सिङ्गो भारतीय नेपाली साहित्यमा गीत विधा निकै उपेक्षित र आँखापाखा भएको विधा हो। गीत भन्नेबित्तिकै सङ्गीताश्रित विधा मात्र बुझ्नाले यसको साहित्य पक्ष भने कुइरो पछाड़िको पहाड़जस्तै बनेको छ। सम्पूर्ण भारतीय नेपाली साहित्यमै यस्तो विकटिलो परिस्थिति झेलिरहेको गीत साहित्यबाट अझ ‘कुलैनबारी गीत र गीतकार’-लाई अलग्गै छुट्टाएर हेर्नुपर्ने काम निक्कै चर्को रहेछ। कि त धेरैबाट गन्ती गर्नु अप्ठ्यारो कि त थोरैलाई गन्ती गर्नु। जे जति छन् मनग्गे त छैनन् तथापि यसले भविष्यमा यस दिशामा काम गर्न प्रेरित गर्नेछ भन्ने कुरामा विश्वास राख्न सकिन्छ।
कुलैनबारीको कुरा गर्दा पहिले शिरमै पुग्नुपर्ने हुन्छ। शिर अर्थात् मङ्पू। सन् 1862 सालमा खोलिएको मङ्पूलाई नै कुलैनबारी स्थापनाको आधार मान्नुपर्ने हुन्छ। स्थापनाको 159 वर्ष बितिसकेको भए पनि यहाँको अवस्था-व्यवस्था चियाबारीभन्दा ओभानो छैन। सरकारी नोकरी भनिए तापनि दैनिक दुई सय साट्ठी (260/) मजदूरीमा आज पनि यहाँका श्रमिकहरू जीवन धान्न बाध्य छन्। न पुर्खाले फाँडिबसाएको सभ्यताको अलिकति वीरता आफ्नो छ, न त रगत पसिना अर्जेको घरबारीमा आफ्नो अधिकार छ। यस्तो अव्यवस्था, दु:ख र समस्याको माखेसाङ्लोमा उनिएकोले होला कुलैनबारीले मौलिक गीत सिर्जन क्षेत्रमा रमाउन सकेन।
भत्केको घरअघि के को फुलबारी,
भत्केको घरभित्र के को भजन आरती
-भने जस्तै अभाव, प्रताड़न, दु:खको घुम्टोभित्र निस्सासिएको बेला के को गीत?
गीताञ्जलीका विश्व प्रसिद्ध सर्जक गीतकार रवीन्द्रनाथ ठाकुर अनि नेपाली सङ्गीत जगतकी प्रात: स्मरणीय गायिका स्वरसम्राज्ञी अरूणा लामाले श्वास-प्रश्वास लिएको मङ्पूको परिवेश नै आह्लादकारी र प्रमादीय छ। यस भेकबाट अहिलेसम्म कुलैनबारीलाई साहित्य, कला, सङ्गीत आदि क्षेत्रमा प्रतिनिधित्व गर्ने सर्वाधिक काम भएको पाइन्छ। त्यसैले मङ्पू हाम्रो ‘ठुल्दाजु’ हो। मङ्पूका गीत र गीतकारहरूका कुरा गर्दा विकास गोतामेका कामहरूका मूल्याङ्कन प्रथमत: अपेक्षित ठहर्छ। मूलत: कविका रूपमा सुपरिचित गोतामेका गीतकार व्यक्तित्व पनि उत्तिक्कै टड्कारो पाइन्छ। जातिकै पीड़ाले जहिले दुखिरहने गीतकार गोतामे आफ्नै घरभित्रको अव्यवस्थित, अवहेलित स्थितिले उतिक्कै पिरोलिन्थे। त्यसैले त उनका गीतहरू व्यवस्थाको विरुद्ध र खटिखानेका पक्षमा उभिएको पाइन्छ। जसको हातमा बेसी ठेला उसकै चुलामा निभेको खरानी भनेजस्तै कुलैनको तितो निखार्न नुनिलो पसिना झार्ने श्रमिकहरूका मुखमा मिठो-मसिनो त परै जावोस् छाक टार्नसम्म पनि हम्मेहम्मे परेको स्थितिलाई गीतकार गोतामेले यसरी अभिव्यक्त गरेका छन्:
घरमा जाऊँ खान माग्छन् छोरा-छोरी भात
बिताउने हो कसो गरी भोकै पेट रात
बाबु आउँछ आधा रातमा लखतरान भई
जीवन भयो बेहाल कस्तो फूल झरेजस्तो...
