17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खुराफाती !

हास्यव्यङ्ग्य गायत्री लम्साल May 17, 2024, 9:54 am
गायत्री लम्साल
गायत्री लम्साल

वनपाती, तितेपाती लगायत अन्य जुनसुकै पातीको भन्दा भिन्न स्वाद, भिन्न विशेषता बोकेको पातीको नाम हो खुराफाती । बिरामी हुँदा तितेपातीको स्वाद नरुचाउनेहरुले पनि खुराफातीको स्वाद रुचाउँछन् । महभन्दा मिठो, मनभन्दा छिटो, जाउलो भन्दा लिटो हुन्छ खुराफाती खान्की । उमेर समूहमा चारखुट्टे, दुईखुट्टे लगायत तीनखुट्टे सबै मान्छेले रुचाउँछन् यसलाई । खुराफाती सम्पत्ति न कसैले चोर्न सक्छ, न कसैले हर्न सक्छ, विद्यारुपी ज्ञानभन्दा बढी मूल्यवान हुन्छ यो खुराफाती धन ।
भेज, ननभेज सबैको स्पेशलमा मिल्ने, सानो ढोका वा झ्यालबाट सजिलै छिर्ने, रित्तै वा निकै हेभी भारी बोक्नेले पनि भिर्ने कमालको चिज, वस्तु हो यो खुराफाती । मलिलो मन, रुखो मन, बाँझो मन, नौनी घिऊ जस्तो मन, ढुङ्गा जस्तो मन लगायत सबै खाले मनहरुमा मलक्कै मल्किने माल हो यो खुराफाती । भोको पेटमा पनि खान सकिने, अघाएको पेटमा पनि थप्न सकिने साह्रै लचकदार हुन्छ यो ।
खुराफातीको स्वाद चाखेपछि यसलाई छोड्न सकिँदैन । रक्सी खानेले रक्सी छोड्न सक्छन्, चुरोट तान्नेले चुरोट तान्न छोड्छन् तर अहिलेसम्म खुराफाती चाखेपछि कसैले छोडेको भेटिएको छैन । बरू यसको मात्रा दिन प्रतिदिन थप्दै लैजान्छन् । भोकमरी लागोस् कि अन्य कुनै सरुवा रोगको प्रकोप फैलियोस् यसलाई केहीको पनि प्रवाह पर्दैन । जस्तोसुकै भोकमा, जस्तोसुकै शोकमा स्वात्तै पारिदिन्छन् खुराफाती ।
मुलुकमा लोकतन्त्र, शोकतन्त्र, झोकतन्त्र, ठोकतन्त्र, प्रजातन्त्र लगायत अन्य दुई बीस वटा तन्त्र आइसकेपछिको कुरा हो । सरकारको मन्त्री परिषद्को मन्त्रीमण्डलमा झ्यापझ्याप्ती मन्त्री आइपुगे । कहीँ कसैले नाम नसुनेका । कोही स्टेजमा गीत गाउँदा गाउँदै, कोही जुठेल्नोमा भाँडा माझ्दामाझ्दै । सबै अचम्म, चकित परियो । नागरिकका भोट र नोट पाएकाहरु कहाँ पुगे कसैलाई पत्तोफाँट नै भएन । बाउको थातथलो बेचेर जन्मेदेखि राजनीति गर्नेहरुको सत्तेनाश भयो । कलिमा बली चढे विचराहरु ।
के कसरी नाम नै नसुनेका मान्छेहरु मन्त्री भए भनेर पाँच सदस्यीय छानविन समिति गठन भयो । त्यो समितिले एघार दिनसम्म सूक्ष्म खोजतलासी गरेपछि बल्ल एकाएक मन्त्री हुनेहरुको गाँठी कुरो फेला प¥यो । कुरा के रहेछ भने उनीहरुको घर परिवार लगायत आफन्त सबैले खुराफातीको हतियारबाट एकैपटक मन्त्रीमा छलाङ् हानेछन् । कमालको काम गरी बबाल बनाउन एक नम्बरकै छ यो । छानविन समितिको रिपोर्ट पछि यसको करामत, यसको क्षेत्राधिकार व्यापक वृद्धि हुँदै गइरहेको छ । जिम्मावाल बाउको कान्छो छोरो म । पढेर सरकारी वा सरकारी सरह जागिर खाने धोको अहिले होइन जुँगासँगै पलाउन थालेको हो । त्यही धोकोको पोको बनाउन एक दश वर्षसम्म टुप्पी बाँधी बाँधी पढेँ । अहिलेको जस्तो आधुनिक जमानामा पनि डेटिङ्को सेटिङ्मा कहिल्यै भुलिनँ । कन्या, कुमारी, श्रीमती कुनै मैयाँहरुलाई पनि हेरिनँ । पढ्नलाई किताब किन्दा किन्दा सानो सानो क्याम्पसको लाइब्रेरी जत्रै लाइबे्ररी घरमै खडा भयो ।
