ढुङ्गा, गिट्टी र मट्टीले भरिएको बन्जर जमिनको चट्टानमा; एउटा भवन आकाशमा पाई जस्तै खडा छ । भवन उपत्यकाको बाहिरी भागमा रहेको ‘नारायणहिटी दरबार’ को प्रतिकृति जस्तो देखिन्छ । तीनतले, चालीसवटा डरलाग्दा कोठाहरू । भवनको उत्तर र पूर्वमा सानो पहाडको गल्छेँडोबाट चिसो बतास चलिरहन्छ । त्यो उराठिलो डाँडा साँघुरो गल्लीहुदै पछाडिपट्टि फैलिएको स्कुल-ब्लकहरूसम्म पुग्छ । रुखो पाखोमा झाडी, बुट्यान र काँडाघारीहरूले भरिएको स्यानो पहाडले एभरेष्ट होस्टललाई ढपक्क छोपेको झैँ लाग्छ । वैज्ञानिक नाम बोमबक्स सिबा (bombax ceiba) भएको बुढो भीमकाय सिमलको रूखले कालो छाया त्यही होस्टललाई अँधेरीभुवनको झल्को दिएको छ । टोड्के सिमलको रुपमा त्यो रुखले अनेकौं पटकथा र मिथकहरू बनाएर वर्षौदेखि एभरेष्ट होस्टललाई निगल्नै आँटेको झैँ लाग्छ । होस्टेलबासीहरूले त्यो सिमलको रूखलाई 'भूताहा रूख' भनेर बोलाउँछन् भने कलिला छात्रहरूलाई त्यो नामले मात्रै पनि भयत्रस्त गराउँदछ । त्यस सिमलको रूखको नसुल्झिएको डराउनी कथा नयाँनयाँ विद्यार्थीहरूले हरेक पुस्तालाई एक परम नासोका रुपमा हस्तान्तरण गर्दै आएका छन् ।
एभरेष्ट होस्टलको एकजना वरिष्ठ सदस्यमध्ये कक्षा पाँचमा पढ्ने भुकुल्ले केटा थियो । उसको छिचरो हाँसो र फुलेको भड्डु भाँडाजस्तो भुँडी भएकाले लाफिङ् बुद्दको अवतार झैँ लाग्दथ्यो । उसका पुट्ट परेका अजबका गालाहरूमा राताराता लालीहरू प्रकृतिप्रदत्त देखिन्थे । त्यो बाबुको नाम कुशल थियो, मिलिटेरी स्कुलको एक सिभिलियन छात्र । उसको भविष्यकालागि उसको बुबा कोरियामा पसिना चुहाउँदै थिए भने आमा इजरायलमा उसको सपना पुरा गर्न आँसु तप्काउँदै थिईन् । उसका बुबा उसलाई एक होनहार इन्जिनियर बनाउन चाहन्थे; आमा भने एक स्वास्थ्य-धर्मी डक्टर बनाउँन चाहन्थीन् । उनीहरूका महत्वकांक्षाका लागि ऊ एभरेष्ट होस्टलको स्वैच्छिक कैदी जस्तो भएर छात्राबास बसे पनि खुशी थियो कुशल बाबु ।
एक रात कुशल बाबुको ऐठनले मलाई अविस्मरणीय अनुभूति दिलायो । पुस महिनाको चिसो रात थियो । जाडोको चिसो स्याँठले दिनभरिको मेरो थकानको दर्दलाई कताकता उडाउँदै थियो । रात्रिकालिन सपनाको पर्खाइमा म मेरो तात्तातो ओछ्यानमा ढल्किरहेको थिएँ । मिठो सपनीको काखमा लुट्पुटिन खोज्दै म निद्राको कोक्रोमा झुल्लिरहेको थिएँ । लोरीको सुरमा हल्लिदै गर्दा ढोकामा कसैले ढकढक हिर्काएको मैले सुनेँ । धोध्रो स्वरमा कसैले बोलायो, "इस्क्युज मि म्याम ।" घरी घरी दैलामा ढ्याकढ्याक ढ्याप्प पारेको सुनिन्थ्यो भित्रबाट । 'ढकढक ढकढक' लगतार प्लाइबोर्डको ढोकामा कसैले हिर्काउँदै थियो । "हजुर मेडम प्लिज सुन्नुस् न प्लिज म ........।" भनेको आवाज ढोकापछाडिबाट एकोहोरो किसिमले दोहोरिनै रह्यो । त्यहाँ मेरो ढोकामा धकेल्न आउनेलाई सायद थाहा थिएन होला मेरी श्रीमती त्यसदिन क्वार्टरमा थिईनन् भनेर । म एक्लो वनराज झैं त्यो दिनको बफादार ड्युटीको होस्टल इन्चार्ज भएको थिएँ त्यहाँका सबै बोलाउने छात्रहरूका लागि ।
"कस्ले ढोकामा हान्दै छ हँ ?" मैले अर्धनिन्द्रामा नै कराएँ ।
अङ्ग्रेजीमा उत्तर आयो, "Sir I don't got my bed cover. I did not finded in my dormitory." (सर मैले मेरो तन्ना पाइँन । डोर्मेट्रीमा पनि थिएन ।)
मैले बेडबाटै अङ्ग्रेजीमा सोधेँ, “Who are you?” (को बोलेको हो ?)
