विषय कथन
भारतेली नेपाली साहित्य-समाज र शिक्षा जगतमा कितापसिंह राई बहुआयामी व्यक्तित्वका रूपमा सदा परिचित छन्। शिक्षण कार्यका अतिरिक्त विविध प्रकारका सामाजिक-सांस्कृतिक गतिविधिमा सदैव अग्रसरता दिँदै साहित्य लेखन र चिन्तनमा उनले आजीवन योगदान पुर्याए। नेपाली साहित्यमा विशेष गरी कथाकार, कवि, निबन्धकार-समीक्षक, एकाङ्कीकार र पाठ्यपुस्तक लेखक-सम्पादकको रूपमा उनको प्रसिद्धि रहेको देखिन्छ। राईका आजसम्म प्राप्त एउटै मात्र कथासङ्ग्रह पहेंलो गुलाबको फूल (सन् १९८५) हो, यसअन्तर्गत भाइटिकाको दिन, तीनवटा अटोग्राफ, पहेंलो गुलाबको फूल, क्षितिजतिर, बन्द कोठा, व्यक्त अव्यक्त, कसरी भनूँ म दुःखित छु, मलायाको चिट्ठी, मध्यरात अनि ड्रपसिन, एक्ली माइथेबा मात्र दुःख बोक्न बाँचेकी छे, मोहब्बत गल्ली शीर्षक जम्मा एघारवटा कथाहरू सङ्गृहीत छन्।
राईका कथाहरूले समाजको यथार्थ र मार्मिक चित्रण गर्दै प्रयोग वैविध्य र समाजमनोविश्लेषणतिर पनि विशेष चासो देखाएको देखिन्छ। मनोविश्लेषणमूलक कथामा मोहब्बत गल्ली-लाई दृष्टान्तका रूपमा अघि सार्न सकिन्छ भने प्रयोगमूलक कथाहरूमा पहेंलो गुलाबको फूल, मध्यरात अनि ड्रपसिन शीर्षक कथाहरूलाई लिन सकिन्छ। यसका अतिरिक्त अन्य कथाहरूले सामाजिक-सांस्कृतिक यथार्थ पक्षहरूको यथातथ्य विवृत्ति प्रस्तुत गर्न अभिरूचि राखेको देखिन्छ। प्रस्तुत लेखमा सङ्ग्रहको शीर्षक समेत बोकेको पहेंलो गुलाबको फूल शिरोनामित कथालाई वस्तु, पात्र, भाषिक-शिल्पशैली, समयचेतना र परिवेश-योजनाका आधारबाट अध्ययन- अनुशीलन गरी सङ्क्षेपमा मूल्याङ्कन गर्ने अभीष्ट राखिएको छ।
पहेंलो गुलाबको फूल- कथामा वस्तुविन्यास र चरित्र-योजना-
प्रस्तुत कथा एउटा सफल प्रयोगपरक कथा हो। कथ्यवस्तुलाई प्रत्यक्ष र परोक्ष अर्थात् मूर्त र अमूर्त दुई मुख्य स्तर गरी कलात्मक ढङ्गमा अघि बढ़ाइएको छ। पहिलो तहमा अतिव सुन्दरी एलिजावेथ ब्यारेटले अङ्ग्रेजी महाकवि रोर्बट ब्राउनिङलाई लेखेको प्रेमपूर्ण, समर्पणयुक्त पत्रलाई राख्न सकिन्छ। जुन पत्रको चारवटा साना-ठूला परिच्छेदहरू स्पष्ट देखिने र बुझिने गरी बोल्ड साइजमा राखिएको छ। दोस्रो तहमा भने एलिजावेथको प्रेमको आह्लादले भरिएको समपर्णयुक्त पत्र पढ़दा-पढ़्दै म पात्रले आफ्ना असफल प्रेम-प्रसङ्गका घूमिल पृष्ठहरूलाई पत्रको परिच्छेदसँगै एकपछि अर्को गर्दै पल्टाइरहेको स्थितिलाई लिन सकिन्छ। म पात्रको पहिलो प्रेमिका पुनम, जसले प्रेमी म पात्रमाथि प्रेम-प्रसङ्गमा शङ्का गरेको प्रकरण अति सङ्क्षेपमा बताएर म र पुनमबीच प्रेम-सम्बन्ध टुङ्गिएको उल्लेख गरिएको छ। पुनमसँग प्रेम-सम्बन्ध