19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमा, छोरी र ऊ

कथा भाउपन्थी May 21, 2024, 4:16 pm
भाउपन्थी
भाउपन्थी

यो दुर्लभ दृश्य हुने गर्थ्याे , केटी नुहाएपछि छतमा उभिएर कपाल कोर्दै गरेको । खलल पुग्ने कुरो यो थियो, केटीकी आमा पनि छेउमा उभिएर कपाल कोर्न लागेकी हुन्थी । ऊ पनि नुहाइसकेकी हुन्थी । यसको अर्थ यो पनि लगाउन सकिन्थ्यो, आमाले छोरीको गतिविधिमा नजर राख्न त्यसो गरेकी हो । आमा नयनाभिराम थिइन । अब यसको अर्थ जे लगाउनोस् तर भन्नुको मतलब ऊ ढसुल्ली थिई । यसो भन्दा आमाहरूको अपमान नहोस् तर सुन्दरी छोरीको प्रसङ्गमा आलाई यति भन्दा सह्य हुन सक्छ ।

छोरीको नाम अनुष्का हो । ऊ केटो नवराजसँग प्रेममा फसेकी थिई । आमाको रायमा उसलाई फसाइएको थियो । प्रेमलाई असाध्य रोग पनि भनिन्छ । रोग त हो तर यो यस्तो रोग हो जसको तात्कालिक उपचार छैन । यस्तो हुने गर्छ । नवराजले झ्यालबाट केटीले कपाल कोरेको हेरिरहेको थियो । उसको दृष्टिमा आमा बाधक थिई, अर्जुनदृष्टिमा त्यो आमारूपी महिलाको ठूलो जीउ बाधक थियो । उसले इसाराइसारामै अनुष्कालाई भन्यो आमालाई दृष्टिपथबाट हटाऊ । अनुष्काले पहिले त टाउको हल्लाई तर नवराजको पटकपटकको इसाराले उसले आमातिर फर्केर के भनी कुन्नि आमा हाँस्दै तल कोठातिर ओर्र्ली । आमा छोरीलाई प्रेम गर्दी हो, पुलपुलाएर पालेकी हुँदी हो । बाउ विदेश गएको थियो केटीको ।

आमाको लोग्ने भन्नु प¥यो केटीको बाउलाई । तर टोलमा एउटा यस्तो गाइँगुइँ थियो, केटी झड्केली छोरी थिई । यो कुरो पछि । तर त्यसले यहाँ खासै दखल राख्दैनथ्यो । झड्केलो बाउ भए पनि केटीकी आमालाई विदेश गमन गरेको पोइले माया गर्थ्याे, विश्वास गर्थ्याे । यहाँ विश्वास महत्वपूर्ण थियो । विश्वास गर्थ्याे त्यसैले कमाएको रकम श्रीमती रमाको नाममा पठाउँथ्यो । छोरी पनि खुस थिई र आमा पनि । आर्थिक अभाव पनि थिएन र कुनै दुख थिएन । केटीकी आमा रमा भन्थी, ‘छोरी, सबै थोक पैसा रहेछ । पहिले हाम्रो अवस्था कस्तो दुखदायी थियो, अहिले हामी सम्पन्न छौँ र खुस छौँ । पैसाकै करामत हो ।’

छोरी टाउको ‘हो’ मा टाउको हल्लाउँथी । सुखसम्पन्नतामा छोरी कलिो तामाझैँ हलक्क बढेकी थिई । पहिले खडेरीमा सुकेको बाली जस्ती च्याउँसी छोरी अहिले वसन्त आएर लहलहाउँदी भएकी थिई । टोलका केटाहरूमध्य उसको नाम थाहा नपाउने कोही थिएन । केटाहरू भमरा थिए, ऊ मगमग बसाउने गुलाफको पूmल थिई । त्यति मात्र होइन, बा र आमालाई त्यै केटी पाए बिहे गर्छु भनेर अड्डी लिने वा प्रतिज्ञा गर्ने केटाहरूको सेना नै खडा गर्न सकिन्थ्यो । सेना भनेर अलि अतिशयोक्ति भयो होला । मुलुकमा त्यस्तो सङ्कट परेको पनि थिएन र त्यस्तो सेना खडा गर्नुपर्ने खाँचो पनि थिएन । तर नवराजको लागि केटी एक सपना थिइन, कारण केटी उसको प्रेमपाशमा फसेकी थिई । मात्र कति अडचन थियो भने, केटीकी आमा नवराजलाई देखेपछि खासै उज्यालो मुख लगाउँदेनथी । कुनै अप्रिय वस्तु देखा परेझैँ नाकमुख नजानिँदो पाराले खुम्च्याउँथी ।

