धेरैलाई नराम्रो लाग्न सक्छ, कथा बिक्रीमा छ भन्नु । तर गोविन्दले यो नै सोच्यो, गर्ने काम यही रहेछ भन्ने । पहिले ऊ अठार वर्षको हुनासाथ राजनीति पार्टीमा लाग्यो । एउटा पार्टी जसको इतिहास लामो छ र गौरवमय छ भनियो त्यसमा । त्यसैको बिगबिगी थियो । यो त्यो पार्टी भनेर नाम लिनु छैन । सबै पार्टीले चाहे हिजो मात्रै दल दर्ता पाएको पार्टी किन नहोस्, त्यही भन्छन्, जनताको हितका लागि गठित पुरानो ऐतिहासिक पार्र्टी । पौवापटीजस्तो त हैन राजनीति दल । गोविन्दले आफ्नो भविष्य पार्टीमा छ भन्ठान्यो तर त्यसो हुन सकेन । सबैको भविष्य राजनीतिमा सुध्रने भए सबै मन्त्री वा सांसद भइसक्ने थिए । उसले पच्चिस वर्षको हुँदासम्म पार्टीमा तन्मय दिएर काम ग¥यो । थोरबहुत धन पनि लगायो पछि कुनै दिन कुनै नेता प्रसन्न भएछ भने सांसदै नभए पनि वडाध्यक्षसम्म भइएला भन्ने आसले । तर ती आँधीहुरी बेगर नै सबै धुलोसरि उडे ।
पार्टीले गोविन्दलाई चुनावताका गन्तीमा लिन्थ्यो । चुनावताका उसलाई घरै आएर प्रचारको गाडीमा राखेर लग्ने गथ्र्यो र पनि चुनाव सकिएको अर्को दिनदेखि उसको खोजी हुँदैनथ्यो, सर्पले छोडेको काँचुलीझैँ ऊ फालिने गर्यो । चित्त दुखे पनि उसले पार्टीको विरुद्ध विद्रोह गर्न सकेन । एक्लो रामले के गर्ने ? त्यसपछि उसले सहरको बीचठाउँमा एउटा चियापसल खोल्यो । पैसा कमाउनु पनि थियो तर पैसाकै लागि ऊ मरिमेट्नेवाला थिएन । गाउँमा घर थियो र खेतबारी पनि मनग्गे भएको । पहिले ऊ जमिन्दारको छोरो कहलिन्थ्यो र पछि बिग्रेर राजनीतिमा लाग्यो भनिन्थ्यो । राजनीति उसको पैतालामा गडेर खिल पल्टिएको काँढा जस्तो भएको थियो । राजनीतिलाई सम्झिन्थ्यो र एकान्तमा आँसु बगाउँथ्यो, पुरानो प्रेमिकालाई सम्झेर रुन्छु भनेझैँ ।
चियापसल चल्थ्यो, चलेको पनि थियो तर अन्ततः त्यसलाई पनि राजनीतिले नै निल्यो । अन्ततः राजनीतिक दलका कार्यकताले उधारो खाएरै उसको चियापसल डुबाइदिए । कुन पार्टीको कार्यकर्ताले बढी खायो भन्ने गोविन्दले हिसाब गरेन तर खाए राजनीतिक दलका कार्यकर्ताले नै । उधारो खानलाई रोकछेक थिएन तर उधारो खाने राजनीतिक दलसँग आबद्ध कार्यकर्ता हुनुपथ्र्यो । उसले यो तगारो राखेको थियो जुन सर्वथा गलब साबित भयो । उसको सोच यो थियो, राजनीति गर्नेहरू सफल भएपछि उसको उधारो धमाधम तिर्नेछन् । आठदस वर्ष राजनीति गरेर छाडेको व्यक्ति थियो गोविन्द । अधिकांश कार्यकर्तालाई ऊ गाउँदेखि नै चिन्दथ्यो । तर उधारो खाएर पैसा तिर्न सक्ने कार्यकर्ता कमै थिए उस बेला । अचेल सांसद बनेको एक व्यक्तिले कार्यकर्तासहित चिया मात्र उधारो खाएको तीन हजार छ सय रुपियाँ तिरेकै थिएन । सबैले नतिरेपछि मैले मात्र किन भनेर ठाडै जबाफ दिन्थ्यो उधारो माग्न हिसाब देखाउँदा । अर्बौँका हिसाबले मुलुककै रकम हडपिइरहेको बेला उसको तीन हजार छ सय छोप लाग्दैनथ्यो । अहिले पनि छन् त्यस्ता तिनै कार्यकर्ता जसमा पैसा तिर्न सक्ने हैसियत भए पनि उधारो हजम गर्नमै आनन्द मान्थे । एउटाले नतिरे पो केही भन्नु । सबै उही ड्याङका मुला भएपछि कसलाई के भन्ने भनेर गोविन्द चुप लाग्थ्यो । दलहरूकै स्वभाव त्यस्तो छ, भ्रष्ट नेता कार्यकर्तालाई लाजसरम नमानी क्लिनचिट दिन हतारिने ।