चिसिएपछि म पात्रको रमाइलो संसारमा फुन्चोलिङ-भोटाङनिवासी शकुन द्वितीय प्रेमिकाको रूपमा देखापर्छे। तर केही समयपछि शकुनसँग पनि प्रेम-विछोड़ भएको कुरो सङ्क्षेपमा बताइएको छ। शकुनको प्रेरणादायी स्वभावले प्रफुल्लित हुन पुगेको म पात्रको जीवनमा अल्पसमयको निम्ति भए पनि रनु तृतीय प्रेमिकाको रूपमा देखापर्छे। कथाको अन्ततिर म पात्रकी सम्भावित अन्तिम प्रेमिका सुधाले पठाएकी पत्र पाउनसाथै एउटा साङ्केतिक सम्भाव्यतामा कथा टुङ्ग्याइएको छ।
मानिस जुनसुकै परिस्थिति र परिवेशमा जन्मे, हुर्के र बढे पनि, जतिसुकै सरल, सहज र शान्त जीवन जीउन खोजे पनि कता न कताबाट मानिसको जीवनमा जटिलता, सङ्कट र अचाँहिदो भत्कोसहरूले घर बनाइहाल्छ। यसैले पनि मानिसको जीवनले कुनै न कुनै रूपमा, कुनै न कुनै समय र परिस्थितिमा सानो-ठूलो जटिलता भोग्नै पर्दछ, यसैले पनि मानिसको जीवन जटिल र पीडामय छ। मानसिक, वैचारिक पीडा र अन्तरवेदनाबाट फुत्किन मानिसले जतिसुकै उपायहरू रचे पनि उ पीडामय जीवन सङ्घर्षदेखि पूर्णतः भाग्न सक्तैन र परिस्थितिले जन्माएको जीवन भोग्न बाद्य हुनपुग्छ भन्ने कुराको सङ्केतन नै यस कथाको मुख्य अभीष्ट रहेको बुझिन्छ।
यस कथामा एकातिर प्रमुख मञ्चीय म पात्रको वरिपरि स्मृतिपटमा पूर्वप्रेमिकाहरू पुनम, शकुन, रनु र सुधाहरू घुमिरहेको देखिन्छ भने अर्कातिर म पात्रकी सानी बहिनी, सुधाले म पात्रलाई पठाएको चिट्ठी(खाम), एलिजाबेथ व्यारेटको पत्रलगायत लेटर्स फ्रम ग्रेट लभर्स पुस्तक आदिलाई लिन सकिन्छ। यस कथाको केन्द्रीय चरित्र म-को परिवृत्तमा जम्मै साना-ठूला घटना घटित भएको देखाइएको छ। पुनमले म पात्रसितको प्रेम सम्बन्धमा शङ्का गरेकोले तिनीहरू दुईबीचको प्रेम-प्रणय टुटेको छ। म पात्रले पुनम उच्च शिक्षा, फराकिलो सङ्गतको कारण रूढीवादी पुरानो संस्कारबाट बाहिर निस्किसकेको सुसंस्कृत शिक्षित योग्य नारी ठानेको छ तर आफूले सोंचेजस्तो गुण र स्वभाव पुनममा पाउन नसकेर केही निराश र भावशून्य बन्छ।
पहिलो प्रेमिका पुनमसँगको प्रेम चाहना चिसिन र धमिलिन थालेपछि एक प्रतिभाशाली, जीवनको मर्म बुझ्ने कवयित्री शकुनसितको प्रेम सम्बन्धले जरा हाल्नथाल्छ। म पात्र पुसको निराशमय र चिसो रातमा समेत शकुनको प्रेममय मायालु व्यवहारले न्यानो सिरकको काम गरेको बोध गर्छ। शकुनको प्रेमपूर्ण गुणको कदर र रमाइलो सम्झना गर्दै आफैलाई शान्तवना समेत दिँदै भावुक स्वरमा म पात्र यसो भन्छ- ‘पुनमसँगको चाहना धमिलिन थालेपछि शकुन मेरो धेरै नजिक आई। उ आफै पनि कवयित्री, जीवनको दर्द र व्याथागीत गाउने कवि। उसले गाएका त्यी दर्दहरू, त्यी व्याथाहरूले यो पुसे रातमा अझतक हिमालको चिसो सिरेटोले घोचेजस्तो लाग्छ।
