एउटा गहिरो दहमा छु म अहिले शब्दहरूका। मातेको छु यतिबेला शब्दहरूका सम्मोहनले। अनियन्त्रित पौडिरहेछु शब्दहरुबीच म,डुबेर कतिबेला तलसम्म फेरि निस्केर बाहिर नाप्छु गहिराइ शब्दहरूका, भावहरूका अनि तौलिन्छु ओजन गीतहरूका। बातहरू छन् यहाँ मातहरु छन्।साथहरू छन् यहाँ घातहरू छन्,के छैनन्?सबथोक छन्।थोरै शब्दहरूमा धेरै कुराहरूका वर्षात छन्।म कुरा गर्दैछु वरिष्ठ गीतकार नरदेन रूम्बाको।
बाँचिञ्जेल देखेका कुराहरू छन् गीतहरूमा
बाँचिञ्जेल भोगेका थोकहरू छन् गीतहरुमा
बाँचिञ्जेल बिझेका काँडाहरू छन् गीतहरूमा
बाँचिञ्जेल दुखेका घाउहरू छन् गीतहरूमा।
त्यसो त खुशी छन्,उल्लास उमङ्गहरू छन्,एउटा मान्छेले बाँचेको जीवन इतिवृत छ गीतमा।गीतहरू लेखेर बिताएछन् नरदेन रूम्बाले जुनीका अधिकांश उमेरहरू।कविताहरु पनि नलेखेका होइनन्,थुप्रै छन् अनुवादहरू पनि उनका।
साहित्यका अन्य विधाहरूभन्दा सम्प्रेषणीय हुन्छ गीत, ठान्छु म।सङ्गीतका कोमल सरगमहरूले नयाँ प्राण दिन्छ शब्दहरूलाई र गुञ्जिन्छन् गीत भएर अभिव्यक्तिहरू मान्छेहरूबीच। नरदेन रूम्बा गुञ्जिएका थिए यसरी,गुञ्जिरहेका छन् र गुञ्जिरहनेछन् समयको अलिक प….रसम्म। प्रेम विछोडका,आशा निराशाका,हाँसो आँसुका,मुस्कान रोदनका बाहेक सन्देशहरू पनि छन् गीतहरुमा।त्यसैले त कालजयी छन् शब्दका टापहरू।
थुप्रै उकाली ओह्राली चढेँ-झरेँ म गीतहरूमा।गीतका मैदानहरू भेट्टाएर सिँगारे पाठोझैँ उफ्रिएँ म।वर पिपल मानेर छहारी तापिरहेको छु म अहिले नरदेन रूम्बाका शब्दहरूलाई।उचाइ नाप्दैछु म,उनको तल बसेर र उनी पुगेको माथ्थि पुग्ने लोभमा प्रयास गर्दैछु लेख्न गीतहरु।
जीवन, समाज,समाज व्यवस्थाकै उपज हुन्छन् साहित्यिक रचनाहरू।मानव जीवन र समाजबाट अलग थिएनन् गीतकार रूम्बा।त्यसैले त यी पीडाहरू, खुशीहरू जीवन र समाजकै आलापहरू हुन्।भोगेरै पचाए धेरैले तर कोरिराखे रूम्बाले जीवन र समाजलाई गीतहरूमा,गीतका नक्साहरूमा।
भूगोलका सीमाहरूले थुनिँदैनन् स्रष्टाहरू। पुग्न र दुख्न सक्छन् यिनीहरू जहिल्यै जहाँ पनि।प्रकृतिको सौन्दर्य बखान कुनै निर्दिष्ट ठाउँको नहुन सक्छ। प्रकृति सुन्दर छ सर्वत्र।त्यस्तै हुन्छन् भोगाइहरू पनि जीवनका।अरुका दुख सुखहरू हामी पनि भोग्छौँ र भोग्छन् अरूले पनि हाम्रा यीहरू। नरदेन रूम्बाका गीतहरूलाई यसैले थुनेन भूगोलका साँध सिमानाहरूले।र त गाइने र लाहुरे जीवन छाम्न पुगे नेपालतिर;
गाइने दाइलाई सुनकेसरीको केश सोध्नै भुलेँ
भोकै मर्ने लाहुरेको देश सोध्नै भुलेँ……..