गोविन्दका छोराहरूमध्ये एउटा इन्ज्यिर र एउटा डाक्टरी पढ्न लागेको थियो । गोविन्दले चियापसलबाट कमाइ गरेर पढाएको थिएन । उसका हजुरबा जिउँदै थिए । उनैले तिनलाई पढाउँदै थिए खेती किसानीबाट आर्जन गरेर । बाउ बिते पनि हजुर।बा जिउँदै हुनुलाई उसले भाग्यको देन मानेको थियो । उसको बाउमा यति हिम्म्त देखिएको थिएन, नातिनातिना त के छोराछोरीलाई पनि पढाउन सक्दिनँ भन्थे । उनको आर्जन क्षमता थिएन खेती प्रशस्त भए पनि । गाँजा, भाङ र जाँडमा मस्त रहन्थे उनी ।
भनिन्थ्यो, गेविन्दका हजुरबा बुढासित सयपचास किलो सुनको ढिका नै छ । उति बेला गरिबमारा साहु थिए रे उनी । नगद नपाए असामीका बुहारीछोरी र स्वास्नीका काननाकका सुन फुकालेर ल्याउँथे र गलाउँथे रे । त्यस्तो सुन उनीसँग सयपचास किलोको हिसाबले छ भन्थे । गोविन्दले पनि देखेको त छैन तर छ भन्ने सुनेको हो । उसको बाउलाई थाहा हुँदो तर उनी त दिवङ्गत भइसके । त्यो रहस्य चितासम्म साथै लगे र खरानी पारे । उनले निधन हुनुभन्दा अगि कसैलाई त्यो रहस्य भनेर गएनन् । हजुरबा बुढाले त्यो सुन कसरी खर्च गर्थे भन्ने सुइँको कसैलाई थिएन । उनी मात्र पनातिहरूलाई इन्जियर र डाक्टर बनेको देख्न चाहन्थे । इन्जिनियर पनातिले बनाएको घर र डाक्टरी पढेको पनातिको उपचारमै उनले जीवन बिताउने (प्राण त्याग्ने भनेनन्) विचार लिएका थिए जुन सम्भव भइरहेको देखिँदै थियो ।
चियापसल छाडेपछि गोविन्द केही दिन घरमै विश्राम गर्दै बस्यो । कसैले केही सोध्ने कुरो थिएन । खानलाउनुको अभाव थिएन, आआपूmमै मस्त थिए । माथिबाट छोटो समयमै अनुभवसम्पन्न व्यक्ति देखिन्थ्यो गोविन्द । व्यक्तिगत रूपमा उसमा कुनै खोट थिएन । दारुपानी कम खान्थ्यो र त्यो पनि राजनीतिमा छँदा उसले केही अभ्यास गरेको, दारुपानी खाने । नेताहरू थकाइ मेट्न दारुका बोतलको माग गर्थे । कार्यकर्ताहरू राजीखुसीसाथ त्यसको उपाय गर्थे । सहरभरि दारु पसल थिए र नेताहरूले उधारो दारु नखाएको पसल कमै थिए । सबै दारुपसलेले आरामले उधारोमा बोतल सप्लाइ गर्थे, पछि लाइसेन्सको काम यिनै नेताबाट लिनु पर्ने हो भनेर उनीहरू उधारो दिन नाइँनास्ति गर्दैनथे । सबै नीतिको मूलनीति राजनीति भनेभैmँ जता सोचे पनि राजनीति नै पाउँथ्यो गोविन्द । नाइट बस दगुराउने विचार ग¥यो तर त्यसमा आपूm संलग्न हुन सक्ने देखेन । रातिराति जागा बसेर प्यासिन्जर ओराल–उकाल र रातभरि बससँगै दगुरिराख ! ऊ आपूm नदगुरे पनि बसमै आरामले बस्न पाउने देखेन । कन्डक्टरमाथि नजर राख्ने काम झन् कठिन देख्यो । कन्डक्टर पनि पाउन गारै पथ्र्यो, मालिक हिँड्ने बस भनेपछि । कारण टाँका मार्न सजिलो हुँदैनथ्यो । प्यासिन्जर कति जना, को ओर्ले, कति चढे र कति उठ्यो भाडा भन्ने क्षणक्षण हिसाब माग्ने गर्थे बस मालिकहरू । उसले बस राख्नतिर सोचेन, बस राख्ने काम उपयुक्त मानेन ।
