भारतीय नेपाली गीतको इतिहास एक सय चौबीस वर्ष पुरानो हो। हाजीरमान राईका मीठा मीठा नेपाली गीत (१९००) सालमा प्रकाशित भएपछि यसै कालावधि र कृतिलाई भारतेली नेपाली गीत लेखन एवम् प्रकाशनको प्रारम्भिक माइलखुट्टी मानिलिइन्छ। यसपछि भने भारतीय नेपाली गीत लेखन र प्रकाशनले पनि सुस्त गतिमै भए तापनि अघि बढ्न थालेको पाइन्छ। हाजीरमान राईका मीठा मीठा नेपाली गीतलाई आधार मानेर अध्ययन गर्दा मुख्यतः दुई भागमा विभाजन गर्न सकिन्छ।
स्वातन्त्र्यपूर्व - सन् १९०० देखि १९४६।
स्वातन्त्र्योत्तर - सन् १९४७ देखि अहिलेसम्म ।
स्वातन्त्र्य पूर्व नेपाली गीत लेखन र प्रकाशन :
गीत विश्वको प्राचीनतम विधा हो। साहित्यका अन्य विधाका तुलनामा गीत लोकप्रिय र प्रभावकारी पनि छ। गीत मूलतः श्रव्यकाव्य भएका हुनाले यसको लोकप्रियता सर्वव्यापक भएको हुनसक्छ । साहित्यका अन्य कतिपय विधा जान्नका लागि मानिसलाई साक्षार हुन आवश्यक छ तर गीत श्रव्यकाव्य भएका हुनाले मानिसले यसलाई सुनेरै सिक्छन्।त्यसैले विश्वभरका सय प्रतिशत मानिसले आत्मसात् गरेको विधा पनि गीत नै हो। गीत सम्भवतः मानिसका जीवनका बाह्य र आन्तरिक संवेग र संवेदनसित सोझै सम्पर्कमा रहने भएकाले पनि यसका लोकप्रियता र विकासक्रममा वृद्धि भएको हुनसक्छ। गीतमा भएका सरलता, सहजता, लयात्मकता, सङ्गीतात्मकता, गेयात्मकता, निजात्मकता एवम् आत्मपरकताजस्ता तात्त्विक गुणहरूले यसलाई लोकप्रिय बनाएको हो।
गीतसम्बन्धी विभिन्न विद्वान्हरूले आ-आफ्ना मतहरू प्रकट गरेका छन् तथापि गीतलाई एउटा निश्चित र निर्दिष्ट परिभाषाभित्र बाँध्न गाह्रो हुन्छ। आजसम्म विद्वान् अध्येता र अन्वेषकहरूका अध्ययन र शोध अनुसन्धानअनुसार गीतका प्रारम्भिक इतिहासबारे कसैले पनि किटान गरेर भन्न सकेका छैनन्। गीत मानव सभ्यतासित आबद्ध छ। जब धरतीमा मानव जातिको अवतरण भयो तब नै गीतको पनि सृष्टि भयो। तर गीतलाई परिभाषित गर्ने काम भने गीतका लिखित परम्पराभन्दा धेरै पछि भएको हो। पूर्वीय तथा पाश्चात्य आलोचकहरूले पनि प्रारम्भिक चरणमा गीतको उस्तो चर्चा गरेको पाइँदैन जब कि यसभन्दा अघिका प्राचीन कविहरूले गीत रचना गरिसकेका पाइन्छन्। यूरोपमा पन्ध्रौँ तथा सोह्रौँ शताब्दीदेखि गीत विषय नयाँ दृष्टिको थालनी भएको पाइन्छ। सोह्रौँ शताब्दीदेखि नै गीतमा शब्द संयोजनको सिद्धान्त प्रारम्भ भएको मानिन्छ। यसै शताब्दीमा ईटालीको ह्यूगो रेम्यानले गीतको परिभाषा दिने काम गरेका हुन्। त्यसपछि भने विभिन्न विद्वान्हरूले गीतलाई परिभाषित गर्ने गरेका पाइन्छन्।
डब्ल्यू० एच० हडसनअनुसार, “एउटै वक्ताको एउटै मनस्थिति तथा भावना संवेगात्मक रूपमा व्यक्त भएको रचना नै गीत हो।“
हर्बट रीडले गीतबारे यसो भनेका छन्, “गीत त्यो रचना हो, जहाँ सूक्ष्म अनुभूतिको अभिव्यक्ति हुन्छ अथवा यस्ता व्यक्तिगत अनुभूतिहरूका प्रतिक्रियाहरूको त्यो रूप हो जुन एकान्त आनन्दमा जागृत हुन्छ।“
विद्वान् लेखक कृष्णहरि बरालले आफ्नो अनुसन्धानात्मक पुस्तक गीत सिद्धान्त र इतिहासमा गीतको परिभाषा यसरी दिएका छन्, “वक्ताको एउटै भाव तथा मनस्थिति सरलताका साथ अभिव्यक्त भएको अनुभूतिप्रधान त्यस्तो अआख्यानात्मक आत्मपरक रचनालाई गीत भनिन्छ, जुन सङ्क्षिप्त हुनाका साथै खास प्रकारका लय तथा सङ्गीत व्यवस्थामा आबद्ध हुन्छ ।
अर्का विद्वान् मोहनराज शर्माअनुसार, “गीत पद्यको त्यस छोटो र आख्यानरहित गेय संरचनालाई भनिन्छ जसमा कुनै भाव वा विचारका प्रक्रियाको अथवा मानसिक अवस्थाको तीव्र अभिव्यक्ति हुन्छ।“
डा० मोहन हिमांशु थापा गीतबारे यसरी लेख्छन्, “जीवन भोगाइका क्रममा प्राप्त भाव र अनुभूतिका कलात्मक, संवेगात्मक र गेयात्मक प्रस्तुति नै गीत हो।“
गीतलाई अझ परिभाषित गर्ने क्रममा कवि, समालोचक डा० जस योञ्जन ‘प्यासी’ लेख्छन्, “हृदयमा नाना प्रकारले तरङ्गित भइरहने भावहरूलाई साङ्गीतिक लय चेतसँग शब्दहरूमा आबद्ध गरी गेयात्मक अभिव्यक्ति दिने सङ्क्षिप्त संरचना नै गीत हो।“
