आभास हुन थाल्छ । त्यसकारण रावणले देवताका राजा इन्द्रलाई जितेर इन्द्रजित भन्ने नाम कमाएको आफ्नो छोरा मेघनादको नेतृत्वमा सेना परिचालन गर्छ । तर वानर सेनाको नेतृत्व गरेका लक्ष्मणको हातबाट मेघनादको हत्या हुन्छ । त्यस घटनाबाट विचलित भएको रावणले वानर सेनाको सर्वनाशका लागि आफ्नै भाइ कुम्भकर्णको नेतृत्वमा राक्षस सेना खटाउँछ । त्यो फौजलाई परास्त गर्न राम स्वयं अग्रसर भएपछि कुम्भकर्ण र रामकाबीचमा घमासान युद्ध हुन्छ । रामको हातबाट कुम्भकर्णले पनि प्राण गुमाएपछि रावण स्वयं युद्ध गर्न तम्सिन्छ । तर रामको युद्ध कौशलका अगाडी रावणको पनि केही जोड चल्दैन र पराजित हुन्छ । रावणको मृत्युपछि विभिषण लङकाको राजा बन्छ । छलकपटबाट राज्य प्राप्त भएको हुनाले विभिषणले राज्यमा मनपरी गर्न थाल्छ । आफ्नै भाउजू मन्दोदरीलाई पटरानी बनाउन खोज्छ । मन्दोदरी र उनकी बैनी धन्यमालिनी विभिषणको ज्यादती सहन नसकेर माइतमा गएर बस्छन् । त्यहीं धन्यमालिनीको गर्भबाट अरिमर्दनको जन्म हुन्छ । अरिमर्दन युवावस्थामा प्रवेश गरेपछि आफ्नो राज्यमा फर्कन्छ । विभिषणका दुष्कार्य लङ्काका प्रजालाई मन परेको हुँदैन । उनीहरूले अरिमर्दनलाई लङ्काकोे राजा बन्न साथ दिन्छन् । त्यसपछि विभिषण लाचार भएर वनबासतिर लाग्छ ।
‘रावणायन’ उपन्यासका विशेषताहरू
विषयवस्तु, विचार, प्रवृति, उद्देश्य र शैली उपन्यासका विशेषता हुन् । यस दृष्टिकोणबाट ‘रावणायन’ उपन्यासलाई केलाउँदा यसका विशेषता यसरी सूचीकृत गर्न सकिन्छ ।
(१) विषयवस्तुको आधारमा ‘पुराणमा उल्लेखित मिथकलाई आख्यानको रूपमा प्रस्तुत गर्ने उद्देश्यले लेखिएको उपन्यासलाई पौराणिक उपन्यास भनिन्छ’ । त्यस दृष्टिबाट हेर्दा रावणायन उपन्यासमा रामायणमा उल्लेखित मिथकलाई नै मुख्य आधार मानेर आख्यान तयार गरिएको हुनाले यो पौराणिक उपन्यास हो ।
(२) विचार र प्रवृतिका दृष्टिले हेर्दा; रामायणमा उल्लेखित विषयवस्तुलाई उल्टाउने उद्देश्यले लेखिएको हुनाले यो प्रचलित अवधारणका विरुद्ध जेहाद छेड्ने उपन्यास मानिन्छ । वास्तवमा भन्ने हो भने यो उपन्यास मनुवादी अवधारणाका विरुद्ध मानवतावादी विचारको पृष्ठपोषक हो । साथै यसमा यक्ष संस्कृति अर्थात् भोगवादी संस्कृतिका विरुद्ध रक्ष संस्कृतिको पक्षपोषण गरिएको छ । यस उपन्यासमा उल्लेख भए अनुसार यक्ष संस्कृतिले हरेक वस्तुको उपभोग गर्न मात्र सिकाउँदछ । यसको नारा नै ‘वयं यक्षाम’ अर्थात् हामी भोग गर्दछौं भन्ने हो । तर रक्ष संस्कृतिले हरेक वस्तु र जीवजन्तुको संरक्षण