19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ठुलो भारी बिसाएँ

कथा विश्वराज अधिकारी May 21, 2024, 3:54 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

“आज ठूलो भारी बिसाएँ। तिस वर्षदेखि छातीमा एउटा ठूलो ढुंगा राखेको थिए। पछिल्लो पाँच वर्षदेखि त त्यो भारीले थिचिएर म उठ्न नै नसक्ने हो कि जस्तो पारेको थियो। आज त्यो ढुंगा छातीबाट उतारें।”
यति भनेर काकाले मतिर हेर्नु भयो। काकाले के भन्न खोजेको हो त्यसको भेउसम्म पनि मैले पाउन सकिन। अनुमान पनि मलाई लगाउन कठिन भयो। तर काकाको मुहार अति नै प्रशन्न एवं चम्किलो देखिएको हुँदा काकाले कुनै ठूलो खुसीको विषय भेट्नु भएको हो कि भन्ने अनुमान भने मैले गरें।
“यो गएको तिस वर्षमा आफू ठूलो स्वार्थी भएको मलाई अनुभूति भयो। सुख र सुविधाको लगि मैले के के गरिन? आफ्नो परिवार त्यागे। नाता सम्बन्धीहरू त्यागे। साथीहरू त्यागे। आफू जन्मे हुर्केको समाज त्यागे, जन्म स्थान त्यागे। आफूले पढेलेखेको शहर त्यागे। र अन्त्यमा, आफ्नो देश नै पनि त्यागे। फगत भौतिक सुविधाका लागि यी सबै अमूल्यकुराहरू त्यागे। त्येति मात्र हो र, आफ्नो परिचय, पहिचान सम्म पनि त्यागे। आफ्नौ मौलिकता आफ्नो राष्ट्रियतासम्म पनि त्यागे। सुख र सुविधाको लागि म कत्तिसम्म साँघुरो हुन पुगेको रहेछु। त्यो मलाई अहिले बोध भइ रहेको छ।”
काकाले भन्न क्रम जारि नै राख्नु भयो, “तर आज म त्यो भारिबाट सदाका लागि मुक्त भएको छु। त्यो लामो मानसिक पीडाबाट मुक्त भएको छु। यो गएको पछिल्लो पाँच वर्षको अवधिमा मलाई बोध भएको सर्वाधिक महत्वपूर्ण कुरा के हो भने शरिरीक पीडा जत्तिकै अति पीडादायी मानसिक पीडा पनि हुने रहेछ।”
काकाको यो पछिल्लो भनाईबाट उहाँले के प्रशंगमा के कुरा गर्न खोज्नु भएको हो भन्ने अनुमान लगाउने आधार मलाई दियो। काका लामो समयसम्म अमेरिका बसेर नेपाल फर्किनु भएको थियो। पछिल्लो पाँच वर्षदेखि उहाँ काठमाडौ बसिरहनु भएको थियो। काकाको बसाइ काठमाडौमा नितान्त एक्लो थियो। उहाँका परिबारका सबै सदस्यहरूको बसोबास अमेरिकाको विभिन्न शहरहरूमा थियो। दुई छोरीहरू मध्ये कान्छीको बसोबास लस एंज्लस थियो भने जेठीको न्यु योर्क थियो। सन्तानहरूमा सबै भन्दा कान्छो अर्थात छोराको बसोबास ह्युस्टन थियो। यहाँसम्म कि काकको पत्नी रमिता पनि अमेरिकामा नै कान्छी छोरीसँग बस्नु हुन्थ्यो। काकासँग नेपाल फर्किनु भएको थिएन। र काकाको भनाइ अनुसार काकीको नेपाल फर्किने इच्छा पनि देखिन्थेन। काका भने नेपालमा नै बस्ने, अमेरिका नफर्किने गरी आउनु भएको उहाँको कुराहरूबाट मैलै थाहा पाएको थिएँ। काकाका दाजु भाइ दिदी बहिनीहरूका परिवारका सदस्यहरू पनि लगभग सबै अमेरिकाका स्थाइ बसिन्दा भइसकेका थिए।
काकाले भन्नु भयो, “सरोज बाबु, बुझ्यौ?”
मैले तत्काल प्रश्न राखे, “के कुरा काका?”