कवयित्री, गायिका शकुनले मेरो जीवनमा आएर भिन्नै ज्योति थपिदिएकी थिई। क्याक्टस् रातै भएर फुलेको थियो-जीवनमा। त्यो दिव्यज्योतिले म भावुक कवि बनेको थिएँ, मलाई यथार्थमा कथाकार बनाइदिएको थियो। आज म जे जति छु त्यो सब शकुनकै हो।’ शकुन कवयित्री र गायिका मात्र नभई फूलको राम्रो माली र विशेषज्ञ पनि थिइ। उनको फुन्चोलिङ-भोटाङ घरमा धेरै जातका क्याक्टसहरू रोपेर सुन्दर-सुन्दर रङ्गी-विरङ्गी फूलहरू फुलाएकी थिइ। रातै फूलेको क्याक्टसको गमलालाई सङ्केत गर्दै आफ्नो जीवनलाई क्याक्टससित तुलना गरेर म पात्रसित यसो भन्न पुग्छे- ‘दाइ मलाई क्याक्टस बहुतै मन पर्छ।...मेरो जीवन पनि क्याक्टस जस्तो थियो दाइ। उ... पर... गमलामा हेर्नोस् ता, त्यो कसरी रातै भएर फुलेको छ- अनि यता हेर्नोस्, मेरो... पनि... हिजाज...।’
समय र परिस्थितिले गर्दा म पात्रसित शकुनको प्रेम-सम्बन्ध पनि बिस्तारै धमिलिँदै जान्छ। त्यसपछि खोक्रो र भावनाहीन भावनामा मात्र बाँचेको म पात्रको प्रेम सम्बन्ध रनुसित गाँसिएको देखाइएको छ। रनु म पात्रलाई अत्याधिक माया र प्रेम गर्थी, प्रत्येक पल म पात्रको सपना विपनामा समेत देखा पर्थी। म पात्रलाई रनु सपनामा पनि विपनामा जस्तै सुन्दर र भावमय लाग्थ्यो, रनुको सपना देख्दा एक प्रकारको सुखद, सार्थक र रोमाञ्चकारी आनन्द जन्मन्थ्यो। फूलको डिक्सनरीमा पहेंलो गुलाबको फूलको अर्थ अविश्वास हो भन्ने बताइएको भए पनि प्रेमिका रनुले म पात्रको कोटको बटन होलमा हेरिरहूँ जस्तै लाग्ने प्लास्टिकको पहेंलो गुलाबको फूल सिउरिदिएकी थिइ, उसको तात्पर्य अविश्वास गर्नु भन्ने पटक्कै थिएन। उ त म पात्रलाई अगाध प्रेम गर्थी, बरू रनुको यस किसिमको पागल सरह अगाध प्रेमभाव देखेर, यस्तो तीव्र प्रेमको पनि कहिँ कतै अन्त होला भन्ने कुरोमा शङ्का जाग्थ्यो तर जे नहुनुथ्यो अन्तमा त्यो भइछाड्यो। म पात्रलाई अगाध प्रेम गर्ने रनुले टिक-ट्वेन्टी खाएर आत्महत्या गरी। साँच्चै एक दिन त्यो पहेंलो प्लास्टिकको गुलाबको फूल पनि म पात्रको जीवनदेखि सधैँको निम्ति मुर्झाएर गइ। तिहारको मेलामा प्लास्टिकको गुलाबको फूल सिउरिदिँदै म पात्रलाई यसो भनेकी थिइ- ‘यो पहेंलो गुलाबको फूल मलाई औधी मनपर्छ। यसै र आई सबमिट यू वान अफ माई बेस्ट लाइक्स्, बधाई। हेर्नोस् ता कत्ति खुलेको।...’ म पात्रको जीवनमा एउटा धमिलो स्मृति, एउटा कटु अभिव्यञ्जना दिइराखेर सधैँलाई ओइलाएकोले असीम पीड़ा सहेर भग्न हृदयले रनुको न्यानो सम्झना गर्दै यसो भन्छ- ‘उसको त्यो तीव्र प्रेमको, पहेंलो प्लास्टिकको गुलाबको फूलको मेरो शून्य जीवनमा स्मृति मात्र शेष छ।’