तर बीचबजारमा त होइन सहरभन्दा अलि छेउ पर्ने एउटा राम्रो र पक्की नयाँ घर बनेको थियो । त्यसमा उसले अफिस राख्न एउटा कोठा लियो । कोठा अफिसका लागि लिइएको थियो र त्यसलाई अफिसकै सरह सजाइयो पनि । कम्प्युटर, प्रिन्टर, नेट, ल्यान्ड लाइन फोण्न आदिले सुसज्जित थियो अफिस । दामी सोफासेट पनि र एक छेउको दराजमा अङ्ग्रेजी, हिन्दी र नेपाली भाषाका आधुनिक साहित्यका पुस्तक पनि । संस्कृतका वेद, पुराण आदिका चम्किला ठेली । अङ्गे्रजीका पुस्तक, ऊ भाषा त बुझ्दैनथ्यो तर नाम सुनेका जतिको कभर पढेर चिन्दथ्यो र ती पुस्तक पारि भारततिर तीर्थाटन वा उपचारको क्रममा पटकपटक जाँदा किनेर ल्याउने गरेको थियो । पुस्तक गोविन्द धेरै पढ्दैनथ्यो तर किनिराख्थ्यो । निकै जतनले ती महँगा पुस्तक घरको बाकसमा थन्क्याएको थियो । अहिले झिकेर अफिसमा सजाएको थियो । मेच, सोफा र टल्किने टी टेबल वा अफिसमा हाकिमपनलाई गौरवान्वित गर्ने भव्य टेबल र दामी घुम्ने मेच भए पनि गोविन्दलाई खट्किरहेको एउटा कुरो थियो— अफिसको मूल प्रयोजन के ? मात्र देखाउन अफिस खोलिएको त थिएन । सहर सानो थियो तर उसको अफिसको अटाई नअटाई सर्वत्र चर्चा थियो । तर अफिस खोल्नुको मूल प्रया्जन के ?— न ऊ ए क्लासको ठेकेदार नै थियो न ऊ होलसेल काम गर्ने सेठ वा कानुनी सल्लाह दिने र मुद्दा लडेर जिताइदिने छसात जना सहायक वकिलसहितको वरिष्ठ अधिवक्ता ।
अफिस खोल्यो त कुन प्रोजनका लागि ? गोविन्द अन्ततः साहित्यतिर फर्कियो । साहित्य एउटा आह्यस्थल जसमा जस्तासुकै मानिस पनि अटाउन सक्छ । तर साहित्यका लागि यत्रो भव्य अफिस सुहाउँदो थिएन । साहित्यकार उसै पनि पत्रु र गरिब हुन्छन् भन्ने लोकविश्वास थियो । तर उसले मनमा ठान्यो साहित्य भनेकै पवित्र र उच्च कुरो हो । संस्कृतिको संवाहक र मुलुकको गौरव । मुलुकमा पठन संस्कृति लोप हुँदै गइरहेको बेला साहित्यका लागि खोलिएको यस्तो उच्च कोटीको अफिसले जनतामा साहित्यक र सांस्कृतिक जागरुकता ल्याउला भन्ने आकलन गर्यो गोविन्दले । सानैमा कनीकुथी केही कविता लेखेको थियो । उसका बाउ दिवङ्गत हुनुअगिको कुरो थियो यो । कविता लेखेको वा कोरेको देखेपछि झनक्क हुँदै भनेका थिए, ‘यसरी पनि लेखिन्छ कविता ? कविता भनेको त खोलाको सङ्लो पानी सलल बगेजस्तो हुनुपर्छ । अनि पो कविता ।’ उसका बाउले उसको कविता पढ्दै नपढी भनेका थिए । अहिले त्यो बाल्यकालमा लेखेको कविता उच्च स्तरको हुन सक्ने उसले मान्यो । बाउले पढ्दै नपढी टुसाएको हुने बिरुवालाई मुनाकालमै निमोठेर फाले भन्ने आव्रmोश मनमा थियो । पछि कविता लेखन टुट्यो र एकदुई पटक प्रेमपत्र लेख्नतिर अभ्यास ग¥यो । पछि त्यो पनि भएन । बिहे गरिदिएपछि उसलाई लाग्यो बिहे र प्रेमको अटुट सम्बन्ध छ त अलग्गै प्रेम गरिरहनुको के खाँचो ? अलि दिन घरगृहस्थीमै व्यस्त रह्यो । दुई छोरा जन्मेपछि उसले सोच्यो अब कर्मक्षेत्रमा लागौँ । राजनीति छँदै थियो । नेताहरूले उसको शोषण गरेका थिए । उसको घरमा डेरा हाल्थे बस्थे, खान्थेपिउँथे, प्रचारमा जान्थे, पैसा पनि माग्थे । हजुरबा नेताहरूका चिप्ला कुरा चिप्लन्थे । हजुरबाले मक्ख पर्दै भन्थे, ‘बाह्र वर्षमा खोलो पनि फर्कन्छ । तँलाई कसो सांसद नभए वडाध्यक्ष नबनाउलान् !’ लास्टमा केही भएन आफ्नै पत्नीलाई सासुलाई सालीलाई सांसदै बनाए तिनले । आफ्नै घरको नुन कडा र बैगुनी रहेछ भन्ले सोच्यो गोविन्दले र मन मारेर स्वगत भन्यो— ‘यसमा के गर्न सकिहालिन्छ र ?’