सर्वहाराको हक र हितमा निर्भीक आवाज उठाउने गोतामेको अर्को बहुचर्चित गीत :
हामीलाई घाम मनपर्छ, जून पनि मनपर्छ
गरीबले सुख पा’को साह्रै-साह्रै मनपर्छ
कसले चाहेको छ र आज भोकै बसूँ भनी
कसको मनमा होला आज नाङ्गै बसूँ भनी
हामीलाई मीठो मनपर्छ राम्रो पनि मनपर्छ
गरीबले सुख पा’को साह्रै साह्रै मनपर्छ...
उनीद्वारा रचित गीतहरूका आधारमा गीतकार बिकास गोतामेलाई जनवादी गीतकारका रूपमा चिनिन्छ।
गोतामेपछि मङ्पूका गीतहरूका चर्चा गर्दा स्वत: आउने नाम हो के. बी. नेपाली। उनका धेरै गीतहरू विभिन्न गायक-गायिकाहरूद्वारा स्वरबद्ध भएको पाइन्छ। गीत लेखनमा ध्याउन्नले लागिपर्ने गीतकार गिरी आफ्ना गीतहरूमा जीवनवादी देखिन्छन्। प्रणय भावका बजोड़ गीत लेख्ने गिरी आफ्ना गीतमा प्राकृतिक सौन्दर्यचेत र लोकभावका पक्षहरू खुबै सीपसँग प्रस्तुत गर्ने गर्छन्:
माइ खोलाको मेलामा तिम्रो हाम्रो भेलामा
आँखा हरायो कि मेरो मन हरायो ...
मारुनीको नाँचसँगै रहर नचाएछु
चार दिने मेलाभित्र माया बसाएछु...
उनको अर्को गीतांश :
दशैँको बेला न कोही गाउँछन् मालश्री भाकामा
टिकाको दिन न कोही लाउँछन् जमरा शिरैमा...
मादलका शशि शहर पसी गल्लीमा बिलायो
मारुनी नानी महल पसी दौलतले बाँधियो...
गीतकार गिरीका गीतहरूका अध्ययन गर्दा उनलाई सांस्कृतिक चेतका गीतकार भन्न सकिन्छ। सङ्ख्यात्मक रूपले पनि धेरै गीतहरू लेखिसकेका गीतकार गिरीका हालसम्म गीत सङ्ग्रह प्रकाशित छैनन्।
मङ्पूबाट गीत लेखनलाई साधना मान्ने अर्का स्थापित गीतकार हुन् सुरेन्द्र थीङ। सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले गीत लेखिरहने गीतकार थीङबाट गीत साहित्यले प्रकाशित पुस्तकको अपेक्षा साँचेको छ। गीतमा जीवनलाई सहजै प्रतीकात्मक ढङ्गले उतार्न सफल गीतकारमा भाव गाम्भीर्य र सौन्दर्यचेत विशेष रूपमा पाइन्छ। उनले बुझेको/भोगेको जीवन गीतमा यसरी विम्बित गर्छन् :
जिन्दगानी काँड़ाको बोट मात्रै भयो नि
पैह्रो झर्ने डाँड़ाको चोट मात्रै भयो नि
सब चढ्छन् उकाली आफूलाई भीरजस्तो
छल्किएको नुनिलो थोपा आँखाहरूलाई पीरजस्तो
चाँदनीको लजालु रूप खोट मात्रै भयो नि...
उनको अर्को गीत :
साँझ आउँछ साँझमा तर उनकै याद आउँछ
बिहानीको शितले पनि झझल्को उनकै ल्याउँछ...
बासभूमिको निम्ति गीत नलेख्ने नेपाली गीतकारहरू विरलै होलान्, गीतकार थीङ पनि यसबाट अपवाद छैनन्। उनी लेख्छन् :
खोजिरहेछु एउटा घर
मेरो घर आफ्नो घर
जलिरहेको मनलाई छहारी दिने
एउटा घर, मेरो घर, आफ्नो घर
थाकेको उकाली यात्राले
मलाई घर लैजा भन्छ
शहर बल्छ बत्ती भएर
सपना घर फर्की जा भन्छ
सोधिरहेछु सबैलाई
मेरो घर आफ्नो घर...