“मेरो एउटा ठूलो इच्छा पनि पूरा हुने भयो।”
“के इच्छा काका?”
“म मरेपछि मेरो अन्त्येष्टी काठमाडौको पशुपति आर्यघाटमा होस। मेरो शरीर पशुपति आर्यघाटमा पञ्चतत्वमा विलीन हुँदा मेरो लाश आर्यघाटको ब्रह्मनालमा राखिएको होस।”
“त्यस्तो किन, काका?”
“मेरो आमाको र मेरो पिताको अन्त्येष्टी पशुपति आर्यघाटमा भएको थियो। म पनि मेरो अन्त्येष्टी मेरो मातापिता जस्तो होस भन्ने चाहन्छु। मेरो माता पिताको जसरी आफ्नो देशको धरतीमा जन्म र मृत्यु भयो त्यसैगरी मेरो जन्म र मृत्यु पनि मेरो धरतीमा होस भन्ने मैले चाहेको छु। अब म मेरो देशको धरतीमा नै मर्न पाउँछु भन्नेमा ढुक्क भए“ काकाले प्रष्ट पार्नु भयो।
मैले थाहा पाए अनुसार काका अमेरिकामा हुँदा उहाँको अमेरिकामा ठूलो कारोबार थियो। उहाँको बसाइ टेक्सासको डालस शहरमा थियो। डालस शहरमा काकाका पाच सात ओटा गैस स्टेसन थियो भने मोटेल पनि तिन चार ओटा थियो रे। नेपालबाट अमेरिका पढ्न पुग्नु भएको काका पढाइ सकिए पछि जागिर तिर लाग्नु भएन। आफ्नै व्यवसाय आरम्भ गर्नु भयो। व्यवसायमा ठूलो सफलता पनि हासिल भयो। तर पछि किन हो व्यापार, सफलता, पैसाबाट बिरक्तिनु भयो। अमेरिको सुविधायुक्त जीवन त्यागेर नेपाल फर्किने निर्णयमा पुग्नु भयो। आफ्ना विभिन्न व्यवसायहरू आफ्ना सन्तानहरूलाई जिम्मा लगाउनु भयो र केही बेच्नु भयो पनि। यस्ता अनेक कुराहरू मैले काकाको बारेमा सुनेको हो। काका नेपाल फर्केर उहाँको यो पाँचवर्षे बसाइ अवधिमा काकाको बढि उठबस मसँग नै भएको हुनु पर्छ।
“आज मकहाँ नै खान खाने, अनि सुत्ने पनि मकहाँ नै”, यतै भनेर काकाले दिउँसो नै मलाई फेसबुकमा मैसेज गर्नु भएको थियो।
म साँझ काकाको घरमा पुग्दा उहाँ आफ्नो घरमा एक्लै हुनु हुन्थ्यो। हुनत काका एक्लो नै बस्नु हुन्थ्यो त्यो घरमा। एक्लै बस्नका लागि सानो घर भए पुग्ने भएता पनि काठमाडौको बुद्धनगरमा उहाँले अमेरिकाबाट फर्किने बित्तिकै आठदस कोठा भएको दुइ तल्ले घर किन्नु भएको थियो। दुई सहयोगीहरू पनि नियुक्त गर्नु भएको थियो आफूलाई आवश्यक पर्ने सहयोग पाउनका लागि। पाहुनाहरूको निकै ओहर दोहर हुने काकाको घरमा त्यसदिन कुनै पनि पाहुना थिएन। काका नितान्त एक्लो हुनु हुन्थ्यो। सहयोगीहरू पनि बजारतिर गएका थिए। काकाको त्यो दिनको त्यो स्थिति संयोगवस थियो वा नियोजित, मैले त्यो थाहा पाउने प्रयास गरिन।
जीवनसँग ज्यादै ठूलो अपेक्षा नराख्ने र भौतिक सुख एवं सुविधलाई गौड मान्ने मेरो विचारसँग प्रभावित भएर हो कि काकाले मलाई बेला बेलमा आफ्नो निवासमा बोलाउनु हुन्थ्यो र मसङ्ग निकै बेर गफ गर्नु हुन्थ्यो। मैले भौतिक शास्त्रमा पिएचडी गरेता पनि, र अमेरिकी विश्वविद्यालयहरूमा अध्यापन गर्नका लागि ती विश्वविद्यालयहरूबाट मैले अनुमति पत्रहरू पाएता पनि, मेरा पाइलाहरू अमेरिकातिर बढ्न सकेका थिएनन। म अमेरिका जानै पर्नेमा भने मेरो परिवारको ठूलो दबाब ममाथि थियो।
