18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘नग्न स्वप्न’मा एक नजर

कृति/समीक्षा सीता रेग्मी May 16, 2024, 12:14 am
सीता रेग्मी
सीता रेग्मी

साहित्यकार कृष्ण बजगाईंको ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रह पढिरहँदा साँच्चै सपना नै देखिरहे जस्तो हुने रहेछ । सङ्ग्रहका अधिकांश कथाहरु स्वरै कल्पनामा आधारित छन् । कुनै सपना देखेर ब्युँझिएका, कुनै भविष्यको कल्पनामा डुबेका, कुनै बिगतमा हराएका कथाहरु छन् । सङ्ग्रहका सबै कथाहरुले पाठकलाई बाधेर अन्त्यसम्म पुर्याउन सफल छन् ।

उहाँका कथाहरुमा भविष्यको चिन्ता, वातावरणप्रतिको सचेतता, नेपाली राजनीतिप्रतिको तिक्तता र गहिरो चिन्ताहरु आएका छन् । श्रीमान् र श्रीमती बीचको सम्बन्धमा धन, पैसाले पार्ने असर, उत्तरआधुनिक समाजमा श्रीमान् र श्रीमतीको सम्बन्ध दिगो नहुने कुराहरु र धेरै कथाहरुमा पूर्व श्रीमान्, पूर्व श्रीमती, पूर्व प्रेमी जस्ता पात्र उभिएर प्रष्ट पारेका छन् । विवाह अघिको सम्बन्ध शितल हुने विवाहपछि त्यही सम्बन्ध ताप हुने कुरा आएको छ । यस कृतिका अधिकाशं कथाहरुले मानवलाई यान्त्रिक र औपचारिकतामा बाधेको, मानवता र भावनात्मक सम्बन्ध हराउँदै गएको कुरा गहिरो चिन्ता बनेर आएका छन् । त्रिकोणात्मक प्रेम सम्बन्ध, प्रेमीका एउटी, श्रीमती अर्की हुदाँ पनि तीनै जना बीचको सम्बन्धमा जोडिएको नातालाई भन्दा भावनात्मक सम्बन्धमा मिठास हुने आदर्श कथामा पाइन्छ ।

वैवाहिक सम्बन्धहरु सम्बन्ध बिच्छेदपछि समाप्त भए पनि भावनात्मक सम्बन्ध रहिरहने, विगतमा आफ्नो पतिको पहिलो विवाह भएर सम्बन्ध विच्छेद भएको र त्यो पछि पनि उनीहरुबीचको भावनात्मक सम्बन्ध जीवित रहेको कुरा वर्तमान बैधानिक सम्बन्धमा रहेकी श्रीमतिलाई असह्रय हुने कुरा देखाईएको छ । युगले निम्त्याएको भर्चुअल सम्बन्धमा विश्वास गर्दा आमाको पूर्व प्रेमी छोरीको बहालवाला प्रेमी बनेर आएको लघुकथा पनि छ ।

विश्वव्यापी रुपमा फस्टाउँदै गएको समलिङ्गी विवाह र त्यसबाट पर्नसक्ने असर सहितको विषय एउटा कथा आएको छ । एउटी महिलाले धरै पुरुषहरुसँँग विवाह गर्ने मन तर नपर्ने बित्तिकै उसलाई लखेट्ने गरेको कुराले स्थान पाएको छ । यस लघुकथामा महिलालाई शक्तिशाली पात्रको रुपमा उभ्याएको छ । सम्बन्धहरुको धमिलो जालोमा जेलिएको जीवन कष्टप्रद हुने तर सम्बन्धमा स्वच्छता रहेमा मानिस पनि स्वच्छ र निरोगी हुने कुरा आएको छ ।

यस कृतिमा आएका राजनीतिक विषयबस्तुको लघुकथामा नेपाललाई एक गरिव मुलुक, जहाँ जनता जति सबै गरिब र नेता जति सबै धनी हुने भएकोले सबै जनताको धनी बन्ने पालो कुर्दाकुर्दै जिन्दगी बित्ने कुरा उठाईएको छ । समस्यापुर लघुकथामा नेपाली राजनितिक संस्कारलाई देखाएको छ । जहाँ मुलुकका समस्यालाई उच्चपदस्थ व्याक्तिहरुले कमाईखाने भाँडो बनाएको कुरा उल्लेख छ । आयोजनाहरु छनोटमा हुने अनियमितताले उच्चपदस्थ व्यक्तीहरु लाभान्वित हुने तर लाभको भागवण्डामा चित्त नबुझे आयोजना नै अलपत्र छाड्ने कथा छ । नग्न स्वप्न लघुकथामा प्रहरी र तस्कर, अपराधी र न्यायधिश, मन्त्री र कर्मचारी सबैको मिलेमतोमा जनता मर्ने गरीको भ्रष्टचार, महँगी, तस्करी, कालो बजारी फस्टाउने गरेको कुरा आएको छ ।