गीतबारे दिइएका यी परिभाषाहरू पढ़ेपछि गीतसम्बन्धी विभिन्न धारणा र परिभाषाहरू पाउन सकिन्छ। अतः जीवनका विभिन्न पक्षहरूका विविध अनुभतिहरूलाई लय-सुर-तालको कलात्मक रङ्ग दिएर प्रस्तुत गरिइने गेयात्मक अभिव्यक्ति नै गीत हो।
गीतको इतिहास मानव सभ्यताजतिकै पुरानो छ। प्रारम्भिक चरणमा लेखिइएका धेरै गीतहरूमा कथ्य भाषाकै बढ़ी प्रभाव देखिन्छन्। यी गीतहरूमा भाषिक सौन्दर्य, व्याकरणिक पक्ष, भाव र विषयपक्षका चेतना थोरै पाइए तापनि यी गीतहरू सन्देशमूलक हुन्थे। सन्देशमूलक यी गीतहरूमा सामाजिक जागृतिका कुरा, जातिगत उन्नतिका सन्देश, तत्कालीन समाजका सरोकारका विभिन्न पक्षहरू पाइन्छन्। देशभक्ति, नैतिकता, अध्यात्म, आदर्श, ईश्वरभक्ति यी गीतहरूका मूल स्वर हुन्थे भने शृङ्गारिक गीतहरू पनि यस चरणमा धेरै लेखिएका पाइन्छन्। यस चरणका धेरैजसो गीतहरू लोक जीवन, श्लोक संस्कृति र लोक सङ्गीतबाट प्रभावित भएका पाइन्छन् ।
यस चरणमा प्रकाशित गीत सङ्ग्रहहरू हाजीरमान राईका मीठा मीठा नेपाली गीत (१९००), हरिनारायण उपाध्याय ‘विधाविभूषण’-को गीतमाला (१९१०), हरिनारायण उपाध्याय र गङ्गाधर खतिवडाको संयुक्त कृति सङ्गीत चन्द्रोदय (१९२७), बहादुरसिंह बरालको बरालको आँसु (१९३८), मित्रसेन थापा र दलिपसिंहको संयुक्त कृति मनको बिर्ह (१९३८) आदि हुन्। यस चरणका गीतकारहरूमा मुख्यतः हाजीरमान राई, मित्रसेन थापा, बहादुरसिंह बराल, दुर्गा मल्ल, दलिपसिंह, मैतराज, मानवीर गुरुङ, पृथ्वीध्वज, समशेर सिंह, जगकारञ्जित, पवित्रादेवी, गंगावती, गोबर्द्धन कार्की, दर्दे दिल क्याप्टन, तिलमान गुरुङ, कामी गुरुङ, कला राई, एल० टी० लामा, धनवीर मुखिया, पुरणसिंह नेपाली, कालूसिंह गहतराज, मेलवादेवी, चन्द्रकला देवी, भक्तिकुमारी राणा, अनुसुया, कादम्बिनी, तारामान गुरुङ, लावण्यवती देवी, धनञ्जय आदि हुन् ।
गीत लेखनका प्रारम्भिक चरणका चर्चा गर्दा केही गीतांशका उल्लेख यहाँ अपेक्षित ठहर्छ। यी गीतहरू दुर्लभप्राय छन्। चर्चा नगरिएकै कारण धेरै गीतहरू अप्राप्य पनि छन्।
गीतसँग मानिसको कर्म संस्कृति जोड़िएको हुन्छ। गीतमा आनन्द, मनोरञ्जन, हर्ष हुन्छ। यही हर्षोल्लाससँग मानिसले गीत गाउँदै, मनोरञ्जन गर्दै काम पनि गरिरहेका हुन्छन्। रसिया, सँगिनी, धान नाच, भैलो, देउसी प्रभृति लोक सङ्गीतले यसको साक्षी दिन्छ। अनकण्टार जङ्गल फाँडेर मानव सभ्यता बसाउनका लागि सड़क खन्ने र पेल्ने काममा नेपालीहरूका अग्रणी भूमिका छ। रौसे नेपालीहरू जहाँ पनि रमाइलो गर्छन्, रमाउँछन्। सड़क पेल्दा ती श्रमिक नेपाली तत्क्षणै गीत कथ्दै गाउँथे। जुन गीतहरूलाई ‘वाङ तान्ने गीत’ भनिन्छ। यस्ता धेरै गीतहरू विलुप्तिका गर्भमा विस्मृत भइसके। द्वाङ तान्ने गीतको नमूना-
माथि र बाट को मान्छे आयो
हातैमा पानपत्ता
माया सम्झना यो मनमा
यो जीउको धनी को हुन्छ को नि
के जान्नु के पत्ता
वारिको डाँड़ा पारिको डाँड़ा
माझमा सिउँदो
माया सम्झना यो मनमा
त्यो जीउको धनी नसुर्ताऊ
नानी यो काया जिउँदो छ।
तत्क्षणै कथेर गाइएको यस गीतको शब्द-सङ्गीत सम्भवतः श्रमिक कलाकारहरू नै हुन्। समाजलाई यसरी विकास र सभ्यतासित जोड्ने बाटोका खनन र निर्माण गर्दा कथिएका गीतहरू पनि हाम्रा वर्तमान गीत लेखनका घड़ेरी हुन् भन्न सकिन्छ। यी गीतहरूमा साङ्गीतिक सचेतता, भाव गाम्भीर्य, शब्द संयोजन तथा व्याकरणिक शुद्धाशुद्धि हुँदैनथ्यो। केवल शब्दको तुक मिलाएर गाउन सकियो भने गीत बनिन्थ्यो भन्ने दृष्टान्त यसबेलाका गीतहरूमा पाइन्छन्। अर्को उदाहरण :
अरे राजा झमझम परेला
आना सेरको करेला
दुई पैसा रामभेड़ा
अरे राजा एक आना चक्की
दुई आना कटारी
हातभरि मकै गेड़ा।
गीतकार कामी गुरुङले कथेको गीतको अंश, अर्को उदाहरणका निम्ति-
बाटोमा हो कि पाटीमा हो कि
कहीँ देखेजस्तो छ
सुन न सुन, सुन लाउने दिदी
सुनको भाउ कस्तो छ?
फरियाको मुजा नै भारी
नस्याहारेजस्तो छ
सुन न सुन, सुन लाउने दिदी
सुनको भाउ कस्तो छ?
