‘कति हाँसेर बोल्छस् यार ? हाँसेर बोल्ने गर्नाले तेरो ओँठ फट्टिसके, कहिल्यै आराम पाएनन् । छिमेकको त्यो बूढो साला कहिले हो सरकारी अधिकारी थियो, अहिले रिटायर्ड भएर भएर छेउ लागेर बसेको छ । बिहानबिहान लौरो टेक्तै डुल्न निस्केको हुन्छ । त्यसलाई पनि बाटोमा भेटेपछि निहुरेर नमस्कार गर्छस् । नमस्कार त ठीकै हो, शिष्टाचारको कुरो भयो । तर ओँठ फट्ट्याएर हाँसि पनि दिन्छस् । त्यो किन ? फेरि भेटेपिच्छिे नमस्कार किन ? बूढो आफ्नो सुरतालमा हिँडिरहेको हुन्छ, तँ मात्र अगाडि गएर ‘हजुर’ भन्दै दस औँला जोडेर किन नमस्कार ? संसार आफ्नो गतिमा घुमिरहेकै छ । तँलाई मात्रै त्यसमा किन एउटा निहुँ खोजेर नमस्कार गरिरहनु पर्ने ? तैँले नमस्कार गरिनस् भने पृथ्वी घुम्न छाड्छ ? त्यसमाथि समाजमा नचल्ने खोटो सिक्का ठहरिएको पत्रुले झैँ ओँठ फट्ट्याएर हाँस्दै विनम्रता देखाउनु पर्ने ?’ उसको स्वगत भनभन यो थियो, आफैप्रति ।
एकदिन बूढोले रिसाएर झर्कंदे भने— ‘मलाई देखेपिच्छे किन हाँस्छौ, म लौरो टेकेर तातेताते गर्दै हिँडेको देखेर हो कि ? कि तन्नेरी छँदा कसैलाई पनि नदेखेझैँ गरेर हिँड्थ्यो यो अहिले बुढेसकालमा दुर्गति भोगिरहेछ भनेर हो ? खबरदार, अबदेखि मलाई देखेर हाँस्यौ भने । नमस्कार गर, ठीक छ ।’ बूढा टेन्सनमा हुन्थे, बुढेसकाल कसरी बित्ने हो भनेर । उनलाई भित्रभित्रै रिस उठिरहेको हुन्थ्यो ।
ऊ आफै पनि हाँस्नुबाट आजित भइसकेको थियो । आफैँलाई गालीमा ‘साले’ पनि भन्न सकेन । साइलेन्टमा राख्यो ‘साले’ लाई । मूलमा साले भन्नुलाई अशिष्ट वचनमा राख्थ्यो समाज । तर अचेल त चल्दै आएको छ— ‘साले’ । साले भन्ने लत होइन हाँस्ने बानी हटाउन चाहेको छ उसले । हाँसेरै कति जनालाई चाकरी गर्ने ? उसको धारणामा हाँस्नु भनेको चाकरी नै त हो । बाटोमा हरेक चिनेको मान्छेप्रति ऊ हाँसेर सम्बोधित हुन्छ— ‘सन्चै ?’ अर्को मान्छेलाई सन्च होस् वा नहोस्, रोकेर हाँस्दै सन्चबिसन्च सोधिटोपल्ने के सकसक । ऊ खुरुखुरु आफ्नो बाटो लागे हुन्थ्यो । उभिएर हाँस्दै ‘सन्चै’ भन्नुले कति चाकरी पु¥याउँथ्यो ? के आशय पूरा हुन्थ्यो ? उधारो माग्नु थियो कि ? के प्राप्ति ? फेरि अर्को एउटा कुरो पनि छ, त्यो के भने, यो हाँसिरहनाले के फरक पर्छ ?