विविध विषयहरूलाई टिपेर सहज गीत लेख्न सक्ने गीतकार थीङलाई मूलत: प्रणयवादी र जीवनवादी गीतकारका रूपमा चिनिन्छन्। उनी सन् 1976 अनि 1999 सालमा गोदुनिस, दार्जीलिङबाट श्रेष्ठ गीतकार पुरस्कार विजेता पनि हुन्।
आफ्नो अग्रज गीतकारहरूका गीत लेखनबाट प्रभावित भई यस क्षेत्रमा काम गर्न अग्रसर हुने मङ्पूका एक भरासिला युवा गीतकार हुन् अनीत खाती। मङ्पूबाट अहिलेसम्मै कृतिको रूपमा गीत सङ्ग्रह प्रकाशमा ल्याउने पहिलो गीतकार हुन् अनीत खाती। उनको सन् 2009 मा ‘पर्खाइको पीड़ा’ नामकृति प्रकाशित भइसकेको छ। गोतामे गीतबाट कसो कसो प्रभावित गीतकार खाती पनि गीतमा भोका-निमुखाको स्वर बन्छन्। उनी लेख्छन् :
भोका पेटहरू यहाँ हाँस्न मान्दैनन्
अघाएकाहरू यहाँ बाँच्न जान्दैनन्
भोक र प्यास मेटाऊ भेद र भाव हटाऊ
मन्दिर अघि फैलिएका कैँयौँ हातहरू छन्
तिर्खाबाट लुकिबगेका दूध बर्बाद छन्
मिथ्याको प्रथा हटाऊ, स्वार्थीको सङ्ख्या घटाऊ...
प्रेम भावको उनको एउटा गीतको स्थायी :
अबेर भयो नआऊ तिमी रात ढलिसक्यो
विश्वास बास बस्ने घऱ अघि नै जलिसक्यो
सक्दिनँ चोट सहन अब धेरै नै दुखिसकेँ
आफ्ना आँसुका तलाउभित्र सधैँलाई डुबिसकेँ
मानवीय गुणचेतले गीत लेख्ने गीतकार खातीलाई प्रणयवादका उम्दा गीतकारका रूपमा राख्न सकिन्छ।
गीत लेखनमा मङ्पूबाट उदाएका एक उदीयमान गीतकार हुन् उमेश उपमा। कथाले मागेको कथा-वस्तुमाथि राम्ररी लेख्ने गीतकार उमेश उपमाले नेपाली लोकप्रिय चलचित्र ‘आप्पा’मा दुईवटा गीत लेखेका छन्। यस बाहेक उनको ‘मुटु मिची मिची’ गीत पनि युट्युब च्यानलमा खुबै लोकप्रिय बनेको छ। ‘आप्पा’ चलचित्रका गीतहरूले उनलाई लोकप्रिय अनि सफल गीतकारका रूपमा दहऱ्याएको छ। उनका गीतका नमूना :
जानु छ पहाड़मा, कुहिरोको बाटो तिमीलाई साथ लिएर
लौ जान्छु पहाड़मा, कुहिरोको साटो तिमीलाई साथ दिएर
यो हावा सररर सररर सररर सररर उड्दैछ
यो बादल लुकिछिपी, लुकिछिपी, लुकिछिपी गर्दैछ...
यिनले एकल, युगल दुवै किसिमका गीतहरू लेखेका छन्। गीतमा जीवनका विविध संवेदनहरूबाट शब्दहरू खिपी-खिपी सजाएका छन्। यिनलाई मूलत: रोमान्टिक गीतकारका रूपमा दहऱ्याउन सकिन्छ।
मूलत: कथाकार भए पनि उदय थुलुङले राम्रा-राम्रा गीतहरू लेखेका छन्। उनी गीतमा अमरत्व पाउने शाश्वततालाई आत्मासात् गर्दै गीत लेख्छन् :
बाँच्नै भनी गीत कोरेँ, गीतैमा बोलेँ
गीतले नै बैरी भयो, आफ्नो भन्ने मेरो
आधा बाटो हिँड्दा-हिँड्दै भीरैमा परेँ
थाम्दा-थाम्दै आफूलाई जिन्दगीमा लड़ेँ...
उनको अर्को गीतको स्थायी:
मेरो सम्झनाको खण्डहरमा आगो लगायौ होला तिमीले
बाडुली उभिने संघारमा सागर बिछ्यायौ होला तिमीले...