गीतकार दिलु सिंहद्वारा रचित अर्को गीतांश-
तन मन चोरी हुन्छौ अलग
हृदयमाझ बस सदा
कस्ती हौ तिमी प्रीतम प्यारी
प्रियतमा रूपकी रानी
हेर प्रीतम मेरो फूलबारी
हृदयमाझ बस सदा।
यसरी नै उनैद्वारा रचित प्रणयोद्गारको अर्को नमूना गीत-
माया मारिन् निष्ठुरीले
आएका हुन् कसो गरी
हृदयको देवी सम्झी
राखेको थें मनमा
लात मारी आउली भन्ने
आशा थिएन रत्ती मनमा
सपनामा आउली भन्ने
सम्झेको थें मनमा
आघात छाड़ी जाउली भन्ने
बातै थिएन कति मनमा।
गीतकार दिलु सिंहको पहिलो गीतमा प्रेमको अपेक्षा र आशा छ भने दोस्रो गीतमा वियोगको पीड़ा छ।
क्याप्टन तिलमान गुरुङले लेखेका गीत-
बाह्र वर्षको कन्ने हुँ म
जान्दिनँ प्रेमको बात
हेर म रुनेछु
प्रिय मलाई नफकाऊ
गाउँघरमा गिल्ला गर्छन्
छोड़िदेऊ मेरो हात...।
बालविवाह, नारी धर्म, नारीत्व र प्रतिष्ठालाई जोगाउने सन्देश यहाँ पाइन्छ।
सामयिक रूपले समाजमा आउने फेसनसरह बोलीको थेगो पनि हामीमाझ भित्रिने गर्छ। यही कुरालाई गीतकार गोबर्द्धन कार्कीले आफ्ना गीतमा यसरी उतारेका छन्-
अठार सालमा के चलन चल्यो दरदे दिल
चारपाटे दुआनी मेरो लै लै दरवे दिल
एक चरण गीत गाउँछु दरदे दिल
जय गर्दैऊ भुवानी मेरो लै लै दरदे दिल
एक दामको जीरा दुई दामको मेथी दरदे दिल
तीन दामको सानो छ मेरो दरदे दिल
केराको थाम्मा बाँचुञ्जेलसम्म दरदे दिल
हरिगुण गाउनु छ मेरो लै लै दरदे दिल...।
प्रस्तुत गीतमा ‘दरदे दिल’ को थेगोसहित ‘जय गर्दैऊ भुवानी’, ‘हरिगुण गाउनु छ’ बाट ईश्वरप्रतिको आस्था पनि देखिन्छ।
गीतकार दलसिंह गहतराजले दार्जीलिङमा बिजुली बत्ती बल्न थालेपछिका रातका अन्धकारमा देखिने दार्जीलिङ सौन्दर्यको वर्णन गर्दै दार्जीलिङलाई स्वर्गसित तुलना गरेको यो गीत आज पनि बेलाबेला सुनिन्छ।
नेप्टी-चेप्टी दार्जीलिङ कस्तो छ
आऊ हाम्री नेप्टी आऊ हाम्री चेप्टी
दार्जीलिङ घुम्न जाऊँ
जान त जाउँला पहिले यो भन
दार्जीलिङ कस्तो छ
झिलि र मिलि बिजुली बत्ती
इन्द्रासनजस्तो छ...।
गीत सङ्ग्रह प्रकाशित हुनअधिका गीतका केही दृष्टान्तहरू यहाँ प्रस्तुत गरिसकेपछि गीतकार हाजीरमान राईको मीठा मीठा नेपाली गीतबाट केही अंश यहाँ उद्धरण गरिन्छ-
राजाको बारी सुन्तला घारी, दारिमको बगबगी
यो पापी बैंस किन पो आउँछ, जिवैको जगजगी।
चियै र पिउनु भातै र खानु पितले पेलैमा
खोजी र मरे पाउने र छैन, भनेको बेलैमा।
काटी र कुटी कौवाको मासु, कालोको कालै छ
हृदय खोली नदेखाऊ हजुर, मायाको जालै छ।
माली र गाईको अमिलो दही, जेन केलाई साँचेको
हाँस्दै र बोल्दै घरैमा थियौ, मन केलाई भाँचेको।
अघि र जाने जरनेल साहेब, पछिता भरिया
त्रिपन्न हातको पचपन्न मुजा, मो माग्छु फरिया।
हिमालै चुली त्येइ मुनि बाटो ताके है जुरेली
नाखैको छेउमा १० औंली चल्ने, बाँसैको मुरली।
स्वान्तत्र्योत्तर गीत लेखन र प्रकाशन :
पठन सहजका निम्ति स्वातन्त्र्योत्तर गीत लेखनलाई पनि निम्न चरणमा बाँड्न सकिन्छ।
पहिलो चरण, सन् १९४७ देखि १९५९ सम्म
दोस्रो चरण १९६० देखि १९७९ सम्म
तेस्रो चरण १९८० देखि अहिलेसम्म ।
स्वातन्त्र्यपूर्व लेखिएका गीतहरूका तुलनामा स्वातन्त्र्योत्तर गीतहरू निकै परिपक्व, परिमार्जित भएका पाइन्छन् । भाषिक सचेतता, साङ्गीतिक सौन्दर्य, भाव गाम्भीर्यका अतिरिक्त विषय विविधता यस चरणका गीतहरूमा मुख्य रूपमा पाइन्छन् । प्रणय प्रसङ्ग आदि कुराहरूबाहेक प्राकृतिक सौन्दर्यका वर्णन, दोस्रो विश्वयुद्धले तहसनहस विभिन्न मानवीय पक्षहरू, वीरता र साहसको वर्णन, युद्ध विभीषिकाहरू पनि यस चरणका गीतहरूका विषय बने। यस चरणमा गीति कृति तथा गीतप्रधान पत्रिकाहरू थोरै मात्रामा प्रकाशित भएको पाइन्छ। जसमा गङ्गाधर खतिवड़ा र प्रेमसिंह सुवेदीका तीजको मैदानमा बैनीको आँसु (१९५५), नगेन्द्र ‘अज्ञात’ को सरगम (१९५६), दुर्गाप्रसाद घिमिरेको धुकधुकी (१९५६), गोविन्दप्रसाद गौतमको हिमालको फूल (१९५८) र पहाड़ी गफ (१९५८), गोकुल प्रसाद जोशीको भविष्य आदि उल्लेखनीय छन्। यस चरणमा आसामबाट विपिनदेव ढुङ्गेलद्वारा सम्पादित गीतप्रधान पत्रिका गीतमाला (१९५६) पनि प्रकाशित भएको पाइन्छ। यस चरणका गीतकारहरूमा भैयासिंह, देवप्रकाश राई, दिलुसिंह गहतराज, मानधोज गुरुङ, ईश्वर वल्लभ, वैरागी काइँला, जे० बी० कार्तिक, एम० एम० गुरुङ, नवीन बरदेवा, विसाषण लामा, कालूसिंह गहतराज, राधिका राया, अम्बर गुरुङ, गोपाल योञ्जन, गीता चाहर, डोरोथी सितलिङ, हर्कबहादुर कुमाई, मनबहादुर गुरुङ, माया ठटाल, एस० रविदास, गगन गुरुङ, हरिभक्त कटुवाल, अच्छा राई ‘रसिक’, नगेन्द्र ‘अज्ञात’, पासाङ वाल, मनबहादुर मुखिया, इन्द्र थपलिया, फटिकधर ब्राह्मण, लक्खीदेवी सुन्दास, अगमसिंह गिरी, विकास गोतामे, पं० हरिनारायण उपाध्याय, मास्टर गङ्गाधर खतिवड़ा, प्रेमसिंह सुवेदी, गोविन्द शर्मा गौतम, गोकुलप्रसाद जोशी, गुरुभक्त धिताल, नरबहादुर दाहाल, सन्तवीर लकान्द्री, एल० बी० राई, शरण प्रधान, कमल दर्नाल, देवदत्त गुरुङ, दुर्गाप्रसाद घिमिरे, हरिमदन गुरुङ, शिवप्रसाद सिंह प्रभृति नामहरू सगर्व लिन सकिन्छ।