अरू त अरू सधैँ तरकारी किन्ने गरेको पसलेले पनि भनिदिएको छ— ‘नहाँस्नुस् न सर ।’ तरकारी पसलेको समस्या हुँदो हो व्यापार कम हुनुको । घाउमा नुन छर्केजस्तो भएर होला भनिरहेछ— ‘धनियाँ कति महँगो भएको छ सरलाई थाहा छैन नत्र हाँस्न सक्नुहुन्न्थ्यो ।’ धनियाँ र त्यो महँगो हुनुसँग हाँस्नुको के विपरीत सम्बन्ध रहेछ र त्यसो भन्यो पसलेले ? उसले तरकारी किनेर हाँस्दै यत्ति मात्र भनेको थियो— ‘अलिकति धनियाँ राखिदिनोस् न साहुजी फोसामा ।’ जबाफमा त्यो टर्रो खालको उत्तर पाएको थियो । ऊ किन हाँस्यो त ? नहाँसी गम्भीर बनेर भनेको भए हुने थियो । दुई धर्सा धनियाँ पनि दिएन आखिर, खुसामदको हाँसो मात्र खेर गयो ।
अर्को ठाउँ, सधैँ हाजिर हुनुपर्ने अफिसमा, उसले नमस्कार गरेको थियो हाकिमलाई, माथिबाट हाँसि पनि दियो । हाकिम थियो । मातहतकालाई अनुशासनमा राख्न रिसाउने अधिकार राख्थ्यो, रिसायो । ‘नरबहादुरजी तपाईंले हाँसेर काम निकाल्छु भन्नुभएको होला । त्यसो हुन सक्दैन । हाँसि मात्र रहने, काम नगर्ने ? यसरी कसरी चल्छ ? हाँस्न बन्द गर्नुस् । जानुस् आफ्नो सिटमा बसेर यो फाइल निप्ट्याएर ल्याउनुस् । हाकिम भएर खान सजिलो छैन । माथि जबाफ दिँदादिँदा हैरान परिसकेँ । खानेपिउने च्यामे चोट पाउने श्यामे भनेभैmँ । साला (साइलेन्ट) यो मन्त्री के आएको थियो भए नभएको हिसाब मागिरहेछ । कस्तो हरिप रहेछ कुन्नि ? हिजोसम्म चप्पल लतारेर भोट माग्दै थियो आज सांसद भयो फेरि नेताको चाकरीले मन्त्री भयो, धाक जमाइरहेछ ।’
ऊ नरबहादुर नामले सम्बोधित थियो । एउटा उदाहरण— नामको । नरमध्ये बहादुर । अर्को ठाउँ अर्कै नामले सम्बोधित हुन्थ्यो । साथीभाइहरूबीच साँझ पिउने ठाउँमाा ‘हाँस्ने मान्छे’ भनेर । घरमा हाँस्ने पापा वा बूढीले भन्दा ‘हाँस्ने बूढो’ भनेर । बूढीलाई उसै पनि दिक्दारी भइरहन्थ्यो घरको कामकाजले, त्यसैले भन्थी— ‘हाँस्ने कुरो के छ र हाँसिरहने ? उसै पनि...मानिस यहाँ रुन सकिरहेको हुँदेन !’
हाकिमले हप्काए पनि उसले आफ्नो ट्रेडमार्क छाडेन— हाँस्न । हाँसेर भन्यो— ‘हस् ।’ हाकिमले ऊतिर गडेर अलि बेर हे¥यो र भन्यो— ‘नहाँस्नोस् भन्या नरबहादुरजी, नहाँस्नोस् । हाँसेर फसाउन खोज्नुभएको होला । सिटमा जानोस् र त्यतै हाँस्नोस् ।’ साला (साइलेन्ट) हाकिम ! उसले हाँस्दै सोच्यो— ‘कति विनम्रता व्यक्त भएको छ मेरो हाँसोमा, केही मूल्याङ्कने छैन ।’ फेरि आफैँलाई हप्काउँदै भन्यो— ‘हाँस्न छाडिदे ए नरबहादुर । तँ हासेपछि धेरैले आपूmलाई नाङ्गिएको अनुभव गर्छन् ।’
‘नाङ्गिएको ?’ सिटमा बसेपछि उसले सोच्यो— ‘किन ?’ ऊ आफैँसित प्रश्नाङ्कित भयो । उत्तरमा भन्यो (हाँसिरहेको थिएन)— ‘किनभने अकारण हाँसेर तैँले सोच्दो होस्— चाकरी पुर्याएँ ।’
‘चाकरी ?’ उसले फेरि आफैँसँग आतङ्कित पार्ने प्रश्न ग¥यो । आफैँलाई उत्तरमा भन्यो— ‘अरे भाइ, यो प्रश्न गर्ने बानी छाडिदे । हाँस्ने बानी पनि । अलि गम्भीर भएर इज्जतदार मान्छे भेटिए गम्भीर बन् । हाँसेर मात्र अचेल कसैले मान्यता दिँदैन ।’
