19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जित्नैपर्ने युद्ध

कथा गोकर्ण भट्ट April 26, 2024, 8:02 pm

उकालो सुरु नहुँदै रात प¥यो । अब माथि कसरी जाने ? एउटा विकट समस्या आइलाग्यो उसको अगाडि । साँझ छिप्पिइसक्यो, हिउँदको सिरेटो । तल बुढी सेती दिनरातको कुनै वास्ता नगरी बगिरहेछ आफ्नै सुरमा ।
बुढी सेतीको एकसुरको तालबाट विमुख ऊ सुस्केरा काढेर बगर छेउको ढुङ्गामा झोला बिसाउन पुग्यो । घरपुग्न अझै एकघण्टा बाँकी छ । घर पुग्नु, घरका मान्छेहरुसित भलाकुसारी गर्नु, खुशीका स्वरहरु...। आमाले गुन्द्री बिछाउलिन, अनि नेपथ्यमा ढोकाको अडेस लागेर श्रीमती देखा पर्नेछिन्, मनमा खुशी र उमङ्गहरु बोकेर...।
तर के साँच्चै त्यसो होला र ? ... ।
अघिल्लो वर्ष घर फर्किंदा यो उकालो उसका लागि बम्बईका तीसतले महलको लिफ्टमा हिँड्नु जस्तै सजिलो हुन्थ्यो । तर यतिखेर ? उसलाई यो जीवनभरिको उकालो जस्तै लागिरहेछ । यसपल्ट घर पुग्नुको खुसी, र उमङ्ग कति निरश र दुखद् होला ।
उसले सोच्यो, अहँ, आफ्नो मनको पीडाको दागलाई अरुसामु प्रस्तुत गर्ने छैन । आफ्नो जीवनमा तेसिर्एको पहाडलाई उसले कसैगरी पनि अरुसामु तेस्र्याउने छैन । जे होस्, म कदापी पनि आफ्ना मनका बहहरु पोख्ने छैन । जे भो, भो, मैले जे गरेँ गरेँ, अब त्यसको पीडा अरुलाई म दिन्न ।
तर कसरी ? एउटा जटिल प्रश्न तेर्सियो उसका अगाडि । एकवर्ष भयो, श्रीमतीसित बिछोड भएको । बिहा भएको पनि कति नै पो भएको छ र ? त्यै चारवर्ष त हो । एकवर्षसम्म श्रीमानसितको बिछोडले छट्पटिएकी श्रीमतीको टाउको काखमा राखेर उसको कपाल नसुम्सुम्याइ ऊ कसरी बस्न सक्ला र ? एक वर्षदेखि पर्खाईमा रहेका जहानका ओठहरुको गर्मीको रस्वादन नगरी उसले कसरी रात काट्न सक्ला ? अथवा उसकी श्रीमतीले नै समागम नहुँदाको उपेक्षा कसरी पो सहन सक्ली र ?
तर विकल्प पनि के छ र? उसले त्यसो गर्न सक्दैन र उसकी श्रीमतीले पनि त्यसो नगरी रहन सक्दिन ।
मनको पीडा र अगाडि उभिएको पहाड चढ्नुको पीडा, मानौ संसारका सबै पीडाहरु ऊमाथि नै खनिन आइपरेका छन् ।
उकालो पार गर्नैपछर्, विकल्प छैन । मान्छेको जीवनजस्तो यो उकालो पनि, चढन् पनर्,े नचढी सुखै छैन । केही उकालो पार गर्न सक्षम हुन्छन्, कोही बीचैमा हराउँछन्, कोही फेदीमंै सुस्ताउँछन् । जस्तोसुकै कष्ट भएपनि शिखर चढ्नुको आनन्द बेग्लै हुन्छ, तर जोखिम मोल्न कमै मन पराउँछन् ।
जे होस्, उसले पनि पाइला चाल्य,े एक दुई तीन...। मनका नानाथरिका उद्दिग्नताहरु, तल खोलाको सुसाईजस्तै सुइकिरहेका भावनाहरु, अनि मुटुमा चोट दिइरहेका संवेदनाहरु...। यी सबैलाई पसिनाको धारासितै बगाउँदै ऊ माथि हिँड्यो । माथि, अझ माथि...।
...र यतिखेर ऊ आफ्नो घरको सन्निकट छ ।
तेर्सो बाटो सुरु भयो । उसले फेरी चुरोट सल्कायो । तर यतिखेर उसका लागि यो तेर्सोे बाटो झन ठूलो पहाड लागिरहेछ । घरको कुनो देखियो ।
अकस्मात झस्कियो ऊ, मुटुमा नराम्ररी केही घोचियो । जहानको मुहार सम्झ्यो उसले । कतै उ पनि...?
सिरिंग भयो उसको आङ.. ‘तर त्यसो नहोला’, चित्त बुझाउन खोज्यो उसले ।
साला बम्बई, एकपल्टको गल्ती... थुइक्क... न फर्काउन सकिन्छ.. न जे भो भो भनेर पचाउन सकिन्छ ... । गल्ती... जीवनमा एकपल्ट मात्रै पो हुन्छ.. पीडा पो त्यसले जीवनभर दिने हो.. तर गल्ती पनि कसरी भन्ने ?
“त्यो मुला शिवे उपाध्येले त हो उक्साको । जाम् कि जाम भन्यो । बम्बई नयाँ ठाउँ । केही थाहा छैन् । भर्खर १७ पुग्दा छिरेको बम्बई !” उसको मनमा कुराहरु खेल्न थाल्छन् । यता न स्कूल जान पाइयो, न केही ज्ञानगुनका कुरा सिकियो । त्यै शिवेको बाउसँग लिएको ऋण तिर्न नसकी बम्बई जान प¥यो । उता पनि त्यै मुर्दार गलाको पासो बन्यो’ सोचाइको तीब्रतासँगै बगेको उसको मनले आँगनमा पुगेको पत्तै पाएन । कुकुर भुकेपछि उ झस्कियो । यो झस्काई सामान्य कदापी थिएन– एउटा भय, आतङ्क, डर, प्रायश्चित.. अनिश्चित भविष्य.. सबै थोक सम्मिश्रित घनको चोट !
