19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रिक्त

कथा भाउपन्थी May 13, 2024, 8:59 am
भाउपन्थी
भाउपन्थी

मैले अब क्याम्पस जान छाडेँ । पढ्न छाडेर म एकान्तको खोजीमा लागेँ । किन पो एकान्त चाहिएको हो ? ठेगान नभएजस्तो भौँतारिएर हिँड्ने हो भने यो मान्छे के हो, पागल हो कि अथवा अपराधी जसलाई प्रहरीले खोज्दै छ र उसका स्वजनहरूले पूर्णतः बहिष्कृत गरेका छनु । यस्तो आरोप समाजले प्रत्यक्षतः मलाई नलगाइहाले पनि मेरो गतिविधिप्रति उनीहरू सशङ्कित थिए । एउटा प्लस पक्ष के थियो भने म होस गुमाएर मैलोधैलो भएको थिइन । म फर्केर घर जान्थेँ र नुहाइधुवाइ गरेर सफा लुगा फेरेपछि पुनः भौँतारिनतिर लाग्थेँ, मौका परे बाको चियापसलमा बसिदिन्थेँ । बा खुसी हुन्थे । तर घरमा कसैले सुइँको पाइसकेको थिएन, मेरो मानसिक हालत अस्थिर छ भन्ने ।
मेरा बा ठेलगाडामा फेरी लगाएर खित्रिङमित्रिङ बेच्ने गर्थे । फेरीवाल ? हो, तर उनले एउटा रिकर्डेड चक्का बजाएर सामानको दरभाउ बताउँथे, हरेक मालको दस रुपियाँ । यसरी उनी ग्राहक बोलाउने काम गर्थे । सबै मालको दाम दस रपियाँ हुँदेनथ्यो तर उनले दस रुपियाँको प्रचार गर्थे । मुखले बोलेर हाँको लगाउँदैनथे । आधुनिक प्रविधिले दिएको सुविधाजनक उपाय । पछि उनले यो होटेलको काममा हात हाले । होटेल किने । बैंकबाट पनि लोन लिए तर उनी बैंकले दिएको थोरै रकमको लोन तिर्नुभन्दा मेरो पढाइको चिन्ता बढी गर्थे । मेरा बाआमा झुत्रेझाम्रे देखिए पनि म पढेलेखेको देखिन्थेँ, जेन्टलम्यान । मेरो उमेर धेरै भएको थिएन । यही बाइसपच्चिस । चिना हराएकाले बाआमाले नै भन्थे यस्तै भयो होला बाइसपच्चिसको । म क्याम्पस जाने गर्थें । तर त्यहाँको वातावरण ठीक लागेन । बालाई भनेँ म पढ्न सक्तिनँ । मेरो पढाइ कमजोर थियो । क्याम्पसमा चर्को राजनीति थियो । पढाइ र राजनीति मिल्ने कुरो भएन । पैसा नभएका उम्मेदवारले हाल निर्वाचन लड्न नसकेभैmँ कमजोर विद्यार्थीले मेहनत गरेर पढ्ने वातावरण क्याम्पसमा थिएन । विद्यार्थी राजनीतितिर म लागिनँ । विद्यार्थी राजनीतिमा तोडफोड बढी थियो ।
मैले पढ्दिनँ भन्दा बा एकदम आश्चर्यचकित भए । पहिले त मैले भनेको के हो भन्ने उनले गुने । जब बुझे म पढ्न अनिच्छुक छु भन्ने अनि हाँस्दै भने त्यसो भए तेरो लागि अहिलेसम्म भएको खर्च कसले भर्छ ? बैंकको रिन तँ तिर्छस् ? यसको जबाफ मसँग थिएन । मैले आनेकाने गर्दै भनेँ, यो त यस्तै हो तर मलाई पढ्न मन छैन । उनले अर्को दलील दिए, त्यसो भए तेरा साटो म जाऊँ पढ्न ? कि तेरी आमा जान्छे ? त्यसको पनि मसँग जबाफ थिएन । एकदमसित बा आव्रmामक हुँदै भने पढ्ने मन छैन भने यहाँसम्म किन पढिस् ? तेत्तिका रकम खर्च भइसकेको छ । अब आएर पढ्दिनँ भन्छ ए यो त । मैले अस्ट्रेलिया वा अमेरिका जान्छु भनेँ । उनी अलि शान्त भए तर खिन्न हुँदै भने, अस्टेलिया अम्रिका बयलगाडा चढेर जान्छस् ? तँ पढ्ने भए यीँ पढ् होइन भने तेरो खुसी । म खुसी भएँ, मेरो इच्छा पढ्नमा थिएन । नपढे के गर्ने त्यो पनि थाहा थिएन ।
