पूर्णिमाको सुन्दर एवं मनोरम साँझ थियो । सायद हावाको झोकासँगै धर्तीमा पनि पुष्पवृष्टि भइरहेको हुनुपर्छ अन्यथा त्यति मिठो सुगन्ध नचल्नु पर्ने । म मनिला स्थित मेट्रोपोलिटन एपार्टलको बार्दलीमा बसेर बाहिरको दृश्यावलोकन गरिरहेको थिएँ । मन्द मन्द हावाले बेला बेलामा जिस्क्याइरहेको कारण म निकै भावविभोर भएर बाहिर नियालिरहेको थिएँ ।
कहिलेकाहीं म सडकमा हेर्थेँ । कहिले आकाश छुने प्रयास गरिरहेका विशाल गगनचुम्बी महलहरूलाई हेरिरहेको हुन्थेँ । तत्काल मेरो नजर झिमिक झिमिक गर्दै झ्याप्प निभ्दै र बल्दै गरेका नाइट क्लबका साइनबोर्डमा पर्थे । यही क्रममा निकै पर रहेको एउटा सानो तर रमणीय र सुन्दर पार्क पनि देखिरहेको थिएँ, जहाँ रङ्गिन बत्तीहरू बलिरहेका थिए । मेरो आँखालाई तिनै रङ्गिन बत्तीहरूको क्षणिक उज्यालोले तानिरहे झैं लाग्थ्यो । म बत्तीका पोलहरू गिन्ती गर्ने प्रयास गरिरहेको थिएँ । निकै बेरदेखि मेरो ध्यान त्यही पार्कमा अडिएको थियो । तर खम्बामा बलिरहेको बिजुलीको चमकका कारण म लगातार त्यतैतिर हेर्न सकिरहेको थिइन । मानौं ती खम्बाहरू हातमा बन्दुक बोकेर कसैको सुरक्षाको लागि पङ्क्तिबद्ध भएर उभिएका सैनिकहरू हुन् । लाग्थ्यो ती बत्तीहरूले मेरो विरुद्ध युद्धको घोषणा गरेका छन् । त्यसैले मैले गिन्ती गर्ने प्रयास स्थगित गरेर भय मिश्रित आँखालाई तत्काल अन्यत्र मोडि दिएको थिएँ ।
केहीबेर पछि म मेरो कोठा सामुन्ने रहेको अर्को कोठामा जसरी पनि जानुछ । कारणबस म त्यहाँ नपुग्ने हो भने एउटा विश्वासको विरुवा निमोठिन सक्थ्यो । किनकि उनीहरूलाई मैले जसरी पनि उपस्थित हुने पूर्ण आश्वासन दिएको थिएँ ।
जहाँ एउटा अत्यन्त सुन्दर र आकर्षक जोडी बस्ने गरेका थिए । तिनीहरूलाई देखेपछि मेरो मन निकै तरङ्गित भएको थियो । नरेन्द्र कुमार र ताराको यो जोडी देखेपछि मेरो शान्ति भङ्ग हुन बेर लागेको थिएन । यिनीहरूसँग थप वार्ता गर्न म निकै आतुर बनेको थिएँ । बिहान मात्र थाहा पाएको थिएँ । उनीहरू नेपाली रहेछन् तर पनि मेरो पुरानो चिनजानका मान्छे भने होइनन्, न ती मेरा आफन्त नै थिए ! उनीहरूसँग त्यसदिन बिहान सँगै खाना खाने क्रममा सोही होटलको भोजनालय कक्षमा चिनजान भएको थियो । म अध्ययन भ्रमणका लागि मनिला गएको थिएँ भने उनीहरू केवल भ्रमण गर्ने उद्देश्यले मनिला गएका थिए । काठमाडौंको कुनै भोजनालय वा रेष्टुरेन्टमा यसरी भेट भएको भए हाम्रो चिनजान त के कुरा बोलचाल र हेराहेर पनि हुँदैन थियो । अपरिचित मान्छेहरूसँग आफ्नै माटोमा