म पात्रको सम्भाव्य अन्तिम प्रेमिकाको रूपमा सुधा देखा पर्छे। सुधा पनि पुनम जस्तै उच्च शिक्षित नारी थिइ। कलकत्ताको भवानीपुरमा उसको मामाकहाँ बसेर ल कलेजको इन्टरमिडिएटमा अध्ययनरत् रहेको बेला चौरङ्गीमा नाटकीय ढ़ङ्गमा भेट भएपछि दुवैमा अन्यासै घनिष्ठता बढ़छ र दुवै प्रेमको रमाइलो आकाशमा विचरण गर्न पुग्छन्। प्रेमिका सुधाले पनि शकुन, रनुले जस्तै जीवन बाँच्ने कला सिकाएर गइ तथापि सुधाको प्रेममा उसले जीवन बाँच्ने प्राणवायु, स्पन्दन र आदर्शता पाएको छ।
म पात्रको जीवनमा एकपछि एक गर्दै प्रेम चाहनाहरू फक्रनै नपाइ नियतिको क्रुर प्रहारले क्षतविक्षत तहसनहस भई यत्रतत्र छरपस्टिन पुगेको छ। जीवनलाई अगाध माया प्रेम गर्ने मायालु प्रेमिकाहरूको न्यानो साथ छुटेपनि बाँकी रहेको जीवनदेखि उ त्यति निराश बनेको छैन। उ जीवनलाई निस्सारमय, निराशपूर्ण ठानेर जीवनदेखि पलायन हुन चाहेको पनि छैन। उसको निम्ति जीवनमा भौतिक उपलब्धि केही नभए पनि उसमा जीवन बाँच्नु पर्छ, फूलहरू जस्तै रमाएर जीवन बाँच्न सिक्नुपर्छ भन्ने आशावादी स्वर भेटिन्छ। उसका निम्ति जीवन अझै पनि सयपत्री फूलजस्तै ढकमक्कै पहेंलिएर मुसुक्क हाँसिरहेका छन्।
एलिजावेथ ब्यारेटको पत्र पढ़्दा-पढ़्दै आफ्नो विगत जीवनका तीता-मिठा, रमाइला-वेरमाइला त्यहीँ गुलाबका पत्रदलजस्तै पत्रैपत्र छरपस्टिएका सम्झनाहरू सङ्गाल्दै आशावादी स्वरमा अन्तमा यसो भन्छ- ‘आज म जीवनको त्यो मोड़मा आइपुगेको छ, जहाँबाट फर्केर हेर्दा, सायद कसैलाई मन पर्छ। आफूभित्र शून्यता अनुभव गरे तापनि ...हृदय आज पनि प्राणहीन छैन, स्पन्दनरहित छैन।...सुधाको प्रेममा मैले आज सबै थोक पाएको छु र पनि धेरै थोक पाउन सकेको छुइनँ। उससँगको थोरै दिनको घनिष्टतामा धेरै कुरा पाउन सकेँ- यो अपर्याप्त होइन। यहाँ म आफ्नै बिहानको प्रतीक्षामा छु। क्याक्टसको त्यो रातो फूल र पहेंलो प्लास्टिकको गुलाबको फूल सम्झन्छु, पुनमलाई सम्झन्छु र एलिजावेथ ब्यारेटलाई सम्झन्छु...अनि आज आफैलाई रोर्बट ब्राउनिङ सम्झन्छु...।’ वस्तुतः प्रस्तुत कथामा म पात्रको मनोवृत्तिको सूक्ष्म मनोविश्लेषणसमेत गरिएको भेटिन्छ वास्तवमा यही निष्कर्षण नै यस कथाको मूलकथ्य-सन्दर्भ पनि हो।
पहेंलो गुलाबको फूल-कथामा परिवेश-योजना र समयचेतना-