मलाई डर लागिरहेको थियो, बाले कतै मेरो गाला नपड्काइदिऊनु । एकदुई जनासँग उनले यस किसिमको व्यवहार गरेका पनि थिए । एक दिन चियानास्ता गरेर उठ्ने बेलामा एक ग्राहकले भनेको थियो पैसा पछि दिउँला । अहिले छैन । त्यो ग्रहाक परिचित थिएन । मेरा बाले अगिपछिको परिणाम नसोची ग्राहकको गालामा एक झापट हानेका थिए, लौ खा पैसा तिर्न नपर्ने नास्ता भनेर । ग्राहक भाउन्निँदै अलि पर पुगेको थियो । पैसा नभए किन होटेलमा खाजा खान पसेको ? याँ के फ्री सर्भिस छ ? त्यो ग्राहक केही नबोली उता परतिरको प्रहरी ठानामा गएर रिपोर्ट लेखाएछ— पाँच सयको नोट दिएको पैसा पनि फिर्ता गरेन, विवाद गरिरह्यो । फेरि माग्दा दिमाग झनझनाउने गरी झापट पनि दियो । बदनाम प्रहरी आयो । बालाई चिनेको थियो । बाले फ्रीमा चिया खुवाउँथे । राज्यशक्ति हो कुनै बेला काम लाग्छ भन्थे । तर प्रहरीले उल्टै केही रकम दिएर ग्राहकको रिपोर्ट फिर्ता लिन फकाउनुस् भन्यो । प्रहरी नै त्यसो भनेपछि बाले मन मारेर कन्तुरबाट चारसय रुपियाँ झिकेर त्यो ग्राहकको हातमा राखिदिए । त्यस घटनाको बाँकी भाग कस्तो थियो ? बाले भनेअनुसार दुवैले मिलेर दुदुई सय बाँडेर खाए नि, अरू के हुने ? पछि लाचारी व्यक्त गर्दै भने घोडाको पछाडि र राजाको अगाडि नबस्नू । राजाको निष्कासन भइसकेको थियो तैपनि राजाको अगाडि बसे के हुने र घोडाबारे मलाई पनि अनुभव थिएन । पुरानो उखान, यस बारे मेरो पाठ्यय्रmमले पनि व्याख्या गरेकोे पाइएन ।
म पढ्न नजाने कुरो बाको दिमागबाट त्यसै सेलाएर गयो । यसमा आमाको भूमिका पनि थियो । आमाले मेरो पक्ष लिँदै भनिन्, पढ्न जान्नँ भनेपछि किन करकर । होटेलमै बसाले भो नि । पढेलेखेर कतैको सेनापति भइटोपल्ने हो र यो केटो । आफ्नो नाम लेख्न र चिठी बाँच्ने भइसकेको छ । अब बुहारी ल्याउनेतिर सोच । सानैमा यसको बिहे गरिदिने भनेकी केटी कता गई, त्यसको पत्तो लगाऊ । बा सोचमा परे तर एकछिनपछि हाँसे । भने त्यो केटी त पढलेख गर्दै छे र डाक्टर हुने भइसकी । अब यस्ता बकमफुसेसित बिहे गर भनेर कसरी भन्ने ? उसको बाउले छोरीको क्लिनिकका लागि मेडिकल स्टोर खोलेर व्यापार बढाएको छ । आमा अल्लि हतास भइन् र भनिन् एउटी पढलेख गरेर हातबाट उम्की भने पढलेख गरेकी अर्की त होली । खुट्टा भए जुत्ता जत्ति पनि ? बाले केही प्रतिवाद गर्न चाहेका थिए तर आमाका अगाडि उनी हतियार बिसाउँथे । त्यसैले भनभन गर्दै चिया फिट्नतिर लागे । पसलमा ग्राहक थिएनन् र अन्ततः चियाको गिलास लिएर आपैmँ बेन्चमा बसे । चिया सुक्र्याउँदै विचारमग्न भए । केही सम्झेभैmँ झल्याँस्स भएर मलाई सोधे, तँ पक्कै पढ्न नजाने भइस् त ? मैजस्तो गोरु भएर बस्ने भइस् । बालाई गोरु भन्न सुहाउँदैनथ्यो । उनी बडो मेहनती व्यक्ति थिए । उनी बिहान चार बजे ओछ्यान छाड्थे र चियापसलको स्याहारसम्भार सररफाइमा लाग्थे । एकदुई जना मधेसतिरका साइकलवालाहरू पनि चिया खान त्यति बिहानै आइपुग्थे । बाले तीमध्ये अधिकांश चिनेका हुन्थे । कसैले चिया र बनको पैसा नतिरी खातामा टिपाएर जान्थे । बा त्यस्तालाई हिसाब सम्झाउन भन्थे, तेरो उधारो तीन सय छप्पन्न रुपियाँ पचास पैसा भो । चिया र बन खानेले धेरै उधारो रकम तिर्नु बाँकी रहने कुरै भएन । हस् हस् मैले सुनेँ भन्दै त्यो साइकलवाल साइकल डो¥याउँदै हतारहतार बिहानको अँध्यारोमा गायब हुने गथ्र्यो । दिएन मोरोले, सामान ल्याउनु थियो, बाले सुसेल्दै भन्थे ।