नयाँ अफिस खोलियो भनेपछि त्यसलाई एउटा नाम दिनु जरुरी थियो । मानिसहरू सोध्न सक्थे, ‘कुन अफिस ?’ त्यसबाट बच्न अफिसलाई नाम दिनु थियो । नामको खोजी भइरहेको थियो । नाम के राखूँ के राखूँ भइरहेको सकसक र सकसमा छ महिना बिते । यसबीच उसले केही गर्यो भने त्यो थियो कथा लेखनको अभ्यास । उसले सुनेको थियो कथा लेख्न सहज छ, सजिलो छ । उसलाई लाग्यो कथा लेख्न सकिन्छ । कथा फेब्रिकेट गरिने विधा हो । छ महिनासम्म उसले कथाहरू पढ्यो, विश्वप्रसिद्ध कथाकारका कथाका अनुवाद पढ्यो, सुप्रसिद्ध नेपाली कथाकारका कथा र त्यस अवधिमा आपूmले पनि केही लेख्यो । छाप्नतिर पनि लाग्यो । तर उसलाई चित्त बुझेन केमा भने उसका कथा कमै छापिए । अस्वीकृत बढी भए । भनूँ न सय कथा लेख्यो तर बीस वटा पनि छापिएनन् । यसबीच उसले आफूलाई स्थापित र सिद्धहस्त कथाकार मानिसकेको थियो । आफ्नो कथालेखनको प्रतिभाको विस्फोट भइसकेको ठान्यो । तर जस्तो देश उस्तो भेष, आफूमाथि सम्पादकहरूले पक्षपात गरेको भन्ठान्यो । त्यस्ता राम्रा कथा पठाउँदा पनि उपेक्षा सहनु परेको तितो अनुभव ग¥यो उसले । पत्रिकापिच्छे एउटा गुटबन्दी छ भन्ने उसले ठम्यायो । आफ्ना कथा आपैmँ पढेर ऊ मक्ख पथ्र्यो । यस्तो झन्डै भनेन, ‘यी मैले लेखेका कथा विश्वप्रसिद्ध कथाकार र सुप्रसिद्ध नेपाली कथाकारका कथाभन्दा कम छैनन् ।’
गोविन्द अर्कै भइसकेको थियो । कथाकारको हैसियतले उसले दारी पनि पाल्न थालेको थियो । दारी पे्रmन्चकट । उसलाई लाग्यो, फ्रेन्चकट दारीले उसको व्यक्तित्वलाई झन् उजिल्याएको छ । कथाकार कससे हुनुपर्छ भन्ने उसले प्रस्ट तस्बिर मनमा कोर्न सकेको थिएन । जरुरी पनि ठानेन । तर कथाकारको एउटा आकारले ठाउँ लिँदै आएको थियो । तर कथाहरू उसका बिस्तारै छापिन छाडे र उसको कथाकारको आकृति पनि धूमिल हुँदै आयो । समस्यामा थियो ऊ । घर पनि नियमित जान छाडेको थियो । अफिसमै सुत्ने ग¥यो । अफिसमै भित्री भागमा एउटा बेडरुम तयार पार्यो । धेरै राति सोच्यो । कथाकारको आकारको खोजीमा यति धेरै दिन काटे पनि स्पष्ट केही हुन सकेन भने कथाहरू पनि छापिन छाडे । उसका कथा कथाकै श्रेणमिा नपर्ने भएका हुन् त ?