काकाले पुन: भन्नु भयो, “मान्छेहरू कसरी विदेशमा आफ्नो पहिचान, संस्कृति, परम्परा आदि बिर्सेर, गुमाएर, बस्न सकेका होलान, त्यो सम्झेर पनि मलाई अहिले कहाली लाग्छ। र त्यो भन्दा पनि ठूलो कुरा त मलाई घोर आश्चर्य के मा लाग्छ भने रुखोसुखो खाएर भए पनि स्वदेशमा बस्न छोडेर केवल भौतिक सुखका लागि किन मान्छेहरू चरा जस्तो झुन्ड बनाएर उडके होलान विदेशको आकासतिर? आफ्नो र आफूले बनाएको गुड हामी नेपालीहरूलाई किन मन नपरेको होला? किन अर्काको र अर्काले बनाएको गुण मन परेको होला?”
केही छिन रोकिए काका ले पुन: भन्नु भयो, “हाम्रो नेपाली समाज मात्र र केवल, सुख सुबिधाका लागि सदाको निमित्त हराउने र लोप हुने क्रममा छ। नदीले समुन्द्रमा प्रवेश गरेर आफ्नो स्वत्व सदाको लागि गुमाएझै, हराएझैं, नेपाली समाजले पनि विदेश भूमिहरूमा प्रवेश गरेर आफ्नो स्वत्व हराउँदै छ, गुमाउँदै छ । त्यो पनि मात्र सुख सुविधाका लागि। सरल जीवनक लागि, अनेक विलासी वस्तुहरूको उपभगोगाका लगी। कति घोर आश्चर्यको कुरा। केवल सुख सुविधाको लागि आफ्नो स्वत्व नै, पहिचान नै, गर्व र गरिमा नै बिर्सनु? तिनको महत्व नदेख्नु? मुलुकसम्म पनि परित्याग गर्नु? हामी कस्तो घोर सुविधाभोगी युगकाम बाँचेको हो!”
मैल प्रश्न गरे, “कसरी काका?”
काकाले भन्नु भयो, “अमेरिकामा रहेका मेरा नातिनी र नातीहरूले मेरो परमाता र परपिता नेपालबाट आएको सम्म थाहा पाउँछन। तर उनीहरूलाई नेपालको परम्परा, संस्कृति थाहा हुने छैन। नेपालको इतिहास र भूगोल थाहा हुने छैन। उनीहरूले नेपाली भाषा बोल्ने छैनन। अनि मेरा नातिनी र नातीका नातिनी र नातीहरूलाई नेपाल भन्ने देश कहाँ छ पनि थाहा हुने छैन। उनीहरूको मातृ भाषा पनि अंग्रेजी हुनेछ। उनीहरू पूर्णरुपेण अमेरिकन हुनेछ। यसरी मेरै बंसका सन्ततीहरूको मनबाट नेपाल भौतिक र भावनात्मक दुबै किसिमले हराउने छ। मेरो बंश नै हराउने छ। तो पनि कुनै युदध वा ठूलो प्राकृतिक प्रकोपले गर्दा होइन, केवल सुख सुविधाका लागि, मेरो बंस अमेरिकाम स्थापित हुनेछ, नेपालमा लोप हुनेछ। अमेरिकामा अस्तित्वविहीन भएर, पहिचानविहीन भएर बाँच्ने छ। उनीहरूको नामा पनि दुर्गा, राधा, सीता, कृष्ण, राम, विष्णु होइन, पिटर, टिमोथी, मार्था, जेनिफर हुनेछ।”
मैले काकाका भनाई दमदार भएको अनुभूत गरिरहेको थिएँ। उहाँका कुराहरू निकै ध्यान दिएर सुनिरहेको थिएँ।
काकाले केही क्षण विश्राम लिएको र मौन बसेको देखेर मैलेले पुन: प्रश्न गरें, “काका, यो समयको बगाइ हो। तपाइँले यसलाई रोक्न सक्नु हुन्न। तपाइँले पनि समयसँगै बग्नु पर्ने हुन्छ, आम नेपालीहरू समयसङ्ग बगेझैं। होइन त?”