बाको चियापसल चलेकै थियो । बाले भने, तँ यसरी हावादारी भएर हिँड्नुभन्दा पसलमा बसेर पैसा लिनेदिने गर् । मलाई पनि पैसा खेलाउन पाइन्छ भन्ने लोभले खटेर बस्ने विचार आयो । चियापसलको काउन्टरमा म बस्ने भएँ । बाले मेरो विश्वास गर्थे । पैसा टाँका लाउँछ र गडबडी गर्दैन भन्न्ने पत्यार पनि गर्थे । अर्को कुरो मैले यो सोचेँ— कम्प्युटर टाइप गर्ने एउटा काउन्टर खोलौँ । आपूmले कम्प्युटर केही सिकिएको छ, कम्प्युटर किन्न सकिएको छैन । बालाई कम्प्युटर किन्न भन्न पनि सकिन्न । चियापसलले बल्लतल्ल पढाइ खर्च र हाम्रो गुजारा चलिरहेको थियो । पढ्न छाडेपछि कम्प्युटर किन्ने रकमको जोहो हुन सक्छ । पछि भनुँला भन्ने सोच बनाएँ ।
एक दिन बाले भने तेरो बिहेका लागि एउटी केटी खोजेको छु । पढाइ छाडेपछि बिहे पनि गर्दिन भन्छस् कि ? मैले जबाफ दिइन । बाको कुरा ठीकै थियो । केटी तयार छे भने अर्थात् केटीका आमाबा केटीको बिहे मसँग गरिदिन तयार छन् भने त्यसमा मेरो के आपत्ति हुन सक्थ्यो ? तर केटी पक्षले घरज्वाइँ बस्नुपर्छ भन्छन् भने बाले । बिहे भएपछि देखा जाएगा भनेर स्वीकार गर्ने मुडमा थिएँ । मलाई बिहेको कुरोले कुरीकुरी लागिरह्यो— स्त्री सम्पर्कको अनुभव मसँग थिएन । कुनै किसिमले त्यो अनुभव लिन सकिन्छ कि भन्ने सोचेँ । भन्ने गरिएको रेड लाइट एरिया मलाई थाहा थिएन । सहरमा त्यस्तो एरिया विकसित भएको पनि थिएन, सहर अलि अर्कै थियो, भित्रभित्रै त्यस्तो कारोबार थियो होला । बिहे गरेपछि त्यसको अर्थात् स्त्रीज्ञानको खाँचो पथ्र्यो । कसैले सुहागरात भन्थे वा कसैले बिहेको प्रथम रात । बिहेपछि पतिपत्नीका बीच हुने कार्यव्यापारको असमझदारीबारे पनि धेरै मजाकका किस्सा पनि सुनाउँथे । के गरेर सुहागरात मनाउने, त्यो मैले ठ्याम्मै जानेको थिइनँ । नेटमा पोर्न हेरे सुहागरातका लागि चाहिनेभन्दा बढी ज्ञान भइहाल्छ भन्थे साथीहरू । बालाई सोध्न पनि मिलेन । कोही मिल्ने साथी पनि थिएन । पछि नेटमै हेर्नुपर्ला सोचेँ । तर मनमनै भनेँ, पहिले बिहे त हुन दे । नेटमा ज्ञान पाइहालिन्छ, गोप्य रूपमा हेरे भइहाल्यो नि ?
एक दिन होइन दुई दिन होइन म चियापसलमा दैनिक बस्ने गरेपछि बोर हुन थालेँ । बिहेको कुरो अगि बढिरहेको थिएन । केटी पक्षले टारटुरे कुरा गर्न लागे भन्थे बा । कस्ती केटी रहिछ त्यो । मैले एक पटक उसलाई हेर्ने मन गरेँ । अप्सरा त निश्यचन नै होइन होली । कस्तो घामड रहिछे । मजस्तो केटालाई मन पराउन चाहिन । केटी पक्षले यही भन्थे रे, केटोले घरज्वाइँ बस्न स्वीकार गरे पनि नगरे पनि केटीले केटो मन पराइन, अब कसो गर्ने ? बासित मैले सोभैm सोधेँ, बा मसित बिहे गर्ने केटी कसकी छोरी हो ? उसको घर कहाँ छ, ठेगाना दिनुस् । केटीको घरको ठेगाना पत्तो लगाएँ । एक दिन म चियापसलमा नबसी डुल्न निस्किएँ । त्यस दिन शनिबार परेको रहेछ । केटी घरमै रहिछ । ऊ राम्री थिई । मलाई ऊसँग बोलिहेर्ने मन लाग्यो । तर डर पनि थियो कतै म उसले मन नपराएको केटो हुँ भन्ने जानकारी पाएपछि दुत्कार्ने त होइन ? तर साहस आएन केटीको नजिक गएर बोल्ने । केटीहरूसँग कसरी बोल्न सुरु गरिन्छ त्यो मैले जानेको थिइन । केटी बाहिर जान निस्कँदै थिई । म नजिक पर्न सकिन । तर एउटा अनौठो कुरो के भयो भने म केटी गेटबाट निस्कन नपाउँदै एउटा सलल बग्ने कार आएर केटीको छेउमा रोकियो । अगाडिको ढोका सुस्तरी खुल्यो र केटी हाँस्दै अगाडिको सिटमा बसी । केटीकी आमा पनि गेटसम्म आई र बाई गरी । समाजमा राम्री केटीहरूको अर्कै मूल्य छ । कार चढ्नेले मन पराउन सक्दा रहेछन् । कार चढ्नेले मन पराएपछि आमाबाबुले पनि छोरीले गरेको ठीकै छ, केटो कारवाला रहेछ भनेर स्वीकृृति दिने रहेछन् । यो ज्ञान तितो थियो तर निलेँ । मसँग साइकिलधरि थिएन । बाले यस्तो केटीका बाआमालाई कसरी सहमत गराए त्यो मैले पहिल्याउन सकिन । बालाई सोध्ने कुरो पनि भएन ।