मेहनतको फल मिठो हुन्छ भन्थे । हो रहेछ । धेरै पटकको परीक्षामा सामेल भएपछि एक पटक सरकारी जस्तै जागिरको लिखित परीक्षामा एक नम्बरमा नै नाम निकालँे । त्यसपछि झन् अठार घण्टा अन्तर्वार्ताको तयारी गरँे । अन्तर्वार्तामा सोधेका प्रश्नको सही सही जवाफ दिएँ । बिडम्बना रिजल्ट आउँदा भने फेल हुनेको पहिलो नम्बरमा म नै रहेछु । अचम्मको बेचैनी बढ्यो । केही दिनको समय लगाएर फेल हुनुको कारण पत्ता लगाउने काममा लागँे । धेरै सोधखोजको प्रयास पछि पत्ता लाग्यो । फेल हुनुको प्रमुख कारण खुराफातीको ज्ञान नभएर रहेछ ।
छोटो समयमा लामो प्रगति गर्नलाई अचुक औषधी रहेछ यो खुराफाती । सोझो औँलाले घिउ नआएजस्तै खुराफाती नभएदेखि सायद आउने कुरा सबै विरलै हुन्छ । हाम्रो घर नजिकै एक जना निकै वरिष्ठ कवि हुनुहुन्छ । उहाँले देवकोटाले जस्तै निकै मिठो कविता लेख्नुहुन्छ । सोझो हुनुहुन्छ विचरा । मिठा– मिठा कविता लेख्ने ज्ञान बाहेक अन्य खुराफाति ज्ञान नहुनाले गर्दा उहाँलाई कसैले सोधपुछ गर्दैनथ्यो, कविका कुनै गुट उपगुटमा उहाँ पर्नुहुन्नथियो । पोहोरसम्म उहाँ गुमनाम हुनुहुन्थ्यो ।
पोहोर सालको एक दिन म पसलमा चिया पिउँदै थिएँ । उताबाट तिनै कविज्यू गलामा माला र दोसल्ला अनि झोलामा सम्मान पत्र साथै पुरस्कार रकम बोकेर लुखुरलुखर आउनुभयो । मैले उहाँलाई चिया मगाउँदै सोधेँ– के को सम्मान हो कवि महोदय ? उहाँले आआफ्नै जिल्लामा स्थापना भएको साहित्यिक संस्थाले आफूलाई राष्ट्रिय स्तरको पुरस्कार र सम्मान गरेको भन्नुभयो । धन्न मैले देखेँछु विचराको सम्मान, नत्र भने त गाउँकाले मात्र पनि थाहा नपाउने । कुनै रेडियो, टि.भी., अखबारका पाना त छोडौं फेसबुकका पानामा पनि नआउने । अनि मैले पनि अलिकति खुराफात गरेँ, कविजीलाई त्यो साँझ झम्केझोल सहितको नास्तापान गराउन लगाएर उनको खादा मालासहितको फोटो फेसबुकमा प्रकाशित गरिदिएँ । त्यसपछि त हाम्रो टोलभरि उहाँको नाम चम्किहाल्यो नि । ल हेर्नुस्, खुराफातको कमाल ।
त्यसैको एक वर्ष पछि अर्को पसलको पल्लो छेउमा कार्यक्रम हल थियो । हलभित्र थुपै्र मानिसहरुको भिड लाग्न थाल्यो । पत्रकारहरुको ओइरो लाग्यो । युट्युबकर्मी, लोकल टेलिभिजनकर्मीहरुको पनि उस्तै तछाडमछाड । चिया पसलकै टि.भी. मा प्रत्यक्ष प्रसारण शुरु भयो । फल्नो साहित्यकारलाई फल्नो पुरस्कार र सम्मान । मलाई अनौठो लाग्यो । म साहित्यमा अलिअलि रुचि राख्ने मान्छे । त्यत्रो ठूलो पुरस्कार र सम्मान पाउने कविको नाम कहिल्यै सुनेको थिइनँ । कार्यक्रम सकिएपछि थुपै्र मिडियाले ती नचिनिने कविको अन्तर्वार्ता लिन थाले । अन्तर्वार्ता दिँदादिँदै आत्तिएर असिना पसिना भए कवि महोदय ।