”को हो ?” आवाज सुनियो । उसले बुवाको आवाज ठम्याउन गल्ती गरेन । साहस आएन उसलाई– म झोके हो भन्न । अघिल्ला वर्ष ऊ घर आउँदा कुकुर भुक्नुपूर्व नै उसले ‘शेरु’ भनेर बोलाइसक्थ्यो । कुकुरको जात, चिनिहाल्थ्यो । एकचोटी भुक्थ्यो । अनि ऊ मुस्कुराउ“दै शानले टेप रिकडर्र बजाउ“दै छिथ्र्याे घरभित्र...। तर यतिखेर..? मात्र एउटा गल्ती, एउटा उक्साहटका कारण...।
श्रीमतीले देखि उसलाई । परम्परागत मान्यताहरुका कारण वर्षदिनमा फर्केको लोग्नेसँग सोझै बोल्न सकिन उसले । ऊ भित्र दाडै ी । छिनमंै बुवा र आमा निस्के बाहिर ।
“ए हरि ब’ आया रैछ ।” आमाको आवाज सुनियो । आमालाई देख्नेबित्तिकै भक्कानो फुटेर आयो । तर जबर्जस्ती रोक्यो उसले । ढोग दियो उनीहरुलाई । श्रीमती ओट लागेर मुस्कुराउ“दै छे । यतिखेर तिनको मनको उत्साह नाप्ने कुनै इकाइ संसारमा विकास भएको छैन होला ।
भित्र गएपछि सामान्य भलाकुसारी भए । मनको बोझ भनांै या भारले आज अघिल्ला वर्षजस्तो मुस्कुराएर गाउ“को हालखबर सोध्ने जांगर, उत्साह उसको मनमा छैन । बुवाआमाले सोचे– थाकेर आ होला । कुरा गर्न मन भएपनि उनीहरुले बुहारीलाई खाना पस्किन भने ।
बुहारीका लागि भने बुआमाको कुराकानी छोटो भएकोमा खुशी नै थियो । हत्पत्त उसले रोटी राखिन थालमा । उसले भने तरकारी र रोटीसितै मनका आँसुहरुको घुट्की लगायो । कोदोको रोटी त्यसै पनि खस्रो, त्यसमाथि उसको मनै आज खस्रो भयो । श्रीमतीको आँखामा उप्रतिको आशक्ती देख्दा झन उसको मन पोल्यो । रुनमात्रै सकेन् ऊ ।
“ए ब्वारी जा, बाबु थाकिकन आ होला, यसो सुत्ने चाँजोपाँजो मिला”
बुहारी केही नबोली हिंडी ।
केहीछिन सञ्चो बिसञ्चो, काम आदिका कुरा भए ।
‘लौ बा, भोल कुराकानी गरौंला, म सुत्न लाग्ये ।’ जबर्जस्ती ओठमा मुस्कान फिजाउँदै उ एउटा ठूलो युद्धको सामना गर्न हिंड्यो ।
यो युद्ध नै हो उसका लागि र उ जस्ता हजाराकंौ लागि । पुरुष बन्नु पनि त्यति सजिलै कहाँ छ र ? पुरुषार्थका यस्ता “साहसिक कामहरु” ले त्यसै पुरुषार्थलाई छिन्नभिन्न पार्छ भन्ने कुरा ख्याल राख्ने गुण यसमा हुन्न । न त यसले आफूबाहेक अरुलाई त्यो साहसले पीडा दिन्छ भन्ने कुरा बझु्छ । तथाकथित पुरुषार्थको प्रयोग गर्नु जति सजिलो छ, यसको परिणतीलाई स्वीकार्नु र यसबाट सिङ्गो समाज, धर्ती र परिवारमा पर्ने असरलाई झेल्नु त्यत्तिकै दुष्कर । त्यसैले पुरुषार्थका यस्ता गल्तीहरुले जन्माएको परिस्थितिसित जुध्ने साहस बटुल्न खोज्यो उसले । साहस त के भन्नु र ? काँपेको हृदय बोकेर ऊ लाग्यो कोठातिर ।
श्रीमती ऐनामा अनहुार हेर्दै गरके देख्यो उसले । अरु बेला हुन्थ्यो भने पछाडिबाट अङ्गालो माथ्र्याे उसले तर यतिखेर अहँ, उसले त पुरुषार्थ बम्बईमंै बन्धकी राखेर आ’छ ।
‘अहँ, मैले आफूलाई सम्हाल्नै पर्छ । श्रीमतीलाई जसोतसो कुरा बताउनै पर्छ ।’ उसको मनले ढाडस दियो ।
“अनि के छ तिम्रो हालचाल ।” श्रीमतीको पाखुरा समात्दै भन्यो उसले ।
“ठीकै छ, तपाईलाई बाटोमा अप्ठ्यारो त परेन ?”
“खासै भएन । तर थकाई लागेको छ सा¥है ।” उसले भन्यो ।
श्रीमती झन् नजिक आइन, उसले कपाल मुसा¥यो सुस्तरी ।
श्रीमती झन् नजिक आइन, काखमा पल्टिन ।
युद्ध शुरु भयो ।
तर यो शारीरिक युद्ध थिएन अघिल्ला वर्षहरु जस्तो, दुबैले जित्ने । यो युद्धको टुङ्गो छैन ।
केहीछिनको कुराकानीपछि दुबै पल्टिए खाटमा । गर्मी छ असाध्यै– मनको, तनको, संवेदनाको, भावनाको, उकुस–मुकुसको । श्रीमतीले छातीको कपाल खेलाएको मन नपरेको भने होइन ।
“तपाई त निकै थाक्नुभएजस्तो छ नि ।” श्रीमतीले उसलाई झन् कस्दै भनी ।
“छैन ।” उसको काननेर ओठ लग्दै भन्यो उसले ।
“किन, मन छैन जस्तो छ, हो ?” वर्षदिनपछिको मिलनलाई सीमाहीन बनाउने श्रीमतीको आशक्ति अस्वभाविक थिएन ।
‘भन्नैपर्ने हो त ? के सोच्ली उसले ? भोली बाआमाले था’ पाउलान् । समाजले था’ पाउला ? अनि ?’ अनिपछि एउटा शून्य ! कुहिरोले ढाकिएको । उसको मनमा कुराहरु खेल्न थाले ।
श्रीमतीको इच्छा पनि त पूरा गर्न सकिँदनै । कसरी गर्ने ? कसरी म भित्रको मृत्युलाई साटासाट गर्ने ? स“गै मर्ने र स“गै बा“च्ने कसम खाएर भगाएर विवाह गरेको भए पनि यतिखेर स“गै मृत्यु उपहारमा दिन उसको मनले मानेन । तर उपाय पनि त छैन ।
“खै झोला समाउ त ?” उसले सुस्तरी भन्यो ।
“किन चाहियो यतिखेर झोला ?” श्रीमतीले लाडेस्वरमा भनी ।
“कि मलाई विशेष ल्याउनु भा’छ ?”
“विशेष ???” यो विशेष प्रतिकात्मक थियो । उसले साँच्चिकै विशेष ल्याएको छ ।
विशेष भनेको अलि फरक, अलि विशिष्ट, आम भन्दा फरक । निश्चय पनि । तर उसले यो विशेष दिन सक्दैन । कदापी पनि ।
श्रीमतीले झोला दिई, उसले झोला खोल्यो । भित्र एउटा थैली निकाल्यो ।
श्रीमती नजिकै उत्सुकतापवूर्क हर्देै थिई ।
उसले थैलीबाट केही प्याकेटहरु झिक्यो ।
“छ्या ! के के न होला भनेको त ?”