केटी कार चढेर जानुमा कुनै अचम्मको कुरो थिएन । केटीले मलाई देखाउन त्यसो गरेकी थिइन । तर उसले कारवालालाई रोजेकी रहिछ । लभ चलिरहेको रहेछ । केटी सुन्दरी र च्वाँक थिई । हिँड्दा मचकमचक आवाज आउने । उसका पछाडि सयौँ कारवाला फिदा हुन सक्थे । केटीले पनि मोजमस्ती गर्न सक्थी र अन्त्यमा अनुकूल पर्ने केटोलाई लोग्नेका रूपमा चयन गर्न सक्थी । यसमा अचम्म मानिरहनु पर्ने कत्ति थिएन । अचम्मको कुरो भन्नाले कुनै केटी कार चढेर जानुमा कुनै कथाको सूत्रपात गर्दैनथ्यो । पछि केटीले कारवालामाथि होटेलमा लगेर दिउँसै बलात्कार ग¥यो भन्ने आरोप लगाउन पनि सक्थी । कानुन उनीहरूकै पक्षमा थियो । बलात्कार गर्न दिउँस वा राति छुट्ट्याउनु पर्दैनथ्यो । अथवा कारमै पनि बलात्कृत हुन सक्थी । त्यो केटीको इच्छामा निर्भर गथ्र्यो र यत्ति एउटा बाधा कि केटोले विवाह गर्न अस्वीकार वा मनग्गे रकम दिन मनाही गरेको अहोस् । मेरो यो सोचाइ निन्दनीय थियो । तर भोक लागेको व्यक्तिले गीतापाठ गर्नतिर सोच्दैन । केटी कारमा गएको देखेपछि मेरो मन खिन्न भयो । विवाह गर्न योग्य केटी हातबाट फुत्की । मलाई लाग्यो बाले अर्की कस्ती केटी खोज्ने हुन् ? उनी यत्ति मात्र भन्थे, अलि पढेलेखेकी केटी चाहिन्छ मेरा छोराका लागि । चियापसलमा आउने इष्टमित्रहरूलाई फोकटमा चिया खुवाउँदे उनी चारै दिशाथिर केटी खोज्न जाओ भन्थे । रामायणमा सीतालाई खोज्न राम वा सुग्रीवले वानर सेनालाई आग्रह गरेभँैm । म काउन्टरमा बसेर यो हेरिरहन्थेँ । चियाबिस्कुट वा बन वा पाउरोटी खाएर इष्टमित्रहरू ढाडस दिँदै आआफ्नो गन्तव्यतिर लाग्थे । गन्तव्यतिर लाग्थे अथवा घर गएर सुत्थे वा घरको काममा लाग्थे ? केटी त के खोज्थे यी बरु फुर्सतमा फेरि आएर केटी खोज्ने निहुँमा चिया नास्ता खान्थे, कसैकसैले सय दुई सय भाडा लिएर पनि जान्थे । चियापसलमा त म बस्थेँबस्थेँ र पैसा लेनदेनमा मेरो मन लागिसकेको थियो । लक्ष्य मेरो के थियो ? लक्ष्य के हुनु थियो, बिहे गरेर गृहस्थी हुने । तर म भइरहेको थिइनँ । एउटा कुरो यो पनि थियो, पैसा भएपछि जे पनि गर्न मिल्छ तर चियापसलमा खुद्रा पैसा मात्र आउने हुनाले पैसादेखि पनि मेरो विश्वास उठिसकेको थियो । ससाना पैसा कति खेलाइरहनु ? तिहारतिर ठूलै जुवाको खालमा एउटा ठूलै दाउ खेल्न पाए हुन्थ्यो भन्ने सोचेँ तर त्यसतिर लाग्न मसँग पर्याप्त उपाय र रकम थिएन । एउटा चियापसलेको छोरोले कत्रो आकाङ्क्षाा नै पाल्न सक्छ भनेर मैले मनलाई थामथुम पारेँ ।
डुल्न निस्कँदा बाटोमा मानिसहरू भेटिन्थे जसलाई मैले आदरपूर्वक नमस्कार गर्नुपर्ने थियो तर नैराश्यले मानिसहरूप्रति मेरो रुचि हराइसकेको थियो । मैले त्यस्ता आदरणीय व्यक्तिहरूलाई देखेको नदेख्यै गरी हिँडिदिन्थेँ । बिहे गर्न नसक्नुको असफलताले मलाई निराश तुल्याएको थियो । असफलताले मलाई अँध्यारोतिर ठेल्दै छ भन्ने नैराश्य मभित्र बढ्दै थियो । म जसलाई देख्थेँ, उसैप्रति सशंकित हुन्थेँ— मेरो बिहे नहुनुमा कतै यही मानिसको हात त छैन ? तर यो साबित हुन्नथ्यो । चियापसलको स्तरअनुसारको केटी खोज्दा पनि पाइरहिएको थिएन । आमाले भन्थिन् यसको ग्रह शान्ति गराउनोस् अनि केही भइहाल्छ कि ?