“I am Kushal.” (कुशल हुँ)
"Why didn't you get it back from the laundry?" (लन्ड्रीबाटै आएन नि क्या हो ?)
"Washer uncle don't return back it sir." (धोबीकाकाले फिर्ता दिनु भएन सर ।)
"Are you sure, Kushal?" (तिमीलाई पक्का थाहा छ त ?) ढोका नउघारी नै मैले सवाल गरिरहेँ । कुशल चुप लाग्यो । सन्देहपूर्वक मैले फेरि सोधेँ, “Tell me what you want. What’s your problem?” (लौ भन तिमीले के चाहिँ खोजेको ? के भयो ?) तर बाहिरबाट जवाफ आएन । कालो ढोकामा चुकुल कसिलो गरी लागेको थियो । हिउँदको कठाङ्ग्रिने जाडोमा म पनि सिरकभित्र गुटमिटिएर बोल्दै थिएँ । अँध्यारो रातमा पुरै सन्नाटा छाएको थियो । न्यानो सिरकभित्र पनि मलाई चिसो पस्यो । सिरक र दरीलाई हटाउँदै म ढोकामा गएँ । बिस्तारै ढोका खोलेँ र प्यासेजमा रहेको बत्ती बालेँ । त्यो ठुलो भवनको वरपर हेरेँ । केहीबेर अघि मलाई बोलाउने केटोको कुनै सङ्केत थिएन । बरन्डाको सिलिङ्मा झुड्याइएको भित्तेघडीमा मैले हेरेँ । घडीको सबैभन्दा छोटो सुइँ नम्बर १२ मा थियो । तुरुन्तै म रुमभित्र छिरेँ । चिसो पस्ला भन्ठानेर दुवै आँखा र कानहरू छोपेर सिरकभित्र पसेँ ।
अँध्यारोको आफ्नै सुन्दरता हुन्छ । अँन्धकारको पारखीले जूनबिनाको रातमा अन्त्यहीन अँध्यारोलाई हेर्दै जाँदा सुन्दरता अझ बढ्दै जान्छ । अँन्धकारको साक्षात्कार गर्न साहसिलो हुनुपर्छ । किनभने डार्कनेस लभर (Darkness Lover)ले पिचअँन्धकारमा पनि प्रकाशको एक बुँद लान हुदैन । तब मात्र ऊ सचा डार्कनेस लभर मानिन्छ । जतिजति अँध्यारोलाई हेर्यो त्यति नै अँध्यारोको सौन्दर्य हेर्नेको अन्तरहृदयमा घनिभुत हुनपुग्छ । अँन्धकारलाई आत्मसात गर्नेले अदृश्य आत्माहरूदेखि डर निकालेर अभय प्राप्त गर्दछ । यसरी अँध्यारोलाई माया गर्न थोरै प्रयास र निरन्तर अभ्यासको आवश्यकता पर्दछ । भनिन्छ अँन्धकारलाई अवलोकन गर्ने अभ्यासले ध्यानको अवतरण गराउन पनि सहयोग गर्दछ ।
उदाइरहेको जूनले त्यस थुम्कामुनि पनि दुईघन्टापछि मन लागिनलागि चिहायो । एभरेष्ट होस्टलदेखि सुदूरपूर्वको अन्तुमा निक्लेको तीनघन्टा भैसकेको थियो । रातको अँन्धकार बिस्तारै बिस्तारै होस्टलभित्र छिर्दै थियो । साठीऔं दशकको समय त हो अठार घन्टासम्म हुने लोडसेडिङ्ले अँधेरी भवनलाई झनै डराउनी बनाएको थियो । आठ बजे डिनर खाएपछि रातको जूनबिनाको आकाशमा काला बादलहरूले ढाकेर बिजुली गएको एभरेष्ट होस्टलमा चुकअँध्यारो भएको थियो । र त्यहाँ निबासी तीनसय जतिका टाउकाहरू सिरानीमाथि ढलपल भए । छिप्पिदै गरेको रातमा होस्टलको पश्चिमी ब्लकबाट हल्लाखल्ला आयो । केही केटाहरू कराउदै थिए, केही दौडदै थिए भने केही चाहिँ रुदै थिए । म जुरुक्कै उठेँ अनि तकियामुन्तिर घुसारि राखेको पेनलाइट फुत्त निकालेँ । पेनलाइट बालेर छ क्लासका विद्यार्थीहरू अतालिदै गरेको ब्लकतिर हुरिएँ । हतासमा जाँदै थिए दुईजना केटाहरूसँग म झन्डै ठोक्किएँ । उनीहरूले लाइटको फोकस मेरो अनुहारबाट हटाउँदै एकैस्वरमा भने, "स-सर घोघो घोस्ट घोस्ट ।"