यस चरणमा कस्ता गीतहरू लेखिन्थे होला भन्ने पाठकको चासो र उत्सुकता हुनसक्छ। यसैका निम्ति केही दृष्टान्तहरू यहाँ प्रस्तुत गरिन्छ।
हेर त्यो ठाउँमा, रमाइलो ठाउँमा
मादल बज्यो, बज्यो मादल
हेर न दूरमा, मादलको सुरमा
बादल फाट्यो, फाट्यो बादल...।
-विसाषन लामा
उक्त गीतमा गाउँमोह, गाउँको सांस्कृतिक परिचय पनि पाइन्छ। मादल बज्ने गाउँ नेपालीहरूका लोक संस्कृतिको जगेरा गर्ने ठाउँ रहेको कुरा गीतकारले देखाएका छन्।
सन्ध्या तिम्रो रिमझिमतामा
दुःखैदुःखले भरेको
बुझ्न सकेन निष्ठुरी दुनियाँ
मेरो मनमा पीर परेको...।
-नवीन बरदेवा
सुन्दा जीवनको नैराश्य भए तापनि जीवनले भोग्नुपर्ने यथार्थको सजीव चित्रण उक्त गीतमा पाइन्छ। सांसारिक स्वार्थलोलुपताले भरिएको मान्छेको हृदय अरूको मर्म नबुझ्ने कठोर र निष्ठुर भएका मानवीय अवगुणलाई गीतकारले खुबै मीठोसँग आफ्ना गीतमा सजाएका छन्।
म सिपाही देशको
मलाई माया नगर
म माया गर्न जान्दिनँ
देशभन्दा ठूलो
म कसैलाई मान्दिनँ ...।
-के० बी० नेपाली
देशप्रेम र देशप्रतिका समर्पणमा सशक्त उदाहरण बनेका प्रस्तुत गीतले नेपालीहरूका राष्ट्रचेतलाई छर्लङ्ग पारेको छ। अर्को एउटा गीतांश-
दरकार परे देशको लागि शहीद हुनेछौँ
पाएको जुनी यो धरतीमा सफल पार्नेछौँ
दरकार परे देशको लागि यो ज्यान दिदिउँला
आमाको लाज बचाउनलाई प्रलय ल्याइदिउँला।
-गुरुभक्त धिताल
भाषिक सचेतता र भावगाम्भीर्य अनि शिल्प चातुर्यमा पनि यस कालका गीतहरू अग्र पङ्क्तिमा रहेका पाइन्छन् । अझ केही गीतांशहरू हेरौं-
औंलाहरू चुमेर औंलाभरि सलाम
मेरो हजुरलाई आँखाभरि सलाम
के बिराएँ नजरले चुमेँ
ती फूल जो ओठमा फुले
के बिराएँ, हत्केलामा थापें
ती केश जो लाजमा झुके...।
-वैरागी काइँला
दिन हो प्यारको यौवन बहारको
गीत गाऊँ आज जिउने सारको...।
-पासाङ वाङ्बल
यसरी काल विभाजनका दृष्टिले हेर्दा दोस्रो चरणका गीतहरू पहिलो चरणका गीतहरूभन्दा धेरै फाँटिला, निक्कै माथिका र पूरै गहिरा पनि छन् । विषयवस्तुका दृष्टिले, प्रस्तुतिका हिसाबले, साङ्गीतिक माधुर्यका चाटुकारिताले पनि यस चरणका गीतहरू निकै सफल भएका पाइन्छन् ।
आफ्नो अध्ययन सुविधाका निम्ति सन् १९६० देखि १९७९ सम्मका समयावधिलाई स्वातन्त्र्योत्तर नेपाली गीत लेखनको दोस्रो चरण मानिलिइएको छ। स्वातन्त्र्यपूर्वका गीत अनि स्वातन्त्र्योत्तरका पहिलो चरणका गीत लेखनका तुलनामा यो चरण अझ उर्वर र उन्नत देखिन्छ। भाषिक चेतना, साङ्गीतिक सौन्दर्य, विषयगत विविधता, शैलीगत प्रवीणता, भावगत गाम्भीर्य, युगीन चेत, अपेक्षित प्रतीक र गेयात्मकता आदिले यस चरणका गीतहरू निकै प्रभावशाली बनेका छन्। पहिलो चरणबाटै गीत लेखनमा देखापरेका गीतकारहरू दोस्रो चरणसम्म आइपुग्दा भारतीय. नेपाली गीतका प्रतिनिधि स्वरहरू बनिसकेका कुरा यसबेलाका गीतहरूले पुष्टि गर्छन्। गीतकार गोपाल योञ्जन, अम्बर गुरुङ, शरण प्रधान, अगमसिंह गिरी, हरिभक्त कटुवाल आदिका गीतहरू यस हाँचमा पर्दछन् । यस चरणका गीतहरूमा सामाजिक चेत र लोकतत्त्व, जातीय अस्तित्व र गरिमाका प्रश्नहरू पनि प्रखर रूपमा माथि उठेका पाइन्छन्। यस चरणका गीतकारहरूले आफ्ना देश र जाति अनि माटोप्रति साँचो श्रद्धा जनाउने काम पनि आफ्ना गीतहरूमार्फत गरेका छन् । उदाहरणका निम्ति केही गीतांशहरू-
सुन है सुन नेपाली हामीलाई डाक्छ हिमाली
आँसुको बिन्ती पोखेर रगतको माया सँगाली
मुटु यो हाम्रो चिरिन्छ पीर र मर्का बिझाउँछ
पश्चिम पहाड़ ब्यूँझेर हामीलाई जब टिठाउँछ
टिठाइदेऊ हामीलाई निर्बल बन्न सिकाई
फर्कन परे फौँला प्राणको बाजी लगाई
फेरि त नाला पानीको छोड़ेर ज्यूँदो निशानी...।
-अगमसिंह गिरी
देशले रगत मागे मलाई बलि चढ़ाऊ
रूँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी
……………………………
ती काँगड़ाका सन्तान अझै मरेका छैनन्
तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन्
पाउँदिनँ केही पनि रगत स्तनको साटो
आउँदैन उसलाई माग्न ऊ नेपालीकी छोरी...।
-गोपाल योञ्जन
यो देशको माटोले भन्छ
यो देशको ढुङ्गाले भन्छ
हाम्रो पनि रातो रगत यहीं बगेको छ
हाम्रो पनि तातो पसिना यहीं खसेको छ...।
-हरिमक्त कटुवाल
यो देश नै हो शहीदको जहाँ आत्मा फूल बनी फुल्छ
जति झर्दछ पत्कर ती अझ खिलेर फूल हुन्छ।
-अम्बर गुरुङ
नेपाली गौरव गछौँ आफ्नैपनमा घमण्डीच होइनौँ है