चियापसलको खटन छाडेर डुल्न निस्कन लागेँ म । केटीको आकर्षणले पनि मलाई अस्थिर बनाइरहेको थियो । तर मानिसको जीवनमा संजोग आइलाग्न सक्छ । भनुँ संजोगवश केही अविस्मरणीय घटित हुन सक्छ । त्यस्तो केही भइरहेको थिएन । हुनुपर्ने थियो । हुनुपर्ने के थियो भने मैले पनि कुनै केटीसँग बिहे गरेर गृहस्थी चलाऊँ । पहिले मेरो बिहे हुनु जरुरी थियो । केटी पाइरहिएको थिएन । आमा पनि दिक्क थिइन् । लुलोलङ्गडो र कानोखोरन्डो हुन नदिई पालेको एक मात्र छोरोलाई बिहे लायक केटी नपाएकोमा दिक्क थिइन् । उनी एक किसिमको मानसिक चिन्ताको सिन्ड्रोमले बिरामी पर्न लागिन् । म केही भन्न सक्दैनथेँ । यस्तो किन भइरहेछ ? घरमा बुहारी हुलेर काखमा नातिनातिना खेलाउने रहर ओइलाउँदै थियो । आमा मलाई देख्यो कि तेरो बिहे कहिले हुन्छ भनेर सोध्थिन् । बा मेरो बिहेबारे चामल छुन लगाएर भेटीसहित ज्योतिषी र ग्भाजुहरूकोमा धाउने पनि गरे । यो वर्षको अन्त्यमा वा अर्को वर्ष अवश्य पनि बिहे हुन्छ भन्थे उनीहरू । बिहेको सुनिश्चितता छ भनेर कल्पनामै दाबी गर्न मेरो मनले साहस गर्न सकिरहेको हुँदैनथ्यो । किनभने म एक किसिमले विवाह अयोग्य केटाको रूपमा चिनिन लागेको छु । केटीहरू विदेशमा पढ्ने र त्यतै पिआर वा ग्रिन कार्ड पाएकोसित बिहे गर्न उत्सुक हुन्थे । नभए खाडी मुलुकमै गएर पगाल्ने घाममा केही कमाउने केटाको अपेक्षा राख्थे । पछि बरु काठको बाकसमा फर्के पनि मन्जुर थियो तिनलाई । यता आमा बिरामीले ओछ्यानमा सुतिरहने भइन् । उनले बिहान सबेरै कलशको पानी फेरीवरि पूmल चढाएपछि टिर्लिङटिर्लिङ घन्टी बजाएर प्रार्थना गर्ने घरको एक कुनाको मन्दिर खण्डहरमा परिणत भइसकेको थियो । कहिले हो चढाएको पूmल सुकेर डन्ठल मात्र बाँकी थियो । दियो निभेको थियो, बाती त्यसै सुकिरहेको थियो, बाटाको धुलो जमेर देउताका फोटाहरू पूरै काला भइसकेका थिए । आमाले त्यता हेर्न छोडेकी थिइन्, बिरामीले अशक्त पारेपछि उनी धेरैबेर एक ठाउँ उभिरहन सक्तिनथिन् । आमालाई त्यस्तो भए तापनि सास रहुन्जेल आस भन्ने कथनमा आस्था राख्दै म यताउति डुलिरहेँ । सडकबाटोमा केटी भेटिइहाल्छन् भन्ने आसमा होइन हिँड्दाहिँड्दै भाग्य चम्किहाल्छ कि भनेर । भनेँ नि केटी खोज्न होइन, यसै मनलाई सान्त्वना दिन ।
सहर परिचित नै थियो र मानिसहरू पनि । मानिसहरू यदाकदा सोध्थे, ए भाइ तिम्रो बिहे भएन ? भएन । बाले त बजारतिर निस्कन कम गरेका थिए । तर उनी भन्थे, एउटी जाबो विवाहयोग्य केटी सहरमा नभेटिनु कस्तो जमाना आयो ? कतै बुढीकन्न्े भेटिए पनि हुन्थ्यो । बाले अभैm पराजय स्वीकार गरेका थिएनन्, बेलाबेला भन्दै थिए, होइन, बिहे र जन्ममरण कसैलाई थाहा हुँदैन । कुन केटीसँग यसको बिहे जुरेको छ त्यो कसलाई थाहा— उनी चियापसलमा घोइरिएर बस्दा यस्तो बरबराउने गर्थे । मलाई बिहेको चिन्ता थियो वा थिएन त्यो मैले घरमा अव्यक्त नै राखेको थिएँ । म भौँतारिन जता पनि डुल्न निस्कन सक्थेँ । तर सहरभित्र परिचितहरूको सोधखोज बढी थियो त्यसैले म सहरभन्दा बाहिर जाने गर्थें । सहरको छेउमा एउटा ससानो जङ्गल थियो र त्यसैको मुखमा एउटा मन्दिर । मलाई प्रायः त्यहीँ गएर आफ्नो यात्रा टुङ्ग्याउने मन लाग्थ्यो । यात्रा भन्नु पनि के थियो र घरबाट निस्केपछि कतै जानु थिएन, आउनु त यही जङ्गलमा थियो । जङ्गल ठ्याक्कै निर्जन थिएन तर सहरको कोलाहल यहाँसम्म आइपुग्दैनथ्यो । मनले शान्ति खोज्थ्यो र यहाँ शान्ति थियो । जङ्गलछेउको मन्दिर पनि सुनसान रहन्थ्यो । प्रायः देशदेशावरका जोगीहरू भेटिन्थे । गाँजाको चिलिम भरिन्थ्यो र सङ्गतमा