अर्को पटक उसले मासु किन्ने ठाउँमा भन्यो— ‘साउनी अलि मासुमासु दिनू ।’ हाँसेर भनेको थियो । ‘मासु त छ यो बोइलरमा ।’ साउनीले भनी । बोइलरको हड्डी पनि के हड्डी ! हाँसेकोमा साउनीले जिस्क्याएको मानिछ, जिस्क्याएर फसाउन । हाकिमले पनि भनेको यही थियो— ‘हाँसेर फसाउन खोज्छौ ?’ फसाउनु के थियो । अलिकति सहजता आउँछ हाँसेपछि, । हाँसेर जिन्दगी बिताऊँ, यो सोच हो उसको ।
ऊ धेरै ठाउँ जाँदैनथ्यो । उसको जीवनको सेरोफेरो र आवागमनको क्षेत्रफल ठूलो थिएन । कि मासु पसल कि तरकारी पसल कि घरमा, कि अफिस । चामल सकिएको भए चामल पसलमा जान्थ्यो, त्यहाँ उभिएर एक कट्टा चामल किन्थ्यो । उसको अनुभव सानो क्षेत्रमै सीमित थियो । व्यापक थिएन । मुलुकको परराष्ट्र मन्त्री भए पो अहिले भारत, अहिले चीन, अहिले अमेरिका, अहिले बेलायत, अहिले जापान, अहिले युगान्डा गर्ने थियो र? त्यति विशाल क्षेत्रमा घुम्नेफिर्ने गरे पनि यति थोरै मुलुकमा सीमित रहियो भन्ने अवसर रहने थियो । ऊ त मात्र चियापसल, अफिस, किराना पसल र तरकारी पसल । ती उल्लेख्य हुँदैनथे । अरू त अरू तीँनिरको चन्द्रागिरी जान पनि सकेको होइन । आर्थिक अभावले । सीमित क्षेत्रको मानिस हो ऊ तर विदेशको भूमि नटेके पनि स्वदेशमै सभ्य देखिन ओँठ फट्ट्याएर हाँसिरहन्थ्यो ।
परराष्ट्रमन्त्री आफ्नो पैसामा देशदेशावर डुल्दैन । सरकारी पैसामा हाँस्दै जहाँ जति डुले पनि भो । जनता कराउँथे, हामीले तिरेको करको दुरुपयोग भो । परराष्ट्रमन्त्री नौनौ दिनसम्म विदेश भ्रमणमा गएर के ग¥यो ? जनताले कर नतिरे कसको पैसाले मोज गर्ने ? तर राष्ट्रको स्वाभमिान रहेको थिएन । यहाँको हालखबर राजनीति गतिविधि यी नेतालाई भन्दा त्यहाँकालाई पहिले र बढी थाहा हुन्छ । उतैबाट यसो गर र उसो गर भनेर अराएपछि यताकाहरू उता किन डुल्न जानु पर्यो ? सम्बन्धित दूतावासमा गएर निर्देशन लिए त भैगो । उसले कार्यालयकै एक जना अति मिल्ने सहकर्मीसँग हाँस्दै यही कुरो भनेको थियो । मनमा डर त थियो, भित्ताका पनि कान हुन्छन्, यस्ता कुराले प्रमोसन रोकिन सक्छ । हाकिमको कानमा यो कुरा पर्यो भने उसको बढुवाको सट्टा अनकन्टारतिर सरुवा हुन सक्थ्यो । तर हाँसोसँगै कुरा फुत्किहाल्यो । अब डराएर फाइदा छैन ।
अति मिल्ने सहकर्मी यस कारण भनेको थियो, कुरा अन्यत्र लिक नहोस् । हाकिम परराष्ट्र मन्त्रीको पार्टीको हो भन्ने अफिसमा व्यापक खासखुस थियो ।
तर अति मिल्ने साथीले उसले हाँसेर भनेको कुरा लिक त गरेन तर गम्भीर भएर भन्यो— ‘मित्र !’ अति मिल्ने साथीले उसलाई कहिल्यै मित्र भनेर सम्बोधन गरेको थिएन । ‘नरे’ भनेर सम्बोधित हुन्थ्यो ऊ । यस पटक ‘मित्र’ भनेर अति गम्भीर अनुहार बनाएर सम्बोधन गरेको सुन्दा उसको मनमा लाग्यो ‘लौ बित्याँस परेछ । मित्र भन्दै छ ।’ तैपनि उसले हाँस्दै भन्यो— ‘मित्र भनेर किन तर्साउँछौ, भन्नुपर्ने कुरो सोझै भन्दा हुन्छ ।’ उसले यो कुरो पनि हाँसेरै भनेको थियो । सालाले के भन्ने हो भनेर तर्सिएको पनि थियो । मान्छेहरू सधेँ मौकाको खोजीमा हुन्छन्— अगाडिकाले गल्ती गरोस् त उपदेश दिइहालुँ । यो सालाले पनि त्यस्तै मौका खोजिरहेको रहेछ त्यसैले सम्बोधनमा कहिल्यै नभनेको शब्द भन्यो— ‘मित्र !’