एक दिन बिहान उसलाई यो लाग्यो ज्ञामनोदय भयो भनौँ, अफिसको नाम ‘कथा’ राख्नु ठीक छ । कथा जसले उसलाई खासै साथ दिएको छैन त्यसैले अफिसको नाम ‘कविता’ राख्दा हुन्थ्यो । तर उसले सोच्यो, केही सानो नाम भए पनि कथामै कमाइएको छ । अफिसको नाम कथै राखौँ । ।अर्को काम उसको दिमागमा फुरेको यो थियो, स्थानीय पत्रिकामा विज्ञापन दिने । विज्ञापन यो दियो— ‘कथा बिक्रीमा’ । पत्रिकाहरूले दैनिक तीन सयका दरले त्यो सात दिनसम्म विज्ञापन छाप्न स्वीकार गरे । आठौँ दिनको फोसाको छपाइ हुने थियो । छापे पनि । तर कथा किन्न कोही आएन । ‘कथा बिक्रीमा’ भनेकै के हो सानो सहरमा कसैले खासै बुझेन । उसले मान्यो, मोफसलमा यही त सङ्कट छ । साहित्यमा नाम कमाउन राजधानीमै जानुपर्छ । यो सहरमा साहित्यको समस्याप्रति कोही गम्भीर हुन चाहँदैन । छोरा वा छोरीको पासपोर्ट छिटो बनाउने, त्यसमा चाँडै भिसा लगाउने, जाने कुन विदेशको ठाउँ, कति लाग्छ र कसरी ? सरकारको नीति के छ ? विदेश गएर छोरा वा छोरीले कसरी डलर कमाउने आदि । विदेश पठाइने विद्यार्थीका अभिभावकको अरूअरू चिन्ता पनि हुँदा हुन् तर त्यसबारे उसले फेहरिस्त तयार गर्न सकेन । त्यहाँ पनि धेरै कथा लुकेका छन् भन्ने उसले मान्यो । लेख्ने सुसार गर्ने आँट गर्न सकेन । कहथै स्वीकृत भइरहेका थिएनन् ।
गोविन्दले अफिसको नामकरण गर्यो— ‘कथा’ । कथा नाम राखेपछि मन हलुका भयो । तर उसले जुन विज्ञापन दियो ‘कथा बिव्रmीमा’ भन्ने त्यसले फसाद खडा ग¥यो । त्यसबीच एक दिन घरधनी उसलाई भेट्न आए । घरधनीले भने, ‘म तपाईंलाई खाना खान बोलाउन सक्छु ।’ गोविन्दको मनमा कस्तो खाना खाँदा रहेछन् भन्ने जिज्ञासाि पैदा भएको थियो । तर धेरै दिनपछिसम्म बोलाएको होइन । त्यसबीच यस्तो एउटा घटना भयो जसका कारण घरधनीले उसलाई खाना खान बोलाउनै लागेको भए पनि निम्तो स्थगित गरिदिए । अफिसको नामकरण गरेकोमा खुसी र मन हलुका भएको बेला घरधनी उसलाई भेट्न आए । बिहान आठ बजेतिर ऊ अफिसभित्र पसेर सरसफाइमा जुटेको थियो । अफिसको नाम साहित्यक भएको उसले दैनिक अनुभव गथ्र्यो र त्यसले गर्दा ऊ हलुका पनि हुन्थ्यो र ठूलै काममा सफलता पाएको अनुभव पनि गरिरहेको हुन्थ्यो । घरधनी अफिसभित्र पसे । उनले न ढोका ढकढकाए न खाकखुक गरेर आपूm आएको सूचना दिए तर उनी एकाएक गोविन्द बस्ने घुम्ने मेचमाथि गएर थचक्क बसे । घरधनी हेर्दा वृद्ध थिए । सेतो स्वच्छ कुर्तापाइजामामा उनी मिलनसार देखिन्थे तर उनका जुङा थिए । सेतै फुलेका र मसार्दामसार्दा पातलिएका । बुढेसकालमा बाक्ला जुङा रहन सक्ने पनि भएन । त्यस्तो जुङा भएको कुनै दलको एक जना वृद्ध नेता गोविन्दले बरोबर टिभीमा देख्ने गरेको थियो । सेतै फुलेका जुङाका कारण झ्mल्याँस्स त्यही नेताको एकाघरका भाइ हुन् कि यिनी भन्ने उसले सोच्यो । तर बोलीले यिनी अलि मसिना भएको बुझियो ।