“था छ तिम्लाई यो के हो भनेर ?”
“यत्ति नि था’ नहुनु ?”
“ल, के हो भन् त ?”
“पैले यो किन चाइयो भन्नु त, पोर परार त पर्दैनथ्यो ।”
“पैला र अ‍ैलेमा फरक छ । पैला त यो चाइन्छ भन्नी मलाई नि था’थेन ।
“अब त छोराछोरी चाहिन्छ ? यो पर्दैन ?” श्रीमतीले जिस्किदँै उसको अँगालो हाली । तातो श्वासले उ झनै छट्पटियो ।
“काँ छोराछोरीको कुरा गरिरा’ । नेपालमा आएर यसो सानोतिनो व्यवसाय गरेर अलि केही कमाएपछि बल्ल !”
संवाद अगाडि बढेन । श्रीमतीको तातो स्पर्शले उसलाई बोल्न दिएन । उसको आतङ्कित मनले राहत पायो ।
उसले कसरी यी संवाद वाक्य बोल्न सक्यो ऊ आफैं अचम्मित थियो । ‘हो त नि, हतियार त मस“ग रैच, युद्ध लड्ने’ उसको मनले सोच्यो । तर तत्कालै अर्काे मनले भन्यो ‘हतियार...! कतिदिनसम्म चल्छ तिम्रो हतियार..., कति दिनसम्म ?’
त्यो रात बित्यो । एउटा युद्धमा उसले अस्थायी विजय हासिल ग¥यो । सँगसँगै ‘यो दीर्घकालिन युद्धमा आत्मगत अवस्था कमजोर छ’ भन्ने नयाँ आतंक उसको मनमा रोपियो ।
केही दिन यसैगरी बिते । श्रीमतीले पहिलाजस्तै केही प्रयोग नगरी सहवासको इच्छा कतिपल्ट गरी, उसले कतिपल्ट बहाना बनायो । यसको गन्ती गर्न सकिंदैन । जे होस्, यौवनको उन्मादमा उनीहरुका आपसी तर्कहरु बाझिन पाएनन् । तिनले अस्वभाविकरुप धारण गरेनन् ।
...
घर फर्केको एक हप्तापछि होला, एकदिन बिहानै ऊ जङ्गलबाट छानाका लागि झिंगटी ल्याउन हिंड्यो । दिउ“सोपख सुस्ताएको बेला उसले एकजना मान्छे माथि उक्लिंदै आइरहेको देख्यो । उसले ठम्याउन सकेन । तर चालढाल हेर्दा बम्बईया हो भन्ने स्पष्ट थियो । चम्किलो लुगा, काँधमा टेपरिकर्डर । आगुन्तक अलि नजिक भएपछि उसले ठम्यायो, “मास्साला... शिवे...!” उसको मन तीतो भयो ।
“के छ हो झोके तेरो हालचाल ?” रोबदार आवाजमा आगुन्तकले उसलाई सम्बोधन ग¥यो ।
“ए तपाई पो ? ठीकै छ । सन्चै आउनुभयो ?” उसले औपचारिकता निर्वाह गर्न करै लाग्यो ।
आगुन्तक शिवे उ नजिकै बस्यो । बम्बईका, बाटाका, गाउ“का कुराहरु साटासाट भए ।
“काँ, म त झन्नै बितिसक्या, भाग्य बलियो रैछ । भगवान पनि दाइना रैछन् । बचेँ ।’ शिवेले भन्यो ।
“किन के भयो र त्यस्तो ?” उसले अचम्म मान्दै सोच्यो ।
“तँलाई कुनै बिराम त लाग्या छैन ?” शिवेले उल्टो प्रश्न ग¥यो ।
यो अचानकको प्रश्नले ऊ झस्कियो तर प्रकटमा भन्यो, “किन र ?”
“हैन, तिमीलाई पखाला लाग्ने, खटिरा आउने, ज्वरो क्यै त भा छैन ?”
“छैन ।” तर किन सोध्नु भा ?
“त्यत्तिकै ?” शिवेले भन्यो ।
“हैन के भो र ? अघि के भन्नु भा’को ?” उसले फेरी सोध्यो ।
“म व्हाँ बम्बईमा बिरामी परेँ । अस्पताल गा’को, डाक्टरले ‘एड्स भी हो सक्ता हे, खून टेष्ट करना पडेगा’ भनेपछि मेरो त सातोपुत्लो गयो । रातभरी सुत्न सकिनँ, खून टेष्ट गरे पक्कै देखिन्छ जस्तो लाग्यो । तर भोलीपल्ट साहसै गरी गएँ, लाउन त त्यै पिलास्टिकको खोल ला’कै थिए, तैपनि एडस भएसी क्यार्ने भन्ने धक थियो नै । भोलीपल्ट जाँदा खून टेष्ट ग¥यो तर पछि रिपोटमा केही देखिएन । बल्ल मेरो सास ठाउँमा आयो । अनि घरको माया सारै लाग्यो । गाउँघर सम्झ,ँे अनि यता आ को ।”
ऊ केही बोल्न सकेन । यो अर्काे झन् ठूलो ‘झट्का’ थियो उसका लागि ।
“तैंले नि खनू टष्ेट गर है, पछि बर्बाद होला ।” झन थप्यो शिवेले ।
“तपैलाई नभए मलाई कसरी हुन्छ नि ?”उसले पनि फर्कायो ।
“म तँ जस्तो हो र ? मलाई त ऐचाइभी भन्ने नि था थ्यो, रन्नीकाँ जाँदा, पाए भन्दैमा मैले त्यसै गरे र ? एकदुई फेरा मात्रै हो त्यो नलाको । तँ डूमै त भइस्, डुमको बुद्धि, पाएपछि सिनो पनि खाने...।” पुरानै शैलीमा कटु स्वर बोल्यो शिवे ।
ऊ अवाक भयो । बोल्न सकेन केही । हेप्नुको सीमा हुन्छ मान्छेको । तर यो हेपाईविरुद्ध ऊ केही बोल्न सकेन । मनमा औडाहा भइरहेको थियो । उसको मुहारै रातो भयो ।
“मुला, चेक गर, गाममा हेर् त, तेरै जातिका छन् ऐचाइभी हुने । जात भन्या जातै हो बुझिस् ।” बाहुनको ‘कालो जिब्रो’लाई पुगेको थिएन ।
“मुख पाए भन्दैमा जे पाए त्यै त बोल्नुहुन्न है । होच्याउनुको पनि हदै हुन्छ । के सारो ग¥या यस्तो ? म आफै गा’थे र ? मलाई त्याँ लग्ने तपै नै हैन, त्यतिखेर रन्नीकाँ डूमले लग्या थियो कि तपाई बाउनले ? बाउनको जातले सराब खाउँ भन्या थ्यो कि डुमले ? सबैले चाटेको रन्नीको सिनो कस्तो हुन्छ भनेर बाउनले भन्या थ्यो कि यो सिनो खाने डूमले ? भन्नै पायो भनेर जे पायो त्यै नभन्नुस् है । हाम्रो नि इज्जत हुन्छ ।” उसले रन्थनिएर भन्यो ।
“डुम चढ्यो भने सात कान्ला उफ्रिन्छ भन्या यै हो ।” शिवे जङ्गियो । “यो बम्बई होइन, बुझिस्, यो गाउँ हो, बम्बईमा जे भो भो, तर गाउँमा म तेरो मालिकै हो, तँ मेरो हलिया बुझिस्, बडो आ’को भाषण छाँट्ने ?” मुर्मुरिंदै शिवे हिंड्यो ?