गर्न सिकाउँछ । किनकि रक्ष संस्कृतिको नारा ‘वयं रक्षाम’ अर्थात् हामी रक्षा गर्दछौं भन्ने हो । यस उपन्यासमा भएको विचार पक्षको अर्को विशेषता आध्यात्मवादका साथै भौतिकवादी चिन्तनलाई पनि प्रश्रय दिनु हो । यसको एउटा उदाहरण ‘सीता’ पात्रको जन्मसम्बन्धी अवधारणा हो । यस विषयमा परम्परावादी चिन्तन अनुसार ‘सीता’लाई राजा जनकले खेत जोत्दा हलोको टुँडोले उधिनेर फेला पारेका हुन् भन्ने छ । तर यस उपन्यासमा ‘सीता’लाई एक गरिब परिवारले टोकरीमा हालेर एउटा बोटमुनि राखेको र राजा जनकले बच्चा रोएको सुनेर हेर्न जाँदा फेला पारेको भन्ने छ ।
(३) उद्देश्यका आधारमा हेर्दा यो उपन्यास मानव–मानवबीच जाति, वर्ण, लिङ्ग र धर्मका आधारमा हुने भेदभावका विरुद्ध जनचेतना फैलाउने माध्यम हो ।
(४) तत्वका आधारमा यो उपन्यास घटनाप्रधान हो किनभने यो उपन्यासमा रावणको जीवनमा आइपरेका यावत घटनाको कलात्मक ढङ्गले चित्रण गरिएको छ ।
(५) शैलीका हिसाबले यो उपन्यास आख्यानात्मक शैलीमा लेखिएको वर्णनात्मक कथा हो । किनकि यस उपन्यासका सबै घटना, पात्र, देशकाल, परिस्थिति र उद्देश्यको वयान उपन्यासकारद्वारा आख्यानात्मक शैलीमा गरिएको छ ।
मनमा खड्किएका केही कुराहरू
‘रावणायन’ उपन्यास नेपाली समाजमा विद्यमान भ्रमपूर्ण अवधारणालाई चिरफार गरी यथार्थबोध गराउने उद्देश्यले लेखिएको छ । यो उपन्यास बडो मेहनेतकासाथ अन्वेषण गरी लेखिएको हुनाले अत्यन्त चाखलाग्दो पनि छ । परम्परागत अवधारणा भन्दा पृथक धारको भएकोले रोचक पनि छ । यति हुँदाहुँदै पनि उपन्यासमा प्रयोग भएका केही विचार, घटना र प्रवृत्तिको अध्ययन गर्दा मनमा केही कुरा खड्किन्छ जसको बारेमा यहाँ उल्लेख गरिन्छ ।
(१) विश्वको इतिहास निर्माण गर्ने क्रममा घटनाहरूको विश्लेषण गर्न सजिलो होस भनेर समयलाई मुख्यतः चार खण्डमा विभाजन गरिएको छ; प्रागैतिहासिककाल, प्राचीनकाल, मध्यकाल र आधुनिककाल । नेपाल र भारतमा प्रागैतिहासिककाल र प्राचीनकालको बीचमा पौराणिककाल पनि राखेको पाइन्छ । यो समय पुराणमा आधारित अवधी हो । रामायण पनि पौराणिक ग्रन्थ भएको हुनाले त्यस बखतको समयलाई पौराणिककाल मान्नु पर्ने हुन्छ । त्यसकारण यस उपन्यासमा ‘मिथिला प्राचीन भारतको एक राज्य थियो । पृ.९८ ।’ भनेर गरिएको कालक्रम मिलेन कि ? साथै त्यतिखेर ‘भारत’ भन्ने देशको अस्तित्व नभएको र ‘मिथिला वा विदेह’लाई एक स्वतन्त्र र सार्वभौम राज्य मानिएको हुनाले ‘मिथिला’लाई ‘प्राचीन भारतको एक राज्य थियो ।’ भन्नु सान्दर्भिक हुँदैन कि ?