तर केटी प्रेममा समर्पित थिई । सच्चा प्रेम झुक्दैन भनेझैँ ऊ आमाकै अगाडि नवराजसँग हाँस्ने बोल्ने गर्थी र मौका परे चन्द्रागिरितिर वा यस्तै अन्य ठाउँतिर हाकाहाक्की डुल्न निस्कन्थी । आमा यो देखर मुर्मुरिन्थी । कोठाभित्र थुनेर छोरीका गालामा एकपछि अर्को झापट दन्काएर लगाउन खोज्थी, जगल्ट्याएर यताको भित्ताबाट उताको भित्तासम्म लतार्दै लगेर फेरि यता ल्याएर लात्तले हान्दै उसको हुर्मत लिन चाहन्थी । तर यो सब गर्न उसको हिम्मत हुँदैनथ्यो । छोरीले भन्थी, ‘बाउलाई आउनदेऊ ।’ बाउ आएपछि के ? यो एउटा रहस्य जस्तो लाग्थ्यो । सबैले नबुझ्ने धम्की हुन्थ्यो । छोरीसित यो एउटा ब्रह्मास्त्र थियो जसले उसकी आमाले जितेको युद्ध पनि पराजयमा परिणत गरिदिन्थ्यो ।

खासै राम्रो कुरो त होइन यो । आमाछोरीका बीच यस्तो कुनै रहस्यले रजाइँ गर्न पाउनु । आमाछोरीका बीच भन्नाले छोरीको हातमा आमालाई पराजित गर्न सक्ने शस्त्र थमाउनु । छोरीले बाउलाई त आउन देऊ भन्नेबित्तिकै आमा लत्रक्क पर्थी । ‘के गर्ने होस् तैँले ?’ आमाले नडराएको हाउभाउ देखाउँदै झोक्किएर सोधिहाले पनि स्वर कातर भइसक्थ्यो । छोरी केही भन्दैनथी । आँखामा व्यङ्ग्यात्मकता भरेर यत्ति मात्र भन्थी, ‘डराउने भए किन लड्नु ?’ बडो सैद्धान्तिक वाक्य बोल्थी ऊ । आमा परास्त भइहाल्ने मनस्थितिमा नभए पनि छोरीलाई अझ जिस्क्याएर बोल्ने गराउन चाहँदैनथी । .

‘नवराजसँग म भोलि पिकनिक जाँदै छु ।’ छोरी गर्जन्थी । पिकनिक एउटा पुरानो चलन भइसकेको छ । अचेल पिकनिक लगेर केटी फसाउने काम गर्न रुचाइन्न । तर छोरीलाई नवराज रिसोर्टमा लिएर जान सक्थ्यो । यहाँ एउटा असमर्थ पाटो थियो नवराजको । ऊसँग पर्याप्त रकम हुँदैनथ्यो । रिसोर्ट महँगा पर्थे । केटी साथमा ल्याएको छ भनेपछि रिसोर्टवालाले बिलमा रकम बेसी ठोक्थे । पुरानो समय कुरा, सुनौलीमा लाहुरेहरूलाई रातभरि स्टे गराएपछि रक्सीका खाली बोतल राखेर बढी पैसा असुल गर्थे रे । हो त्यस्तै, रिसोर्टमा पनि केटी लिएर आएको छ मोज गर्न भनेपछि बिलमा आइटम र पैसा बढिहाल्छ रुमचार्जसहित ।