सबैको साथी बन्ने बानी हाम्रो पछौटे त होइनौँ है।
-शरण प्रधान
यस चरणमा प्रकाशित गीत सङ्ग्रहहरू रामजी ज्ञवालीको गीत सङ्ग्रह (१९५६),हरिभक्त कटुवालको सम्झना (१९६०), गोकुलप्रसाद जोशीको सिमानाको दीप (१९६३),एम० बी० सुन्दासको गाइदे न मनचरी (१९६४), नगेन्द्र थापाको गोपालको बाँसुरी (१९६६),अम्बर गुरुङको सम्हालेर राख (१९६९), कुलबहादुर छेत्रीको युगरेखा (१९७०), देवीप्रसाद कौशिकको सुस्केराहरू (१९७०), चन्द्रबहादुर सुवेदीको हारेको कर्म (१९७०), रणवीर गिरीको चरा भरर (१९७५), टिकाराम उपाध्याय ‘निर्भीक’-को राग-अनुराग (१९७६), इन्द्र थपलियाको हाम्रो गीत (१९७७) उल्लेखनीय छन्। यसै चरणमा नवीन बरदेवाका सङ्कलन र सम्पादनमा गीतगुञ्ज (१९६१), बलु बराइलीका सम्पादनमा उज्यालो (१९६३), बलु बराइली, अशोक राई अनि फुर्बा तामाङका सङ्कलन सम्पादनमा गीतिका (तीन अङ्कसम्म) (१९७१-७७), कमल गुरुङका सम्पादनमा सङ्गीतको झर्ना (१९७३) आदि गीत सङ्कलनहरू प्रमुख रूपमा प्रकाशित भएका पाइन्छन्। यस चरणका गीतकारहरूमा जीतेन्द्र बरदेवा, दलसिंह गहतराज, मनबहादुर मुखिया, भुपेन्द्र अधिकारी, विकास गोतामे, जस योञ्जन ‘प्यासी’, पी० अर्जुन, नन्द हाङ्गखिम, काजीसिंह विद्यार्थी, नरबहादुर तोया, मदन ओझा, प्रतापसिंह लोहार, नरदेन रूम्बा, वाणिरा गिरी, अविनाश श्रेष्ठ, पवन चामलिङ ‘किरण’, दिव्य खालिङ, कुसुम गजमेर, तुलसी घिमिरे, सी० के० श्रेष्ठ, सानु लामा, रञ्जित गजमेर, आई० के० सिंह, जसु सुब्बा, गुनु घर्ती, गोविन्दसिंह घतानी, भविलाल लामिछाने, खड़कराज गिरी, दुर्गाप्रसाद घिमिरे, युद्धप्रसाद राणा, गोमा शर्मा, हरिप्रसाद ‘गोर्खा’ राई, के० बी० नेपाली, रणवीर गिरी, लीलबहादुर छेत्री, सी० बी० गुरुङ, हरिचन्द्र वाग्दास, नव सापकोटा, मणिसिंह थापा, जगतबहादुर प्रधान, लोकनाथ सुब्बा, मुन्नी सापकोटा, मैना थापा ‘आशा’, शान्ति थापा, चन्द्रकला नेवार, नवीन बरदेवा, मनबहादुर गुरुङ, पासाङ वाड्बल,गुरुभक्त धिताल, तुङ्गानाथ नेपाल, दिलीप रसाइली, गणेश सुब्बा, चक्रपाणि शर्मा, विजय राणा, खेमराज नेपाल, भोला शर्मा, हरि बाजुरेल, लोहित उप्रेती, मुक्ति उपाध्याय बराल, नवराज छेत्री, नरबहादुर छेत्री, हरि दवाड़ी, कृष्ण मिजार, विजय राणा, डी० आर० सुब्बा, गजेन्द्र छेत्री, पदमबहादुर थापा, प्रकाश शिवाकोटी, डम्बरमणि प्रधान, सन्ध्या प्रधान, विष्णुबहादुर गुरुङ, एम० बी० गजमेर आदिका नाम लिन सकिन्छ।
भारतीय नेपाली गीत लेखनका छेउकुना पल्टाएर हेर्नु हो भने सर्वाधिक उर्वरकाल हो तेस्रो चरण अर्थात् १९८० देखि यता। पछिल्ला चरणहरूका तुलनामा गीत लेखन एवम् प्रकाशन यस चरणमा निकै भएको पाइएको छ। थोरै भए तापनि सिर्जनशील गीतमाथि समीक्षा, समालोचना पनि यस समयावधिमा भएको पाइन्छ। पछिल्ला चरणका गीतहरूका तुलनामा यस चरणका गीतहरू विषयवस्तुका आधारमा पनि बृहत् पाइन्छन्। गीतका भावपक्ष, शैलीपक्ष एवम् संरचनामा पनि विविधता पाइन्छ। भाषिक चेतना, साङ्गीतिक सौन्दर्य, विषयगत विविधता, शैलीगत प्रवीणता, भावगत गाम्भीर्य, प्रस्तुतिको चातुर्य आदिले यस चरणका गीतहरूलाई अझ विस्तृत फाँट प्रदान गरी लोकप्रिय र सफल बनाएको छ। यस चरणका केही गीतकारहरूका गीतांशहरू दृष्टान्तस्वरूप यहाँ राखिन्छ-
ए हावा! ए हावा!! मेरो यति खबर लगिदे
निर्मोहीलाई मेरो माया फिर्ता मागिदे।
धेरै पर्खे आउला भनी अब पर्खिदिनँ
धेरै झस्कें सपनीमा अब झस्किदिनँ
ए हावा! ए हावा! निर्मोहीलाई यति सुनाइदे
जस्तै कसम खाए पनि अब पत्याउँदिनँ...।
-जस योञ्जन ‘प्यासी’
म तिम्रा सपनाहरूमा बाँचिरहन चाहन्छु
म तिम्रा बिपनाहरूमा हाँसिरहन चाहन्छु
तिम्रा सपनाहरू मरेको देख्वा म पनि मरेको छु हो
तिम्रो बिपना रोएको देख्दा म पनि रोएको छु हो...।
-पवन चामलिङ ‘किरण’
नपिउनु भन्छन् सबै मलाई
मेरै कमजोरी देखिन्छ यसमा
अमृत होइन थाहा छ मलाई
तर प्रीतमा बल्झेको बहाना छ यसमा ।
-पुरण गिरी
जीवन जिउनु गीतै भो आधार
जीवन मर्नु गीतै भो आधार
जिन्दगी बित्यो गीतकै खोजीमा
अधुरो रहें गीतकै सागरमा ।
-बलि सुब्बा
धेरै भयो तिमीलाई भेट्ने हतार जागेको छ
यो आँखाभरि तिम्रै यादको असार लागेको छ।
-ध्रुव चौहान
मायाको भाँड़ा भरिन्न पोखिने कुरा नगर
आयतनभित्र आँट्दैन जोखिने कुरा नगर
अँगालो हो प्रीतको बन्धन त्यसलाई नठान
कहाँ हुन्छ जुठो हुँदैमा चोखिने कुरा नगर...।
-कमल रेग्मी।