पलेटी कसेको बेला खासै सोधिखोजी हुँदैन । त्यसबेला ती अपरिचित व्यक्तिहरूको सुगन्ध माटोको जस्तो बास्नादार र महत्वपूर्ण पनि हुँदैन । जब हामी देश छोड्छौं , नौलो स्थानमा त्यहाँको माटो भन्दा अपरिचित नै भएपनि स्वदेशी व्यक्तिको बास्ना धेरै चलेको हुन्छ । त्यहाँको माटो भन्दा बरु छिमेकी भूमि र मान्छेको बास्ना आउँछ । मैले धेरैपटक अनुभव गरेको छु , अरुलाई कस्तो लाग्छ मलाई थाहा छैन तर मैले भने हरेक पटक सँगालेको अनुभूति यही हो ।
त्यसै कारण अहिले म तिनको सबैभन्दा नजिकको आफन्त बनेको छु । म मात्र उनीहरूको नजिकको बनेको होइन , मेरो पनि उनीहरू सबैभन्दा नजिकका आफन्ती बनेकाछन् । यस अर्थमा हरेक सम्बन्धहरू दोहोरो हुन्छन् । भन्ने गरिन्छ, “एकोहोरो त रोटी पनि पाक्दैन ।" हो एकैछिनको हाम्रो भेटघाट अत्यन्त निकट सम्बन्धमा परिणत भएको थियो ।
त्यसदिन उनीहरूले विवाहको पहिलो वर्षगाँठ मनाउँदै थिए । मैले त्यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रणा पाएको थिएँ । त्यसैका लागि उनीहरूले सानोतिनो भोजको समेत आयोजना गरेका हुन् । भोजमा हामी तीनजनाको मात्र उपस्थिति थियो । भन्ने नै हो भने त्यसदिन मेरा लागि दोहोरो अवसर प्राप्त भएको भन्नुपर्छ । एकातिर मैले त्यसदिन होौलमा खाना खाएको पैसा पनि तिर्नुपर्दैन थियो भने जीवनमा पहिलोपटक प्रमुख अतिथिको भूमिका निर्वाह गर्दै थिएँ । निकै अघि देखिको मेरो यो रहर त्यसदिन विदेशी भूमिमा प्राप्त हुँदा म दङ्ग परेको थिएँ । यसैले मेरो मनभित्र अनगिन्ती उत्साह जागेको थियो ।
चलचित्रको दृश्यमा जस्तै म त्यसदिनको घटना सम्झिरहेको छु । म अनेकौं कल्पनामा डुब्दै थिएँ , अचानक झसङ्ग भएँ । मैले कपडा पनि त बदल्नु छ , तिनले बोलाएको समय नजिकिँदै छ । म कोठामा पसेर कपडा फेर्न लागेँ । मलाई सबैभन्दा मनपर्ने सेतो सर्ट, कालो कोट र रातो टाइ लगाएँ । ऐनामा अनुहार हेरें । कताकता के नमिलेको जस्तो लाग्यो । मेरा तिलचामले भइसकेका जुँगा त्यति सुहाए झैं लागेन । लाग्यो, मेरो ओठमाथि एउटा ठूलै झुसिलकिरा तेर्सिएको छ । मैले औंलाको सहायताले जुँगा थिचेर मिलाउने प्रयत्न गरेँ । जुँँगा ओठमा लपक्क मिल्नुको साटो झनै ठाडो भए जस्तो लाग्यो ।
दारी जुँगा काटेर जाउँ भने आफूसँग समय निकै कम छ, तत्काल दारी जुँगा काट्न असम्भव छ । निकै होसियारीपूर्वक जुत्तामा लगाउने गरेको बुट पोलिस निकालेर मैले पुरानो टुथब्रसको सहयोगले आफ्ना तिलचामले जुँगालाई कालो बनाएँ । जुँगा कालो मात्र होइन, बुट पालिसको मद्दतले केही नरम भएर होला जुँगा ओठमा लपक्क टाँसियो । अब भने मेरो अनुहारमा निकै परिवर्तन देखिएको थियो ।