म हुन्थेँ । एकदुई सर्को मैले पनि तान्थेँ । सिक्दै गएँ र कुशलतासाथ तान्ने भएँ । पहिलेजस्तो सर्किन छाड्यो । मलाई गाँजाको सुरमा त्यही केटीको अनुहार आँखामा झलझलिन आउँथ्यो । म उसकै सम्झनामा रुन पनि थाल्थेँ । जोगीहरू भन्थे, यो पुग्यो आनन्दातिरेक अवस्थामा । स्याबास केटा स्याबास ! तर कति बेला म गाँजाको नसाको अतिशयताले मर्न पनि चाहन्थेँ । म कुनै रूखको हाँगामा लट्किएर जीवनको अन्त गरूँ, जोवन गइसकेकाले भनने लाग्थ्यो । मलाई जीवनप्रति त्यति चासो थिएन । मलाई बाआमाको चिन्ता पनि लाग्दैनथ्यो । उनीहरू छन् र म पनि छु । यस्तो सोचमा यो आशय थियो, मेरो चिन्ता उनीहरू गरिरहेका छन् । मेरो बिहेको चिन्ता र मेरो भविष्यको चिन्ता । बिहे हुन नसकेपछि उनीहरूको चिन्ता झन् चर्कियो, बिहे गरिदिन पाए छोरोको भविष्य र गृहस्थीदेखि ढुक्क हुन सकिन्थ्यो । बुहारीले सम्हाल्थी, उनीहरूलाई पनि र मलाई पनि ।
आज जङ्गलभित्र पसेपछि केही केटाहरू देखेँ । मन्दिरछेउमा टिनको टहरो थियो तर त्यसमा कोही थिएनन् । मध्याह्नको टहटह घाममा निभेका धुनिका मुढाहरू टिनको टहरामुनि त्यसै बेवारिस पल्टेका थिए । केटाहरू एकएक जना यताउता छरिएका थिए । तिनका हातहातमा गुलेली थियो । हाफ प्यान्ट लगाएका तिनको खल्तीमा माटाका मट्याङ्रा थिए । तिनले रूखरूखको फेदमा उभिएर माथि हाँगातिर चराहरू खोज्थे । कतै चरा देखिएमा गुलेलीले ताकेर हान्थे । मैले धेरै बेरसम्म त्यो हेरिरहेँ । पहिले उनीहरूसँग मेरो भेट भएको थिएन । अहिले हुने गथ्र्यो तर कसैले पनि मनग्गे चरा मार्न सकेको देखिएन । उनीहरूमा पनि एक किसिमको निराशा थियो । तीमध्ये मैले चिनेको एउटा केटो रूपबहादुर थियो । उसको हातमा पनि गुलेली थियो र खल्तीमा मट्याङ्रा । उनीहरूले मट्याङ्रा बनाउन विशेष माटो प्रयोग गर्थे । गुलेलीमा अटाउने मट्याङ्रा बनाएपछि घाममा सुकाउँथे । सुकेका मट्याङ्रा प्रयोग गरेर चरा मार्थे । सहरमा एउटा संस्था पनि थियो जसले गुलेली र मट्याङ्राले चरा मार्न नदिने अभियान नै चलाएको थियो तर सफल हुन सकेको थिएन । विदेशीको डलर बटुल्न अनेक उपाय गर्छन् भन्ने आरोप पनि लाग्ने गरेको थियो तिनलाई । तर भनिन्थ्यो गुलेलीले चरा मार्नेहरू त्यस्ता अभियानकर्ताहरू देखेपछि लुक्ने गर्थे । यो पनि दाबी गर्न भनिन्थ्यो, चरा मार्न कम भएको छ । एउटा गुलेली बुझाएमा सय–डेढ सय दिन्थे ती गैरसरकारी संस्थाहरू । केटाहरू भन्थे त्यतिमा गुलेली बन्दै बन्दैन, महँगी छ । डेढ सय डलर लिन्छन् र हामीलाई डेढ सय !
रूपले मलाई दाइको बिहे भयो भनेर सोध्यो । मैले उसको सोधाइलाई व्यङ्ग्यमा लिइन तर भनेँ मेरो बिहे भएको भए त तँ छिमेकीले थाहा पाइहाल्थिस् नि । उसले थप भन्यो, सहरमा यतिका केटीहरू छन् र पनि । मैले दिक्क मान्दै भनेँ, केटीहरू चलाख भइसके । पहिला जस्तो छैन अहिले । ल, यी कुरा छाड् । यो बता आज कति वटा चरा मारिस् ? जङगलमा चरा कम थिए । एकछिन उसको पछिपछि लागेपछि मैले रूपबहादुरलाई नजिक बोलाएर सोधेँ, ए भाइ, चरा भेटिँदैन ? खै मास्साप् के भन्नु ? चराहरू केटा र केटी सब विदेशतिर लागेभैmँ भागिसके । सहरको हल्लीखल्लीले यताका रूखमै चरा बस्न छाडे । उसले मलाई मास्साप् भन्यो । कारण यो थियो, टोलछिमेकका तल्ला क्लासका केटाकेटीलाई हामी माथिल्ला क्लासका विद्यार्थीले जाँच नजिक हँुदा स्वम्सेवी भएर पढाएका थियौँ । हामीलाई आर्थिक लाभ र लोभ थिएन तर तिनका अभिभावकले केही अर्थ सङ्कलन गरेर हामीलाई चियाखाजा खान दिएका थिए । पैसा अस्वीकार्य थिएन, पैसा स्वयम् पासमा आइरहेको छ त अस्वीकार किन ?