‘त तपाईंले अफिसको नाम कथा राख्नुभो ।’ बिनाभूमिका बूढाले भने । गोविन्दले अनुमान गरिसकेको थियो, यिनै हुन् यस घरका मालिक । उसले नमस्कार गरेपछि भन्यो, ‘हो । अरू नाम राख्नुभन्दा यही नाम रुचाएँ, राखेँ ।’ बूढाले एकछिन गम्भीर मुद्रा बनाए र सोधे, ‘अरूले साहित्यिक पत्रिकाको नाम राख्छन् कथा भनेर तपाईंले त अफिसको नाम पो राख्नुभो । सुहायो त ?’ यसमा जबाफ दिनु थिएन गोविन्दलाई । सुहाउने कुरो त भएन तर एउटा रहरको कुरो थियो, कथालाई अधीनमा राख्न । जबाफमा उसले केही भनेन । तर त्यसो भनेर बूढा रोकिएनन्, भने, ‘कस्तो खालको कथाको हो यो अफिस ? नीतिकथा, लोककथा कि आधुनिक कथा वा उत्तरआधुनिक कथा ?’ बूढा उत्तरआधुनिकसम्म पुगिसकेका रहेछन् । उत्तरआधुनिकभन्दा अगाडि जालान् जस्तो देखेन गोविन्दले । उसले यति मात्र भन्यो, ‘कथा त कथै हो ।’ उसले चिया मगाएर खुवाउन चाहेको अनुरोध ग¥यो बूढालाई । चिया बूढाले खान्छु भने तर बिनाचिनीको कालो । यो पनि एउटा फसाद थियो । उसको जबाफ सुनेर बूढाले भने, ‘ठीकै भन्नुभो, कथा त कथै हो ।’ बूढा इन्डियन आर्मीका रिटायर्ड रहेछन् । आफूलाई कर्नेल बताए । छाँटकाँटले कर्नेल कस्तो हुन्छ, अररिएको वा साइकोसाइको, दरो वा नरम गोविन्दले भेउ पाएको थिएन । कर्नेल भनेपछि कर्नेल । उसको असिफसको नाम कथा भएझैँ कथा भनेपछि कथै सही ।
त्यस दिन धेरै कुरा भए । बूढा एक्ला रहेछन् । एक्लो हुनु मानिसको नियति हो भने । बाँकी उसले सम्झेन । बूढा गएपछि ऊ फेरि लेख्न बस्यो । फेरि भन्नाले हिजो लेखेकोलाई सकाउन । बिव्रmीमा कथा भनेपछि अर्डर आइहाल्न सक्छ भन्ने आस पनि थियो मनमा । अहिलेसम्म कथा किन्नलाई कसैले अनलाइन माग गरेको थिएन । माग आएमा मेल गरिदिन सक्थ्यो । नेट लिएकै थियो । सहरमा कथाबारे कौतूहलता थियो, ‘यो कस्तो विज्ञापन हो, कथा बिक्रीमा छ’ भन्ने । पुराना नयाँ बाइक, कार, जग्गा वा घरहरू बिक्रीमा छन् भन्ने विज्ञापन त खुबै पढ्न पाइन्छ तर यो कथा भन्ने वस्तु के हो र यो बिव्रmी पनि हुँदो रहेछ ? आजसम्म कोही अफिस खोज्दै आएको छैन कथा किन्न । न स्थानीय पत्रपत्रिकाले न राजधानीका साहित्यिक वा गैरसाहित्यिक पत्रपत्रिकाले कथाको अर्डर गरेका छन् । ऊ निन्याउरिएको थियो । तर दिउँसतिर एक जना गाउँतिरको मानिस आयो । झोला भिरेको । खुट्टा धुलोले ढाकेको, खुट्टाका नङ बढेका, कुर्कुच्चा धाँजा परेका र दुब्लो र घामले डढेकाले जीउ अनुहार कालिएको । चाउरिएको पनि थियो उमेर नसुहाउँदो गरी । गरिबीका कारण उत्पन्न अभाव र पीडाजन्यताका अरू विवरण पनि थिए व्यक्तिमा ।
