19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

किस्ने र कुमारे

कविता अर्जुन चामलिङ यावा May 3, 2024, 6:02 am
अर्जुन चामलिङ यावा
अर्जुन चामलिङ यावा

प्रत्येक शनिवार साँझ
दुइ रुपियाँको ललिपप हातमा थमाइदिन्छु,
बालख छोराको मुहारमा
लाखौँको खुशी देख्छु।
दश रुपियाँको झोलामा
दशै रुपियाँको जिरा-धनियाँ
बीस रुपियाँको मेथी-ज्वानो
आधी केजी प्याज
एक केजी टमाटर
दुइ केजी कोपी
चार केजी आलु
एकछाक मासु लगेर
श्रीमतीको हातमा थमाइदिन्छु
करोड़ौँ रुपियाँमा किन्न नसकिने
खुशी मिसिएको जाँगर देख्छु उसको मुहारमा।
पेट कटकटी खाँदा
मेडिकल लिभ पाउँदिन म
रजिस्टरमा लेखिएको मेरो नामको अघिल्तिर
रातो 'ए' लेखिन्छ।
हाइ फिवरमा सिटामोल खाएको
कसले कहाँ दिन्छ रिम्बर्समेन
कहिले कसैले बुझाएको छैन मलाई।
गाउँबाट घरिघरि खबर आइरहन्छ
-छिमेककीको छोराको छेवर छ
-मङ्गर माइलाकोमा मरौ परेको छ
-बिष्टेकी बहिनीको बिहा आउँदै छ
-बले बाँङाले छोराको बर्थडेमा बोलाको छ
हो,
रजिस्टरमा रातों 'ए' लेखियोस
समाजमा सुखले बाँच्न सबैतिर पुग्नै परेको छ।
यसपाली
अल्मानकमा कति छन् रातो
त्यसको सरोकार छैन मलाई
बरु एकरोज खाइदिने
आइतवार पनि नआइदिए हुन्थ्यो लाग्छ मलाई।
आज फेरि
अर्को रातो 'ए' लेखिने दिन
अर्को एक हाजिर काटिने दिन
हो, आज मजदूर दिवस
किस्ने र कुमारेहरूको पक्षबाट
सबैलाई - ह्याप्पी लेबर डे।

राङ्का बरबिङ, गान्तोक, सिक्किम, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।