(स्वर/सङ्गीत-बद्री दुर्गा खरेल)
नेपाली/गोर्खे सिपाहीहरुका व्यथा बज्छ गीतमा।तीतो यथार्थलाई करूण चित्रण गरेको छ,’भोकै मर्ने लाहुरे’-ले।अरूको देश बँचाउने ‘गोर्खे लाहुरे’ भोकै मर्नुपर्ने स्थिति आलो छ अहिलेलाई पनि।नेपालबाहेक विश्वमा छरिएर बसेका गोर्खे लाहुरेहरुका पीडाहरू हुन् यी;विपनाहरू पनि हुन्।
आमालाई खोजें पँधेरीभरि
साँझको पापी मझेरीभरि
एकभारी पराल झोपडीतिर
बारीको माटो चपरीतिर
गौँथली आउने ती बासतिर….
(सङ्गीत-चन्दन लमजेल)
आमालाई खोजिरहेका छौँ हामी शताब्दी अघिदेखि।हामी तर जन्मदै टुहुरा भएकाहरू भेटेर ल्याउन सकेका छैटौँ आमालाई। राजनैतिक लम्पसारवादले घरिघरि तुहेको हाम्रो अस्तित्वको लँडाइ र हाम्रो कुटनैतिक अकर्मण्यतालाई यति सरल र सहजसँग उजागर गरेका छन् गीतकारले।शब्दको मल्हमभित्र पीडाको गहिरो घाउ छ। अहिलेसम्म पनि हामी दुखिरहेका छौं त्यो घाउ कोट्याएर।हामी देशको सिमाना रुङ्नेहरूका आफ्नो छानो नहुनुको एउटा बिसञ्चो भावहरूका अभिव्यक्ति हो यो गीत। कवि,गीतकार अगमसिंह गिरीको जातिवोधको स्पर्श छ प्रस्तुत गीतमा।
बिहानी यहाँ खसेकै छैन
उजेली अझै पसेकै छैन
गुराँस हाम्रो फुलेकै छैन
लक्ष्यको बाटो खुलेकै छैन……
(सङ्गीत-चन्दन लमजेल )
‘बिहानी’,’उजेली’,’गुराँस’ बिम्बहरूका महत्त्व उत्तिकै छन् हाम्रो वर्तमानमा पनि।यसो भनौँ,यो गीत भारतीय नेपालीहरूका निम्ति उत्तिकै सजीव छ अहिले पनि।
जातिका दुखाइहरू गीतकार रूम्बा थुप्रै लेख्छन् गीतहरूमा।यी दुखाइहरू नक्कली र बनावटी होइनन्,शताब्दीदेखि दुखेको हाम्रो जातीय घाउ हो।छातीभरि चोट बोकेर हाँस्न सक्दैनन् रूम्बाका ओठहरू।
पूर्व र पश्चिम माटोभरि नै
जङ्गल कछार फाँटभरि नै
नदीका हजार धारामा
छाती तोडियो हाड फेरियो
रातो रगतको रेखा कोरियो
सिमाना तर भएन तिम्रो
आँगनसम्म रहेन तिम्रो…..
(सङ्गीत-चन्दन लमजेल )
देशभित्र मात्र नभएर थुप्रै ठाउँहरूमा विश्वको,सिमाना बँचाइदिएर अरूलाई विजेताको पगरी गुँथाइदिने गोर्खाहरूका अहिलेसम्म आफ्नो सिमाना नहुनु राजनैतिक विडम्बना हो,देशले ढाल मात्र बनाएको रहेछ गोर्खाहरूलाई, न्याय भएको छैन गोर्खाहरूप्रति अहिलेसम्म पनि।अर्काको देश बँचाइदिने गोर्खाको आफ्नैचाहिँ आँगनसम्म नहुनु पहाड जत्रो दुर्भाग्य।
गीतहरूमा परिभाषा छ जीवनको,जगतको।मान्छेको लाचारी पनि छ उत्तिकै शब्दहरूमा नरदेन रूम्बाको।
एकछेउ जीवन छ अर्को छेउ बाँच्न चाहने मान्छे
………..