यस चरणमा गीतकारहरूले गीत सङ्ग्रह प्रकाशनतर्फ विशेष चासो देखाएका छन्। गीत साहित्यमा पछिल्ला चरणका तुलनामा सर्वाधिक कृति प्रकाशन भएको बेला पनि यही हो। यस चरणमा प्रकाशित गीत सङ्ग्रहहरू कुलबहादुर छेत्रीको गीत मञ्जरी (१९८३),के.बी नेपालीको अनुराग (१९८३),गोमा शर्माको तिम्रो प्रेरणा (१९८६),गुरुभक्त धितालको मेरा पीर मेरा गीत (१९८८), तुङ्गनाथ नेपालको माधुरी (१९९१) हृदय क्रन्दन अभिव्यक्ति (२००४),यहाँ यस्तै छ (?) कृष्ण प्रधानको अपहरण भएका गीतहरू (१९९२), नरबहादुर तोयाको मनका केही रङ्गहरूमा उठेका केही तरङ्गहरू (१९९४) र बगरको बस्तीमा (२०२२), बलि सुब्बाको गीतै भो आधार (१९९७), नवराज छेत्रीको मेरा गीतहरू (१९९७),चन्द्रकला नेवारको चन्द्रकला नेवारका गीतहरू (१९८८) र तृष्णाको लहरी (२००६),टी० बी० चन्द्र सुब्बाको दुःख सागर (१९९८), कमल थिङको केही आधुनिक केही लोक (१९९८), रूद्रराज मास्केको सुदामाका कनिका (१९९८), सुबास चामलिङको गीताञ्जली (२०००), सानु लामाको जहाँ बग्छ टिस्टा रङ्गीत (२००१), ध्रुव चौहानको वेदनाको धनी यो मन (२००१), सचेन राई दुमीको मिश्रित भाव तरङ्ग (२००१), बद्री गुरागाइँको गीतायन (२००३), डा० शान्ति थापाको माया (२००४),प्रह्लाद बानिया छेत्रीको धेरै आँखा रोजेँ मैले (२००४),रत्नप्रकाश गुरूङको प्रेममाला(२००४),पुष्कर पराजुलीको गीत फुल्ने ठाउँ (२००४) र कहाँ पस्यो चौतारी (२०१४), भक्ति बस्नेतको गीतका अनुभूतिहरू (२००५), पाइलाहरू (२०१४) र निर्बाध मन (२०१९), सविता सङ्कल्पको सङ्गीताञ्जली (२००६), कमल रेग्मीको काँड़ाफूल (२००७), हिउँको आगो (२०१२), घामपानी (२०१८), कन्फ्लुएन्स (२०१८), बालुवामा (२०२३) पवन चामलिङ ‘किरण’ को मान्छेको साइनो (२००८), पवन चामलिङका गीतहरू (२०११), पुरण गिरीको जिन्दगीको लयान्तर (२००८), बिम्बहरू (२०१६), लिरिकल पुरण गिरी (२०१८), अनित खातीको पर्खाइको पीड़ा (२००९), शीलकुमार सामुएल प्रधानको अभिक्रम (२००९), कृबु संयमीको गीत गंगा (२००९), दयानन्द सापकोटा र कृपानन्द सापकोटाको संयुक्त कृति नन्द-नन्दन (२००९), डा० जस योञ्जन ‘प्यासी’ को बोलाऊँ भने तिमीलाई (२०१०), एउटा खुल्ला किताब हुँ म (२०१३), फेरि-फेरि तिमीले मलाई कहीँ कतै नभेट्नू (२०१९),लेखान्तमा के छ के छ (२०२३),मोहन सुवेदीको गीतको मूर्च्छना (२०१२),टीका भट्टराईको हर्ष विषादका मुनाहरू (२०१२),जीतबहादुर सुनारको तिम्रो घुम्टोभित्र (२०१२), प्रा० कुलप्रसाद सँड़ाइको शतगीतिमालिका (२०१३), कृष्णप्रसाद भट्टराईको सङ्गीतका लहरहरू (२०१३), चक्रपाणि शर्माको सयपत्री (२०१३),तारा दासको यो सुन्दर जीवन (२०१३),वीरेन खातीको मेरा गीतहरू (२०१४), मैतराज राणाको मुटुले सारङ्गी रेट्दै (२०१४), दिलीपराज राईको म अनि फूल (२०१४), नगेन्द्र ‘गोर्खा’ को अन्तराहरू : धुनहरू (२०१४), सुकुमार बराइलीको आमा रोएको चियाबारी (२०१४), कृष्ण छेत्रीको गीत सरगम (२०१४), दिलीप लोरूडको रहर (२०१५), सतीश दियालीको यो मनको भाका (२०१५), सुकराज दियालीको गथासो (२०१५), कालूसिंह रनपहेंलीको आँधीहुरी बतासहरूमा (२०१६), प्रदीप कुमार मुखिया सुनुवारको भञ्ज्याङका गीतहरू, जीतबहादुर सुनारको एकान्तमा कताकता (२०१७),सिर्जना (?), नन्द हाङ्गखिमको गीतानन्द (२०१७), गोविन्द शाण्डिल्यको तिमी चाँदनी हौ (२०१७), अरुण राईको अजम्बरी (२०१८), एल० बी० थापाको हिँड्दा हिँड्दै (२०१८), ललित लोहारको मनको इन्द्रेणी (२०१८) र मनको आकाश (२०१९), कमल दाहालको कमल कलम (भाग एक-२०१९) र (भाग दुई-२०२०), प्रेम विश्वकर्मको मादल (२०१९), रूपा लामाको गीति यात्रा (२०२०), रीजू देवीको गीत मञ्जरी (२०२०), सन्तराज मंग्रातीको फेरि आयो तिम्रो याद (२०२०), के० बी० गुरुङको सम्झनाभित्रका गीतहरू (२०२०), शरण राईको मेरो शब्द तिम्रो गीत (२०२०),पुष्पराज श्रेष्ठको नौलो जागरण (२०२०),रामप्रसाद शर्मा ‘फिर्के’ को कोरस (२०२०), गणेश थापाको आशा (२०२१), बालकृष्ण थामीको कसको माया कसको मोह (२०२१), नरेश कटुवालको निर्वासित गीतहरू (२०२१), हरि ढुङ्गेलको तिर्खाएको मन (२०२२), अजित बस्नेतको मनको ईश्वर भागेपछि र विश्वास रूने गर्छ (२०२२), वीरेन्द्र ‘अब्जस’ को वीरेन्द्रले बटुलेका अब्जसहरू (२०२२), अमर बानिया लोहोरोको अनेक मनको आवाज (२०२२), लुइस विष्टको मनोभिराम (२०२२), दीपक लेप्चाको मञ्जरी (२०२२), पुष्प राईको गीति विचार अनि गीति निनाद केही (२०२३), राजु प्रधान ‘हिमांशु’ को मायाको रङ (२०२३), गणेश गजमेरको मादल सम्हाल (२०२३), अजय थापाको मनका गीतहरू (२०२३),अर्जुन रसाइलीका बैँसका गीतहरू (२०२३),नरेन्द्र गुरुङको तिर्सना गीत सङ्गीतको (२०२४)राहुल राई बोगिको-को ‘आँगनको सुसेली’(२०२४) आदि।