"What?" उनीहरूले बोलेको भन्दा ठुलो स्वरमा मैले सोधेँ । संयमित हुन खोज्दै एउटा बाबुले भन्यो, "There is ghost. Kushal is crying, sir." (भूत आयो सर । कुशल रूदै छ ।)
"Let's go there. Let me see where the ghost is." (ल जाऔं । कहाँ छ भूत म हेरौंला ।)
ती दुईजना बाबुहरू मेरो पछिपछि आए । कुशल रोइरहेको डोर्मेट्री नम्बर तेर्हमा पुग्यौं । डरले काँप्दै कुशल बेडमा बसेको थियो भने अमन भुइँमा बसेर रूदै थियो । चार क्लासको नयाँ छात्र अमन थरथराउदै बरबराइरहेको थियो । मैले उसका हातमा समाएर कुशलसँगै बेडमा बसाएँ । त्यस डोर्मेट्रीका बिसै जना केटाहरूले कुशल र अमनलाई घेरा हाले । मैले सान्त्वना दिँदै त्यो भूताहा कहानीको गूढ रहस्य बुझ्न जमर्को गरेँ ।
"भूत कस्तो थियो अमन ?"
मैले नेपालीमा सोधेकाले भाषिक सहजता महसुस गर्दै अमनले ओठ कपाउँदै जवाफ दिए, "बामपुड्के भूत थ्यो सर तर त्यसको टाउको फर्सी जस्तै थ्यो सर ।"
उसको भयभीत हाउभाउ बुझेर मैले कतै हाँसो फुत्केला कि मेरा ओठहरू ट्याप्प कसेर भित्रभित्र पचाएँ खित्काको दबाबलाई । किनभने मेरो बिनासितैमा हाँस्ने बानीले बेलाबेला मलाई अफ्ठ्यारोमा पारेको थियो ।
'फर्सी टाउके भूत !'
त्यो अदृश्य आत्माले चार पाँच क्लासमा पढ्ने कलिला बालकहरूमा आतङ्क मच्चाउदै आएको थियो । फर्सी टाउके भूतको कथालाई एभरेष्ट होस्टलमा भर्ती हुने हरेक नयाँ पिढीका बालकहरूमाझ हस्तान्तरण गर्दै जीवन्त बनाउदै आइएको थियो । ती बालकहरूले सोच्दथे त्यो भूतको बासस्थान डाँडोको टोड्के सिमलको रूख थियो । र त्यो टोड्काभित्र लुकेर बस्थ्यो अनि राति तर्साउन निस्कन्थ्यो । म एभरेष्ट होस्टलको इन्चार्ज भएकाले तीन चार वर्षदेखि नै यो फर्सी टाउके भूतको कथा सुन्दै आएको थिएँ ।
“Sir, my pillow fell-ed outside through the window.” (सर, मेरो सिरानी झ्यालबाट झर्यो !) फेरि अर्को अँध्यारो रातमा कुशलले मेरो क्वार्टरको ढोकामा आएर निन्द्रामै गुनासो राख्यो । दुई पल्ला भएको ढोकामा उसले नेटको ढोका चलाउँदा चुईई गरेको आवाज आयो भने काठको ढोका तान्दा ड्याम्म लाग्दै चौकोठमा बर्ज्यो ।
“Oops, did you ask ayah sister?” (उफ् ! तिमीले आया दिदीलाई सोध्यौ नि ?) मैले दिकदार माने झैँ गरी सोधेँ, “Why do you bother in this pitch dark night? What about tomorrow?" (यो चुकअँन्धकारमा तिमीले किन दुख गरेको कुशल ? भोलि गर्दा हुन्न र !)