शिवे गएपछि झनै आतंकित र क्षुब्ध भयो उसको मनोदशा । ‘साला, बाउनको जात, याँ पनि सुक्खले खान दिएन, उता गए पनि बिगा¥यो । जग्गा भए, जमिन भए, यी मास्सालाहरुको खेतमा हलो जोत्न ु नपर्ने भए, बाउ बाजले लिएको दश रुप्प्या रिन चार पुस्तासम्म काम गरेर पनि चक्ुता गर्नुपर्ने बाध्येता नभएका भए..., जाँ गए नि, जे गरेसि नि उनै ठूला.. ! डूम... म डूम कि त्यो स्साला मलाई यस्तो बेहाल बनाउने डूम...। मान्छेलाई कुकुरजस्तो व्यवहार गर्ने डुम कि सातौं पुस्तासम्म कुच्चिएर बांच्दा नि मुख नखोल्ने म डूम...!!!’ मनमा आक्रोश बढ्दै गयो ।
आक्रोश बढेपनि, मन क्षुब्ध भएपनि, रिसले नसानसा तातेपनि ‘शिवेलाई एड्स रैनछ’ भन्ने समाचारले ऊ झनै आत्तियो । यो भयानक औडाहा थियो, भयानक त्रासदी थियो । यस्तो डर, जसलाई शब्दमा व्यक्त गर्न सकिंदैन– खतरनाक ! अहँ त्रासदीपूर्ण !! छटपटीको चरमता... खै के भन्ने, !!!
‘साला एड्स पनि हामीहरुलाई नै लाग्नुपर्ने । यी सबै मरे हुने नि एड्स लागेर ? यतापनि हामी मात्रै पर्ने ? किन ? के छ हाम्रो जातमा त्यस्तो ? दुख जति हामै्र भाग्यमा । भगवान दाइना भए रे । उसका लागि ? अनि हाम्रा लागि भगवान् पनि नहुने ? के काम त्यो भगवान्को पनि ? धनीका लागि मात्रै दाइना हुनि भए ?’ उसको मन पोल्यो ।
जहानलाई सम्झ्यो उसले । मुटु ढकढक फुलेर आयो । छाती भरिएर आयो । अनि सल्लाको सुसाईसितै झोके क्वाँ क्वाँ हिक्का छोडेर रोयो धितमारी । यो रुवाईमा विवशता थियो, उसका आँसुहरुको पुस्तांै पुस्ताको वेदना थियो । उसको हिक्कहिक्कामा उनीहरुमाथि यगांै देखिको शोषणको ध्वनी प्रतिध्वनित भइरहेको थियो । ऊ रोयो, रोयो, कतिबेर रोयो, उसलाई नै हेक्का छैन । उसको घाँटी सुक्यो, आँसु रित्तियो । आँसुले शरीरै भिज्यो । समय, गति, संसार नै मानांै ठप्प भयो । जङ्गलको निस्तब्धता झनंै उसका आँसुहरु बगाउन सहायक बनिरहेको थियो । जहान, साथीभाई, आमाबुवा, आफ्ना बाल्यकालका सम्झनाहरु, एकपछि अर्काे गर्दै मानांै उसलाई चिथोर्न थाले । उसको घाँटी नै च्यातिएला जस्तो भयो । छातीमा ढुङ्गाले थिचेजस्तो भयो । भूर्इँमा घोप्टियो ऊ, आँसुले पात भिजे, आँसुले माटो भिज्यो र भिजे सबै उसका सपना, रहरहरु ।
रोग लागेको छ भनेर थाहा पाउँदा ऊ यति दुःखित भएको थिएन होला जति शिवेका शब्दहरुले उसलाई पीडा दिए । जातको भाइरसको पीडा रोगको भन्दा झन बढी पोल्दो रहेछ । रोगको भाइरसले त शरीर पो गाल्ने हो, यो जातको भाइरसले त पल पल मार्छ मान्छेलाई... । उ कति रोयो यसको हेक्का नै छैन ।
आँसु झार्नु त्यति शुभ संकेत मानिदैन , सुखका आँसुबाहेक । तर गरीबका लागि आँसु शुभ नै हुन्छन् यदाकदा । विवशता र बाध्यताका सुस्केराहरु, परिस्थितिका झटारोहरु र समस्याका पहाडहरुले थिचिएका बेला, समाज, काल र परिस्थितिबाट सहाराविहिन भएर एक्लो भैंतारिएको बेला यिनै आँसु मान्छको साथी बन्छन्, मान्छे यिनै आँसुसित आफ्ना वेदनाहरु बगाउँछ, आफ्ना पीडाहरु पोख्छ, आफ्ना सुस्केराहरु प्रवाह गर्छ । त्यसैले यी आँसुहरु गरीबका लागि कदाकदा ठूलो भरोसाका रुपमा समेत देखा पर्छन् । दुखीसँग आँसु पनि हुँदैनथ्यो भने या दुखीको आँखामा आँसु पनि रित्तिन्थ्यो भने सम्भवतः उसको अस्तित्व रहँदैनथ्यो होला ? हो, यी आँसुहरु बग्दै बग्दै एउटा कालखण्डमा ज्वालामुखी पनि बन्छन् । आँसुका भेलहरुले कहिलेकाहिँ भिजाउने मात्रै हैन, सिङ्गो समाज र ब्रम्हाण्डलाई पनि पोल्ने गर्दछन् । त्यसैले आँसु श्रृष्टि पनि हो, आँसु बग्न मात्र जान्दैन, बरु आँसुले कैयांै काला बादलहरुलाई बगाउने र रसातलमा पु¥याउने काम समेत गर्दछ ।
जे होस्, उसका यी आँसुहरुले एउटा काम भने गरे नै, अघिदेखि नै औडाहा भएको उसको मन हलुको भयो । नियती स्वीकार्नैपर्ने थियो । झिगंटीको भारी बोकेर ऊ घरतिर लाग्यो । उसका अगाडि अब विकल्प केही छैन । उसले बच्चा जन्माउनै पर्छ । तर ऊ एकैचोटी आफू, श्रीमती र भावी बच्चाको भाग्यलाई मृत्युमा समर्पण गर्न चाहन्न । तर नजन्माई पनि सुख छैन, आज, भोली पर्सी, एकदिन उसले हार मान्नैपर्छ ।
........
