19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बुद्ध बनूँ लाग्छ

कविता चन्द्रबहादुर लामा May 3, 2024, 7:06 am
चन्द्रबहादुर लामा
चन्द्रबहादुर लामा

सेताम्य देखिने हिमाल
टाढाबाट हेर्दा
देखेर पनि कहिल्यै नबोलेकी
प्रेमिका जस्तै
सुन्दर लाग्छ।
बन्दोवस्ती राखेर ढाडमा
थमाएर खुट्टामा सारा बोझ
एक दुई एक दुई गर्दै
हिउँमाथि चालेर सजग पाइला
लडिएला कि भनी
कठ्याङ्ग्रिदो चिसोमा
रूस र युक्रेन बिचको
नटुङ्गिने युद्ध झैँ
अविराम जीवनको सङ्घर्ष
बाँच्दै गरेको यात्रा लाग्छ ।

सेता मुलायम हिँउमाथि
चालेर कठोर पाइला
लिएर मनभरि जिद्दी अभिप्सा
एक कप तातो कालो चिया
र थकान मेट्ने सहज आरामको
पूरा नभएका रहरहरूको
एक थुप्रो जीवन झैँ
अद्रवित हिउँहरूको
थुप्रो परेको सेतो हिमाल
शान्त, अटल र अचल
बसेको देख्दा त्यागेर सबथोक
शरणागत भई बुद्ध बनूँ लाग्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।