ठगी, कालोबजारी, भ्रष्टाचार मौलाएको हेरेर बस्ने पार्टी र नेताको गुणगान गाउने कार्यकर्ताप्रति आक्रोश व्यक्त गरिएको लघुकथा छ । राजनितिमा पद पाएकी महिलाले आफ्नो श्रीमानलाई सानो देख्दा उनमा भ्रमपूर्ण सोचको विकाश भएको कथा छ ।

संसद, राजनीतिक पद धारण गर्नु भनेको सर्वसाधारणलाई मिठो सपना देखाईरहने लाईसेन्स मात्र हो भन्ने कुरा लाइसेन्स लघुकथामा आएको छ । मेरो पालो आयो भने राज्यमा कायापलट गर्छु भन्नेले आफ्नो पालो आएपछि रंग फेरेको कारण सर्वसाधारणको जीवनयापन अझ कष्टकर बनेको कुरा प्रति लेखकको ध्यान गएको देखिन्छ ।

देशमा गरीखाने बाटो नभेटेर शरणार्थी हुन पुगेको व्यक्तिले मातृभूमीप्रतिको सम्मान गुमाउनु भन्दा आफ्नो ज्यान गुमाउन विवश भएको मार्मिक घटना शरणार्थी लघुकथामा पढ्न पाइन्छ ।

महिलाहरुले महिलालाई नै विश्वास नगरेको कथाले कतै महिलाहरु आफैमाथिको विश्वास पो गुमाउँदै छन् कि भन्ने आशंका आइमाई लघुकथाले उब्जाएको छ । आफ्नै मनलाई नियन्त्रणमा राख्न नसक्दा त्यसले निम्त्याएको दुष्परिणाम आफैले भोग्नुपरेको अर्को रोचक कथा छ ।

वातावरण ह्रास सम्बन्धी शक्तिशाली कविता सुनाएर उद्योगपति, व्यापारी, लगायतप्रति आक्रोश व्यक्त गर्ने कविहरु उनै उद्योगपति, व्यापारी, लगायतका व्यक्तीका हातबाट पुरस्कार थाप्दा उनीहरुप्रति कृतज्ञ भई शिर निहुराईरहेको कथाले कथाकारको वातावरण प्रतिको चिन्ता र चासो प्रष्ट पारेको छ । यसै गरी लेखकले सुन्दर प्रदुषणरहित शहरको कल्पना गरेको लघुकथा पनि छ ।

लेखेर जीवन चलाउने लेखकले बाध्यतामा आफ्नो लेखनी बेच्नु परेको र नक्कली लेखकलाई वास्तविक लेखकको मृत्युले असह्य भएको कुरा रहस्यमय तरिकाले प्रस्तुत गरिएको छ । लघुकथा पढ्ने पाठकहरुका दृष्टिमा कथालाई पूरा नै नगरी बीचैमा छाडेको भन्ने लेखकप्रतिको असन्टुष्टी लघुकथा बनेर स्थान पाएको छ ।

समग्रमा उहाँका लघुकथामा उत्तरआधुनिक युगमा देखिएका व्यक्तिगत समस्या, पारिवारिक सम्बन्धको जालोले निम्त्याका समस्या, मानवीय सम्बन्धमा देखिन थालेको यान्त्रिक झुकाव, सामाजिक रुपमा बढ्दै गएको प्रेमको व्यापार, लेखकप्रतिको सामाजिक दृष्टिकोण र लेखकको बाध्यता, नेपालको राजनीतिक व्यवस्थाप्रतिको चिन्ता र चासो, गरिबीलाई एजेण्डा बनाएर सिमित लाभको लागि गरिने गरिबीको व्यापार लगायतका विषयबस्तुलाई आकर्षक शैलीमा यस कृतिमा प्रस्तुत गरिएको पाईन्छ ।

नेपाली लघुकथाहरुलाई छोट्याउने, एउटै संरचनामा ढाल्ने, सिद्धान्तको रट लगाउने परिपाटी चलिरहेको परिप्रेक्षमा उहाँका लघुकथाहरुमा एकनासको लम्बाई पाईन्छ । उहाँका सबै जसो लघुकथाहरु २०० देखि ३०० शब्दका छन् । भाषा शैली सरल र सरस छन् । लेखकको कल्पनाशिलता निकै पर परसम्म पुगेको देख्न पाईन्छ ।

थुप्रै साहित्यिक कृतिहरु प्रकाशित गरिसक्नु भएका लेखक विदेशी भूमिलाई कार्यथलो बनाएर पनि नेपाली साहित्य मार्फत नेपालको चासो र चिन्ता गरिरहनु हुन्छ । आदरणीय श्री कृष्ण बजगाईं सरलाई यस्तो उत्कृष्ट कृतिको लागि हार्दिक बधाई तथा भविष्यमा अझ उत्कृष्ट कृतिको अपेक्षा गर्दछु ।

सुन्दरहरैँचा, मोरङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।