कथामा जस्तै गीतमा पनि विम्बहरू कुँदेर गीतलाई गहकिलो बनाउनु उनको विशेषता हो। सन् 2018 मा गोदुनिस दार्जीलिङबाट ‘श्रेष्ठ गीतकार पुरस्कार’ प्राप्त गर्ने गीतकार उदय थुलुङबाट कुलैनबारीको पक्षमा नेपाली गीत साहित्यले गीत सङ्ग्रह अपेक्षा गरिरहेको छ।
कुलैनबारीकै साहित्यिक अभिभावक मोहन ठकुरी पनि बेला-बेला कथा-कविताको यात्राबाट थकित भई गीतको चौतारीमा बिसाउँछन्। तर उनका गीतहरू भिन्न पृष्ठभूमिमा रचिएका छन्। हामीले भोग्दै आएको आस्तित्विक सङ्कटको कुरालाई सङ्केत गर्दै तिनीहरूबाट निदान पाउन उनी लेख्छन्:
कुल्चेर हिँड़्न खोज्छन् हामीलाई हर कोहीहरू
हाम्रै ठाउँमा धम्काउन खोज्छन् त्यहीहरू
बुझेर यही कुरा उज्यालो पार्नुछ रातहरू
बिर्सनु हुँदैन हामीले यो बेला चोट र घातहरू..
उनका गीतहरूमा अस्तित्वचेतको झुल्का पाइन्छ।
यसै त मङ्पू सिर्जन क्षेत्रमा खुबै मलिलो छ। कुलैनको जराभन्दा जटिल र जर्जर व्यवस्थाले श्रमिकको रगत र पसिना जे-जति र जसरी चुसे पनि त्यसको हावा-पानीको स्वच्छ र स्वस्थ परिवेशले सिर्जनशीलतामा अनुकूलता प्रदान गरेको छ। यस भेकबाट गीत लेखनमा नयाँ-नयाँ सर्जकहरूका सहभागिताले गीत-साहित्यको उज्यालो भविष्य प्रकाश पार्दछ। यसै सन्दर्भमा गीत लेखनमा सक्रिय देखाउने यस भेकका पुष्कर सिङ्गरलाई एक उदीयमान गीतकारका रूपमा पाउँछौँ। उनले धेरै गीतहरू लेखेका छन्। जीवन दर्शनलाई गीतमा उतार्न खप्पिस उनी लेख्छन् :
जीवन हाँस्दैमा फूल नभन
दुख्दैमा शूल नभन
पैह्रो नधस्केको कसको छैन र
जीवन भत्किँदैमा भूल नभन
...
ओइली झर्छन् फूल पनि
डालीको मोहमा बस्दैन
लडेर जीवनमा उठ्न सिक
पीड़ाले मनलाई डस्दैन..
युवा हुद्दाबाट गीत लेखनमा आफ्नो छुट्टै विशेषता बोकेर आएका गीतकार पुष्करबाट नेपाली गीत साहित्यले थुप्रै आशा-भरोसा राख्न सक्छ।
केसाङ लामा मङ्पू भेकका एक लगनशील गीतकार हुन्। एक धुनले गीत लेख्छन् उनी, गीतमा जीवनका विभिन्न पक्षहरू खोतल्छन्। गीतबाट जीवन चियाउने उनको आफ्नै विशेषता छ। प्रणयोद्गारमा लेखिएको उनको गीत :
यो मन कसैलाई घुम्तीहरूमा पर्खिरहने गर्छ
टोलाएझैँ गरी पछाड़ि फर्किरहने गर्छ
थाहा छ धुलो सिवाय पछ्याउँदै आउँदैन कोही भनेर
मनको छानोमा सावन आशाको दर्किरहने गर्छ...”
गीतहरूमा विम्ब प्रस्तुतिमा सफल रहेका गीतकार केसाङ लामा एकजना भरपर्दा गीतकार हुन् भन्नमा दुईमत नहोला।
एवम्रीतले गीत लेखनमा निरन्तर नलागे पनि गीतलाई आफ्नो रुचीको विषय बनाई गीत लेख्नेहरूमा मङ्पूबाट हामी दीपलाल राई, रत्न सुब्बा, कुमारसिंह गुरुङ, राजेन आले, सुजित थापा, विनोद रसाइली, पदम बराइली, पी. एम. रामुदामु, दीप थापा आदिका नाम सगर्व लिन सक्छौं। तथापि यति धेरै गीतकारहरू भएको ठाउँबाट गीत साहित्यको निम्ति अनीत खातीकृत एउटै मात्र गीत सङ्ग्रह ‘पर्खाइको पीड़ा’ प्रकाशित छ। गीत साहित्यको श्रीवृद्धिमा मङ्पूको उदासीनता अन्त्य भएको हेर्ने चाहना छ।
सन् 1938 सालमा खोलिएको रोङ्गो कुलैन बगानका क्रमैले तीन विभागहरू छन् रोङ्गो, दलगाउँ र गैरीबास। सिर्जन क्षेत्रको उर्वरतामा यो मङ्पूको दोस्रो लहरमा छ। यस भेकमा पनि साहित्य, कला, सङ्गीत, खेलकूद, शिक्षा आदि क्षेत्रमा अतुलनीय योगदान पुऱ्याउने व्यक्तिहरू छन् यद्यपि यस लेखमा गीत र गीतकार मात्र अपेक्षित रहेको हुनाले अन्य विधा र तत्सम्बन्धी सर्जकहरूका चर्चा यहाँ उल्लेख छैन। यस भेकबाट गीत लेख्नेहरूमा स्व. वीरबल विश्व, विजय गुरुङ, स्व. अमर गुरुङ, स्व. विकास थुलुङ, बिर्ख कालिकोटे, अनिल तेलैजा, रोशन रोसूरी, रमेश थापा, उज्ज्वल बमजन, मनोज बोगटी, जय ‘क्याक्टस’, कमल रेग्मी आदि प्रमुख रूपमा लिन सकिन्छ।
स्व. वीरबल विश्व यस भेकका एक सफल गीतकारको रूपमा चिनिन्छन्। उनको एउटा गीतको स्थायी :
मेरो गीत नै उपहार हो, शब्द-शब्दमा व्यथा भरेको छु
जिउँदो नसम्झ मलाई तिमी, व्यथासितै मरेको छु...