उसले भन्यो, ‘कथा यहाँ छ भनेकोले आएको । कथा मेरो पनि छ । त्यसको लागि मेरो कथा कसले सुन्ने ? म पनि कता बेचेर केही गुजारा गरूँ कि भनेको ।’ गोविन्दले उसका कुरा सुनेपछि उसलाई ढोकैबाट फर्काउन सकेन, भित्र लगेर एक कप चिया र एउटा बनरोटी मगाएर खुवायो । पछि पकेटमा एउटा सय र एउटा पचासको नोट राखिदिएर भन्यो, ‘यो तपाईंको कथाको मोल होइन । मुलुकले पनि तपाई.को कथाको मोल तिर्न सक्तैन, त्यसैले तिरेको पनि छैन, तिर्न पनि खोजिरहेको छैन । खे, के भनौँ, एउटा सहयोग भन्न पनि सकिन्छ नभए सहर गएर भोकभोकै गाउँ फर्कें, फेरि सहर जान्नँ, कथा पनि बिकेन भन्नुहोला भनेर यति टक्य्राएँ । खाना खाएर गाउँ फर्कने भाडासमेत पुग्छ होला त्यति रकमले ।’ चित्त बुझेनछ र अर्को एउटा पचासको नोट थपिदियो फाटेको मैलो कमेजको गोजीमा । खुट्टा धोइदिएर नङ काटिदिऊँ कि भन्न खोजेको थियो, अति हुन्छ जस्तो मान्यो । किसान रहेछ ऊ । सहरबाट केही किन्न बिहानै गाउँबाट पैदलै निस्केको रहेछ । किन्नु के थियो र पसिना पुछ्न र राति मुख ढाकेर सुत्न एउटा गम्छा किन्नु थियो उसलाई । खल्तीमा एउटा पुरानो दसको नोट थियो । त्यतिले गम्छा आउँछ वा आउँदैन थाहा थिएन उसलाई । तर पसलवालाको अगाडि हात जोडेर अनुनयविनय गरेपछि कसो दस रुपियाँमा गम्छा नदेला भन्ने दरो आस थियो उसको । सहरको स्वभाव कस्तो छ भन्ने उसले ठम्याएको रहेनछ । ठम्याए पनि आफ्नो अनुनयविनयमा ढुङ्गा पनि पगाल्ने करुणोत्पादक शक्ति छ भन्ठानेको थियो । डेढदुई सय पाएपछि उसले गद्गद हुँदै भन्यो, ‘आम्मै ! धन्य हो हजुर । म त पैदलै गाउँ फर्कने मानिस हुँ । सडकछेउछेउ हिँडेपछि साँझपख गाउँ छिर्ने बाटोतिर पुगिन्छ । त्यसपछि त गाउँ पुगिहालियो नि । बसको भाडा कहिले पो भयो र मसँग !’
त्यसको केही दिनपछि माथिबाट घरधनी फेरि आए । बिहानको टाइम थियो । ऊ अफिसमै सुतेको थियो । उठेर तयार भएपछि चियानास्ताका लागि जान लागेको थियो । बुढाले भने, ‘तपाईले अफिसको यो कथा नाम राखेर अप्ठेरामा पार्नुभो ।’ बूढाले बिनाभूमिका गुनासो गरेका थिए । गोविन्दले आश्चर्य मान्यो तर तटस्थ भावले सोध्यो, ‘कसरी ?’ बूढाले उसलाई नहेरी भने, ‘अब कसरी भनूँ ? तपाईं जस्तो सज्जन मान्छे भाडामा पाउनै गारो हुन्छ अचेल । तर कुरा यो भयो, सज्जन भएर नहुने रहेछ, मेरो घर बिव्रmीमा छ भनेर तीनचार ग्राहक किन्न आए । भाउताउ गर्न पो खोज्छन् ए । मैले हुन्नहुन्न, बेच्नलाई घर बनाएको हैन भन्छु, मान्ने भए पो ।’ बूढा र ऊ बरन्डामा राखेका बेँतका मेचमाथि बसे र कुराकानी अगाडि बढाए । कुरो के रहेछ भने, बूढाले भने, ‘घर किन्न आएकाहरूले भने कथा बिव्रmीमा भनेर दिएको विज्ञापन के हो त ?’ उनीहरूको कुरा मैले बुभेmँ । त्यो त मैले दिएको विज्ञापन हैन, तल भाडामा बसेका कथा भन्ने अफिसका बाबुले दिएका हुन् । उनले अफिस बेच्न चाहेको भए मलाई थाहा छैन तर घरधनी म, मसँग सरसल्लाह नगरी मेरै घरमा राखेको अफिस कसरी बेच्दा रहेछन् भनेर मैले प्रश्न गरेँ । उनीहरू मसुरीबाट आएका रहेछन् । इन्डियन आर्मीको मेजर पदबाट छोरो पेन्सनमा आउँदै छ रे । यतैका रहेछन् । खानपान मिल्ने, भाषा पनि मिल्ने आफ्नै क्षेत्रमा