काकाले भन्नु भयो, “मेरा सन्तान-छोरा छोरी, नातिनी, नाती र नातिनी, नातीहरूका सन्तानहरू लाई मैले मेरो इच्छा अनुसार चल्न, नेपाल फर्क भन्न सक्दिन। यहाँसम्म के भने मेरो पत्नीलाई पनि मसँग नेपाल बस्न आउ भनेर बाध्य पार्न सक्तिन। तर म स्वयं त फर्किन सक्छु। हो, सोही अनुसार म अमेरिका पच्चिस वर्ष बसेर फर्के पनि। म अब नेपालमा नै बस्छु। म अब अमेरिका जान्न। मलाई भेट्न परे अब मेरा सन्ततीहरू नेपाल आउँछन। मन लागे आउँछन, मन नलागे आउँदैनन। यो उनीहरूको स्वेच्छ र स्वतन्त्रताको कुरा हो। यस विषयमा कसै उपर म दबाब दिन सक्तिन।”
मैले पुन: प्रश्न गरें, “अमेरिकाको सरल जीवन त्यागेर, समस्या नै समस्याले जेलिएको नेपालमा बस्न सक्नु हुन्छ काका?”
“सदाका लागि नेपाल बस्ने अठोट लिएर आउएको छु। नेपालमा नै बस्छु। फर्केर जान्न। यो मेरो दृढ निश्चय हो”, काकाले भन्नु भयो।
“काका ठूलो भारी बिसाएँ भन्दै हुनु हुन्छ अघि देखि। त्यो के सन्दर्भमा भन्नु भएको हो? प्रष्ट पारिदिनु हुन्छ कि?”, मैले आग्रह गरे।
काकाले भन्नु भयो, “ओहो, साँच्चिकै ठूलो भारी थियो त्यो। गएको पाँच वर्षदेखि त्यो भारीले मभित्र केवल ग्लानी मात्र जन्माएको थियो। म स्वार्थी भएको मलाई पल पल बोध गराएको थियो। सुख सुविधाको लागि म जे पनि गर्न तयार हुन्छ भन्ने कुरा बोध गराएर मलाई गिज्याइ रहेको थियो। तर अब त्यो भारि बिसाए पछि भने म अब मुक्त भएको छु। म अब, अहिले, स्वत्वले ओतप्रोत भएको छु।”
“काका छिटै प्रष्ट पार्नुहोस के भन्न खोज्नु भएको हो”, मैले व्यग्रता प्रदर्शन गरें।
मेरो आग्रहतिर गहिरो ध्यान दिनुको सट्टा काका केवल मौन बस्नु भयो। उहाँको मुहारमा सात सूर्यको प्रकाश फैलिएको मैले अनुमान गरें। उहाँको शरीरको भाषाले बोलीको भाषा भन्दा निकै धेरै कुराहरू भनिरहेको थियो। तर पनि मलाई अनुमान लगाउन कठिन भइरहेको थियो काका किन यत्ति धेरै खुसी भएको हो भनेर।
“काकीले पनि नेपाल फर्किने टुंगो गरेर यता फर्किन थालेको हो काका? अब उहाँ पनि तपाइँसँगै बस्न आउने थालेको हो काका? त्यसकारण तपाइँ यति खुसी भएको हो काका?” मेरो मुखबाट फ्याट्ट निस्कयो।
काकाले मुहारमा झनै प्रशन्नत ल्याउँदै भन्नु भयो, “काकीसँग मेरो यो प्रशन्नताको सुदूरको पनि साइनो छैन। तिम्रो काकी नेपाल आउने कल्पना समेत पनि गर्न सकिंदैन। मेरो यो अति प्रशन्नताको रहस्य वा विषय अर्को नै छ, सरोज।”
“अब काका कुनै पनि हालतमा, विरामी पर्दा पनि, बिरामी भएर सिकिस्त भएता पनि नेपाल फर्किन्न भन्ने अटल निर्णयमा पुग्नु भएको हो। छोराछोरीहरूले अमेरिका आउन जति सुकै आग्रह गरे पनि, अतिनै बाध्य पारे पनि, काकाल अमेरिका नजाने पक्का निर्णय गर्नु भएको र त्यसैले गर्दा यति खुसी हुनु भएको हो कि जस्तो मलाई लाग्यो”, मैलै भने।