अनराजले गाउँ पठाउने रकमबाट जोहो गरेर अनुष्कालाई पिकनिकसम्मको अफर दिन सक्थ्यो । गाउँको घरमा उसका बुढा आमाबाबु थिए र एउटा यस्तो बन्धन पनि थियो त्यहाँ जसलाई ऊ तोड्न सक्दैनथ्यो । उसकी एउटी छ वर्षकी छोरी पनि थिई । नवराजकी श्रीमती ऊ सहरमा कमाउन आएको बेला अर्कैसँग हिँडेकी थिई । यो एउटा अवसरका रूपमा उसकी पत्नीले प्रयोग गरेको प्रतीत हुन्छ । नवराजकी पत्नी छरछिमेकीसँग भनिरहन्थी रे— ‘आमाबाले के देखेर यस्तासँग बिहे गरिदिए कुन्नि ? कस्ताकस्ता धनाढ्यका छोरा माग्न आएका थिए ।’ यसपछि त्यो पोइल जवाइलाई खासै ठूलो घटनाका रूपमा गाउँघरमा लिइएन । कसैले छेकथुन पनि गरेन— ‘ए तँ अर्काकी श्रीमती भएर परपुरुषसँग छिल्लिएर हिँड्छेस् ?’ परपुरुषाहरू छिल्लिने अरूकी स्वास्नी ताक्दै हिँडेका त हुन्छन् !

त्यो कुरो पुरानो भए पनि नवराजका मनमा पिरो भएर आइरहन्थ्यो । अहिले सधैँका लागि अनुष्काको साथ पाए ऊ त्यो पिरलो मेट्न सक्थ्यो, पोइल गएकी स्वास्नीभन्दा राम्री ल्याउन सकेँ भनेर ऊ साथीभाइका बीच शिर ठाडो गरेर हिँड्न पनि सक्थ्यो । गाउँकी छोरीलाई अनुष्काले स्वीकार गर्ने हो कि होइन भन्नेमा नवराजलाई सरोकार थिएन । उसकी छोरी हजुरबा हजुरआमासँग सहजै बस्न सक्थी । तिनको स्याहारसुसार गरेर जीवन बिताउने उपाय गर्न सक्थी । मानिसको वासनाजन्य स्वार्थ ठूलो बनेपछि के छोरी के आमाबाबु ? अनुष्काका अगाडि कुनै चीज कुनै वस्तु वा कुनै नातागोकोको मूल्य थिएन ।

नवराज यही ताकमा हुन्थ्यो, कति बेला अनुष्का नुहाएर छतमा निस्कन्छे र केश फिँजाएर कोर्दै उसलाई देखाउन अनेक पोज दिनेछे । अनुष्काको जीउ पनि त्यस्तै मिलेको थियो र जुन कोणबाट हेरे पनि कामातुर बनाउँथ्यो नवराजलाई । तर अनुष्काकी आमा रमा थिई जसले नवराजलाई एक रत्ती मन पराउँदैनथी । टक्कर थियो, टसल थियो । किन ? स्पष्ट गरिरहनु पर्ने थिएन, ऊसँग पर्याप्त पैसा थिएन । पैसा भनेपछि केके न सानो कुरो मानिन सक्छ । के प्रेमको अगाडि पैसा सानो हो ? नवराज यसै प्रश्नमा रुमल्लिरहन्थ्यो । तर यो सही हो नवराजसँग पैसा छैन । अरूको घरमा डेरा गरेर बसेको छ ।

अनुष्कालाई उसले प्रेमजालमा फसाएको छ । अनुष्काकी आमा रमा यो मान्दछे । अनुष्काकी आमा रमा पनि पोहोर साल गाउँकै परिचित एक जना लाहुरेसँग डुल्न गएकी थिई । ती दुई दुई रातपछि घर फर्केका थिए । दुई जना दुई रात एउटा अनुप्रास मिलाएजस्तो भएको थियो । लाहुरे धरानतिरको थियो । धरानतिरको भन्थ्यो, हुन सक्छ दैलेखको होस् । अनुष्काकी आमासँग उसको पुरानो परिचय रहेछ । कसरी रहेछ पुरानो परिचय, त्यो कोट्याउन कसको पछि को लागिरहोस् । अनुष्काले यो थाहा पाई र त्यो आमा रमालाई नचाइरहने एउटा साँचो बन्यो । ऊ त्यही साँचो घुमाइरहन्थी आमा रमालाई तर्साउन । एउटा अपराध अनुष्काकी आमा रमाले गरिसकेकी थिई र त्यो नखुलोस् भनेर छोरीका अगाडि शिर निहुराएर मौन बस्न बाध्य थिई ।