गीतकार विश्वले धेरै गीतहरू लेखेका छन्। उनका गीतहरूमा पीड़ा, अमर्ष, विषाद आदि मूल स्वरका रूपमा पाइन्छन्।
अनिल तेलैजा युवा पुस्ताका एक उम्दा गीतकार हुन्। गीत लेखनमा उस्तो निरन्तरता नदिए पनि उनले राम्रा-राम्रा गीतहरू लेखेका छन्। उनका लोभलाग्दा गीत लेखनमा निरन्तरताको अपेक्षा गरिन्छ। उनको एउटा गीत :
रुवाउन सक्छौ कति रुवाएर हेर
शिशाजस्तै मेरो मनलाई चर्काएर हेर
तिम्रो नजर मबाट जति जति तर्काउँछौ
पाइलाहरू अर्कै बाटो जति जति बढाउँछौ
सम्झनामा पछ्याइबस्छु बिर्सिएर हेर
शिशाजस्तै मेरो मनलाई चर्काएर हेर...
रमेश थापा यस भेकका अर्का उज्याला गीतकार हुन्। कथा र कविता आफ्नो मूल विधा हुँदा-हुँदै पनि गीतलाई आत्मासात् गरेर अघि बढ्ने युवा सर्जक थापाले राम्रा-राम्रा गीतहरू लेखेका छन्। उनको गीतको नमूना :
लालुपाते फुलेर बैँश चढ़ेको
हरियाली कुलैनबारी पाखा सजेको
हाँस्दै छर्छ सुनौलो प्रकाश
मेरो प्यारो गैरीबास...
यस गीतमा उनले आफ्नो ठाउँ मोह दर्शाएका छन्। उनको अर्को गीतको स्थायी :
पिउन देऊ आज मलाई
मौसमले साथ दिइरहेछ
मौसमले के साथ दिइरहेछ
विवशताले साथ दिइरहेछ...
गीतकार थापा आफ्ना गीतहरूमा सुहाउँदिला विम्बहरू चिटिक्क सजाएर राख्छन्।
‘सेन्तेरेम सेन्तेरेम पिइदिउँन सेन्तेरेम..’ गीतबाट चर्चामा आएका गीतकार उज्ज्वल बमजन यस भेकका अर्का भरपर्दा गीतकार हुन्। समाजको यथास्थितिलाई व्यङ्ग्यको शैलीमा गीत लेख्न खप्पिस बमजन प्राकृतिक सौन्दर्य पनि गीतमा उतार्छन्। उनको गीतको दृष्टान्त हेरौँ :
चाँप-गुराँस ढकमक फुलेको बेला
घुम्न जाऊँ है मायालु रमाइलो रचेला...
माया गर मेरो शिरमा गुराँस सिउरिएर
अँगालोमा बाँध प्रेमको सुवास छरिदिएर
कति सुन्दर मौलिएर फुलेछ चाँप
नभुल है मलाई कहिले लाग्ला तिमीलाई पाप...