दार्जीलिङको मालरोडबाट वरिपरि र तलतिर देखिने चियाबगानका हरियाली दृश्यहरू तथा शकुनले स्याहार-सुसार गरी फुलाएको क्याक्टस फूलेको राता मनमोहक गमलाहरू, ढकमक्क फुलेका सयपत्रीका फूलहरूको प्रसङ्ग उल्लेखले बाह्य प्राकृतिक दृश्यवालीलाई इङ्गित गरेको छ भने विगत घटनाहरूले म पात्रका साथसाथै पुनम, शकुन, रानु र सुधाका मनको आलोडन-विलोडन, हर्ष-अमर्ष, प्रणय-वेदना, समवेदना-सहानुभूति आदि जस्ता कोमल भावहरूले आन्तरिक प्रकृतिको चित्रण गरेको छ। यसमा बाह्य प्रकृतिको वर्णनसाथै काल वा समयसित सम्बन्धित कालिक, वैचारिक, मानसिक परिवेशको बाह्य-आन्तरिक परिवेशको चित्रण पनि पाइन्छ। यस कथामा स्थान र समयगत परिवेशअनुरूप वैचारिक र मानसिक परिवेशको चित्रण गरिएको छ।
स्थानगत र वाह्य परिवेशको रूपमा पुरानो मालरोड (आजको भानुसरणी), रातो फूल्ने क्याक्टसको गमलले शोभयामान शकुनको फुन्चोलिङ-भोटाङको घर, मलाया, कलकत्ताको अतिव्यस्त चौरङ्गी र भवानीपुरको ल कलेज आदिको उल्लेख पाइन्छ। यसमा नेपाली सामाजिक-सांस्कृतिक परिवेशको वस्तुतथ्यात्मक चित्रण-वर्णन त्यति नपाइए पनि नेपाली सामाजिक यथार्थता, धार्मिक सामाजिक संस्कारको प्रभाव र सांस्कृतिक-सामाजिक सन्दर्भ पटक्कै नभेटिने भने होइन। त्यसरी नै समयचक्रको सन्दर्भमा हेर्नु हो भने पुस महिनाको कुनै आइतबारको बिहान, पुसे रात, पुसको बिहानीको घाम, तिहारको मेलालाई दृष्टान्तका रूपमा लिन सकिन्छ। प्रत्येक मानिसमा झैं कथाको पात्रको चरित्रमा पनि काल र दिकको फरकपन रहेको देखिन्छ। अतः काल अर्थात् समयचेतना, गति र लय यी तीनैथोक सूक्ष्म र अमूर्त तत्त्वका रूपमा प्रयुक्त हुन्छन्। कथालाई कलात्मक, प्रभावोत्पादक बनाउनका निम्ति प्रकृति-प्रयोगले निकै महत्वपूर्ण र फराकिलो भूमिका निर्वाह गरेको हुन्छ। उपमान-उपमेयका रूपमा आएका यी प्राकृतिक बिम्बहरूले राईको भाषिक शैलीशिल्पलाई अझ काव्यात्मक, अलङ्कृत र प्रतीकात्मक बनाएको छ
पहेंलो गुलाबको फूल-कथामा प्रयुक्त भाषिक एवम् शैलीशिल्प-
यस कथामा स्थानीय प्रचलित कथ्यशब्दहरू- हिजाज(हिजोआज), हिज (हिजो), हेर्नोस् , सुन्नोस्, अझतक, नगिच आदिको प्रयोग भएको भेटिन्छ भने कलेजको उच्च शिक्षा, ल कलेजकी इन्टरमिडिएट, फूलको डिक्सनरी, बेचलरहरूका कोठा, पहेंलो प्लास्टिकको गुलाबको फूल, अन्डरस्ट्यान्डिङ अझ खोक्रो भएको, अन्तिम प्यारा, क्याक्टस जस्तो, बहुत पछुतो गर्नु, जीवनको दर्द र व्याथागीत गाउने, क्याक्टस बहुतै मन पर्नु, सुन्दर र ताजा फूलको महक प्रभृति अङ्ग्रेजी र हिन्दी भाषाको कुट-मिश्रित शब्द र पदावलीहरूलाई दृष्टान्तका रूपमा लिन सकिन्छ। कथालाई स्वाभाविक बनाउन र पात्रका चरित्रगत अभिव्यक्तिलाई उनीहरूको जीवनसापेक्ष बनाउनका लागि यस्ता कुट मिश्रित शब्द र संवादको समेत प्रयोग गरिएको छ।