‘त्यो पनि होइन”, काकाले भन्नु भयो।
हामी बिच चलिरहेको सम्वाद एक छिनका लागि रोकियो। काका भान्सातिर जानु भयो। भान्साबाट ल्याएका केही खाने कुराहरू हाम्रो अगाडि रहेको टिटेबुलमा राख्नु भयो। अनि हाँस्दै भन्नु भयो, “यी कुराहरु खाँदै गरौ। थप कुराहरू पनि खाउँला केही बेर पछि।”
काकाले थप कुरा केलाई भन्न खोजेको हो मलाई प्रष्ट गरि थाहा भएकोले मैले त्यो थप कुरा के हो भन्नेबारे कुनै प्रश्न गरिन। बरू पुरानो प्रशंगलाई कोट्याउने विचार गरें।
“होइन, काका त्यो हर्षको रहस्यको उद्घाटन कुन बेला गर्ने हो?”, मैले भने।
काकाले भन्नु भयो, “हेर सरोज, म तिस वर्ष देखि अमेरिकी नागरिक थिए। तर आज बाट म पुन: नेपाली नागरिक भएको छु। म अब पूर्ण रुपमा नेपाली नागरिक भएको छु। म आजका मितिमा मरे भने पनि अब म नेपाली नागरिक भएर मर्नै छु। यो मेरो लागि ठूलो उपलब्धि र सन्तोषको विषय हो। म आजदेखि युद्धमा विजय हासिल गरेको सेनपति भएको छु। मेरो मनभित्र चलेको द्वन्दलाई मैले आज पराजित गरेको छु। ऊ हार्यो, म विजयी भएँ।”
काकाकाले थप्नु भयो, “सरोज, मैले आज नेपाल स्थित अमेरिकी राजदूताबासमा मैले आफूसङ्ग रहेको अमेरिकी नागरिकता परित्याग गरेको सूचना एक निवदन मार्फत दिएर आएको छु। त्यसकारण म आजदेखि पनु: नेपाली नागरिक भएको छु। तिस वर्षदेखि छातीमाथि राखेको ढुंगा बिसाउन सफल भएको छु। तिस बर्ष पहिले मैले नेपाली नागरिकता परित्याग गरी अमेरिकी नागरिकता लिएको थिएँ।”
मलाई भने काकाले प्रस्तुत गर्नु भएको यो पछिल्लो एवं अनौठो जानकारी पत्याउन गार्हो भइ रहेको थियो। सुख र सुविधाका लागि जे पनि गर्न तयार हुने काकाले गरेको यस्तो निर्णय कसरी पत्याउने भनी म दोधारमा परे। आफ्नो दोधारलाई एक धार बनाउने उद्देश्यका साथ मैलै काकालाई प्रश्न गरे, “काका, तपाइँले भनेको कुरा पक्क हो त? तपाइँले आफ्नो अमेरिकी नागरिकता परित्याग गरेको साँच्चै हो?”
आफूले अमेरिकी नागरिकता परित्याग गर्न पेश गरेको निवेदनको विवरणको निस्सा देखाउँदै काकाले भन्नु भयो, “ल पढ, सरोज, यो कागजमा के लेखिएको छ?”
त्यो कागज पढे पछि मैलै काकामाथि विश्वास गर्नुको विकल्प नै रहेन। काकाले यथार्थमा आफूसँग रहेको अमेरिकी नागरिकता परित्याग गर्न त्यसै दिन नेपाल स्थित अमेरिकी दूताबासमा निवेदन दर्ता गराउनु भएको रहेछ।
काकाले हाँस्दै भन्नु भयो, “चियर्स, आजदेखि पूर्णप्रसाद उप्रेती पुन: नेपाली नागरिक भएको छ।”

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।