मलाई चरा मार्ने रहर त थिएन तर मैले सहज तालले रूपबहादुलाई भनेँ, भाइ हेरूँ त तेरो गुलेली ? उसले नअनकनाई मेरो हातमा गुलेली थमाइदियो र तीनवटा मट्याङ्रा पनि । मैले गुलेली वल्टाईपल्टाई हेरेँ । गुलेलीमा रगत लतपताइएको थियो । रगत सुकिसकेको थियो । मैले त्यो रगत देखाउँदै भनेँ, भाइले त धेरै चरा मारिसकेको रहेछस् । ऊ हाँस्यो मात्र । प्रमाणित भइरहेको कुराको जबाफ दिन जरुरी सम्झेन । मैले एकछिन गुलेलीको निरीक्षण गरेपछि माथि रूखतिर हेरँे । रूखमा चरो थिएन । रूख हाँगाहरूमा फस्टाएको थियो र पातले झ्याम्म थियो । तर चरो थिएन र रूखे सुनो र बाँझो लागिरहेको थियो । म र ऊ एकछिन जङ्गलको परिव्रmमा गरिरह्यौँ र संजोगवश एउटा चरो रूखमा आएर बसिसकेको थियो, फुर्वंmदै पनि थियो । पुच्छर हल्लाउँदै चिर्बिरे गान पनि प्रस्तुत गरिरहेको थियो । मास्साप, उः चरो, रूपबहादुरले चराजत्तिकै चहकिँदै तर स्वर दबाएर भन्यो । यति राम्रो सिकार छाड्नु भएन । मैले उसको आशय बुझेर गुलेलीमा मट्याङ्रो राखेँ, माथितिर ताकेँ । मास्साप्...रूपबहाद्रले सानो स्वरमा मलाई चेतायो । उसले भन्न चाहेको थियो, गुलेली मलाई दिनोस् । म एकसुरमा थिएँ । एउटा नैराश्यले मलाई हुटहुटाइरहेको थियो नै, गुलेली नदे, तैँ मार् चरा, कानमा खासखुसे स्वरमा कसैले भन्यो, केही नभए हत्याले भए पनि मन स्थिर गराउला । मन स्थिर नभए पनि नैराश्यको निकास त भेटिएला, केहीछिनका लागि भए पनि ।
सोच्दै पनि थिएँ, जीव हत्या ठीक छैन । तर मैले गुलेली चरातिर ताकेर मट्याङ्रो छाडिसकेको थिएँ । चराको दुर्भाग्य, मट्याङ्रो उसको छातीमा बजारिन पुग्यो । चरो अर्को सास फेर्न नपाउँदै स्वाट्टै तल भुइँतिर खस्यो । टिपेर हेर्दा चरो मरिसकेको रहेछ । मार्न नै गुलेलीले ताकेर हानिएको थियो । रूपबहादुरले भन्यो, आज यसको काल आएको रैछ र त यता जङ्गलतिर आयो । मैले पनि चरोलाई हातमा लिएर हेरँे । चरा निष्प्राण भइसकेको रहेछ । मलाई यस्तो लाग्यो कुनै अनर्थ गरेँ मैले । निस्सीम आकाशमा निरापद उडीउडी विचरण गर्दै हिँड्ने एउटा निरीह निर्दोष प्राणीको मैले हत्या गरेँ, बध गरेँ । चरो लिएको मेरो हात कामिरहेको जस्तो लाग्यो । मास्ससाप तपार्इंका हात कामिरहेछन्, रूपले भन्यो । आजभोलिका केटोकेटी कति सहजै निरीक्षण गर्न सक्छन् । भन्यो, सन्च छैन कि ? चरोको निर्जीव शरीर मेरो हत्केलामै थियो, कामिरहेका हातले वल्टाईपल्टाई हेरेँ । एउटा पापबोध उदायो मभित्र, पश्चात्तापमिश्रित । चरो रूपबहादुरले मेरो हातबाट कति बेला लगिसकेछ । पोलेर खायो होला र अर्को दिन ऊ फेरि गुलेलीले चरो मार्न निस्कने हो, त्यो पक्का छ । दया छैन । म पनि यतै पङ्गलमा विचरण गर्न आउनु ठीक लाग्यो । दिनको केही नभए एकदुई चरा मार्न सकेँ भने भित्रको बाक्लो नैराश्य पातलिने थियो कि ? हत्याले नैराश्यलाई उपचार नि सक्ला भन्ने लाग्यो ।
त्यस दिन मात्रै राति निद्रामा एक किसिमको विचारका किरिङमिरिङ गतिविधिले मलाई झस्काइरह्यो । कतिकति बेला चरोले मेरो निद्रा तिखो ठोँडले ठुङिरहेजस्तो पनि लाग्यो । अर्को दिनदेखि मैले जति चरा मारे पनि मनमा खुसी मात्र हुन लाग्यो, पश्चात्ताप उदाएन । तर हत्याको अन्त्य थिएन । आमाले पनि बाले पनि मेरा लागि केटी खोज्ने कामलाई बिराम दिएका थिएनन्, केटी पाइए पनि नपाइए पनि म रूपबहादुरको पछि लागेर चरा मार्नमै तल्लीन रहन्थेँ तर जोगीहरूले मन्दिरछेउको टिनको टहरोमा धुनि बालेर डेरा जमाएका दिन म उनीहरूसँगै गाँजा तानेर पराल ओछ्याएको भुइँमा मस्त पल्टिरहन्थे । राति घर फर्कन पनि पर्दैनथ्यो । मैले घरमा भन्थेँ, जोगीहरूसित भजन गर्नमा तल्लीन रहन्छु । बाले