यसै क्रममा भित्र-भित्र, कस्तो-कस्तो, तल-तल, सुन्दर-सुन्दर जस्ता द्वित्वप्रक्रियाद्वारा निर्मित अनुकरणात्मक शब्दहरू तथा संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषा मार्फत आएका तत्सम प्रधान र आगन्तुक शब्दहरूमा- निमित्त, तथापि, संस्कार-सुसंस्कृत, उत्सर्ग, प्रकाशमान, हृदय, ज्योतिमय, दिव्यज्योति, ज्योतिपुञ्ज, तीव्रता, आग्रह, सार्थक, आनन्द, स्पन्दन, प्राणहीन, प्रतीक्षा, देवदूत, मुखमण्डल, वाणी, देवता, प्रातःकाल, सदृश्य, घनिष्ठता, एकाग्रता, बुक-सेल्फ, बेचलर, प्यासिभ मुड, लेटर्स फ्रम ग्रेट लभर्स, अन्डरस्ट्यान्डिङ, टिक-ट्वेन्टी, दर्द, बहुतै, ताजा महक, चाहाना, बहुत, उदास आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ।
कथामा विचारमय सङ्गत, दुःखमय कुराहरू, रोमाञ्चकारी आनन्द, धमिलो स्मृति, कटु अभिव्यञ्जना, तीव्र प्रेम, शून्य जीवन, गम्भीर विचारहरू, अतिशय मधुर, पुजा सदृश्य, बिहानको प्रतीक्षा, शून्यता अनुभव, आत्मनियन्त्रण जस्ता क्रियामुक्त र क्रियायुक्त पदावलीहरूको प्रयोग तथा पुसको बिहानी घाम सिरकजस्तो, हिमालको चिसो सिरेटोले घोचेजस्तो, क्याक्टसजस्तो जीवन, बिहान झ्यालबाट छिरेको प्रकाशजस्तो, मैनबत्तीको निर्बल ज्योतिपुञ्जजस्तो, गुलाबको पत्रदल जस्तो, पत्रैपत्र गरेर छरपस्टिएजस्तो, मैनबत्तीको प्रकाशझैं, सयपत्री फूलहरू हाँसिरहेका, पहेंलिएर ढकमक्कै, मनमनै मुस्कुराएँ- ताजा फूलको महकमा, तपाईँका शब्दहरू देवताका वाणीभन्दा पनि अतिशय मधुर आदि जस्ता सादृश्यमूलक एवम् काव्यात्मक अभिव्यक्तिको पनि सफलतापूर्वक प्रयोग भएको भेटिन्छ।
कथाकार राईका कथागत स्वरूप-संरचनाको मूल्याङ्कन-
प्रस्तुत कथामा सहभागी, परिवेश र घटना-सङ्गठनभन्दा पनि कथ्यगत केन्द्रीय विचारतत्व अर्थात् सारवस्तुको प्राधान्य रहेको देखिन्छ। यस कथाले स्थानिक अर्थात् भौगोलिक परिवेशलाई भन्दा कालिक, वैचारिक र मानसिक परिवेशलाई नै बढ़ी इङ्गित गरेको बुझिन्छ। सामाजिक वस्तु-यथार्थ, मानव र समाजमनोविज्ञान, जीवन बाँच्ने क्रममा मानिसमा उत्पन्न हुने मानवीय भाव-भावना, उत्तेजना, संवेदना, मृत्युचेतना आदि जस्ता केन्द्रीय भावहरू प्रस्तुत कथामा प्रच्छन्न रूपमा अभिव्यक्त भएको पाइन्छ। यस कथामा बिम्बात्मक भाषा, प्रतीकात्मक शैली तथा औपचारिकभन्दा अनौपचारिक प्रस्तुतिलाई नै कलात्मक रूप दिइएको छ। कलात्मक शैली प्रस्तुतिका कारण यस कथाले शिल्प-संरचनाका नवीन बान्कीहरू प्रस्तुत गर्न सफल बनेको छ।