तिनले दिएको निर्धारित समयमा म होटलको १०५ नं कोठामा पुगेँ, जुन मेरो कोठाको ठिक सामुन्ने थियो । म त्यहाँ पुग्नासाथ उनीहरूलाई विवाहको पहिलो वर्षगाँठको शुभकामना दिएँ । मैले दिउँसो रिसाल पार्कमा खरिद गरेको कलात्मक कौडाबाट बनेको हातेब्याग उपहारस्वरूप हस्तान्तरण गरेँ । मनमा सोचे जस्तै टेबुलमा निकै ठूलो मैन बत्ति बलिरहेको थियो । टेबुलमा महङ्गो स्कचको बोतल र तारेको काजु थियो । एकजना अतिथि र एकजोडी दम्पति गरेर केवल तीनजनाको भव्य समारोह सुरु भयो ।
सामान्य औपचारिक वार्ता पछि हामी तीनैजना मिलेर पिउन लाग्यौं । मनिला भ्रमणको विषयमा व्यापक चर्चा गर्यौं । नेपालमा उनीहरूको घर पोखरा रहेछ । गोरखा र पोखरा घर भएका हामी एउटै अञ्चलका भएपछि हामी अझै नजिकियौं । जब पिउँदै गयौं हामी पहिलो दिन चिनजान गरेजस्तो थिएनौं । त्यस प्रकारको आभास केही गरेपनि पाउन सकिदैन थियो । एक आपसमा हामी बीच निकै अन्तरङ्गी कुराहरू भए । समग्रमा क्वेजन सिटी स्थित होटल मेट्रोपोलिटन एपार्टलको त्यो बसाइ सधैँको भन्दा आज विशेष प्रकारको रह्यो । म भावनामा यसरी डुब्न पुगेँ कि म मनिलामा होइन पोखराको कुनै रेष्टुरेन्टमा छु । सायद बाहिर निस्कने हो भने पोखराको सडकबाट उत्तर दिशामा अवस्थित माछापुच्छ्रे हिमाल मुस्काइ रहेको देखिने छ र पोखरामा सधैँ जस्तै झमझम पानी परिरहेको हुनेछ ।
मैन बत्तिको मधुरो प्रकाशमा अचानक मेरो नजर धपक्क बलिरहेको झैं लाग्ने ताराको अनुहारमा पुगेर टक्क रोकियो । तारा अत्यन्त हीसि परेकी , निकै सुन्दर र भर्खर फक्रिएको गुलाबको फूल जस्तै थिई । केही बेर अघि जब म बार्दलीमा बसेर मनिला सहरको रसास्वादन गरिरहेको थिएँ , त्यसबेला चलेको सुमधुर सुगन्ध कतै ताराको सौन्दर्यबाट आएको होकि भन्ने अनुमान गर्न बाध्य भएको थिएँ । मैले उसलाई यसरी हेरँ कि मेरा आँखाहरू झिमिक्क गर्न पनि मानिरहेका थिएनन् । ताराको पति नरेन्द्रको उपस्थिति पनि मलाई ख्याल भएन ।
हामीले एकपछि अर्को गर्दै स्कचका तीन वटा बोतल रित्याइ सकेका थियौं । कोठामा सुमधुर आवाजमा फिलिपिन्सको स्थानीय तगालो भाषामा शास्त्रीय सङ्गीत बजिरहेको थियो । जसको आवाज ताराको माधुर्यमा ठोकिएर मेरो ओठसम्म आइपुगेको जस्तो लाग्थ्यो । स्कचका प्रत्येक घुट्कोमा ताराको सौन्दर्य सहितको मिठास रसेन्द्रियले स्वाद लिँदै पिइरहे झै लाग्थ्यो । मैले हिजो अस्ति पिएको स्कच र आजको स्कच एउटै ब्राण्डको भएपनि आज पिएको स्कचको स्वाद हिजो अस्तिको तुलनामा निकै अपूर्व थियो ।