रोङ्गो भेकका साहित्यिक अभिभावक जय ‘क्याक्टस’ मूलत: समालोचक र कवि हुन् तर उनले धेरै गीतहरू लेखेका छन्। एकल, युगल, बाल गीत, पर्यावरण सम्बन्धी गीतहरू उनका स्वरबद्ध भइसकेका छन्। गीत लेखनमा सिद्धहस्त गीतकार जय ‘क्याक्टस’का गीतहरूमा बढ़ी हार्दिकता पाइन्छ, जुन गीतमा हुनुपर्ने एउटा तत्व हो। कुलैनबारीको व्यवस्थाबाट विरक्तिएर लेखेको उनको एउटा गीत यस्तो छ :
हिमालचुली त्यो पल्लोपट्टि जोर बस्यो कोकोले
रोङ्गो है कमान नबस्नु रै’छ छोड़्दैन डोकोले...
यहाँ रोङ्गो ‘स्थान विशेष’ नभएऱ कुलैनबारी व्यवस्थाको प्रतीक नाम रहेको छ। आफ्नो ठाउँप्रतिको असिम स्नेह त उनी शब्दहरूले यसरी कुँद्छन्।
सैनिक हौ हामी रोङ्गोका
वीर सेनानी हामी भर्खरका
कुलैनको बोटसँग हाम्रो
अटुट माया र प्रीति छ...
मूलत: सङ्गीतकार भए पनि कुलैनबारी विम्ब टिपेर प्रसाद रनपहेँलीले लेखेको यो गीत उद्धरणीय छ :
नौमतीको धुनले पहाड़ थर्कायो
गुन्यूँ-चोली-चौबन्दीले जातित्व झल्कायो
वरिपरि हरियाली कुलैनबारी छाएको
त्यही कुलैनबारीमा हाम्रो रगत पसिना बगेको छ।
नेपाली साहित्यमा स्थापित भइसकेका मनोज बोगटी यस भेकका असल गीतकार पनि हुन्। उनले धेरै गीतहरू लेखेका छन्। बिछट्ट शब्द-शैलीमा बान्किला प्रतीक-विम्बहरू टिपेर गीत लेख्ने उनको आफ्नै सीप छ। उनका गीतका नमूना हेरौँ :
पातमा लेखी एउटा नाम बगाएँ पानीमा
आँधी आयो त्यसपछि जिन्दगानीमा...
अर्को,
नभएको प्रेम एउटा, नफुलेको फूलजस्तो
पुग्नुपर्ने ठाउँ छ कतै, नहिँड़ेको बाटोजस्तो..
कविता यात्रामा थुप्रै सफलता हात पारेका मनोज बोगटीका गीतहरू पनि उत्तिकै प्रभावकारी र मनोहारी पाइन्छ।
गीत लेखनलाई आफ्नो विधाको केन्द्र मानेर गीत लेख्ने गीतकार हुन् कमल रेग्मी। उनका गीतहरू पुस्तकाकारमा पनि प्रकाशित छन्। ‘काँड़ाफूल’ (2007), ‘हिउँको आगो’ (2012), ‘घामपानी’ (2018) र अङ्ग्रेजी अनुवादसहितका ‘कन्फ्लुएन्स’ (2018),’बालुवामा’ (2023)उनका गीत सङ्ग्रहहरू हुन्। ‘तप्कना’ गीति एल्बम (2008) मा उनका 9 वटा गीतहरू समावेश छन्। गीत साहित्यमाथि लेखिएको खोजपरक लेखको निम्ति सन् 2016 मा उनले सिक्किमबाट ‘स्रष्टा पुरस्कार’ अनि सोही साल गोदुनिस, दार्जीलिङबाट मौलिक गीत रचनाको निम्ति ‘श्रेष्ठ गीतकार पुरस्कार’ प्राप्त गरेका छन्। उनको सम्पादनमा भारतबाटै पहिलोचोटि ‘भारतीय नेपाली गीत सञ्चयन’प्रकाशित भएको छ।उनले पनि विभिन्न विषयवस्तु र पृष्ठभूमिमा गीतहरू रचेका छन् :
बालुवामा याद खोप्छौ र नमेटाउनू भन्छौ
पानीमा नाम लेख्छौ र नबगाउनू भन्छौ
आँधीले कुन गीत गायो होला म कसरी जानूँ
छात्तीमा शीर राख्छौ र नछुनु है भन्छौ..
पढ़िसिध्याएको पन्ना जस्तो हुन्छु बेला-बेला
यसो पल्टाउँदै गर्नु है यादहरू फुर्सदमा
मेटिसकेका भए मेरा नामका अक्षरहरू
धमिलो विगतमा हेर्नु मौका मिलेको बेला...