यस कथामा सरल रैखिक ढाँचामा लेखिएका कथाहरूमा जस्तो क्रियाव्यापारको अनुक्रम मिलेको देखाइएको छैन। यसले वृत्ताकारीय कथन ढाँचाको रूप लिएको छ। कथानक भित्रभित्रै जेलिँदै, गुजमुजिँदै अघि बढ़्न खोजेको छ। परिणाम स्वरूप कथ्यवस्तुको प्रस्तुतिमा प्रभावान्वितिको राम्रो निर्वाह हुन सकेको छ। दृश्यात्मक र विवरणात्मक अवलोकन पद्धतिको समानुपातिक प्रयोग भएको देखिन्छ। कथामा कथाकार राईले अर्थ-क्षेपण अभिधात्मकभन्दा बढ़ी अन्योक्तिमूलक र प्रतीकात्मक साथै स्वैरकाल्पनिक रूपमा प्रस्तुत गरेका छन्। उनका अन्य कतिपय प्रयोगमूलक कथाहरूमा झैं यस कथामा पनि प्रतीकात्मकता र अन्योक्तिमूलक विधिद्वारा मूल कथ्य-सन्दर्भ अभिव्यञ्जित भएको देखिन्छ।
पात्रले नै कथानकलाई सजीवता, कलात्मकता र जीवन्तता दिन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। कथात्मक दृष्टिबिन्दुले नै कथ्यवस्तुलाई विश्वासनीयता र गहिराईका साथसाथै कलात्मक दुरी र यथार्थको भ्रम सिर्जना गराउँदछ। दृष्टिबिन्दु कथावस्तुलाई मूर्त रूप दिने एउटा महत्वपूर्ण युक्ति पनि हो। यस कथामा प्रयुक्त अति थोरै पात्रहरूमध्ये पनि केही पात्रहरू भने निरपेक्ष प्रकृतिका छन्। यिनीहरू मूलतः प्रतिक्रियाहीन र क्रियाव्यापारहीन चरित्रका रूपमा देखापर्छन्। अतः यस कथामा केन्द्रीय आन्तरिक दृष्टिबिन्दु मुख्य रूपमा भेटिन्छ भने परिधीय र सर्वदर्शी वाह्यदृष्टिबिन्दुको पनि प्रयोग गरिएको छ। कथाको वस्तु-संरचना र रूपविन्यासबीच अन्योन्याश्रित सम्बन्धलाई यथावत् राख्न खोज्दै कथाकार राईले सचेत-असचेत जुनै रूपमा भएपनि संवृत्त र विवृत रूपविन्यासको मिश्रित प्रयोग गर्नमा बढ़ी रूचि देखाएका छन्।
रूचिक्षेत्रका दृष्टिले यस कथालाई मानसलोक तथा भाव-संवेग प्रधान विषय क्षेत्रअन्तर्गत राख्न सकिन्छ भने रीतिक्षेत्रका परिप्रेक्ष्यबाट हेर्दा नाटकीय, स्वैरकल्पना तथा मोन्टाज र कोलाज शैलीका रूपमा हेर्न सकिन्छ। पहेंलो गुलाबको फूल कथालाई अनुस्यूति कथाका रूपमा राख्न सकिन्छ। यसमा संवेगात्मक भावजनित मूर्त-अमूर्त पृष्टभूमिको समेत प्रयोग भएकाले कथाको भाव-परिमण्डल निकै प्रभावकारी भएको देखिन्छ। कथामा प्रयुक्त पात्रका क्रिया-प्रतिक्रिया, जीवन-जगतप्रति आ-आफ्ना धारणा र दृष्टिकोण, मूल्य-मान्यता, आस्था-विश्वास, जय-पराजय, मानसलोकका विचार-संवेदना आदिको समष्टि रूप नै वास्तवमा भाव-परिमण्डल हो। यस भाव-परिमण्डल वस्तुपरकताको अपेक्षा नितान्त आत्मपरक भएकोले मानिसको विचार, भाव-आवेग अर्थात् संवेदनासित बढ़ी सरोकार राख्दछ।