श्रीमती माइत गएकी छे । बुवा शिवेको खेत जोत्न तल बेंसी झरेका छन् । आमा र ऊ मात्रै छन् घरमा एक्लै ।
खाना खाएर ऊ कोठामा लाग्यो । आजको रात उसले आफ्नो जीवनको फैसला गर्नुपर्छ । कसैगरी पनि श्रीमती फर्केपछि उसलाई साँचोसाँचो कुरा बताउने साहस जुटाउनै पर्छ । यो रात उसका लागि एउटा मौका हो साहस बटुल्ने । आज ऊ चाहेजति सोच्न सक्छ ।
सोच्दै जाँदा उसका कानमा शिवेका शब्द ठोक्किए– ‘तँ साला डूमै त भइस, तँलाई नलागेर के मलाई लाग्छ...’
यसको जवाफ उसँग थिएन । उ दलित भएकै कारण एचआइभीको संक्रमणमा परेको हो त ? अनि शिवे बाउनै भएर जोगिएको हो त ? किन दलित भएको कारण एचआइभी हुनुपर्ने ? रन्नीकाँ त शिवे पनि गा’कै हो, म पनि गा’कै हो । किन ? उसले आपंmैसित प्रश्न ग¥यो । यो दलितपनामा घोत्लिंदै गर्दा बम्बई गएपछिका दिनहरु सम्झ्यो उसले ।
..........
गाउँमा झिंगटीका प्वालहरुबाट आकाशका तारा गन्दै रात बिताउने झोकेका लागि बम्बई सहर एउटा अचम्मको ठाउँ थियो सुरुमा । पाइला टेक्ने ठाउँ छैन । यता हे¥यो गाडी, उता हे¥यो आकाशै छुने सिसाका घरहरु, ट्याँ–ट्याँ, प्वाँ–प्वाँ, ठेलमठेल... आम्मै, हिंड्दा पनि कसैले कुल्चिदेला भन्ने डर..। एकातिर मनमा असीम खुशी त अर्कोतर्फ नयाँ ठाउँमा केही भइपो हाल्छ कि भन्ने डर ? साथमा यै शिवे थियो ।
“के लाटाले जस्तै हेरिरा’ ? यो बम्बई हो बम्बई ? हिरो बस्ने सहर.. ।” शिवेले भनेथ्यो ?
“के को हिरो बस्ने ?” उसका लागि हिरो भनेको नयाँ शब्द थियो ।
“तँ मुला डुम...” शिवेले त्यतिखर पनि यो शब्द निकालेको थियो, “तँलाई के था, सिनेमाको हिरो, फिलिमको हिरो, सारुक खान, सल्मान, अमिताभ, करिना बस्ने सहर...!” शिवेले आफू ठूलो, महान र सर्वज्ञानी भएजस्तो गरी घाँटी तन्काएर भनेको थियो ।
जन्मेदेखि शिवेको बाउको खेत, उसकै आँगन र उसका गाइगोरुबाहेक अरु कोहीसँग सरोकार नराख्ने झोकेका लागि शिवेका कुराहरु अनौठा भएपनि उसले विश्वास गर्यो, “हो त नि, म तल्जाती भएर केही थाहा छैन, शिवे गाउँको मुखियाको छोरो, एक दुईफेरा पहिला पनि शहर भएर आ’को.. होला नि त ।”
उ केही नबोली शिवेको पछि पछि लागेथ्यो । शिवेले नै आफ्नो आफ्न्तीमार्फत उसका लागि एउटा घरमा भाँडा माझ्ने काम खोजिदियो । तर शिवेले भने त्यहाँ काम गरेन । बस्नका लागि दुबै नजिकै बस्थे । शिवेले आफूलाई एउटा कपडाका पसलमा काम गर्ने बताएको थियो ।
बम्बई सहरमा उसलाई रमाईलो लाग्यो । कोठा सफा गनर्,ु कपडा धुनु, आँगन बढार्नुपर्ने, मालिकका छोराछोरीको अरनखटन सुन्नुपर्ने भएपनि उसका लागि भरपटे दुईछाक भात, के के न जाती पाउरोटी, चिया खान पाउनु ठूलो कुरा थियो ।
उसले सिनेमाका हिरोहरुको बारेमा पनि थाहा पायो । सिनेमा हेर्न पनि पायो मालिककै घरको टिबीमा । सबै कुरा सबै कुरा विस्मय लाग्दा थिए । अचम्मका थिए । जादू थिए ।

काम पाएपछि पनि शिवेले उसलाई भनेको थियो, “साला, डूम जात हो भनेर नभनेस् नि फेरी कामबाट निकालिदेलान् । बम्बई यति ठूलो सहर भए नि डूम भन्या डुमै हो बुझिस् संसारभरी ।” उसले शिवेको आदेश मान्यो । घरमालिकलाई उसले नाम ढाँट्यो, थर ढाँट्यो । र, यसरी ऊ बम्बईमा नेपाली बहादुर बनेर कामदारका रुपमा परिचित भयो । उसका पछाडिको ‘सार्की’ शब्द लोप भयो । ‘सार्की” शब्दको लोप मानांै उसका लागि नयाँ जीवन थियो ।

सार्की शब्दको अन्त्यसितै उसका कानमा सधंै पर्ने ‘डूम ’ भन्ने शब्द पनि सुनिन छोड्यो । उसलाई लाग्यो, ‘हो नि त, म पनि त मान्छे रै छु । न अब उपाध्येको गोरु जोत्नुपर्छ, न उपाध्येकी श्रीमतीको झटारो खानुपर्छ, न उपाध्येको डुम साला भन्ने गाली सहनुपर्छ । न उपाध्येकी छोरीले भात खाएकोहेरेर थुक निल्नुपर्छ । म त टिबी हेर्न सक्छु । सारुक खानलाई चिन्छु, मुनिषा कुरालाको नाच हेर्न सक्छु, भात खान्छु, चिया खान पाउँछु, भएपारका मिठाई पनि यसो कहिलेकाहिं खान पाउ“छु । यो डुम भन्ने चीज यो सार्की भन्ने पो बेठीक रैछ । यो नभएसि त मजै मजा पो रैच ।’