तर हिजो मात्र फेरि त्या लाहुरे टुप्लुक्क अनुष्काहरूको घरको ढोका ढकढकाउन आइपुगेको थियो । उसको साथमा उसको भतिज रामलाल पनि थियो । ती दुवैले शिष्टाचारपूर्वक भलाकुसारी गरे । हाँसो पनि घन्काए । अनुष्काले लाहुरेको हृष्टपुष्ट जीउडाल भएको भतिज रामलालतिर धेरै पटक चोरीचोरी हेरिरही । उसभित्र एक किसिमको आसक्ति जाग्यो । भित्रको नवराजको खियाउटे रूप भत्किन लागेको थियो । बेलाबेला ऊ झसङ्ग पनि हुन्थी, प्रेममा धोका दिनु भएन भन्ने मान्यताले । उसलाई त्यो बर्जनाले लाहुरेको भतिजलाई हेर्न बर्जित गर्थ्याे । म कसैकी भइसकेँ भनेर ऊ प्रतिज्ञा गर्न खोज्थी तर लाहुरेको भतिजको बलिष्ठ कायाले उसलाई लोभ्याउँथ्यो । अहिलेसम्म नवराजको दुब्लोपातलो कायातिर लोभिने गरेकोमा ऊ पछुताउन थालेकी थिई ।

लाहुरेको भतिज हङकङको लाहुरे हो रे । हङकङको लाहुरे नभए पनि हङकङको लाहुरेको छोरो त अवश्य हो । यसमा कुनै दुई राय थिएन । लाहुरे र लाहुरेको भतिज तनिचार दिन आउनेजाने गरिरहे र कहिले रेस्त्राँमा लगेर कहिले अनुष्काहरूकै घरमा भोज जस्तो आयोजन गरेर खानेपिउने मात्र होइन सुत्ने पनि गरे । तीनचार दिनपछि एक साँझ हङकङको लाहुरेको छोरो रामलालले अनुष्कालाई एउटा चिल्लो च्वाँकको कारमा राखेर डुलाउन लग्यो ।

नवराजले अचेल दारी खौरन छाडेको छ, पाल्नलाई होइन, अनुष्काको पिरले । अनुष्का अचेल छतमा निस्कने गर्दिन । न कालो बाक्लो लामो नागकेश फिँजाएर कोर्ने गर्छे, न जीउ घुमाईघुमाई अनेक पोज दिन्छे । उसकी ढसुल्ली आमा पनि छतमा निस्कन्ने । नवराजले चियो गरेर पत्तो लगाएको छ, अनुष्का अचेल त्यो रामलाल भन्ने हङ्कङको लाहुरेको छोरोसँग पल्केकी छ । पल्केकी छ भनेर उसले आफ्नै प्रेमिकाको अपमान गरेको चस्स आत्मनुभूति त गरेको हो तर अनुष्काले उसलाई चटक्कै छोडेकीमा ऊ सबै थोक त्यागेर (तर त्याग्नु के थियो र, डेरामा बसेकाले) प्रेमको धोकामा परेपछि सबै थोक छोडेर गाउँतिर जाने सोच बनाउँदै थियो ।

एउटा प्रेमकथा थियो यो जुन यसरी दुखान्तमा बदलियो । तर दुख कसलाई ? अनुष्का र उसकी आमा त हाँसीखुसी सुखी देखिन्थे । अचेल प्रेमको दुखान्त कथा भनेर पुरातनपन्थी कोही हुन चाहन्न ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।