“Ok sir let’s do it tomorrow. Goodnight, sir.” कुशलले बेमतलब हुदै सहमति जनायो र उसको पैताला घिसार्दै त्यहाँबाट गयो । मलाई निन्द्राले कतिबेला आफ्नो संसारमा लग्यो पत्तो भएन । तर मरेको थिइँन निदाएको मात्र थिएँ भनेर भोलिपल्ट ब्युझिँदा मैले बुझेँ । बिहानै कुशलको बेड पार्टनर डोर्मेट्री मनिटर राजुले मध्यरातमा भएको घटनाको रिपोर्ट सुनायो-
कुशल सिधै डाइनिङ हल जाने गल्लीबाट हिड्न थाल्यो । गल्लीको दायाँतिर एक ठुलो पर्खाल थियो । दस फिट उँचाइ र बार्ह फिट चौडाइ भएको त्यो कन्क्रिटको वालमा आर्मीका नयाँ रिक्रुटहरूलाई ट्रेनिङ गराइन्थ्यो । कुशलले हिँडेको बाटो छोडेर त्यही पर्खालतर्फ लाग्यो । अचानक रात्रिकालिन बसमा सानो टेम्पो ठोकिएर उत्तानोचित खाएको जसरी कुशल पनि त्यो पर्खालमा ठोक्किएर पछाडिपटि लड्यो । चित्कार निकाल्दै कुशलको होस आयो र उसका ठुला आँखाहरूले भुइँमा हेरे । जुरुक्क उठ्यो र फेरि आँखाहरू चिम्म पार्यो । धन्न होस्टलकी आया सिस्टरले थाहा पाइन् र डाइनिङ हलतिर जाँदै गर्दा पकडेर ल्याइन् । "यहाँ किन आको कुशल ? कहाँ गको ?" आया सिस्टरले झर्किदै सोधिन् । कुशलले केही बोलेन तर उनलाई कुहिराको काग जसरी पछ्याउदै आयो । सरासर उसको डोर्मेट्रीभित्र पस्यो र सानो बच्चाले कोक्रोको न्याप्किनमा लुट्पुटिए जसरी ऊ पनि बेडको ब्लान्केटभित्र लुटपुटियो ।
बिहान नौं बजेतिर एभरेष्ट होस्टलको छानामाथि सूर्यको किरण फिजारियो । हुस्सुले छोपेको दिनमा सूर्यको दर्शन पाउन अझ ढिलो हुने गर्थ्यो । यो सबको कारण एभरेष्ट होस्टलको पूर्वमा खडा रहेको त्यो सानो पहाड नै थियो जस्ले वर्षभरि नै गर्मी छलेर छहारीको काम गर्थ्यो । त्यो दिन पनि सधैँ झैँ कुशल सखारै उठेर पिटी र तेक्वान्दो अभ्यासको लागि जान तयार भयो । प्राथना सभाको लागि खडा भएको लाइनबाट मैले उसलाई मेरो छेवैमा बोलाएँ । कपाल कन्याउँदै शरमले केही नर्भस भएर ऊ आयो । सधैँजसो रातको बेला हुने उसको समस्याको वास्तविकता मैले बुझ्न चाहेँ । मैले अङ्ग्रेजीमा सोधेँ, “What about your pillow, bedcover, …….?” (तिम्रा सिरानी, तन्ना र अन्य सामानहरू के भयो रे ?) ऊ एकछिन अलमलमा परेको देखियो । “Oh, yes, it was a dream, sir. No problem at all." (ओहो, त्यो त सपना थियो सर । केही समस्या छैन ।) उसले सम्झिदै भन्यो । उसले मुस्कुराउँदै निधारमाथिको कपाल मिलायो । उसका ठाडाठाडा परेका केशमुनि सुक्दै गरेको सामान्य खत देखेँ । उसका आँखाहरूमा अनजान भावको अनुरोध देखेँ । त्यही रात मैले पनि सपना देखेको थिएँ । सपनामा पनि म तिनै बालकहरूको रेखदेख गर्दै थिएँ । उनीहरूको फर्सी टाउके भूतलाई लखेटेर भयरहित बालमैत्री होस्टल स्थापित गराउने कार्यमा खटिरहेको थिएँ म । मेरो सपनाको दृश्य पुनरावृति भैरहेको बेला मैले कुशलको नयनहरूमा झाँकेर हेरेँ । ऊ मानसिक तवरले रिक्त देखियो । फर्सी टाउके भूत र त्यसको डराउनी कथा, अजङ्गको टोड्के सिमल र त्यसको फेदमा रहेको अँध्यारो ओडार, डरले आल्हादित निर्दोष अनुहारहरू र छात्राबासका अँध्यारा कुनाकाप्चाहरू यी यावत् स्मरणहरू एडिसनको मोसन पिक्चरमा फनफनी घुमेका रिल जसरी ओहोरदोहोर गर्न थाले । मेरो मुखबाट मसिनो स्वरमा दार्शनिक बोधको उभार आयो ।
“Oh! Kushal, you are a dream walker! Actually, we all are dream walkers without destination.” (ओहो कुशल, तिमी एक स्वप्निल यात्री रैछौ । वास्तवमा हामी सबै नै गन्तव्यबिनाका स्वप्निल यात्री हौं ।)
उर्लाबारी, मोरङ, हालः धरान