18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘आभास बिहानीको’मा सङ्गृहीत गीतहरू

कृति/समीक्षा नारायण मरासिनी April 27, 2024, 3:56 am
नारायण मरासिनी
नारायण मरासिनी

गीतसङ्गीतका क्षेत्रमा साधनारत पद्मराज ढकाल (वि.सं. २०२०) प्रगतिशील प्रतिभाका रूपमा परिचित छन् । पोखरेली परिवेशमा स्थापित विभिन्न साहित्यिक एवं अन्य सङ्घसंस्थामा संलग्न रही आफ्नो व्यक्तित्वलाई परिष्कृत तथा परिमार्जित रूपमा अगाडि बढाउँदै गरेका ढकाल कवि, सङ्गीतकार, गीतकार र गायक हुन् । उनको व्यक्तित्व कविभन्दा बढी गीतकार एवं गायकका रुपमा परिचित छ । यद्यपि उनको कलम गद्य र पद्य दुवै शैलीका रचनामा चलेको पाइन्छ । उनले शास्त्रीय छन्दमा मिठामिठा कविता लेखेर यस परिवेशका विभिन्न साहित्यिक कार्यक्रमहरूमा सुनाउँदै आएका छन् र ती विभिन्न पत्रपत्रिकामा प्रकाशित पनि छन् । पछिल्लो चरणमा आएर गीतसङ्गीतमा बढी क्रियाशील भएकाले उनको कविता लेखन केही सुस्ताएको देखिन्छ । हालका दिनहरुमा उनले आफ्नो साधनाको मुख्य क्षेत्र गीतसङ्गीतलाई नै बनाएका छन् ।
२०३५–०३६ सालको आन्दोलनताका बहुदलका पक्षमा गीतहरू लेखेर सुनाउँदै लेखन एवं गायन यात्राको प्रारम्भ गरेका ढकालको साधनाले लगभग चार दशकको अवधि पार गरिसकेको छ । २०४१ सालदेखि उनका फुटकर गीत, कविता लगायतका रचनाहरूको प्रकाशनको क्रम सुरु भएको हो भने गीत रेकर्डका सन्दर्भमा उनले पहिलो गीत २०५१ सालमा रेडियो नेपालमा रेकर्ड गराएका हुन् । गण्डकी साहित्य सङ्गम, पोखरा; प्रगतिशील लेखक सङ्घ, कास्की; साहित्य शृङ्खला, पोखरा लगायतका प्रगतिशील सङ्घसंस्थाहरूमा संलग्न भएर काम गरिरहेका ढकाल अहिले पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिका रूपमा कार्यरत छन् । ढकालका गीतहरू जनवादी प्रकृतिका छन् । पोखरेली परिवेशका प्रगतिवादी–प्रगतिशील स्रष्टाहरूसँगको सामीप्यका कारण पनि उनलाई जनवादी गीतहरुको लेखन र गायनको क्षेत्रमा क्रियाशील हुन सहयोग पुगेको देखिन्छ । पोखराका लोककवि अलि मिया र लोकगायिका हरिदेवी कोइरालाको सङ्गत पाएर उनी लोकगीतको सङ्कलन र गायनमा अगाडि बढेका हुन् भने पोखराकै रविलाल अधिकारी, कुलप्रसाद खनाल, घनश्याम ढकाल, नुमराज बराल लगायतका प्रगतिशील–प्रगतिवादी स्रष्टा–द्रष्टाहरूको सङ्गतमा उनी जनपक्षीय गीतकार, लेखक बनेका हुन् ।
अहिलेसम्म ढकालका लगभग दुई दर्जन जति स्वदेश गान एवं लोकगीतका क्यासेट एल्बम सार्वजनिक भएका छन् । उनका गीतहरु विभिन्न साहित्यिक तथा अन्य गैह्र साहित्यिक पत्रपत्रिकामा प्रकाशित पनि छन् । ‘आभास बिहानीको’ नाममा उनको एउटा गीतसङ्ग्रह प्रकाशन भई बजारमा आएको छ । यस सङ्ग्रहमा विभिन्न भाकाका ५१ वटा गीत सङ्कलित छन् । सङ्ग्रहमा ढकालका विभिन्न पत्रपत्रिकामा पूर्वप्रकाशित, रेडियो–एफ्. एम्.हरूमा प्रसारित एवम् क्यासेट एल्बमहरुमा रेकर्ड गरिएका र कतिपय गीतहरु पहिले नै प्रकाशित नभएका तथा रेकर्ड नभएका गीतहरु पनि सङ्कलित छन् ।