खोजिहिँड्छन् यहाँ धेरैले बाँच्न पर्ने बहानाहरू…
(सङ्गीत-शान्ति ठटाल)
कवि-कलाकारहरू सम्वेदनशील हुन्छन्।त्यस्तै छन् यहाँ गीतकार प्रकृतिप्रति।त्यसैले त प्रकृतिका केही पाटोहरू प्रतिपादन गरेका छन् शब्दहरूमा सुन्दर ढङ्गले।प्रकृतिप्रेम होचो उनको,भनिहालौँ स्पष्ट;
आरू फूल लजाएको गोरेटो नै भरी
कुहिरोले सास फेर्छ मस्ती छरी छरी
बतासले मीठो-मीठो कानेखुशी गर्छ
बिसाउनलाई इन्द्रेणीले दुइटा कथा भन्छ….
(सङ्गीत-धनञ्जय थापा)
यहाँ ढुङ्गालाई मानिस देवता बनाउँछन्
मैले देवतालाई ढुङ्गा बनाएँ…
(सङ्गीत-मणिकमल छेत्री)
जुनेली त चोखै हुन्छ
जूनभरि दाग होला
आँखाभरि पानी मेरो
मनभरि आगो होला….
न्याहुलले वनभरि, कति गीत गायो राजै
मजूरले मुनाललाई कति प्रीत लायो राजै
(सङ्गीत -मणिकमल छेत्री)
गीतकार रूम्बा समीप छन् प्रकृतिको।प्रकृतिलाई मन पराउँछन्।स्वच्छन्द बग्छन् उनी प्रकृतिसँग।यसो भनिनुमा ठूलो आड दिन्छ उनका ऋतुरागका ऋङ्खलावद्ध गीतहरु क्रमैले बसन्त, वर्षा,शरद र शिशिरका प्रवाहहरूले।प्रकृतिका गरिमालाई उत्कृष्टता प्रदान गर्न खप्पिस रूम्बाका कलमले उपरोक्त चार ऋतुहरूका बयानमा शब्दका कसी लगाएका छन्।गीतमा लय,छन्द, उतार-चढाव आवश्यक उपादानहरू हुन्।सबै पाइन्छन् रूम्बाका गीतहरूमा यी अवयवहरू।अझ उनी गीतलाई अलङ्कारहरूले सजाउन पोख्त छन्;
शरदले सुन्दरता
रस रमझम रमिता
गान गुञ्जन गम्भीरता
मस्त मधुर मधुरता
प्रणय पङ्कज पुलकित
धुन धँवार धवलिका
निसदिन नवीन निवेदिता
सा-सा- शरदको सुन्दरता
रे-रे- रस रमझम रमिता
ग-ग-गान गुञ्ज गम्भीरता….
(सङ्गीत- कर्म योञ्जन)
अनुप्रासमा सार्थक र सफल छन् शब्दहरू।कसरी खेल्न सके होलान् गीतकार यसरी प्रकृतिसँग र प्रकृतिको सरगमसँग।सोच्न मात्र सक्छु म।
धुप्पी डाँडा चियाबारी धुरी धुरी सिस्नुघारी
फाँडेर हो तरेर हो हामी आयौँ वारिपारि
कर्मले ढुङ्गा फोरी खुकुरीले माटो कोरी
इलमको हात जोडी जुनेलीको बिम्ब चोरी
सजाएको उदाएको यो प्यारो ठाउँ
यही हो हाम्रो देश यही हाम्रो गाउँ…..
(सङ्गीत-मणिकमल छेत्री)
आफ्नो जन्मभूमि,कर्मभूमिप्रतिको चोखो प्रेम हो गीतकारको।दार्जीलिङ वर्णनका सन्दर्भमा,दार्जीलिङका गीतकारकै सन्दर्भमा ,स्रष्टाको रूपमा दार्जीलिङका एक होनहार व्यक्ति थिएछन् नरदेन रूम्बा, बुझ्छु अचेल म।
दार्जीलिङका गर्व हुन् नरदेन रूम्बा।
गीतहरूमा गौरव हुन् नरदेन रूम्बा।
गीतकारहरूका गुरू हुन् नरदेन रूम्बा।
यति भन्न सकिन् निस्सन्देह उनलाई दार्जीलिङको सन्दर्भमा।गीतहरूमा उनले नेपालीको आदर्श र गरिमालाई दर्शाउनुका साथै प्रकृति महिमा पनि गाएका छन् प्रचुर मात्रामा।यीबाहेक भक्ति गीत पनि गाएका छन् शब्दहरूमा उनले।धेरजसो गीतहरूले छोएका छन् प्रकृति र प्रेमका विविध पक्षहरूलाई। कथ्य प्रस्तुति निर्क्यौल्दा गीतकार रूम्बा वैयक्तिक र सामाजिक दुवै पाटामा अब्बल पाइन्छन्।
विविध विषयवस्तु समेटेर खाइलाग्दा गीतहरू रचना गर्नु उनको वैशिष्ट्य हो।सुख दुख रमाइला बेरमाइला स्थिति परिस्थितिहरूलाई भावपूर्ण ढङ्गमा प्रस्तुत गर्न सफल गीतकार हुन् उनी।
गीत अधुरो तिमीबिना
मेरो प्रीत अधुरो तिमीबिना
यो छाती खाली सधैँ
सङ्गीत अधुरो तिमीबिना….