(२) पात्रहरूलाई आदरार्थी शब्द प्रयोग गर्ने सन्दर्भमा समानता नभएको हो कि भन्ने देखिन्छ । अतः पाठकको मनमा केही कुरा खड्किएकोजस्तो देखिन्छ जसलाई शुत्रबद्ध रूपमा प्रस्तुत गरिन्छ ।
(क) राक्षसराज सुमाली आफ्नी सहधर्मिणी केतुमतीको साथमा पुत्र प्रहस्त र पुत्री कैकसीलाई लिएर वनविहारमा निस्कियो । पृ.१ ।
(ख नारदमुनिले पनि कैकसीलाई देखे । पृ. ४ ।
(ग) युवतीको कुरा सुनेर ऋषि विश्रवा शान्त, मुग्ध एवं किंकर्तव्यविमूढ भएर हेरिरहे । पृ. ८ ।
(घ) पुलस्त्य ऋषि आफ्नो आश्रममा फूल पौधाहरूसँग खेलिरहेका थिए । पृ. १३ ।
(ङ) रावण दृढसङ्कल्पी मात्र हैन महत्वाकांक्षी पनि थियो । पृ. ३२ ।
(च) ब्रह्मदेवको प्रस्ताव सुनेर शिवजी मुस्कुराए । पृ.१०६ ।
(छ) सीताले उसको हातबाट फुत्कने असफल प्रयास गरिरहिन; कराइन्, चिच्याइन् । पृ. १३४ ।
(ज) रावणले सीतालाई उठाएर विमानमा राख्यो । पृ.१३४ ।
(झ) हनुमानको कुरा सुनेर विभिषण अत्यन्त प्रसन्न भयो । पृ.१६१ ।
(ञ) हनुमानले सीतालाई भेट्नेबित्तिकै सीताको चरणस्पर्श गर्दै आफ्नो परिचय दिए । पृ. १६३ ।
(ट) राम पितृभक्त र भातृप्रेमी थिए भने रावण पनि मातृभक्त र भगिनीप्रेमी थियो । पृ.२३५ ।
निष्कर्ष
खनाल रेवतीरमण नेपाली साहित्यको प्रगतिशील धारको प्रतिनिधित्व गर्ने प्रखर अध्येता हुन् । उनका कृतिमा शोषित, पीडित जनताका आवाज बुलन्द भएको पाइन्छ । उनले हरेक कुरालाई वैज्ञानिक दृष्टिबाट हेर्छन् । रावणायन उपन्यासमा पनि उनको यही प्रवृत्ति देखा पर्दछ । ‘रावणायनले स्थापित रामकथाको राम पात्रको भन्दा रावणको चरित्रको आदर्शीकरण गरेको छ र रावणको समग्र जीवन रामको तुलनामा श्रेष्ठतर, सभ्य तथा आदर्शयुक्त एवम् मानवीय दुर्वलतासहितको अनुकरणीय रहेको देखाइएको छ ।’ भन्ने जगदीशचन्द्र भण्डारीको समीक्षात्मक भनाइले यस कुराको पुष्टि गर्छ ।
राम र रावणकाबीचको समानता र भिन्नताको तुलना गरिएको यस उपन्यासमा भोगवादी संस्कृति र रक्ष संस्कृतिको वर्णन गरिएको छ । शोषक र शोषितबीचको अन्तर्यको खुलासा गरिएको छ । श्रमजिवी र कामचोरबीचको अन्तर पहिचान गरिएको छ । खुराफाती र इमान्दारबीचको भिन्नता स्पष्ट पारिएको छ । साथै रावणका मन्दिर कहाँ कहाँ छन् भन्ने खोज गरिएको छ । अतः यो उपन्यास यक्ष संस्कृति अर्थात् भोगवादी संस्कृतिका विरुद्ध रक्ष संस्कृतिको पक्षपोषण गर्न लेखिएको आख्यान हो भन्न सकिन्छ ।
यो उपन्यास मानव–मानवबीच जाति, वर्ण, लिङ्ग र धर्मका आधारमा हुने भेदभावका विरुद्ध जनचेतना फैलाउने माध्यम हो । यो उपन्यास बडो मेहनेतकासाथ अन्वेषण गरी लेखिएको हुनाले अत्यन्त चाखलाग्दो पनि छ । परम्परागत अवधारणा भन्दा पृथक धारको भएकोले रोचक पनि छ ।
परम्परागत रूपमा चल्दै आएको अवधारणालाई चुनौती दिने गरी यस किसिमको पृथक धारमा उपन्यास लेख्ने साहस गरेकोमा खनाल रेवतीरमणलाई धन्यवाद छ । आगामी दिनमा अझ रोचक र ज्ञानमूलक कृति प्रकाशित होउन भन्ने अपेक्षा पनि गर्दछु ।
राधाकृष्ण टोल, भरतपुर महानगरपालिका–१२, चितवन