‘आभास बिहानीको’मा सङ्कलित गीतहरू सबै एउटै भाकाका छैनन् । झ्याउरे, मारुनी, कौरा, तीज, सोरठी, लोकदोहोरी, तामाङ सेलो, सिँगारु, धिमाल आदि भाकाका गीतहरुलाई यस सङ्ग्रहमा समावेश गरिएको छ । एउटा गजल केही स्वदेशगान र केही लोकलयका कविता पनि यसमा सङ्गृहीत छन् । सङ्कलित जम्मा ५१ वटा रचनामध्ये अधिकांश रचना लोकलयमा आधारित छन् । अहिलेको समय लोकगीतको बाढी चलेको समय पनि हो । आजकल ससाना केटाकेटीदेखि, युवायुवती हुँदै बुढाबुढीसम्मलाई पनि लोकगीतले निकै प्रभाव पारेको देखिन्छ । बसको यात्रामा होस् वा मेलापर्वमा लोकगीत सुन्न पाइएन भने यात्रा निरस हुन्छ र मेलापर्व पनि खल्ला लाग्छन् । सायद् जनताको यही मनोभावलाई बुझेर नै ढकालले लोकछन्दका रचनाहरुको यो सङ्ग्रह तयार पारेका हुन् ।
यस सङ्ग्रहका अधिकांश गीतहरु पोखरेली परिवेशका साहित्यिक समारोह तथा गोष्ठीमा पनि स्वयम् गीतकारले गाउँदै आएका गीत हुन् । ढकालका गीतहरू सस्तो लोकप्रियता आर्जन गर्ने खालका छैनन् । उनका प्रायः गीतहरू जनचाहना बमोजिमका छन्; गीतहरू युगसापेक्ष छन् र मर्मस्पर्शी पनि छन् । सामाजिक जनजीवनलाई आधार बनाएर सिर्जना गरिएका उनका रचनामा श्रमजीवी जनताप्रतिको मोह झल्कन्छ । यद्यपि उनले पोखरा र यस आसपासको प्राकृतिक सौन्दर्यलाई पनि विषयवस्तु बनाएर गीतहरुको सिर्जना गरेका छन् । उनले प्राकृतिक सौन्दर्यको वर्णन भएका गीतहरुमा समेत मानवीय पीडालाई घुलमिल गराएका छन् ।
जनताका मर्म तथा वेदनालाई विषयवस्तु बनाइएका ढकालका गीतहरुमा अराजकतामाथि ठाडो प्रहार छ । निरङ्कुशताका विरुद्धको अभिव्यक्ति कडा छ । देश बिगार्ने नेता एवं दलहरूदेखि समाज बिगार्ने आजकलका उत्ताउला ठिटाठिटीहरूको पनि उनले आफ्ना केही गीतहरुमार्फत झाँको झारेका छन् । आजको तडकभडक र पश्चिमाहरुको अन्धानुकरणका विरुद्धमा पनि केही गीतहरुमार्फत उनले अभिव्यक्ति दिएका छन् ।
नेपालको ऐतिहासिक निरङ्कुशताको विरोध गर्दै समतामूलक समाजको चाहना राखिएका उनका अधिकांश गीत जनपक्षीय छन् । केही गीतमा उनले जातको नाममा राज्य बनाउनु हुँदैन भन्ने आशय पनि व्यक्त गरेका छन् । यसमा हाम्रै छिमेकी राष्ट्र भारतको तामिलनाडु तमिल जातिको नाममा नामकरण गरिएको राज्य हो । नागाल्यान्ड पनि जात विशेषमै आधारित स्थान हो घलेगाउँ, बाहुनडाँडा जस्ता गाउँका नामहरु हाम्रै नेपालमा पनि छन् । यो जातविशेषको पहिचानको कुरो हो । यो स्थिति संसारका अधिकांश गणतान्त्रिक मुलुकहरूमा देखिन्छ । जातिको नाममा राज्यको नामकरण हुँदैमा प्रलय चाहिँ भइहाल्दैन । अन्य जातिले