घाँसको भारी चाँपको रुखमा अडेस लाएर
साउने झरि जस्तै
बगेका पसिना पुस्दै
सालको पात टपक्कै टिप्छे , र थुचुक्कै बस्छे
कुवाको छेउमा।
चारैतिर बनमारा र तितेपातीले ढाकेको
केराघारी बिचमा कुवा बसेको
पातको दुना जस्तै बनाएर
पानी पिउँछे साँइली
पटुकीको छेउले पसिना पुस्छे अनि कुवाको पानी
दुई हातले अनुहारमा छ्याप्छे।
एकसरो चोलो
निथ्रुक्क भिजेको छात्ति
शितलताको अनुभूति गर्छे
बर्षेनीका छोराछोरीहरुले
चुसेका लाम्टादेखि
भोकले भित्र पसेको
भुँडिसम्म भिज्छ
कुवाको मीठो पानीले
थोरै भएपनि
भोक प्यास मेटिएको अनुभुतिले आनन्दको सास फेर्छिन साइँली।
पटुकिको छेउमा दस गाँठो पारेर बढो जतनले
राखेको सुर्ती झिक्छे
चियापत्तिको कशसरिको हातमा सुर्ती माडेर गिजामा च्याप्छे।
असिम पीडाका अनगिन्ति दिनहरु
अन्तहीन चिन्ताका अँनिदा रातहरुले जीवन धान्ने साँइलीको विवशता।
अनि त.....
दिनभरको प्रखर तापलाई
सपना जस्तै बिर्सिराखेर
तेजहीन मुहारलाई
साँझको मलिनतामा डुबाएर
आफ्नै हातदेखि
छुटिसकेको घामलाई
त्यो निरीह घामलाई
त्यो लाचार घामलाई
त्यो मलिन घामलाई
डाँडा पारी पुगेको घामलाई
सपनापारी पुगेको घामलाई
तटस्थ हेरिरहेछिन् संवेदनशील भएर
घाम डुब्दैछ
हो! घाम डुब्दैछ
सायद साँइलीको हातदेखि घाम छुटिसकेको छन् कि !