यसरी केही महिना बिते । अब ऊ गाउँको झोके थिएन– मालिकका अगाडि टाउको ठाडो गर्न नसक्ने । बरु उभित्रको उभित्रका प्रतिकात्मक बाउनले जन्म लिँदै गएको उसलाई हेक्का नै भएन । शिवे कहिलेकाहिँ आउँथ्यो । अनि सिनेमा गएको, जुहुबीचमा घुमेको, सर्कस हेरेको, सुटिङ्ग हेरेको, मालिककी छोरीसित छिल्लिएको जस्ता कुरा सुनाउँथ्यो ।

जुहुबीचको भन्ने कौतुहलता जागेपछि उसले सोध्यो शिवेसित ।
“मुला, जुहुबीच गएपछि था हुन्छ, त्याँ त केटाकेटी टाँस्सिरा हुन्छन् जे पनि गर्छन त्यहीँ ।” शिवेले उसलाई बताएको
थियो ।
“आम्मै ? लाज सरम हुँदैन त्यस्तो गर्दा ?” उसले सोधेथ्यो ।
“मुला, के को लाज सरम, ऐ हई बम्बई नगरिया...।’ औंला नचाउंदै शिवे फुर्कियो । ‘आफूले त मालिक्नीकी छोरीलाई सम्म बाँकी राखेन् ।” शिवेले छाती फुलाउँदै भन्यो ।

ऊसलाई हाँसो उठ्यो । “गफ गर्न ै भनरे नचाहिन े गफ त नगर्नु हो” उसले हाँस्दै भन्यो ।
के नचाहिँदो गफ ? आइडिया हुनुपर्छ बुझिस्, तँ मुला डुमलाई के थाहा ?” भन्दै शिवे हिँड्यो ।
उसलाई फेरी बल्ल आफू डूम भएको अनुभूति भयो ।
‘आइडिया हुनुपर्छ, बुझिस, तँ मुला डूमलाई के थाहा ?’ यो शब्द घनजस्तै बज्रियो उसको मनमा । बारम्बार...। “डुम”, “आइडिया”, “मालिक्नीकी छोरी”, “जुहु बीच”.. “आइडिया...।” उसको मथिंगल नराम्ररी रन्थनियो । यो रन्थनिले विद्रोही भावना लिंदै गयो । “साला शिवेले हेपेको ? बम्बईमा आएर पनि डुम भनेर गाली गर्छ ।” उसले आफ्नी मालिक्नीकी छोरी सम्झियो । तर उसको अर्को मनले तत्कालै उभित्रको विकार मिल्कायो ।
त्यति माया गररे व्यवहार गर्ने बारेमा यस्तो सोच्नु पनि हुँदैन । तर शिवे ... ?
अहँ, उसले गफै पेल्यो होला, या फेरी त्यो मालिक्नीकी छोरी नै त्यस्ती होली, तर म हाम्री मालिक्नीकी छोरीका बारेमा ... अहँ । हुँदैन । उभित्रका विचारहरुको मन्थन चर्किदै गयो । एकातिर स्वतन्त्र भएको अनुभूति, स्वतन्त्रताको स्वाद, मुक्त जीवनको आनन्द अर्कोतर्फ शिवेको हेपाई । डूमको टिका, “उसलाई आफू डूम होइन, आफूलाई पनि शिवेजस्तै आइडिया भएको, शिवेजस्तै साहस भएको देखाउनै पर्छ ।” उसले सोच्यो । वार्षैंदेखिको दमित मन मुक्त हुन खोज्दै थियो ।
अर्को दिन ऊ साथी भेट्न भनेर मालिकसित अनुमति लिई लाग्यो जुहु बीचतिर । ‘जुहु बीचका जोडीहरु.., उन्मुक्तता, उसले हेर्नुपर्छ यो सबै । उसले पनि सिनेमा हल जानुपर्छ, उसले पनि शिवे जस्तै विदेशी रक्सी खानुपर्छ । उसले पनि शिवेजस्तै सानले गफ गर्न सक्ने हुनुपर्छ । यो बम्बई हो, यहाँ ऊ दलित होइन ।’ यी विचारहरु खेलाउँदै उसले जुहु बीच पुग्यो ।
साँझ पर्नै लागको थियो । जुहु बीच आफ्नो सम्पूर्ण सुन्दरता फिँजाएर आगुन्तकहरुलाई स्वागत गरिरहेको थियो । सूर्यास्तका मादक किरणहरु समुद्रसित अन्तिम विछोडपूर्व रक्तिम चुम्बन लिइरहेका थिए । प्रकृतिसितै साथ दिंदै कैयन् युगल जोडीहरु एकअर्कामा विलिन देखिन्थे, यु्गौंयुगदेखि बिछोडिएका प्रेमी प्रेमिका भेटिएजस्तो । झोकेले चारैतिर आँखा डुलायो । उसको छाती ढक्क फुलेर आयो । वैंश चढेको र कहिल्यै यस्ता दृश्य नदेखेको लक्का जवान झोकेलाई शरीरमा के केले घोचेजस्तो, चिलेजस्तो, पोलेजस्तो अनुभूति भयो । टाउको घुम्यो उसको । उसले बढी हेर्न सकेन ।
पैदलै हिँड्यो झोके । उसको मनस्थिति खल्बलिएको थियो ।
श्रम र पसिनामा जीवनको मोती खोज्दै आएको झोकेका लागि उन्मादी मादकताको यो दृश्यको कल्पनासम्म कहिल्यै आएन । तर मान्छको वैश हो आज भने उसका आँखामा दृश्यहरु थिए, चुम्बनदेखि आलिङ्गन र स्पर्शदेखि ....।
हिँड्दै जाँदा रात परेको उसले हेक्का नै पाएन न त बाटोको नै ख्याल थियो । बम्बई झन् मादक भइरहेको थियो । बम्बईले झन् बढी झन मान्छेहरुलाई आफ्ना विषालु सुन्दरतामा लट्ठ बनाउँदै थियो । चारैतिरको वातावरणले मानौं भनिरहेको थियो, आऊ मेरो अधरपान गर... । कुनै युगमा ‘विषकन्या’हरुको जस्तो निमन्त्रणा र झोके विषकन्या’को अधरपानको दिशातर्फ गइरहेको थियो ।
निकै पर हिँडेपछि सडकको बायाँतिरको चर्काे सगंीतले झोकेको ध्यान भङ्ग गर्यो । ‘दिलबर दिलबर.....आ दिलबर.......।’ चम्किलो लाइटले एउटी अर्धनग्न कामुक युवतीको साइनबोर्डलाई झनै उत्तेजित पारेको थियो । त्यसै साइनबोर्डको भित्ताभित्रबाट आवाज आइरहेको थियो । झोकेले केही छिन हे¥यो, ठम्याउन सकेन भित्र के छ भनेर ?