भन्थे, कतै जोगी नभएस् । त्यो सम्भावना पनि थियो । एकाएक म यो सोच्न सक्थेँ, चरा मारेर हिँड्नुभन्दा जोगी हुनु बेस हुन्छ । जोगी भएपछि न बिहेका लागि केटी पाइएन भन्ने चिन्ता, न घरगृहस्थी भएन भन्ने पिरलो, न बाआमाको ताप । छोरो जोगी भएपछि उनीहरूको परत्र पनि सुध्रिन सक्थ्यो । त्यसैले त्यस दिन जोगीहरूका पछि लागेर म उनीहरूलाई रेलमा चढाउन सीमापारि गएँ । बाटामा भन्सार र प्रहरी चौकी पथ्र्यो । त्यहाँ कुनै परिचितले सोध्यो, कुम्लोकुटुरोबिना यी जोगीहरूका पछि लागेर कता नि । बिहे नभएको झोँकमा कतै जोगी हुन त हिँडिएन ? मैले सुख्खा हाँसो मिसाएर पहिलेदेखि तयार पारेको जबाफ दिएँ, बाबाजीहरूलाई तीँ पारि रेलवे स्टेसनसम्म पु¥याएर बिदाबारी गरूँ भनेर नि । धेरै दिन भयो सरसङ्गत गरेको । छोड्न मन लागेन । सोध्नेले भन्यो, अनि बिहे भएन भने जोगी हुन पनि बेर लाइँदैन । मैले भनेँ, बाटामा मनले पैmसला ग¥यो भने उतैबाट उतै जान पनि सकिन्छ । त्यो व्यक्तिले मलाई शङ्काले हेर्दै चुरोट तान्दै ग¥यो । भन्सार चेक गर्ने कुरो पनि भएन । जोगीहरूसित धेरै भए गाँजा हुन सक्थ्यो । जोगीहरू घूस दिँदैनन् । म त बिनाकुटुरोपन्तुरो रित्तै थिएँ । उसले यस्तालाई रोकेर टाइम बरबाद गर्नु छैन भन्ने भावले चाँडै जाओ भनेर हत्केलोले हम्केभैmँ इसारा ग¥यो ।
पारि पुगेपछि स्टेसनमा हामी रेलगाडी कुरिरह्यौँ । जोगीहरूले मलाई आग्रहपूर्वक फर्की पनि भने । मेरो मनमा अर्कै कुरो खेलिरहेको थियो । जोगीहरूसँग लागेर जाऊँ कि ? कता जाने हो त्यो जोगीहरूले पनि भनेका थिएनन् । जोगीहरूको जात नसोध्नू भन्थे ठेगान पनि सोध्न हुँदैन पनि भन्थे । मैले जोगीहरूले भैmँ जीउभरि खरानी घसेर हिँड्नु ठीक ठानेँ । आमाबाले छोरो हरायो भनेर शोक गर्लान् र दीर्घकालको शोकले शनैःशनैः मृत्यु वरण पनि गर्लान् । तर संसार मायाजाल हो भनेर जोगीहरू अलख जगाउँथे । मैले पनि मनमनै भनेँ, वास्तवमा संसार मायाजाल नै हो । को आमा को बा ।
स्टेसन मास्टरले मातहतकालाई ट्रेन आएको सूचना दिन घण्टी बजाउन भन्यो । केहीबेरमै उताबाट सिटी दिँदै सलल बग्दै गाडी रेलवे स्टेसनभित्र छि¥यो । गाडी धेरै बेर रोकिँदैनथ्यो । एकपछि अर्को गर्दै जोगीहरू यात्रीहरूलाई पेल्दैठेल्दै पालैपालो त्रिशूल र चिम्टा बजाउँदै डिब्बाभित्र छिरे । म अन्यमनस्क भएर ढोकाको छेउमा केहीबेर उभिएको मात्र थिएँ, गार्डले हरियो झन्डी देखायो र गाडीले सिटी दियो । अनि बिस्तारै ब्रेक मुक्त हुँदे पाङ्रा गुड्न थाले । एकछिन सोचेँ, जीउभरि खरानी घसेर एउटा लङुटीमा म कस्तो देखिउँला ? त्यस्तो देखिने मलाई कसले चिन्ला ? मलाई चिन्ने कोही हुने छैन । परिचय खरानीले ढाकेको हुनेछ । यो संसार असार छ, जोगीहरू त्यही भन्थे । मभित्र जोगीहरूको प्रभाव बोल्यो । म एक्कासि निर्णयमा पुगेभैmँ ढोकाका डन्डी समातेर डिब्बाभित्र छिरेँ । जोगीहरू मलाई देखेर अलि चकित भए । म भित्र थिएँ र गाडीले गति समातिसकेको थियो । फर्कने सवालै थिएन भने हुन्थ्यो । तर जोगीहरूका बीच आपूm अटाउन सकिएला भन्ने लागेन र कुद्न थालेको ट्रेनको ढोकाबाट बाहिरको खुल्लातिर हामफालेँ । यो मेरो तन्द्रा थियो गाँजाको । टङेन एउटा खोलोको पुलबाट गुज्रिरहेको थियो । एक्कासि सांसारिक हुन मन लाग्यो । तर फेरि ट्रेनबाट कुद्ने मामिला थियो । गति लिएपछि ट्रेन हावामा बिलाउँलाभैmँ दौडिरहेको थियो । संसार अर्कैतिर सर्दै थियो । बेमतलब मैले यो सोचेँ म जन्मे हुर्केबढेको रमाइलो संसार छुट्दै छ र फर्कन नसकिने भएकोमा अब पछुतो गर्न पनि सकिन्न ।
तर मनले भनिरहेको थियो म फर्कन चाहन्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।