सन् 1901 सालमा स्थापना भएको मन्सोङ कुलैनबारी, काश्येम, साङ्सेर, बरमेक, रम्फू विभाग मिलेर बनिएको छ। सन् 1946 मा यहाँबाट सूर्यमान छेत्री, तारामान गुरुङ, दिलबहादुर राईले गीत लेखनलाई जोहो गरेको पाइन्छ। सोही साल उनीहरूकृत ‘आनन्द लहरी’ गीति काव्य प्रकाशित भएको पाइन्छ। ‘गीति काव्य’ र ‘गीत सङ्ग्रह’ अलग हुन्, तथापि गीत लेखनको परम्परा उबेलै बसेको पाइन्छ। उक्त कृतिबाट गीतको नमूना यसरी प्रस्तुत गरिन्छ :
रेल्वेको सटक पहरो निस्क्यो
फुटायो सुरुङले
मन उदास हुँदा गीतै र कथ्यो
तारामान गुरुङले
नामै त मेरो दिलबहादुर राई
जातैको चाम्लिङ राई
धेरैको जहान पच्चीसैजना
जन्मेको एकै भाइ
सिग्रेट ल्याऊ, माचिस ल्याऊ
ल्याऊ बिँडी छ भने
जेठोको जन्ती चारजना थीये
बडागेल कमाने
...
खरसाङै ज्यानको बङ्गला पानमा मसाला मथेको
दमसाङै ज्यानको कुइनेनै बगान यो गीत कथेको
सानोमा सानो रेशमी रुमाल धोबीले धुनेछ
विङ्गटार कमान क्यै धन्धा नमान् म तिम्रो हुनेछ
मन्सोङले जन्माएको अर्का गीतकार हुन् नवीन स्पन्द। उनले पनि धेरै गीतहरू लेखेका छन्। उनी स्वयं एक गायक र सङ्गीतकार पनि हुन्।
घरमाथिको सानो वनमा जब चरी गाउँछ
यो छात्तीको देब्रे पाटो छिया-छिया बन्छ
मानिस भए बोलाएर केही सोध्ने थिएँ
दग्ध मनको ढोका खोली केही बुझ्ने थिएँ
मेरो जस्तै कथा थियो कि कथाभित्र व्यथा
वा ता थियो उनको आफ्नै जिन्दगीको व्यथा
उनी पीड़ाका गीतहरू खूबै मार्मिक ढङ्गले लेख्छन्।
गीत लेखनमा यस क्षेत्रबाट उदाएका अन्य गीतकारहरूका नाम लिनु पर्दा जगदीश शर्मा, जीवन राई, सुनाम काबो, याङ डोल्मू जिम्बा, रजिन शेर्पा, शर्मिला पाख्रिन, हरि तामाङ, लक्ष्मीकान्त ज्योत, नवीन पाख्रीन, एनोस गुरुङ, अनिल राई, सरिफ राई आदि छन्।
सन् 1942 सालमा खोलिएको हो लाट र सिटोङ कुलैनबारी। लाट भन्नेबितिक्कै कालुसिंह रनपहेँलीको नाम स्वत: आउँछ। गीतकार कालुसिंह रनपहेँलीको चर्चा हुनेबितिक्कै ‘आँधी-हुरी बतासहरूमा’ गीतको सम्झना हुन्छ। यी गीतले उनको गीतिकारिताको सफलता दर्शाउँछ। शुरुमा नाटकहरूमा गीत लेख्ने गरेका रनपहेँलीले आकाशवाणीमा कार्यरत रहँदा विविध विषयक गीतहरू लेखेका छन्। यस भेकबाट अहिलेसम्म उनको मात्र एउटा गीत सङ्ग्रह ‘आँधी हुरी बतासहरूमा’ (2017) मा प्रकाशित पाइन्छ। अरू विधासरह गीत लेखनमा पनि उतिक्कै लगनशील र इमान्दार रहेका कालुसिंह रनपहेँलीका केही गीतांश:
पूजाको मन्दिर तोड़िदेऊ मेरो उदास भएर कहिल्यै रुँदिनँ
जीवनको बाटो भत्काइदेऊ मेरो विवश भएर कहिल्यै भाग्दिनँ
काँडाहरू नै जीवन हुन् साँचो जिउन उनैले सक्छन्
हाँस्न चाहनेले रुनैपर्छ जीवनको नियम यस्तै हुन्छ
जन्मन्छन् यहाँ दिन र रात, रात देखेर तर भाग्दिनँ...
उनको अर्को गीतको स्थायी:
भालेले बास्छ नेपाली संसार रमाइलो पारेर
चिया र कुलैन ब्युँझेर उठ्छ नेपाली भएर..