“क्या देख रिया बे, जायेला है क्या ?” एउटा पुडके मान्छेको आवाजले झोके झस्कियो ।
“हँ ?” उसले अपरिचिततर्फ हेर्दै भन्यो ।
“डान्स देखेला है क्या भीडू ? लड्की बी इदरइच मिलेगी ?” यो प्रश्नले उसको मुटुमा थप रक्तसञ्चार गरायो । तर झोकेले भन्यो “नहीँ, मलाई कमरा जाना है”
“अरे ज्यास्ती पइसा नेइ लग्नेका, पाँच सौ दे देना, दारु भी मिलेगी, लडकी भी, साथ मे डान्स भी ।” पुडकेले उसको मनोदसा बुझिसकेको थियो ।
झोकेले केही सोचविचार गर्न सकेन । पुडकेको पछि पछि उ दिलबरको संसारभित्र छिर्यो । भित्रको दृश्य देख्नेबित्तिकै झोकेको मुटु फेरी ढुकुढुक गर्यो । त्यहाँ जे उसले देख्यो, त्यति जुहुबीचमा पनि देखेको थिएन । त्यहाँ ग्राहकहरुका लागि सबैथोक थियो, तर मनुष्यताका लागि केही पनि थिएन, यतिसम्म कि स्टेजमा थर्किरहेकी युवतीका कपडा पनि । आधा छाती देखाउँदै एउटी युवतीले झोकेलाई टेबलमा बस्न भनी र त्यसपछि.. झोकेलाई पनि थाहा छैन ।
यो एउटा यस्तो संसार थियो, जहाँ समयले दुई फरक नियतीहरुलाई एकजस्तै बनाएको हुन्छ । जहाँ ग्राहक र उनीहरुलाई लोभ्याउने बालाहरु दुबैले जीतको अनुभूति गर्छन् । दुबैको अधरमा मुस्कान छरिन्छ । तर यहाँ दुबै लुटिएका हुन्छन् । झोकेजस्ताहरु आफ्नो विवशताले डो¥याएर यो वा त्यो रुपमा त्यहाँ लुटिन्छन् र दिलबरमा कम्मर मर्काउनेहरु पनि कुनै न त्यो संसारमा आफूलाई लुटाएर बिर्सिने भ्रमपाल्ने कोशिस गर्छन् । यो मायावी संसार हो, जहाँ पर्दापछाडि अथाह दुःख छ । आँसुको समुन्द्र छ । झोकहरुको जीवनमा र ती युवतीहरुको जीवनमा । हो, प्रकटमा दुबै खुसी देखिन्छन् ।
त्यो रात सम्भवतः झोकेले फुटपाथमा नै बितायो । उसलाई हेक्का छैन । बिहान तन्द्रा टुट्दा उसको खल्तीमा एक पैसा थिएन, न त उसको जुत्ता र घडी नै । अन्तिमपटक दोश्रो बोतल बियर खाँदा उसलाई अलि सम्झना छ, उ टेबुलमा नै पछारिएको थियो । ‘लटकाझटका’ र बियरको नसाले लट्ठ परेपछि सडकछेउ फालेछन् उसलाई ।
झिसमिसे अगाडि नै लुटिएको भmोके जसोतसो कोठामा फर्कियो । बहाना ग¥यो साथीकोमा थिए भनेर । त्यसपछिका दिनहरुमा झोकेको मनस्थिति ठीक ठाउँमा थिएन । एकमनले आफु लुटिएको संसारमा नजाने कसम खान्थ्यो । अर्को मनले फेरी टेबलमा युवतीहरुको मादक स्पर्शसंगै मदिरापान गर्न उक्साउँथ्यो । यसै दोधारे मनस्थितिमा झोकेले कैयन् रात काट्यो । धेरैपल्ट ऊसले यस्ता बारहरुको बाटो काट्यो, भित्र जाने साहस आएन ।
तर उसले अर्कै संसारको बाटो देखेको थियो । जहाँ सुन्दर युवतीहरु थिए, गाउँका उपाध्येका छोरीभन्दा राम्रा, गाउँका उपाध्येले पनि नदेखेका जस्ता, र ती सुन्दरीहरुलाई उसले यानी गाउँका उपाध्येका छोरीहरुले कहिल्यै आ“गनमा समेत आउन नदिएका झोकेले काखमा बसाउन सक्थ्यो । उनीहरुका कपाल सुम्सुम्याउन सक्थ्यो । गाउँमा बाहुन ठगुरीका छोरीहरु सहरबाट फर्किँदा ‘सुन्दर’ मैया भनेर धित मारेर हेर्न पनि नसक्ने झोकेले त्यहाँ त्यस्ता अनुपम सुन्दरको अधरपान समेत गर्न सक्थ्यो । यो उसको जीवनको सफलता थियो । एउटा स्वतन्त्रताको उन्मुक्तता, जहाँ जाती बन्धन थिएन । शिवेलाई भने उसले भनेको थिएन । झोकेको जातिबन्धन नभएको एउटा उन्मुक्त मनले फेरी त्यहाँ जान बल गथ्र्याे तर उभित्रको गरीब झोकेले भने त्यहाँ जान दिंदैनथ्यो । यो अन्तरविरोध दिनप्रतिदिन चुलिंदै गइरहेको थियो । भित्रभित्रै ‘म पनि तं भन्दा कम हो र ?’ भन्ने भने परिसकेको थियो झोकेको ।
र, यसैबीच एउटा घटना घट्यो ।
शिवे उपाध्येलाई उसको मालिकले कामबाट निकालिदिएछ छोरीसित दुव्र्यवहार गरेको अरोपमा । आफ्नो मालिककी १८, १९ वर्षकी छोरी कहिलेकाहिं उसँग बोल्ने र कहिलेकाहिं सपिङ्ग गर्न जाँदा समेत शिवेलाई साथमा लैजाने रहेछ । मालिककी छोरीको व्यवहार त्यस्तो कडा थिएन रे । कहिलेकाहिँ केही मीठो खानेकुरा पनि उसले शिवेका लागि ल्याइदिने रहिछ । शिवेको मनले यसको अर्कै अर्थ लगायो । ‘हो न हो यो केटी मसित पट्टिई’ उसले सोचेछ । एकदिन घरमा कोही नभएको बेला मालिक्नीकी छोरी शिवेको कोठामा आउँदा शिवेले फिल्मी पारामा उसको हात समाउँदै आफूले बिहा गर्न खोजेको कुरा गरेछ । बेलुकी छोरीले सबै कुरा भनेपछि शिवेलाई कामबाट निकालिदिएछ ।