(सङ्गीत-मणिकमल छेत्री)
लेख्नलाई प्रेरणा चाहिन्। जुनसुकै प्रेरक तत्व।प्रकृति,प्रेयसी,पत्नी,उकाला-अप्ठ्यारा,घाम पानी,उज्यालो-अँध्यारो, साँझ-बिहान आदि।सम्भवत:आफ्ना प्रेयसीप्रतिको उदगार हो प्रस्तुत गीत रूम्बाको।एकातिर प्रेमप्रितीको मीठो अभिव्यक्ति छ भने अर्कातिर प्रेमकै वितृष्णा जाहेर गर्न पनि पछि पर्दैनन् उनी;
फँस्यो भनी के पो भन्नु
जाल खोल्नेलाई
माया गाँसी अकालैमा
काल खोज्नेलाई
दुखी हाल खोज्नेलाई….
(सङ्गीत-बसन्त छेत्री)
कतै मायालाई जीवन स्वीकारेका छन् भने कतै मायालाई कालको जाल भन्न हिच्किचाएका छैनन् उनी गीतहरूमा।फेरि आफ्नो मायालाई उपमाले भरमार पारेको पनि कम्ति बान्किलो छैन;
मेरो माया मर्स्याङ्दीको पानी जस्तै छलल
मेरो माया रेशमको रूमाल जस्तै झलल
मेरो माया कसको नि भाग्यमा कसको सिउँदोमा
मेरो माया सिमलको भुवा जस्तै सलल….
(सङ्गीत-बद्री दुर्गा खरेल)
बान्की परेको माया बान्की परेको
तिम्रो त मुस्कान नै बान्की परेको….
(सङ्गीत- बद्री दुर्गा खरेल)
पाइएजति,पढेजति र सुनेजति नरदेन रूम्बाका गीतहरूले साँच्चै गीतको धर्म र मर्म पालन गरेका छन्।कुनैपनि विषयलाई खूबै निष्ठा र इमान्दारीपूर्वक निर्वाह गरेका छन् शब्दहरूले।गीतका अवयवहरूले माथि पुर्याएर होला शायद कविता लेखेर पनि नरदेन रूम्बा कवि थोरै र गीतकार धेरै चिनिन्छन्।गीतहरूले सफलताको चुलीमा पुरयाएको छ उनलाई। गाएर थुप्रै स्थापित गायक गायिकाहरूले उनका शब्द र भावहरूलाई न्याय गरिदिएका छन् र सफलताको उचाइ अग्लिन काँध सावित भएका छन् ती स्वरहरू।शब्द, सङ्गीत र स्वरको उचित सन्तुलन हुनसके गीत उत्कृष्ट बन्दछ।रूम्बाका गीतहरूले यो भनाइलाई सत्य प्रमाणित गराएका छन्।
स्वर सम्राट-सम्राज्ञी नारायण गोपाल, अरूणा लामा,मीरा राणा,डेजी बराइली,दावा ज्ञाल्मो, बद्री दुर्गा खरेल,रिमला मोक्तान, मणिकमल छेत्री,उदय सोताङ, कुमार सुब्बा,पेमा लामा,राम विष्ट,पवन गोले,रमेश बरदेवा,अजनीश राई,महेश सेवा,सागर बल,किरण वाइबा,रोमा सुनाम र थुप्रै अरू भाग्यशाली गायक गायिकालाई जुरेका छन् नरदेन रूम्बाका गीतहरू।सङ्गीतकार शान्ति ठटाल, कर्म योञ्जन, धनञ्जय थापा,मणिकमल छेत्री,बसन्त छेत्री,बद्री दुर्गा खरेल,चन्दन लमजेल,टाँसी वाङचु र अन्य थुप्रै सङ्गीतकारहरूले हुर्काएका छन् उनका शब्दहरूलाई। हार्दिकताको यो अङ्गालोमा कति गायक उनकै गीत गाएर प्रतिष्ठित भए, कति सङ्गीतकार उनका शब्दमा धुन भरेर स्थापित भए अनि यीनै सङ्गीतकार र गायकहरुका संयुक्त सृजनाले दह्रिलो गीतकार उभिए नरदेन रूम्बा।
पिउने गर्थे ‘रे गीतकार रूम्बा कहिलेकहीँ।थाहा छैन मात्नलाई पिउँथे कि अरू केही थोक भुल्नलाई या सम्झिनलाई पिउँथे।तर मातलाई पनि उतारे गीतमा र मताए थुप्रैलाई।
आजको यो रात त्यसै
नयाँ नयाँ लाग्दैछ
यो रक्सीको मात पनि
नयाँ नयाँ लाग्दैछ….