बस्न पाए हुन्थ्यो भन्ने आमाबाबुको इच्छाको कदर गरेर छोरोले हुन्छ, घर हेर्नोस् किनौँला नि भनेको रहेछ । अचेल त्यस्ता आज्ञाकारी र मातापिताको सेवा गर्ने छोरा कहाँ पाइन्छ । त, बाबु अब यो बताउनोस्, तपाईंले यो अफिसको नाम कथा नराखेर अर्को फेर्न सक्नुहुन्छ कि हुन्न ? कथा बिव्रmीमा भनेर दिएको विज्ञापनले कथा छाप्न चाहिएमा यहाँ किन्न पाइन्छ भनेको होला । तर कथा भनेपछि हो न हो मेरै सिङ्गै घर हो र त्यो नै बिक्रीमा रहेछ भनेर ग्राहक आएका आयै छन् । के गर्ने हाे, लौ तपाईं नै समाधान बताउनोस् ।’ बूढाले यति भनेर धेरै दिनपछि पेटभरि कुरा गर्न पाएको जनिने गरी एउटा लामै डकार छाडे, जुङा मसारे ।
त्यसको दसबार दिनपछि उसले अफिस सा¥यो । ब्रासको प्लेटमा सधैँ टल्काइरहने सुन्दर अक्षरको ‘कथा’ नाम पनि गायब भयो । यो ब्रासको प्लेट उसले घरको एक कुनामा जहाँ पुराना हला–फाली–हँसिया राख्ने गरिएको टाँड पनि थियो त्यतै कता हो राखिछाड्यो । घरमै सबै फर्निचर ल्याएर घरको एउटा कोठालाई आरामदायी साजसज्जा सहितको शीतलवास बनायो । मधेसको ठाउँ गर्मीयामका लागि अत्यन्त उपयुक्त भइदियो त्यो कोठा । गोविन्दले अन्तिम परिणतिमा यस्तो होला भन्ने कत्ति पनि सोचेको थिएन । कथा नबिके पनि कथाको डिमान्ड आउला भन्ठानेको थियो । कथा लेख्नेहरू धेरै जन्मे । जसले लेखे पनि कथै लेखिन्छ भन्ने मान्यताले गर्दा कथाको रूप शैली र शिल्पमा विविधता त आयो तर स्तरीयताप्रति गोविन्द चिन्तित रह्यो । चिन्तित भए पनि ऊ आफैँले लेखेका कथा पो कति नै स्तरीय थिए भन्ने प्रश्नको साक्षात्कार गर्न ऊ डराउँथ्यो । अरू त अरू उसको हातबाट एउटा काम पनि सफलतापूर्वक सम्पन्न हुन सक्छ भन्ने विश्वास उसलाई थिएन । छोराहरू डाक्टर र इन्जियर भएपछि उनीहरूका पछि लागेर नातिनातिना खेलाएर सुखपूर्वक दिन काट्ने कल्पनातिर लाग्यो । हजुरबा अलि कुप्री पर्न थाल्नुभएको थियो । लौरोको सहारा चाहिन्थ्यो तर गनगन गर्ने बानीइ थिएन । खोकीले कहिलेकाहीँ च्याप्थ्यो । खाएपछि निकै समय लगाएर डकार्न चाहनुहुन्थ्यो । दिउँस एक निद्रा मनग्गे सुत्न नपाए जीउ दुख्ने गुनासो गर्नुहुन्थ्यो ।
गोविन्दले अरू त अरू घरको आँगनमा वा कहिलेकाहीँ गमलामा सयपत्री वा अरू जातका पूmल मखमली भनौँ न लगाउन कुटो लिएर र छेउमा प्लास्टिकको जगभरि पानी लिएर बसेको समय फूलका बिरुवा पनि उसले हातमा लिएपछि ओइलाएजस्ता देखिन थाल्थे । त्यसैले ऊ मनमनै खिन्न हुन्थ्यो, अन्ततः फूलका बिरुवाहरू लत्रेको देखेर रोप्न छाड्थ्यो । ऊ उठ्थ्यो र शीतलवासभित्र पसेर सोफामा लम्पसार पथ्र्यो । बाहिर आँगनमा गमला वा भुइँमा फूलका बिरुवा रोप्न पारिएको डोब त्यसै आँ परेर बसेका हुन्थे । छेउमा बिरुवा लत्रक्क परेर पल्टेका हुन्थे र कुटो एकातिर फालिएको हुन्थ्यो । भित्र गोविन्द घुर्दै गहिरो निद्रामा डुबेको हुन्थ्यो ।