त्यसपछि शिवे सोझै झोकेकोमा आयो । तर उसले केही बताएन । झोकेले शिवे तनावमा भएको अनुभव भने ग¥यो नै । तर शिवले केही हैन आज काम गर्ने मुड छैन, त्यसैले तँ कहाँ आएको भनेर ढाँट्यो । केहीबेर सामान्य कुराकानीपछि शिवेले प्रस्ताव राख्यो सहर डुल्ने, झोकेले नाईं भन्न सकेन । उभित्रको उन्मुक्त मनलाई ‘ऊ पनि शहर घुम्नसक्छ, नयाँ कुरा थाहा पाएको छ’ भन्ने देखाउनु थियो । दुबै निस्के बाहिर । घुम्दाघुम्दै शिवेले झोकेलाई एउटा होटलमा लग्यो । केही नास्ता खान । शिवेले त्यहाँ दुई क्वार्टर रक्सीको अर्डर दियो । शुरुमा त झोकेले खान मानेन तर फेरी ‘तँ साला डुम, देशी रक्सी कस्तो हुन्छ भन्ने के थाहा’ भन्ने सुन्नुपर्ला भनेर उसले पनि गिलासमा रक्सी खन्यायो र भन्यो, ‘चेस..।’
‘चेस, मुला....देखिस् कि क्या हो सापहरुलाई रक्सी खाएको’ प्रकटमा भने पनि शिवेको बडबडाहट सुन्यो झोकेले ‘साला डुम, खप्पिस भइसकेछ...।’
रक्सीले अलिअलि मात्न थालेपछि शिवेले उसलाई भन्यो, “हिंड, तँ मुला पनि के याद गर्लास, आज तँलाई अर्कै ससांरमा लग्छु ।”
रक्सीको झमझमले झोकेको होस ठेगानमा थिएन । ऊ डोरीयो शिवेसित । कता हो कता.. धुमिल सम्झना छ झोेकेलाई । एउटा सांगुरो गल्ली । माथिल्लो तलाका झ्यालहरुमा आइमाइहरु बसेका, तल ढोका ढोकामा छेकिएर बाटो हिंड्दै गरेकाहरुलाई आमन्त्रण दिइरहेका केटीहरु । शिवे अगाडि अगाडि, एउटा अंध्यारो ग्यालरीभित्र । कसैको आवाज अनि झोके एउटा खाटमा । त्यो रात नसाको झोकमा झोकेले साँच्चिकै विषपान गर्यो । शिवे कता थियो, उसलाई थाहा भएन । उसले के ग¥यो, त्यसको हल्का अनुभूति उसको शरीरलाई भइरहेको थियो । त्यहांबाट निस्केपछि फेरी उसलाई शिवेले रक्सी धोकायो । कसरी कोठामा पुगे उनीहरु, उसलाई सम्झना छैन ।
“साला स्वर्ग पुगिस् होला हैन ?” बिहानै शिवेले उ सुतेको कोठामा आएर भन्यो ।
झोके केही बोलेन । मुस्कुरायो मात्र कंपित मुटुसंगै । तर यो उसको नयाँ अनुभव थियो । शिवे बाउनसंगै, ऊजस्तै गरी बम्बईका सुन्दरीसित सुत्न सक्ने अनुभूति ।
यसपछिका दिनहरुमा कहिले शिवेसित त कहिले एक्लै ऊ गयो । एक दुई तीन.. उसलाई गन्ती छैन । शिवेले उसलाई विषपान गरायो, तर विषको काट बताएन । उसलाई आफू सार्की र डूमबाट मुक्त भएको अनुभूति प्रबल हुँदै गयो । तर भ्रान्त स्वतन्त्रताको मानसिकताले जीवनलाई मृत्युको दास बनाइसकेको उसले चालै पाएन् ।
...
आज यो कोठामा झिंगटीको छानो चियाउँदै जाँदा उसलाई लाग्यो, वास्तवमा डुमबाट मुक्तिको बाटो त्यो रहेनछ । विदेशमा स्वतन्त्रताको अनुभूति त प्रतिकात्मक बाउन बन्ने कुरा पो रहेछ । जातको बन्धनबाट मुक्त हुनु भनेको बाउनजस्तै सबैथोक गर्नै पर्ने भन्ने होइन रैछ । थर परिवर्तन गरेर जात परिवर्तन नहुने रहेछ । पुस्तौंदेखि खेल्न जानेको, जालझेल गर्न जानेकाहरुले गलत काम गरेपनि साँच्चिकै फाइदा हुने गरी ‘आइडिया’ हुँदो रहेछ । समाजले पनि उनीहरुका गलत कामलाई पचाउने रहेछ । जातसँग व्यवहार, जातसँग सोचाई, जातसँग सम्बन्ध, जातसँग मनोदशा जोडिएको हुँदो रहेछ । त्यसैले मनोदशा पो जात रहेछ न कि थर ।
उसका तर्कना बढ्दै गए । उनीहरुका हरेक कामहरु सोची सम्झी योजनाबद्ध हुँदारैछन्, हामी भने दलित, डुम, हाम्ले पनि पुस्तौंदेखि त्यसरी शिक्षा पाएको भए, त्यसरी सोच्न बिचार्न पाको भए, त्यसरी दिनदुनियाँबारे था पाको भए, त्यसरी बाहिर फेर घुम्न पाको भए, त्यसरी सधंै अपमानित नहुनु परेको भए, पुस्ताले लिएको रिनको ब्याज, ब्याजको स्याज तिर्न नसकि बालबच्चाको भोको पेट हेर्न नसकि विदेश जान नपरेको भए एकचोटीको पाइने स्वतन्त्रतालाई नै सबै थोक पाएजस्तो यसरी उपभागे किन पो गथ्र्यांै र ?
‘जे भो भो । म त गएँ केही छैन् तर मैले मेरो जहानलाई जोगाउनुपर्छ ।’ उसले अन्तिम फैसला ग¥यो । बरु अहिले बाआमालाई खबर नदिउलाँ । तर श्रीमतीलाई साँचो कुरा भन्नैपर्छ । उसले निधो ग¥यो ।
मान्छेको जिन्नगी हो, रुखबाट लडेर पनि मरिन्छ, भीरबाट खसेर पनि मरिन्छ, सर्पले टोकेर पनि मरिन्छ । काल आए बहाना चाहिन्छ, ठूलो रोग नलागि पीलोको पीरले पनि मान्छे मर्छ । एकचोटी मर्नै पर्छ । अझै १०, १२ वर्ष बाँच्न सक्ने डाक्टरले भनेकै छ । जे होला, यो उसको जीत थियो ।
यो यद्धु उसले जित्नै पर्ने थियो । र, साँच्चिकै उसले युद्ध जितेको अनुभूति पनि ग¥यो आफूलाई सम्झाएर । एक छिनका लागि परमआनन्दका रेखाहरुले उसको मुहार कान्तिमान बन्न पुग्यो ।
घर आएदेखिन् पहिलोपल्ट ऊ चैनको निन्द्रा सुत्यो । सपनामा भने उसले शिवेलाई गाली गरिरहेको थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।