प्रस्तुत कथाबारे मूल्याङ्कनपरक टिप्पणी गर्दै श्री अविनाश श्रेष्ठ लेख्छन्- ‘यस किसिमको प्रयोग नेपाली कथासाहित्यमा सम्भवतः पहिलो हो। एलिजावेथ ब्यारेटको समपर्णयुक्त प्रेमपत्रको अंश राख्दै समानान्तर ढङ्गले म पात्रका असफल प्रेमकथा पस्किँदै जाने कौशलद्वारा एककिसिमको विपर्यासयुक्त बिब्ल्याँटो भावबोध उब्जाउने प्रयास कथाकारको रहेको बुझिन्छ। कथामा प्रयुक्त यही कन्ट्रास्टद्वारा कथाकारले त्यसभित्रको सुन्दरतालाई उकासेर बाहिर ल्याएका छन्।’ यसै कथाको प्रसङ्गमा दानियल खालिङको मत अझ यस प्रकार रहेको छ- ‘यो कथा धेरै गहिरो छ। यस कथामा एकजना लोग्ने मान्छे सान्तवना लिएर बाँचिराखेको छ, त्यो अतीतको मोहले रूँदैन तर प्रत्येक वर्तमानमा दिलासा पाएर नै बाँचेको छ। यही होला स्वास्नीमान्छे र लोग्नेमान्छेको बीचमा भएको भिन्नता।...पहेंलो गुलाबको फूलमा जसको चिट्ठीको वरिपरि कथा रचिएको छ ती एलिजावेथ ब्यारेटमा स्वास्नीमान्छे स्पष्ट छ तर त्यस कथामा भएको लोग्नेमान्छे चाहिँ जीवनको सतहमा देखिन्छ।’ प्रस्तुत कथालाई एउटा सशक्त सिर्जनात्मक कलाको दर्विलो दृष्टान्तको रूपमा उभ्याउन सकिन्छ किनकि कथाकार राईको अभिव्यक्तिले एउटा निश्चित प्रतीकात्मक आकार र आधार पाएको छ। वस्तुविधानको अन्तरसङ्गठनमा सङ्गति र विसङ्गति दुवै आधार र प्रकार बोकेको छ र यहीँ सौन्दर्यमूलक मूल्य नै यस कथामा शिल्पकारिताको सबैभन्दा ठूलो सम्बल भएको छ।
सन्दर्भ विवरण-
श्रेष्ठ, दयाराम (वि.सं. २०६६)- अभिनव कथाशास्त्र, काठमाण्डौः पालुवा प्रकाशन प्रा. लि.
कोइराला, कुमारप्रसाद (२०६८)- आख्यान विमर्श, काठमाण्डौःओरिएन्टन पब्लिकेसन
कोइराला, कुमारप्रसाद (२०६८)- नेपाली आख्यानको अध्ययन, विराटनगरः वाणी प्रकाशन
नेपाल, घनश्याम( सन् २००५)- आख्यानका कुरा, सिलगढ़ीः एकता बुक हाउस प्रा. लि.
पौड्याल,परशुराम (२०६६)- कथाको रूपविन्यासःसिद्धान्त र विवेचना, काठमाण्डौःबुद्ध ऐकेडेमिक पब्लिसर्स
भट्टराई, गोविन्दराज (२०६१)- आख्यानको उत्तरआधुनिक पर्यावलोकन, काठमाण्डौः रत्न पुस्तक भण्डार
श्रेष्ठ, अविनाश (सम्पा.,२०६१)- आधुनिक भारतीय नेपाली कथा , काठमाण्डौःसाझा प्रकाशन
नामदुङ, जीवन (सम्पा.,सन् २००८)- स्वतन्त्रोत्तर भारतीय नेपाली कथा , नयाँ दिल्लीः नेशनल बुक ट्रस्ट, इण्डिया
छेत्री, राजकुमार (सन् २०११)- अवलोकन अवबोधन, दार्जीलिङः मनमाया प्रकाशन
पौडेल, गोपीन्द्र (२०७०)- कथाको सिंहावलोकन, काठमाण्डौः प्रज्वल पौडेल
छेत्री, राजकुमार (सन् २०१३)- सिर्जनाको समावलोकन,दो.सं. दार्जीलिङः मनमाया प्रकाशन
छेत्री, राजकुमार (सन् २०१४)- कृति आलोकन, दार्जीलिङः मनमाया प्रकाशन
योञ्जन, जस (सन् २०१४) परख, दार्जीलिङः श्याम ब्रदर्श प्रकाशन
छेत्री, राजकुमार (सन् २०१८)- दृष्टिपथ, दार्जीलिङः मनमाया प्रकाशन
प्रधान, मननारायण (सन् १९९१)- केही साहित्यिक अध्ययन र मूल्याङ्कन, डुवर्सः डुवर्स नेपाली साहित्य विकास समिति