पनि स्वतन्त्रताको उपभोग गर्न पाउँछन् । यस सङ्ग्रहका केही गीतमा ढकालले आफूलाई चित्त नबुझेको कुरो लुकाएका छैनन्, मनभित्रै गुम्स्याएर राखेका छैनन् स्पष्ट र निर्भीक भई लेखेका छन् । जातीय राज्य बनाउनु हुँदैन भन्ने सन्दर्भमा ढकालका ‘जातको नाममा विभाजन नखोजौं’, ‘जातको नाममा राज्यलाई टुक्रा नपार्नोस्’ जस्ता गीत देखिन्छन् । यी गीत उनले विभिन्न साहित्यिक समारोह तथा गोष्ठीमा पनि गाउँदै आएका गीतहरू हुन् ।
‘उठने लौ बेला भयो’, ‘पूर्व रातो भएको हेर’, ‘हटाउँ शोषक–सामन्त’, ‘घाँडो भयो राजतन्त्र’, ‘सामन्तको नाइके दरबार’, ‘लेख्छु म सधैं जनताको गीत’, ‘जनवाद ल्याउन किन गर्ने आपत्ति’, ‘राजतन्त्र ढल्दै छ’ लगायत अन्य अरु केही गीतहरु जनवादी गीत हुन् । यी गीतहरूमा गीतकारको प्रगतिशील चिन्तन मुखरित छ । यी गीतमार्फत ढकालले नेपालमा जनवादी शासनव्यवस्था ल्याउने चाहना राखेका छन् ।
‘अघि बढौँ मास्नलाई सामन्तको रीति \ आफ्नो कमाइ आफै खाने बनाउनु छ नीति’ (कविलाई अनुरोध) भन्दै गीतकार ढकाल सामन्ती संस्कृतिका विरुद्धमा र सांस्कृतिक परिवर्तनका पक्षमा उभिएका छन् । ‘उठने लौ बेला भयो \ भालेको नौलो डाँकोले ब्युँझायो’ (उठने लौ बेला भयो), ‘पूर्वतिर हेर आज रातो लाली छाउँदै छ \ जनताको उज्यालो दिन आउँदै छ’ (बुद्धि भए राजा आजै गद्दी त्याग भो) जस्ता फाँकीहरु लिपिबद्ध गरेर ढकालले यस सङ्ग्रहमार्फत उज्यालो भविष्यको कामनाका गीतहरू गाएका छन् । सङ्ग्रहमा सङ्कलित अधिकांश गीतहरु चेतनामूलक छन् । उनी जनतामा नयाँ चेतना आओस् भन्ने चाहन्छन् । उनका केही गीतमा नयाँ नेपालको निर्माणको चाहना देखिन्छ भने केही गीतहरू २०३६ साल २०४६ साल र २०६२–०६३ सालको जनआन्दोलनसँग सम्बन्धित छन् । आन्दोलनका पक्षमा सिर्जना गरिएका यी गीतमा न्याय र स्वतन्त्रताका पक्षधरहरुलाई आन्दोलनमा सरिक हुनका लागि आह्वान गरिएको छ । निरङ्कुशताका विरुद्धमा आफ्नो आवाज बुलन्द पार्दै गीतकार ढकालले समतामूलक समाजको स्थापनामा जोड दिएका छन् । गरिबनिमुखा श्रमिक तथा मजदुर सबैलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चितता गरिनुपर्छ भन्ने आशयमा संरचित ढकालका यी गीतहरू वास्तवमै जनताका गीत हुन् ।
अन्त्यमा, यस सङ्ग्रहका सबै गीत सरल शब्दशैलीमा रचिएका छन् । गीतहरू लयात्मक र गेयात्मक पनि छन् । पोखरेली परिवेशमा रहेर गीतसङ्गीतको क्षेत्रमा क्रियाशील भई सर्वहारा मजदुर किसानहरूका पक्षमा सिर्जना गरिएका गीतहरूको सङ्ग्रह ‘आभास बिहानीको’ एक महत्वपूर्ण गीतसङ्ग्रह हो । कृतिमा सङ्कलित गीतहरूका बारेमा मोदनाथ प्रश्रितले भूमिका लेखेका छन् भने प्रगतिशील लेखक सङ्घ, कास्की शाखाले यसको प्रकाशन गरेको छ ।

हालः पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।