(सङ्गीत-बसन्त छेत्री)
मातको अर्को गीत छ उनको मास्टर पीस। मताएको थियो उक्त गीतले सङ्गीतकार चन्दन लमजेल र गायक स्वर सम्राट नारायण गोपाललाई।अहिले पनि मातिरहन्छौं हामी घरिघरि प्रस्तुत गीतसित;
मेरा सबै रात अब मातहरू भए
जिन्दगी नै नबुझ्ने बातहरू भए
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
सबै बात बेहोशीका बरातहरू भए….।
मात्नलाई सुर मात्र नचाहिँदो रहेछ,कुराहरूले पनि मात्दा रहेछन् मान्छेहरू।
कसैले सोधे है दाजै मेरो
कहाँ छ तिम्रो घर
स्वर्गको छेउ जहाँ मन लाग्छ
काँधमा मेरो जहाँ घाम लाग्छ
म भन्छु हजुर त्यही हो मेरो घर…
(सङ्गीत-चन्दन लमजेल)
जातिको स्थायी घर नहुनुक पीडालाई कति मार्मिक तर लाक्षणिक अभिव्यक्ति दिन सकेका छन् गीतकार रूम्बाले।
करुण रस,वीर रस,भक्ति रस आदि भरेर धारा प्रवाह गीत लेख्न सक्ने गीतकार चिनिन्छन् रुम्बा।प्रेमका शालीन अप्रोच अति शिष्ट रुपमा गर्छन् र विशिष्ट बनाउँछन् गीत।थुप्रै गीतहरू आजपर्यन्त स्वर नपाएर सङ्गीतकारहरूका हार्मोनियमका रीडभित्रै सीमित छन्।यिनीहरूलाई त्यहाँबाट उकास्न सके नरदेन रूम्बाले नेपाली गीत सङ्गीत र साहित्य समाजलाई लगाएको ऋण चुक्त हुन सक्थ्यो केही मात्रामा।
बाँचिञ्जेल लेखिरहे रूम्बाले गीतहरू।दार्जीलिङमा गीतको फसल फैलाउन जन्मिएका थिए उनी।उनैलाई पछ्याएर उनले लगाएको फसल सपार्न थुप्रै गीतकारहरू जन्मिएका छन् दार्जीलिङमा।गीत, कविता,अनुवाद आदि विधालाई आफ्नो साहित्यिक क्षेत्र बनाएर लेखिरहे रूम्बाले।गीतहरूमा भावनात्मक गहिराइ,समयचेत,अस्तित्वबोध र प्रणयवादी आलापहरूका सुन्दर र उत्कृष्ट ढङ्गमा प्रस्तुत गरेका पाइन्छन् उनका।
नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो मर्यादित ठाउँ सुरक्षित र सुनिश्चित राख्न सक्षम बनेका बरिष्ठ गीतकार नरदेन रूम्बा उनका कीर्ति र कृतिलाई नेपाली साहित्य, सङ्गीत र कलाले कहिल्यै नबिर्सियोस् भन्ने कामना गर्न सकिन्छ। नेपाली गीत साहित्यमा नपढी नहुने एउटा प्रमुख अध्याय बनेर सदा सर्वदा बाँचिरहनेछन् गीतकार नरदेन रूम्बा।
दार्जीलिङ