अति मिल्ने साथीले भन्यो— ‘मुलुकको बारेमा हाँसेर यस्तो सोच्ने हैन । मुलुकको पनि प्रतिष्ठा छ । हामीले स्वाभिमान गुमाउनु हुन्न ।’ अति मिल्ने साथीलाई पनि यस पटक उसको हाँसोप्रति आपत्ति भएछ । त्यसैले नरबहादुर गम्भीर भयो अनि सोच्यो— हाँस्नु ठीक छैन । एक त हाँसेर विनम्रता देखाउँदै कुरा भन, त्यसमाथि हेपाइ पनि खाऊ ।
अँ अगि भनेको चामलको पसलेको कुरो बाँकी नै छ । पहिलेपहिले त पसलेले घरसम्म चामल पुर्याइदिन्थ्यो, पसलको कामदार लगाएर, अहिले भन्यो ‘भरिया खोजेर लैजानोस् ।’ उसलाई त्यो चित्त बुझेन र हाँसेरै उसले सोध्यो— ‘पहिले त कामदार लगाएर पुर्याइदिनुहुन्थ्यो नि त ?’ चामलको कट्टा बोकेर पुर्याएको भरियाले कममा पनि सय रुपियाँ लिने थियो । हाँसेर भनेपछि पसलेको मनमा दया जाग्ला र सहृदयता देखाउँदै— ‘हुन्छ, एक पटकलाई । तपाईं उसै पनि पुरानो ग्राहक हो । अर्को पटकदेखि हुँदैन,’ भन्ला भनेको त अलि रिस मिसिएको गम्भीरता देखाउँदै भन्यो— ‘नहाँस्नोस् न, अचेल त्यो जमाना छैन । व्यापार पनि छैन । चामलको भाउ पनि बढेको बढ्यै छ । कामदार पनि ठेगानको छैन । आज राख्यो अलिकति रकम जम्मा भएपछि विदेश जाने भनेर काम छाडिदिन्छ । यस्तोमा तपाईंले हाँसेर भन्दैमा के गर्ने ? हाँसेर काम लिने जमाना गयो ।’
उसले बीचैमा कुरा काटेर हाँस्दै भन्न चाहेको थियो— ‘तर यस पटकलाई त भइहाल्छ कि ?’ ऊ रोकियो तर हाँसो मेटेन । हाँस्दै भरिया खोज्नतिर लाग्यो । भरिया भेटिएन । भेटे पनि सयभन्दा कम मजदुरीमा मान्ने कोही भएन । आफैँ चामलको कट्टा काँधमा बोकेर घरसम्म लैजान हुन्थ्यो । तर लोकलाज पनि थियो । चलन के थियो भने, थोरै खाने इज्जत जान नदिने । चामलको कट्टा बोकेर घरसम्म पु¥याउँदा इज्जतमा बट्टा लाग्ने डर थियो । उसले एक ठाउँ उभिएर हाँस्दै यस्तो सोच्यो— साला इज्जत । सयको नोट गइरहेछ यहाँदेखि तीँ नजिकसम्म एउटा चामलको कट्टा पु¥याएको पनि, इज्जत बेच्ने हो भने सय पनि पाइने होइन ।’
चामलको कट्टा र इज्जतबारे धेरै बेर सोचिराखेन । हाँसोबारे उसलाई सङ्कट आइलाग्दै थियो । हाँसेर बोलेकोमा यति कटु अनुभव होला भन्ने उसले ठानेको थिएन । हाँस्न छाडेको होइन तैपनि हाँस्न छाड्नुपर्ने हो कि भन्ने भय उसमा थियो । हाँसेर के उपलब्धि भयो र खै ? हाँसोले गर्दा ऊ नम्र देखिन्छ, कतै जोकर जस्तो पनि । कुरा न कन्था हाँसेको छ । भन्न त नहुने । एक दिन बस कुरेर बस्दा उसले एउटी महिलालाई ‘यो आइरहेको बस सुनधारा जाने हो ?’ भनेर हाँसेर सोधेको थियो ।
महिलाले पनि हाँस्दै भनी, ‘सुनधारा जान्छ, जाने हो ?’
महिलाले जाने हो भनेर हाँस्दै सोधेकोमा उसलाई अप्ठ्यारो अनुभव भयो । उसले हाँसेर सोधेको महिलाले कुन अर्थमा लिई र जबाफमा हाँसेरै जाने हो भनेर सोधी ? महिलाप्रति उसको मनमा सन्देह जाग्याकि महिला कतै....? फेरि फिस्स हाँस्यो र आफैँसँग प्रश्नामुख भयो— ‘कतै के ? महिला भनेर हेपेर सोचिस् कि ?’