यसअतिरिक्त नेपाली गीत लेखनमा विजयकुमार राईद्वारा सङ्कलित अनि सम्पादित मधुनिशा (१९८०), गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङद्वारा प्रकाशित सम्झाउनी (२००१), दार्जीलिङ-सिक्किम मैत्री सङ्घद्वारा प्रकाशित सङ्गीत गोधुली (२००५), स्वर सिक्किमका प्रस्तुतिमा सम्पादक चुनिलाल घिमिरेका सम्पादनमा प्रकाशित गीत मञ्जरी (२००८), युवराज काफ्ले अनि तिलक लम्सालका सम्पादनमा सिलगढीबाट प्रकाशित अशोक राई अभिनन्दन ग्रन्थ (२०१३), सफल थापाद्वारा सङ्कलित यादभित्रका (२०१२), सुरेन्द्र थीङका सम्पादनमा हाम्रो गीत (२०१९),कमल रेग्मीको सम्पादनमा भारतीय नेपाली गीत सञ्चयन भाग १(२०२३),नरेश कटुवालको सम्पादनमा साहित्य तृष्णा, गीत विशेषाङ्क (२०२४) अतिरिक्त गोर्खा आवाज, सगरमाथा, सुनचरी, आजभोलि, अब, हिमालय दर्पण, समय, सुनाखरी, स्वर्णभूमि प्रभृति पत्रिका एवम् दैनिक पत्रिकाहरूका पनि महत्त्वपूर्ण भूमिका मानिन्छ।
यस चरणका गीतकारहरूमा दिव्य खालिङ, अविनाश श्रेष्ठ, नरदेन रुम्बा, जस योञ्जन ‘प्यासी’, पवन चामलिङ ‘किरण’, पुरण गिरी, सानु लामा, रूद्र पौड्याल, दलसिंह ‘अकेला’, सी० के० श्रेष्ठ, बी० बी० सुब्बा, सुरेन्द्र थिङ, अजित बस्नेत, ध्रुव चौहान, पुष्कर पराजुली, कमल रेग्मी, शोभित राई, विनोद स्याङदेन, पवन नामदुंग, पूर्ण बाबरी, बासुदेव पुलामी, कृष्ण प्रधान, दावा पाख्रिन, कालूसिंह रनपहेँली, पुष्प राई, विपिन स्याङदेन, शान्ति थापा, सानुभाई शर्मा, अनित खाती, सतीश छेत्री, संजीव छेत्री, कर्ण थामी, चुनिलाल घिमिरे, मुक्ति उपाध्याय, मणि राई ‘धुन’, बी० बी० विश्वकर्म, गौरी सुब्बा, हीरालाल शर्मा, थानेश्वर शर्मा, राजु प्रधान ‘हिमांशु’, मैतराज राणा, बीरू बाङ्देल, सुकुमार बराइली, केवलचन्द्र लामा, नोर्जाड स्याङदेन, मधुसूदन लामा,मधुकृष्ण लामा, किरण ठकुरी, नगेन्द्र ‘गोरखा’, मदन कुमार सुब्बा, नवीन पतझड़, जतीश बराइली, चन्द्रमीत लक्सम, सविता सङ्कल्प, अजय थापा, गणेश थापा, सुरेन गुरुङ, उज्ज्वल बमजन, जय ‘क्याक्टस’, मनोज बोगटी, रमेश थापा, अनिल तेलजा, मान मोक्तान, के० बी० गिरी, रत्नकमल देवन, बेज्जामिन राई, रूपा लामा, मनप्रसाद सुब्बा, नरेन्द्र खड्का, नरेशचन्द्र खाती, दिलीप लोरुङ, नरेश कटुवाल, कृष्णराज घतानी, भीम सिञ्चुरी, तिलक लम्साल, आशिक मोक्तान, प्रद्युम्न, नारायण, जैरू, बीरबल विश्व, नीर शेरमा, दुर्गाधर प्रधान, भक्ति शर्मा, जीत बहादुर सुनार, कमल दाहाल, ब्राईन मोक्तान, पूर्ण बान्तवा, बालकृष्ण थामी, राजु घिमिरे, सिल्वेस्टर सिटल, के० बी० सेवा, प्रेम कुमार आले, दल बहादुर मुखिया, नरेन गुरुङ, सुरेश कुमार, सुदर्शन तामाङ, गंगा परियार, नवीन सुब्बा,सुवास सोताङ, राजा पुनियानी, उमेश उपमा, प्रमिता गुरुङ, नवीन स्पन्द, सुमन बान्तवा, मदन राई, अमर रसाइली, के० बी० सेवा, आरती राई, नीनादेवी शङ्कर, भाष्कर प्रधान, धिरज ‘निशाकर’, कृष्णनारायण प्रधान, लिनु खालिंग, ध्रुव लोहागण, राजेन्द्र भण्डारी, देवकुमारी दुमी, विनोद ‘सोरकी’, शिरिकुमार पाख्रिन, भीम दाहाल, देवराज शर्मा, नीलम न्यौपने,धर्मला कटेज,समीर राई ‘शान्ति’,शुभराज सुब्बा,योगराज सुब्बा,सुरज मोक्तान, जगदीश शर्मा, टी० एन० शर्मा, पुण्य योञ्जन, डिल्ली प्रसाद अधिकारी, उपमान बस्नेत, ललित लोहार, लुइस विष्ट, प्रेम मुखिया ‘वैरागी’, श्याम प्रधान, मेनुका प्रधान, पी० बी० प्रधान, सुरेन गुरुङ, के० बी० गुरुङ प्रभृति नामहरू लिन सकिन्छ।
गीतको छुट्टै सङ्ग्रह नभए तापनि धेरै कविहरूले आफ्ना कविताकृतिभित्र गीत खण्ड पनि समावेश गरेको पाइएको छ, जसभित्र राम्राराम्रा गीतहरू रहेका छन्। यस्ता कृतिहरूका नाम उल्लेख गर्नुपर्दा हरिभक्त कटुवालको यो जिन्दगी खै के जिन्दगी (१९७२) र बदनाम मेरा आँखाहरू (१९८७), जीवन थिङको साङ्लोभित्र बाँधिएका घोड़ाका टापहरू (१९७३),पदम भुजेलको भक्कानोहरू (१९७५),हरिप्रसाद ‘गोर्खा’ राईको मनचरीको बोली (१९८७), नरदेन रूम्बाका प्रक्षेप (१९७८) र नरदेन रूम्बाका कृतिहरू (२००६), गोमा शर्माको केवल तिम्रो निम्ति (१९८३), भविलाल लामिछानेको अनागत (१९८४), डा० जीवन नामदुंगको समय चुपचाप बोल्छ (१९९१) र केही गीत केही मुक्तक (२००७), अबीर खालिङका अबीरानुभूति (१९९९) र अक्षर उत्सव(),दिलीप शर्मा सिटौलाको जीवनादर्श (१९९३),एसेम चौहानका सिरूपात (१९८०) र बाँसघारीको माया (२००३), बीरू बाङ्देलको आहट मानेभञ्ज्याङको (१९९५) र कसाइको बस्तीमा (२००५),शैलेशचन्द्र प्रधानको मेरा कविताहरू;मेरा गीतहरू (२००३),प्रवीण राई ‘जुमेली’ को इम्पास्टो अक्षर (२००६), खड़कराज गिरीको क्याक्टसको हात (२००९), डिल्लीप्रसाद अधिकारीको सुनगाभाका स्वरहरू (२००९), कृबु संयमीको इन्द्रेणी (२००९), रूद्रराज मास्केको अनुभावन (२०१०), राजु प्रधान ‘हिमांशु’ को निःशब्द शब्द शिखा (२०१०) र कालान्तर-कालान्तर (२०१७), सुबास सोताङको कोरिएका कुराहरू (२०११), गणेश गजमेरको गाउँलाई भनेर (२०१३),नन्द भट्टराईको दृष्टि र सृष्टि (२०१३),कबीरसिंह छेत्रीको बध्यभूमिका अँध्यारा रातहरू (२०१४),सी० के० श्रेष्ठको बनमारा (२०१५),हरि गजुरेलको मान्छे कथा खोज्दै (२०१६),रूद्र पौड्यालको स्मृतिका मूर्छनाहरू (२०१७),डिल्लीराम खनालको आरोह- अवरोह (२०१७),नरेन्द्र खड़काको ज्योति ज्वाला ज्योत्स्ना (२०२३),सुरेश कुमारको गीतभित्रको सुरेशकुमार (२०२४)आदि उल्लेखनीय छन्।