लाटका गीत लेख्ने गीतकारहरूका चर्चा गर्दा स्व. किशोर चाम्लिङलाई बिर्सनु हुँदैन। उनले कुलैनबारीमाथि गीत लेखेका छन्।
प्यारो छ मलाई प्यारो छ हरियाली कुलैनबारी
जहाँ छ मेरो पुर्खाको चिहान प्यारो छ कुलैनबारी
बित्यो जहाँ बाल्यकाल हाँस्यो जहाँ जीवन
यही हो मेरो घर औ संसार यही हो मेरो जीवन
माया छ यो छाँगो-छहरो हरियाली कुलैनबारी
त्यो ढुङ्गा र माटोको माया छ जहाँ पुर्खाको इतिहास बाँचेको छ
मरेर पनि पुर्खाले अझै कुलैनको बोटलाई रुँगेको छ
माया छ यो पाखा पखेरो हरियो कुलैनबारी जहाँ छ...
पुर्खादेखि आजपर्यन्त हामीले कुलैनबारीप्रति देखाएको नि:स्वार्थ प्रेम स्नेह, समर्पण र इमानदारीको दसी हो यो गीत।
गीत लेखनमा बेला बेला आउने यस भेकका गीतकारहरूका चर्चा गर्नुपर्दा कुमार भाइ पौड्याल, टेकबहादुर सुन्दास, मातवर राई, बीरु बाङ्देल, बसन्त गुरुङ, साजन मोक्तान ‘बेहोशी’, डीकु मुखिया, निम गुरुङ आदि उल्लेखनीय छ। उसरी नै सिटोङ भेकबाट पनि गीत लेखनमा केही गीतकारहरू लागिपरेका छन्। यस भेकबाट गीत लेखनमा उस्तो काम नभए पनि केही गर्ने प्रचेष्टामा स्व. जीवन राई, स्व. देवप्रकाश मुखिया, निर्णय तामाङ, विदुन गुरुङ, सरोज थापा, वेदन गुरुङ आदिको काम सराहनीय छ। यीमध्ये निर्णय तामाङ यस विधामा निक्कै लागिपरेका छन्। उनको एउटा गीत सङ्ग्रह पनि प्रकाशोन्मुख रहेको छ।
प्राय: जसो सबै गीतकारहरूमा पाइएका गीतहरूमा लयात्मकता, एकोन्मुखता, गीतको बाह्य संरचना, संक्षिप्तता, आन्तरिक मर्म, संवेद्यता र श्रुतिमधुरता आदि गुणहरूको परिपूर्ण छन्। विषयवस्तुका आधारमा प्राय: गीतकारहरूले नै सौन्दर्यप्रेम, प्रणयभाव, जातिप्रेम, सांस्कृतिक-सामाजिकचेत, प्रकृतिप्रेम, मानवमूल्यका कुराहरूलाई ध्यानमा राखेको पाइन्छ। प्राय: सबै गीतहरू एकल-युगल र सामूहिक रूपले गाउन मिल्ने परिपाटीका छन्। गीतकारहरूमा आशा-निराशाका भावहरू पनि स्पष्ट पाइन्छ।
यति वृहत् कुलैनबारी क्षेत्रबाट एकैजना पनि नारी गीतकार नहुनु बढो खेदको कुरा रहेको छ। हुन त अरू विधामा पनि कुलैनबारी भेकबाट नारीहरूको उपस्थिति पातलै पाइन्छ, गीत लेखन क्षेत्रमा उनीहरूका उदासिनता साह्रै पीड़ादायी छ। समग्रमा हेर्दा, सम्पूर्ण कुलैनबारी क्षेत्रबाट गीत साहित्यमा केही काम भए तापनि यसले अपेक्षित विकास भने गरेको छैन। सम्पूर्ण कुलैनबारी भेकबाट प्रकाशित रूपमा गीत सङ्ग्रह हेर्ने हो भने अहिलेसम्म कमल रेग्मीका पाँचवटा, अनीत खातीको एउटा र कालूसिंह रनपहेँलीको एउटा गरी जम्मा सातवटा कृति मात्र पाइन्छ। यस्ता उम्दा-उम्दा गीतहरू लेख्न गीतकारहरूबाट भविष्यमा नेपाली गीत साहित्यले प्रकाशित रूपमा गीत सङ्ग्रह पाउन सके त्यस देनको पहिलो श्रेय कुलैनबारीलाई जाने छ। सम्पूर्ण भारतीय नेपाली गीत साहित्यमा कुलैनबारीको योगदान अतुल्य ठहर्नेछ। यस दिशामा गीतकारहरूले पहल गर्नेछन् अनि यो आग्रहको मान राखिदिनेछन् भन्ने विश्वाससित बिट मार्दछु।
दार्जीलिङ