19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बर्गेनको बिहानी

कविता कृष्ण उपाध्याय May 3, 2024, 8:05 am
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

बर्गेनका रङ्गीबिरङ्गी बृगेन
बिहानै स्निग्घताका रङ्ग वर्षाइ रहँदा,
उत्तरी सागरको स्निग्ध हावाले
मेरो कठोर कन्चटमा
सौम्यताको आभा छर्छ ।

अनि त म
म हुनुको आभासमा
उत्तरी सागरबाट उत्तरी सगर ताक्छु,
त्यहाँ देख्छु स्निग्ध हिमशृंखला
मेरै हिमालको जस्तै,
मेरो हिमालको अवतार ।

अवतारलाई मूल देख्ने मेरो अन्तर्दृष्टि
त्यसैलाई गौरीशंकर भन्दै टोलाइ रहन्छ ।
सागर र सगरबिच जमिन न हुन्छ
सगर छुने चुचुरा मुनि पहाड न हुन्छ
चुचुरो मुनिको त्यही बर्गेनी पहाडमा
पहाड जस्तै उभिएर नौ सय वर्षदेखि
सेन्ट मेरिजको घन्टा
अविरल नाद सुनाइ रहन्छः
“म अल्फा र ओमेगा हुँ” ।

हिमालको मेरो मुक्तिनाथको घण्टाको
“म आदि र अन्त हुँ” को नाद जस्तै
कुरुक्षेत्रका चौरको त्यो नाद जस्तै ।
बर्गेनी नाद त्यै कागवेनी नाद सम्झाउँछ
कागवेनी नाद बर्गेनी नादमा आउँछ ।
बर्गेनका बग्रेल्ती साना टापुका
ससाना सेता चराहरु उँड्दै
म माथि मौरी जस्तै घुम्दै
अनि त भन्छन्,
घन्टाहरु एउटै बोली बोल्छन्
एउटै न सुन्ने कानहरु न दोषी छन् ।
चरा न हुन्
फराकिलो आकाशमा
फराकिलो छ उनको दिगन्त,
स्निग्ध आकाशका लामा यात्रामा
हुलका हुल सहयात्रामा हुँदा
उनिहरु उस्तै देख्छन्
सबै सबै आकाशमुनिका घन्टाहरु,
उस्तै उस्तै सुन्छन्
अनि त गाउँछन उस्तै उस्तै
एउटै गीत !
मान्छे पनि तिनै चरा जस्तै हुनु नि !

बर्गेन, नर्वे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।