गीत मूलतः शृङ्गार रसप्रधान विधा हो। तर समय, वातावरण र परिस्थितिसित विकसित र परिमार्जित हुँदै गएको गीत लेखनको पृष्ठभूमि र विषयवस्तु पनि फराकिलो बन्दै गयो। विभिन्न विषयवस्तु टिपेर गीतले व्यापकता अँगाल्यो। फलस्वरूप नेपाली गीत साहित्यका अन्य विधासरह उन्नतशील बन्दै गइरहेछ। स्वातन्त्र्योत्तर नेपाली गीतहरूका अध्ययन गर्दा जातीयता, आध्यात्मिकता, राष्ट्रिय चेत, सामाजिक जागरणको सन्देश, देशभक्ति, नैतिकता, नैराश्य, प्रेमपीड़ा, अनुराग, मानवता, जीवन दर्शन, मानव संवेदन, लोकतत्त्व, कुण्ठा, वेदना, आक्रोश, आञ्चलिकता, विश्वप्रेम, प्रकृतिप्रेम, सांस्कृतिक चेतना, गौरवगान, राजनैतिक-सामाजिक विच्युति र विसङ्गतिप्रति तीखो व्यङ्ग्य, सौन्दर्यचेत, जीवनका विविध दृष्टिकोण, पर्यावरण, मानवमूल्य, जीवन र जगत्का यावत् भोगाइहरू, यथार्थता, विद्रोह, सांस्कृतिक मूल्य र मान्यताका कुराहरू, जीवन भोगाइका विभिन्न तह आदिजस्ता कुराहरू स्पष्ट रूपमा पाइन्छन्। गीत लेखनका यस क्रममा नेपाली गीतले नयाँ र विविध भाव, शैली, धारा, उपधारासँग प्रस्तुतिको नौलोपन, प्रतीक बिम्बहरूका समायोजन, भाषिक सरलता, सरसता र सुललितता, शब्दहरूका मितव्ययिता आदि कायम गर्दै आजका मोड्सम्म आइपुगेको छ। यद्यपि नेपाली गीत विधाले नेपाली साहित्यका मूल धारामा प्रवाहित हुनका निम्ति सङ्घर्षरत रहनुपरेको यथार्थ साहित्येतिहासबाट ओझेल छैन।
उपसंहारमा भन्नुपर्दा, एक शताब्दीभन्दा पुरानो भारतीय नेपाली गीतमाथिको मूल्याङ्कन भने अपेक्षित रूपमा भएको पाइँदैन। गीत लेखनमाथिको उस्तो समीक्षा समालोचना नभए तापनि केही मात्रामा भने हिजोआज गीतको चर्चा हुन थालेको छ। गीत लेखनमाथि अध्ययन गरी समीक्षा, समालोचना गर्नेहरूमा डा० जस योञ्जन ‘प्यासी’, डा० दिवाकर प्रधान, प्रा० नवीन पौड्याल, प्रा० कबीर बस्नेत, डा० राजकुमार छेत्री,कृष्णनील कार्की,डी० एस० बमजन, मणिकमल छेत्री, नव सापकोटा, छविलाल उपाध्याय, खड़कराज गिरी, भविलाल लामिछाने, जय ‘क्याक्टस’, युद्धवीर राणा, दीपक तिवारी, बासुदेव पुलामी, कृष्ण प्रधान आदि पर्दछन्। गीत साहित्यमाथि समीक्षाका रूपमा फुटकर कामहरूबाहेक ठोस काम भने डा० जस योञ्जन ‘प्यासी’-कृत भारतीय नेपाली गीतकार पारिचायिक चर्चा (२०१४),समालोचक नवीन पौड्यालको नेपाली गीतको सेरोफेरो (२०२३) र सिङ्गो भारतीय नेपाली गीत साहित्यमाथि कमल रेग्मीको भारतीय नेपाली गीत सञ्चयन (भाग १,२०२३) प्रकाशित भएको पाइन्छ।
अन्तमा, कोरा भावुकताबाट माथि उक्लेर, अल्लारेपनको जोबनमा मात्रै नअल्झिएर आजका गीतहरू अन्याय, अत्याचार, शोषण-दमनको विद्रोहमा सड़कमा निस्किन थालेका छन्। चियाबारी, कुलैनबारीका शोषित श्रमजीवीहरूका पक्षमा बोलिदिने गीतहरू बनिएका छन्। माटो र अस्तित्वको लड़ाइँमा होमिएका भारतीय गोर्खाहरूका वासभूमिको युद्ध इतिहासका गीत रचिएका पाइन्छन्। तर अर्कोतिर भने सस्तो लोकप्रियताका निम्ति रातारात नाम कमाउने उद्देश्यले समाजलाई अनर्थ सन्देश दिने किसिमका गीतहरू पनि समयसमयमा निस्किने गरेका छन्, जसले गीतकारको रहर पूरा गरे तापनि गीतकारको दायित्वबोध भने वहन गरेको हुँदैन।
निचोड़मा, भारतीय नेपाली गीत, गीतकार एवम् गीति कृतिहरूका मूल्याङ्कन साहित्येतिहासले अबउसो गर्ला भन्ने अपेक्षा साँच्न सकिन्छ।
द्रष्टव्य : मेरो अध्ययन सीमाबाट छुटेका केही गीति कृतिहरू अझ हुन सक्लान्, विज्ञ पाठक एवम् गीतकारहरूले मेरो जानकारीमा ल्याइदिनुभए रचनाको पुनर्लेखनमा अवश्यै थप्नेछु। - लेखक
सन्दर्भ सूची:
१. डा. बराल ,कृष्णहरि गीत सिद्धान्त र इतिहास
२. प्रधान,गुप्त धूमिल पृष्ठहरू, गामा प्रकाशन, दार्जीलिङ, २००८
३. डा०‘प्यासी’,जस योञ्जन- भारतीय नेपाली गीतकार परिचायिक चर्चा, लाशा प्रकाशन, खरसाङ, २०१४
४. पौड्याल, नवीन- भारतमा नेपाली गीत लेखनको परम्परा र प्रवृत्ति, चरित्र, समालोचना विशेषाङ्क, कालेबुङ, २०१२
५. रेग्मी ,कमल -रङ तरङ्ग, गामा प्रकाशन, दार्जीलिङ, २०१६
६. तिवारी दीपक, भारतमा नेपाली गीतको परिप्रेक्ष्यमा सिक्किमेली नेपाली गीत, आधुनिक भारतेली नेपाली कविता, स. दिलकुमार प्रधान, २०१२
७. कार्की,कृष्णनील- असममा नेपाली गीत र गीतकार प्रेम विश्वकर्म,साहित्यपोष्ट ,२०२२