मलाई मन भित्रभित्रै खुल्दुली लाग्यो । अनि चिल्लो कारमा हुँइकिन लागेका कविलाई एकछिन रोक्दै सोधेँ । कवि महोदय, पोहोरसालका कविले यही पुरस्कार र सम्मान पाउँदा कसैले कुनै मिडियाले केही भन्ने, सोध्ने, लेख्ने केही पनि गरेनन् तर हजुरलाई यति सा¥हो किन ? मेरो प्रश्न मुखबाट खस्न नपाउँदै कविज्यू कड्कीहाले । ‘पोहोर उनले पाएको जिल्ला स्तरीय पुरस्कार हो । अहिले मैले पाएको राष्ट्रिय स्तरको पुरस्कार र राष्ट्रिय स्तरकै सम्मान हो त्यसैले ।’
उनको उत्तरले मेरो खुल्दुलीको घैंटामा घाम पटक्कै लागेन । सोध्दैखोज्दै ती नयाँ कविज्यूको घरठेगान पत्ता लगाएँ । उनको घरकै नजिक घर भएका एकजना ज्योतिष बाजेकोमा पुगँे । ज्योतिषी बाजेसँग भलाकुसारी गर्दा बल्ल कुरा खुल्यो कि कविज्यूको सम्मान र पुरस्कारको महिमा । उनको भाइ पत्रकार, दाइ राष्ट्रिय दैनिक पत्रिकाको सम्पादक, श्रीमती टेलिभिजनकर्मी, भाउजू समाचारवाचक लगायत अन्य आफन्त सबै फेसबुककर्मी रहेछन् । त्यसमाथि थप खतरनाक खुराफात रहेछ, पुरस्कार, सम्मान, कार्यक्रम आयोजना खर्च सबै उनै राष्ट्रिय प्रतिभाले व्यहोरेका । हत्तेरिका खुराफात ।
जुनसुकै समयमा जस्तोसुकै बेलामा जो कोहीमा पनि आवश्यकता पर्नासाथ सजिलै पलाउँदो रहेछ यो खुराफाती ज्ञान । खुराफाती कुन युगमा कसको पालामा, कसरी पत्ता लाग्यो भन्ने कुराको रहस्य खोज्दै जाँदा ठ्याक्कै त मैले पनि फेला पारेको छैन । फेलापारेको भए त पिएचडी गर्ने उचित विषय नपाएरै नगरी बसेको मैले यसैमा शोधपत्र लेख्न थाल्दो हुँ । ठ्याक्कै तथ्य फेला नपरे पनि सत्य चाहिँ यसो भएको हुनसक्छ । ब्रम्हाले मान्छे श्रृष्टि गर्दा नै उसको मनभित्र खुसुक्क खुराफाती रस पनि घुसाइदिएको हुनसक्छ । हुन त ब्रह्मा पनि कम खुराफाती थिएनन् । विचार गरी ल्याउँदा इन्द्रकै पालादेखि, विश्वामित्रकै पालादेखि, कुन्ति कै पालादेखि, कृष्णकै पालादेखि–उहीबेला देखि नै यो खुराफातीय परम्परा चलेर आएको रहेछ । गजब के भने, यो खुराफातीको पढाइ कुनै विद्यालय, महाविद्यालयमा हुँदैन । तर पनि हामी सबै यसमा पारङ्गत छौँ । खुराफाती ज्ञानले परिपूर्ण छौँ ।
खुराफाती ज्ञान हुनेको बोलीमा सूनको झोली हुन्छ तर नहुनेको बोलीमा नूनको झोली पनि फेला पर्दैैन । यस फातीमा दक्षता हासिल गर्नेले भुसलाई मसला बनाएर बेचिदिन्छन् । सिङ्गो मुलुकलाई नै ढुङ्गा, माटो, गिटी, बालुवा र माटोमा धुल्याएर बेचिदिन्छन् । किरासित हिरा साट्दछन्, मह नै नकाड्ने पनि हात चाट्छन् । खुराफातीमा दक्ष, विज्ञ बन्न सकेमा पार्टी मोटाउँछ, जाती मोटाउँछ, पुस्तौँपुस्ताको नाती, पलाती, जनाती, खलाँती सबै मोटाउँछ । खुराफातीको खेती गरीगरी कलमको ‘क’ नपढी देश चलाउने मालिक बने । एउटै मान्छे पाँच पटक जन्मेर सर्वोच्च अदालतको सर्वोच्च बने । विभिन्न सिद्धान्त, गुट र उपगुटहरुका खलनायकहरु सहमतिका दस्तावेजमा एकजुट बने । महाभ्रष्टाचार गर्नेहरु भ्रष्टाचार हटाउने निकायको प्रमुख बने ।