लामो भलाकुसारी पछि हामी अत्यन्त थाकित भएका थियौं । सायद स्कचको नसाले हामीलाई मजैले लठ्याएको थियो । रातको २ बजिसकेको हामीलाई पत्तै भएन । ताराको पति नरेन्द्र कुमार बसिबसी निदाउन थालेको थियो । तारा भने एकसुरमा आफ्नो अतितका बारेमा बयान गरिरहेकी थिइ । मैले आधा कुरा बुझेपनि बाँकी कुरा बुझ्न सकेको थिइन । मलाई समेत निन्द्राले छोपी रहेको थियो । हामी कहाँ ,कसरी र कतिखेर निदायौं थाहा पाइएन ।
म बिउँझदा बिहानको दस बजिसकेको थियो । ताराको लोग्ने नरेन्द्र भुइँमा अझैसम्म निदाइ रहेको थियो । तारा कोठामा थिइन । म भने उनीहरूको बेडमा पल्टिरहेको थिएँ । ऊ कता सुतेकी होली ? मेरो मनमा एउटा जिज्ञासा उब्जिएको थियो । दिउँसो एक बजे जसरी पनि म बागियो सिटी जानु पर्ने छ । निर्धारित समयभित्र नपुग्ने हो भने मैले स्थानीय रुटमा चल्ने बस खोज्नुपर्ने हुन्छ । एकातिर समय र अर्कोतर्फ पैसाको बर्बादी हुन्छ । त्यसैले मेरो तालिम संस्थाको गाडी मैले जसरी पनि छुटाउनु हुँदैन ।
त्यसैले तारालाई कुरिरहने समय मसँग थिएन । नरेन्द्रको तत्काल बिउँझने लक्षण पनि देखिरहेको छैन किनकि ऊ निकै मस्तसँग घुरीरहेको छ । म सरासर आफ्नो कोठामा गएँ । मलाई आश्चर्य लाग्यो, तारा मेरो वेडमा निदाइ रहेकी थिइ । सायद ऊ राती नै यता आएर सुतेकी हुनुपर्छ । मैले उसको अनुहारमा पुन: अघाउन्जेल हेरेँ । उसले बिस्तारै आँखा खोली र भनि “ढोकामा चुकुल लगाउनु हुन्न ? "
मैले असजिलो मान्दै भने “ म कसी चुकुल लगाउनु सक्छु, तिमी के भनिरहेकी छौ तारा ? नरेन्द्र पल्लो कोठामा छ । "
उसले मलाई तान्दै भनि “ ठिकै छ चुकुल नलगाए पनि केही फरक पर्दैन । नरेन्द्र दिउँसो दुई तीन बजे मात्र विउँझिन्छ । किनकि उसले सेवन गर्ने गरेको औषधिले बाह्र घण्टासम्म मान्छे बेहोसीको अवस्थामा पुग्छ । "
मैले आज्ञाकारी बालकले जस्तै बिस्तारै गएर ढोकाको चुक्कुल लगाएँ । नरेन्द्रले किन यस्तो औषधिको सेवन गर्छ ? अनि तारा ! उनीहरू एक वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएका र मन मिल्ने जोडीहरू होइनन् र ? ऊ आफ्नो लोग्नेलाई किन धोका दिइरहेकी छ ?
मेरो मष्तिष्कमा यही प्रश्न बारम्बार आइरहेको थियो । यसबारे न म तारासँग नै प्रश्न गर्न सक्थेँ ! न नरेन्द्र सँग । मनिलाबाट फर्किएको पनि निकै लामो समय बितिसकेको छ तर मैले कहिले पनि त्यस प्रश्नको उत्तर पाउन सकिन, सायद अब कहिले पनि पाउने छैन ।
चितवन ।