नीतिहरुमा पनि राजनीतिभन्दा माथिको सर्वोत्तम नीति हो खुराफाती नीति । अहिलेसम्म कुनै नीतिले पछाडि पार्न नसकेको चाणक्य नीतिलाई पनि फिटीफिटी पार्छ यसले । खुराफातीमा विशेष विज्ञता हासिल गरेपछि पछाडि फर्केर हेर्नुपर्दैन । गन्यमान्य त सामान्य भए अन्य मूल कानुनका कुरालाई पनि टेर्नैपर्दैन । फटाफट जुनसुकै ठाउँमा सजिलै अगाडि पुगिन्छ, आफ्नो पालो कुर्नै पर्दैन, अगाडि–अगाडि हिँड्यो बाटोमा आची ग¥यो, गन्हायो भनेर पुर्नै पर्दैन ।
टुप्पातिर बसेर फेद काटेपनि सबै मिलेर उसलाई बचाउँछन् । लाज, घिन, सर्म लाग्ने काम गरे पनि सबैले पचाउँछन् । घमण्डी, अहंकारी, दूराचारी भए पनि ऊ सबैभन्दा ठूलो हुन्छ । इमान्दारिता, सदाचारिता, इज्जत र प्रतिष्ठा उसका लागि धूलो हुन्छ । विशेष गरी हामी नेपालीहरुलाई आफ्नो औकात, हैसियत, वातावरण, भौगोलिक अविस्थिति, आर्थिक अवस्था आदि सबै कुराले सुहाउने शिक्षा भनेको खुराफाती शिक्षा नै हो । प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म यसलाई शैक्षिक पाठ्यक्रममा राखिएन भने हाम्रो ज्ञान अपूर्ण हुन्छ, अपुरो हुन्छ । सूचना र सञ्चारको क्षेत्रमा जतिसुकै अगाडि फड्को मारे पनि यस खुराफाती ज्ञानमा फड्को मार्न सकेनौँ भने कुनैको अर्थ हुँदैन ।
इतिहासमा हाम्रा पुर्खाहरु वीर गोर्खाली भनेर चिनिएका छन् । अब यो विरासतलाई समय, परिवर्तन अनि आधुनिक शैलीमा रुपान्तरण गरी खुराफाती नेपालीहरु भनी चिनाउनु छ । सधैँभरि बुद्धको देश, सगरमाथाको देश मात्र कति भन्नु नयाँ शैलीमा, नयाँ ढङ्गमा, नयाँ आवाजमा विश्वले नेपाललाई खुराफाती फुल्ने र फलाउने देश भनेर चिनाउने हुनुपर्दछ ।
अहिले संघीयता कार्यान्वययनको सिलसिलामा केन्द्र, प्रदेश र स्थानीय तहसम्म एक–एक वटा खुराफाती मन्त्रालयको स्थापना हुनु जरुरी छ । दुई वटै तहका मन्त्रालय र प्रत्येक स्थानीय निकायमा एक–एक वटा खुराफाती विभाग स्थापना गर्न सक्यौं भने अहिलेको बेरोजगारी समस्या रातारात आधा घटाउन सकिन्छ । हाम्रा श्रमजीवी विदेशी युवाहरुलाई अन्तर्र्रािष्ट्रय विमानस्थलबाट फिर्ता ल्याई खुराफाती विभागहरुमा जागीर दिनु राम्रो हुन्छ । खुराफातीको महिमा बताउन हामी नेपाली साराका तीन करोड जिब्रोहरुलाई त धौ–धौ पर्छ भने यति सानो कलमले कसरी सकोस् ? वनमासाको झाडी जस्तै खुराफातीको झाडी यस्तै गरी बढिरहेमा मैले दिल फुकाएर उन्नाइसौँ पुराणको रुपमा खुराफाती पुराणको नयाँ आविष्कार गरौँला । जय खुराफाती ।

चिन्नेवास, स्याङ्जा नेपाल ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।